राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य नियुक्त गर्न सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो ।

शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् । उनी पूर्व राजदूतसमेत हुन् ।

परिवर्तन त्यसै सम्भव भएको होईन, उल्टिँदैन : सांसद माझी

मकवानपुर, ७ फागुन । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले नेपालको राजनीति सामाजिक परिवर्तन त्यसै सम्भव नभएको बताएकी छिन् ।  माझी राष्ट्रिय मुक्तिमोर्चा नेपाल मकवानपुरको जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रूपमा सम्वोधन गर्दै मोर्चाकी महासचिव समेत रहेकी सांसद माझीले गणतन्त्र स्थापनामा २६ जना माझी समुदायका युवा युवतीले वलिदान गरेको बताइन् ।  अहिले मानिसहरूले परिवर्तन त्यत्तिकै आएको र यत्तिकै उल्टिने कुरा गरिरहेकोमा आपत्ति जनाउँदै उनले परिवर्तन र गणतन्त्र कुनै हालतमा नउल्टिने बताइन् ।  उनले गणतन्त्र, संघियता, समानुपातिक समावेशी व्यवस्थासहितको नयाँ नेपालको स्थापनाको लागि माझी समुदायले गरेको त्याग, बलिदान र सौर्यको  कदर गर्दै आफुलाई माओवादी पार्टी र अध्यक्ष प्रचण्डले सांसद बनाएको उल्लेख गरिन् ।  हिजो एकात्मक सामन्ती राजतन्त्रले अत्यन्तै उत्पीडनमा पारेको माझीलगायतका समुदाय, महिला, दलित, आदिवासीजनजातिले  गणतन्त्र र परिवर्तनको कारण नै राज्यको मुल प्रवाहमा र नीति निर्माण तहमा प्रवेश पाएको तथ्यलाई विर्सन नहुने बताइन् । उनले माझी समुदायले माओवादी र जनयुद्धको पक्षमा निरन्तर लाग्न र प्रतिक्रियावादी र परिवर्तनविरोधीको भण्डाफोर गर्न कार्यकर्तालाई  निर्देशन पनि दिइन् । उनले अहिलेको गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताइन् ।  उनले माझी समुदायले राजनीति सामाजिक चेतनामा विकास गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले माझी समुदायको प्रमुख चाड लदी पुजालाई राष्ट्रिय पर्वमा सुचिकृत गरि सार्वजनिक विदा दिनुपर्ने कुरामा केन्द्र सरकारको ध्यानाकर्षण गराएको जानकारी दिँदै बागमती प्रदेश सरकारले सुचिकृत गरि विदा दिएकोमा धन्यवाद दिइन् । उनले बागमती प्रदेश सरकारले माझी समुदायलाई मात्रै नभई सबैलाई सार्वजनिक विदा दिन माग पनि गरिन् ।   भुमिलाल माझीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन सम्मेलनबाट भुमिलाल माझीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा भुपु माझी र  मिरा माझी चयन भएका छन् भने  सचपवमा कुसुम माझी र सहसचिवमा श्रवण माझी तथा कोषाध्यक्षमा राधिका माझी चयन भएका छन् ।    सम्मेलनमा विषेश अतिथिको रूपमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान,  गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, माझी राष्ट्रिय मुक्ति मोर्चाकी नेतृ तथा केन्द्रीय सचिवालय सदस्य लक्ष्मी माझी, केन्द्रिय सदस्य कृष्ण बहादुर माझी, दन्तलाल माझी, किरण माझी,  बागमती प्रदेश कोषाध्यक्ष नारायण माझी,  गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री लगायतले मन्तव्य राख्नु भएको थियो।

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउनुभयो । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताउनुभयो । त्यसका लागि पार्टीको विपत् व्यवस्थापन विभागको पहलमा विज्ञहरुले तयार पारेको प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उहाँले यसका आधारमा चाँडै सरकारलाई ज्ञापनपत्र दिने पनि जानकारी दिनुभयो । वैज्ञानिक वस्ती विकास र पूर्वाधार निर्माणसँगै विपत् व्यवस्थापनका लागि सन्दर्भमा पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्धरुपमा अघि बढ्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले उद्धार मात्र होइन, राहत र पुनर्स्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरु कसरी प्रभावकारीरुपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। माओवादी केन्द्रका विपत् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदी पथिकले पछिल्लोपटक बाढी पहिरोले प्रभावित गरेको क्षेत्रमा गएर विज्ञहरुसहितको टोलीले समस्याको पहिचान र समाधानका उपाय समेटेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । विभागले प्रचार विभागको समेत सहयोग लिएर पार्टी कार्यालय पेरिसडाँडामा आपतकालीन हेल्प डेस्क खडा गरेको छ । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।

पत्रकारलाई कैद सजाय प्रकरणः पत्रकार महासंघले उठायो आदेशमाथि प्रश्न

काठमाडौं ।  अनलाइन न्युज पोर्टल सिधा कुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेललाई सर्वोच्च अदालतले जेल सुनाएपछि नेपाल पत्रकार महासंघले चासो जनाएको छ । सोमबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चबाट भएको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन-प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो’, उनले भनेका छन्, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्च्याउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ ।’ सञ्चारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानुनअनुसार प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्ने मान्यता महासंघले राखेको उनलले बताएका छन् । महासंघले कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुन नहुने पनि भनेको छ । ‘सञ्चारमाध्यमले माफी मागेर गलत सामग्री हटाइसकेको अवस्थामा सर्वोच्च अदालतले आफैंले प्रतिवेदन उठान गरेर, निवेदन दर्ता गरी आफैंले पत्रकारलाई जेल पठाउने फैसला गरेकोमा महासंघको गम्भीर चासो र चिन्ता छ । महासंघ कुनै पनि फैसला वा निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दिर्घकालीन नजिर नबनोस् भन्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ उनले भनेका छन् ‘संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा नेपाल सरकार, न्यायालय र अन्य सम्बन्धित पक्षलाई गम्भीर हुन महासंघ आग्रह गर्दछ ।’ सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई पनि ६ महिना कैद सजाय सुनाएको थियो । त्ययसैगरी सिधाकुराका कँडेल र ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागे ७ दिन मात्रै कैद बस्नुपर्ने कुरा फैसलामा उल्लेख छ ।

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताउनुभएको छ । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने बताउनुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधानसभाबाट संविधान निर्माण र त्यसमा आम सहमित जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको बेलामा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र पूर्वाधार निर्माणका क्षेत्रमा पनि ऐतिहासिक भूमिका निर्वाह गरेकाले नयाँ युगको सुरुवात माओवादीले गरेको हो भन्ने तथ्य हाम्रो गौरवपूर्ण सम्पत्ति बनेको छ ।’ उहाँले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्वपूर्ण कामको चर्चा गर्दै यसलाई आम जनतामा स्थापित गर्नुपर्ने बताउनुभयो । ‘मैले गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा नेतृत्व गरेको बेलामा मध्यपहाडी मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारें, जो निर्माण सम्पन्न हुने चरण छ’– पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘चुरेको काखबाट पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग पनि हाम्रै अवधारणामा अघि सुरु गरिएको हो, जो निर्माण कार्य भइरहेको छ ।’ त्यस्तै आफूले अघि बढाएको उत्तरदक्षिण कोरिडोर र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अघि बढाइएको काठमाडौंको करिडोर अवधारणा पनि माओवादी सरकारकै विकास नीतिको परिणाम भएको बताउनुभयो । आफूले पहिलोपटक सरकारको नेतृत्व गर्दा हजारौं किसानको ऋण मिनाह गरेको स्मरण गर्दै उहाँले शंखधर खाख्वाले ऋणमुक्त गरेको घटनापछि आधुनिक नेपालको इतिहासमा ठूलो संख्यामा किसानलाई ऋणमुक्त गरिएको यो नै पहिलो घटना भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले आफूले दोस्रोपटक सरकारको नेतृत्व गर्दा जनार्दन शर्मालाई उर्जामन्त्री र कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएर नेपाली जनतालाई लोडसेडिङको कालरात्रीबाट मुक्त गरेको बताउनुभयो । त्यति नै बेला संविधान कार्यान्वयन हुने हो कि होइन भन्ने अन्योलको बीचमा मधेशी दलहरुलाई समेत सहमतिमा ल्याएर संविधान कार्यान्वयन र मुलुकलाई चुनावमा लैजाने काम पनि गरिएको उहाँले स्पष्ट गर्नुभयो । आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताउनुभयो । ‘हामीले भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो, नेपालको इतिहासमा राजनीतिक र प्रशासनिक हाइप्रोफाइल व्यक्तिहरु कारवाहीमा परेको पहिलोपटक हो’– उहाँले भन्नुभयो– ‘सामाजिक न्यायको क्षेत्रमा मिटर ब्याजपीडितको समस्या समाधान, लाखौं श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता र हजारौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने कानुन निर्माण ऐतिहासिक कार्य थिए ।’ उहाँले आर्थिक समृद्धिको सवालमा लिएका महत्वपूर्ण नीतिका कारण अहिले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र आर्थिक वृद्धिदर बढ्ने क्रम सुरु भएको बताउनुभयो। उहाँले तेस्रोपटक सरकारको नेतृत्व गर्दा इटलीमा भएको खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको महासभाहुँदै कोप २८ सम्म जाँदा आफूले लिएको ऐतिहासिक पहलकदमीका कारण पार्टीको अन्तर्राष्ट्रिय प्रतिष्ठा फरकरुपमा स्थापित भएको र यसले राजनीतिक नेतृत्वलाई अन्तर्राष्ट्रियस्तरमा अब्बल रुपमा स्थापित गरेको बताउनुभयो । आफूले अल्पविकसित राष्ट्रहरुको पक्षमा लिएको अडान मात्र होइन, कार्यकालमा भारत र चीनसँगको सन्तुलित सम्बन्धले पनि नेपालको कूटनीतिलाई नयाँ उचाईमा उठाएको बताउनुभयो । उहाँले पछिल्लो सरकारको नेतृत्व गदौ शैक्षिक क्षेत्रमा पनि धेरै सुधारका काम थालिएको बताउनुभयो । त्रिविमा मेरिटोक्रेसी लागु गर्ने, वर्षौदेखि लुकाएर राखिएको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र संघीय शिक्षा ऐन सदनमा पुर्याउने काम आफ्नो नेतृत्वको सरकारले नै गरेको स्पष्ट गर्नुभयो । ‘अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्छौं’ अध्यक्ष प्रचण्डले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने बताउनुभयो । ‘सरबाट थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं’– उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ । यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्ने छ ।’ भर्खरै श्रीलंकामा भ्रष्टाचारविरोधी एजेण्डा स्थापित गरेर बामपंथी राष्ट्रपति निर्वाचिन भएको घटना विद्यार्थीहरुलाई सुनाउँदै उहाँले यो अभियान नेपालमा पनि शसक्तरुपमा अघि बढ्ने बताउनुभयो । सरकारमा रहँदा दलाल पूँजीपतिहरुको राइदाईमाथि जेहाद छेडेको उल्लेख गर्दै उहाँले सदन र सडकबाट केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिने बताउनुभयो । ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौं । तिमीहरु मिलेर बस भनेका छौं तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो । बिरोधीहरुले सँधै षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरुको दायित्व हुने अध्यक्ष प्रचण्डको भनाई थियो । ‘हिजो जनयुद्धभरि एकपछि अर्को घेरा र दमन चलाइएको थियो, घेरा तोड्ने र प्रतिरोध गर्ने हाम्रो नीति थियो । अहिले पनि हामी त्यसरी अघि बढिरहेका छौं । संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिने जस्ता षड्यन्त्र थिए, हामी सबै घेरा तोडेर आएका हौं । अहिले फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुनेछौं, त्यसका लागि तपाइँ विद्यार्थीहरु तयार हुनुहोला ।’ ‘राष्ट्रिय स्वाधीनताको मुद्दा पेचिलो’ अध्यक्ष प्रचण्डले अहिले ठूलाठूला शक्ति राष्ट्रहरुको अस्वस्थ प्रतिष्पर्धा देखिएको र त्यसको असर दक्षिण एसियामा पनि देखापर्न थालेको उल्लेख गर्दै नेपालमा राष्ट्रिय स्वाधीनतको मुद्दा पेचिलो बन्न थालेको बताउनुभयो । भूराजनीतिक अवस्थितिका कारण अहिले विश्वब्यापीरुपमा देखिएको अस्वस्थ प्रतिष्पर्धाको केन्द्र नेपाल हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उहाँले विद्यार्थीहरुलाई नेपालको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुन आग्रह गर्नुभयो । बिदेशी चलखेल रोक्ने र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय शक्ति निर्माण गर्ने बामपंथीले मात्रै हो र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्न सक्ने उल्लेख गर्दै उहाँले विद्यार्थी सम्मेलनले राष्ट्रिय स्वाधीनताको लडाइँलाई सहयोग गर्ने गरी नीति कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । ‘पार्टीभित्र विचार संश्लेषण र समाजवादी क्रान्तिको तयारीलाई प्राथमिकता’ अध्यक्ष प्रचण्डले एक्काइसौं शताब्दीमा समाजवादी क्रान्तिको नयाँ बाटो भनेर आठौं राष्ट्रिय महाधिवेशनबाट पारित लाइन नै आधिकारिक र औपचारिक कार्यदिशा भएको उल्लेख गर्दै सोही कार्यदिशाअनुसार कार्ययोजना बनाएर जनतामा जानुपर्नेमा केही कमजोरी भएको बताउनुभयो । अब धेरै विषय केन्द्रीय समिति बैठकले टुंग्याउने र विशेष महाधिवेशन गरेर विचारको नयाँ संश्लेषणसहित नयाँ गतिमा समाजवादी क्रान्तिको तयारी थाल्ने अबको बाटो हुने उहाँले स्पष्ट गर्नुभयो ।  माओवादीप्रति फेरि जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै उहाँले यो बेलामा आफूभित्र एकता पैदा गरेर जानुपर्ने बताउनुभयो । गुटबन्दीमा नलाग्ने निर्देशन अध्यक्ष प्रचण्डले पार्टी पुनर्निर्माणको महाअभियान सुरु गरिएको र यसका लागि विद्यार्थीसँग ठूलो अपेक्षा राखिएको उल्लेख गर्दै पार्टीको केन्द्रीय समितिको बैठकअघि हुने विद्यार्थीको राष्ट्रिय सम्मेलन पार्टीका लागि उर्जा हुने बताउनुभयो । उहाँले इकाइदेखि प्रदेश सम्मेलनसम्म विद्यार्थीहरुले देखाएको लगाव र अपनाएको विधिको प्रशंसा गर्दै अब राष्ट्रिय सम्मेलनलाई पनि उर्जाको अवसरको रुपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विधिमा जाने भएपछि जो जितेर आउँछ उही संगठनको नेता हुने भएकाले कोही कसैले गुटबन्दी गर्न जरुरी नरहेको र कुनै खालको गुटबन्दी गर्न विद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।    

आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज मनाइँदैछ ।उनको सम्झनामा देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरिदैछ । भानुभक्तले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ।रामायणकै कारण आदिकवि भानुभक्तलाई भाषा, साहित्य र संस्कृतिमार्फत नेपालको एकीकरण गर्ने व्यक्तिको रुपमा धेरैले सम्झने गर्दछन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेशबाट प्रभावित भएर रामायणलाई नेपालीमा अनुवाद गरेको बताइन्छ । ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी, उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली ।’ नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ। भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनको विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूले धारणा राख्छन्। त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आजबिहान काठमाडौँको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् । भानुको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।

आन्दोलनमा भएको क्षतिको जरिवाना तिर्न राप्रपालाई महानगरको पत्र

काठमाडौं । आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको दाबी गर्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जरिवाना तिर्न पत्र पठाएको छ । शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाइएको काठमाडौं महानगरपालिका स्रोतले जानकारी दिएको हो । जसमा ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने शुल्क रु.२२२ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम रु.५ हजार जरिवाना तिराउने निर्णय भएको भन्दै महानगरले पत्र पठाएको छ । २७ चैतमा राप्रपाको प्रदर्शनबाट ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम २२२ रुपैयाँ मर्मत सम्भारका लागि तिराउने निर्णय भएको महानगरपालिका स्रोतले जनायो। पत्रमा महानगरपालिकाले एनआईसी एसिया बैंकमा रहेको खातामा रकम दाखिला गर्न भन्दै खाता नम्बर समेत उल्लेख गरेको छ।

पाँच दलबीच लिखित सहमति (सहमति पत्रसहित)

काठमाडौँ । पाँच दलबिच लिखित सहमति भएको छ ।मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीच भएको छलफल पश्चात सो सहमति बनेको हो ।  पाँच राजनीतिक दलबीच भएको सहमतिपत्रमा भनिएको छ -'नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बीच जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भई निष्कर्षमा पुगेका छौं' उक्त सहमतिमा पाँच दलका प्रमुख नेताहरुले हस्ताक्षर गरेका छन् । यस्तो छ सहमति 

भरतपुर “हेल्थ हब”को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

भरतपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताए । कार्यक्रममा प्रधानमन्त्रीले भने, “भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।” प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) वि.सं. २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यवसायिक तालीमका क्षेत्रमा विशिष्टिकृत योगदान पु¥याउँदै आएको आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । यसका निम्ति अस्पताल समिति, कर्मचारीहरू एवं अस्पताल परिवारमा हार्दिक बधाइसहित धन्यवाद ज्ञापन गर्दछु । भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । नेपालका साथै छिमेकी मित्रराष्ट्र भारतबाट समेत यस अस्पतालमा सेवा लिने सेवाग्राहीहरूको उल्लेख्य संख्या रहनुले पनि अस्पतालको महत्व र सेवा प्रवाहको गुणस्तर प्रमाणित हुन्छ । यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको छ । नेपाल सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा समेत बढोत्तरी हुँदै गएको छ । यो हामी सबैका निम्ति खुसीको कुरा हो । विभिन्न दातृ निकाय, संघसंस्था, भरतपुर महानगरपालिका लगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्षमा बिस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि अस्पतालले दिने सेवाको मात्रा र गुण दुबैमा गुणात्मक सुधार हुने मैले विश्वास लिएको छु । नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुनेछ । तसर्थ, भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ । यसका निम्ति भविष्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने नै छ । मेरो नेतृत्वको वर्तमान सरकार संविधानप्रदत्त “स्वास्थ्य सम्बन्धी हक”लाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, बिपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, बिपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् । अर्कोतर्फ संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति नेपाल सरकारले गम्भीर पहल लिइरहेको छ । यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने मैले विश्वास लिएको छु । अन्त्यमा, नवनिर्मित भवनको उद्घाटनपश्चात आँखा सम्बन्धी रोगको उपचार, अध्ययन, अध्यापन र व्यवसायिक तालीममा थप प्रगति हुने विश्वास व्यक्त गर्दै भवन निर्माणमा सहयोग गर्नुहुने समस्त दातृ निकाय, भरतपुर महानगरपालिका, सामाजिक संघसंस्था एवं सामाजिक व्यक्तित्वहरूमा फेरि एकपटक धन्यवाद व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

प्रधानमन्त्रीको विरोध गरेको भन्दै युवा थुन्नु निरंकुश चरित्र : अखिल(क्रान्तिकारी)

काठमाडौं । परिवर्तनका पक्षधर युवाहरुलाई पक्राउ गरी हिरासतमा राख्नु निरंकुश चरित्र भएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।  शान्तिपूर्ण धर्ना, जुलुस, विरोध प्रदर्शन गर्न पाउनु नागरिकको संबैधानिक अधिकार भएको बताएको छ । गौरापर्व मनाउन टुडिखेल पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली  र पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवालाई विरोध गरेको नाममा परिवर्तनका पक्षधर केही युवाहरुलाई पक्राउ गरि हिरासतमा राखिएको घटनाप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति मार्फत जनाउनुभएको छ । विज्ञप्तिमा भनिएको छ -'आफ्नो संबैधानिक अधिकार प्रयोग गरे बापत युवाहरुलाई बिनाकारण हिरासतमा राखेर सरकारले आफ्नो निरंकुश चरित्र जनतासामु उदाङ्गो पारेको छ । सरकारको उक्त निरंकुश र असंवैधानिक रवैयाको घोर निन्दा एवं भत्सर्ना  गर्दछौं।दलाल सरकारका विरुद्ध युवाहरुले विरोध गरेकै कारण लगाईएको झुटा मुद्दा तत्काल खारेज गरी विना शर्त हिरासतमा भएका युवाहरूलाई २४ घण्टा भित्र रिहाई गर्नको निम्ति अखिल (क्रान्तिकारी) जोडदार माग गर्दछ। यदी पक्राउ गरिएका युवाहरुलाई विना सर्त तत्काल रिहाई नगरे हाम्रो संगठन चरणवद्ध आन्दोलनमा उत्रने जानकारी यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहान्छौं।'

नेपाल भित्रियो कोरोनाको ‘केपी १’ र ‘केपी २’ भेरियन्ट

काठमाडौँ। नेपालमा भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि भएको छ। काठमाडौँकै केही सङ्क्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयकाका अनुसार ‘केपी१’ र ‘केपी २’ सब भेरियन्ट हो। यो नसर्ने र घातक नभएको बताइएको छ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

  काठमाडौं । आज २०८० साल चैत १६ गते शुक्रबार सन् २०२४ मार्च २९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०८ पैसा र बिक्री दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ विनिमय दर 

एकीकृत समाजवादीका पदाधिकारी निर्वाचित, को को भए विजयी ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसहमत चयन हुनुभएको थियो । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई पराजित गर्नुभएको हो । यसैगरी मधेशी उपाध्यक्षमा रामचन्द्र झालाई पराजित गर्दै धर्मनाथ साह निर्वाचित हुनुभएको छ भने खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित हुनुभएको छ । उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित हुनुभएको छ । चौधरीले सबैभन्दा धेरै १५८ मत प्राप्त गर्नुभएको छ । चार उपमहासचिव पदमा १९ जना प्रतिस्पपर्धामा थिए ।  सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्राकुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित हुनुभएको छ । 

माओवादी केन्द्रको परामर्श बैठक कहिले काहाँ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को परामर्श बैठक आजबाट सुरु भएको छ । आज पहिलो दिन बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको बैठक पार्टी कार्यालय पेरिस डाँडामा बस्यो । भोलिसम्म चल्ने बैठकले जनतामा जाने ठोस कार्यक्रम के हुने भन्नेबारे छलफल हुने नेताहरूले बताएका छन् । पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय साउन २५,२६,२७,२८,३० र ३१ गते बसेको स्थायी समिति बैठकले गरेको थियो । माओवादीले यस्तो बैठक सबै प्रदेशहरूमा गर्दैछ । कहिले-कहिले बस्दैछ बैठक  -बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ५ र ६ गते । -उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते । – गण्डकी प्रदेशका के.स.तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ९ र १० गते । – सुदुपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १२ र १३ गते । – कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १४ र १५ गते । – लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते । – तीनवटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भाद्र १८ र १९ गते । – मधेश प्रदेशका के.स. हरूको बैठक भाद्र २२ र २३ गते । – पूर्व, १ नं प्रदेशका के.स.तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र २४ र २५ गते । – ज।व।स मोर्चामा कार्यरत पार्टी के.स.हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरू को बैठक भाद्र २७ र २८ गते । – प्रवास प्रदेशमा कार्यरत पार्टी के.स.हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ आश्विन १ गते । – जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।

परराष्ट्रमन्त्री राणाद्वारा राहदानी विभागको निरीक्षण

काठमाडौँ। परराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी विभागमा निरीक्षण गरेकी छिन् ।बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयमा निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा परराष्ट्रमन्त्री राणाले राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे चासो राखेकी थिइन् ।