प्रधानमन्त्रीले भने-‘केही दलले जनयुद्धबाट स्थापित परिवर्तन स्वीकार गर्न सकिरहेका छैनन’
काठमाडौँ, फागुन १ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा जनयुद्ध दबाउनेहरुले अहिलेको परिवर्तनलाई स्वीकार गर्न नसकेको बताएका छन् ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको २१ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीलाई संसदीय चुनावबाट हराएर सबै उपलब्धि उल्टाउन पाइन्छ कि भनेर केही शक्ति लागिपरेको प्रधानमन्त्रीले दावी गरे ।
‘केही पक्षलाई जनयुद्ध मार्फत प्राप्त उपलब्धी स्वीकार गर्न असजिलो भइरहेको छ, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता माओवादी जनयुद्धका उपलब्धीप्रति केही राजनीतिक शक्तिहरुले पचाउन सकेका छैनन् । अहिले तिनै शक्तिहरुले लडाईँ भइरहेको छ ।’ प्रधानमन्त्रीले भने । हिजो सरकारमा रहेर जनयुद्ध दबाउन खोज्नेहरुले परिवर्तन रूचाएका छैनन्, तिनैसँग लड्नुपरेको उनले बताए ।
प्रधानमन्त्रीले भने- ‘हिजो सरकारमा बसेर जनयुद्ध दबाउन लागेकाहरुले परिवर्तनमा अपनत्व महसुस गर्न सकेका छैनन्, माओवादी कमजोर भएकाले परिवर्तन उल्ट्याउन सकिन्छ कि भनेर लागेका छन् तर सम्भव छैन ।’
प्रधानमन्त्री प्रचण्डले मधेसी जनतालाई अधिकार सम्पन्न बनाउनुको सट्टा नेपालबाट अलग गराउन साम्राज्यवादीहरुले उपयोग गरिरहेको बताए । अहिले अन्धराष्ट्रवादको रुपमा एक भाषा एक भेषको राष्ट्रियतालाई अघि बढाइएको भन्दै प्रधानमन्त्री प्रचण्डले यस्तो अतिवादलाई साम्राज्यवादीहरुले उपयोग गर्न सक्ने खतरा रहेको औंल्याए।
संघीयता, समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता उपलब्धी हासिल हुनुमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसबेला साह्रै थोरैले मात्र परिकल्पना गरेका बेला जनयुद्ध मार्फत नै गणतन्त्र सम्भव भएको दावी गरे।
‘जहाँ जहाँ परिवर्तन देख्छौं गाउँ, शहरमा त्यसका पछाडि जनयुद्धले भूमिका खेलेको पाउँछौ,’ उनले भने । जनयुद्धले आधारभूमि तयार नगरेको भए १९ दिने जनआन्दोलन र त्यसपछिका अधिकारका आन्दोलनहरु सम्भव नभएको दावी गरे ।
उनले संविधान कार्यान्वयनबाट मात्र जनयुद्धका उपलब्धीको रक्षा हुने भन्दै त्यसका लागि माओवादी घटकहरूलाई पार्टी एकतामा आउन आग्रह गरे । पोहोर साल जनयुद्ध दिवस मनाउँदा पार्टी फुटका कारण केही निराश भएपनि अहिले एकतावद्ध भएकाले उत्साह जागेको प्रधानमन्त्री प्रचण्डले दावी गरे।
एमालेले नक्कली कूरा गरेर झुक्याएको भन्दै ४ सय ६८ ले दिए राजीनामा
दाङ, फागुन १ । नेकपा एमालेका नेता वामदेव गौतमको क्षेत्रका चार सय ६८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । स्थानीयस्तरमा आयोजित एक कार्यक्रममा डा शेखर कोईरालाले नवप्रवेशीहरुलाई स्वागत गरे । एमालेको गैरजिम्मेवारपन र बेईमानीले मुलुक जटिलतामा प्रवेश गरेको उक्त अवसरमा कोइरालाले बताए । काँग्रेस प्यूठान, बाँग्गेसाल गाउँ ईकाई समितीले आयोजना गरेको आमसभा एवं पार्टी प्रवेश कार्यक्रमको उद्घाटन गर्दै नेता कोइरालाले मुलुकप्रति एमाले पटक्कै संबेदनशिल नबनेको बताए । उनले अहिले एमालेले सत्ताको बार्गेनिङ गरिरहेको पनि बताए । कार्यक्रममा पूर्व सचेतक शोभाकर पराजूली, सांसद पूष्कर आचार्य, प्यूठान काँग्रेसका सभापति अमर भण्डारी, पूर्वसभापति दिवाकर गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला,क्षेत्र एवं गाउँ तहका ४६८ जना काँग्रेस प्रवेश गरेका थिए । नवप्रवेशीले एमालेले नक्कली कूरा गरेर सधैं जनतालाई झूक्याउँने काम गरेकाले आफूहरू एमालेमा रहन नसकेको बताएका थिए ।
औपचारिक कार्यक्रममा सीमित जनयुद्द दिवस, कुन माओवादीले के गर्देछन आज ?
काठमाडौं, १ फागुन । २२ औं जनयुद्ध दिवसका अवसरमा विभिन्न माओवादी घटकहरुले आज विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछन् । २०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको स्मरण गर्दै माओवादीहरुले यो दिवस मनाउँदै आएका छन् । ०५२ मा सुरु भएको जनयुद्ध १० वर्ष चलेको थियो । २०६३ मंसिर ६ गते विस्तृत शान्तिसम्झौतापछि तत्कालिन नेकपा (माओवादी) शान्तिप्रक्रियामा आयो । जनयुद्ध दिवसका अवसरमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्दको नेतृत्वको नेकपा (माओवादी)ले छुट्टाछुट्टै कार्यक्रम गरी दिवस मनाउँदैछन् । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे कार्यक्रम गरि जनयुद्ध दिवस मनाउँदैछ । त्यसअघि माओवादी केन्द्रको भातृ संगठन वाईसिएलले विहान ८ बजे पार्टी कार्यालयमा भेला भएर सरसफाइ तथा शहिद स्मारकमा माल्यार्पण गरेर जनयुद्ध दिवस मनाउँदैछ । शहिदहरुको वाइसिएलले साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गर्दैछ । वैद्य माओवादीले कुपण्डोलस्थित नेवाः राज्य कार्यालयमा जनयुद्ध दिवसको स्मरण गर्दैछ । त्यस्तै विप्लव माओवादीले जनयुद्ध दिवशको अवसर पारेर पार्टी महाधिवेशन गर्दैछ । आज खुल्लामञ्चमा उद्घाटन हुने ८ औं महाधिवेशनमा देशभरिका नेता तथा कार्यकर्ता राजधानीमा भेला हुँदैछन् ।
नेपाल प्रहरीको महानिरीक्षकमा जय बहादुर चन्द नियुक्त
काठमाँडौ, फागुन १ । विवादका बीच नेपाल प्रहरीको महानिरीक्षकमा जय बहादुर चन्द नियुक्त भएका छन । आज बसेको मन्त्रिपरिषदले चन्दलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । नवनियुक्त चन्द वरिष्ठताक्रममा नवराज सिलवाल तथा प्रकाश अर्याल पछि तेस्रो नम्बरमा थिए। चन्दले हाल लागू औषध ब्यूरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्। उनी १४ महिना नेपाल प्रहरी प्रमुखका रूपमा रहनेछन्। चन्द वि सं २०४४ सालमा प्रहरी निरिक्षक (इन्सेपेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनी अनुसन्धानमा दख्खल राख्छन्। गृहमन्त्री बिमलेन्द्र निधिले काग्रेस सभापति शेरबहादुर देउवाको दवाबमा चन्दलाई आइजिपीका लागि सिफारिस गरेका हुन्। निधि भने सिलवालको पक्षमा थिए। सशस्त्र प्रहरीको नयाँ आइजीपीमा पहिलो बरियतामा रहेका एआएजी सिंहबहादुर श्रेष्ठ नियुक्त गर्ने समेत निर्णय गरेको छ ।
यस्ता छन प्रचण्डका ३ अप्ठ्यारा
१. चुनावमा जाँदा पनि अप्ठ्यारो प्रधानमन्त्रीका अगाडि चुनावमा जाँदा र नजाँदा पनि अप्ठ्यारा देखिएका छन् । चुनाव नहुँदा राजनीतिक हिसाबले संविधान कार्यान्वयन नहुने अवस्था छ । त्यसो हुँदा संवैधानिक रूपमा पश्चगमनतर्फ पार्टी रहने र संवैधानिक संकट आउने अप्ठ्यारो प्रधानमन्त्रीसँग छ । चुनावमा जाँदा पार्टीको आन्तरिक संगठन कमजोर बन्न सक्ने सम्भावित भय पनि छ । माओवादीका एक उच्च नेताको भनाइमा, चुनाव नगराउँदा राजनीतिक र गराउँदा पार्टीको आन्तरिक सांगठनिक अप्ठ्यारोको जन्जालमा पर्ने भय यतिवेला प्रधानमन्त्रीमा छ । २. एमाले र मोर्चाको सकस ‘संविधान संशोधनपछि मात्र चुनाव र चुनावपछि मात्र संशोधन’ भन्ने दुई विपरीत राजनीतिक धार अहिले देखिएका छन् । संशोधनको धार मधेसी मोर्चा र निर्वाचनको धारको नेतृत्व एमालेले गरिरहेको छ । सतहमा जे देखिए पनि यी दुवै धार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा चुनाव हुन नदिने रणनीतिमा रहेको बुझाइ माओवादी केन्द्रका नेताहरूको छ । यी दुवै राजनीतिक धारको चक्रव्यूहमा अहिले प्रधानमन्त्री छन् । जुन प्रधानमन्त्रीका लागि सकस बनिरहेको छ । ३. आफैँले निम्ताएका अप्ठ्यारा सरकार गठनका वेला प्रधानमन्त्री प्रचण्डले औपचारिक–अनौपचारिक रूपमा सत्ता गठबन्धन दलसँग केही सहमति, सम्झौता गरेका छन् । स्थानीय चुनाव आफ्नो नेतृत्वमा र प्रदेश र संघको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने गरी उनले सरकारको नेतृत्व सम्हालेका थिए । तर, ६ महिनाको उनको सत्तारोहणसम्म पनि निर्वाचनको मिति नै घोषणा हुन नसकेपछि उनी अहिले आफैँले निम्त्याएको पेचिलो अप्ठ्यारामा छन् ।
लोकसेवाको प्रश्नपत्रले रुवायो धेरैलाई
काठमाडौं, माघ २९ । लोकसेवा आयोगले आज संचालन गरेको राज पत्रांकित शाखा अधिकृतको परीक्षा सम्पन्न भएको छ । आज सोधिएका प्रश्नपत्रका प्रश्नहरु अधिकांश प्रशिक्षार्थीहरुको अनुमानभन्दा फरक भएपछि परीक्षा हलमै केहीबेर रुवाबासी चलेको थियो । आज सोधिएको प्रश्नपत्रमा अंग्रेजी र आईक्यू (I.Q.) का प्रश्नहरु तुलनात्मक रुपमा केही सजिलो भएपनि सामान्य ज्ञानका प्रश्नहरु भने अत्यन्तै कठिन सोधिएका थिए । आजको प्रश्नपत्रका लागि प्रशिक्षार्थीहरुले समसामयिक सामान्यज्ञान अन्तर्गत नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, संविधान, सन्धी सम्झौता, खेलकुदमा अध्ययन गरिएको भएतापनि प्रश्नपत्रमा भने ती आएनन् । परिक्षाका लागि लामो समय कठिन तयारी गरेकाहरुका लागि आजको प्रश्नपत्रबाट उनीहरु निराश देखिन्थे । ‘तेत्रो संविधान पढियो, आर्थिक सर्वेण, योजना, जातजाती, भाषा, भुगोल सबै पढियो तर परीक्षामा एउटा पनि आएन’ मदन भण्डारी मेडिकल कलेजमा केन्द्र परेका एक परीक्षार्थीले भने । उनले थपे, ‘दर्जानौ पुस्तक घोकियो ट्युसन क्लासमा सयौं हल गरियो वर्षाैको मेहनत खेर गयो ।’ मेहनत र अपेक्षा गरिएअनुसारको प्रश्न नआएपछि धेरै परीक्षाकेन्द्रमा परीक्षार्थीहरु अंगालो मारेर रुँदै गरेका देखिन्थे । कतिपय परीक्षार्थी भने परीक्षा समयको बीचमै छोडेर गएका पनि भेटिए ।
इस्काभेटर चलाएर सडक बचाउ अभियानमा प्रधानमन्त्री
रौतहट, माघ २९, । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफै इस्काभेटर चलाएर सडक बचाउ अभियानमा सहभागी भए । माओवादी नेता तथा रौतहट क्षेत्र नं.–३ का निर्वाचन सांसद प्रभू शाहले २ वर्षयता चलाउँदै आएको सडक बचाउ अभियानमा प्रधानमन्त्री प्रचण्डले आफै इस्काभेटर चलाएर सडक बिस्तार र संरक्षणमा सहभागी भएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले सडक बचाउ अभियानले राष्ट्रिय विकासमा महत्वपूर्ण अर्थ राख्ने बताए । इस्काभेटर चलाएर सडक बचाउ अभियानमा सहभागी भएका प्रचण्डले भने, ‘रौतहटमा बाटो बचाउने र बाटो बनाउने अभियान २ वर्षदेखि चलिरहेको छ ।यसका लागि सांसद प्रभू शाह र तपाई जनसमुदायलाई धन्यवाद दिन चाहन्छु । बाटो बचाउने अभियानमा आफू पनि सरिक हुन पाएकोमा गौरवान्वित छु ।’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रौतहटका २ गाविसका १५०० छात्राहरुलाई साइकल बितरण गरेका थिए । मधेशी समुदायका जेहेन्दार छात्रा विद्यार्थीलाई पढाईमा प्रोत्साहन गर्ने उद्देश्यले साइकल बितरण गरिएको सो अवसरमा सांसद प्रभू शाहले बताए ।
प्रधानमन्त्रीले गरे मुस्लिम कवि सम्मेलनलाई सम्बोधन
रौतहट, माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका मुस्लिम कविहरुको संयुक्त सम्मेलनलाई सम्बोधन गरेका छन् । शनिबार रौतहटको जिंगहवामा आयोजित नेपाल—भारत मुशायरा (कवि सम्मेलन) लाई प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘तपाईहरुको यो सम्मेलन निकै दुरगामी महत्वको छ । यसलाई मैले दुरगामी महत्व र रणनीतिक कार्यक्रमका रुपमा लिएको छु । यो सम्मेलनले नेपाल र भारतबीचको सम्बन्ध सुदृढीकरणमा विशेष महत्व राख्नेछ । कविता र सिर्जनाका माध्यमद्धारा मुस्लिम समुदायको पहिचान र अधिकार स्थापित गर्ने तपाईहरुको अभियानमा सफलता मिलोस्, हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ आफू पहिचान र अधिकारका निम्ति अनवरत संघर्षमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘म सबै जाति, भाषा, कला, संस्कृति र समुदायको पहिचान र अधिकारको पक्षमा छु । हिमाल, पहाड र मधेशबीच राष्ट्रिय एकताको पक्षमा छु । मेरै नेतृत्वमा जनयुद्ध भयो, उत्पीडितहरुको अधिकारको संघर्ष भयो । अहिले नयाँ संविधानले उत्पीडितहरुको पहिचान र अधिकारलाई संस्थागत गरेको छ । बाँकी अधिकार संविधान संशोधनको माध्यमद्धारा प्राप्त गर्दै जाने बाटो खुलेको छ ।’ नयाँ संविधानमा मुस्लिम अधिकार संस्थागत भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानमा मुस्लिम आयोगको व्यवस्था छ, यो संवैधानिक आयोग हो । अब मुस्लिमहरुका अधिकार पनि संस्थागत हुँदै जानेछन् । सिर्जनाका माध्यमबाट आफ्नो समुदायको अधिकार र जागरणका निम्ति तपाईहरुले थाल्नुभएको अभियान प्रशंसनीय छ ।’ कार्यक्रममा नेपाल र भारतका ३६ जना मुस्लिम कविहरुले भाग लिनेछन् । एक दिने कवि सम्मेलनमा मुस्लिम समुदायको भाषा, कला, संस्कृति, ऐतिहासिकता, पहिचान र अधिकारसँग सम्बन्धित कविताहरु प्रस्तुत हुनेछ । परिवर्तनको अनुभूति गर्ने काम गर्न निर्देशन जिंगहवा । मुस्लिम सम्मेलनपछि रौतहट जिल्लाका कार्र्यालय प्रमूखहरुलाई प्रधानमन्त्री प्रचण्डले जनताले परिवर्तनको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । निर्देशनमा प्रधानमन्त्रीले केही दिनभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिँदै जिल्लामा निर्वाचनको वातावरणका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको छ । सरकार स्थानीय तहको निर्वाचनमा जुटिसकेको छ । तपाईहरु पनि जिल्लामा निर्वाचनको वातावरण बनाउन आवश्यक प्रबन्ध गर्नुहोस् । निर्वाचनको वातावरण बनाउने र जनतालाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्नु तपाईहरुको दायित्व हो ।’ निर्देशनमा प्रधानमन्त्रीले पूँजीगत खर्च बढ्ने गरी विकास निर्माणका कामलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।
संविधान कार्यान्वयनका लागि एमालेले मेची–महाकाली अभियान गर्ने ओलीको दाबी
काठमाडौँ, माघ २९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित गर्न सकिने बताएका छन् । एमालेले आयोजना गरेको एक कार्यक्रममा नेता ओली भने, ‘संविधान कार्यान्यवयनका लागि सहयोग पु¥याउने उद्देश्यले पार्टीले मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको छ ।’ अध्यक्ष ओलीले आफ्नो दल मधेसी, दलित, जनजाति, विपन्न वर्गको पक्षमा रहेको उल्लेख गर्दै केही राजनीतिक दल तथा समूहले एमालेलाई मधेसी, दलित, जनजाति विरोधी रहेको भनी भ्रम फैलाउन खोजिएकाले त्यसमा कुनै सत्यता नरहेको बताए । पार्टीका महासचिव ईश्वर पोखरेलले संविधान संशोधनको विषय जनताको हितमा नरहेको बताउँदै प्रदेशको सीमाङ्कन प्रदेश सभाले मात्र गर्नसक्ने हुँदा त्यो संशोधनमार्फत गरिएमा संविधान विपरीत हुने विचार व्यक्त गरे । पार्टीका सचिव प्रदीप ज्ञवालीले तराई–मधेसमा भइरहेको वर्गीय विभेद तथा सामाजिक असमानतालाई न्यूनीकरण गर्न आफ्नो दलले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको प्रष्ट पारे । कार्यक्रममा सङ्घीय समाजवादी फोरमका नेता गुलाव सरोवर शेख, सोही पार्टीका केन्द्रीय सदस्य दिलीपकुमार झा र जोगेन्द्रप्रसाद यादव तथा साहित्यकार शान्ति चौधरीलगायतले एमाले पार्टीमा प्रवेश गरे ।
राष्ट्रिय गौरवका आयोजनाहरू मेरै नेतृत्वमा सम्पन्न हुन्छ : प्रधानमन्त्री
वीरगन्ज, माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर रहेको बताएका छन् । राष्ट्रिय गौरवका आयोजनाहरु काठमाडौँ–निजगढ द्रुत मार्ग तथा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्बन्धमा बाराको निजगढमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा आर्थिक विकास तथा विकास निर्माणको कामलाई वर्तमान सरकारले प्राथमिकतामा राखेको बताए। आफ्नो भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानी कै कारण हुलाकी मार्गको निर्माणको काम सुरु भएको भन्दै प्रधानमन्त्री प्रचण्डले तराईमा रेल मार्गको निर्माणलाई समेत प्राथमिकतामा राखिएको बताए। आफू प्रधानमन्त्री बनेदेखिनै मेलम्ची खानेपानी, जलाशययुक्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत राष्ट्रिय गौरवका आयोजना अनुगमन गरी समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएको स्मरण गराउँदै उनले राष्ट्रिय महत्वका ठूला आयोजनाहरु सरकार आफैले बनाउने प्रतिबद्धता व्यक्त गरे। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा तनियावस्ती उठीवास हुने भएकाले सो समस्याप्रति सरकार गम्भीर छ भन्दै प्रधानमन्त्री प्रचण्डले उक्त वस्तीको समस्या समाधान हुने बताए। द्रुतमार्गको निर्माण चाँडोभन्दा चाँडो सुरु गर्नुपर्ने माग राख्दै विगत आठ दिनदेखि अनशनमा बसेका स्थानीयवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक महिनाभित्र सो आयोजनाको काम सुरु हुने जानकारी दिदै अनशन तोड्न आग्रह गरे । कार्यक्रममा सांसद रामअयोध्याप्रसाद यादवले संविधान संशोधन प्रक्रिया अविलम्ब अघि बढाइ जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गर्न माग गरे। राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ तथा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शीघ्र निर्माण सुरु हुनुपर्ने माग राख्दै स्थानीयवासी यही माघ २२ गतेदेखि अनशनमा बस्दै आएका छन् । प्रधानमन्त्री दाहालले आजै बाराको सिम्रनगढमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘माछा जोन’को उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्रीले भने-‘एक महिनाभित्र फास्ट्रयाक निर्माणको शिलान्यास हुन्छ’
बारा, माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फास्ट्रयाक निर्माणको शिलान्यास एक महिनामा गर्ने बताएका छन् । शनिबार राष्ट्रिय गौरवका आयोजना निजगढ–काठमाडौं फास्टट्रयाक, निजगढ विमानस्थलसहित पूर्व–पश्चिम हुलाकी सडक तथा रेल्वे ओयोजनाको स्थलगत निरिक्षण गर्न आएका प्रधानमन्त्रीले फाष्टट्याक निर्माणमा देखिएको गतिरोध अन्त्य भइसकेकोले बढीमा एक महिनाभित्र काम सुरु हुने बताए । जनताले योजना निर्माणका लागि दिइरहेको दबाबलाई सम्बोधन गर्न आफूले गम्भीर भएर पहल गरिरहेको बताए । फास्टट्रयाक कस्तो नमुनाको बनाउने र वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न योजना आयोगका उपाध्यक्षको नेतृत्वमा गठित सात सदस्यीय विशेष समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउने भन्दै प्रचण्डले प्रतिवेदनका आधारमा निर्माण प्रक्रिया सुरु हुने जानकारी दिए । राष्ट्रिय गौरवका आयोजना निजगढ–काठमाडौं फास्टट्रयाक र निजगढ विमानस्थलसहित पूर्व–पश्चिम हुलाकी सडक तथा रेल्वे ओयोजनालाई तत्काल अघि बढाउनका लागि दबाब दिने उदेश्यले निजगढस्थित फास्टट्रयाकको मूलद्वारमा भइरहेको रिले अनशन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले भने ‘समितिले मन्त्रिपरिषद्लाई प्रतिवेदन बुझाएपछि काम सुरु हुन्छ,’ उनले भने, ‘अब फाष््टट्याक बन्दैन कि भन्ने अन्योलमा बस्न जरुरी छैन्, मैले यो योजनाको निर्माण गर्न गम्भीर रुपमा लिएको छु ।’ मेलम्चीदेखि देशका विभिन्न भागमा रहेका आयोजनाको अवस्था बुझेर काम अगाडी बढाउन आफू लागिरहेको भन्दै उनले विकासका कामलाई प्राथमिकतामा राखेर आफूले काम गरिरहेको बताए । अनशनकारीलाई अनसन टुङ्ग्याउन उनले आग्रह गरे । आफु प्रधानमन्त्री भएपछि आर्थिक विकास र समृद्ध राष्ट्रका लागि राष्ट्रिय गौरवका ठूला आयोजनाले नयाँ ढंगले गति लिएको उनले बताए । यस्तो बताएका हुन् । सबै आयोजनाबारे सरकार जानकार रहेको बताउँदै उनले भने, ‘गोवा विमस्टेक बैठक र भारत भ्रमणको क्रममा मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित यिनै आयोजनाकोबारेमा गम्भीर छलफल गरेको छु । सबै आयोजनाले नयाँ ढंगले गति लिएको छ ।’ विमानस्थल क्षेत्रमा रहेको वस्ती व्यवस्थापन र मुआब्जाको अध्ययनबारे जिल्ला प्रशासन कार्यालयको प्रजिअको संयोजकत्वमा समिति निर्माण भई काम सुरु भइसकेको उनले जानकारी गराए । ‘विमानस्थलका क्षेत्र भित्रका टांगीयावस्तीलगायतका जनताको बसोवासदेखि मुआब्जा र यस क्षेत्रमा पर्ने बालीनाली, घरटहरा, रुखविरुवा सबैको व्यवस्थापनसँगै वातावरणीय परीक्षणको कामसमेत चाँडै हुन्छ ।’
स्वास्थ्यमन्त्री थापाले यस्तो दिए केपी ओलीलाई सुझाव
पोखरा, माघ २९ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानको कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरेका छन् । नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्माञ्चल क्याम्पस, पोखरा इकाइ समितिद्वारा प्रकाशित ‘जय नेपाल’ स्मारिका तेस्रो अङ्कको शनिबार विमोचन गर्दै उनले कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयन गराउन लागिपर्ने बताए । लोकतन्त्र प्राप्तिका विभिन्न आन्दोलनको अगुवाई गर्ने कांग्रेसले नयाँ संविधानको कार्यान्वयनलाई प्राथमिकतामा राखेको उनले बताए । हिमाल, पहाड र तराईबीचको एकताले नै देशको राष्ट्रियता बलियो बन्ने उनले बताए । एमाले अध्यक्ष केपी ओलीको नामै नलिइ मन्त्री थापाले भने–‘केन्द्रमा बसेर चर्का राष्ट्रियताका नारा लगाउनुभन्दा हिमाल, पहाड र तराईमा रहने नेपाली जनताको भावना र मर्मलाई बुझ्नु आवश्यक छ ।’ नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले विद्यार्थीका सिर्जनात्मक भावनालाई समेट्नका लागि प्रकाशित स्मारिका बहुउपयोगी बन्ने अपेक्षा गरे । नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका अध्यक्ष आदर्श लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले धारणा राखेका थिए ।
वकिलहरुको सामुहिक राजीनामा फिर्ता, अाइतबारबाट कामका फर्कने
काठमाडौँ, माघ २९ । मधेसका दुईसय भन्दा बढी वकिलहरुले नेपाल बारमा बुझाएको सामुहिक राजीनामा पनि फिर्ता लिएका छन् । राजधानीमा शुक्रबार मध्यरातमा नेपाल बार एशोसिएसनसँग मधेस प्रदेशका वकिलहरुले सात बुँदे सहमति गरेपछि वकिलहरुले आफ्नो सामुहिक राजीनामा फिर्ता लिएका हुन् । सहमतिसँगै सप्तरीदेखि पर्सासम्मका आठ जिल्लाको उच्च र जिल्ला अदालतको इजलास बहिस्कार कार्यक्रम पनि फिर्ता लिएका छन् र आइतबारबाट अदालती कारवाही सुरु हुने भएको छ न्याय परिषदले गरेको ८० न्यायाधीश नियुक्तिको विरोधमा मधेसका ८ जिल्लाका वकिलहरुले इजलास बहिस्कार गर्दै आएका थिए । उच्च् अदालतमा न्यायधीय नियुक्तिको विषयमा बारले अडान छाडेको भन्दै दुई नम्बर प्रदेशका वकिलहरुले बारका अध्यक्ष शेरबहादुर केसी समक्ष सामुहिक राजीनामा बुझाएका थिए । त्यसपछि असन्तुष्ट वकिलहरुको मागलाई सम्बोधन गर्नका लागि बार र दुई बम्बर प्रदेशका वकिलवीच वार्ता भएको थियो । वार्तामा शुक्रबार राति नै सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएपछि सबैखालका आन्दोलन फिर्ता भएको हो । बारका तर्फबाट वार्ता समिति संयोजक वरिष्ठ अधिवक्ता कमलनारयण दास र असन्तुष्ट कानून व्यवसायी समन्वय समितिका संयोजक अधिवक्ता सुधीरकुमार कर्णले ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यस्ता छन् सहमति सर्वोच्च अदालतसँग भएको माघ १८ को सहमति सच्याउने सहमति भएको छ । सर्वोच्चसँग गरिएको सहमतिमा ‘समानुपातिक’ शब्द थप्ने ७ बूँदे सहमति भएको छ । यसैगरी पर्सादेखि सप्तरीसम्म जिल्ला र उच्च अदालतमा हुँदै आएको इजलास बहिस्कार आजैका मितिबाट स्थगित गर्ने सहमती भएको छ । बार र असन्तुष्ट वकिलवीच भएको सहमतिपत्रमा न्यायाधीश नियुक्तिबारे सर्वोच्च अदालतमा विभिन्न रिटहरु परेको हुनाले ती रिटमाथिको निर्णय पर्खने र त्यसमा प्रमाण जुटाउनका लागि न्याय परिषदले रिट निवेदकलाई प्रमाणका लागि न्यया परिषदको माइन्युट उपलब्ध गराउने लगायतका विषयहरु उल्लेख छन् । त्यसैगरी नयाँ संविधान अनुसार न्याय परिषदको संरचना निर्माणको सिफारिससहितको प्रतिवेदन ३ महिनाभित्र तयार पार्न कार्यदल बनाउने सहमतिसमेत भएको छ ।
डा.बाबुरामले किन भेटे प्रधानमन्त्री प्रचण्डलाई !
काठमाडौं, माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संसोधन, निर्वाचनको मिती घोषणा लगायतका विषयमा समाधानको लागि गृहकार्य भइरहेको बताएका छन् । शनिबार विहानै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड नयाँ शक्क्ति नेपालका संयोजक बाबुराम भट्टराईबिच भएको भेटका क्रममा प्रधानमन्त्रीले सबैलाई सहमतिमा ल्याएर निर्वाचन मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताएका हुन् । प्रचण्डले राजनीतिक समस्या समाधानको लागि आँफु प्रयासरत भएपनि केही जटिलताले समाधान हुन नसकेको बताए । भेटमा नयाँ शक्तिका संयोजक भट्टराईले राजनीतिक गतिरोध चाँडो अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । भेटपछि नयाँ शक्तिले एक बिज्ञप्तिमा जारी गर्दै संविधान संशोधन, स्थानीय तह, प्रदेशको पुर्नसंरचना, निर्वाचन लगायतबारे दुई नेताबीच कुराकानी भएको जनाएको छ । भेटमा भट्टराईले बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका जनताले मुआब्जा कम भएको भन्दै बढाउन गरेको आग्रहबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । हिजो शुक्रबार पनि प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको थियो । भेटमा संविधान संसोधन र शिघ्र निर्वाचन मिति घोषणा गर्ने विषयमा छलफल भएको थियो ।
एकाबिहानै किन बालुवाटार पुगे बाबुराम?
काठमाडौं, माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेट भएको छ ।भट्टराई शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीसंग भेट गरेका छन् । भेटमा समसामयिक राजनीतिक परिस्थिति, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल चलिरहेको छ । छलफल अहिले पनि जारी भएको बताइएको छ ।
महाभियोग लगाउन नहुने भन्दै तयार पारिएको प्रतिवेदन सभामुखलाई
काठमाडौं, माघ २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन नहुने भन्दै संसदको महाअभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन सभामुख ओनसरी घर्तीलाई बुझाएको छ । समितिको सभापतित्व गरेकी कांग्रेस सांसद कुमारीलक्ष्मी राईले सो प्रतिवेदन सभामुख घर्तीलाई बुझाएकी हुन् । समितिले बुझाएको प्रतिवेदनमा सर्वोच्चले अयोग्य ठहर गरी पदमुक्त भएका अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउन नपर्ने उल्लेख गरिएको छ । यस्तै प्रतिवेदनमा कार्कीले गरेका गलत कार्यको छानविन गर्न संसदले सम्वन्धित सरकारी निकायलाई निर्देश गर्न सक्ने सिफारिस पनि गरिएको छ । संविधानको धारा १०१ बमोजिम कार्कीलाई महाअभियोग लगाउन सकिने पर्याप्त आधार र कारण भने प्राप्त गरेको समिति सदस्य रामनारायण विडारीले जानकारी दिए । समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालय संवैधानिक परिषद्को सचिवालय, राष्ट्रिय अभिलेखालय र संसद सचिवालयमा अभिलेखका रुपमा राख्न सिफारिस गरिएको विडारीले बताएका छन् । कार्कीले पद तथा शक्तिको दुरूपयोग गरी संवैधानिक निकाय बद्नाम गराउने कार्यमा संलग्न भएको भन्दै गत कार्तिक ३ गते एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । पुष २४ गते अख्तियारका प्रमुख आयुक्त हुन अयोग्य ठहर गरेको थियो ।

