चन्द्रागिरि हिल्स रिसोर्टले पायो उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौंः काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ ।
भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतीय राज्यसभाका सांसद एवम् पूर्वमन्त्री विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गरेका हुन् ।
सोही कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङगेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरिएको थियो ।
भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्ट संस्थाले हरेक वर्ष प्रदान गर्ने यो अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष उक्त रिसोर्टलाई प्रदान गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।
ती संस्थाहरुले हरेक वर्ष दक्षिण एशियाली देशका सेवा क्षेत्रमा कार्यरत होटल, रिसोर्ट, हवाई सेवालगायतका विभिन्न पर्यटकीय संस्थाहरुलाई यो अवार्ड प्रदान गर्ने गर्दछन् । पुरस्कार प्राप्त गरेपछि खुशी व्यक्त गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक ढकालले यो पुरस्कार चन्द्रागिरि हिल्सले मात्र नभएर नेपालको सिङ्गो पर्यटन क्षेत्रले नै प्राप्त गरेको बताए ।
उनले यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्रको सकारात्मक सन्देश गएको र नेपालमा भारतीय पर्यटकहरुको आगमनमा वृद्धि गर्न तथा विशेषगरी नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
चन्द्रागिरि हिल्समा अवस्थित भालेश्वर मन्दिरका साथै केवलकार, रिसोर्टलगायतका विविध एकीकृत पर्यटकीय संरचनाहरुका कारण पछिल्लो समय चन्द्रागिरि हिल्समा पुग्ने भारतीय पर्यटकहरुको सङ्ख्या बढेको बताउँदै यस अवार्डले आफूलाई थप उत्साहित बनाएको महाप्रबन्धक शाहले बताए ।
महाप्रबन्धक शाहका अनुसार त्यहाँ अवस्थित भालेश्वर मन्दिर भारतीय धार्मिक पर्यटकहरुका लागि प्रमुख आस्थाको केन्द्रका रुपमा विकसित भइरहेको छ । नेपालमा पशुपतिनाथको दर्शनका लागि आउने भारतीय पर्यटकहरु प्रायः भालेश्वरमा पनि पुग्ने गरेका उनको भनाइ छ ।
काठमाडौँको पश्चिमी पर्यटकीय डाँडा चन्द्रागिरिमा २०७३ सालमा केबलकार सञ्चालनमा आएपछि हाल त्यहाँ होटल, रिसोर्टलगायतका संरचनाहरु निर्मित छन् । महाप्रबन्धक शाहका अनुसार हाल चन्द्रागिरिमा प्रत्येक दिन कम्तीमा दुई हजार देखि दुई हजार ५०० सम्म आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।
१२ दिनमा ‘वार’ ले कति कमायो?
काठमाडौं– ऋतिक रोशन र टाइगर श्राफ अभिनित हिन्दी चलचित्र ‘वार’ले १२ दिनमा दुई सय ७१ करोड ६५ लाखको व्यापार गरेको छ । यो चलचित्रले रिलिजको पहिलो दिन मै ५३ करोड ३५ लाख कमाएको थियो । ‘वार’ सन् २०१९ को सबै भन्दा बढी कलेक्सन गर्ने फिल्महरुको सूचीमा परेको छ । ‘वार’ ले १३ अक्टोबरमा मात्र १३ करोड ९० लाख कमाएको छ । यो फिल्म करिब ४ हजार हलहरुमा रिलिज भएको थियो । विभिन्न रेकर्ड तोड्दै अझै हलहरुमा चलिरहेको यो फिल्मले झन बढी कमाई गर्ने अनुमान गरिएको छ । यो फिल्मलाई धेरै दर्शकहरुले मन पराएका छन् । यसको प्रतिस्पर्धामा कुनै चलचित्र नरहेको समेत जनाइएको छ ।
भारतीय क्रिकेट बोर्डको अध्यक्षमा सौरभ गांगुली, अमित शाहका छोरा सचिव
नयाँ दिल्ली, भारतीय क्रिकेट टिमका कप्तान सौरभ गांगुली बिसिसिआईको अध्यक्ष बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई निकै शक्तिशाली संस्थाको रुपमा हेरिन्छ । पूर्व अध्यक्ष एन श्रीनवासनका समर्थक पूर्व क्रिकेटर बृजेश पटेल समेत अध्यक्षका दावेदार भए पनि सौरभ गांगुली अध्यक्ष बनेका हुन् । समाचारका अनुसार, गृहमन्त्री अमित शाहका छोरा जय शाह बोर्डका सचिव बनेका छन् । यसैगरी केन्द्रीय मन्त्री र पूर्व बिसिसीआई अध्यक्ष अनुराग ठाकुरका भाई अरुण धुमिल कोषाध्यक्ष बनेका छन् । भारतीय टीमका पूर्व कप्तान गांगुलीले औपचारिक घोषणा अगाडि नै केही राम्रो गर्ने सुनौलौ अवसर पाइएको बताएका छन् । “यो केही नयाँ गर्ने सुनौलो अवसर हो । उनले भने, “किनभने अहिले यस्तो बेला मैले जिम्मेवारी लिइरहेको छ, जतिखेर बिसिआिईको छवि निकै खराब भएको छ । यसको औपचारिक घोषणा भने अहिले तीन बजे हुने भएको छ ।
चीन–नेपाल र भारत जोड्ने सबैभन्दा छोटो नाका ओझेलमा
चरिकोट– चीनसँगको व्यापारिक सम्बन्ध तथा उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो र सुरक्षित लामाबगर नाका खोल्ने काम अझै ओझेलमा परेको छ । शनिबार काठमाडौँ आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्ठितबाट भूजडित देश बन्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएसँगै वर्षौंदेखि अलपत्र परेको नेपाल–चीन जोड्ने सबैभन्दा पुरानो लामाबगर नाका खुलाउन सरकारले पहल गर्नुपर्नेभएको छ । दोलखाको बिगु गाउँपालिका–१ स्थित लामाबगर नाका खुलाउन बर्सेनि न्यून बजेट र स–साना टुक्रे ठेक्का लगाएर काम गरेजस्तो देखिए पनि यो नाका खुलाउन हालसम्म सरकार गम्भीर हुन सकेको थिएन । २०२२ सालसम्म पैदल आउजाउ गर्ने मार्गका रूपमा निकै चल्तीको लामाबगर नाका सिन्धुपाल्चोकको तातोपानी नाकाभन्दा पनि पुरानो र चीन–भारत जोड्ने छोटो र भरपर्दो नाका रहेको बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए । चीनसँगको व्यापारिक सम्बन्ध तथा उत्तर–दक्षिण जोड्ने लामाबगर नाका सबैभन्दा छोटोसमेत हुने उल्लेख गर्दै उनले तिब्बतसँग जोडिएको नेपालको पुरानो लामाबगर नाका खुलाउन जरुरी रहेको बताए । तातोपानी नाकाभन्दा दोलखाको लामाबगर नाका करिब ७१ किलोमिटर नजिक रहेको बताइन्छ । भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेको केरुङ र तातोपानी नाकाभन्दा लामाबगर नाकाको सडक सुरक्षित रहेको प्राविधिकहरू बताउँछन् । तिब्बतको ङ्याङ्लुङदेखि काठमाडौँसम्म करिब दुई सय किलोमिटर रहेको छ भने भारतको सिमाना भिट्टामोडसम्म पुग्न करिब २५० किलोमिटर दूरी रहेको बताइएको छ । नेपालको लामाबगरदेखि तिब्बतको सिमाना ङ्याङ्लुङमा पुग्ने करिब आठ किलोमिटरको दूरीबाहेक सबै सडक निर्माण भई सुचारु भइसकेकाले पनि यो नाका खुलाउन धेरै आर्थिक भार नपर्ने बताइन्छ । दुई वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको अध्ययनले नाका खुलाउन करिब डेढ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरेको थियो । दोलखाको सदरमुकाम चरिकोटबाट सिँगटी हुँदै लामाबगरको बाँधस्थलसम्म माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सडक निर्माण गरिसकेको छ । त्यहाँबाट तिब्बत र नेपालको सिमाना ङ्याङ्लुङसम्म पुग्न अब करिब आठ किलोमिटर मात्र सडक निर्माण गरे पुग्छ । सडक विभागले सिमानासम्म पुग्ने सडक निर्माणका लागि हरेक वर्ष दुई करोड रुपैयाँका दरले बजेट विनियोजन गरे पनि कठिन भीरका कारण काम हुन नसकी रकम फ्रिज भइरहेको छ । हाल तामाकोसी बाँधभन्दा केही पर एक किलोमिटर सडकको ट्र्याक खुलिसकेको र बाँकी सडकका टेन्डर खुल्न लागेको समाचार पनि बाहिर आएको छ । त्यसैले सरकारबाट केही प्रयास भएमा यो नाका सञ्चालन गर्न कठिन छैन । सडक विभागका महानिर्देशक केशव शर्माले मन्त्रिपरिषद् बैठकमार्फत मोडालिटी टुङ्गिएपछि ठेक्का लाग्ने बताए । हामीले माथिल्लो तामाकोसी आयोजनामै कार्यरत चिनियाँँ ठेकेदारमार्फत सुरुङको काम गराउने मोडालिटी अघि सारेका हौँ, उनले भने, बाटोका लागि एक किलोमिटर सुरुङ खन्नुपर्ने भएकाले त्यो तामाकोसी आयोजनामै भीओ (भ्यरियसन अर्डर) गरेर बनाउने वा सरकारबाटै बनाउनेमा कुरो मिल्न नसक्दा अघि बढ्न सकेको छैन । शर्माका अनुसार यो मार्ग महोत्तरीको भिट्टामोडदेखि बर्दिबास, खुर्कोट हुँदै रामेछाप सदरमुकाम मन्थली निस्केर दोलखाको नयाँ पुलबाट सिँगटी हुँदै लामाबगर र चीनको सीमासम्म हुने छ । त्यसका लागि दोलखाको नयाँ पुलदेखि सिँगटीसम्म नयाँ ट्र्याक बनाउनुपर्ने विभागले जनाएको छ । भारतीय नाकाबन्दीपछि सरकारले चीन सरकारसँग उत्तरका थप छवटा नाका खोल्न २०७२ असोज २७ गते गरेको समझदारीमा दोलखाको लामाबगर नाका पनि समावेश रहेको छ । सुरक्षित, छोटो र परम्परादेखि चल्तीमा रहेको लामाबगर नाका खोलेर चीन, नेपाल र भारतबीच त्रिदेशीय व्यापारलाई समेत सहज गर्न सकिने भएकाले सरकारले शीघ्र यो नाका सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ । रासस
आज सोमबार, कस्तो छ तपाइको राशिफल?
वि.सं.२०७६ साल असोज २७ गते । सोमबार । इस्वी सन् २०१९ अक्टोबर १४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि प्रतिपदा,५३ घडी ४० पला,रातको ०३ बजेर ३१ मिनेट उप्रान्त द्वितीया । नक्षत्र रेवती,११ घडी ५८ पला,बिहान १० बजेर ५० मिनेट उप्रान्त अश्विनी । करण वालव,दिउसो ०२ बजेर ४७ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर ३१ मिनेट उप्रान्त तैतिल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाई लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार भने फस्टाएर जानेछ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ भने घर परिवारका सदस्यहरू सँग विवाद बढ्ने योग रहेको छ । मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसाय फस्टाएर जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आँटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्य तथा समयले साथ दिने हुँदा आँटेको तथा ताकेको काम सजिँदै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाई लेखाइमा समय दिन नकस्दा अरूभन्दा पछि परिनेछ । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा जीवन साथी सँग मनमुटाब सिर्जना हुने सम्भावना रहेको छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रजसँग राज बाझिनेछ । सोख तथा विलासिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) अदालती निर्णयहरू तपाईकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँदै लान सकिनेछ । विशिष्ट व्यात्तिको सहयोगमा राम्रा योजनाहरू फुर्ने ग्रहयोग रहेको छ । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमत्ता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुँनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईँको बोलीको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । गीत सङ्गीतमा लाग्नेहरूका लागि समयले साथ दिनेछ ।
२० मिनेट नबित्दै नेपालविरुद्ध अष्ट्रेलियाको २ गोल (LIVE)
काठमाडौंः विश्वकप छनोट अन्तर्गत २० मिनेट नबित्दै नेपालविरुद्ध अष्ट्रेलियाले २ गोल गरेको छ । अष्ट्रेलियाले पहिलो हाफको ५ र १८ मिनेटमा गोल गरेको हो । नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजनमा पनि हेर्न पाईनेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजन अन्तर्गतको एनटीभी प्लसमा हेर्न सकिने छ । विमलको ठाँउमा प्रशिक्षक योहिन कालिनले अभिषेक रिजाललाई मौका दिएका छन् । मिडफिल्डमा विक्रमको ठाँउमा विशाल राईले मौका पाएका छन् । त्यसबाहेकका ९ खेलाडी अघिल्लो महिना चाइनिज ताइपेविरुद्ध सुरु गर्ने खेलाडी नै छन् । गत महिना नेपाली टोली पहिलो खेलमै ७–० ले पराजित भएको थियो । त्यसपछिको खेलमा भने चाइनिज ताइपेलाई २–० ले हराउँदै छनोटमा नेपालले पहिलो जित दर्ता गरेको थियो । अष्ट्रेलियाले भने पहिलो खेलमा कुवेतलाई ३–० ले हराएको थियो । नेपाली टोलीको पहिलो रोजाई गोलकिपर–किरण चेम्जोङ (कप्तान) फिडेन्स– रञ्जित धिमार, दिनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ मिडफिल्ड–रवि पासवान, विशाल राई, सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट फरवार्ड–अभिषेक रिजाल फाइल फाेटाे
विश्वकप छनोटः नेपालविरुद्ध अष्ट्रेलियाको पहिलो गोल (LIVE)
काठमाडौंः विश्वकप छनोट अन्तर्गत नेपालविरुद्ध अष्ट्रेलियाले पहिलो हाफको ५ मिनेटमै गोल गरेको छ । नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजनमा पनि हेर्न पाइनेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजन अन्तर्गतको एनटीभी प्लसमा हेर्न सकिने छ । विमलको ठाँउमा प्रशिक्षक योहिन कालिनले अभिषेक रिजाललाई मौका दिएका छन् । मिडफिल्डमा विक्रमको ठाँउमा विशाल राईले मौका पाएका छन् । त्यसबाहेकका ९ खेलाडी अघिल्लो महिना चाइनिज ताइपेविरुद्ध सुरु गर्ने खेलाडी नै छन् । गत महिना नेपाली टोली पहिलो खेलमै ७–० ले पराजित भएको थियो । त्यसपछिको खेलमा भने चाइनिज ताइपेलाई २–० ले हराउँदै छनोटमा नेपालले पहिलो जित दर्ता गरेको थियो । अष्ट्रेलियाले भने पहिलो खेलमा कुवेतलाई ३–० ले हराएको थियो । नेपाली टोलीको पहिलो रोजाई गोलकिपर–किरण चेम्जोङ (कप्तान) फिडेन्स– रञ्जित धिमार, दिनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ मिडफिल्ड–रवि पासवान, विशाल राई, सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट फरवार्ड–अभिषेक रिजाल
हङकङद्वारा नेपाललाई १२६ रनको लक्ष्य, करनले लिए ४ विकेट
काठमाडौंः ओमानमा जारी टी–२० क्रिकेट सिरिजमा हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो । उसका लागि वकास बराकातले ३७, किशित शाहले ३१, नजकत खानले २३, शसन अब्बासीले १३ रन बनाए । बलिङमा करन केसीले ४ ओभरमा ३६ रन दिएर ४ विकेट लिए । अविनाश बोहराको नाममो एक विकेट रह्यो ।
मेयर रेनु दाहालद्वारा दशैंको शुभकामना
चितवनः भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महान् पर्व बडादसैँको शुभकामना दिएकी छन् । महानगर प्रमुख दाहालले महान पर्व विजया दशमीको अवसरमा समस्त भरतपुर महानगरपालिकावासी एवं स्वदेश तथा विदेशमा बस्ने सबै नेपालीलाई शुभकामना दिएकी हुन् । प्रमुख दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको आउँदै गरेको चाडपर्वले समृद्ध महानगरले सपनालाई साकार पारोस् भनी कामना गरिएको छ । आउँदै गरेको शुभ दिपावली, छठ तथा नेपाल सम्वतको समेत हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रा यी पर्वहरुले समस्त नेपालीहरुमा सकारात्मक सोचका साथ आपसी भाइचारा, सद्भाव र एकता कायम गर्दै दीगो र आत्मनिर्भर विकासको पक्षमा एकढिक्का भएर लाग्ने प्रेरणा प्रदान गरुन् भन्ने अपेक्षासमेत गरिएको छ ।’ विज्ञप्तीमा अगाडि भनिएको छ, ‘हाम्रा चाडपर्वहरुलाई मौलिक र मितव्ययीका साथ उल्लासमय बनाउन सबैलाई आग्रह गर्दै मध्य नेपालको सुन्दर शहर समृद्ध र सुसंस्कृत भरतपुर भन्ने सोचलाई सार्थक पार्न महानगरको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
सीपीएलः पोलार्डको टिमद्वारा वारियर्सलाई १४४ रनको लक्ष्य
काठमाडौंः वेष्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा ट्रिनबागो नाइट राइडर्सले गुयाना अमेजन वारियर्सलाई १४४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिको मौका पाएको किरण पोलार्ड नेतृत्वको नाइट राइडर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४३ रन बनायो । उसका लागि कोलिन मुनरोले सर्बाधिक ४०, किरण पोलार्डले नटआउट ३६, लेन्डल सिमोन्सले ३० र जिमी नीशमले अविजित १२ रनको योगदान दिए । बलिङमा गुयानाका लागि चन्द्रपोल हेमराजले ३, बेन लाफलिन र कप्तान सोयब मलिकले १–१ विकेट लिए ।
१० हजार घूससहित पक्राउ
चिप्लेढुंगा । घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घूस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मंगलबार साँझ भण्डारीलाई १० हजार घूस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ १० देशमा
काठमाडौंः एनसेलका ग्राहकले अब विभिन्न १० देशको भ्रमणमा रहँदा सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहीबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ । यो सँगै अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुका लागि अनलिमिटेड रोमिङ्ग डेटा प्याक उपलब्ध हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ करसहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्नेछन् । यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशन अनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् । यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ । एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नवीकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याक माथि उल्लेखित १० देशहरुको भ्रमणमा जानु अघि वा ती गन्तव्यहरुमा पुगे पछि पनि लिन सक्नेछन् । सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ्ग सेवा नेपालमा नै सुचारु गरको हुनु पर्नेछ ।
९ वर्षपछि शरद ऋतुमा सगरमाथा आरोहण गरिँदै
सोलुखुम्बुः यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि २ समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा ९ र अर्को एकसहित १० रहेका उनको भनाइ छ । यस्तै निरौलाका अनुसार सोमबारसम्म सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ ले अनुमति लिएका छन् । यो हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८ हजार १५६ मिटर रहेको छ । त्यस्तै ८ हजार ५१६ मिटर उचाइको लोत्से हिमाल आरोहणका लागि २ समूहका १३ र सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि एक समूहका ८ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार आठ हजार २६७ मिटर उचाइको धवलागिरि हिमाल आरोहणका लागि दुई समूहका ३० जनाले अनुमति लिएका छन् । अहिलेसम्म देशका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा ६८ समूहका ५१८ आरोही छन् । सोमा ११४ महिला र ४०४ पुरुष आरोही रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा निरौलाले जानकारी दिए । सगरमाथा आरोहणको इतिहास सन् १९५३ मे २९ तारिखका दिन बिहान ११ः१५ बजे न्यूजिल्याण्डका नागरिक सरएडमण्ड हिलारी र नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेकेका थिए । त्यसपछि आरोहणको क्रम शुरु भएको पाइन्छ । सगरमाथा आरोहणको उत्तम समय वसन्त ऋतुलाई लिइने गरिन्छ । शरद ऋतुमा सगरमाथा अरोहणका लागि कठिन मानिन्छ । सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेनले आरोहण गरेयता शरद ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन । यो याममा अरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ । सन् २०१९ कै वसन्त ऋतुमा विभिन्न समूहका ३८१ ले आरोहण अनुमति लिएका थिए भने आरोही र उनका सहयोगीसहित करीब ७ सयले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए । आरोहणका क्रममा ९ जनाको ज्यान गएको थियो । उनीहरुको मृत्युको कारण सगरमाथा आरोहणका क्रममा ट्राफिकजाम भनेर दाबी गरिए पनि पर्यटन विभागले त्यसको खण्डन गरेको थियो । उक्त याममा हुने भीड र समस्यालाई शदर ऋतुले आकर्षण गर्न नसकेको आरोही बताउँछन् । आरोही किताबसिं तामाङका अनुसार शरद ऋतुमा आरोहण गर्न सकिने भए पनि हल्का वर्षातसँगै हिमपात र वायुको गति उच्च हुँदा समस्या हुने गर्छ । वसन्त ऋतुमा आधार शिविरदेखि क्याम्प–१ सम्मको बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले पनि यो याममा भने आफ्नो जिम्मेवारी मान्दैन र कुनै पनि कार्य गर्दैन । समितिका अध्यक्ष आङदोर्जी शेर्पाका अनुसार वसन्त ऋतुमा ६ सय अमेरिकी डलरमा क्याम्प–१ सम्मको बाटो बनाउन सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्छ । नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोहीको गुनासो छ ।
ललितपुरमा बस दुर्घटनाः एक जनाको मृत्यु
कठमाडौंः ललितपुरको सुनाकोठीमा बस दुर्घटना भएको छ । लगनखेलबाट लेले चल्ने बा ४ ख ८६५० नम्बरको बस सुनोकाठीमा दुर्घटना भएको हो । बस दुर्घटना हुँदा बाटो काट्ने क्रममा रहेका ७० वर्षिय रुकु कार्कीको घटनास्थलमै मृत्यू भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । घटनास्थलमा महानगरिय प्रहरी वृत्त चापागाउँका डिएसपी रामकृष्ण सापकोटाको टोली पुगिसकेको र घटनास्थलको मुचुल्का तयार पार्ने काम भैरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक कार्कीलाई बसका चालकले व्याक गरेर मारेको प्रहरीको भनाई छ । स्थानीयले मृतकको लाशलाई उठाउन दिएका छैनन् । बसका चालक र सहचालक अहिले फरार रहेको प्रहरीको भनाई छ ।
युरोपियन च्याम्पियन्स लिगः बायर्न म्युनिखसँग टोटनह्यामको लज्जासपद हार
एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा बायर्न म्युनिखले टोटनह्याममाथि ७–२ को फराकिलो जित निकालेको छ । समूह बी अन्तर्गत भएको खेलमा टोटनह्यामलाई लज्जास्पद हारको स्वाद चखाउन बायर्नका लागि नाब्रीले चार गोल गरे । जर्मन च्याम्पियन बायर्नविरुद्ध टोटनह्यामले सुरुवाती अग्रता लिएको थियो । खेलको १२ औं मिनेटमा सन ह्युङ मिङको गोलमा टोटनह्यामले अग्रता बनाएको थियो । तर यो अग्रता तीन मिनेटपनि टिक्न सकेन । खेलको १५ औँ मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई बराबरीमा पुर्याए । ४५ औं मिनेटमा रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै बायर्नलाई २–१ ले अगाडि राखे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बायर्नले ५३ औँ मिनेटमा तेस्रो गोल गर्यो । उसका लागि नाब्रीले गोल गरे । त्यसपछि ५५ औँ मिनेटमा उनले नै ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । हेरी केनले ६१ औँ मिनेटमा गोल गर्दै अन्तर ४–२ मा झारे पनि बायर्नले त्यसपछि तीन गोल थप्यो । उसका लागि ८३ औँ मिनेटमा नाब्री, ८७ औँ मिनेटमा लेवान्दोस्की र ८८ औँ मिनेटमा नाब्रीले नै गोल गरे ।
भारतबाट प्याज नआउने भएपछि…
काठमाडौंः महँगिएको प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेपालमा प्याज नपठाउने समाचार सार्वजनिक भएसँगै सोमबार बिहानैदेखि झनै महँगो भएको छ । यसको असर थोकदेखि खुद्रासम्म परेको छ । व्यापारीले यसअघि नै खरिद गरेर राखेको प्याजको समेत कृत्रिम अभाव गराएर महँगो भाउमा बिक्री वितरण गर्न थालेका छन् । हुन पनि गत वर्ष यो बेला प्रतिकेजी ३० रुपियाँ थोकमा पाइएको प्याज आइतबारसम्म प्रतिकेजी १०० रुपियाँसम्ममा थोकमा कारोबार भएको थियो भने मङ्गलबार थोक बजारमै पनि प्रतिकेजी १२० रुपियाँ पुगको छ । खुद्रा भाउ झनै मनपरी छ । कालीमाटीमा मात्रै दैनिक २२ देखि २५ टन प्याज भारतबाट आयात हुने गरेकोमा मङ्गलबार तीन टन मात्रै आएको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार भारतबाट प्याज आउन ठप्प भएको छ तर भन्सारमा आइसकेका मात्रै आउने क्रममा रहेकाले फाटफुट आइरहेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल कालीमाटी बजारमा मङ्गलबार तीन टन मात्रै प्याज आएकाले बजारमा यसको अभाव देखिएको बताउँछन् । दैनिक २२र२४ टन प्याज आउने गरेको बजारमा तीन टन आउँदा त हामी भारतसँग मात्रै परनिर्भर रहेको र त्यहाँ रोक लगाएपछि बजारमा अभाव भएको उनको भनाइ छ । प्याज अन्य देशमा निर्यात गर्दा भारतमै महँगो भएको भन्दै भारतीय नागरिकबाट चर्को विरोध भएपछि भारत सरकारले त्यहाँको प्याज निर्यातमा रोक लगाएको छ । यसको प्रत्यक्ष असर नेपालमा परेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।