परराष्ट्रमन्त्री राणाद्वारा राहदानी विभागको निरीक्षण

काठमाडौँ। परराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी विभागमा निरीक्षण गरेकी छिन् ।बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयमा निरीक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा परराष्ट्रमन्त्री राणाले राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे चासो राखेकी थिइन् ।

वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाडौं । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए । प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकले नीति कार्यक्रम बहुमतले पारित गरेको हो ।  नीति कार्यक्रम पारित भएपछि सभामुख देवराज घिमिरेले दुवै सदनको संयुक्त बैठक यही जेठ १५ गते दिउँसो १ बजेका लागि आह्वान गरेको जानकारी दिए ।

संसदको आवश्यकता सम्बोधन हुनेगरी बजेटको व्यवस्था हुन्छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा संघीय संसद सचिवालयलाई प्राथमिकता दिने बताएका छन् ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले बुधवार सिंहदरबारमा आयोजना गरेको बजेटसम्बन्धि छलफलमा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । बैठकमा सभामुख घिमिरेले संघीय संसद सचिवालयको कामकारबाहीलाई प्रभावकारी बनाउन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।  त्यसको जवाफमा अर्थमन्त्री पुनले संघीय संसद सचिवालयको आवश्यकतालाई सम्बोधन हुने गरी प्राथमिकताका साथ आगामी आर्थिक वर्षको बजेट आउने प्रतिवद्धता व्यक्त गरेको बैठकमा सहभागी प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए। सो असरमा संघीय संसद सचिवालयका अधिकारीहरुले सवारी साधन समेत काम नलाग्ने अवस्थामा पुगेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा नयाँ सवारी साधन खरिद हुनेगरी बजेटको व्यवस्था गर्न पनि अर्थमन्त्री पुनसँग अनुरोध गरेका थिए । सभापति खानले संसदीय समितिका सांसदहरु र कर्मचारीहरुले संघीय संसद सचिवालयको कामलाई प्रभावकारी हुनेगरी बजेटको व्यवस्था गर्न अर्थमन्त्री पुनको ध्यानाकर्षण गराएको बताए । छलफलमा प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, अर्थसचिव मधुकुमार मरासिनीलगायतका उपस्थिति रहेको थियो ।

माओवादीले दिएको समर्थन फिर्ता, मधेस सरकार अल्पमतमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार मधेस सरकारमा सहभागी माओवादीका मन्त्रीहरूले राजीनामा बुझाएपछि पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।यससँगै मधेस सरकार अल्पमतमा परेको छ । मधेस प्रदेशसभाका १०७ सदस्यहरूमध्ये सरकार बनाउन ५४ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । पछिल्लोपटक ६१ प्रदेशसभा सदस्यहरूको विश्वासको मत पाएका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो । प्रदेशसभामा माओवादी केन्द्रका ९ प्रदेशसभा सदस्य छन् । आइतबार मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री यादवलाई भेटेर राजीनामा बुझाएका थिए। साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न अस्वीकार गर्दै आएका थिए । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए।

राम्रा नीतिको निरन्तरताले मुलुकमा लगानीको वातावरण बन्छ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको निरन्तरताले मुलुकमा लगानीको वातावरण बनाउन र लगानीकर्तालाई प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने बताएका छन् । तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा सोमबार आयोजित विभिन्न सञ्चार माध्यमका प्रधानसम्पादक तथा सम्पादकहरुसँगको छलफलमा अर्थमन्त्री पुनले सरकार परिवर्तन भएपनि सरकारी नीतिहरुले निरन्तरता पाउने र लगानीकर्तालाई लगानीको प्रतिफल लैजान समस्या नहुने बताए। उनले घरेलु राजनीतिक परिवर्तनले स्वदेशी तथा विदेशी लगानीसम्बन्धी नीतिमा फेरबदल नहुने स्पष्ट पारे। “सरकार चाँडो परिवर्तन भइरहँदा लगानीसम्बन्धी नीतिहरुमा कस्तो प्रभाव पर्छ भनेर लगानीकर्ताले चासो राख्ने गर्नुभएको छ । सरकार परिवर्तन हुँदा पनि हाम्रा नीतिहरु परिवर्तन हुँदैनन् र घरेलु समस्याले लगानीकर्तालाई अप्ठ्यारो पार्दैन”, पुनले भने, “पुँजीको विशेषता भनेको लगानीको वातावरण र प्रतिफल प्राप्ति हो । कुनै वाद वा व्यवस्थासँग लगानीकर्ताको मतलब हुँदैन । लगानीकर्ताले वातावरण छ वा छैन भनेर हेर्ने हो । नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ ।” लगानी प्रतिबद्धताअनुसार उपलब्धि कम देखिए पनि सरकारले पछिल्लो समय विभिन्न कानुनी, प्रक्रियागत तथा संरचनागत सुधार गरेकाले आन्तरिक र वैदेशिक लगानी बढ्ने उनको भनाइ छ । पहिलो र दोस्रो लगानी सम्मेलनबाट प्राप्त उपलब्धि तथा सिकाईले तेस्रो लगानी सम्मेलनलाई थप परिस्कृत बनाएको अर्थमन्त्री पुनले बताए। भारतमा पनि लगानी प्रतिवद्धताको तुलनामा प्राप्ति करिब ३० प्रतिशत हाराहारी रहेको उल्लेख गर्दै उनले नेपालको अवस्था यो भन्दा राम्रो रहेको बताए। नेपालमा लगानीमैत्री वातावरण बनाउन विभिन्न कानुन परिमार्जन तथा संरचनागत सुधार हुँदै गएको उनको भनाई छ । लगानी सम्मेलनअघि सबै राजनीतिक दल, विषयविज्ञ तथा सरोकारवालसँग पर्याप्त छलफल गर्ने र सम्मेलनमा आवद्ध गराउने उनले स्पष्ट पारे। “यो सरकारको मात्र सम्मेलन होइन । राष्ट्रकै सम्मेलन हो । यसमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन । आन्तरिक तथा वैदेशिक लगानीमा हामी सबैको समान धारणा छ भन्ने देखाउन चाहान्छौँ”, अर्थमन्त्री पुनले भने । निजी क्षेत्र र लगानीकर्ताको सुझाव समेटेर सरकारले अध्यादेशमार्फत् कानूनी सुधारको प्रयास गरेको उनले बताए। अहिले संसद नचलेको बेला कानुन संशोधन गर्नुपर्ने अवस्था आएकाले अध्यादेशमार्फत् प्रक्रिया अघि बढेपनि संशोधित कानुनहरु पारित हुनका लागि संसदमा जाने र त्यहाँबाट पारित भएपछि कार्यान्वयनको चरणमा जाने उनले स्पष्ट पारे। नेपालमा लगानीका लागि ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृषि प्रशोधनलगायतका क्षेत्र बढी उपयुक्त रहेकाले ती क्षेत्रमा लगानी गर्न उनले लगानीकर्तालाई आह्वान गरे। नेपालको दुई ठूला छिमेकी मुलुक भारत र चीनसँग मित्रवत सम्बन्ध रहेकाले यहाँको उत्पादन छिमेकी मुलुकका बजारसम्म पु¥याउन समस्या नरहने बताए। कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सुशील भट्टले लगानी प्रवद्र्धन निरन्तरको प्रयास र प्रक्रिया भएकोले आन्तरिक वातावरण सुधारबाटै यसलाई थप परिस्कृत र नतिजामुखी बनाउनुपर्ने बताए। नेपालमा लगानीका वातावरण छ भन्ने आधार स्पष्ट हुँदै गएको भट्टको भनाइ छ । लगानी सम्मेलनमा सार्वजनिक/निजी साझेदारी (पिपिपी) अवधारणाका परियोजना मात्र नभई अन्य सरकारी र निजीक्षेत्रका परियोजनासमेत सोकेसमा राखिने उनको भनाइ छ । वैशाख १६ र १७ गते दुई दिन चल्ने सम्मेलनका लागि सरकारी र निजी क्षेत्रबाट एक सय ५० हाराहारी आयोजना सोकेसमा लैजाने तयारी सरकारले गरेको छ । सम्मेलनमा विभिन्न विषयका १० वटा सत्रमा छलफल हुनेछ । जसमा ५० जनाको हाराहारीमा वक्ता रहनेछन् । सम्मेलनमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने जनाइएको छ ।

अब मन्त्रीहरूले प्रत्येक दिनको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई गर्नुपर्ने

काठमाडौँ । अब प्रत्येक दिन सबै मन्त्रीहरूले आफ्नो काम प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब प्रत्येक दिन सबै मन्त्रीहरूले आफूले दिनभरि गरेको काम बेलुका प्रधानमन्त्रीलाई ब्रिफिङ गराउनुपर्ने निर्णय आज चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट गरिएको बताएका छन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै आजकै क्याबिनेटबाट यो निर्णय गराएको जानकारी गराए। ‘आज मैले एउटा निर्णय पनि क्याबिनेटबाट गराएको छु। अब सबै मन्त्रीहरूले गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने, प्रत्येक दिन बेलुका दिनभरि गरेकामध्ये ठूलो र राम्रो काम प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएपछि सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ। त्यसले सबै मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ। हामी बल गर्दैछौं।’समितिको बैठकमा प्रधानमन्त्रीले भनेका छन् ।

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत १८ गते आइतबार (सन् २०२४ मार्च ३१ तारिख)का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ६९ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

राजस्व दोब्बर बनाउन मातहतका निकायलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको राजस्व दोब्बर बनाउन मातहतका निकायहरूलाई निर्देशन दिएका छन्। बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले राजस्व वृद्धिका लागि भन्सारको चुहावट रोक्ने कार्ययोजना बनाएको पनि बताए।  उनले भन्सार नाकामा समस्या रहेको स्वीकार गर्दै भन्सार विन्दुमा नै सुधार ल्याउने गरी काम गरिरहेको पनि जानकारी दिए। सबैले अर्को महिनादेखि भन्सारमा सुधार भएको महसुस गर्ने अवस्था आउने दाबी गरे।  अर्थमन्त्री पुनले आन्तरिक राजस्व संकलनमा पनि सुधार र परिवर्तन ल्याउने प्रतिबद्धता जनाए । ४० प्रतिशतभन्दा बढी राजस्व वृद्धिको लक्ष्य भए पनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि देखिएको बताए । खुला नाका भएकाले पनि भन्सारमा समस्या आइरहेको उनले धारणा राखे ।  उनले भने, 'हाम्रो समस्या कस्तो छ भने नेपाल दुई ठूला अर्थतन्त्र भएका देशको बीचमा छौँ। करिब १७ सय किलोमिटर खुला बोडर छ । जसले भन्सारमा समस्या आइरहेका छन् ।भन्सारका समस्या मान्छेको नियतभन्दा पनि क्षमता नपुगेको विषय छ। सबै नियमत मात्रै पनि छैन ।'  अर्थमन्त्री पुनले नेपालमा भारतलेझैँ कृषिलाई संरक्षण गर्न नसकिएको बताए । 

राजश्व अनुसन्धान विभागलाई धन्यवाद दिदै अनुसन्धान अधिकृतलाई पुरस्कृत गर्न सिफारिस

आयोगका प्रमुख डिल्लीराम आचार्यका अनुसार ६१ किलो सुन प्रकरणमा प्रधानमन्त्री प्रचण्ड मातहत रहेको अनुसन्धान विभागले १८ दिनमै अनुसन्धानको अधिकांश काम पुरा गरेको पाइएको हो।

गण्डकीको हिउँदे अधिवेशन १६ फागुनदेखि सुरु हुने

पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १६ गतेदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद् बैठकले १६ गतेका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । गण्डकीको बजेट अधिवेशन गएको असोज ११ गते स्थगित भएको थियो । त्यसको पाँच महिनापछि सरकारले विधेयक अधिवेशन भनिने हिउँदे अधिवेशन बोलाएको हो । गण्डकी मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन १६ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । गण्डकी प्रदेशसभामा अहिले आमसञ्चार विधेयक, बीउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक विचाराधीन छन् । यसबाहेक सरकारले थप दुईवटा विधेयक तयार गरेको छ । माघ २९ गते बसेको बैठकले दुवै विधेयकलाई संसद्‌मा पेस गर्ने निर्णय गरेको छ । प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ ।

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। महाशाखाका अनुसार अहिले देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । अबको २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा हुनेछ ।

प्रधानमन्त्री भन्दा उपप्रधानमन्त्री सिंह एक कदम अगाडि, देशको शान्ति सुरक्षाबारे लिए जानकारी

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह प्रधानमन्त्री केपी शर्मा ओली भन्दा एक कदम अगाडि देखिएका छन् ।प्रकाशमान सिंहले आज सिंहदरबारमा राज्यका तीन वटा सुरक्षा अंगसँग छलफल गरेका छन् ।  देशमा केही बाढिपहिरो र दुर्घटनाका कारण भएको जनधनको क्षतिबारे जानकारी समेत लिन नभ्याइ बधाई तथा शुभकामनामा प्रधानमन्त्री ओली व्यस्त भैरहेका बेला सत्ता साझेदार पहिलो दल नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेर ओली नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री बनेका सिंहले प्रधानमन्त्री ओली भन्दा एक कदम अगाडि बढेर देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।  उनले आज सिंहदरबारमा भएको छलफल पश्चात भनेका छन्-' सिंहदरबारस्थित मन्त्रालयलमा तिनवटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक  र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसंग भेटघाट गरी देशको पछिल्लो शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिएको छु।' प्रकाशमानले सत्ता साझेदार प्रमुख दलको सरकारको नेतृत्व कर्ताका हिसाबले बैठक बोलाएको बताएका भएपनि सहरी विकास मन्त्रालयको जिम्मेवारी समालेका प्रकाशमानले आफुसँग असम्बन्धित सुरक्षा निकायका प्रमुखहरुसँगको बैठक बोलाएर छलफल गरी प्रधानमन्त्रीलाई चुनौती दिएको भन्दै नेकपा (एमाले) वृतबाट भने उनको आलोचना भएको छ ।

आज स्वदेश फर्कँदै राष्ट्रपति पौडेल, कस्तो रह्यो भ्रमण ?

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै छन्। उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९ः४५ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ।उनको स्वागतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थहरु अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन् ।  राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरे। भ्रमण टोलीमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।  यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो। सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।  सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ। जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरे। अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गरे । उनले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनी बिचको भत्किएको पर्खालसहितका ऐतिहासिक स्थलको अवलोकन गरे । यसैगरी उनको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आइतबार यहाँ एक विशेष  स्वागत समारोह आयोजना गरेको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन सबै नेपालीलाई आव्हान गरे। सो अवसरमा जर्मनमा रहेको गैर आवासीय नेपाली सङ्घका तर्फबाट राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो । यसअघि स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई जेठ ३१ गते राष्ट्रपति पौडेलले मुख्य वक्ताका रूपमा सम्बोधन गरे ।  सम्बोधनका क्रममा उनले श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरे । साथै वैदेशिक रोजगारीमा गएका नेपाली युवा जनशक्तिलाई सम्मानपूर्ण व्यवहार गर्न अपिल गर्दै राष्ट्रपति पौडेलले भने, “विकासशील मुलुकका युवाहरू कामको खोजीमा श्रम गन्तव्य मुलुकमा जाने क्रम बढ्दो छ। यस तथ्यलाई मध्यनजर गर्दै विश्वका सबै मुलुकहरूलाई म अपिल गर्न चाहन्छु कि वैदेशिक रोजगारीमा गएका श्रमिकको कामको कदर गर्दै उनीहरूलाई स्वदेशी कामदार सरह व्यवहार गरियोस्।” स्वीट्जरल्याण्डमा रहँदा उहाँ र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच बर्नमा दुई देशको सम्बन्ध,  आपसी सहयोग र सम्बन्ध विस्तारका पक्षमा केन्द्रित रहेर भेटवार्ता भएको थियो।  यसैगरी राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोबीच पनि जेनेभामा शिष्टाचार भेट भएको थियो । स्वीटजरल्याण्डमा रहँदा राष्ट्रपति पौडेलले त्यहाँको प्राचीन सहर पुरानो जेनेभाको भ्रमण गर्दै त्यहाँस्थित ऐतिहासिक स्थलको अवलोकन गरे।  त्यसै गरी उहाँ स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा उनको  सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भएका थिए। सो क्रममा स्वीट्जरल्याण्डका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्वीट्जरल्याण्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ गराएको बताउँदै आईएलओको कार्यक्रममा उहाँको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको बताएका थिए । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते मङ्गलबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए। राष्ट्रपति पौडेल कतारको दोहा हुँदै जेनेभा प्रस्थान गरेका थिए। राष्ट्रपति निर्वाचित भएपछि उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो । भ्रमण सफल र  उपलब्धिमूलक राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार डा सुरेशराज चालिसेले यो भ्रमणले बदलिँदो परिवेशमा नेपालको सम्बन्ध विश्व स्तरमा विस्तार र सुदृढ गर्न महत्त्वपूर्ण सन्देश प्रवाह गरेको बताए। लामो समयपछि युरोपका प्रभावशाली मुलुकका राष्ट्रप्रमुख स्तरमा भएको यो भेट ऐतिहासिक भएको बताउँदै डा चालिसेले  आइएलओमा राष्ट्रपति पौडेलको सहभागिताले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको नेपालको ऐक्यबद्धता प्रदर्शित भएको बताए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जर्मन र स्वीट्जरल्याण्डको भ्रमण सफल तथा फलदायी रहेको बताए। साथै अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यक्रममा राष्ट्रपतिबाट भएको सम्बोधनमा व्यक्त विचारले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित एवं विस्तार गराउन महत्त्वपूर्ण योगदान दिएको बताए।

हेर्नुहोस् बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ ३० गते बुधबार सन् २०२४ जुन १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर बढ्दा युरो सामान्य घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९६ पैसा र बिक्री दर १७० रुपैयाँ ७३ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

बझाङ प्रदेशसभा १ मा माओवादी केन्द्रका बुढाले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । प्रदेश सभाको उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का जनक बुढाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो ४ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् ।  नारा जुलुससहित माओवादी केन्द्रका नेता, कार्यकर्ता उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । 

माओवादी पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ

काठमाडौं । नेकपा (माओवादी)का तत्कालीन कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्।खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जानाएको छ । रामेछापका रामहरि श्रेष्ठको हत्या आरोपमा उनी १५ वर्षदेखि फरार थिए।  रामेछाप घर भई काठमाडौँको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीविरुद्ध छ।२०६५ वैशाख १५ गते नियन्त्रणमा लिएर श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो। अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो।  सोही कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको थियो। घटना छानबिनका लागि भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ। थापा खामकै अंगरक्षक थिए। गोविन्द बटाला जिल्ला र उच्च अदालतबाट दोषी ठहर भए पनि सर्वोच्चको संयुक्त इजलासबाट उनले सफाइ पाएका छन्।