प्रधानमन्त्रीले सोधें, ‘भ्रष्टाचार किन नियन्त्रण हुन सकेन ?’

काठमाडौ, माघ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियारलाई अझैसम्म भ्रष्टाचार किन नियन्त्रण हुन नसकेको प्रश्न गरेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २६ औँ स्थापना दिवसको अवसरमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले सो प्रश्न गरेका हुन् । स्थापना भएको २६ औं वर्ष पार गरिसक्दा समेत भ्रष्टाचार के कति कारणले नियन्त्रणमा आउन सकेन भन्नेबारे प्रधानमन्त्री प्रचण्डले आत्ममूल्यांकन गर्न निर्देशन दिएका छन् ।

भ्रष्टाचारको विकृति रोक्न अहिलेसम्म भएका प्रयासले केही सकारात्मक नतिजा देखाएको भएपनि भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अझै धेरै गर्न बाँकी रहेको उनले बताए ।

भ्रष्टाचार नियन्त्रण सम्बन्धी अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज, सञ्चार जगत लगायतका सरोकार पक्षहरूबीच थप सहकार्य र साझेदारी विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

भ्रष्टाचार नियन्त्रण सरकार वा आयोगको मात्र दायित्व नभई आचरण र जीवनशैलीसँग समेत जोडिएको विषय रहेको उनले बताए ।

आफ्ना काम कारवाहीलाई पारदर्शी र प्रभावकारी बनाउन आयोगले पर्याप्त ध्यान पुर्‍याउने उनले विश्वास व्यक्त गरे । अनुसन्धान गर्दा व्यक्तिको प्रतिष्ठाप्रति संवेदनशील हुने, निरपराध व्यक्ति सजायको भागी बन्नु नपर्ने र अपराधी उम्कन नपाउने गरी आयोगले आफ्नो पूर्ण क्षमताको उपयोग गर्नुपर्नेमा उनले जोड थियो ।

यस अवसरमा आयोगको स्थापना कालदेखि हालसम्म योगदान गर्ने सबैमा उनले धन्यवाद दिदै आयोग परिवारलाई बधाई दिएका थिए ।

राणाले भने-‘राप्रपा सरकारबाट हट्दैन, एमाले र मधेसी मोर्चाको कारण चुनाव हुन सकेन’

काठमाडौं, माघ २८ । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले सरकारले एमाले र मधेसी मोर्चाको चेपुवामा परेर चुनावको मिति घोषणा गर्न नसकेको बताएका छन् । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले जेठमा स्थानीय निर्वाचन गराउन नसक्ने दावी गरे । नेता राणाले दुई दशकदेखि हुन नसकेको स्थानीय निर्वाचन यथाशीघ्र वर्तमान सरकारले नै गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले भने– ‘यही सरकारले चुनाव गराउनुपर्ने हो तर सरकार एमाले र मधेशी मोर्चाको चपेटामा परेको देखियो ।’ वरिष्ठ नेता राणाले आफ्नो पार्टी सरकारबाट बाहिरिने पक्षमा नरहेको पनि स्पष्ट पारे। पार्टी अध्यक्ष कमल थापा आफैंले अब सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला नेता राणाले भने त्यस्ता हल्लाको पछि लाग्न नहुने जिकिर गरे। उनले केही नेताले भन्दैमा पार्टी सरकारबाट फिर्ता नहुने उल्लेख गरे। नेता राणाले आफ्नो पार्टी जेठमा निर्वाचन गराउने पक्षमा भएपनि सम्भव नभएको जस्तो देखिएको भन्दै गुनासो गरे । सरकारले चुनाव टार्नैको लागि मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउने गरेको उनले आरोप लगाए । वरिष्ठ नेता राणाले आफनो पार्टी थ्रेस होल्ड राख्ने पक्षमा रहेको पनि बताए। उनले राष्ट्रिय पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन पनि सरकारलाई दबाब दिए। नेता राणाले सरकारले विकास निर्माणको कामलाई पनि अघि बढाउन नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे।

सहमति कायम गर्न प्रचण्डको दौडधुप, ओलीसँग ललितपुरमा गोप्य वार्ता

तस्वीर: ललितपुरमा गोप्य छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष अोली र माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ललितपुर, माघ २८। प्रधानमन्त्री पुष्प कमल दाहाल‘प्रचण्ड’ र एमालेको अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । ललितपुरको हरिसिद्धिमा रहेको नारायणकाजी श्रेष्ठ निवासमा करिव सवा एक घण्टा भएको भेटमा प्रधानमन्त्रीले संविधान संशोधनमा एमालेलाई सहयोग गर्न आग्रह गरेका थिए । लामो समयदेखि संशोधनको विरोधमा रहेका एमालेका नेतालाई सहमतिमा आउन र निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले आग्रह गरेको स्रोतले एभरेष्टदैनिक डटकमलाई जानकारी दियो । गोप्य छलफलमा ली पार्टी उपाध्यक्ष भीम रावलसँगै पुगेका थिए भने माअाेवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नेता नारायण काजी श्रेष्ठ सहभागी थिए । ओलीले प्रचण्डलाई तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका थिए । ‘चुनावको मिति घोषणा गर्नुस हामी सहयोग गर्न तयार छौं’, ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो । प्रधानमन्त्री प्रचण्डले पहिले संशोधनको विषय टुङ्ग्याएर चुनाव गराउँदा सहज हुने बताएका थिए । एमाले अध्यक्ष ओलीले मधेसवादी दललाई मनाउने विषयमा एमालेले पहल थालेको जानकारी दिँदै सरकारले चुनावको मिति घोषणा गर्नुपर्ने बताएको स्रोतले जानकारी दियो । स्थानीय निकायको चुनावकै बारेमा छलफल केन्द्रीत भएको स्रोतले बतायो । ‘दुई नेताको छलफलले संवादहिनताको अन्त्य गरेको छ, दलहरुबीचको सहमतिका लागि प्रधानमन्त्रीको दौडधुपले निकास निकाल्न मद्यत गर्नेछ’ दुई नेताको छलफलबारे स्रोतले जानकारी दियो । एमाले अध्यक्ष ओलीले सरकारले तत्काल चुनावको मिति घोषणा गरे चुनावसँग सम्बन्धित कानुन पास गर्न एमालेले सघाउने बचन दिएका छन् । प्रधानमन्त्रीले मधेसी मोर्चा र एमालेसँग छलफलपछि चुनावको मिति घोषणा गर्ने बताए । मधेसी मोर्चाले संविधान संशोधनअघि चुनावको मिति घोषणा नगर्न दबाव दिएको छ भने एमालेले चुनावको मिति घोषणा गर्न भनेको छ ।

मन्त्री पाण्डेले भने–पूनःसंरचना आयोगको प्रतिवेदन संशोधन हुन्छ

काठमाडौँ, माघ २८ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमा देखिएको असन्तुष्टिलाई सरकारले समेटेर लैजाने बताएका छन् । स्थानीय तह पुनःसंरचना गर्दा शङ्खरापुर नगरपालिकालाई छुट्टै स्थानीय तह बनाउनुपर्ने मागसहित शङ्खरापुर नागरिक समाजले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्रीले आफ्नो संयोजकत्वमा गठन भएको समितिले शङ्खरापुरवासीको असन्तुष्टि हल गर्न अध्ययन गरी सुझावसहित मन्त्रिपरिषद्मा पेस गर्ने बताए । स्थानीय तह पुनःसंरचनाको काम अत्यन्त जटिल भएको बताउँदै उनले शङ्खरापुरवासीलाई कुनै पनि विरोधका कार्यक्रम नगर्न अनुरोध गरे । ज्ञापनपत्र बुझाउँदै शङ्खरापुर नागरिक समाजका संयोजक रुपेशलाल श्रेष्ठले ऐतिहासिक एवम् पहिचानयुक्त शङ्खरापुरलाई अन्य कुनै नगरपालिकामा समायोजन नगर्न सुझाव दिए । ज्ञापनपत्रमा करिब तीन हजार ३०० वर्ष अघि राजा शङ्खदेवले माता बज्रयोगिनीका निर्देशनमा सात गाउँ मिलाएर हजार घर, त्यसमा चाहिने बगौँचा, खुल्ला क्षेत्र, चोक, ननी, मन्दिर, इनार, धारा, पोखरी आदी राखी दाहिने शङ्ख आकारमा निर्माण गरिएको ऐतिहासिक एवम् पौराणिक शङ्खरापुर क्षेत्रलाई छुट्टै स्थानीय तह बनाउन माग गरिएको छ । शङ्खरापुरलाई छुट्टै स्थानीय तह बनाउन नगरपालिकाको सर्वदलीय संयन्त्रबाट सर्वसम्मतिले पास गरी जिल्ला प्राविधिक समितिलाई सिफारिस गरिएपनि आयोगले कागेश्वरी मनहरा नगरपालिकामा समाजोजन गरेको भन्दै शङ्खरापुरवासीले विरोध गर्दै आएका छन् ।

सांसद घिसिङसहित सयौले घेरे एसएसपी कार्यालय जावलाखेल

तस्वीर:कुटिएका शारिरीक अशक्त हरिशंकर भण्डारी माथि र उनको  प्रहरीले दर्ता गर्न नमानेको उजुरी तल ललितपुर, माघ २८ ।  शारिरीक रुपमा असक्त व्यक्तिलाई कुटपीट गरेको उजुरी दर्ता नगरेको भन्दै महानगरीय प्रहरी परिसर जावलाखेललाई सांसद योगेन्द्र घिसिङसहितका सयौले घेराउ गरेका छन् । कार्यविनायक नगरपालिका १६ नम्बर वडाका स्थानीय बाटो निर्माण अनुगमन समितिका सदस्य हरिशंकर भण्डारीलाई राप्रराका केही व्यक्तिले मरणासन्न हुनेगरी कुटपीट गरेपछि कारवाहीको माग गर्दै उजुरी दिन एसएसपी कार्यालय जावलाखेल आउँदा उजुरी लिन नमानेपछि स्थानीय सांसद घिसिङसहित सयौं युवाहरुले अहिले एसएसपी जावाखेल घेरिरहेका छन् । नेपाली जनताको सुरक्षा गर्नुपर्ने प्रहरीले कुटपीटको उजुरी निवेदन दर्ता गर्न नमानेपछि प्रहरी परिसर घेर्नु परेको सांसद घिसिङले प्रतिक्रिया दिए । उनले भने–‘प्रहरीको काम ज्यादती र गुण्डागर्दीविरुद्ध कदम चाल्नु हो, दिन दहाडै अपाङ्ग व्यक्ति मरणासन्न हुनेगरी कुटपीट हुँदा त्यसमा संम्लग्नलाई प्रहरीले किन पक्राउ गरेर कारवाही गरेन ?’  उनले प्रश्न गरे । कुटपीट भएर्कै दिन एसएसपी कार्यालय जावलाखेल पुगेर उजुरी दिँदा प्रहरीले दर्ता गराउन मानेनन्, छम्पीका स्थानीय शम्भु विष्टले भने–शारिरीक रुपमा अशक्त व्यक्तिमाथि भएको कुटपीटको मुद्दा दर्ता गराउन खोज्दा निवेदन दर्ता गरिएन अनि प्रहरी परिसर घेर्नु परेको हो ।’ तर, प्रहरीले भने एउटै घटनामा दुइवटा उजुरी लिन नसकिने भएकोले दर्ता नगरेको दाबी गरेको छ । कुटपीटमा संग्लग्न भनिएका व्यक्तिले यसअघि नै उल्टै घटनाको निवेदन दर्ता गराएको भन्दै उजुरी निवेदन नलिएको प्रहरीले जानकारी दिएको छ । कुटपिटमा राप्रपाको समर्थित व्यक्तिको हात रहेको र प्रहरी प्रशासन राप्रपाको ठूलो नेताको प्रभावमा परेको उनीहरुले आरोप लगाए । परिसरका प्रहरी प्रमुख एसएसपी ठूले राई अमेरिका गएका छन् । अहिले नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङसहितका युवाले जावाखेलको परिसर बाहिर नारावाजी गरिरहेको त्यहाँ रहेका हाम्रा सहकर्मीले जानकारी दिएका छन् । उनीहरुले कुटपीटमाथि संलग्नलाई कारवाही, प्रहरी प्रशासनले समान न्याय गराउनुपर्ने माग राखेर नारावाजी गरिरहेका छन् । गुण्डागर्दीको अन्त्य, जनताको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै हजारौ युवाले घेरा हालेका हुन् ।

विद्यालय पुनःनिर्माणका लागि रु २५ लाख जुट्यो

म्याग्दी,  माघ २८ । भूकम्पले भत्किएको म्याग्दीको भगवती–३ मा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयको कक्षाकोठा भवन पुनःनिर्माणका लागि रु २५ लाख आर्थिक सहयोग जुटेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको विद्यालयको दुईकोठे भवन पुनःनिर्माणका लागि समुदाय, प्रवासी र सरकारी निकायबाट सो सहयोग जुटेको विद्यालयका प्रधानाध्यापक तोरणबहादुर श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको रु १३ लाख ५० हजार बजेट अपुग भएपछि स्थानीयवासी, पूर्वविद्यार्थी र अन्य सङ्घसंस्थाबाट थप सहयोग जुटाएर भवन निर्माण गर्न लागिएको प्रअ श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भवन पुनःनिर्माणका लागि जिविसले सांसद विकास कोषबाट रु तीनलाख ५० हजार, गाविस कार्यालयले रु तीनलाख १० हजार र समुदाय स्तरबाट चारलाख २० हजार प्राप्त भएको हो । विद्यालयको भवन पुनःनिर्माणका लागि भगवती–७ का लोकबहादुर भण्डारीले रु एकलाख ११ हजार, ओवीन्द्रराज शर्माले रु ५५ हजार एकसय ११ सहयोग गर्नुभएको छ । कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा भवन भत्किएपछि पठनपाठन सञ्चालनमा समस्या भएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको पहलमा आर्थिक स्रोत जुटाएर दुईकोठे पक्की भवन निर्माण कार्य भइरहेको छ । रासस

बालविवाह गर्न खोज्ने बेहुला र जन्तीलाई लखेटे स्थानीयले

सिन्धुली, माघ २८ । सिन्धुलीको बेलघारी गाविसमा आज एक बालिकाको बालविवाह रोकिएको छ । बेलघारी– २ चिसापानीकी १२ वर्षीया बालिका र रानीचुरी–२ बेसारेका २२ वर्षीय कनक कार्कीबीच हुन लागेको विवाह स्थानीय किशोरी क्लबले रोकेको हो । बेलघारीकै चन्द्रावति माध्यमिक विद्यालयलका कक्षा ६ मा अध्ययनरत बालिकालाई मावलीले जबर्जस्ती विवाह गर्दिन लागेको थाहा पाएपछि स्थानीय नागरिक सचेतना केन्द्र र किशोरी क्लबका पदाधिकारीले त्यहाँ पुगेर विवाह रोकेका हुन् । बालिकाको विवाहका लागि मावली पक्षले पूर्ण तयारीका साथ बसेका थिए । यता बेहुला २२ वर्षीय कनक कार्की बालिकाको घरमा जन्तीसहित पुगेपछि नागरिक सचेतना केन्द्र र किशोरी क्लबका पदाधिकारीसहितको समूहले त्यहाँ पुगेर विवाह रोकिदिएको क्लवकी सदस्य सविता बरालले जानकारी दिनुभयो । जन्तीसहित बालविवाह गर्न गएका बेहुला कार्कीलाई नगरिक सचेतना केन्द्र र किशोरी क्लबका पदाधिकारीले त्यहाँबाट लखेटेका थिए भने बालिकालाई विवाहका बारेमा कुनै थाहासमेत नभएको स्थानीयको भनाइ छ । बालिकाका मावली परिवारका सदस्यलाई बालविवाहले पार्ने असर र कानुनी प्रावधानबारे जानकारी दिँदै मनोविमर्श गरेपछि उनीहरु विवाह रोकिएको किशोरी समूह बेलघारीकी सदस्य सविता बरालले बताउनुभयो । धनुषा स्थायी घर भएकी बालिका मावलीका हजुरबुबा हजुरआमासँग अध्ययनको सिलसिलामा बस्दै आएकी थिइन् । सिन्धुली बालविवाहको उच्च जोखिम रहेको भन्दै विभिन्न सङ्घसंस्थाले जनचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बालविवाह अझै रोक्न सकिएको छैन । बालविवाहका अधिकांश घटनामा मिलापत्र गराएर छाड्ने प्रचलन रहेको छ । रासस

सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप

काठमाडौं, माघ २७ । मन्त्रीपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजवीनका लागि बेपत्ता आयोगको म्याद एक वर्ष थप भएको छ । बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आकस्मिक रुपमा बसेको मन्त्रीपरिषद्को बैठकले दुई आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । निर्धारित समयमा काम नसकिएको भन्दै दुवै आयोगले सरकारसमक्ष म्याद थपको लागि आग्रह गरेका थिए । दुवै आयोग २०७१ माघमा गठन भएको थियो । दुवै आयोगको म्याद बुधबारदेखि माघ २६ देखि सकिएको थियो । बैठकले नेपाल प्रहरी र शसस्त्र प्रहरीको महानिरीक्षकको बिषयमा कुनै निर्णय गरेन । दुवै संगठनका प्रमुखहरु उमेर हदका कारण फागुन २ गते अवकाश हुँदैछन् । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँगै सबै एआईजीहरु अवकाश पाउने भएकाले त्यसअघि नै मन्त्रिपरिषद्ले भावी प्रमुखबारे निर्णय गर्नुपर्ने हुन्छ । केही विषयमा निर्याय गर्ने भन्दै दिउँसो मन्त्रीपरिषद्को आकस्मिक बैठक डाकिएको थियो । बिहीबार विहान बस्ने भनिएको मन्त्रिपरिषद् एक्कासी स्थगित गरिएको थियो ।

चितवन जिल्ला पनि लोडसेडिङ मुक्त घोषणा

काठमाडौँ, माघ २७ । नेपाल विद्युत प्राधिकरणले चितवन जिल्लालाई पनि लोडसेडिङ मुक्त भएको घोषणा गरेको छ । प्राधिकरणले काठमाडौँ उपत्याकामा तिहारदेखि र केही महिना अघि पोखरालाई लोडसेडिङमुक्त बनाएको थियो । केही समयअघि चितवनमा एक सार्वजनिक कार्यक्रममै उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले चितवनललाई छिटै लोडसेडिङमुक्त गरिने बताएका थिए । ‘आजदेखि चितवन जिल्ला लोडसेडिङमुक्त भएको छ, । औद्योगिक फिडरबाहेक सबै फिडरमा अब लोडसेडिङ हुँदैन’ प्राधिकरणको चितवन शाखाले जनाएको छ । चितवनमा राष्ट्रिय ग्रीडबाट बिजुली वितरण भएका सबै क्षेत्रमा लोडसेडिङ नहुने विद्युत प्राधिकरणले बतायो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठभित्रमा नेपालभर लोडसेडिङ अन्त्य भएको घोषणा गर्ने नीति अनुरुप चितवन जिल्लालाई लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणले जनायो । आजदेखि चितवनबासीले प्राविधिक समस्या बाहेक बत्ती जाने समस्या झेल्न पर्दैन ।

पोखरामा नेपाल र ओली पक्षबीच कुटाकुट, चार जना घाइते

पोखरा, माघ २६ । पोखरामा एमालेसम्बद्ध विद्यार्थी संगठनका दुई समूहबीच हिंसात्मक झडप भएको छ । स्ववियु निर्वाचनमा उम्मेदवारको विषयलाई लिएर एमाले निकट अनेरास्ववियुका दुई पक्षबीच पोखराको पृथ्वीनारायण क्याम्पसमा कुटाकुट हुँदा चार जना घाईते भएका छन् । घाइते विनय राना, दिनेश ढुंगाना, विमल तिवारी र सुरज अधिकारीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरु सबै नेपाल पक्षधर विद्यार्थी हुन् । हात र टाउकोमा चोट लागेका उनीहरुको अवस्था सामान्य छ । अमृत सुवेदी, शेखर पौडेल, अनुप लामिछाने, सुमन ढुंगाना लगायतको समुहले उनीहरुलाई हेल्मेटले कुटेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार ओली पक्षका विद्यार्थीले हिजो पनि नेपाल पक्षका विद्यार्थीलाइ गालीगलौज गरेका थिए । त्यसपछि सो समूहले अनुशासन कमिटीमा उजुरी दिएपछि सोही बिषयलाई लिएर दुई पक्षबीच झगड भएको प्रहरीले जनाएको छ ।

आकस्मिक रुपमा बोलाइयो मन्त्रीपरिषद्को बैठक

काठमाडौं, माघ २७ । केही विषयमा महत्वपूर्ण निर्णयका लागि मन्त्रीपरिषद्को आकस्मिक बैठक डाकिएको छ । बिहीबार विहान बस्ने भनिएको मन्त्रिपरिषद् एक्कासी स्थगित गरिएको थियो । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजवीनका लागि बेपत्ता आयोगको म्याद आज विहिबारदेखि सकिन लागेकोले त्यसको म्याद थप गर्न आकस्मिक रुपमा बैठक बोलाइएको हो । मन्त्रीपरिषद् बैठककै लागि नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक  समेत स्थगित गरिएको छ । हेडक्वाटर बैठक बिहिबार दिउँसो तीन बजेको लागि बोलाइए पनि अन्तिममा स्थगित गरिएको हो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चन्द्र खनालले प्रधानमन्त्रीको व्यस्तताको कारण हेडक्वाटरकाे बैठक स्थगित गरिएको जानकारी दिए । आजको बैठकमा चुनावको मिति, राज्य पुर्संरचना आयोगको प्रतिवेदन, सांगठनिक विषयलगायतका विषयमा छलफल हुने तय गरिएको थियो ।

प्राधिकरणको जिल्ला कार्यालयमा कर्मचारी अभाव, ७० दरबन्दीमध्ये ५८ पद रिक्त

काठमाडौँ, माघ २७ । भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन गठन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा दरबन्दीअनुसारका कर्मचारी पूर्ति हुन नसक्दा काम अघि बढ्न सकेको छैन । प्राधिकरण केन्द्रीय कार्यालयमा ७० जना कर्मचारीको दरबन्दी रहेकामा १२ पद मा मात्र कर्मचारी रहेको प्राधिकरणका सचिव डा. सञ्जय शर्माले लाई जानकारी दिए । “प्राधिकरणमा प्राविधिकतर्फको सहसचिव एक, प्राविधिक उपसचिव तीन, प्राविधिक शाखा अधिकृत १०, शाखा अधिकृत प्रशासन एक र प्राविधिक नायब सुब्बा छ पद रिक्त छ, दरबन्दीअनुसार कर्मचारी नहुँदा काममा प्रभाव परेको छ, जिल्ला कार्यालयमा उपसचिव भए अरु कर्मचारी करारमा लिएर काम गर्ने गरी सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको छ, स्वीकृत भएर आएपछि कर्मचारी करारमा लिने प्रक्रिया सुरु हुन्छ” – उनले भने । जिल्ला समन्वय समितिको कार्यालयमा ७० दरबन्दी रहेकामा १२ जना कार्यरत छन् भने ५८ पद रिक्त छ । जिल्ला कार्यालयमा राजपत्राङ्कित द्वितीय श्रेणी नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका १४ उपसचिवमध्ये आठ पद पूर्ति छ भने छ पद रिक्त छ । राजपत्राङ्कित तृतीय श्रेणीका १४ इन्जिनियरको दरबन्दीमध्ये चार पदमात्र पूर्ति छ, १० पद खाली छ । पुनःनिर्माणमा प्राविधिक कर्मचारीको सङ्ख्या कम हुँदा काम गर्न समस्या भएको बुधबार सार्वजनिक लेखा समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेलले बताएका थिए । प्राधिकरणमा आउँछु भनेका कर्मचारीलाई पनि मन्त्रालयले पठाउन ढिलाइ गरेको उनको गुनासो थियो । जिल्ला कार्यालयमा १४ लेखापाल र २८ सिभिल इन्जिनियरको दरबन्दीमध्ये सबै पद रिक्त छ । भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा जिल्ला कार्यालय सञ्चालनमा कर्मचारी अभाव भएको हो । जिल्ला कार्यालयमै कर्मचारीको अभाव हुँदा गाउँ गाउँमा खटिएका इन्जिनियरको समन्वयमा समस्या भएको छ । जसका कारण पीडितले गाउँमा इन्जिनियरलाई भेट्न नसकिएको गुनासो आइरहेको प्राधिकरणले जनाएको छ । पहिलो किस्ताको रु ५० हजार बुझेर पुनःनिर्माण सुरु गरेका पीडितले कर्मचारी अभावकै कारण समस्या खेप्नुपरेको छ ।

स्ववियु निर्वाचनका लागि जुटे विद्यार्थी सङ्गठन

पोखरा, माघ २७ । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि यहाँका विद्यार्थी सङ्गठन आ–आफ्नो तयारीमा जुटेका छन् । निर्वाचनका कारण यहाँका क्याम्पसमा चहलपहल बढेको छ । पछिल्लो समय विद्यार्थी सङ्गठनले भेला र कार्यकर्ता भेटघाट बढाएका छन् । विभिन्न कारणले २०६५ सालयता स्ववियु निर्वाचन हुन सकेको छैन । स्ववियु निर्वाचनलाई लक्षित गरी अनेरास्ववियुले आफ्नो तयारीलाई तीव्र बनाएको सो सङ्गठनका जिल्ला अध्यक्ष विवेक देवकोटाले बताउनुभयो । “निर्वाचन हुने सबै क्याम्पस कमिटीलाई क्रियाशील गरिएको छ,” उहाँले भन्नुभयो । शान्तपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न अन्य विद्यार्थी सङ्गठनसँग छलफल गरिरहेको उहाँको भनाइ छ । यस्तै जिल्लाका विभिन्न क्याम्पसमा साङ्गठनिक गतिविधि तीव्र पारेको अनेरास्ववियु ९क्रान्तिकारी०का जिल्ला अध्यक्ष नारायण बराल बताउनुहुन्छ । स्ववियुको निर्वाचनका लागि क्याम्पसका प्रत्येक एकाइलाई सक्रिय पारेको नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य भानु ढकाल बताउनुहुन्छ । “स्ववियु निर्वाचन कुनै पनि हालतमा हुनुपर्छ,” उहाँले भन्नुभयो । जिल्लामा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका पाँच र नेपाल संस्कृत विश्वविद्यालयको एएटा क्याम्पसमा स्ववियु निर्वाचनको तयारी भइरहेको छ ।

अर्थमन्त्री महराले किन भेटे गर्भनरदेखि मुख्यसचिवलाई !

काठमाण्डौ, माघ २७ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको पछिल्लो आर्थिक अवस्थाका वारेमा राष्ट्र बैंकका गर्भनर र अर्थ मन्त्रालयका सचिवहरुसँग छलफल गरेका छन् । सिंहदरबारस्थित अर्थमन्त्रालयमा बिहिबार करिव डेढ घण्टा गर्भनर चिरञ्जीवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी र राजश्व सचिव राजन खनालसँग देशको पछिल्लो आर्थिक विवरणबारे छलफल गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पछिल्लो समय बैङ्कहरुमा आर्थिक तरलता रहेको बताएपछि अर्थमन्त्रीले सो बारेमा जानकारी लिन छलफल गरेका हुन् । सरकारले नयाँ बजेट ल्याउने तयारी पनि गरेको छ । सरकारले कस्तो बजेट ल्याउने भन्ने बारेमा पनि अर्थमन्त्रीले चासो लिएका हुन् । छलफलमा गर्भनर र सचिवद्धयले मुलुकको पछिल्लो आर्थिक अवस्थाको वास्तविकताका वारेमा उपप्रधानमन्त्री महरालाइ ब्रिफिङ्ग गरेका थिए ।

८ जिल्लाको पून:संरचना विषयमा दुई नम्बर प्रदेशका सांसदसँग छलफल गरिने

काठमाडौँ, २७ माघ । स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासो अध्ययन गरी मन्त्रिपरिषद्मा सुझाव पेस गर्न गठित समितिले छलफललाई तीव्रता दिएको छ । समितिले प्रतिवेदनमाथि आएका गुनासाका बारेमा विभिन्न व्यक्तिहरुसँगको अनौपचारिक छलफललाई तीव्र बनाएको समितिका संयोजक एमव् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए । समितिले मङ्गलबार र बुधबार विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गरेको थियो । मन्त्री पाण्डेले स्थानीय तह पुनःसंचना आयोगका अध्यक्ष, आयोगका सदस्य, मधेस केन्द्रित दलका नेतालगायतसँग प्रतिवेदनसँग सम्बन्धित गुनासाबारे अनौपचारिक छलफल गरेका छन् । त्यस्तै समितिले तीन दिन लगाएर २ नं प्रदेशका आठ जिल्लाबाट प्रतिनिधित्व सांसदलाई मन्त्रालयमा बोलाएरै छलफल गर्ने भएको छ । समितिले आगामी फागुन १, २ र ३ गते २ नं प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रत्यक्ष निर्वाचित, समानुपातिक, स्वतन्त्र एवम् मनोनित सांसद्सँग छलफल गर्नेछ । समितिले फागुन १ गते अपराह्न ४ देखि साँझ ६ बजेसम्म सप्तरी जिल्लाका सांसद्सँग छलफल गर्ने भएको छ । त्यस्तै समितिले फागुन २ गते बिहान ८ देखि १० बजेसम्म सिराहा, अपराह्न २ देखि ४ बजेसम्म धनुषा र ४ः३० देखि साँझ ६ः३० बजेसम्म महोत्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्ने भएको छ । यसैगरी समितिले फागुन ३ गते बिहान ९ देखि ११ बजेसम्म सर्लाही, मध्याह्न १२ देखि २ बजेसम्म पर्सा, अपराह्न २ः३० देखि ४ बजेसम्म बारा र अपराह्न ४ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्ने जनाएको छ । स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगले प्रतिवेदन तयार गर्नुअघि पनि २ नं प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको थियो । आयोगले पुनःसंरचनासम्बन्धी काममा सहयोग पुगोस् भनेर प्रत्येक जिल्लामा स्थानीय विकास अधिकारी संयोजक रहेको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिमार्फत जिल्लास्तरमा गरिने पुनःसंरचनाका प्रारम्भिक खाका आयोगमा पठाउन लगाएको थियो । दुई नं प्रदेशबाहेकका जिल्लाले प्राविधिक सहयोग समितिमार्फत स्थानीयस्तरमा क्रियाशील राजनीतिक दल, विषयविज्ञ, स्थानीय बुद्धिजिवी तथा समुदाय, स्थानीय निकायका सङ्घ–महासङ्घहरुसँग आवश्यकताअनुसार छलफल गरी प्रारम्भिक खाका सिफारिस गरे पनि मुख्यतः २ नं प्रदेशमा प्राविधिक समितिले आफ्नो काम गर्न सकेको थिएन । दुई नं प्रदेशमा क्रियाशील मधेस केन्द्रित दलका प्रतिनिधिले प्राविधिक सहयोग समितिलाई सहयोग नगर्दा स्थानीयस्तरमा पुनःसंरचनासम्बन्धी छलफल हुन सकेको थिएन । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण आयोगले गत पुस २२ गते ७१९ स्थानीय तहसहितको प्रतिवेदन स्थानीय विकासमन्त्री पाण्डेमार्फत सरकारलाई बुझाएको थियो । स्थानीय विकास मन्त्रालयले यही माघ १३ गते स्थानीय तहसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव दर्ता गराएको थियो । यही माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगले पेस गरेको प्रतिवेदनबारे प्राप्त गुनासाको अध्ययन गरी सुझाव दिन सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री पाण्डेको संयोजकत्वमा उद्योगमन्त्री नवीन्द्रराज जोशी र आपूर्तिमन्त्री दीपक बोहोरा सदस्य रहेको एक समिति गठन गरेको थियो । समितिलाई प्रतिवेदनबारे प्राप्त गुनासाको अध्ययन गरी सुझाव पेस गर्न १५ दिनको समयसीमा दिइएको छ ।

चितवनको विकासमा प्रचण्डः रङ्गशालाका लागि ५० करोडदेखि शक्तिखोरमा औद्योगिक क्षेत्र

चितवन, माघ २६ । बुधबार चितवनको विकासमा प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण घोषणा गरे । प्रधानमन्त्रीको गृह जिल्ला समेत रहेको चितवनलाई औद्यौगिक र पर्यटकीय नगरीका रुपमा विकास गर्न तथा खानेपानी, बाटो, स्कूल, खेलकूदलगायतका क्षेत्रमा प्रधानमन्त्रीको घोषणाले ठूलो स्वागत समेत पायो । प्रधानमन्त्रीले रङ्गशाला निर्माणका लागि ५० करोड विनियोजन गर्ने जानकारी कार्यक्रममा दिए । योसँगै शक्तिखोरमा औद्यौगिक क्षेत्र स्थापना गर्ने, बिभिन्न सडकहरुको स्तरोन्नती, एकीकृत ढल आयोजना, नदी कटान, खेल मैदान, अस्पतालको स्तरोन्नतीलगायतका क्षेत्रमा सरकारले थप बजेट निकासा गरेको र केही योजनाहरु प्रक्रियामा रहेको उनले जानकारी दिए । यी हुन् प्रधानमन्त्रीले घोषणा गरेका योजनाहरु ? कार्यान्वयनमा रहेका योजनाहरु १. पटिहानीबाट सीतामाई हुंदै केसरबाघसम्मको १० किलोमिटरमा जंगल किनारामा जंगली जनावरबाट सुरक्षाका लागि फाउण्डेसन सहित कोम मेस जाली लगाउने कार्यका लागि थप रु. १ करोड ७० लाख बजेट व्यवस्था गरि काम सुरुवात भइसकेको छ । २. बीरेन्द्र क्याम्पस पछाडि एकीकृत ढल आयोजनाको लागि थप रु. ५० लाख बजेट व्यवस्था गरि काम भइरहेको छ । ३. बाल मन्दिर सडक निर्माण र सोलारको लागि रु.५० लाख थप रकम व्यवस्था गरी हाल सो काम अगाडि बढिरहेको छ । ४. यसै गरी पटिहानी धनौजी चोकबाट सितामाई जाने सडक निर्माणको लागि थप ४५ लाख ठिमुवा देवघाट रामनगर धार्मिक पर्यटन मार्ग निर्माणका लागि रु. ४० लाख थप रकम व्यवस्था गरी हाल कार्य भइरहेको छ । ५.नारायणी नदी तटबन्धन गरी चक्रपथसहितको सडक निर्माणका लागि रु. ५० लाख थप बजेट व्यवस्था गरी कामलाई अगाडि बढाइएको छ । ६. भरतपुर उपमहानगरपालिकाको जग्गामा सिटी हल निर्माणको लागि रु.४० लाख थप बजेट व्यवस्था गरिएको छ । ७. ल्याण्डफिल साइट निर्माणको लागि रु. ५० लाख थप बजेट व्यवस्था गरिएको छ । ८. भरतपुर वडा नं. ४ मा अण्डरग्राउण्ड पार्किङसहित बहुतले सब्जीमण्डी निर्माणको लागि रु. ५० लाख थप बजेट व्यवस्था भइसकेको छ । नयाँ योजनाहरुः १. टाउन जगतपुर हुंदै राप्ती पुल हुलाकी सडक कालोपत्रे गर्ने कार्यको लागि १ करोड ९९ लाख, चनौटे हुँदै गोलाघाट सडक कालोपत्रे गर्नको लागि रु. १ करोड ५० लाख व्यवस्था भइसकेको छ । २. यस्तै मंगलपुर शिवनगर सडकको स्तरोन्नतिको लागि रु. १ करोड ८० लाख, शुक्रनगर हुँदै मेघौली जाने सडक कालोपत्रे गर्ने कार्यको लागि रु. १ करोड ९९ लाख र गीतानगर बजारबाट शिवनगरबरको बोट हुँदै चनौली सम्मको सडकको लागि रु. १ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ । ३. माडी खैरहनी र शितलपुर माडीमा एकता स्तम्भ निर्माणका लागि रु.५०/५० लाख, भरतपुरमा यातायात सेवा केन्द्रको लागि रु. १ करोड ९९ लाख रकम व्यवस्था गरिएको छ । ४. यसैगरी भरतपुर गोद्राङ देवनगर, सीतामाई हुंदै पटिहानी बजारसम्मको सडक कालोपत्रे गर्नको लागि रु. १ करोड, नारायणगढ पुल्चोक, शिवघाट, विजयनगर, सीमरी टाउन साझापुर हुंदै गोलाघाटसम्मको पीच बाटो निर्माणको लागि रु. १ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ । ५. जगतपुर कसराचोक धु्रवघाट शुक्रनगर हुंदै पर्साढाप सम्मको सडक स्तरोन्नतिको लागि रु. १ करोड, हुग्दी हात्तिवाङ सिराइचुली टाडीसम्मको पर्यटकीय सडकका लागि रु.१ करोड ५० लाख, भरतपुर विशालचोक भोजार्ड लंकालाइन खालेसिमल पिठूवा चैनपुर बीरेन्द्रनगर भण्डारा बैकल्पिक हाइवे निर्माणका लागि १ करोड ८० लाख, पार्वतीपुर बजार विजयचोकबाट दक्षिण मधुपुरी बजार हुंदै कसराचोक सम्मको कालोपत्रेका लागि १ करोड ५० लाख व्यवस्था गरिएको छ । ६. मंगलपुर देखि दक्षिण फूलवारी राधापुर मन्दिरसम्म कालोपत्रेका लागि रु. १ करोड, सुन्दरबस्ती चोकबाट पूर्व बरौजी चोक हुंदै उज्जलनगर जंगल सम्मको सडक कालोपत्रेको लागि रु. १ करोड ५० लाख, भरतपुर न.पा. त्रिचोकदेखि धर्मचोक लंकुसम्म सडक कालोपत्रैका लागि रु. ८० लाख, भरतपुर न.पा. बनदेवि मन्दिर बरण्डाभार देखि काँडाघारीचोक सम्मकोे सडक कालोपत्रेका लागि रु. ८० लाख र भ.न.पा. २५ सुइदार चोकदेखि सुन्दरबस्ती चोक हुँदै पकौडीसम्मको सडक कालोपत्रैका लागि रु.१ करोड ५० लाख व्यवस्था गरिएको छ । ७. नारायणी उच्च मा.वि. भरतपुर १० पूर्वाधार विकासका लागि ८० लाख र सर्वशान्ति उच्च मा.वि. दाह्रचोक चितवन भवन तथा खानेपानीका लागि रु ९० लाख व्यवस्था गरिएको छ । प्रक्रियामा रहेका आगामी केही दिनभित्र निर्णय हुने विषयहरुः १. भरतपुर नगरपालिका वडा नं–१ ठिमुरामा रंगशाला निर्माणका लागि रु. ५० करोड बजेट व्यवस्था गरी तत्काल काम अगाडी बढाइने जानकारी गराउँछु । २. भरतपुर र पर्सामा ४/४ करोडको लगानीमा कवर्डहल निर्माण गरिने जानकारी गराउँछु । ३. यसैगरी चितवन जिल्लाका पाँचवटै निर्माण क्षेत्रमा खेल मैदान निर्माणका लागि ५०÷५० लाख बजेट व्यवस्था गरिने समेत यसै अवसरमा जानकारी गराउँछु । ४. भरतपुर अस्पताललाई स्तरोन्नति गरी केन्द्रीय अस्पताल बनाइने र यसै वर्षदेखि स्नातक र स्नातोकोत्तर तहको पढाई शुरु गर्ने गरी तयारी भइरहेको जानकारी गराउँछु । ५. विशेष आर्थिक क्षेत्र विकास समितिअन्तर्गत चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । ६. भरतपुरमा घरेलु तथा साना उद्योग कार्यालयको कम्पाउण्डभित्र प्रदर्शनी कक्ष स्थापना गर्न बजेट तथा कार्यक्रम व्यवस्था गर्ने गरी प्रक्रिया सुरुवात भइसकेको छ ।