एनसेल बम काण्डमा अाराेपित विप्लव नेता पक्राउ
काठमाडौं, साउन १० । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोटमा संलग्न फरार एक व्यक्तिलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको छ ।
महानगरीय अपराध महाशाखा काठमाडौंको विशेष टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा ‘विप्लव’ समूहका युवा संगठन सदस्य भोजपुर निवासी दोर्जे भन्ने दोर्ची शेर्पालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाकाअनुसार उनले घटनास्थलमा मुख्य योजनाकारको भूमिका खेलेका थिए ।
उक्त दिन शेर्पाले एनसेल कार्यालयका सुरक्षागार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको सीसी क्यामेराबाट पत्ता लागेको थियो ।
घटनाका दोषीहरुलाई खोज्नेक्रममा काभ्रेको काफलडाँडामा प्रहरीले चलाएको ‘अपरेसन’बाटसमेत उनी उम्कन सफल भएको थापाले बताए ।
गत साल फागुन १० गते राति भएको बम विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतिक्षा खड्का र उरुषा मानन्धर घाइते भएका थिए ।
उक्त घटनामा ८ जनाको संलग्नता रहेकोमा सातजना यसअघि नै पक्राउ परिसकेका छन् ।
विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहको गतिविधि विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो ।
त्यसपछि प्रहरीले विप्लव समूहका सयौं नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ । रासस
हसिया प्रहार गरी बुवाको हत्या, आमाको अवस्था गम्भीर
धनगढी, साउन ६ । कैलालीमा छोराले हसिया प्रहार गर्दा बुवाको हत्या भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–११ का ५५ वर्षीय उदे रावतले गयराती हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार रावतले हसिया प्रहार गरी बुवाको हत्या गरेका हुन् । यस्तै हसिया प्रहारबाट रावतकी आमा नन्दा गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । उनलाई गयराती नै कोहलपुर रेफर गरिएको छ। हत्या गर्ने रावतलाई भने गयराती नै नियन्त्रणमा लिईसकेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। उनले घरायसी विवादका कारण आमाबुवामाथि धारिलो हतियार प्रहार गरेको बुझिए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
४ दिनदेखि बेपत्ता भएका इन्जिनियर भेटिए
सिमकोट, साउन १ । ४ दिनदेखि बेपत्ता भएका इन्जिनियर वसन्त रावत आज दिउँसो १२ बजे भेटिएका छन् । उनलाई अदानचुली गाउँपालिका वडा नम्बर तीनको मेल्चौरमा ढुङ्गामा बसेको अबस्थामा सिमकोटबाट खोजीमा गएको टोलीले भेटाएको हो । सिमकोटबाट खोजीमा गएको टोलीले सामान्य अबस्थामा भेटाएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । सामान्य अबस्थामा भेटिएका रावतको स्थानीय स्वास्थ्य चौकीमा जाँच गर्दा अबस्था सामान्य भएको र अहिले बोल्न नचाएको उनीसँगै काम गर्ने सव–इन्जिनियर जीवन रोकायाले बताए । ८ छाक खाना नखाएको कारण एकदम कमजोर अबस्थामा रहेकोले थप उपचारपछि उनलाई सिमकोट ल्याईने छ । जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतका छोरा समेत रहेका इन्जिनियरलाई खोजीका लागि आफन्तसहित सिमकोटबाट २० जनाको टोली त्यता लागेका थिए । ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम (आर.सि.आइ.डब्लु) मा कार्यरत रावत सदरमुकाम सिमकोटबाट ४४ कोष टाढा रहेको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा कार्यालयको कामका सिलसिलामा आईतबार बस्ने होटेलमा एक कप चिया बिहान खाएर निस्किएपछि हालसम्म सम्पर्कमा आएका थिएनन् । खोजीका लागि सिमकोटबाट हेलिकोप्टरमा दाई ज्ञानेन्द्र रावतको टोली पनि घटनास्थलतर्फ गएको थियो । यस अघि तीन दिनसम्म चारदेखि पाँच जनाको टोली बनाएर दशवटा टोली खोजीका लागि बस्ती, गोठ, खर्क, बन जंगल, ओढार लगायत सबैतिर परिचालन गरिएको थियो ।
अमेरिकी राष्ट्रपति विरुद्ध संसदमा खेद प्रस्ताव; ट्रम्पको अभिव्यक्ति ‘रंगभेदी’ भएको आरोप
काठमाडौँ, साउन १ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसदप्रति लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्ति ‘जातीय’ भएको भन्दै त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले साङ्केतिक रूपमा निन्दा गर्दै खेद प्रस्ताव पारित गरेका छन् । सांसदहरूले उक्त अभिव्यक्ति ‘रंगभेदी’ भएको र त्यस्ता अभिव्यक्ति अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले शृङ्खलावद्ध रूपमा ट्वीट गर्दै चार जना प्रतिपक्षी डेमोक्र्याट सांसदहरूलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै पुरानै स्थानमा फर्किन भनेका थिए । ट्रम्पले भने आफ्नो भनाइ विभेदकारी नभएको भन्दै बचाउ गर्दै आएका छन्। उक्त प्रस्तावमा ट्रम्पको अभिव्यक्ति विभेदकारी भएको र त्यसले डर एवम् घृणालाई वैधता दिएको संसदको मत छ। ट्रम्पकै पार्टीका सांसद उभिए उनको विपक्षमा विपक्षी डेमोक्र्याटका सबै सांसदले उक्त प्रस्तावको पक्षमा मतदान गरेका थिए। उनीहरूले सत्ताधारी रिपब्लिकन दलका समेत चार जना सांसदको समर्थन प्राप्त गरेका थिए। उक्त निन्दा प्रस्तावमा भनिएको छ: ट्रम्पका रङ्गभेदी प्रतिक्रियाले मानिसहरूको रङ्ग र नवअमेरिकीहरूमाथिको भय एवम् घृणालाई प्रश्रय दिएको छ। ट्रम्पले कसैको पनि नाम नलिए पनि पछिल्ला घटनाक्रमहरूको सन्दर्भमा उनले कसको बारेमा कुरा गरिरहेका छन् भन्ने कुरा प्रस्ट भएको थियो। अनवरत आलोचना ट्रम्पको भनाइको विपक्षी दलका नेताहरूले चर्को आलोचना गर्दै आएका छन्। रिपब्लिकन पार्टीका केही सदस्यहरूले मात्र टिप्पणी गरे पनि सिनेटर सुजन कोलिन्सले भने ट्रम्पको अभिव्यक्ति अस्वीकार्य रहेको भनेकी छन्। पछिल्लो राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिद्वन्दी रहेकी हिलरी क्लिन्टनले समेत अमेरिकाका सीमामा रहेका थुनुवा केन्द्रमा व्याप्त अमानवीय अवस्थाबारे ध्यानाकर्षण गरेकाले ती सांसद्हरूमाथि आक्रमण गरिएको बताएकी छन्। ती सांसदहरूले स्वास्थ्यसेवा, बन्दुकजन्य हिंसा र मेक्सिकोको सीमामा आप्रवासीहरूलाई बन्दी बनाइएका जस्ता विषयमा ध्यान केन्द्रित गरिनुपर्ने धारणा व्यक्त गरेका थिए। ट्रम्पले निसाना बनाएका एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब, आयान्ना प्रेस्ली र इल्हान ओमर फरक जातीय पृष्ठभूमिबाट आएका हुन्। ओमर बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् भने अरू तीन जना अमेरिकामै जन्मेहुर्केका हुन्। उनीहरू चारै जना २०१८ मा सांसद निर्वाचित भएका हुन्। ट्रम्पले भने उक्त भनाइको बचाउ गर्दै आफूमा विभेदकारी भावना नरहेको बताएका छन्। मतदानअघि तल्लो सदनकी सभामुख न्यान्सी प्यालोसीले ट्रम्पका भनाईलाई अपमानजनक र घृणित भनेकी थिइन्। बिबिसी
बाढी–पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा
काठमाडौं, साउन १ । वर्षा र बाढीका कारण अवरुद्ध भएका धेरैजसो सडक खुलेका छन् । सिन्धुली, रामेछाप, भोजपुर, धनकुटा, ओखलढुङ्गा, रौतहट, महोत्तरी, मुस्ताङ, मनाङ, पाल्पा, कालीकोट लगायतका ठाउँमा अवरुद्ध भएका धेरैजसो सडक खुलेका हुन् । पूर्व–पश्चिम राजमार्गको महोत्तरीमा पर्ने भप्सी खोलाको पुल भत्किएर अवरुद्ध भएको सडक नयाँ डाइभर्सनमार्फत् सञ्चालनमा आएको छ । त्यहाँ तत्काल नयाँ बेलिब्रिजसमेत जडान गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ । यस्तै, मुस्ताङको थासाङ घोप्टेभीरमा कालीगण्डकी नदीले सडक बगाउँदा अवरुद्ध बेनी–जोमसोम सडकमा पनि एकतर्फी रुपमा आलोपालो गरी गाडी चल्न थालेका छन् । पृथ्वी राजमार्गमा र त्रिभुवन राजपथमा कतै पनि सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ । काठमाण्डौबाट सिस्नेरी र फाखेल हुँदै हेटौँडा जाने बाटो भने अझै सञ्चालनमा आउन सकेको छैन । यो बाटो पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रौतहट र महोत्तरीका सडकमा पनि पानीको मात्रा घट्दै गएपछि बाटो खुलेको छ । अवरुद्ध बीपी राजमार्गमा पनि यातायात सञ्चालनमा आएको छ । मध्यपहाडी राजमार्गको सिन्धुली क्षेत्रमा बहादुरे खोला, सोलु खोला र खाङसाङ खोलामा आएको पहिरोले पहिरोले अवरुद्ध राजमार्ग पनि सञ्चालनमा आएको छ । ओखलढुङ्गाको सिद्धिचरण राजमार्गमा पनि अवरोध हटाउने काम भइरहेको सडक विभागले जानकारी दिएको छ । यस्तै, बुटवल–पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा भने अझै गाडी चल्न सकेका छैनन् । यसैबीच काठमाण्डौसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार ठाउँमा एक्रोब्रिज तयारी अवस्थामा राखेको छ । प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर काठमाण्डौसँग सम्पर्क टुट्न नदिनेगरी तयारी भैरहेको सेनाले जनाएको छ । सेनाका अनुसार काठमाडौंको थानकोट, धादिङको बैरेनी, चितवनको भरतपुर र बाराको जीतपुरमा एक्रोबिज तयारी अवस्थामा राखिएको हो । बाढी पहिरोले सडक भत्किएको ठाउँमा एक्रोबिज राखेर गाडी चलाउन सकिने सेनाको भनाइ छ ।
बिहार जलमग्न भएपछि कोसी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब
विराटनगर, असार २८ । लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन्। भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए। वर्षा निरन्तर जारी रहेकाले सप्तकोसीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ। यसैबीच आज प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।
सिङ्गो बस्तीमा झाडापखाला
पाल्पा, असार २८ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेको सिङ्गो बस्तीमा झाडापखालको प्रकोप फैलिएको छ । साविक सिद्देश्वर गाविसको वडा नम्वर २ र ३ अर्चलेका एउटै खानेपानीको मुहान प्रयोग गर्ने सबै स्थानीयवासी झाडापखालाका बिरामी बनेका हुन् । तल्लो घाटाखोलाको पानी प्रयोग गर्ने सबै ५३ जनामा झाडापखाला फैलिएको हो । रैनादेवी छहरा गाउँपालिका–१ का वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार दूषित पानीका कारण झाडापखालाबाट बिरामी परेका हुन् । दुई जनाको बिरामी तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । केही बिरामीको गुल्मी क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको वडाध्यक्ष दर्लामीले बताए । चार दिनदेखि पखाला, बान्ता, ज्वरो आउने लक्षण बिरामीमा देखिएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार गराए पनि झाडाबान्ताका बिरामी बढ्दो छन् । जिल्ला अस्पताल पाल्पाका चिकित्सक गगन अधिकारीको नेतृत्वमा छ स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । शुक्रबार ५ बजेसम्म ३० जनाको स्वास्थ्य परीक्षण गर्ने काम सम्पन्न भएको महामारी नियन्त्रण पाल्पाका फोकलपर्शन ईश्वरी न्यौपानेले जानकारी दिइन्। चार दिनदेखि झाडाबान्ताग्रस्त बने पनि स्वास्थ्य कार्यालय, रैनादेवी छहरा गाउँपालिकाको बेवास्ताका कारण समयमा उपचार पाउन नसक्दा थप समस्या हुन पुगेको स्थानीयवासीको गुनासो रहेको छ । जिल्लाको स्वास्थ्यको टोलीमा जनप्रतिनिधि, प्रहरी अहिले प्रभावित क्षेत्रमा पुगेर बिरामीको उद्धारमा जुटेको वडाध्यक्ष दर्लामीले बताए । रासस
मलेसियालाई तेस्रो झड्का, बसन्तलाई पहिलो सफलता (LIVE)
काठमाडौं, असार २८। मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर बलिङको मौका पाएका नेपालले तेस्रो विकेट लिएको छ । नेपाललाई तेस्रो सफलता दिलाउने क्रममा बसन्त रेग्मीले विरन्दीप सिंहलाई ५७ रनमा आउट गरे । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले एकएक विकेट लिइसकेका छन् । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका? पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी । https://www.youtube.com/watch?v=gG0UnRsWObA
आईजिपी खनालद्वारा उद्दारमा लाग्न सशस्त्र प्रहरीलाई निर्देशन
काठमाडौं, असार २८ । सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनालले वर्षाका कारण समस्यामा परेका जनताको उद्दारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । देशैभरि लगातार परेको वर्षाका कारण कैयन् बस्ती डुबानमा पर्नुका साथै बाढी र पहिरोले जनजीवत अस्तव्यस्त बनेको बेला महानिरिक्षक खनालले उद्दारका सबै पहल गर्न निर्देशन दिएका हुन् । खनालले डुबानमा परेका जनतालाई उद्दार गर्न तथा मानवीय राहत एवं सहायताको पहल गर्न सबै ईकाईहरुलाई निर्देशन दिएको मुख्यालयले जनाएको छ । सशस्त्र प्रहरी मुख्यालयका अनुसार, तराई तथा पहाडका सबैजसो जिल्लामा सशस्त्र प्रहरिले बाढीमा फसेका जनताको उद्दार, प्राथमिक उपचार सहायता, राहतका साथै बाटो पन्छ्याउने समेतका कार्यमा सक्रियता देखाएको छ । यसअघि देशका विभिन्न क्षेत्रमा हावाहुरिपछिको प्राकृतिक विपदको बेफा समेत सशस्त्र प्रहरिले उद्दार र मानवीय सहायतामा सक्रियता देखाएको थियो । यस वर्ष मनसुन सक्रिय भएपछि देशका विभिन्न स्थानमा भारी वर्षाका कारण एक दर्जन बढीको मृत्यु भएको छ भने हजारो जनता डुबानमा परेका छन् ।
बस खोलामा खस्यो, २९ जनाको मृत्यु, दर्जनौं घाइते
लखनऊ, भारतको उत्तरप्रदेशस्थित यमुना एक्सप्रेसवे मा शनिबार बिहानै बस अनियन्त्रित भई खोलामा खस्दा २९ जनाको मृत्यु भएको छ । भास्कर दैनिकका अनुसार, घटनामा २० भन्दा बढी व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ । घटना उत्तरप्रदेशको आगराबाट ९ किलोमिटर दूरीमा रहेको एत्मादपुरमा भएको थियो । मृतकहरुमा २८ जना पुरुष र २ जना महिला रहेका छन् । जनरथ सेवाको बस लखनउबाट दिल्लीतर्फ जाँदै गरेको थियो । बसमा ५० बढी यात्रु रहेका थिए । क्रेनको मद्दतले बसलाई खोलाबाट निकालिएको छ । तीब्र गति र चालक उँघेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
नेकपामा राजनीतिक दस्तावेजमा सहमति
काठमाडौँ, असार २३ । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले एक वर्षदेखि थाँती राखेको राजनीतिक दस्तावेजमा सहमति जुटाएको छ । प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भएको छलफलबाट दस्तावेजमा सहमति जुटेको हो । अध्यक्ष प्रचण्डले राजनीतिक दस्तावेजमा सहमति भएको र सोमबार नै प्रकाशनमा समेत जाने जानकारी दिएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले भने, ‘एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ । एक वर्षदेखि पूर्णरूपले सहमति भएर पनि प्रकाशनमा नआएको राजनीतिक प्रतिवेदन टुङ्ग्याएका छौँ र भोलि प्रकाशनमा जाँदै छ ।’ उनले भने, ‘राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, सिद्धान्त, सङ्गठनात्मक नीति र विधि कुन आधिकारिक हो, कुन नेताले के भनेको हो, कुन पार्टीको लाइन हो, कुन होइन त्यसमा ‘कन्फ्युज’ थियो । त्यो ‘कन्फ्युजन’ हटेको छ ।’ उनले राजनीतिक दस्तावेज प्रकाशन भएर सबैको हातहातमा जाने बताउँदै सबैले अध्ययन गरेपछि आएको प्रतिक्रियाका आधारमा पुनः सच्याउन सकिने धारणा राखे । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुन लाग्दा एकीकरणको मूल दस्तावेज राजनीतिक प्रतिवेदन तयार गर्न तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाएपछि त्यसैको आधारमा जेठ ३ गते एकता घोषणा भएको थियो । त्यति बेला पनि राजनीतिक दस्तावेजमा केही असहमति थियो तर पछि मिलाउँदै जाने भन्दै एकीकरण घोषणा भएको थियो । एकीकरण भएको एकवर्ष बित्दा पनि राजनीतिक प्रतिवेदन प्रकाशनमा नआउँदा पार्टी पङ्क्तिबाटै आवाज उठ्न थाल्यो । त्यसपछि पार्टीको बैठकमा प्रतिवेदनको बारेमा कार्यसूचीकै रूपमा बहस हुन थाल्यो । जेठ २० देखि २२ गतेसम्म बसेको पार्टीको सचिवालय बैठकमा नै राजनीतिक प्रतिवेदन विषयमा टुङ्गो लगाउने प्रयास भएको थियो । तर, त्यहाँ सहमति बन्न नसकेपछि अध्यक्षद्वय ओली र प्रचण्डलाई बैठकले जिम्मेवारी सुम्पेको थियो । झन्डै एक महिनाको गृहकार्यपछि त्यसलाई उनीहरुले टुङ्ग्याएका हुन् । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन टुङ्गो लगाएर धेरै ठूलो काम भएको बताउँदै आउने महाधिवेशन पार्टीको एकता महाधिवेशन हुने बताए । महाधिवेशनबाट हुने नेतृत्व चयनलगायतका अन्य गतिविधि सबै सहमतिमा हुने प्रस्ट पार्दै उनले महाधिवेशनपछि जरुरी पर्दा पार्टीभित्र प्रतिस्पर्धा हुनसक्छ तर महाधिवेशनअघि कुनै प्रतिस्पर्धा नहुने स्पष्ट पारे । उनले पार्टी एकीकरण हुँदा नै यस्तो सहमति भएकोसमेत स्मरण गराए । उनले पार्टीको एकता अझै पूर्ण नभएको, अझै सङ्क्रमणकालीन अवस्थामा रहेको चर्चा गर्दै कर्मचारीको यो एकता महाधिवेशनले एकीकरण टुङ्ग्याउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे । गोरखापत्रदैनिकबाट
डोटीमा जीप दुर्घटनाः ६ घाइते, दुई जनाको अवस्था गम्भीर
काठमाडौं, असार १६ । डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्। जिल्लाको आदर्श गाँउपालिकाबाट सायल जादै गरेको से १ च ९१७ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाईते भएको प्रहरीले जनाएको छ। गाउँपालिकाको वडा नम्बर ७ साईली गाड नजिक पर्ने गजेडा भन्ने स्थानमा भएको जीप दुर्घटनामा परी सायल गाउँपालिका १ का २७ वर्षीय राजु दमाई, १५ वर्षीया बाटुली नेपाली, टीका नेपाली रहेका छन्। यस्तै आदर्श गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय रमेश नेपाली, सोही ठाँउको सातलाका १२ वर्षीय महेश नेपाली, वडा नम्बर ६ गिरि चौकका चालक कटक सिलाल पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। चालक सिलाल र बाटुलीको अवस्था गम्भीर रहेको उनले बताए। घाईतेहरुलाई उपचारका लागि दिपायलको शैलेश्वरी अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक धामीले बताएका छन्। तर उनीहरुलाई अस्पताल भने पुर्याईएको छैन्। जीप सडकबाट ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा एकको मृत्यु, एक घाइते
चितवन, असार १६ । नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी रहेका छन् । घाइते हुनेमा सिन्धुली वुलन्जुका ३५ वर्षीय मुरारीप्रसाद बराल रहेका छन् । घाइते बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बरालको अवस्था गम्भीर रहेको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख २६५९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका–२९ खहरे पुलमा आइतबार राति एकापसमा ठक्कर खाएको हो । ठक्कर खाँदा मोटरसाइकल चालक चौधरीको घटनास्थलमानै मृत्यु भएको हो । रासस
कस्तो छ तपाँइको आजको दिन ? हेर्नुस राशिफल
काठमाडां, असार १५ । आइतबार। इ.स. २०१९ जुन ३०। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। त्रयोदशी, २७ः२८ उप्रान्त चतुर्दशी।उपप्रा। लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्मविश्वासको कमीले पछि परिनेछ। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादले व्यर्थैमा मानहानि गराउनेछ। आजको श्रमबाट पछिलाई लाभ हुनेछ। तर गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो त्बगचगकनयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरू जुट्नाले चिताएको काम छिटै सम्पादन हुनेछ। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्नेछ। बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ। मनोरञ्जनमा अलमलिनाले काममा पछि परिनेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायिक यात्रा गर्नुपर्ने हुन सक्छ। भौतिक साधनको कमीले पनि आँटेको काममा विलम्ब हुनेछ। धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। तर आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। लगानीतर्फ लागत बढ्नेछ। पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ। प्रतिस्पर्धीहरू बाट सावधान रहनुहोला। मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य(चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। नयाँ काम थाल्न शुभचिन्तकहरूले साथ दिनेछन्। कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा विशेष सजगता अपनाउनुहोला। बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ। ईर्ष्यालु मन भएकाहरूले अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला।
चीनले भन्यो, निर्यातमा नयाँ शुल्क नलगाउन अमेरिका तयार
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप शनिवार जापानको ओसाका में जी शिखर सम्मेलनमा इतर सऊदी अरबको क्राउन प्रिंस मोहम्मद बिन सलमान संग बैठक बसे । ट्रंपले मोहम्मद बिन सलमानको तारीफ गर्दै भनेकि उनी शानदार काम गरिरहेका छन्। आउ नजर राखौं, शिखर सम्मेलनको कार्यक्र, बैठक र गतिविधिको अपडेटमा ।।। हाइलाइट्स- चीनले भन्यो अमेरिका उसको निर्यातमा नयाँ शुल्क नलाउने भएको छ। यो चीनको आधिकारिक मीडियाले जानकारी दिएको हो । भारतका विदेश मंत्री एस जयशंकरले जापानका विदेश मंत्री तारो कोनो संग द्विपक्षीय कुराकानी गरेका थिए
चीनसँग वार्तापछि ट्रम्पको अप्रत्यासित ट्विट- ‘त्यहाँ किम पनि भइदिए भने…’
काठमाडौं, शनिबार बिहान चीनका राष्ट्रपतिसँग वार्ता भएपछि डोनाल्ड ट्रम्पले उत्तर कोरियाली राष्ट्रपतिसँग अप्रत्यासित वार्ता प्रस्ताव गरेका छन् । ट्विटरमा लेख्दै ट्रम्पले उत्तर कोरियाका राष्ट्रपतिलाई कोरियामैं वार्ताका लागि बोलाएका हुन । उत्तर कोरियाले भने यसलाई निकै चाखलादो सुझावका रुपमा प्रतिक्रिया दिएको छ । जी २० देशहरुको सम्मेलनका क्रममा चीनसँग वार्तालगत्तै ट्रम्पले दक्षिण कोरिया भ्रमणका क्रममा दुबै देशको सीमानामा किमलाई बोलाएका हुन । आफूले दक्षिण कोरियाका राष्ट्रपतिसँग भेटने कार्यक्रम रहेको बताउँदै ट्रम्पले त्यो अवसरमा किम पनि आइदिए जाति हुने बताएका छन् । जापानको ओशाकामा भइरहेको सम्मेलनमा दुई मिनेटका लागि भएपनि किमसँग कुरा गर्न पाए राम्रो हुने बताएका हुन । ट्रम्पको ट्विटको केही घण्टामा नै उत्तर कोरियाका प्रथम उप विदेश मन्त्री कोइ सन हुईले यसलाई चाखलाग्दो सुझाव बताएका छन् । “तर हामीले आधिकारिक प्रस्ताव पाएका छैनौं ।” उनले भनेका छन् । दक्षिण कोरियाले भने यो भेटका बारेमा कुनै कुरा निश्चित नभएको बताएका छन् ।