देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल

काठमाडौँ ।नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अङ्गीकार गरेसँगै अब  लगानी बढ्दै जाने विश्वास व्यक्त गरेका छन्।

मुलुकमा लगानी वातावरण सुधारका लागि सरकारले चालेका कदमबाट निजी क्षेत्र उत्साही बन्दै गएको उनले बताए । भोलिदेखि आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई  नतिजामुखी बनाउन भइरहेका आन्तरिक प्रयास एवं गृहकार्य र सम्मेलनमार्फत विदेशी लगानीकर्तालाई नेपालले दिन चाहेको सन्देशबारे  कुरा गर्दै परिसङ्घ अध्यक्ष अग्रवालले लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यका रुपमा पहिचान भएको बताए । तेस्रो लगानी सम्मेलनको सहआयोजकसमेत रहेको निजी क्षेत्र अहिलेको वातावरणबाट उत्साही भएको र लगानीका लागि तयार रहेको उनले बताए ।

“हामी अब लगानीका लागि तयार छौँ । सम्भाव्य क्षेत्रहरु पहिचान भइसकेका छन् । सरकारले ऐन, नियम संशोधन गरेर सहजीकरण गरेको छ”, अध्यक्ष अग्रवालले भने, “नीतिगत, प्रक्रियागत र संरचनागत सुधारका लागि थप आवश्यकता देखिए त्यसका लागि सरकार तयार देखिन्छ । निजी क्षेत्र पनि सहयोग गर्न तत्पर छ ।”
     
यो लगानी सम्मेलनमार्फत यहाँका सम्भावना देखाउने र लगानीकर्तालाई लगानीका लागि विश्वस्त तुल्याउन सक्नेमा नेपाल सफल हुने आशा पनि उनले व्यक्त गरे । पछिल्लो समय विश्वव्यापी रुपमा देखिएको आर्थिकमन्दीको केही असर नेपालमा पनि देखिएको र अर्थतन्त्र केही शिथिल भए पनि अब चाँडै लयमा फर्किने गरी आधार तयार हुँदै गएको अग्रवालले बताए।
     
“केही आर्थिक शिथिलताका कारण मुलुकको अर्थतन्त्र केही तनावमा छ तर आर्थिक शिथिलता सधैँभरि रहने होइन । निश्चित समयपछि अवश्य सुधार हुने नै छ”, उनले भने, “लगानी गर्ने र प्रतिफल हासिल गर्ने विषय पनि लामो प्रक्रिया हो । अहिले लगानी गरेपछि भोलि नै प्रतिफल आइहाल्ने होइन । त्यसका लागि समय लाग्छ । यसकारण अहिले लगानी गरेर प्रतिफल लिने बेलासम्ममा मुलुकको अर्थतन्त्रले सकारात्मक गति लिइसक्नेछ ।”
     
लगानी वातावरण निर्माणका लागि सरकारले चालेका कदमबाट नेपालको निजी क्षेत्र उत्साही बन्दै गएको र लगानीका लागि आत्मविश्वास पलाउँदै गएको उनले बताए । अध्यक्ष अग्रवालले विदेशी लगानीकर्तामाझ  यो सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक भएको उनले बताए । यो लगानी सम्मेलनबाट नेपालको वास्तविक अवस्था अन्तर्राष्ट्रिय लगानीकर्तासम्म पुग्ने र त्यसले मुलुकको प्रचार मात्र नभई विदेशी लगानीसमेत बढ्ने उनको बुझाई छ ।
     
“नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ भनेर हामीहरुलाई विश्वास बढ्दै गएको छ । यद्यपि, यो सुरुआत मात्रै हो । प्रारम्भिक चरणका प्रक्रिया पूरा गरेर लगानी आउने बेलासम्ममा अर्थतन्त्र अझ सुधार भइसक्छ भनेर हामी अघि बढ्नुपर्छ”, अध्यक्ष अग्रवालले भने “हामीलाई विश्वास छ, हामीले राम्रो गरिरहेका छौँ । सम्मेलनले देशको पनि प्रचार हुन्छ ।”

लगानीकर्ताले नेपालमा गर्ने लगानी प्रतिबद्धता र त्यसको वास्तविक प्राप्तिमा केही असन्तुलन देखिएको उल्लेख गर्दै उनले यो समस्यालाई मिहीन ढङ्गले विश्लेषण गरेर समाधान खोजिनुपर्ने बताए । सरकारका केही कमजोरी कारण प्रतिबद्धता र प्राप्तिमा असन्तुलन देखिएको पनि उनको बुझाइ छ ।
     
“प्रतिबद्धताअनुसारका प्राप्ति किन भएनन् भनेर हामी आफैँले खोजनीति गर्नुपर्छ । लगानीकर्ताले चासो देखाएपछि त्यसको नियमित ‘फलोअप’ गर्न सक्नुपथ्र्यो । सम्झौता गरेको लामो समयसम्म पनि लगानी आएन भने किन आएन भनेर हामी आफैँले सोधीखोजी गर्नुपर्छ । त्यसमा हाम्रो कमजोरी छ”, परिसङ्घ अध्यक्ष अग्रवालले भने, “लगानीकर्तालाई कहाँनेर कस्तो अप्ठेरो परेका कारण उ आउन चाहेन भनेर खोजनीति गर्न सक्नुपथ्र्यो । कानुनी वा प्रक्रियागत जटिलता भए त्यसलाई फुकाउन सक्नुपथ्र्यो ।”
     
लगानीकर्तासँग निरन्तर सम्पर्कमा रहने, लगानी भित्र्याउन कानुनी, प्रक्रियागत र प्रशासनिक रुपमा सहजीकरण गर्ने जिम्मेवारी सरकार र मातहतका विभिन्न निकायको रहेको उनी बताउछन् । लगानीकर्तालाई के कुरामा चित्त नबुझेका कारण उसले लगानी गर्न चाहिरहेको छैन भन्ने पहिचान गर्नु पनि सरकारी संयन्त्रको जिम्मेवारीभित्र पर्ने धारणा अग्रवालले राखे । “कुनै विभाग वा मन्त्रालयमा फाइल अड्किएको छ भने त्यसलाई अघि बढाउन निरन्तर ‘फलोअप’ चाहिन्छ । लगानी भित्र्याउन पर्याप्त सहजीकरण गर्ने जिम्मेवारी हाम्रै निकायको हो”, उनले भने ।
     
लगानी भित्र्याउने विषय तत्काल नतिजा देखिनेभन्दा पनि दीर्घकालमा प्रतिफल दिने भएकाले यसको सम्पूर्ण प्रक्रिया र प्राप्तिका चरणबारे बुझ्न आवश्यक रहेको अग्रवालले बताए । “प्रतिबद्धता आउनासाथ तत्कालै लगानी प्राप्ति भइहाल्ने होइन । वास्तविक लगानी आउनका लागि समय लाग्छ”, उनले भने, “प्रतिबद्धताअनुसारको रकम एकैपटक आउने पनि होइन । प्रारम्भिक चरणमा केही  रकम आउला, परियोजना निर्माणको चरणमा केही बढी रकम प्राप्त होला । यसकारण तत्कालको प्राप्तिभन्दा पनि दीर्घकालको नतिजा महत्वपूर्ण हो ।”

लगानी सम्मेलनका क्रममा सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रबाट प्रवद्र्धित आयोजना, निजी क्षेत्रका व्यवसायी–व्यवसायी ९बिटुबी० बीच सहकार्य गर्नेलगायत विभिन्न अवधारणामा लगानी सहकार्य खोजिने उनको भनाइ छ । नेपालमा लगानीका लागि प्राथमिकताका क्षेत्र पहिचान भएका र क्षेत्रगत रुपमा विस्तृत विवरण नै बनेका कारण लगानीकर्तालाई जानकारी लिन सहज हुने विश्वास पनि उनले व्यक्त गरे। नेपालमा जलजिद्युत्, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधिलगायत लगानीका मुख्य क्षेत्र पहिचान भएका छन् भने सरकारले पनि यी क्षेत्रलाई प्राथमिकतामा राखेको छ । 

शिक्षा, स्वास्थ्य, यातायात तथा सहरी पूर्वाधारका क्षेत्रमा पनि उत्तिकै सम्भावना छन् । लगानी सम्मेलनमा विभिन्न क्षेत्रका एक सय ५० वटा आयोजना प्रस्तुत गर्ने निर्णय भएको छ ।रासस

राष्ट्रिय संयुक्त संघर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति, अनसन स्थगन

काठमाडौं । 'स्वदेशमै काम गरेर खान दे' भन्दै विभिन्न १८ वटा माग राखेर केहि साता अगाडिदेखि कलंकीमा आमरणमा रहेको राष्ट्रिय संयुक्त संघर्ष समिति र नेपाल सरकारबीच पाँच बुँदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष निर्देशनमा प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जि.सी.को सक्रियतामा केहिदिन देखि भएको छलफल आज निष्कर्षमा पुगेको हो । सहमति पश्चात नेपाल सरकार र संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गरेको छ । नेपाल सरकारको तर्फबाट वार्ता टोलीका संयोजक डा.किरण रुपाखेती, संयुक्त संघर्ष समितिका वार्ता संयोजक डा. लक्ष्मीप्रसाद खतिवडा र राष्ट्रिय संयुक्त संघर्ष समितिका संयोजक चन्द्रबहादुर थापाद्धारा संयुक्त रुपमा हस्ताक्षर सहमति पत्रमा कलंकीमा आमरण अनशनमा रहेका आन्दोलनकर्मीहरूले आजैका मितिबाट अनशन लगायतका कार्यक्रमहरू स्थगन गर्ने लगायतका विषय समेटिएको छ । संयुक्त संघर्ष समितिका तर्फबाट राखिएका मागहरूलाई नेपाल सरकारका तर्फबाट गम्भीर रुपमा लिई अधिकांश मागहरू नेपाल सरकारकोआ.व.२०८१/०८२ को नीति तथा कार्यक्रममा समावेश गरिसकिएको सहमति पत्रमा उल्लेख छ । संघर्ष समितिका मागहरूलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा समाधान गर्ने गरी कार्ययोजना बनाउन सरकार र राष्ट्रिय संयुक्त संघर्ष समितिको तर्फबाट समेत सहभागी रहने गरी कार्यदल गठन गर्ने निर्णय गरिएको बताइएको छ । यस्ता छन् सहमतिका पाँच बुँदा  १.चन्द्र बहादुर थापा (सागर)को नेतृत्वमा रहेको समितिले काठमाडौको कलंकीमा जारी राखेको थापा सहितको ९ जनाको आमरण अनसन र मागहरुप्रति नेपाल सरकार संवेदनशील रहेको छ। समितिले राखेका मागहरू उद्योग व्यवसाय, जनजीविका, सुशासन, धार्मिर सांस्कृतिक र शासकीय प्रणाली रुपान्तरणसँग सम्बन्धित रहेको र विद्यमान कानूनी प्रवन्धवाट तत्काल समाधान गर्न सकिने विषयहरू तत्काल सम्बोधन गर्ने। २.समितिले प्रस्तुत गरेका मागहरूको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयसहित नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा निकायहरुका तर्फबाट ५ जना र संघर्ष समितिको तर्फबाट ५ जना गरी १० जनाको अधिकारसम्पन्न कार्यदल बनाउने। कार्यदलले ९० दिनभित्र मागहरूको कार्यान्वयनका लागि समय तालिकासहितको कार्ययोजना तयार गर्ने र वार्ता समितिमार्फत नेपाल सरकारमा पेस गर्ने तथा सरकारले कार्ययोजना क्रमश, कार्यान्वयनमा लैजाने। ३.कार्यदलले राजनीतिक, धार्मिक, सांस्कृतिक तथा दीर्घकालीन रुपमा राष्ट्रिय राजनीतिक सहमति आवश्यक पर्ने विषयहरू यकिन गरी नेपाल सरकारसमक्ष सिफारिस गर्ने।  ४.नेपाल सरकारबाट आ.व.२०८१/०८२ को नीति तथा कार्यक्रममा समावेश भएका १८ वटा मागसँग सम्बन्धित विषयहरू आगामी आ.व.२०८१/०८२ को बजेटबाट सम्बोधन गर्ने। ५.राष्ट्रिय संयुक्त संघर्ष समितिका तर्फवाट कलंकीमा आमरण अनशनमा रहनु भएका आन्दोलनकर्मीहरूले आजैका मितिबाट अनशन लगायतका कार्यक्रमहरू स्थगन गर्ने।  

बलम्बु प्रभाग गोली प्रकरण : डीएसपी गंगा पौडेलको नेतृत्वमा छानविन समिति गठन

काठमाडौं । प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर तानेर छानविन गरिएको छ ।  आइतबार साँझ कार्यालयभित्रै उनले नै बोकेको पेस्तोलबाट गोली चलेको प्रकरणबारे परिसरमा नै तानेर छानविन गरिएको हो ।  परिसर प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा पौडेल नेतृत्वको समितिले घटनाबारे छानविन थालेको हो । समितिमा पौडेलसहित अन्य दुईजना सदस्य छन् ।  ड्युटी सकेर कार्यालय फर्किएका श्रेष्ठले पेस्तोल परीक्षण गर्दा एक राउन्ड गोली फायर भएको थियो । भुँइमा लागेको गोली उछिट्टिएर इन्स्पेक्टर श्रेष्ठकै बडिगार्ड र एक सेवाग्राहीको खुट्टामा लागेको थियो । घाइते सेवाग्राही आइतबार नै डिस्चार्ज भइसकेका छन् । बडिगार्डको भने चन्द्रागिरिकै मिड प्वाइन्ट अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था पनि सामान्य रहेको  प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।

राष्ट्रपतिद्धारा तीन प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२)बमोजिम राष्ट्रपति पौडेलले बुधबार वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका हुन् । जसअनुसार वाग्मतीको प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णालीको प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त भएका छन् । राष्ट्रपतिले आजै वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेका छन् ।

पूर्वाग्रह राखि गरिएका अन्यापूर्ण सरूवा सच्याउन माग

काठमाडौं । राजनीतिक पहुच नभएका कर्मचारीलाई ऐन, कानून विपरित पूर्वाग्रह राखि अन्यायपूर्ण ढंगले सरुवा नगन नेपाल राष्ट्रिय कर्मचारी संगठनले आग्रह गरेको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले शुक्रबार (आज) संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलालाई ज्ञापनपत्र पेश गर्दै सो आग्रह गरेका हुन् । सरकारको नेतृत्व परिवर्तन हुने बित्तिकै विगत एक साता देखि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका निकायहरुवाट वैचारिक आस्थाको आधारमा निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० विपरित सेवा अवधि नपुगेका कर्मचारीको पूर्वााग्रह राखि सरुवा गर्ने कामले कर्मचारी तन्त्रमा नराम्रो असर गर्ने अध्यक्ष भट्टद्धारा प्रेतित ज्ञापनपत्रमा उल्लेख छ । साथै राजनीतिक पहुँच नभएका कर्मचारीलाई ऐन, कानून विपरित पूर्वाग्रह राखि अन्यायपूर्ण ढंगले गरिएका सरुवा सम्वन्धि काम कारवाही यथाशिघ्र सच्याउन  माग समेत गरेको छ । संघिय निजामती सेवा ऐन जारी हुन नसकिरहेको संक्रमणकालिन अवस्थामा स्थानीय तहको पहिलो ढोकामा वसेर सेवा प्रवाह गरिरहेका कर्मचारी दोहोरो सहमती साथ प्रकृया पुर्याई दिएका हजारौं सरुवा निवेदनहरू यथास्थितिमा रहेकोले यथाशिघ्र सरुवा सम्बन्धी मापदण्ड बनाई उक्त निवेदनमा माग बमोजिम सरुवा व्यवस्थापन गर्न समेत संगठनले माग गरेको छ । यस्तो छ ज्ञापनपत्र

५ हजार घुस प्रकरण : मन्त्री र प्रधानमन्त्रीसँग जवाफ माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले एउटा पूर्वमन्त्री र बहालवाला सांसदले सर्टिफिकेट प्रमाणित गर्न ५ हजार रुपैयाँ घुस दिनुपरेको विषयबारे सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले तीन दिनभित्र संसद्मा जवाफ दिनुपर्ने माग गरेका छन्।  मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले संसद्मा विषय उठेपछि जवाफका लागि सभामुखले रुलिङ गर्नुपर्नेमा नगरेको भन्दै यति संवेदनशील विषयमा संसद्ले नजरअन्दाज गर्न नमिल्ने बताए।  ‘एकजना मित्र, पूर्वमन्त्री र सांसदले पाँच हजार घुस प्रकरण अघि सार्नुभएको छ।उहाँले आफ्ना छोरोको प्रमाणपत्र प्रमाणित गर्नका लागि मैले स्वयं ५ हजार दिएँ र त्यसपछि मात्र काम भयो भनेर रोष्ट्रमबाट भन्नुभयो’, उनले भने, ‘यस विषयमा सभामुखबाट रुलिङ हुनेछ भन्नेमा आशारत थिएँ, तर हुन सकेन।’ सांसद केसीले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नँ’ भनेको स्मरण गर्दै पाँच हजार घुस दिएको कुरा के हो ? भनेर प्रश्न गरे । ‘यो भ्रष्टाचार हो कि होइन? पाँच हजार घुस खाएको कुरा संवेदनशील हो यसलाई नजरअन्दाज गर्न मिल्दैन’, उनले भने, ‘आम जिज्ञासा छ कि एउटा मन्त्री र सांसदले घुस दिनुपर्ने हो भने सर्वसाधारण जनताको अवस्था के होला?’  उनले घुस काण्डमा हाउस स्तब्ध भएर बसेको भन्दै यसबारे तीन दिनभित्र सरकारले जवाफ दिनुपर्ने बताए।सोमबारको प्रतिनिधि सभा बैठकमा पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले केही दिन अघिमात्र छोराको प्रमाणपत्र प्रमाणित गर्न ५ हजार घुस दिनुपरेको बताएका थिए।

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ । आज समाजवादी मोर्चाको बैठक बस्दै छ । आज अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।  बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।  यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।

कांग्रेस–एमाले सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( अब बन्ने नेपाली कांग्रेस–नेकपा (एमाले)को सरकारमा सहभागी नहुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धनमा सामेल नहुने जानकारी दिए । “अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । सरकारमा जाँदैनौँ,” उनले भने । अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए । “अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वाभाविक रूपमा बाहिरिन्छौँ,” उनले भने । आफूहरूले गरिरहेको कामका कारण गठबन्धन परिवर्तन भएको उनले जिकिर गरे। पछिल्लो घटनाले राजनीतिक स्थायित्व नदिने उनको भनाइ छ ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार ८ गते शनिबार सन् २०२४ जुन २२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर सामान्य अंकमा घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए । २८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेको झाले जानकारी दिए

यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख २३ गते आइतबार सन् २०२४ मे ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २१ पैसा र बिक्री दर १६७ रुपैयाँ ९७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

वासिङ्टन, डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ। अमेरिकी नागरिक सुसन व्राडफोर्डले संकलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो।  दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइमार्गबाट नेपाल पठाइएको हो। तेह्रौँ, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ। ती मूर्तिकला धातु, काठ, ढुंगा र हड्डीबाट बनेका हुन् । “हामीहरूले नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्वका वस्तुहरूलाई खोजीनीति गरेर नेपाल फिर्ता पठाउन पहल गरिरहेका छौँ, यसपटक भने अमेरिकी नागरिक सुसनले आफैँ हामीलाई सम्पर्क गरेर यो प्रक्रिया पूरा भएको छ”, दूतावासका द्वितीय सचिव उत्तम घिमिरेले भने। ती मूर्ति हराएका स्थानमा प्रतिस्थापन गरिने पुरातत्व विभागले तयारी गरेको उनले बताए।  नेपाल–अमेरिका समन्वयमा हवाइ मार्गबाट पठाइएका मूर्तिहरूमा ढलोटको कालाकुवेर मूर्ति, विश्वरुपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको विघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको  बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन् । यसैगरी अरु मूर्तिहरूमा प्रस्तरको मञ्जुश्री शक्ति, प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, र कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल छन्। दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ। रासस

जीबी राईको हत्या भैसक्यो भनेपछि पक्राउ परे डिल्लीराम खनाल

काठमाडौं । सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । जथाभाबी अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा मंगलबार पक्राउ परेका खनाललाई प्रहरीले आज सार्वजनिक गरेको हो । झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय खनाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनालले जीबी राईको हत्या भएको र हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको अभिव्यक्ति दिएका थिए । उनलाई काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएका लामा पक्राउ परेका हुन् ।  अदालतको फैसलापछि उनी फरार थिए ।  तत्कालीन पुनरावेदन अदालत पाटनले लामालाई २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो ।  अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए। लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर लामा कैद भुक्तान नभएर ‘फरार सूची’ मा थिए।  लामालाई एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले ‘सी’ डिभिजन क्बल संयोजक बनाएर भित्र्याएका थिए। उनी एन्फा छिर्नु ८ वर्षअघिबाटै फरार सूचीमा थिए । लामालाई २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।  सर्लाही घर भएका लामा काठमाडौँ बस्दै आएका थिए । 

उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव र वन मन्त्री साहले लिए शपथ, यस्तो छ वरीयताक्रम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा सहभागी भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन्। नवनियुक्त मन्त्री यादवलाई शितल निवासमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका छन्। साथै जसपा सांसद नवलकिशोर साह वन मन्त्री बनेका छन्। उनले पनि राष्ट्रपति पौडेलबाट शपथ लिइसकेका छन्। यादव बारा क्षेत्र नम्बर २ र साह सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।यससँगै सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सामेल छन्। उनीहरू मन्त्री बनेसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । सरकारमा चार उपप्रधानमन्त्री छन् । पूर्वउपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका यादव अहिले पाँचौँ वरीयताक्रममा छन् । मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा नेकपा (एमाले)का सचिव समेत रहेका रघुवीर महासेठ छन् । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुन् । तेस्रो वरीयतामा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छन् । चौथो वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने छन् । मन्त्रिपरिषद्को वरीयताक्रम हेर्नोस्  

यसरी ‘लुकामारी’ खेल्छन् ढेडु बाँदर

धादिङ । जिल्लाको सिद्धलेक गाउँपालिकाको कुम्पुर क्षेत्रमा रहेको कालोमुख भएको बाँदर मानिस देख्ने बित्तिकै यसरी लुक्छन् । वन विनाश र डडेलोका कारण यो प्रजाति लोप हुने अवस्थामा छ । तस्वीरः रासस