एमाले नेता नेपालले डा.भट्टराईलाई ‘संसद छाडेर भागेको भगौडा’ भनेपछि…
पर्वत, फागुन १४ । नेकपा एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई संसद छाडेर भागेको भगौडाको आरोप लगाएका छन् ।
शनिबार प्रेस चौतारी पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद छोडेर भागेको भगौडाले मधेसको जिम्मा लिन्छु भन्नु हास्यास्पद विषय भएको बताए । उनले चुनावअघि संविधान संशोधन कुनै हालतमा गर्न नहुने भन्दै मधेसी दलहरुलाई नेपालको माया भए जिद्दी त्याग्न आग्रह गरे ।
नेता नेपालले स्थानीय तहको चुनावसम्म प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्ने बताए । स्थानीय तहको निर्वाचन अब कुनै शक्तिले रोक्न नसक्ने भन्दै उनले भने– ‘स्थानीय निर्वाचनसम्म गठबन्धन सरकारको कुर्सी धानिदिन्छौं,’ नेपालले भने, ‘त्यसपछिको जनादेशले फरक मोड लिन सक्छ । हामी पनि चुप लागेर बस्न सकिन्न ।’
उनले केही व्यक्ति चुनावमा सहभागी नहुँदैमा र कुनैले मतदान नगर्दैमा चुनाव नरोकिने स्पष्ट पारे । ‘अब चुनावविपरीत कुनै कदम चाल्दा त्यसको परिणाम के हुन्छ भन्ने राम्रोसँग बुझ्नुपर्छ,’ नेता नेपालले भने, ‘केही व्यक्तिहरुले मतदान नगर्दैमा चुनाव रोक्नु हुन्न ।’
नेपालले एमाले चुनावमा होमिएर देश दौडाहा अभियानमा लागेकोले अब कसैका कुरा नसुनी निर्वाचनको तयारीमा लाग्न र मुलुककै पहिलो शक्तिका रुपमा एमालेलाई स्थापित गराउन कार्यकर्तालाई आग्रह गरे ।
वैद्य र विप्लवको एउटै बोली– संशोधन र चुनाव दुबै गलत
काठमाडौं, फागुन १३ । सरकारले चुनावको घोषणा गरेको विषयलाई वैद्य माओवादीले बिरोध गरेको छ । वर्तमान अवस्थामा चुनावले आम नेपाली जनताका आधारभूत मागहरुको सम्बोधन नगर्ने भन्दै वैद्य माओवादीले बिरोध गरेको हो । यसअघि विप्लव माओवादीले पनि चुनाव घोषणाले संसदीय व्यवस्थालाई नै निरन्तरता दिने भन्दै बिरोध गरेको थियो । पार्टीले विज्ञप्ती जारी गर्दै वर्तमान पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्था अन्र्तगत गरिने संंविधान संशोधन र हुने निर्वाचनद्वारा जनताका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान हुन सक्तैन, भन्ने उल्लेख गरेको छ । विज्ञप्तीमा भनिरएको छ,“‘त्यसका निम्ति नयाँ जनवादी राज्यसत्ताको स्थापना अनिवार्य रुपमा आवश्यक छ ।’ स्थानीय निर्वाचनको मिति घोषणा गरिएपनि वर्तमान राज्यसत्ता र व्यवस्थाका पक्षधर राजनीतिक दलहरुका बिच पैदा हुँदै आएका अन्तर्विरोध तथा विवाद र अन्य विविध जतिलताका कारण पनि निर्वाचन हुने नहुने अझै स्पष्ट भइनसकेको बैद्य माओवादीको ठहर छ । ‘संसदीय निर्वाचन बहिष्कार र उपयोग संबन्धी प्रश्न राजनीतिक कार्यनीतिको विषय भएको भन्दै यसवारे परिस्थितिको ठोस अध्ययन गरी उपयुक्त समयमा पार्टीको आधिकारिक निकायले ठोस निर्णय गर्ने भनिएको छ ।
सभापतिका प्रत्याशी उपाध्यायको प्रश्न– टियु मशानघाट हो कि डेटिङ थलो ?
काठमाडौं, फागनु १३ । स्वतन्त्र विद्यार्थी यूनियनको चुनावले तातेको छ कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा बलियो उपस्थिति जनाएको दावी गरेको छ अखिल क्रान्तिकारीले । विश्वविद्यालयलाई साँच्चिकै प्राज्ञिक थलो बनाउने प्रतिबद्धता छ संगठनको । देशकै जेठो र चर्चित क्याम्पस अहिले बिमार भएकोले यसलाई तन्दुरुस्त बनाउनु प्रमुख एजेण्डा रहेको सभापतिका प्रत्याशी तिलक प्रसाद उपाध्यायले बताए । “देशकै जेठो त्रिभुवन विश्वविद्यालय मशानघाट हो कि डेटिङ स्पट हो ?” तिलक प्रसाद उपाध्याय प्रश्न गर्छन्, “प्राज्ञिक थलो भनेपछि त्यही अनुरुपको वातावरण हुनुपर्दैन ? कि यो जसले जे गरेपनि हुने ठाउँ हो ?” नाकाबन्दीको चर्को मारमा रहेको बेला ग्यास र इन्धन नपाएर चाउचाउ खान बाध्य विद्यार्थीहरुका लागि २८ दिनसम्म अभियान सञ्चालन गर्यो क्रान्तिकारीले । यो सँगै अन्य मुद्दाहरुमा समेत निकै सक्रियता देखियो संगठनको । संगठनको सक्रियताकै कारण अन्य विद्यार्थीहरुभन्दा अगाडि नै क्रान्तिकारीले अध्यक्षको उम्मेद्वार समेत घोषणा गरेको छ । “हिजो भूकम्प र पछिल्लो पटक नाकाबन्दी हुँदा अरु हराएका थिए, हामी विद्यार्थीलाई राहत पुर्याउँदै थियौं । आज अरुले उम्मेदवार खोज्दै हिँडेका छन्, हामी उम्मेद्वार घोषणासहित विद्यार्थी माझ छौं ।” एभरेष्टदैनिकडटकमसँग उपाध्यायले भने । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस सबैभन्दा बढी चल अचल सम्पत्ति भएको क्याम्पस हो । सयौं रोपनी जग्गा छ क्याम्पसको । तर क्याम्पस कहाँबाट शुरु हुन्छ र कहाँ सकिन्छ भन्ने कुरा भने भन्न सकिने अवस्था छैन । कारण हो, क्याम्पसको व्यवस्थित संरचना नहुनु । जो गएपनि हुने, जे गरेपनि हुने अवस्था रहेको उपाध्याय बताउँछन् । “क्याम्पस भएपछि स्वच्छ वातावरणमा चौरमा, पार्कमा, लाइब्रेरिमा पढ्ने वातावरण हुनुपर्ने होइन र ?” उनी भन्छन्, “यहाँ बाहिर निस्किएर चौरमा बसे छेउमा कि लागु पदार्थ खानेहरु देखिन्छन् कि डेटिङ जोडीहरु, अनि कसरी बन्छ प्राज्ञिक थलो ?” उनको प्रश्न छ । आफूले जितेमा सबैभन्दा पहिला क्याम्पस परिसरमा पर्खाल लगाउने उनले बताए । त्रिभुवन विश्वविद्यालय परिसरभित्र ४ जनाको मृत्यु भएको प्रसंग उठाउँदै उपाध्यायले विश्वविद्यालयलाई साँच्चिकै अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय बनाउनु यसको वातावरणदेखि भौतिक संरचनामा व्यापक सुधारको खाँचो भएको औंल्याए । “अरु संगठनलाई यसको मतलब छैन, तर हामीले उपेक्षा गर्न सक्दैनौं । विश्वविद्यालयलाई वास्तविक शैक्षिक, प्राज्ञिक थलो बनाउने हाम्रो कोशिस रहन्छ ।” भौतिक संरचनाको निर्माण गर्ने, डिजिटल अध्ययन केन्द्रदेखि अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आफूहरु लागि परेको उनको भनाई थियो । त्रिभुवन विश्वविद्यालयलाई नेपाल सरकार, विश्व बैंकलगायत थुप्रै सहयोग दिएपनि विद्यार्थीबाट भने चर्को शुल्क असुलिने परिपाटीले भ्रष्टाचार मौलाएको उपाध्यायले बताए । “विद्यार्थीले तिर्ने पैसा के मा खर्च हुन्छ ? जबकि अनुदान पाइएकै छ । सेमेष्टर सेमेष्टर जस्तो छैन । यो वार्षिक प्रणाली हो कि सेमेष्टर हो भन्ने छ्ट्टयाउन गारो पर्छ । यसको विरुद्धमा पनि मेरो उम्मेदवारी हो’ उनले भने, “सेमेष्टर प्रणाली खारेज गर्ने षडयन्त्र समेत चलेको छ । तर हामीले गुणस्तरीय शिक्षाका लागि यसलाई व्यवस्थित बनाएर लैजानुपर्छ भन्ने माग गर्दै आएका छौं ।’ विद्यार्थीहरुबाट उठाइएको शुल्क घटाउनुपर्ने माग क्रान्तिकारीले गरेको छ । आफूहरुले विद्यार्थी, विश्वविद्यालय र समग्र शैक्षिक प्रणालीसँग जोडिएका मुद्दाहरु उठाएको जित्ने कुरामा ढुक्क भएको उपाध्याय बताउँछन् । चौथो सेमेष्टरमा नै थेसिस सक्ने वातावरण मिलाउने, पार्ट टाइम जागिरको सुनिश्चितता र प्रमाणपत्रमा ऋणको सुनिश्चितताका लागि समेत आफूले उम्मेद्वारी दिएको उनले बताए । त्रिभुवन विश्वविद्यालयलाई मर्यादित बनाउन चानचुने प्रयासले नहुने उनको बुझाई छ । होस्टेलको व्यवस्थापनदेखि शैक्षिक र भौतिक संरचनामा आमूल सुधारको खाँचो रहेको उनी बताउँछन् । “यसका लागि जिम्मेवार र प्रतिबद्ध स्ववियू आवश्यक छ । लामो समयदेखि हामी यसकै लागि लडेकोले अन्य संगठनबाट यी कुराको आश गर्न सकिन्न ।’ उनले भने, “त्यसैले विद्यार्थीमाझ हामी लोकप्रिय छौं र जित्ने कुरामा ढुक्क छौं ।’
पाँच तस्वीरमा हेर्नुस् पशुपतिनाथमा महाशिवरात्री उत्सव (फोटो फिचर)
काठमाडौं, फागुन १३ । आज महाशिवरात्री । फागुन कृष्ण त्रयोदशीको दिन मनाइने पर्वका अवसरमा शुक्रबार पशुपतिनाथमा आराध्यदेव भगवान् शिवको पूजा–आराधना गर्न विहान सबेरैदेखि भक्तजनहरुको भीड लागेको थियो । पशुपतिनाथ मन्दिर दर्शनको लागि बिहान ३ः३० बजेदेखि मन्दिरको ढोकचा खुला गरिएको थियो । तर, बिहान २ः३० बजेदेखि भक्तजन दर्शनका लागि लाइनमा बसेका थिए । दर्शनका लागि ३ः३० बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डनले जानकारी दिए । उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । सबै तस्वीर : रासस pashupati-mahasivaratri 2 pashupati-mahasivaratri pashupati-mahasivaratri 4 pashupati-mahasivaratri 1 pashupati-mahasivaratri 3
अपडेट : शिव मन्दिरमा ग्यास सिलिन्डर पड्कीँदा एकको मृत्यु, ८ जना घाइते
सुनसरी, फागुन १३ । सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा ग्यास सिलिन्डर पड्किदा गम्भिर घाइते भएका एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था अझै गम्भिर रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा मोरङ कटारीका ३० वर्षका सोमराज माझी रहेका छन् । माझीको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भिर घाइतेहरु मोरङ गछियाकी ३२ वर्षकी तारा मण्डल र नाम नखुलेका एक पुरुषको पनि त्यही अस्पतालमा उपचार भइरहेको छ । ग्यास सिलिन्डरबाट बेलुन फुलाएर बिक्री गर्दै आएका दुहवी भलुवा नगरपालिका–६ का व्यापारीद्वय भगवान साह र राधेश्याम साह प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले बताएका छन् । याे पनि पढ्नुस् https://everestdainik.com/2017/02/82869/
यसरी मनाइयो नेपाली सेना दिवस (फोटो फिचर)
काठमाडौं, फाुगन १३ । नेपाली सेना दिवस तथा महाशिबरात्री पर्वको नेपाली सेनाले एक समारोहका बीच मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्की, सभामूख ओनसरी घर्ति, मन्त्रीहरु, संवैधानिक आयोगका प्रमूख एवं प्रतिनिधिहरु, निजामति कर्मचारीहरु, सुरक्षा अंगका बिशिष्ट अधिकृतहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायतका व्यक्तित्वहरु सहभागी भएका थिए । समारोहमा नेपाली सेनाले विभिन्न कार्यक्रमहरु प्रदर्शन गरेको थियो । यस्ता छन् समारोहका केही झलकहरु
भट्टराई र यादवबीच एकताको भारतीय कनेक्सन
काठमाडौं, फागुन १३ । पछिल्लो केही समययता राष्ट्रिय राजनीतिका मुद्दाहरुमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच ऐक्यबद्धता देखिएको छ । खासगरी संविधान संशोधन, निर्वाचन र मधेसी मोर्चाले उठाएका मागहरुमा उनीहरु एक ठाउँ देखिन्छन् । सरकारले निर्वाचन घोषणा गरेपछि त्यसको बिरोध गर्दै दुबै पार्टीले निर्वाचनको मिति फिर्ता लिन संयुक्त विज्ञप्ती समेत जारी गरेका छन् । गत महिना नेपाली मिडियामा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच एकता हुने विषयका समाचार समेत प्रकाशित भए । त्यसयता उनीहरुले समान धारणा राख्दै कतिपय मुद्दामा संयुक्त विज्ञप्ती जारी गर्दै आएका छन् । वैकल्पिक शक्तिकारुपमा आफूलाई विकास गर्न खोजेको दावी गर्ने नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच यो कार्यगत एकता त्यसै भएको होला त ? या यसका पछाडि केही आधारहरु छन् भन्ने विषय यतिखेर राजनीकि वृत्तमा चर्चाको विषय समेत बनेको छ । भारतीय रणनीतिः आफू समर्थित वैकल्पिक शक्तिको निर्माण मधेसी मोर्चा र त्यसअन्तर्गतको मुख्य दल संघीय समाजवादी फोरमसँग नयाँ शक्तिको यो कार्यगत एकतालाई कतिपय भारतीय रणनीतिसँग समेत जोडेका छन् । नयाँ शक्तिका एक शीर्ष नेता भन्छन्, “हेर्दा सामान्य देखिएपनि यो एकताभित्र ठूलै अर्थ लुकेको छ । भारतले नेपालमा मधेसको समेत स्वीकार्यता हुने नयाँ वैकल्पिक शक्ति विकास गर्न खोजेको देखिन्छ ।” बाबुरामसँग औपचारिक असहमति राख्ने ती नेताले अगाडि भने, “अरु दलभन्दा फरक राजनीतिक चरित्र र विचार भएको दावी गर्ने तर घुमिफिरी हिजोकै प्रतिक्रियावादी शक्तिहरुसँग बाबुरामजीले साँठगाँठ गर्ने स्थिति देखिएको छ । उपेन्द्र यादवसँगको एकताको कुरा त्यसकै विकास हो ।” भारतले नेपाललाई जहिल्यै पनि आफ्नो सुरक्षा छाताभित्र राख्दै आएको छ । नेपालको स्वतन्त्र अस्तित्व रहीरहेपनि राजनीतिक र आर्थिक–सांस्कृतिकरुपमा नेपाल भारतकै प्रभुत्व अन्तर्गत रहोस् भन्ने भारतीय कुटनीति समेत हो । नेपालले यो छाता उघार्नेबित्तिकै भारतले यो त्यो रुपमा नेपालमा हस्तक्षेप समेत गर्दै आएको छ । नेपालको संविधान निर्माणका क्रममा भारतले देखाएको व्यवहारले यसको पुष्टि गर्छ । संविधान निर्माणको बेला बाबुराम भट्टराई मस्यौदा निर्माण गर्ने एउटा मुख्य जिम्मेवारीमा थिए । मधेसी मोर्चाका नेताहरुले संविधानमा असहमति राखेका थिए । देशमा विदेशी शक्ति केन्द्रहरुले संविधान जारी गर्न नदिने ठूलो आशंका व्याप्त थियो । बैंककदेखि नयाँ दिल्लीसम्म संविधान असफल पार्ने षडयन्त्र भइरहेको कतिपय नेताहरुले अनौपचारिकरुपमा भनिरहेका थिए । र, यही आशंकाबीच बाँकी रहेका मुद्दाहरु पछि मिलाउने गरी मुख्य दलहरुले संविधान जारी गरे । तत्कालिन एमाओवादीले आफ्ना मतहरु फरक मतका रुपमा दर्ता गराएर भएपनि संविधान जारी गरे । यो कुरामा भारतले कडा आपत्ती जनायो र बाबुराम भट्टराईले पनि । त्यस लगत्तै बाबुरामले माओवादीबाटै राजीनामा दिए । उता मधेसवादी दलहरु आन्दोलनमा नै थिए । बाबुरामले मधेसी मोर्चाका मागमा समर्थन गरे । आन्दोलन चर्कियो र सेलायो पनि । नाकाबन्दीको नेपाली जनताले सामना गरे । नयाँ शक्तिका ती नेताका अनुसार, विगत एक डेढ वर्षयता देखा परेको यो परिदृश्यले भारतले नेपालमा नयाँ वैकल्पिक शक्तिको स्थापना गर्न खोजेको छ । मधेसवादी दलहरुले नाकाबन्दी जस्तो कडा आन्दोलन गर्दा समेत त्यसले आन्दोलनलाई राष्ट्रिय आन्दोलनको स्वरुप दिन नसकेको कुरा भारतका लागि ठूलो पाठ भएको उनको बुझाई छ । “त्यही भएर भारतले नयाँ व्यक्ति र शक्तिहरुलाई विकास गर्न खोजेको छ, जसले मधेस र राष्ट्रिय राजनीतिका अन्य मुद्दाहरुलाई समेत सम्बोधन गर्ने हैसियत राख्न सकोस्” उनले भने, “राजेन्द्र महतो, महन्थ ठाकुरहरुमा त्यो ल्याकत नदेखेपछि नयाँ शक्तिको गठन र त्यसपछि उपेन्द्र यादवसँगको एकता यसकै परिणाम हो भन्ने कुरा बिस्तारै स्पष्ट हुन थालेको छ ।” भारतका लागि बाबुराम भरपर्दो नेता भारतका लागि बाबुराम भरपर्दो नेता हुन । सन्तुलित आर्थिक विकासको कुरा गर्ने भट्टराईले जनयुद्दकालदेखि आजसम्म भारतका बारेमा समान धारणा बनाउँदै आएका छन् । नेपाली अर्थतन्त्रको विकासका लागि भारतलाई चिढाउन नसकिने उनको तर्क छ । “त्यसैले भारतले बाबुरामजीलाई प्रत्यक्ष या अप्रत्यक्षरुपमा अगाडि बढाउने रणनीति लिएको हो । यसले भारतको प्रभुत्व नेपालमा कायमै रहने र उपेन्द्र यादवहरुलाई समेत यही शक्ति केन्द्रमा मिसाउन सके मधेसलाई समेत यसभित्र संलग्न गर्न सकिने हुन्छ । किनभने मधेस नेपालको राजनीतिमा निर्णायक अर्थ राख्ने जनसंख्या र भोट भएको क्षेत्र हो ।” उनको बुझाई छ । त्यसो त भारतले सबै राजनीतिक शक्तिहरुलाई खेलाउन नखोज्ने भने होइन । विगतमा उसले एमालेदेखि माओवादी र कांग्रेसलाई समेत उपयोग गरेको हो । तर उपयोग गर्नु र निर्णायक अवस्थामा धोका नदिने शक्ति विकास गर्नु फरक कुरा भएको ती नेताको तर्क छ । “प्रचण्डजीलाई पनि उसले उपयोग गरेको होल बेलाबखत, तर प्रचण्ड भारत भन्दा चीनकै नजिक छन् भन्ने कुरा प्रचण्डको इतिहासले पुष्टि गरेको बेला यो कार्यनीतिक उपयोग मात्रै हुने भारतको बुझाई हो । रणनीतिक उपयोगका लागि बाबुराम नै प्रचण्ड भन्दा बढी भरपर्दा छन् ।” उनले थपे । यदि भारतले यही रणनीति अन्तर्गत नेपालमा चलखेल गर्न खोजेको हो भने आगामी निर्वाचनमा खासगरी मधेस र केही अन्य जिल्लामा यादव र भट्टराईबीच चुनावी एकता या त्यसअगाडि नै पार्टी एकताका सम्भावना समेत रहेको उनले बताए । तर पार्टी एकता भएमा नयाँ शक्तिभित्र नै अन्तरविरोध चर्किने र यसले पार्टी नै फुट्ने र नकारात्मक सन्देश जाने भएकोले तत्कालका लागि राजनीतिक कार्यगत एकतामा जोड दिइएको उनले बताए । भारतले समेत तत्कालै एकता गर्न चाहेको छैन तर चुनावको परिणाम आफ्नो पक्षमा आउने गरी अगाडि बढ्न भारतीयहरुले सुझाव दिएको उनले जानकारी दिए ।
संविधान संशोधन नगरी चुनाव सम्भव छैन– सभापति देउबा
इलाम, फागुन १३ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले संविधान संशोधन भएपछि मात्रै निर्वाचन सम्भव नहुने बताएका छन् । सरकारले घोषणा गरेको मितिमा चुनाव गर्न संविधान संशोधन अनिवार्य भएको सभापति देउबाको जिकिर थियो । कार्यक्रममा भाग लिन इलाम चुलाचुली–२ स्थित हात्तीलेदा पुगेका नेता देउबाले संशोधनले ऐतिहासिक संविधानको सफल कार्यान्वयन तथा मधेश र पहाडबीचको भावनात्मक एकतालाई थप बलियो बनाउने बताए । नेपाल र नेपालीको एकता नै राष्ट्रिय एकता भएको र एउटा समुदायको आवाजलाई निषेध गरेर चुनाव सम्भव नहुने देउबाले बताए । देउबाले एमालेले लोकतान्त्रिक पद्धती नमानेर अड्को थापेकोमा आलोचना गरे ।
कस्तो होला स्थानीय तहको शासन सञ्चालन र व्यबस्था ?
काठमाडौं, फागुन १३ । व्यवस्थापिका–संसद्को विकास समितिले ‘स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि प्राप्त सुझावलाई सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले विधेयकमाथि छलफलका क्रममा उठेका विषय वस्तुलाई लिखित सुझावसहित आइतबार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । समितिका सभापति रवीन्द्र अधिकारीको सभापतित्वमा भएको बैठकमा सांसदहरुले प्रमुख रुपमा स्थानीय तहमा लगाइने करको व्यवस्था, खाता सञ्चालन तरिका, प्राकृतिक स्रोतबाट प्राप्त हुने राजस्व बाँडफाँड तथा सञ्चित कोष, कर्मचारी विभाजन र वडा सीमाङ्कनलगायत विषयमा सुझाव दिएका थिए । स्थानीय विकास मन्त्री हितराज पाण्डे, राज्यमन्त्री श्रीप्रसाद जवेगु, सचिव केदारबहादुर अधिकारीलगायत पदाधिकारीसँग भएको छलफलमा सांसदहरु रामचन्द्र पोखरेल, जनार्दन ढकाल, कर्णबहादुर विक, भक्तबहादुर विश्वकर्मा, रञ्जना सरकार, शान्ता मानवी, तुलसा रानालगायतले विधेयकका सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।
पशुपतिनाथमा शिवरात्री पूजा ४५ मिनेटमै हुने, विशेष पासको व्यवस्था कटौति
काठमाडौं, फागुन १३ । शिवरात्रीको अवसरमा पशुपति दर्शन गर्न ४५ मिनेटभन्दा बढी कुर्नु नपर्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्रिमा पशुपति दर्शन गर्न आउने भक्तजनलाई मन्दिर परिसरमा प्रवेश गरेको आधा घन्टादेखि ४५ मिनेटसम्ममा दर्शन गर्न पाउने गरी व्यवस्था मिलाएको बताएको हो । कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले गत वर्षको भन्दा छिटो दर्शन गर्न पाउने व्यवस्था गरेको र ४५ मिनेटसम्ममा दर्शनको व्यवस्था मिलाएको बताए । सर्वसाधारणलाई सुविधा होस् भनेर यसपटकदेखि कोषले विशेष पास र मूल समारोह समिति पनि हटाएको छ । ‘एक हजार रुपैयाँ तिरेर पाउने विशेष पासको व्यवस्था हटाएका छौं,’ कोषका सदस्यसचिव टण्डनले भने, ‘मूल समारोह समितिका सदस्यले आफन्त तथा चिनजानकालाई पास वितरण गर्ने र मान्छे लाने ल्याउने गर्दा दर्शनार्थीलाई असहज भएको महसुस भएर समिति नै कटौती गरिएको हो ।’ कोषले महाशिवरात्रि पर्व सञ्चालनका लागि यस वर्ष ४० लाख र गुठी संस्थानले करिब २४ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । शिवरात्रि पर्वलाई सहज तथा सुरक्षित बनाउन ४ हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सिभिल सुरक्षाकर्मी खटाइएको छ । शिवरात्रिको अवसरमा शुक्रबार १३ लाख भक्तजनले पशुपति मन्दिर दर्शन तथा पूजाआजा गर्ने अपेक्षा गरेको कोषले जनाएको छ । कोषका अनुसार शिवरात्रिका लागि ५ हजार साधुसन्त आइपुगेका छन । संस्थानको तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगृस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडा लगायतका क्षेत्रमा आवश्यक सामग्रीको व्यवस्था गरिएको छ । मन्दिरमा सहभागी साधुसन्त, महात्मा, सन्यासीका लागि संस्थानले फाल्गुन कृष्ण एकादशीको दिन विभिन्न सामग्रीहरू (राडी, च्यादर, बख्खु, कमण्डलु, शंखघण्ट, पीताम्बरी, लोटा, सिदा) राष्ट्रपति विद्यादेवी भण्डारीबाट संकल्प गराएर ल्याएको र बिदाइको दिन वितरण गरिने जनाएको छ । शुक्रबार महाशिवरात्रिका दिन बिहान गुठी संस्थानले पशुपतिनाथमा पञ्चामृत स्नानसहित पूजा गरेको छ । महाशिवरात्रि अवधिभर साधुसन्त, महात्मा, सन्यासीहरूले धुनी बाल्न ३८ हजार किलो दाउरा गुठी संस्थानले व्यवस्था गरेको छ । मित्रपार्क–उमाकुण्ड–दक्षिणमूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाको सिंढीबाट एक लाइन, गौशाला–वनकाली–चार शिवालय–पञ्चदेवल–बज्र घर हुँदै दक्षिण ढोका चौसट्ठी लिङ्गबाट अर्को लाइन र पूर्व ढोकाबाट अर्को लाइन मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।
पूर्वमा पहिलोपटक माउन्टेन फ्लाइट
पथरी (मोरङ), १३ फागुन । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको जनाएका हुन् । विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशङ्कर हिमाल सहितका हिमशृङ्खला हेर्ने गरी व्यवस्था मिलाइएको आयोजक संस्था मध्यको विराटनगर ट्राभल्स एसोसिएसनका अध्यक्ष भविशकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार २९–सिटे यती एअरलाइन्सको जहाजमा २२ जना जान मिल्नेगरी विराट एक्स्पोलाई लक्षित गरेर माउन्टेन फ्लाइटको व्यवस्था गरिएको छ । विराटनगरबाट पहिलो फ्लाइट शनिबार हुनेछ भने सोमबारसम्म नियमित माउन्टेन फ्लाइट हुने जनाइएको छ । काठमाडाँैबाट एक घन्टा ५ मिनेटमा अवलोकन गर्न सकिने हिमशृङ्खला विराटनगरबाट ५० मिनेटमा नै हुने श्रेष्ठले बताउनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले अहिलेको अवस्थामा पूर्वमा धेरै सम्भावना रहेको भएपनि त्यो हुन नसकिरहेको अवस्थामा त्यो पुष्टि गराउन र सरकारलाई दबाब दिनका लागि यो एउटा नयाँ अभ्यास हुने तर्क गर्नुभयो ।
‘अवाञ्छनीय गतिविधि निस्तेज गर्न सेना तयार’
काठमाडौँ, फागुन १३। प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना राष्ट्रको पहरेदार र राष्ट्रिय एकताको प्रतिविम्बका रुपमा आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सेना दिवस २०७३ का उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गी अड्डामा बिहिबार आयोजित समारोहमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–“समयानुसारको परिवर्तनलाई नेपाली सेनाले सदैव आत्मसात् गर्दै आएको छ, देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाका लागि पूर्वजले देखाएको वीरताका गाथा नेपालको इतिहासका पानाहरुमा स्वर्णिम अक्षरले लेखिएको छ ।” पुर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधि निस्तेज गर्न नेपाली सेना हरहमेसा तयारी हालतमा रहेको जनाउँदै उहाँले हाम्रो अखण्ड सुनौलो इतिहासलाई जीवित राख्न एवं राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो । प्रधानसेनापतिले आजै छाउनीस्थित ‘सैनिक वीर स्मारक’ मा श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । सोही क्रममा नेपाली सेनाको एक टुकडीले वीरवीराङ्गनाप्रति सम्मान गारतसमेत अर्पण गरेको थियो । रासस
मधेसीको माग सम्बोधन गर्न एमाले बाधक : देउवा
झापा, फागुन १२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस र मधेसीको माग सम्बोधन गर्न नेकपा एमाले बाधक भएको आरोप लगाएका छन् । झापा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार महोत्सवको उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले सीमा र मधेसलाई सुरक्षित राख्ने मधेसी नागरिकलाई अविश्वास गर्न नहुने बताएका छन् । उनले मधेसी नागरिकको भावनालाई सम्मान गर्न नै संविधान संशोधनको प्रस्ताव आएको स्पष्ट पार्दै संविधान संशोधन गरेर मधेसी नागरिकले राखेको माग पूरा गर्नुपर्नेमा नेकपा एमाले बाधक बनेको आरोप लगाएका हुन् । उनले आगामी माघ ७ गतेभित्र तीन तहकै चुनाव गरिसक्नुपर्ने भन्दै सभापति देउवाले देशको विकासमा निर्वाचित जनप्रतिनिधिको भूमिका अग्रणी रहनेमा जोड दिएका छन् ।
नेपालको संविधान (दोस्रो संशोधन) माथि विचार गर्न गरिएको प्रस्ताव बहुमतले स्वीकृत
काठमाडौं, फागुन १२ । ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव व्यवस्थापिका–संसदको बहुमतले विहीबार स्वीकृत गरेको छ । सरकारले गत मंसिर १४ गते सो प्रस्ताव संसदमा दर्ता गरेको थियो भने पुस २४ गते हो–हल्ला र विरोधकाबीच व्यवस्थापिका–संसद बैठकमा पेस गरेको थियो । विपक्षी दल नेकपा एमालेलगायतले संशोधनका विपक्षमा संसदमा निरन्तर अवरोध गरेकाले त्यसयता त्यसमाथि छलफल हुन सकेको थिएन । संशोधनका लागि एक दिन संसदले ‘नेपालको संविधान ९दोस्रो संशोधन० २०७३’ माथि थप संशोधन प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई यही फागुन १५ गते कार्यालय समयभित्रको समयसीमा दिएको छ । सभामुख ओनसरी घर्तीले संशोधनमाथि संशोधन दर्ता गराउन चाहनेका लागि समय तोकिएको सदनमा जानकारी दिइन् । यसअघि, प्रमुख विपक्षी दल एमालेसहित ९ दलीय मोर्चाले विहीबार ९आज०को बैठकमा ‘मौन विरोध’ गर्ने घोषणा गरेपछि संशोधनका सैद्धान्तिक पक्षमा छलफल सुरु भएको थियो । नेपाल मजदुर किसान पार्टीका तीन सांसदको विरोधकाबीच सुरु भएको छलफलमा भाग लिँदै तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लाले संशोधन प्रस्ताव जनहितका खातिर पारित गर्नैपर्ने बताए । संशोधनका सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिने अधिकांश सांसदले ‘राष्ट्रिय एकता, अखन्डताको सुनिश्चितता तथा संविधान सबै नेपालीलाई मान्य होस् र त्यसले देशलाई एकताको सूत्रमा बाँध्न सकोेस्’–भने । निर्वाचनको वातावरण बनाउन संशोधन ल्याइएको स्पस्ट गर्दै उनीहरूले आपसी छलफल र संवादबाटै विधेयक पारित गर्नुपर्नेमा जोड दिए । केही सांसदले भने तराई–मधेसका जनता तथा थारुका समस्या समाधान संवैधानिकरुपमा नै समाधान गर्नुपर्ने बताए । अबको संशोधन अपूरो नहोस् भन्ने उनीहरूको अभिमत थियो । छलफलमा भाग लिनेमा रुक्मिणी चौधरी, वेदमाया भण्डारी, रामकुमार राई, मोक्तार अहमद, प्यारेलाल राना, गीता क्षत्री, गंगा चौधरी, फरमुल्लाह मन्सुर, तेजुलाल चौधरी, गोपाल दहित, सुरेन्द्रप्रसाद चौधरी, रामअयोध्याप्रसाद यादव, भेषकुमारी राउत, उमेशकुमार यादवलगायत थिए । छलफलमा उठेका प्रश्नको जवाफमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले विपक्षी दलको विश्वास जित्ने प्रयास भइरहेको बताउँदै अनिर्णयको बन्दीकारुपमा फसेको मुलुकलाई समाधान दिन संविधान संशोधन प्रस्ताव गरिएको स्पस्ट गरे । नेपालका सबै वर्ग र क्षेत्रको स्वामित्व सुनिश्चित गर्न र मुलुकलाई आर्थिक सामाजिक–आर्थिक रुपान्तरणको मार्गप्रशस्त गर्ने संविधान संशोधन प्रस्ताव पारित गर्न सबै राजनीतिक दललाई आग्रह उनले गरे । विहीबारैको बैठकले ‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक, २०७३’ तथा ‘उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक, २०७३’ माथिको विरोधको सूचना बहुमतले अस्वीकृत गर्यो । सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले दुबै विधेयकमा विरोधको सूचना प्रस्तुत् गरेका थिए । बैठकमा ती दुबै विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नायकले पेस गरेका थिए । त्यसअघि, उक्त विधेयकका विरोधमा सुवाल, काफ्ले र थापाले प्रस्तुत् गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत भएको थियो । महाअभियोगबारेको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत व्यवस्थापिका–संसदको विहीबारको दोस्रो बैठकले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा पेस भएको महाअभियोगको प्रस्तावसम्बन्धी छानबिन प्रतिवेदन, २०७३ माथि विचार गरियोस्’ भनी प्रस्तुत् प्रस्ताव सर्वसम्मतिले स्वकिृत गरेको छ । महाअभियोग सिफारिस समितिका सदस्य रामनारायण बिंडारीले उक्त प्रस्ताव पेस गरेका थिए । त्यसअघि, उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका रामहरि खतिवडाले सर्वोच्च अदालतले आयोगका प्रमुख आयुक्तमा कार्कीको योग्यता नपुग्ने ठहर गरिसकेको बताए । व्यवस्थापिका–संसदको अर्को बैठक यही फागुन १९ गते अपराह्न १३ः०० बजे बस्नेछ ।
संविधान संशोधन प्रक्रियामा लाग्न सहमती भयो : प्रधानमन्त्री प्रचण्ड
रुकुम, फागुन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा पेस भएको संशोधन बिधेयक आजबाट प्रक्रियामा जाने बताएका छन् । रुकुम मुसिकोटमा आजदेखि सुरु भएको मध्यपश्चिमान्चल रुकुम महोत्सवको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेसँग संशोधन प्रस्तावलाई प्रक्रियामा लाने सहमती भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने ‘सत्तापक्ष र प्रतिपक्ष बिचमा संशोधन प्रस्ताब प्रक्रियामा लाने सहमती गरेर म यहाँ आएको छु । हिजो राती अबेलासम्म हामी सहमतीको प्रयासमा थियौ आज त्यो प्राप्त भयो ।’ प्रधानमन्त्रीले मङ्सिर भित्रै तिनवटै तहको चुनाब गरिसक्न सरकारले तयारी गरेको बताए ।
रुकुम पुगेर प्रचण्डले दिए निर्देशन : ‘जनयुद्दकै कारण यति उपलब्धी भयो, अब चुनावको लडाईमा लाग्नुस्’
मुसीकोट, फागुन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्दकै कारण यति उपलब्धि भएको भन्दै अब चुनावको लड़ाईमा लाग्न आफ्ना कार्यकर्ताहरूलार्इ निर्देशन दिएका छन् । रुकुमको मुसिकोट नगर्पालिका वार्ड ६ स्थित सहिद स्मारकमा आयोजित कार्यक्रमलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने –‘हामीले सुरु गरेको मिसन पूरा भएको छैन हामी आफ्नो योजना सफल बनाउन उकालो र अप्ठेरो बाटो हिडिरहदा चौतारिमा बसेका छौ, सङ्घिय गणतन्त्र त्यही चौतारी हो । यहि चौतारिमा बसेर नया तागत ल्याएर सामाज्वाद तिर जानुछ । तपाइहरुलाइ भ्रम नहोस् ।’ प्रधानमन्त्रीले थपे, ‘तपाईं आधार इलाकाका कम्रेड हामिले हाम्रो बाटो बिर्सेका छैनौ । हाम्रै कारण ठूलठूला राजनीतिक परिवर्तन सफल भए । यसको रक्षा र बिकास हामीले नै गर्नुछ ।’ रोल्पा रुकुमले हिजो गरेको योगदान दुनियाले हेरेको छ भन्दै प्रधानमन्त्रीले समाजवाद्को निर्माणका लागि आर्थिक बिकास आवश्यक रहेको बताए । उनले भने ‘आर्थिक विकास गरेर मात्रै सामाजवादि क्रान्तिको सफलताको आधार बन्छ ।’ सरकारले चुनावको मिति घोषणा गरिसकेकोले एकताबद्द भएर चुनावमा लाग्न जिल्लाका नेता कार्यकर्तालार्इ उनले निर्देशन दिए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले अप्ठ्यारोमा संविधान जारी गरेको बताए । तर यसलार्इ संबोधन गर्न आवश्यक रहेको भनार्इ व्यक्त गरे । संविधान कार्यान्वयनको लागि पनि चुनाव जरुरी रहेको भन्दै उनले चुनाव नहुने हो भने संबैधानिक सङ्कट आउने भएकोले र राजनितिक उपलब्धी गुम्न नदिन सरकारले चुनाव गराउन लागि परेको दाबी गरे । ‘निर्वाचन अभियानकै रुपमा गर्नुछ’– प्रधानमन्त्री प्रचण्डले भने –आउने मङ्सिर भित्रै प्रदेश र केन्द्रीय चुनाव हुन्छ ।’ नेता कार्यकर्तालार्इ उनले भने ‘हिजो हामीले यहिबाट सुरु गरेको युद्धले यहाँसम्म उपलब्धी ल्याउन मद्दत गर्यो अब निर्वाचनको लडाइँ जित्नुछ यो त हाम्रो आधार इलाका हो यहाँ त पुरै जित्नै पर्छ । त्यसको लागि एकताबद्ध भएर लाग्नुहोला । उनले जनयुद्धको जग्गा सम्बन्धी कुरा मन्तृपरिसदबाट सैद्धान्तिक सहमति भैसकेको बताए । हाम्रो क्याबिनेटमै सहमती भैसकेको छ जग्गा सम्बन्धी समस्या हल हुन्छ तपाइहरु ढुक्क भएर अघि बड्दा हुन्छ । सहिद परिवारलाई सेयर होइन नगद प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिद बेपत्ता परिवारलार्इ तामाकोशीको सेयर दिने कुरा कानुनी झन्झट्ले रोकिएको बताए । ‘अब हामीले सहिद बेपत्ता परिवारलाई पाँच लाख नगद दिने छौं यसका लागि अर्थ मन्त्रालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयसँग सहमति भैसकेको छ सबैलाइ पाँच लाख निकासी हुन्छ’ प्रधानमन्त्री प्रचण्डले भने । कामी बुढा सहिद प्रचण्डले जनयुद्धका प्रथम सहिद कामी बुढालार्इ राष्ट्रिय सहिद घोषणा हुने बताए ।सहिद बारेमा कार्यदल बनाएर राष्ट्रिय सहिद घोषणा गर्ने कार्यक्रम भएको भन्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार हुँदा नै त्यो काम हुने उनले बताए ।


>