आजबाट कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द हुने

काठमाडौं । आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । विजया दशमीको अवसरका लागि आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने विज्ञप्तिमार्फत जनाइएको छ ।

घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिएर सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माण गर्न लागिएको १४० मेगावाटजडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोल्ने काम) भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइसचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रूपमा स्वीच थिचेर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक ब्रु’ भएको हो। आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार ४९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिनेछ। मुख्य सुरुङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिने प्राधिकरणले जनाएको छ। सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित कार्यक्रममा सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको भन्दै मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे। “कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोसी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ।आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,” उनले भने । सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दैप्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुमापर्ने बताए। उनले आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिएको १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माण कार्य छिट्टै अगाडि बढाइने बताए । मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत छ । समग्र निर्माण ०८३ असारभित्र (सन् २०२६ मे) सकाउने लक्ष्य राखिएको छ।

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

अखिल क्रान्तिकारी सुदूरपश्चिमको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सुदुरपश्चिम प्रदेश अध्यक्षमा वीरबहादुर थापा निर्वाचित हुनुभएको छ ।  उहाँ १३१ मतसहित विजयी हुनुभएको हो भने प्रतिष्पर्धी विरेन्द्रराज बिष्टले ११५ मत प्राप्त गर्नुभएको छ । खुला उपाध्यक्षमा तिलक माल (१८५), कैलाशचन्द्र गिरी (१५७) र जीवन बिसी (१३८) बिजयी हुनुभएको छ भने समावेशी उपाध्यक्षमा राजेन्द्र कोली १०४ मतका साथ विजयी हुनुभएको छ । छात्रा उपाध्यक्षमा लक्ष्मी चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । प्रमुख सचिवमा देबीजङबहादुर सिंह १२८ मतसहित विजयी हुनुभएको छ भने शिवराज सञ्ज्यालले १०७ मत प्राप्त गर्नुभएको छ । सचिवमा प्रकाश आचार्य (१३१), मनोज पुन (१२३), रोहित जोशी (९८) र कमलबहादुर थापा (९१) निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा सुन्दर गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।  

बंगलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौँ । बंगलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।सोमबार मात्र १२६ जना विद्यार्थी स्वदेश फर्किएका छन् । त्यसमध्ये ११४ जना विद्यार्थीहरु बंगलादेश, भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी छ । सो आन्दोलनका क्रममा १ सय जनाभन्दा बढीको ज्यान गएको छ । 

यी हुन् मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको जेनेभा भ्रमण स्वीकृत गर्नेसहित विभिन्न निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्विजरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको हो । बैठकले त्यसलगतै राष्ट्रपति पौडेलबाट हुने जर्मनी भ्रमण समेत स्वीकृत गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार बैठकले नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ठ श्रेणी पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्याधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिस्टार पदमा पदस्थापन गर्ने निर्णय गरेको पनि गरेको छ । बैठकले वन दोस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गरेको छ । यसैगरी, तिलगंगा आँखा विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको शर्माले बताइन् । २०८१ जेठ १७ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु १. नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा  खेमराज ज्ञवाली, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायवमहान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने । २. सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मिति २०८१ जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोपश्चात संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गर्ने । ३. वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने । ४. तिलगङ्गा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृत दिने ।

सहकारी ठगी प्रकरणमा रबिले सत्ताको दुरुपयोग गरे  : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।संसद बैठक चल्न नदिने कुरामा आफू नभई सरकार र यसको कामकारबाही जिम्मेवार रहेको महामन्त्री थापाको जिकिर थियो । शुक्रबार प्रतिनिधि सभा बैठकको शुभारम्भमा बोल्दै महामन्त्री थापाले कांग्रेसले लगाएको आरोप गलत सावित गर्न उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने आफूहरुको मागलाई इन्कार गरेर सरकार र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि आफूहरुलाई हेप्न खोजेको भन्दै आपत्ति पनि जनाए। उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी समेत गरे । उनले सरकार र सत्तारुढ दलहरुकै नेतृत्वमा छानविन समिति बनाउने भएकाले त्यसमा डराउनुपर्ने कुनै कारण नभएको पनि बताए। महामन्त्री थापाले सो प्रकरण ढाकछोपका लागि रबि लामिछानेले कहिले प्रधानमन्त्री त कहिले प्रहरीलाई बोल्न लगाएको आरोप लगाए । साथै उनले सो प्रक्ररणमा महान्यायाधिवक्ताको कार्यालयलाई समेत दुरुपयोग गरेको जिकिर गरे ।

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।  “निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।” यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए । नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ । “हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।” उहाँले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गर्नुभयो । “भर्खरै मात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्याहरू सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।” उनले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने सङ्केत गरेको बताए । 

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौँ।  आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरू सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य दिए । भने सम्मेलनको प्रतीक चिह्न (लोगो) प्रदर्शनी गरिएको छ । लगानी सम्मेलनसम्बन्धी भिडियो सन्देशसहितका सामग्री प्रदर्शनीमा राखिएको छ ।  उद्घाटन सत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निजी क्षेत्रका प्रतिनिधिले पनि मन्तव्य दिएका छन् ।  उद्घाटन सत्रकै क्रममा केही महत्त्वपूर्ण परियोजनाको सहमति पत्रमा हस्ताक्षर र लगानी घोषणा हुने कार्यक्रम रहेको छ । सम्मेलनको विषयगत छलफल सत्रका क्रममा ‘नेपालमा लगानीका अवसरहरू’, ‘नेपालमा लगानीका सफलताका कथा’, ‘आशयपत्रका लागि परियोजनाहरूको प्रस्तुति (सोकेसिङ)’ गर्ने कार्यक्रम छ ।  ‘नेपालमा लगानीका अवसरहरू’ विषयक सत्रमा अर्थमन्त्री वर्षमान पुन, पूर्व अर्थमन्त्री डा प्रकाशशरण महत, डा युवराज खतिवडा, पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपालका लागि संयुक्त राष्ट्र सङ्घीय कार्यालयका प्रतिनिधि हाना सिङ्गरलगायत वक्ता रहनेछन्।  ‘नेपालमा लगानीका सफलताका कथा’ विषयक सत्रमा मुख्यसचिव डा वैकुण्ठ अर्याल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणा, लगानी बोर्डका पूर्वकार्यकारी प्रमुख राधेश पन्तलगायत वक्ताले विचार व्यक्त गर्नेछन्।  सम्मेलन स्थलमा प्रधानमन्त्री दाहालसँग आमन्त्रित अतिथिले भेटवार्ता गर्न सक्नेछन् । यसैगरी आजको सत्रको अन्त्यमा प्रत्यक्ष वैदेशिक लगानी र सरकार–निजी साझेदारी परियोजनाको प्रदर्शनी रहनेछ । सम्मेलनको दोस्रो दिन अर्थमन्त्री पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नुहुनेछ भने पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल सत्र हुनेछ । सो सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायत वक्ता रहेका छन्।  ‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ‘यातायात पूर्वाधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोका सदस्य प्रा.डा.सङ्गीता सिंह, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा।डा। भोला थापा र प्राध्यापक डा सुरेशराज आचार्यलगायत वक्ता रहेका छन् ।  सम्मेलनमा समानान्तर बहस सत्र पनि सञ्चालन हुनेछन् । समापन सत्रमा सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलेसम्बोधन गनेछन् । भने समापन मन्तव्य अर्थमन्त्री पुनले दिने कार्यक्रम छ । रासस

हेर्नुहोस् आजको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत ११ गते आइतबार सन् २०२४ मार्च २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा र बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो आजको विदेशी मुद्राको विनिमय दर 

गजुरी दुर्घटनामा हताहतको प्रभावकारी उद्धार र उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशुली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुखी तुल्याएको बताएका छन् ।  प्रधानमन्त्रीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले सामाजिक सञ्जाल फेस्बुकमा एउटा स्टाटस लेख्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रशासन संयन्त्रलाई निर्देशिन समेत दिएका छन् । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खस्दा उक्त हताहत भएको हो ।  घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २०  जनाको टोली खटिएको छ ।   

सत्ता गठबन्धनको बैठक सोमबार बिहान ८ बजे  बस्दै

संक्रमणकालीन न्यायसम्बधी छलफल हुने

टीआरसी विधेयक अघि बढाउने शीर्ष नेताबीच सहमति

काठमाडौं । तीन शीर्ष नेताहरुबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक अघि बढाउने सहमति भएको छ। आज प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सो विधयेक अगाडि बढाउने सहमति भएको हो। आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छुट्टाछुट्टै गरेको छलफलमा सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। “कानुन समितिमा केही विषयमा उच्च तहका नेतासँग बस्ने र टुंग्याउने कुरा भएको थियो । यसमा पीडितमैत्री बनाउने र एमालेले उठाएको विषय समेटेर भाषा मिलाएर अघि बढाऔँ भन्ने सहमति भएको हो,” उनले भने, “सम्बोधन गनुपर्ने विषय समेटर अघि बढाउने सहमति भएको हो।” प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नुअघि नेताहरूबीच छलफल भएको हो। आचार्यका अनुसार, यस विषयमा शनिबार प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामछिानेसँग पनि छलफल गरेका थिए।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गर्नुभएको हो । कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको १५ लाख र आईएमई लाइफको १५ लाख गरी कुल ५ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ ।  बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरुको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताउनुभयो ।  चेक हस्तान्तरण कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यलगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता

काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गर्नुभएको छ । बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष प्रचण्डले दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभएको छ । आफूले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै उहाँले यससम्बन्धी विस्तृत जानकारी यातायात क्षेत्रबाट लिएर प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा समाधानका लागि पहल गर्न छलफल आयोजना गरेको जानकारी दिनुभयो । सो क्रममा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले यातायात क्षेत्रले संकट व्यहोर्नुपरेको, व्यावसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए । सरकारले पूरै शक्ति लगाएर तीन चार दिनभित्र पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको  बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए । यातायात क्षेत्रका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई उद्धार, राहत र पुनर्स्थापनाका गरेको अगुवाईको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारले नगरेको काम गरेको बताएका थिए । आफूहरुलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त उनीहरुले प्रधानमन्त्रीले आजसम्म चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका थिए । विपतले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण एजेण्डाको रुपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि उनीहरुले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राई लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।