विश्वकप क्रिकेटः बंगलादेशविरुद्ध इंग्ल्याण्डको शानदार जित

काठमाडौं, जेठ २६ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशलाई १०६ रनले हराउँदै इंग्ल्याण्ड विजयी भएको छ । ३८७ रनको विशाल लक्ष्यका साथ मैदान प्रवेश गरेको बंगलादेशले ४८.५ ओभरमा सबै विकेट गुमाएर २८० रन मात्र बनाउन सक्यो । उसका लागि शकिव अल हसनले शतक बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । उनले १२ चौका र १ छक्काको मद्दतमा ११९ बलमा १२१ रन बनाए ।

यस्तै मुस्फिकुर रहिमले ४४, महुदुल्लाहले २८, मोसाद्दिक होसैनले २८, तमिम इग्बालले १९, महेदी हसन मिराजले १२ रन बनाए । बलिङमा इंग्ल्याण्डमा बेन स्टोक्स, जोफ्रा आर्चरले ३–३, लायम प्लेङकट र आदिल राशिदले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८६ रन बनायो । उसका लागि जेसन रोयले १४ चौका ५ छक्काको मद्दतमा १२१ बलमा १५३ रन बनाए ।

यस्तै, जस बटलरले ६४, जोनि बेयरिस्टोले ५१, कप्तान इओन मोर्गनले ३५, जो रुटकले २१, बेन स्टोक्स्ले ६, क्रिस ओक्सले नट आउट १८ र लियाम प्लेङकटले अविजीत २७ रनको योगदान दिए । बलिङमा बंगलादेशका मेहदी हसन मिराज, मोहम्मद सैफउद्दिनले २–२, मुस्तफिजुर रहमान र मुसरुफे मुर्तुजाले एक–एक विकेट लिए ।

पाँचथर हत्या : मृतक सबैको पहिचान खुल्यो (नामसहित)

पाँचथर, जेठ ७ । मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति हत्या गरिएका सबैको पहिचना खुलेको छ। वडाध्यक्ष हस्तराज फियाकका अनुसार हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूको रहेका छन् ।  घटनामा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । उनको हातमा चोट लागेको छ ।  मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । धनराज र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको वडाध्यक्ष फियाकले बताए।

प्रहरीमा ३० वर्षपछि ३० वर्षे सेवा अवधि कायम नरहने

काठमाडौं, जेठ ७ । नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा तयार भएको छ। गृह मन्त्रालयले तयार पारेको मस्यौदामा ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि कायम नरहने व्यवस्था गरिएको छ। प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गर्न बनेको ‘नेपाल प्रहरीको गठन तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ऐनका रुपमा लागू भएपछि भर्ना भएका प्रहरी कर्मचारीका हकमा मात्रै ३० वर्षे सेवा अवधि लागू नहुने विधेयकमा उल्लेख छ। यस्ता प्रहरी कर्मचारीका लागि उमेर हद वा पदावधिका आधारमा अवकाश पाउने प्रस्ताव गरिएको छ। प्रहरी संगठनभित्र ३० वर्षे सेवा अवधिको प्रावधान हटाउँदा आईजीपीमा पुग्ने सम्भावना भएका प्रहरी अधिकृत समस्यामा पर्ने भएका कारण सेवा अवधि हटाउने प्रावधान ३० वर्षपछि धकेलिएको छ। मस्यौदाको अवकाश, उपदान तथा निवृत्तिभरणसम्बन्धी व्यवस्थामा हाललाई ३० वर्ष सेवा अवधि कायमै राखिएको छ। मन्त्रिपरिषद्ले ‘नेपाल प्रहरीको गठन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ल्याउन गृह मन्त्रालयलाई तीन महिनाअघि नै स्वीकृति दिएको थियो। गृहका अनुसार मस्यौदा मन्त्रिपरिषदमा पठाउने तयारी भइरहेको छ। ‘लामो छलफलपछि विधेयक तयार भएको छ, केही दिनमै मन्त्रिपरिषदमा जानेछ,’ स्रोतले भन्यो। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

विदेशी एयरलाइन्सलाई कालोसूचीमा राख्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन

काठमाडौं, जेठ ६ । संघीय संसदको सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता नतिर्ने विदेशी विमान कम्पनीलाई कालोसूचीमा राख्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । प्राधिकरणका अधिकारीहरुले आफूहरुले लामो समयदेखि बक्यौता उठाउन पहल गरे पनि नसकेको बताएपछि समितिको आइतबार बसेको बैठकले उक्त निर्देशन दिएको हो । एयर एसिया र एयर इन्डियालगायतका अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले प्राधिकरणलाई करोडौँ रुपैयाँ बक्यौता तिर्न अटेर गर्दै आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

‘देशमा दिगो शान्ति र सुदृढ एकता अपरिहार्य छ’

काठमाडौं, जेठ ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न देशमा दिगो शान्ति र सुदृढ एकता प्रमुख शर्त भएको बताएकी छन् । २५६३औँ बुद्ध जयन्तीका अवसरमा उनले दिएको शुभकामनामा यस्तो व्यक्त गरिएको हो । विश्वभर छरिएर रहेका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी सबै समुदायमा शुभकामना दिँदैराष्ट्रपति भण्डारीले बुद्ध जयन्तीका अवसरमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प साकार पार्न सबैसँग हार्दिक आह्वान पनि गरेकी छन् । शुभकामनामा भनिएको छ, ‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’ राष्ट्रपतिले पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रका गौरव एवम् शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको यस दिनले सबैमा आपसी सहिष्णुता, सद्भाव, अहिंसा एवं विश्व शान्तिको अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री हकको निधन

एजेन्सी । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको ८९ वर्षको उमेरमा निधन भएको छ । हकका परिवारले बिज्ञप्ति निकालेर उनको घरमा मृत्यु भएको जनाएको हो । उनी लेबर पार्टीको तर्फबाट ३ कार्यकालसम्म अष्ट्रेलियाको प्रधानमन्त्री बनेका थिए । हक सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाका प्रधानमन्त्री बनेका थिए । स्वास्थ्य अवस्था राम्रो नभएकोले उनी २ दिनपछि हुनलागेको आमनिर्वाचनको प्रचारप्रसारमा पार्टीको तर्फबाट सहभागी बन्न सकेका थिएनन् । अहिले विपक्षमा रहेको लेबर पार्टीका नेता रहेको समयमा उनको नेतृत्वमा लेबरले ४ पटकसम्म जित हासिल गरेको थियो । उनी अष्ट्रेलियाका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुने नेताका रूपमा चिनिन्थे । अष्ट्रेलियालाई अन्तर्राष्ट्रियरुपमा ससक्त रुपमा चिनाउन महत्त्वपूर्ण भुमिका खेलेको श्रेय उनलाई दिइने गरिन्छ । उनले अष्ट्रेलियाको स्वास्थ क्षेत्रमा सर्वसाधारणलाई सहज र सुलभ पहुँच दिने मेडिकेयरको सुरुवात गरेका थिए । पछिल्लो समयमा सक्रिय राजनीतिबाट टाढै रहे पनि उनी लेबर पार्टीको संरक्षक मानिन्थे । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले उनको मृत्युले अष्ट्रेलियालाई ठूलो क्षति पुगेको बताएका छन् । उनले अष्ट्रेलियालाई महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै मरिसनले उनी देशको लागि अहोरात्र खट्ने र मनदेखि काम गर्ने नेता भएको बताए ।

भृकुटीमण्डपका व्यापारीसँग एक युनिट बिजुलीमा ११ रुपैयाँसम्म कमिसन

काठमाडौं, जेठ १ । २०७२ साल साउनबाट भृकुटीमण्डप क्षेत्रमा ‘डेडिकेटेड’ लाइन जडान गरियो । डेडिकेटेड लाइन सामान्य भन्दा केही महंगो हुन्छ र लोडसेडिङ, लो–भोल्टेज लगायतका समस्या रहँदैन । भृकुटीमण्डप क्षेत्रको सम्पुर्ण व्यवस्थापन समाज कल्याण परिषदले गरिरहेको छ। परिषदले व्यवस्थापन मिलाउन भृकुटीमण्डप संचालन कार्यालय नै खडा गरेको छ। भृकुटीमण्डप र आसपासका क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले २५० केभिए क्षमताको विद्युत उपलब्ध गराउँछ । जसको लागि प्राधिकरणले विजनेस आवरमा प्रति युनिट २२ रुपैयाँ ५० पैसा, नर्मल आवरमा २० रुपैयाँ ४० पैसा र अफ आवरमा ११ रुपैयाँ ४० पैसा निर्धारण गरेको छ। डेडिकेटेड लाइन जडान गरिएको ठाउँमा प्राधिकरणले स्मार्ट डिजिटल मिटरनै जडान गरेको हुन्छ। त्यसैगरी ‘पावर सर्भिसको’ लागि परिषदले मासिक ३३ हजार १ सय २५ रुपैयाँ थप बुझाउनुपर्ने हुन्छ। भृकुटी मण्डपको विद्युत महशुल औसत २२ रुपैयाँ भन्दा धेरै नपर्ने प्राधिकरणका एक कर्मचारीले जानकारी दिए । तर, समाज कल्याण परिषदले भने भृकुटी मण्डपमा व्यापार गरेर बस्ने ठूला–साना सबै व्यापारीसँग प्रति युनिट ३३ रुपैयाँ लिने गरेको छ। २०७५ सालमा परिषदको ४ लाख ७२ हजार ६ सय ६० युनिट बिजुली उठ्यो । औसत मूल्य २२ रुपैयाँको दरले हिसाब गर्दा विद्युत महशुल १ करोड ३ लाख ९८ हजार ५ सय २० हुन्छ तर परिषदले भने १ करोड ५५ लाख ९७ हजार ७ सय ८० रुपैयाँ उठाइसकेको छ। यो हिसावले परिषदले गत वर्ष मात्रै ५१ लाख ९९ हजार २ सय ६० रुपैयाँ अधिक उठाएको छ । परिषदले व्यापारीहरुसँग तिर्नुपर्ने भन्दा प्रतियुनिट ११ रुपैयाँसम्म धेरै महसुल लिने गरेको प्रस्टै देखिन्छ। मर्मतसम्भार लगायतको खर्चको लागि प्रधिकरणले लिने भन्दा केही बढी रकम उठाइएको समाज कल्याण परिषदका सूचना अधिकारी दुर्गा प्रसाद भट्टराईले बताए । ‘बेला–बेलामा मर्मतसम्भार गरिरहेका हुन्छौं । त्यस्तै ट्रान्सफर्मर बिग्रियो भने धेरै पैसा खर्च हुन्छ । त्यही भएर प्राधिकरणलाई तिर्नेभन्दा धेरै रकम उठाएका हौँ’ भट्टराइले भने। कुनै पनि सेवा प्रदायकले सरकारले तोकेभन्दा धेरै शुल्क लिनु गैरकानुनी भएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन् । ‘सरकारी कार्यालय होस् वा कोही ब्यक्ति होस, कानूनी राज्यमा सबै जना कानूनको अधिनमा हुनुपर्छ। त्यो भन्दा बाहिर गएर काम गरेमा त्यो भ्रष्टाचार हो,’ उनले भने ‘यदि टुटफुट, वा मेन्टेनेन्समा खर्च लाग्छ भने त्यसको छुट्टै हिसाव गरेर खर्च बाँड्नुपर्छ,।’ भृकुटीमण्डप सस्तो बजारमा जस्तै अब्यवस्थित बिजुली बितरण गरिएको ठाउँमा पनि मर्मत सम्भार र वायरिङको नाममा प्रतियुनिट ११ रुपैयाँसम्म उठाउनु उचित नभएको तिमल्सिनाले बताए । सेतोपाटीबाट

कामिरिताले बनाए नयाँ विश्व कीर्तिमान, २३ औं पटक सगरमाथाको आरोहण

काठमाडौ‌ं, जेठ १ । २३ औं पटक सगरमाथाको सफल आरोहण गरेर कामिरिता शेर्पाले नयाँ विश्व रेकर्ड बनाएका छन् । सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्बाधिक २२ औं पटकको विश्व किर्तिमानलाई तोडेका हुन्। पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेका हुन् । उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै यो राष्ट्रकै गौरवको कुरा भएको बताए । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्। बौद्ध धर्मअनुसार एक महिनाघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए । यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।

काम लागेन फखरको शतक, इंग्ल्याण्ड १२ रनले विजयी

काठमाडौं, वैशाख २९ । पाकिस्तानसँगको दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्ड १२ रनले विजयी भएको छ । इंग्ल्याण्डले दिएको ३७४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३६१ रन बनायो । उसका लागि फखर जमानले शतक प्रहार गरे पनि टिमलाई भने जिताउन सकेनन् । उनले ४ छक्का र १४ चौकाको मद्दतमा १०६ बलमा १३८ रन बनाए । यस्तै, बाबर आजम, आसिफ अलिले ५१–५१, कप्तान सरफराज अहमदले अविजित ४१ र हरिस सोहिलले १४ रन बनाए । बलिङमा इंग्ल्याण्डका डेबिड विल्ली, लिम प्लंकटले २–२, मोइन अलि र आदिल रशिदले एक–एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले पूरा ५० ओभरमा ३ विकेट गुमाउँदै ३७३ रन बनायो । उसका लागि जस बटलरले शानदार शतक प्रहार गरे । उनले ९ छक्का र ६ चौकाको मद्दतमा ५५ बलमा नट आउट ११० रन बनाए । यस्तै, जेसन रोयले ९८ बलमा ८७, कप्तान ओईन मोर्गनले अविजित ४८ बलमा ७१, जोनी बेयरस्टोले ४५ बलमा ५१ र जो रुटले ५४ बलमा ४० रन बनाए । बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदी, हसन अलि र यासिर शाहले एक–एक विकेट लिए । यो हारसँगै पाकिस्तान ५ खेलको सिरिजमा एक–शून्यले पछि परेको छ । आउँदो मे ३० देखि हुने एकदिवसीय विश्वकप अघि यी दुई टिमको यो अन्तिम सिरिज हो । 

विप्लव समूहका विद्यार्थी नेता ढकाल पक्राउ

काठमाडौं, वैशाख २७ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता चिरञ्जीवी ढकाल आज काठमाडौँको अनामनगरबाट पक्राउ परेका छन् । उक्त समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाललाई आज अनामनगरमा भएको एक कार्यक्रममा सरिक भएका बेला पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार ढकाल चन्दा आतङ्कमा सक्रिय हुँदै आएका छन् । विभिन्न विद्यार्थी सङ्गठनको कार्यक्रममा सहभागी भई निस्कने क्रममा पक्राउ गरिएको हो । यसअघि सरकारले विप्लव समूहको नेकपाका गतिविधि विध्वंसात्मक रहेको भन्दै उसका गतिविधिमा रोक लगाउने निर्णय गरेको थियो । महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौँ जिल्लाबाट अहिलेसम्म विप्लव समूहका ४३ जनालाई नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याइएको छ । देशभर गरेर कूल ३४३ जना विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परिसकेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।

आइपीएलः चेन्नईविरुद्ध सन्दीपको सम्भावना कति?

काठमाडौं, वैशाख २७ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत फाइनल प्रवेशका लागि आज तीन पटकको विजेता चेन्नई सुपर किंग्स र हालसम्म फाइनल प्रवेश गर्न नसकेको दिल्ली क्यापिटल्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि हैदरावादको विशखापटनम रगंशालामा हुँदैछ । आज खेल जित्ने टिम १२ मेमा हुने फाइनलमा मुम्बईसँग उपाधि भिडन्त खेल्ने छ ।  सन्दीपको सम्भावना कति?महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्सविरुद्ध पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाउने सम्भावना न्यून छ । दिल्लीले अघिल्लो खेलमा टिममा राखेका खेलाडीलाइ नै मैदानमा उतार्न सक्छ । यद्यपि, ट्रेन्ट बोल्टको स्थानमा अलराउन्डर क्रिस मोरिसलाई दिल्लीले टिममा समावेश गर्न सक्छ । मोरिस केही दिनअघि मात्र विश्वकपका लागि टिममा परेकाले उनी आफ्नो देश दक्षिण अफ्रिका फर्किएको अनुमान पनि गरिएको छ । यदि उनी स्वदेश फर्किएको भए बोल्टले नै मौका पाउन सक्छन् ।  दिल्लीले हैदरावादविरुद्धको इलिमिनेटर खेल पनि यही मैदानमा खेलेको थियो । जसमा स्पिनरले राम्रो प्रदर्शन गरेका थिए । यति हुँदाहुँदै पनि सन्दीपको सम्भावना कमजोर छ । अन्तिम खेलमा बलिङमा अमित मिश्रा, किमो पउल र इशान्त शर्माले राम्रो खेलेका थिए ।   

ललितानिवास प्रकरणमा राजदूत पौडेल पनि मुछिए

काठमाडौं, वैशाख २६ । बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एकसय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूतसमेत रहेका पौडेल पनि मुछिएका हुन् । सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिनेसम्बन्धी निर्णय तत्कालीन मुख्यसचिव पौडेलको समेत संलग्नतामा भएको हो । यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

आइपीएलः हैदरावादविरुद्ध क्विन्टनको अर्धशतक पूरा

काठमाडौं, वैशाख १९ । इन्डियन प्रिमियर लिग (आइपीएल) को ५०औं खेल अन्तर्गत सनराइजर्स हैदरावादविरुद्ध मुम्बई इन्डियन्सका ओपनर क्विन्टन डी ककले अर्धशतक पूरा गरेका छन् । उनले ५ चौका र एक छक्काको मद्दतमा ४८ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी आइपीएलमा डी ककको यो तेस्रो अर्धशतक हो । आज मुम्बईले घरेलु मैदानमा टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार मुम्बईको वाङखडे स्टेडियममा शुरु हुँदैछ । आजको खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । मुम्बई अंक तालिकामा तेस्रो स्थानमा छ । उसले १२ म्याचमा ७ खेल जितेर १४ अंक बटुलेको छ । आजको खेल मुम्बईले जीते प्लेअफमा पूग्ने तेस्रो टिम हुनेछ । यसअघि, दिल्ली र चेन्नई अन्तिम ४ मा पुगिसकेका छन् । लिग तालिकामा हैदरावाद १२ अंकका साथ चौंथो स्थानमा छ । जारी सिजनको पहिलो खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो । ६ अप्रिलमा राजिव गान्धी रंगशालामा भएको उक्त खेलमा मुम्बईसँग हैदरावाद ४० रनले पराजित भएको थियो । आइपीएलमा यी दुई टिमबीच हालसम्म १३ खेल भएका छन् । जसमा मुम्बईले ६ र हैदरावादले ७ खेलमा जीत निकालेको छ । वाङखडे स्टेडियममा मुम्बई–हैदरावाद ४ पटक भिडेका छन् । जसमा मुम्बईले ३ खेलमा जीत हासिल गर्न सफल भएको छ ।

आइपीएलः शतकबाट ३ रनले चुके कार्तिक, राजस्थानले पायो १७६ रनको लक्ष्य

काठमाडौं, वैशाख १२ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत राजस्थान रोयल्स विरुद्धको खेलमा कोलकाता नाइट राइडर्सले १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । होम ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनायो । उसका लागि कप्तान दिनेश कार्तिक बाहेक अन्यको प्रदर्शन सन्तोषजनक रहन सकेन । कार्तिकले राजस्थानविरुद्ध नट आउट ५० बलमा ९७ रन प्रहार गरे । त्यसक्रममा उनले ९ छक्का र ७ चौका लगाए । यस्तै, नितीश राणाले २१, शुभमन गिल, आन्द्रे रसेलले १४–१४, सुनिल नारायणले ११, कार्लोस ब्रैथवेटले ५ रन बनाउँदा क्रिस लिन शून्य रनमा आउट भए । बलिङमा राजस्थानका बरुन अरुणले २, ओशन थोमस, श्रेयस गोपाल र जयदेव उनदकटले एक–एक विकेट लिए । कोलकाता अंक तालिकामा १० म्याचमा ६ खेलमा हार र ४ खेलमा जीत निकाल्दै छैठौं स्थानमा रहँदा राजस्थान भने तालिकाको पुछारमा छ । उसले १० खेल खेल्दा ७ मा हार र ३ खेलमा मात्र जीत हासिल गर्न सफल भएको छ ।  दुबै टोलीलाई प्ले अफको आसा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । अन्यथा दुबै टोलीको अघिल्लो चरणको यात्रा कठिन बन्ने छ । कोलकाताको नेतृत्व दिनेश कार्तिक गरिरहेका छन् । यता, राजस्थानमा स्टीभ स्मिथ कप्तान छन् ।

कतारका राजदूतलाई सरकारले बोलायो फिर्ता

काठमाडौँ, बैशाख १२ । मन्त्रीपरिषद्को आजको बैठकले कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी कोइरालालाई फिरता बोलाइएको जानकारी दिएका हुन् । नेपाली कांग्रेसको कोटामा दुई वर्ष अघि राजदूत भएर गएका राजदूत कोइरालाको भूमिकाप्रति पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय असन्तुष्ट रहँदै आएको थियो । कसैले पूरा गरेनन् कार्यकाल सन् २०१२ यता कतारमा पठाइएको राजदूतहरुले आफ्नो पूर्ण कार्यकाल बिताउन पाएका छैनन् । यसअघि तत्कालीन सरकारले मायाकुमारी शर्मालाई वर्ष नबित्दै फिर्ता बोलाएको थियो । उनी तत्कालीन माओवादी कोटामा राजदूत बनेकी थिइन् ।

२० हजार घुससहित मालपोत कार्यालयका सहयोगी पक्राउ

काठमाडौं, वैशाख १२ । मालपोत कार्यालय रूपन्देही, भैरहवाको तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी घुससहित पक्राउ परेका छन् । चौधरीले सेवाग्राहीले निबेदन मार्फत सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी प्रतिलिपी उपलब्ध गराउने प्रयोजनको लागि घुस माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। अख्तियारलाई प्राप्त विशेष सूचना एवम् उजुरीको आधारमा आयोगको टोलीले चौधरीलाई २० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।