‘स्मार्ट’ चालक अनुमतिपत्र लिनेको सङ्ख्या ५ लाख नाघ्यो
काठमाडौँ, पुस १७ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको सङ्ख्या पाँच लाख ५७ हजार नाघेको छ ।
कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् । दुई लाख तीन हजारको छाप्न बाँकी रहेको कार्यालयले जनाएको छ । एकान्तकुनास्थित कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गर्दा एउटा कार्यालय मात्रैमा यो सेवा थियो । गत वर्षदेखि देशभरका कार्यालयले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेका छन् ।
कार्यालयका शाखा अधिकृत रमेश पौडेलका अनुसार कार्यालयबाट लिइएको लिखित र ‘ट्रायल’ दुवै पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि राजश्व तिरेका छन् ।
अहिले काठमाडौँ उपत्यकामा नै अरु तीन ठाउँ र देशभरका सबै कार्यालयले चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण हुनेलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन थालेका छन् । उनले भने, “पहिलेभन्दा अहिले यहाँ सेवाग्राहीको चाप कम भए पनि अन्यत्रभन्दा बढी सेवाग्राही आउँछन् ।”
सबै कार्यालयबाट परीक्षा पास भइसकेका सेवाग्राहीको चालक अनुमतिपत्र विभागमा नै छापिन्छ ।
विभागमा भएको उपकरण पर्याप्त नभएकाले अनुमतिपत्र वितरण गर्न समस्या भएको हो । पौडेलले भने, “राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र नपाएका सेवाग्राही कार्यालयमा आइरहन्छन् ।” एक वर्षभन्दा पहिले परीक्षा पास गरेका सेवाग्राहीले अझैसम्म अनुमतिपत्र पाएका छैनन् । रासस
नयाँ वर्ष-२०१९ मा प्रधानमन्त्रीकाे सन्देशः समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ उचाइमा पुग्ने
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारित छ । जसअनुसार ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ । विश्वका अधिकांश मुलुकमा प्रचलनमा रहेको र प्रत्येक वर्ष जनवरी को पहिलो तारिखका दिनबाट सुरु हुने इस्वी संवत जनवरीको पहिलो तारिखबाट सुरु हुन्छ । सन् २०१८ लाई विदाई गर्दै नयाँ वर्ष २०१९ लाई विश्वभर भब्य रुपमा स्वागत गरिएको छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै विशेष किसिमको अङगुरको रस र रोटी खाने प्रचलन छ । विश्वब्यापीकरणको प्रभाव र हर्षोल्लासका दृष्टिले ईस्वी संवतको यो नयाँ वर्ष नेपालमा पनि शुभकामना आदानप्रदान गरी मनाइँदै छ । नयाँ वर्ष मनाउन राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको आयोजनाहरु गरिएका छन् । नयाँ वर्षको उपलक्ष्यमा विश्वभरका नेताहरुले विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताएका छन् । प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले सन् २०१८ संविधान कार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भएको बताएका छन् ।
वाइडबडीमा ४ र्अब हिनामिना, दोषीलाई कारबाही सिफारिस
काठमाडौं, पुष १७ । वाइडबडी खरिद अनियमितताबारे छानबिन गर्न गठित संसदीय उपसमितिले करिब ४ अर्ब सेरोफेरोमा अनियमितता भएको निष्कर्ष निकाल्दै संलग्न पदाधिकारीलाई कारबाही सिफारिस गर्ने भएको छ । वाइडबडी खरिदका कागजात अध्ययनका साथै सरोकारवालासँगको छलफलपछि उपसमितिले प्रतिवेदन तयार पारेको हो । ‘अनियमितताको हिसाब करिब ४ अर्ब सेरोफेरोमा निस्केला जस्तो छ,’ सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका संयोजक सांसद राजन केसीले सोमबार भने, ‘सार्वजनिक खरिद ऐनको पालना भएको देखिएन, मनोमानी निर्णय गरेर जहाज खरिद गरेका कारण राज्यलाई ठूलो नोक्सानी भएको छ ।’ खरिदका क्रममा अपनाइएको प्रक्रिया र जहाजको ‘स्पेसिफिकेसन’ बारे अध्ययन गरेको उपसमितिले शीर्षकअनुसार अनियमितताको हिसाब निकालेको हो । उपसमितिका एक सदस्यले भने, ‘कानुन मिचेर अवधिभन्दा पहिले नै भुक्तानी गरिएका कारण कति क्षति भयो भन्ने हिसाब निकालेपछि कुल अनियमितताको अंक निस्कन्छ, अनि प्रतिवेदन बुझाउँछौं ।’ वाइडबडी खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न निगमका अधिकारीदेखि प्रक्रियाबेगर भुक्तानीमा सामेल कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, पर्यटन मन्त्रालयलगायत अधिकारीलाई समेत कारबाही सिफारिस गर्ने तयारी उपसमितिको छ । कुन अधिकारीलाई कस्तो ढंगको कारबाही सिफारिस गर्ने भन्ने निष्कर्षमा उपसमिति पुगिसकेको छैन । त्यसका लागि मंगलबार उपसमिति बैठक डाकिएको छ । बैठकबाट प्रतिवेदन अन्तिम टुंगो लागेपछि बुधबार लेखा समितिमा पेस गरिनेछ । उपसमिति संयोजक केसीका अनुसार खरिद ऐनको उल्लंघन हुनुका साथै निगमकै आर्थिक नियमावलीको समेत दुरुपयोग गरी पुरानो विमान खरिद गर्ने प्रक्रियाबाट नयाँ किनिएको पाइएको छ । लागत अनुमान तयार गर्दाको बदनियत, उडान भर्दाको अधिकतम तौल, मूल्य समायोजन, समयावधिभन्दा पहिले भुक्तानीलगायतमा अनियमितता भेटिएको हो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
विवेकशील साझामा असन्तुष्टि चुलिदैं, रवीन्द्रविरुद्ध उज्ज्वलका ७ आरोप
काठमाडौं, पुष १६ । पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील साझा पार्टीमा गम्भीर मतभेद देखिएको छ। पार्टीका दुई संयोजक मध्येका एक उज्ज्वल थापाले ‘विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको’ निष्कर्षसहित पार्टी सदस्यलाई पठाएको पत्रमा नेतृत्वमा रहेको मतान्तरका फेहरिस्त उल्लेख छन्। ‘विवेकशील साझा पार्टीको निर्वाचनपछिको एक वर्षको समीक्षा’ शीर्षकमा ‘पार्टी सदस्यका लागि’ पठाइएको १८ पृष्ठ लामो पत्रमा थापाले राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन्। उनले अब पार्टीको नयाँ नेतृत्व निर्वाचित गर्नुपर्ने संकेत गरेका छन्। राष्ट्रिय महाधिवेशनले अध्यक्षसहित दलको नेतृत्व चयन गर्छ। ‘दलको राष्ट्रिय महाधिवेशनको तुरुन्तै घोषणा गर्नु जरुरी छ र तदपश्चात निर्वाचित पादाधिकारीले नै दलको नेतृत्व लिनुपर्छ’, थापाको पत्रमा उल्लेख छ, ‘अहिलेको तदर्थ केन्द्रीय/संयोजन समिति र दलका जुझारु सदस्य थपेर महाधिवेशन समितिमा परिणत गरिनुपर्छ।’ संयोजक थापाको पत्रले भन्छ – विवेकशील साझामा ठूला र वैचारिक विषयमा मात्र होइन, मसिना विषयमा पनि झगडा छ। उनले एक लाख ६० हजार मासिक भाडा तिरिएको बखुन्डोलस्थित केन्द्रीय कार्यालय प्रयोगमै आउन नसकेको लेखेका छन्। ‘केन्द्रीय कार्यालयको सचिवालय राम्रो बन्यो भनेर भरमार गर्व गरिएको तर अहिले हेर्ने हो भने कार्यालयको महँगो भाडाका बाबजुद प्रयोग अति न्यून भइरहेको अवस्था देखिएको, यस भवनलाई सबैको लागि मिजासिलो बनाउँदै प्रयोग गर्नेबारे ठोस सोच नदेखिएको’, उनले लेखेका छन, ‘अहिलेसम्म यस ठाउँलाई सदस्यहरूले अपनत्व महसुस गर्न सकेका छैनन्।’ यस्ता छन् थापाका ७ आरोप १) पार्टीले होश र जोसलाई अँगाल्न सकेन विवेकशील साझा पार्टी उदार नभएर अनुदार भएको थापाको आरोप छ। उनले भनेका छन्- दल उदार हृदयको हुनुपर्ने तर अहिलेसम्म अनुदार रहिआएको छ। त्यसबाट न जोस न होश भएको पार्टी बन्ने देखिएको छ। न नेतृत्व विकास भएको छ, न उल्लेखनीय संख्यामा नेतृत्व र सदस्यहरु थपिएका छन्। दल संकुचित नीति र निर्णयको बन्धक बनेको छ। दलका धेरै उर्जाशील सदस्य, शुभचिन्त निरुत्साहित र उर्जाहीन बनेका छन्। २) परिपाटी बसाल्ने पार्टी बनाउने चासो कम देखिएको सहभागितामूलक पद्धतिमा नेता कार्यकर्ता सहभागी गराउने वातावरण बनाउन नसकिएको उनले उल्लेख गरेका छन्। उनले भनेका छन्- पार्टीमा बनाउनु पर्ने सहभागितामूलक पद्धतिहरु र सुसंस्कृत नागरिकमुखी अभियान देखिएको सुनाउने वातावरण बनेको छ। सुनाउने वातावरण बनेको तर सुन्ने र सहभागी गराउने वातावरण बनाउन सकिएको छैन। ३) दलले गति लिन नसेकेको र ढंग पनि पर्याप्त नदेखिएको नागरिकले प्रत्यक्ष देख्न सक्ने समाज सेवामुखी अनि मूल्यमान्यतामा केन्द्रित राजनीतिलाई पृथकताको मूल कारण बनाउनु पर्नेछ। ‘ढंग मिलाएर बल्ल गति लिइन्छ’ भन्ने बुझ्नु पर्छ। अहिले दलको केन्द्रीयदेखि अरु नेतृत्वमा समाजका प्रवुद्ध व्यक्तिहरु नआएका वा आउने वातावरण बनेको छैन। समाजमा विभिन्न कालखण्डमा नायक भनेर चिनिएका र आफूलाई प्रमाणित गरिसकेका व्यक्तिहरुलाई पनि उहाँहरुको जायज आकांक्षालाई संवोधन गरी पार्टीमा रहने वा पार्टीलाई सहयोग गर्ने वातावरण नै सिर्जना भएको छैन। ४) चरम शक्ति केन्द्रीकरणले दललाई बन्धक बनाएको सहभागितामूलक, समन्वयकारी परिपूरक नेतृत्वहरुद्वारा दल संचालित हुनु पर्नेमा झनै सीमित नेतृत्वमा शक्तिको चरम केन्द्रीकरण भएको स्थिति छ। दल भित्रका सदस्यहरुलाई जिम्मेवारी दिन चरम हिचकिचाहट वा अनुदारले दल हराएको जस्तो देखिएको छ। दल कहाँ हरायो ? भन्ने प्रश्नहरु आम नागरिकबाटै आउन थालेका छन्। ५) डरको राजनीति हावी भएको डरको राजनीति दलभित्र छिरेपछि क्रमशः निषेधको राजनीति भित्रिने माहोल भएको र आस्थाको राजनीति हराइरहेको छ। नेतृत्वमा अँध्यारोमा भूत देख्ने परिपाटीले व्याप्त र चरम शंकालु प्रवृति कुसंस्कार बन्दै प्रदेश तथा जिल्ला तहमा पनि फैलिन थालेको छ। उर्जाशील सदस्यहरुमा आ–आफ्नो बिगत र पृष्ठभूमिको आधारमा आफूमाथि विभेद भएको हो कि?, पद/जिम्मेवारी बिमुख गरिएको हो भन्ने शंका दिनपरदिन बढ्दै गएको छ। ६) सिरियल सर्किटमा चल्न रुचाउने प्रवृति हावी भएको समग्रमा दल सिरियल सर्किट (एकैपटक विभिन्न कामहरु समानान्तर) ढंगले चल्ने पद्धतिको विकास हुनु पर्नेमा एकदमै सिरियल सर्किटमा चलिरहेको जस्तै विभिन्न कार्यक्रम र अभियानहरु एकैचोटी दलका विभिन्न विभाग/एकाइहरुले चलाई राख्नुपर्नेमा खाली एउटै काम त्यो पनि सीमित नेतृत्वको गति र ढंगमै चल्नुपर्ने परिस्थितिको सिर्जना गरिएको छ। जसबाट दलको गतिविधि आम नागरिकमाझ नै देखिएको छैन। दलले वृहत्तर विषयलाई परस्पर सम्बोधन गर्न नसकेको व्यापक जन गुनासो छ। ७) कमजोरीमा केन्द्रीत वातावरण बनेको आपसी विश्वासलाई घटाउँदै जाने नेतृत्वका कतिपय निर्णयहरु र व्यवहारले गर्दा व्यक्तिगत उत्कृष्टता भए पनि सामूहिक रुपमा असफलताको स्थिति सिर्जना भएको छ। समय, उर्जा दिन सक्नेलाई पनि बेवास्ता गरिएको वा शंकाले हेरिएको छ। सडक अभियानहरूबाट चर्चामा आएको विवेकशील पार्टी र चर्चित पत्रकार रवीन्द्र मिश्रको नेतृत्वमा गठित साझा पार्टीबीच २०७४ साउन १९ गते एकता भएपछि ‘विवेकशील साझा पार्टी’ गठन भएको थियो। स्थानीय तह निर्वाचनमा नराम्रो पराजय भोगेपछि यी दुई पार्टी संघ र प्रदेश निर्वाचन अगाडि एकीकरण भएका थिए। अन्नपूर्ण पोस्ट्बाट साभार
दुई ट्रककाे चपेटामा कार, एकै परिवारका १० जनाकाे मृत्यु
एजेन्सी । भारतको गुजरातमा जीप दुर्घटना हुँदा एकै परिवारका दश जनाको मृत्यु भएको छ । गुजरातको भजाउ तालुकेमा ट्रकको चपेटामा पर्दा जीपमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको हो । घाइते भएका बाँकी पाँच जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था पनि गम्भीर रहेको छ । दुई ट्रक एकआपसमा ठोक्किएका बेला अचानक जीप ट्रककाे चेपेटामा परेको थियो ।
सडक सुरक्षाका लागि कम्तीमा २ लेनका पूर्वाधार
काठमाडौ, पुष १६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुरक्षाका लागि सडक, पुललगायत पूर्वाधार कम्तीमा दुई लेनको बनाउन शुरु गरिएको बताएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा भएको ‘सडक सुरक्षा’सम्बन्धी छलफलमा उनले भौगोलिक रुपमा अप्ठ्यारो स्थानमा समेत दुई लेनकै पूर्वाधार संरचना निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री महासेठले कतै एक लेनकै बनेको भए तत्काल सच्याउन सडक विभागका महानिर्देशकलाई निर्देशन पनि दिए । “पैदलमार्गमा पसल र पार्किङ गर्नाले सवारी दुर्घटनामा वृद्धि भएको छ, पैदलमार्ग खाली गर्न आजै महानगरीय ट्राफिक प्रहरी महाशाखासँग बैठक बसेर व्यवस्थापन गरिनेछ, सडक ‘डिभाइडर’ का रुपमा डोरी राख्न एक हप्ताभित्र हट्छ”, उनले भने । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा ‘डिभाइडर’ को व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । लामो मार्गमा दुई जना चालकको व्यवस्था गर्न, सवारी चलाउँदै मोबाइल चलाउने चालकको अनुमति पत्र (लाइसेन्स) मा प्वाल पार्न पनि मन्त्री महासेठले निर्देशन दिए । जापानी प्राविधिकले बिपी राजमार्ग ठूला सवारी समेत हिँड्न सक्ने गरी डिजाइन गरेकाले ३२ सिट क्षमतासम्मका सवारीलाई अनुमति दिइएको जनाइएको छ । समितिका सभापति कल्याणकुमारी खड्काले सवारीको सिट क्षमताभन्दा बढी यात्रु बसी दुर्घटना भएमा तिनको बीमाको व्यवस्थाका बारेमा समस्या हुने गरेको बताइन् । सांसद रामबहादुर विष्टले सुर्खेत–जुम्ला सडकमा धेरै दुर्घटना हुने गरेकाले सुधारमा विभागको ध्यान जानुपर्ने बताए । सांसद यज्ञराज सुनुवारले जथाभावी सडक निर्माण, थोत्रा सवारी, अनुभवहीन चालकका कारण बढी दुर्घटना हुने गरेको बताए । सांसद गौरीशङ्कर चौधरीले सडकका बीचबीचमा पुनर्ताजगी केन्द्रको व्यवस्था गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सांसद टेकबहादुर बस्नेतले जीर्ण सडककै कारण २० वर्षको अवधिमा सल्यानमा पाँच वटा ठूला दुर्घटना भएको उल्लेख गरे । नेपालगञ्ज–सुर्खेत सडक तीन मिटर पनि नहुँदा दुर्घटना बढ्ने गरेकाले कम्तीमा दुई लेनको सडक बनाउन उनले माग गरे । सांसद केदार सिग्देलले सडक निर्माणका क्रममा अनुगमन कम हुँदा गुणस्तरीय काम नभई सुरक्षा चुनौती बढेको बताए । सांसद कमला रोक्काले राप्ती मार्गको स्तरोन्नति नहुँदा दुर्घटना बढेकोतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गराइन् । सांसद गणेश पहाडीले सरकारको सडक सुरक्षा रणनीतिमा सन् २०२० सम्म दुर्घटना ५० प्रतिशत कम गर्ने लक्ष्य भएपनि वार्षिक रुपमा मृत्यु हुनेको सङ्ख्या एक हजार ८०० बाट दुई हजार पुगेको तथ्याङ्क पेश गर्दै सडक सुरक्षा परीक्षण गरिनुपर्नेमा जोड दिए । सांसद आशाकुमारी विकले बुटवलबाट काठमाडौंसम्म बसमा रु ५०० भाडा तिरेर आउन पाएपनि कलङ्कीबाट नयाँबानेश्वरसम्मको ट्याक्सी भाडा रु ६०० तिर्नुपरेको गुनासो गरिन् । ट्याक्सी मिटरमा हिँड्न नमान्ने भएकाले भनेजति भाडा नतिरी यात्रा गर्न नपाइने उनको गुनासो थियो । सांसद राजेन्द्र राईले दिनभर सडकमा यात्रुको सुरक्षाका लागि खटिने ट्राफिक प्रहरीलाई तलब, भत्ता लगायत साधनस्रोत पर्याप्तमात्रामा नदिँदा उत्साह जाग्न नसकेकोतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्ने सुझाव दिए । रासस
इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त
काठमाडौं, पुष १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम डा. अञ्जान शाक्यलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा सोमबार नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपाधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा डा. शाक्यलाई राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
भरतपुरमा पूर्वाधार निर्माणले तिव्रता लियो, नारायणगढमा बन्दैछ यस्तो भव्य बहुउद्देश्यीय भवन
चितवन, पुष १६ । भरतपुर महानगरपालिकामा पछिल्लो समय एकपछि अर्को ठूला पूर्वाधार निर्माणको काम अघि बढिरहेका छन् । केही समय अन्यौल बनेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रामपुरमा बन्ने भएको छ । भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा क्रिकेट रंगशाला निर्माणको काम अघि बढेको छ । ५० करोडको लागतमा जिल्ला समन्वय समितिले उपलव्ध गराएको जग्गामा सिटी हल निर्माणको काम पनि अगाडि बढ्ने पक्का भएको छ । लामो समय अन्यौल रहेको सिटी हलले पनि अब पूर्णता पाउने भएको छ । भरतपुर महानगरपालिकाले रिङरोड र लिंकरोडको काम पनि अगाडि बढारहेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकामा एकपछि अर्को ठूला पूर्वाधार निर्माणको काम अगाडि बढेको बताइन् । उनले भनिन्, ‘सिटी हल, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सँगसँगै अघि बढ्छ, नारायणगढमा बन्ने बहुउद्देश्यीय व्यावसायिक भवनको निर्माणको काम पनि अगाडि बढेको छ ।’ उनले रिंगरोड लिंकरोडको कामले पनि तीव्रता पाएको बताइन् । देवघाटमा विद्युतीय शवदाह गृह निर्माणमा पनि भरतपुर महानगरले बजेट उपलव्ध गराएको छ । महानगर प्रमुख दाहालका अनुसार महानगरपालिकाले लायन्सचोकमा रहेको पुरानो सव्जीमण्डी रहेको जग्गामा बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण गर्न लागिएको हो । सो क्षेत्रमा भरतपुर महानगरको १० कठ्ठा १५ धुर जग्गा छ । महानगर प्रमुख दाहालले भनिन्, ‘भरतपुर महानगरमा एकपछि अर्को पूर्वाधार निर्माणको काम अघि बढेका छन्, अब झन्डै ४ वर्षको अवधिमा भरतपुर महानगर हरेक दृष्टिकोणले देशकै हेर्नलायक नमुना महानगरको रुपमा परिणत हुनेछ ।’ महानगर प्रमुख दाहालले नारायणगढको लायन्सचोकमा बहुतलाको बहुउद्देश्यीय भवनको नक्साङ्कनको काम भइरहेको बताइन् । महानगरपालिकाले अरनिको डिजाइनर्स एण्ड प्लानर्स प्रालिलाई नक्साङ्कनको जिम्मा दिएको छ । नक्साङ्कनलाई अन्तिम रुप दिनमात्र बाँकी रहेको छ । भूमिगत तला पार्किङको व्यवस्था गरिने छ । एक हजार ७१२ स्क्वायर मिटरको भूमिगत तलामा ५० गाडी र ६५ मोटरसाइकल अट्ने छन् । भुइँ तला एक हजार ५१५ स्क्वायर मिटरको छ । चार तलासम्म सोही हाराहारी क्षेत्रफलको हुनेछ । त्यसपछि क्रमश क्षेत्रफल घट्दै जानेछ । चार तलासम्म व्यावसायिक सटर हुनेछन् भने त्यसमाथि दुई व्यावसायिक हल, दुई सिनेमा हल, जिमहल, फुडकोट, रेष्टुरेन्टहरु हुनेछन् । बहुउद्देश्यीय भवन देशकै नमुना बन्ने महानगर प्रमुख दाहालको भनाइ थियो । भरतपुर महानगरपालिका प्रमुख दाहालले शहरी विकास कोषको सहयोगमा भवन बनाउन लागिएको बताइन् । यकिन लागत आई नसके पनि करिब ८० करोडको हाराहारी खर्च हुने अनुमान गरिएको उनले बताइन् । यस भवन बनेसँगै बजारको व्यवस्थापनमा सहजता आउने उनले बताइन् । भवनलाई आकर्षक बनाइने भन्दै उनले व्यवस्थित बजार विकासमा सहयोगी बन्ने बताइन् । महानगरपालिका वडा नं ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले महानगरको मुख्य बजार नारायणगढ क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउन बहुद्देश्यीय भवन बनाउन लागिएको बताए । सो ठाउँको तरकारी बजार क्षेत्रपुरमा सरेपछि त्यहाँ भवन बनाउने प्रक्रिया अघि बढेको हो । केही दिनमानै नक्साङ्कनको टुङ्गो लागेर निर्माणको प्रक्रिया अघि बढ्ने महानगरले जनाएको छ ।
नेता जोशी भन्छन्, ‘कांग्रेस अब पुरानै तरिकाले अगाडि बढ्न सक्दैन’
दमौली, पुष १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी पुरानै तरिकाबाट अगाडि बढ्न नसक्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेस तनहुँले सोमबार आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य जोशीले पार्टीलाई विधान अनुसार सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । कांग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले पार्टीभित्रको बेमेल व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए । पूर्वजिल्ला सभापति धु्रव वाग्लेले आफ्ना प्रतिबद्धता पूरा नगरेकै कारण पार्टी आज कमजोर अवस्थामा पुगेको बताए । राष्ट्रियसभा सदस्य प्रकाश पन्थी, प्रदेशसभा सदस्य सरिता गुरुङ, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेललगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । रासस
‘महेन्द्र र विपि एक जंगलका दुई शेर’
काठमाडौं, पुष १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणाले राजा महेन्द्र शाह र विपि कोइरालालाई एउटा जंगलका दुई शेरको संज्ञा दिएका छन् । सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले महेन्द्र र विपिलाई यस्तो सज्ञा दिएका हुन् । अध्यक्ष राणाले भने, ‘२००७ सापछि नेपाली धर्तीमा दुई महान व्यक्तिहरुको उपस्थिति रह्यो, राजा महेन्द्र र विपि कोईराला, उहाँहरु एक जंगलका दुईवटा शेर हुनुहुन्थ्यो, भारत निर्वासनमा बस्नुभएका विपिले राष्ट्रियतालाई शीरमा राखेर स्वदेश फर्किनुभयो, राजसंस्थाबिनाको राष्ट्रियताले कमजोर बन्छ भन्ने उहाँको दृष्टिकोण थियो, व्यक्तिगत रुपमा महेन्द्र र विपिका बीचमा टकराव भएपनि उहाँहरु दुरदर्शी नेता हुनुहुन्थ्यो, राष्ट्र र राष्ट्रियताका बारेमा एक ठाउँमा हुनुहुन्थ्यो ।’ आज मेलमिलाप दिवस भएको उल्लेख गर्दै उनले कांग्रेसले विपिको सम्मानको लागि नेपाललाई हिन्दुराज्य कायम गर्ने प्रयास गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘हामीले ईतिहासमा मुलुकलाई योगदान पु¥याउने सम्पूर्ण वीर पुरुषहरुलाई सम्मान गर्नुपर्छ ।’
सस्तो तथा सुलभरुपमा नगर बस सेवा सञ्चालन
डोटी, पुस १६ । शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ। उक्त नगर बस सेवाको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले शुभारम्भ गरे । नगरपालिकाले खरीद गरेको २६ सिट पास रहेको उक्त दुई वटा नगर बसले दिपायलदेखि डडेल्धुराको कोरायल खोलासम्म सेवा दिने नगर प्रमुख सीताराम जोशीले जानकारी दिए । नगरपालिकाद्वारा सञ्चालनमा ल्याइएका नगर बसमा भाडा सार्वजनिक यातायातभन्दा २५ प्रतिशत सस्तो रहेको नगरपालिकाले जनाएको छ । नयाँ सङ्घीय संरचनामा साबिकको नौवटा गाउँ विकास समिति समावेश गरेर शिखर नगरपालिका घोषणा गरिएको थियो । कूल रु ५६ लाख ६० हजारको लागतमा खरीद गरिएका नगर बसले नगरवासीलाई गुणस्तरीय सेवा दिने शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत बिनाडीका अनुसार नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनको लागि एम्बुलेन्स खरीद गर्ने प्रक्रिया अघि बढाइएको र नगरपालिकाको खरीद नियमावलीअनुसार रु ३८ लाख ६९ हजारमा एक टिपर र ३६ लाख ९५ हजारमा पिकअप गाडी खरीद गरिएको छ । यसअघि डोटीकै दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएका नगर बस सेवाबाट पनि डोटीका नगरवासी प्रत्यक्ष लाभान्वित भइरहेका छन् । रासस
सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोह सक्रिय
काठमाडौँ, पुस १६ । सामाजिक सञ्जालमा तपाईँलाई आकर्षक उपहार परेको सूचना त आएको छैन ? त्यस्तो सूचना वा जानकारीको प्रलोभनमा परेर तपाईंले त्यस्तो सूचना पठाउने व्यक्तिसँग सम्पर्क त गर्नुभएको छैन ? यदि त्यस्तो गर्नुभएको छ भने तपाईँ ठगिन पनि सक्नुहुन्छ । सामाजिक सञ्जालमा उपहार परेको, महत्वपूर्ण पार्सल आएको भन्दै सूचना पठाएर ठगी गर्ने गिरोह काठमाडौँमा सक्रिय रहेको पाइएको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभन देखाई ठगी गरेको अभियोगमा एक विदेशीसहित नेपाली नागरिकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा सूचना वा जानकारी पठाई ठगी गर्ने गिरोह सक्रिय रहेको पत्ता लगाएको हो । महानगरीय अपराध महाशाखाले फेसबुक, हवाट्एप, भाइबर, इमो जस्ता सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक भुम्लुटार घर भई हाल काठमाडौँ पेप्सीकोला बस्ने कुसुम कायस्थ र आइभरी कोष्टका ओवोतार अलकाग्नीलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार पक्राउ परेका श्रीमान् श्रीमती हुन् । उनीहरुले सामाजिक सञ्जालका अतिरिक्त भारतीय मोबाइल नम्बरबाट फोन गरी तपाईको नाममा पार्सल पठाएको र लिन शुल्क तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिबाट रु १४ लाख ३४ हजार ९७२ बराबरको ठगी गरेको पाइएको छ । प्रहरीका अनुसार उनीहरुले ठगी गरेको पैसा काठमाडौँका विभिन्न रेष्टुरेन्टमा खर्च गर्ने गरेका थिए । उनीहरु श्रीमान् श्रीमतीका रुपमा काठमाडौँ पेप्सीकोलामा फ्ल्याट भाडामा लिई बस्ने गरेका थिए । महत्वपूर्ण पार्सल आएको र त्यसका लागि शुल्क तिर्नुपर्ने भन्दै उनीहरुले नेपालका विभिन्न बैंकको खाता नम्बर दिइ रकम जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले आठ जनालाई त्यस्तै प्रलोभन देखाई ठगी गरेको पाइएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई आइतबार पेप्सीकोलाबाट पक्राउ गरेको र ठगी मुद्दामा अनुसन्धान गरिरहेको जानकारी आज दिएको छ । सामाजिक सञ्जालमा उपहार परेको, पार्सल आएको भन्दै कुनै सूचना आए प्रहरीलाई जानकारी गराउनसमेत महाशाखाले आग्रह गरेको छ । रासस
न्यायाधीशले निरुपण गर्नुपर्ने विवाद जनप्रतिनिधिले गर्न नसक्ने
काठमाडौं, पुष १६ । सर्वोच्च अदालतमा गाउँपालिका र नगरपालिकाको उपप्रमुखबाट न्यायाधीशले गर्नुपर्ने विवाद निरुपण गर्न नसक्ने उल्लेख गर्दै रिट निवदेन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता शिलु तिवारीले आज दायर गर्नुभएको रिट निवेदनमा न्यायिक समितिका संयोजकको न्यायाधीश बन्न कानूनबमोजिम योग्यता, क्षमता तथा स्वच्छ सुनुवाइको सिद्धान्तसमेत थाहा नभएको हुँदा वैकल्पिक उपाय खोज्न माग गरिएको छ । रिट निवेदनमा न्यायिक समितिका जनप्रतिनिधिलाई एक÷दुई दिन कानूनी तालीम दिने लिने भरमा न्यायाधीश स्वसरह भूमिका दिने गरी अत्यन्तै अदूरदर्शी र अपारदर्शी ढङ्गले नागरिकको सम्पत्ति जोखिममा पर्ने सक्ने उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएका केही व्यवस्था कार्यान्वयन नगर्न परमादेश जारी गर्न माग गर्दै वैकल्पिक उपचार खोज्न माग गरिएको छ । रासस
राजधानीमा पत्रकार आचारसंहिता डिजीटल संवाद सम्पन्न
काठमाडौँ, पुस १६ । रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारहरुले सदैव विषय र मुद्दाको आधारमा ठीकलाई ठीक र बेठीकलाई बेठीक, वस्तुनिष्ट, गुण (दोषको आधारमा छुट्टाई जनतामा सत्य कुरा पुर्याउनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको संयोजनमा आइतबार राजधानीमा आयोजित पत्रकार आचारसंहिता डिजिटल संवाद कार्यक्रम उक्त कुरामा जोड दिएका हुन् । साथै उनले ठूल्ठूला आयोजनामा वस्तुनिष्ठ भन्दा कुनै सेन्टरबाट आएको हावादारी कुरालाई प्राथमिकता नदिऔं । तर, कमजोरीहरू केलाउनु, समाज विकासको क्रममा विभिन्न क्षेत्रमा परेको प्रभाव पत्रकारमा पनि परेको हुनसक्छ भन्ने धारणा राख्दै अहिले प्रणालीमा परिवर्तन, सरकारमात्र होइन, शासनसत्ता परिवर्तन भएको अवस्था रहेको प्रष्ट पारे । प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाबिन्दु तुलाधरले पत्रकार आचारसंहिता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमा काउन्सिलको संक्षिप्त परिचय, अनुगमनको अवस्था, काम–कारबाहीबारे जानकारी, २४सै घण्टा मिडियाको अभिलेखिकरण र सोको अनुगमन, डिजिटल काउन्सिल बनाउने अभियानमा रहेको बताउँदै नुवाकोटबाट यसप्रकारको संवाद शुरू गर्ने बताए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले प्रेस काउन्सिलको गतिबिधि एवं कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणी सुवेदीले प्रेस चौतारी र प्रेस सेन्टरबीच समायोजन भई प्रेस संगठन भैसकेको अवस्था हो, जिम्मेवारी बाडफाडमात्र बाँकी रहेको बताउँदै श्रमिकमैत्री पत्रकारिता गर्नुपर्ने, श्रमिकमैत्री नभएको हो कि भन्ने आशङ्का भएको धारणा राखे । उनले भन– ‘नेपालमा जम्माजम्मी १० हजारको संख्यामा पत्रकार कृयाशील छौ होला, काठमाडौ शाखामा १४०० सय सदस्यमध्ये साधारण सभामा डेढ सयको हाराहारीमा उपस्तिथि हुनु आश्चर्यलाग्दो कुरा भएको धारणा राखे । सो कार्यक्रममा ३ नम्बर प्रदेश नीति तथा योजना आयोगका सदस्य तथा पत्रकारिता गर्दै आएका श्याम बस्नेत, वरिष्ठ पत्रकार देबेन्द्र चुडाल, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय संजालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस काउन्सिल सदस्य इश्वरीप्रसाद ओझा, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जीवी खनाल प्रेस काउन्सिल नेपालका सदस्य एवं काठमाडौ शाखाकापूर्व अध्यक्ष गोबिन्दप्रसाद चौलागाईं लगायतले पत्रकार आचारसंहिता सम्बन्धी आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखाका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखाका सचिव मोहन पन्तले गरेका थिए ।
कोटेश्वर–कलङ्की सडकखण्डमा ४ पुल निर्माण हुँदै
ललितपुर, पुष १६ । कोटेश्वर कलङ्की सडकखण्डमा चारवटा पुल निर्माण गर्न थालिएको छ । सडक निर्माण सक्नु पहिले नै सडक विभागले सात वटा पुल निर्माण गर्ने तयारी भएकामा चार स्थानमा काम धमाधम भइरहेको काठमाडौं चक्रपथ सडक योजनाका इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताए । अन्य तीन स्थानमा भने ठेक्का सम्झौता भइसके पनि काम शुरु हुन बाँकी छ । पुल निर्माण गर्ने भनिएको एक स्थानमा भने अहिलेसम्म ठेक्का सम्झौता भइसकेको छैन । उनले भने, “नेपाल सरकारले निर्माण गर्ने सात स्थानमध्ये खसीबजारमा ठेक्का सम्झौता हुन बाँकी हो ।” तीन स्थानमा आकाशे पुल सडक निर्माण निर्माण कम्पनी आफैँले गर्ने सम्झौतामा उल्लेख थियो तर यो सडकखण्डका धेरै स्थानमा बाटो काट्न सजिलो नभएकाले सरकारले थप पुल निर्माण शुरु गरेको इञ्जिनीयर शर्माले बताए । सडक निर्माण तोकिएको मिति मङ्सिर मसान्तमा नै सकिएको छ । एक वर्षसम्म सडकमा कुनै पनि खालका समस्या आउँदा निर्माण कम्पनी आफैंले काम गर्ने गरी ‘मर्मत अवधि’ शुरु भएको छ ।
नागढुंगा सडकखण्डमा प्रहरीलाई घुस दिने दुई प्रकाउ
काठमाडौं, पुस १६ । नागढुङ्गाको चेक प्वाइन्टमा प्रहरीलाई घुस दिंदा दिदै दुई व्यत्ति पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाको चेक प्वाइन्टमा सवारीसाधन चेक जाँच गर्ने क्रममा बुटवल वाट काठमाडौं आउँदै गरेको घूस दिने लु.१.ख. ९४६९ नम्बरको यात्रुवाहक बसको सह–चालक रामबहादुर सुवेदी र क्रिकेट सम्वन्धी सामाग्री ल्याउने अर्घाखाँची सन्धिखर्क घर भएका जगतबहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । डियुटीमा खटिएका प्रहरी टोलीले कागजातहरु माग्दा नदेखाई प्रहरी नायव निरिक्षक विश्वनाथ त्रिपाठीलाई १५ सय घुस दिन खोज्दा उनीहरुलाई प्रकाउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले बताए । महानगरीय प्रहरी वृत्तअन्तर्गतको महानगरी प्रहरी प्रभाग नागढुङ्गामा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्दै गर्दा सामानको कागजपत्र माग्दा उक्त सवारीका सहचालकलाई १५ सय घुस दिन लगाउने जगत बहादुर क्षेत्री र सहचालक रामबहादुर सुवेदीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान प्रश्चात आवश्यक कारवाही अगाडि बढाईने प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

