मधेसी मोर्चाकाे अडान ‘पहिला संशोधन अनि मात्रै चुनावको मिति’
काठमाडौं, फागुन ८ । मधेसी मोर्चाको आज बसेको वैठकमा पनि आफ्नो अडानलाई छोडेन ।
प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा बोलाएको बैठकमा जानु अघि के बोल्ने भन्ने तयारीका लागि आइतबार साँझ बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा मधेशी मोर्चाको बैठक बसेको थियो ।
बैठकबाट ‘पहिला संविधान संशोधन अनि मात्रै चुनावको मिति’ भन्ने अडान कायमै राखिएको छ ।
सरकारले सोमबार स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको छ ।
निर्वाचन आयोगका मुख्य पदाधिकारी बालुवाटार बोलाइए, चुनावबारे निर्णायक छलफल हुने
काठमाडौं, फागनु ८ । स्थानीय निकायको निर्वाचनको मिति घोषणाको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले निर्वाचन आयोगका मुख्य पदाधिकारीलाई बालुवाटारमा छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार, स्थानीय निकायको निर्वाचनको तयारीसँग जोडिएका विषयमा छलफल गर्न र चुनावको मिति घोषणाका लागि आधार तयार पार्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन । आज साँझ ६ बजे बोलाइएको बैठकमा निर्वाचन आयोगका प्रमुख आयुक्त, अन्य आयुक्त र पदाधिकारी उपस्थिति हुने छन् । बैठकमा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताको समेत उपस्थिति हुने छ । बैठकले निर्वाचनको मिति घोषणासँगै आयोग र सरकारले गर्नुपर्ने तयारीलगायतका विषयमा बिस्तृत छलफल गर्ने र सोमबारको मन्त्रीपरिषदको बैठकबाट मिति घोषणालाई अन्तिम टुंगो लगाउने विषयमा छलफल गर्ने छ । सरकारले संविधान संशोधन प्रस्तावसँगै निर्वाचनलाई समेत सँगै लैजाने बताए अनुसार, प्रधानमन्त्री प्रचण्डले सबै पक्षसँग चुनावको वातावरण बनाउन छलफल जारी राखेका छन् ।
कमल थापा विरुद्ध राणाले दिए अध्यक्षमा उम्मेदवारी !
काठमाडौं, फागुन ८ । राप्रपाको अध्यक्ष पदका लागि प्रदिप विक्रम राणाले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाको एकता महाधिवेशनमा आज निर्वाचन प्रक्रिया सुरु भएको छ । काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय अध्यक्ष राणाले आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेका हुन् । उनले हालका अध्यक्ष कमल थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको आरोप लगाए । राणाले भने,‘आज बिहानदेखि मैले उम्मेद्वारीको फर्म माँगे तर निरञ्जन थापाले उपलब्ध गराउनु भएन्, किन भनेर सोधेको त हाम्रो सहमति भैसकयो, तपाईले पाउनुहुन्न भनेर थर्काउन थाले, के मैले निर्वाचनमा आफ्नो अधिकार प्रयोग गर्न नपाउने हुँरु, अब म न्यायको ढोकामा जान्छु, मैले कसैको दवाब र कसैको भनसुनमा उम्मेद्वारी दिईरहेको छैन्, आफ्नो अधिकारलाई प्रयोग गर्न खोज्दैछु।’ ‘मलाई हिजोको बन्दसत्रमा बोल्ने समय दिईएन, म बोल्छु भनेर प्रतिप्रश्न गर्दा कमल थापाले यसलाई घाक्रेठ्याक लगाएर बाहिर निकाल भनेर आदेश दिनुभयो, त्यसपछि उहाँका गुण्डाहरूले मलाई लतार्दै बाहिर निकाले, के यहि हो उदारवाद ? कि ४ जना नेताको मात्र पार्टी हो राप्रपा ? यसरी आत्मसम्मान माथि आँच र चोट पुग्ने खालको आदेश दिने कमल थापाको के म गुलाम होरु यसरी मण्डले प्रवृत्तले पार्टी चल्दैन र लाखौ कार्यकर्ताको भविष्य अन्धकार बन्छ।’उनले आक्रोश पोख्दै प्रश्न गरे । आफुलाई धम्की आईरहेको भन्दै राणाले प्रहरी प्रशासनसँग आफ्नो जीवन सुरक्षा गरिदिन आग्रह गरे । भने– ‘मलाई धम्क्याउने र थर्काउने काम भैरहेको छ, मेरो जीवनको सुरुक्षा प्रशासनले गर्नुपर्छ, म अध्यक्षको लागि मैदानमा छु, चार हजार प्रतिनिधिको आवाजको आधारमा मैले अध्यक्षको पदको लागि उम्मेद्वार घोषणा गरेको हुँ, हामी यूवाले नेपालको राजनीतिको नेतृत्वमा भाग लिन नपाउने हो, यदि हो भने कमल थापाले यसको जवाफ दिनुपर्छ।’
चन्दलाई आइजिपी बनाएको विरुद्धमा परेको मुद्दाको फैसला दुईदिन सर्यो
काठमाडौं, फागुन ८ । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण सम्बन्धि सर्वोच्च अदालतमा परेको मुद्दाको आज हुने भनिएको सुनुवाई मंगलबारसम्मका लागि सरेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेश तोकिएको थियो । तर, प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि सुनुवाइ हुन नसकेको हो । अधिवक्ता कपिलदेव ढकालले दर्ता गरेको पुरक निवेदन महान्यायाधिवक्ता कार्यालय र सरकारले नियुक्त गरेका महानिरिक्षक जयबहादुर चन्दलाई जानकारी नभएको खुलेपछि सुनुवाई दुई दिनका लागि सरेको हो । न्यायाधीश हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडाको संयुक्त इजलासले दुवै पक्षलाई छलफल लागि पर्सि मंगलबार उपस्थित हुन समेत भनेको छ । यसअघि, सर्वोच्च अदाललते आज तोकिएको सुनुवाईमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तर दिने कि नदिने भन्नेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । गत साता प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । प्रहरी महानिरीक्षक प्रकरणमा अधिवक्ता कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चले पुरक निवेदन सहित दुई रिटलाई एक ठाउँमा राखेर सुनुवाई गर्ने आदेश दिएको थियो ।
सरकारले यसरी घोषणा गर्दैछ स्थानीय तह निर्वाचन मिति घोषणा !
काठमाडौं, फागुन ८ । सरकारले सोमबार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने भएको छ । दलहरुबीचमा सहमति जुटाएर चुनाव घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले तयारी गरेका कारण ८ गते घोषणा गरिने भनेको मिति एक दिन पर सरेको सरकारका एक मन्त्रीले एभरेष्टदैनिक डटकमसँग भने । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रबीच अाइतबार नै बालुवाटारमा भएको छलफलमा पनि सोमबार स्थानीय तहको मिति घोषणा गर्ने सहमति भएको थियो । तर प्रधानमन्त्रीले सबै दलको सहमतिमा मिति घोषणा गर्दा सहज हुने बताएपछि आइतबार बेलुकी प्रमुख विपक्षी एमाले, मधेसी मोर्चा र स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीसँग पनि मितिबारे छलफल गर्दैछ । सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्र चुनावको मिति घोषणा गरेर संविधान संशोधनको प्रक्रिया अघि बढाउन पनि सहमत भएका छन् । चुनाव मिति घोषणा गर्न छलफल गर्नैका लागि प्रधानमन्त्री प्रचण्डले आज बोलाइएको मन्त्रीपरिषदको बैठक पनि स्थगित गरेका छन् । स्थानीय तहको चुनाव मिति घोषणा गर्न प्रधानमन्त्रीले दलहरुसँगको छलफललाई तीव्रता दिएका छन् । शनिबारमात्रै पनि प्रधानमन्त्रीले सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए । छलफलमा मोर्चाले संविधान संशोधनको टुङ्गो नलगाईँ मिति घोषणा नगर्न सुझाएको थियो । त्यसपछि आइतबार विहान सत्ता घटक नेपाली कांग्रेसका शीर्ष नेतृत्वसँग प्रधानमन्त्रीले बालुवाटारमा छलफल गरे । विहान भएको छलफलमा सकभर सबै दलको सहमतिमा चुनावको मिति घोषणा गर्ने सहमति भएको ती मन्त्रीले जानकारी दिए । केहीदिन अघिमात्रै एमालेका अध्यक्ष केपी अोलीसँग माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ निवास ललितपुर हरिसिद्धिमा गोप्य भेट गरेका थिए । भेटमा सरकारले चुनावको मिति घोषणा गरे मधेसी मोर्चासँग एमालेले कुराकानी गरेर सहमतिमा ल्याउने अोलीले प्रतिवद्धता जनाएका थिए । निर्वाचने मिति घोषणाकै लागि प्रधानमन्त्रीले आज दिनभर दलहरुसँग भेट गर्ने भएका छन् । साँझ भने मधेसी मोर्चाका केही शीर्ष नेताहरुसँग निर्णायक वार्ता गर्ने प्रधानमन्त्रीको तयारी छ । सात बजेतिर प्रधानमन्त्रीले मोर्चाका केही प्रमुख नेता र सत्ता घटक कांग्रेसका शीर्ष नेतृत्वलाई बालुवाटार बोलाएका छन्, मोर्चासँग सहमति गराएर प्रधानमन्त्रीले आजै निर्वाचन आयोगसँग परामर्श लिने पनि तयारी गरेको स्रोतले जनाएको छ । ‘मोर्चासँग उनीहरुको माग सम्बोधनका लागि नयाँ शिराबाट छलफल हुनेछ, मोर्चाकै प्रस्ताव लिएर प्रधानमन्त्रीले चुनावको मिति घोषणा गर्नुहुनेछ’ स्रोतले भन्यो । निर्वाचन आओगले सरकारले फागुन १० गतेभित्र चुनावको मिति घोषणा गरे जेठको १ र २१ गते स्थानीय तहको मतदान गर्नसक्ने गरी मिति प्रस्ताव गरिसकेको छ ।
जापानमा प्रजातन्त्र दिवस: सहिदको भावनाको कदर गर्न माग
प्रकाश पन्थी काठमाडौं, फागुन ८ । राणाशासन विरुद्धको आन्दोलनमा भएका सहिदको भावनाको कदर गर्न जापानवासी नेपालीले राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् । जापानस्थित नेपाली राजदूतावासले शनिबार टोकियोमा आयोजित ६७ औं प्रजातन्त्र दिवसका अवसरमा जापानवासी नेपालीले स्वतन्त्रता प्राप्तिका लागि लड्ने क्रममा बलिदानीस्वरुप सहिद भएकाहरूको स्मरण गर्दै पञ्चायती राणाशासन विरुद्धको आन्दोलनले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न आग्रह गरेका हुन् । कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वतन्त्रताको अधिकार माग्ने क्रममा भएका सहिदको सम्मानका लागि एकापसमा मिल्नाको विकल्प नरहेको बताए । नेकपा (एमाले) केन्द्रीय सदस्य ठाकुर गैरेले लामो संघर्ष र धेरै दुःखले बनाएको संविधान कार्यावन्यनमा सरकार गम्भीर हुनुपर्ने बताए । गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्टले सहिदको भावना पूरा गर्न विदेशमा रहेका हरेक एक नेपालीले तीन विदेशी साथीलाई नेपाल पठाउन सके पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । कावा राजदूत कृष्णचन्द्र अर्यालले राजनीतिक पार्टीका भ्रातृ संगठन र जापानस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिबीचको भाइचारा तथा ऐक्यबद्धताको प्रशंसा गरे । कार्यक्रममा गैरआवासीय अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य, गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापा, नेपालस्थित विभिन्न राजनीतिक पार्टीका सङ्गठन प्रतिनिधि र विभिन्न सङ्घसंस्थाका अधिकारीले प्रजातन्त्र प्राप्तिका लागि भएका सहिदको भावनाको कदर गर्न माग गरेका थिए ।
यसकारण भयो आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित
काठमाडौं, फागुन ८ । स्थानीय निर्वाचनको मिति घोषणाका लागि आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सत्ता साझेदार दल कंग्रेस, एमाले र मोर्चासँग थप छलफल गर्नु परेको भन्दै आज बस्ने बैठक स्थगित भएको सरकारका एक मन्त्रीले जानकारी दिए । तर, सरकारले सयुक्त लोकतान्त्रिका मधेसी मोर्चाको सहमतिमा भोलि बस्ने मन्त्रिपरिषदको बैठकले निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन मिति घोषणाका लागि प्रधानमन्त्री प्रचण्डले आज दिनभर छलफल गर्ने कार्यक्रम राखेका छन् । उनले साँझ पनि दलहरुसँगको छलफल गर्ने तयारी गरेको बताइउको छ । तर, को सँग कति बजे छलफल हुँदै छ भन्ने खुलाइएको छैन । शनिबार पनि सत्ता प्रमुख कांग्रेस–माओवादी केन्द्रका शीर्ष नेता र मधेसी मोर्चाका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको थियो । निर्वाचनको मिति घोषणाका बिषयमा साझा धारणा बनाएर सत्तारुढ दुई दलले प्रमुख प्रतिपक्ष एमालेसँग छलफल गर्ने तयारी गरेका छन्। सत्ता साझेदार दुई दलले प्रमुख प्रतिपक्षी र मधेसवादी दलसँग आज दिनभरी छलफल गरेर भोलि निर्वाचन मिति घोषणा गर्ने तयारीस्वरूप बैठक स्थगित गरेका हुन्। निर्वाचन आयोगले फागुन ८ गतेसम्म चुनावको मिति घोषणा नभए प्राविधिक रुपमा निर्वाचन गराउन नसक्ने जनाउ दिएपछि प्रधानमन्त्री चुनाव मिति घोषणा गर्न सक्रिय भएर लागेका छन् ।
तीनवटै चुनावमा बहुमत ल्याउनेगरी खटिन कार्यकर्तालाई देउवाले दिए निर्देशन !
सिन्धुपाल्चोक, फागुन ८ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ११ महिनाभित्र तीनवटै चुनाव हुने भएकाले कांग्रेसले बहुमत ल्याउनेगरी काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेस सिन्धुपाल्चोक १ नम्बर क्षेत्रले शनिबार गरेका आमसभामा बोल्दै उनले संविधान कार्यान्वयनको लागि तीनवटै चुनाव गराइछाड्ने दाबी गरे । ‘७ माघ ०७४ सम्म तीनै तहको निर्वाचन गराइछाडिनेछ, त्यसको नेतृत्व कांग्रेसले गर्नेछ ।’ समयमै निर्वाचन सम्पन्न भए पनि नयाँ संविधान कार्यान्वयनको लागि कांग्रेसले बहुमत ल्याउनुैपर्ने उनले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचनमा कांग्रेसले जित्नुपर्नेछ ।’ गणतन्त्रमा बहुदलीय प्रतिस्पर्धा सुनिश्चित गर्न पनि निर्वाचनको विकल्प नभएको उनले बताए । बहुदलीय प्रतिस्पर्धालाई लामो समयदेखि अँगाल्दै आएको कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी जनताको काम गर्न नेता कार्यकर्तालाई सभापति देउवाले निर्देशन दिए । देउवाले भूकम्पपछि सिन्धुपाल्चोक आएको बताए । सिन्धुपाल्चोकवासीलाई राहत दिन काठमाडौं फर्कने वित्तिकै प्रधानमन्त्रीसँग कुरा गर्ने बताए । उनले भूकम्पपछि बन्द तातोपानी नाका खुलाउन आफूले पहल गर्ने बताए । ‘तातोपानी नखुल्दा देशलाई ठूलो घाटा भएको छ,’ चिनियाँ अधिकारीसँग विगतमा भएको कुराकानी स्मरण गर्दै भने– ‘नाका खुलाउन सरकारले कस्तो काम गरिरहेको छ बुझ्छु र तत्काल चिनियाँ अधिकारीसँग कुरा गर्छु ।’ तातोपानी नाका खुलाउन कांग्रेसले पहल नगरेको भन्दै अधिकांश जिल्लास्तरका नेताले भाषण गरेपछि देउवाले तत्काल सरकार र चिनियाँसँग कुरा गर्ने आश्वासन दिएका थिए ।
अखिल क्रान्तिकारीले पिएन क्याम्पसमा अघि सार्यो २४ वर्षे प्रविणालाई
पोखरा, फागुन ८ । पश्चिमाञ्चलको चर्चित शैक्षिक केन्द्र पृथ्वीनारायण क्याम्पसमा माओवादी केन्द्र सम्वद्ध अखिल (क्रान्तिकारी)ले प्रविणा अधिकारीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ। १२ हजार भन्दा वढि विद्यार्थी अध्ययन गर्ने सो क्याम्पसमा लोकप्रिय विद्यार्थी नेतृ प्रविणालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार वनाइएको क्रान्तिकारीका केन्द्रीय सचिव अमरदिप पराजुलीले वताए। कास्की जिल्ला लाहाचोककी स्थायी वासिन्दा रहेकी अधिकारी सोही क्याम्पसकी स्नातकोत्तर तहकी नियमित विद्यार्थी हुन्।अखिल क्रान्तिकारीको प्रस्तावमा त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेरहद लगाएपछि क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य समेत रहेकी २४ वर्षीय प्रविणा उम्मेदवार वनेकी हुन्। क्रान्तिकारीको बलियो पकड रहंदै आएको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीले परिवर्तन चाहेकाले यसपटक क्रान्तिकारीले जित्ने प्रविणाले दावी गरिन्। ‘पृथ्वीनारायण क्याम्पसलाई हामी अन्तर्राष्ट्रिय स्तको शैक्षिक हव वनाउन चाहन्छौं।’–अध्यक्षकी उम्मेदवार प्रविणाले भनिन्। स्ववियु चुनाव १८ गते हुँदैछ ।
भारत बेच्न लान खोजिएका १९४ जनालाई माइती नेपालले सीमाबाटै फर्कायो
चितवन, फागुन ८ । माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ । गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिनुभयो । सहजकर्ता, स्वयम्सेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो । एक वर्षमा बेचबिखन हुनबाट १०२ जनालाई रोकेको र बेचबिखनमा परेका ३४ जनाको उद्धार गरेको समेत उनले जानकारी दिए । एक वर्षे अवधिमा दुई हजार १६४ जनालाई वैदेशिक रोजगारबारे जानकारी गराइएको छ । १३ हजारभन्दा बढी प्रचार सामग्री वितरण गरेको माइती नेपालकी सहजकर्ता जयन्ती खनालको भनाइ छ । हराएको भनी माइती नेपालमा खोजीका लागि १०३ जनाको निवेदन परेकोमा ४० जना भेटिएका छन् । घरेलु हिंसामा परेका ४१ घटनामध्ये २४ घटना समाधान भएको माइती नेपालले जनाएको छ । पछिल्लो समयमा यातायातकर्मीलाई प्रशिक्षण दिएर उनीहरूलाई चेतना दिन थालिएको छ । सार्वजनिक यातायातमा काम गर्ने कर्मचारीले सामान्य ध्यान दिए भने यो बेचबिखन न्यूनीकरण हुनसक्ने भएकाले उनीहरूलाई चेतना दिन थालिएको हो ।
निजि क्षेत्रबाट १०५ मेगावाट बिजुली उत्पादन, एक वर्षभित्र दोब्बर उत्पादन हुने
काठमाडौं, फागुन ८ । यस वर्ष निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट १०५ मेगावाट बिजुली उत्पादन थप भएको स्वतन्त्र उर्जा उत्पादक संघ नेपालले बताएको छ। सरकारी अधिकारीहरुले चाहिँ साना आयोजनाबाट पहिलोपटक यति धेरै मात्रामा विद्युत उत्पादन भएको भन्दै त्यसले लोडसेडिङ अन्त्य गर्न निकै सघाउ पुर्याइरहेको जनाएका छन्। एक वर्षभित्र निजी क्षेत्रले अहिलेको भन्दा दोब्बर बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ। करिव दुई वर्षअघिको विनाशकारी भूकम्पका कारण २ सय ६२ वटा साना जलविद्युत आयोजनामा क्षति पुगेको थियो। उपलब्धि सरकारले १४४ मेगावाटको कालिगण्डकी परियोजना संचालनमा ल्याएयता एकै वर्षमा १०५ मेगावाट विद्युत उत्पादन भएको यो पहिलोपटक हो। यसअघि ५० मेगावाटसम्मका विभिन्न परियोजनाहरुले ३२५ मेगावाटसम्म बिजुली उत्पादन गरिरहेका थिए। भूकम्पका कारण सञ्चालनमा आउन नसकेका परियोजनाहरु सञ्चालनमा आएकाले पनि उत्पादन बढेको स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका अध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन्। उनले भने, ‘भूकम्प र नाकाबन्दीका कारण गत साल नै पूरा हुनुपर्ने आयोजनाहरु पनि यो वर्ष आएर पूरा भएका छन् र अब आउने वषर्मा सम्पन्न हुने चरणमा छन्।’ माथिल्लो मर्स्याङ्दी, मादी, माई, दरौंदी, म्याग्दी, खानीखोला, हेवाखोला आदि गरेर १० वटा नयाँ परियोजना यस आर्थिक वर्षदेखि सञ्चालनमा आएका हुन्। उत्पादन तत्काललाई राजधानीलगायत पोखरा, चितवन आदि सहरमा लोडसेडिङ मुक्त बनाउन साना क्षेत्रको उल्लेख्य भूमिका रहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन्। ‘यसपटक निजी क्षेत्रबाट पनि धेरै विद्युत उत्पादन थप भएको कारणले गर्दा उर्जा संकटका कारण जुन असहज परिस्थिति थियो त्यसलाई सामान्यीकरण गर्न र लोडसेडिङ न्यूनिकरण गर्न हामीलाई धेरै सहयोग पुगेको छ।’ आउने वर्ष ५० मेगावाटसम्मका साना परियोजनाले अहिलेको तुलनामा दोब्बर बिजुली उत्पादन गर्ने अध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन्। उनले भने, ‘करिव करिव २ सय मेगावाट जति अब अर्को वर्षदेखि उत्पादन हुने सम्भावना देखिन्छ। त्यसपछिको वर्षमा भनेको ८ सय मेगावाटभन्दा बढी उत्पादन पुर्याउने हाम्रो योजना छ।’ आउने वर्ष काबेली परियोजनाबाट २५ मेगावाट विजुली थपिने छ र दरौंदिका दुई छुट्टा छ्ट्टै परियोजनाबाट ५२ मेगावाट र मादी परियोजनाबाट २० मेगावाट विद्युत उत्पादन हुने गुरागाईँले बताए। उनका अनुसार निजिक्षेत्रका अन्य १५ परियोजना आउँदो वर्ष सञ्चालनमा आउने छन्। बिबिसी नेपालीबाट
के कुरा भयाे प्रचण्डले बाेलाएकाे हेडक्वार्टर बैठकमा ?
काठमाडौं, फागुन ७ । नेकपा (माओवादी केन्द्र) हेडक्र्वाटर बैठक शनिबार साँझ सम्पन्न भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीति र माओवादी केन्द्रको संगठनात्मक विषयबारे समीक्षा गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको तयारी र राजनीतिक दलहरुसँग भएको सम्वादबारे बैठकलाई जानकारी गराएका थिए । बैठकमा हेडक्वार्टर सदस्यहरुले पार्टी आन्तरिक संगठनात्मक विषय, संविधान संशोधनको प्रक्रिया र स्थानीय तहको निर्वाचनबारे आफ्ना सुझावहरु राखेका थिए । बैठकले पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने, पार्टीका स्थानीय तहका कमिटीहरुको सम्मेलन सम्पन्न गर्ने, एकता गर्न बाँकी रहेका मोर्चा, जनवर्गीय संगठन र विभागहरुको एकता सम्पन्न गर्ने र निर्वाचनलाई केन्द्रित गरेर संगठनात्मक कामलाई अघि बढाउने निर्णय गरेको छ । राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै हेडक्वार्टर बैठकले स्थानीय तहको निर्वाचन निर्बिकल्प भएको निष्कर्ष निकालेको छ । हेडक्वार्टर सदस्यहरुले अन्तिमपटक सत्तारुढ नेपाली कांग्रेस, मधेशी मोर्चा र निर्वाचन आयोगसँग पनि छलफल गरेर एक दुई दिनभित्रै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको हेडक्वार्टर सदस्य तथा प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव’ले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले मोर्चाका नेतालाई भने–चुनावको मिति घोषणा गरौ त्यसपछि संविधान संशोधन
काठमाडौँ, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह चुनावको मिति घोषणा गर्ने उद्देश्यसहित निर्णायक वार्ताका लागि सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेका छन् । शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा मोर्चाले पहिला संविधान संशोधन टुङ्ग्याएर मात्रै चुनावको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । मोर्चाका शीर्ष नेता सहभागी बैठकमा प्रधानमन्त्री प्रचण्डले चुनाव गर्नेपर्छ, नत्र सम्बैधानिक समस्या पर्नेतिर सजग गराउँदै संविधान कार्यान्वयनको लागि पनि चुनाव र संशोधन प्रस्ताव सँगैसँगै लैजानुपर्ने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले एभरेष्टदैनिक डटकमसँग भने । तर, त्यसमा मोर्चाले सहमति दिएन पुरानै अडान तर्स्यायो पहिला संशोधन, अनि मिति घोषणा । त्यतिमात्रै होइन प्रचण्ड नेतृत्वको सरकार गठनका बेला समर्थन गरेका मोर्चाले संशोधन नगरी चुनावमा गए असहयोग गर्ने जनाउ पनि दिए । बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने आफूहरुको सहमति विना चुनावको मिति घोषणा गरिए मोर्चाले आन्दोलन कार्यक्रम ल्याउने चेतावनी दिए । तर, प्रधानमन्त्री प्रचण्डले चुनाव मिति घोषणा गरेर संशोधन अघि बढाउँदा मधेसी मोर्चाले पनि चुनाव चाहेको रहेछ भन्ने सकारात्मक सन्देश जानेमा विचार गर्न मोर्चाको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीले मोर्चालाई संशोधनमा धोका नहुने स्पष्ट पारेका छन् – प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने । सत्तारुढ कांग्रेस-माअोवादी केन्द्रका नेताहरु पहिले चुनावको मिति घोषणा गरेर जान मोर्चाले सहमती दिनुपर्ने र फागुन १० गते व्यवस्थापिक संसदको बैठकमा संशोधन प्रस्ताव सरकारले अघि बढाउने प्रधानमन्त्रीले प्रस्ताव राखेका थिए । बैठकमा प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई पहिला मिति घोषणा गरेर जाऊ र दुईदिन पछि बस्ने संसदको बैठकबाट मोर्चाको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए पनि मोर्चाले निष्कर्ष नदिएको प्रेस संयोजक आचार्यले जानकारी दिए । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला, गृहमन्त्री बिमलेन्द्र निधि, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई लगायतका नेताहरु उपस्थित थिए । प्रधानमन्त्री प्रचण्ड भोलिसम्ममा चुनावको मिति घोषणा गर्ने तयारीमा रहेका छन् । उनले स्थानीय चुनाव हुने र त्यसको तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन दिइसकेका छन् । आयोगले सरकारले फागुनको १० गतेभित्र चुनावको मिति घोषणा गरे स्थानीय तहको चुनाव जेठको १ र २१ गते गर्न सकिने प्रस्ताव गरिसकेको छ । सत्तासाझेदार नेपाली कांग्रेसका नेताहरुसहित बसेको मोर्चासँगको बैठक ठोस निर्णयमा नपुगेपनि फेरि छलफल गर्ने प्रधानमन्त्रीको तयारी रहेको स्रोतले बतायो । सम्भवतः प्रधानमन्त्रीले साझ फेरि छलफल गर्नसक्ने स्रोतले जानकारी दियो । चुनाव घोषणाको वातावरण बनाउन प्रधानमन्त्रीले आज दिनभर दलहरुसँगको छलफललाई तीव्रता दिने तयारी गरेका छन् ।
पत्रकारिताले सत्यको धरातल छाड्न हुँदैनः सञ्चारमन्त्री
काठमाडौँ, फागुन ७ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रले आफ्नो सत्यको धरातल छाड्न नहुने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उनले उत्तेजक समाचारले कसैलाई अमर बनाउँदैन भन्दै रासस र सरकारी स्वामित्वका अन्य माध्यमले सकारात्मक विषय निरन्तर पस्कन सक्ने भएकाले त्यस अर्थमा यी संस्थाको औचित्य र सान्दर्भिकता रहेको बताए । सहर र केन्द्रका मात्र नभई भित्री सहर र गाउँका समाचार ल्याउन पत्रकारलाई सुझाव दिँदै मन्त्री कार्कीले भने– “पार्टीहरुले आफ्नो सान्दर्भिकता जोगाइराख्न सत्यसँग तादात्म्य भइरहनुपर्छ र पत्रकारिताले पनि आफ्नो सत्यको धरातल छाड्नु हुँदैन । कुनै दल र समूहलाई खुसी पार्न सत्यलाई तोडफोड गर्ने पत्रकारको विश्वसनीयता हुँदैन ।” उहाँले आलोचनात्मक समाज निर्माण एवं योग्यता र असल काममा आधारित राजनीति स्थापित गर्न सही पत्रकारिताले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सार्वजनिक संस्थालाई बचाउन चुनौतीपूर्ण भएको जनाउँदै मन्त्री कार्कीले राससले आफ्नो पूँजीको सदुपयोग गर्दै राम्रा काम गर्ने जनशक्तिलाई उचित जिम्मेवारी दिन निर्देशन दिए । सांसद रामचन्द्र पोखरेलले राससका पत्रकारलाई अन्तर्राष्ट्रियस्तरमा तालिम प्रशिक्षणको अवसर दिलाउन तथा संस्थाको बजेट वृद्धिको कार्ययोजना ल्याउन रासस व्यवस्थापनलाई सुझाव दिए । पोखरेल पूर्वराससकर्मी पनि हुनुहुन्छ । राससका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकार, जनता र सेवाग्राहीबीचको सन्तुलन मिलाएर राससले आफ्नो सेवालाई क्रमशः विस्तार र आधुनिकीकरण गर्ने जानकारी दिए । सरकारका विभिन्न निकायमा खर्च नहुने अरबौँ बजेटको केही अंश मात्र राससलाई दिइए आफूहरु आत्मनिर्भर हुने दृढता व्यक्त गरे । उनले राससको समाचार प्रयोग गरेर स्रोत उल्लेख नगर्ने प्रवृत्ति निरुत्साहित हुनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले रासस नेपाली पत्रकारिताको जग र विश्वविद्यालय हो भन्दै यसको विकल्पमा अर्को कुनै संस्था देखा नपर्नुले राससले आफूलाई थप प्रतिस्पर्धी बनाउनुपर्ने जोड दिए। उनले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतालाई दिग्भ्रमित गर्ने विकृति देखिएको समयमा जिम्मेवार मिडिया संस्थाको अगुवाइ राससले गर्न सकोस् भन्ने कामना गरे । रासस सञ्चालक समितिका सदस्य गङ्गाधर पराजुलीले राससलाई आत्मनिर्भर बनाई नयाँ शैलीका समाचार प्रस्तुत गर्न सकेमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी संस्थाको रुपान्तरण गर्न सकिने बताए । राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले राससले सूचना र निरन्तर शिक्षाका क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको जनाउँदै प्रतिलिपि अधिकार र बौद्धिक सम्पतिको अधिकारको उपभोग गर्न रासस अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, रासस शाखाका अध्यक्ष विष्णुप्रसाद नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी सङ्घका अध्यक्ष मनोजकुमार लामिछाने र रासस कर्मचारी कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै संस्थाको गुणस्तर सुधार र कर्मचारीको हक हितका विषयमा ध्यानाककर्षण गराउनुभएको थियो । समारोहको सञ्चालन राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतले गरेको थियो । राज्यको समाचार समितिका रुपमा विसं। २०१८ फागुन ७ मा स्थापित राससमा हाल कुल १९८ सञ्चार माध्यम ग्राहक छन् ।
झुठो समाचार प्रकाशित गरेको भन्दै प्रधानमन्त्री कार्यालयले गर्यो खण्डन
काठमाडौँ, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दबाबमा चुरे क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा निकासी खुल्ला गर्न लागेको भन्ने केही सञ्चारमाध्यममा प्रकाशित समाचारको प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छ । शुक्रबार प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले एक विज्ञप्ति प्रकाशित उक्त समाचार असत्य रहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । साथै रेग्मीले प्रधानमनत्री प्रचण्ड सुशासनको लागि प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन् । विज्ञप्तिमा भनिएको छ, –‘विगत केही दिनदेखि चुरे क्षेत्रबाट ढुङ्गा, गिटी र बालुवा लगायतका सामग्रीहरुको निकासी खुला गर्न लागेको र उक्त विषयमा सम्बन्धित निकायलाई सम्माननीय प्रधानमन्त्रीज्यूले दवाव दिनुभएको भन्ने आशयका केही सञ्चार माध्यमहरुमा आइरहेका समाचारहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूबाट कहीँ कसैलाई दवाव वा निर्देशन दिनुभएको भन्ने कुरा सत्य नभएकाले त्यसबाट भ्रममा नपर्नु हुन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सम्बन्धित सबैमा अनुरोध गर्दछु ।’ भूकम्पपछि देशभित्र ढुङ्गा, गिटी, बालुवाको निकासी नहुँदा पूननिर्माणको काम रोकिएकाले सरकारले ढुंगा, गिटी, बालुवा खुल्ला गरेर पूनर्निर्माणको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई केही सञ्चार माध्यमले बङ्गाएर देशबाहिर ढुंगा, गिटी, बालुवा निकासी गर्न लागिएको गलत समाचार प्रकाशित गरेको प्रधानमन्त्री कार्यालयले खण्डन गरेको हो । प्रधानमन्त्री कार्यालयले उक्त विषयमा राष्ट्रिय गौरबका परियोजना बिकास निर्माणका लागि मात्र खुला गरिने स्पष्ट पारेको छ ।
रोल्पा पार्टीलाई प्रचण्डको निर्देशन : चुनाव हुन्छ, जित्नेगरी तयारीमा लाग्नुहोला
काठमाडौँ, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सहित तीनैवटै चुनावमा जित्नेगरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार प्रथम रोल्पा महोत्सवको उद्घाटन गर्न पुगेका प्रचण्डले सरकार निर्वाचन घोषणाको तयारीमा रहेको भन्दै पार्टीलाई विजयी बनाउन जनताको घरदैलोमा जान कार्यकर्तालाई निर्देशित दिएका हुन् । उनले जनयुद्धको केन्द्र रहेको रोल्पमा विश्वको ध्यान रहेको भन्दै पार्टीको गतिविधिले भविश्य निर्धारण गर्ने बताए । प्रधानमन्त्रीले भने–‘हिजो जनयुद्धको बेला पनि रोल्पा राजनीतिको केन्द्रमा थियो, अहिले शान्तिपूर्ण राजनीतिमा पनि रोल्पालाई विश्वले ‘वाच’ गरिरहेको छ, तपाईहरुको भूमिकाले माओवादी आन्दोलनकै भविष्य निर्धारण गर्छ ।’ जनयुद्धमा रोल्पाले गरेको त्याग र बलिदान अनुसार माओवादी पार्टीले जिल्लालाई सम्मान गरेको उनले दाबी गरे । प्रचण्डले भने–‘हिजो रोल्पाले निकै ठूलो त्याग, बलिदान गरेर संघीय गणतन्त्रको युगमा आयौं, राज्यका पाँच प्रमूख सम्माननीय पदमध्ये उपराष्ट्रपति र सभामूख र उपप्रधानमन्त्री रोल्पाकै हुनुहुन्छ । रोल्पाको विकासलाई पनि हामीले उच्च प्राथमिकतामा राखेका छौं ।’ प्रधानमन्त्रीले रोल्पाका सरकारी कर्मचारीहरुलाई निष्पक्ष र भयरहित चुनाव गराउन आजैदेखि लाग्न सामुहिक निर्देशन दिए । प्रचण्डले भने–‘निर्वाचनमा जान प्रमूख दल र नेताहरु सम्वेदनशील छन् । सरकारले छिटै निर्वाचनको घोषणा गर्दैछ । तपाईहरुले जिल्लामा निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन आजैदेखि लाग्नुहोस् ।’ प्रधानमन्त्रीले जनताले परिवर्तनको महशुस हुने गरी सेवा प्रवाह गर्न पनि कर्मचारीलाई निर्देशन दिए ।

