राेशनीकाे फेरियाे बाेली: त्याे राती काेठामा काेही आएन, सबै आराेप रिसकाे झाेंकमा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले ‘जवरजस्ती करणी’ गरेकाे आराेप लगाएकी राेशनी शाहीले बयान फेरेकी छिन ।

नागरिक खबर अनलाईनले राेशनी शाहिले भिडियाे अन्तर्वार्तामार्फत आफ्नाे पूर्व भनाईकाे खण्डन गरेकाे जनाएकाे छ ।

समाचार अनुसार, उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् ।

नागरिकखबरलाई भिडियो अन्तर्वार्ता दिएकी उनले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेका छिन् । ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिले काँही बीपी चेक गराउँदा भेट हुने हो’, उनले भनिन्, ‘अहिले त धेरै भयो भेट पनि नभएको ।’

समाचारमा शाहीकाे भनाई छ, ‘उहाँ (महरा) मेरो बाउ समानको मान्छे हो । उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन । मैले रिस उठेको बेलामा के के भने यी सब निराधार हुन् । त्यसमा कोही पनि भ्रममा नपर्नु होला’, उनले भनिन्, ‘मैले रिस उठ्दा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएछन् ।’

उनले महराले कर्मचारी समायोजनमा चाहेको ठाउँमा नभएको नआत्तिन भनेर फोन गरेको प्रष्ट पारिन् । ‘पछिल्लो समय मलाई कर्मचारी समायोजनमा नमिलेपछि बेस्सरी रिस उठिरहेको थियो । त्यसै झोंकमा मैले के के भने ती सबै गलत हुन्’, शाहीले भनिन्, ‘महरा सरले फोन त गर्नुभएको हो । उहाँले तिमिहरु कोही पनि आत्तिनु पर्दैन । चिकित्सकदेखि सबैको समायोजनमा म मिलाउने प्रयास गर्छु भनेर सम्झाउन फोन गर्नुभएको हो ।’

शाहीले आफूले विगत आठवर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको बताइन् । ‘म आठ वर्षदेखि डिप्रेसनमा छु । आमाको निधनपछि डिप्रेसनमा छु । नियमति औषधि सेवन गरिरहेको छु’, उनले भनिन् ।

दैनिक उपभोगका वस्तुको भाउ ह्वात्तै बढ्यो

काठमाडौं । दैनिक उपभोगका वस्तुको बजार भाउ ह्वात्तै बढेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार साउनमा दैनिक उपभोक्ताले प्रयोग गर्ने वस्तुको मूल्य वृद्धिदर करिब ७ प्रतिशत छ । यो दर पछिल्ला तीन वर्ष यताकै उच्च हो । ०७१र७२ भदौमा यस्तो वृद्धिदर करिब ८ प्रतिशत थियो । गत वर्ष साउनमा मूल्य वृद्धिदर करिब ४ प्रतिशत थियो । उपभोक्ताले वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको अनुभव गरे पनि सरकारी तथ्यांकमा देखिएको थिएन । सरकारी तथ्यांकमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम नै देखाइने गरिएको थियो । मूल्य वृद्धिदर उच्च हुँदा उपभोक्ता मर्कामा पर्छन् नै, सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा पनि असर गर्ने विज्ञ बताउँछन् । यो वर्ष सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । मूल्य वृद्धि हुँदा कच्चा पदार्थ र श्रमिकको ज्यालालगायतले निर्माण महँगो हुने विज्ञहरूको तर्क छ । अघिल्ला वर्षहरूमा मुद्रास्फीति दर तल्लो तहमा रहेकाले सरकारलाई सहज थियो । बजारमा फलफूल तथा तरकारीको मूल्य तथा मजदुरको ज्यालादर वृद्धि र भारतीय प्रभावले नेपालमा मूल्य वृद्धिदर बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘गत साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ८।०२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धि ६।१२ प्रतिशतले बढेको छ,’ उनले भने, ‘खाद्य तथा पेय पदार्थ समूहमा पर्ने तरकारी, फलफूल, मसला र मासु तथा माछा वस्तुको मूल्य धेरैले बढेको देखिन्छ ।’ भारतमा मूल्य वृद्धि धेरै रहेकाले नेपालमा पनि त्यसको प्रभाव परेको भट्टले बताए । ‘नेपाल र भारतबीच स्थिर विनिमय दर र ठूलो परिणाममा वैदेशिक व्यापार रहेकाले भारतीय बजारको प्रत्यक्ष प्रभाव घरेलु बजारमा पर्दै आएको छ,’ उनले भने । प्रतिवेदनका अनुसार गत साउनमा भारतमा मूल्य वृद्धिदर ३।२१ प्रतिशत मात्र छ । ०७५ साउनमा भारतमा यस्तो वृद्धिदर ३।७ प्रतिशत थियो । राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत साउनमा तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि औसत ६।८५ प्रतिशतले बढेको छ । त्यही अवधिमा गैरखाद्य तथा सेवा समूहमा रहेका घरायसी उपयोगीका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षाको मूल्य वृद्धिदर २।२१ प्रतिशत मात्र छ । प्रतिवेदनले उपत्यका बाहिरभन्दा काठमाडौं उपत्यकामा मूल्य वृद्धिदर धेरै रहेको देखाएको छ । अघिल्ला वर्षमा काठमाडौं उपत्यकाभन्दा मोफसलमा मूल्य वृद्धिदर उच्च रहँदै आएको थियो । ‘काठमाडौं उपत्यकामा औसत मूल्य वृद्धिदर ८।६३, तराईमा ६।४६, पहाडमा ५।९२ र हिमालमा ५।५७ प्रतिशत छ,’ प्रतिवेदनले औंल्याएको छ, ‘०७५ साउनमा काठमाडौं उपत्यकामा ३।४९, तराईमा ४।१४, पहाडमा ५।२६ प्रतिशत र हिमालमा २।७४ प्रतिशत मूल्य वृद्धिदर थियो ।’ राष्ट्र बैंकका अनुसार गत साउनमा वार्षिक विन्दुगत थोक मूल्य वृद्धिदर ७।०२ प्रतिशत छ । अघिल्लो वर्षको त्यही अवधिमा यो ६।४० प्रतिशत थियो । ‘समीक्षा अवधिमा प्राथमिक वस्तु, इन्धन तथा ऊर्जा र उत्पादित वस्तु समूहको थोक मूल्य वृद्धिदर क्रमशः १३।१० प्रतिशत, ६।५९ प्रतिशत र ३।४५ प्रतिशत छ,’ प्रतिवेदनमा छ, ‘प्राथमिक खाद्य वस्तु, इन्धन, लत्ताकपडा, यातायात उपकरण तथा पार्ट्स उपसमूहको थोक मूल्य वृद्धि उच्च छ ।’ शोधनान्तर बचत गत आर्थिक वर्षका सबै महिना ऋणात्मक रहेको भुक्तानी सन्तुलन (शोधनान्तर) यो वर्षको पहिलो महिनामै बचतमा छ । मुलुक भित्रिने र बाहिरिने मुद्राको अवस्था मापन गर्ने सूचक शोधनान्तर हो । मुलुकबाट बाहिरिने भन्दा भित्रिने रकम धेरै भए शोधनान्तर बचतमा हुन्छ । बाहिरिनेभन्दा भित्रिने रकम कम भए शोधनान्तर घाटामा हुन्छ । गत आर्थिक वर्षका सबै र अघिल्लो आर्थिक वर्षको असोज, कात्तिक र असारबाहेक सबै महिनामा शोधनान्तर ऋणात्मक थियो । राष्ट्र बैंकका अनुसार गत साउनमा शोधनान्तर ६ अर्ब ५ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा यो २४ अर्ब ७७ करोडले घाटामा थियो । ‘अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ५० लाखले घाटामा रहेकामा समीक्षा अवधिमा ५ करोड ४२ लाखले बचतमा छ,’ राष्ट्र बैंकले भनेको छ । यो अवधिमा आयात वृद्धिदर घटेको, विदेशी ऋण करिब ११र१२ अर्ब रुपैयाँले बढेको र रेमिट्यान्स वृद्धिदर सकारात्मक रहेकाले शोधनान्तर स्थिति बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर स्थितिमा सुधार भएपनि चालु खाता घाटामा भने सुधार आउन सकेको छैन । राष्ट्र बैंकका अनुसार गत साउनमा चालु खाता ९ अर्ब ३७ करोडले घाटामा छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो घाटा २५ अर्ब १६ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८ करोड ४० लाखले घाटामा छ । कान्तिपुर दैनिकबाट साभार

‘हल्ला’को भरमा इन्डोनेसियामा हिंसात्मक आन्दोलनः २७ को मृत्यु

एजेन्सीः इन्डोनेसियाको पश्चिमी पपुआमा भएको पछिल्लो हिंसात्मक आन्दोलनमा मृत्यु हुनेको संख्या २७ पुगेको छ । सोमबार आन्दोलनकारीहरुले कयौं घरहरुमा आगजनी गरेका छन् । कम्तिमा पनि २३ जनाको क्षेत्रीय राजधानी वामेनामा मृत्यु भएको छ । जसमा केही आगजनी गरिएका घरभित्रै फसेको बीबीसीले जनाएको छ । उक्त आन्दोलन एकजना शिक्षकले जातीवादी प्रतिक्रिया दिएको भन्दै त्यसविरुद्ध सुरु भएको आन्दोलनले हिंसाको रुप लिएको हो । तर, प्रहरीले उक्त आरोप ‘हल्ला’ मात्र भएको बताएको छ । अगस्टदेखि नै उक्त क्षेत्र अस्थिर बनेको थियो र सोमबार हिंसाको रुप लिएको हो । घाइतेहरुको खोजी भइरहेकोले मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । त्यसैगरी अर्को एक घटनामा चारजनाको मृत्यु भएको छ । जम्मा गरी मृत्यु हुनेको संख्या २७ पुगेको हो । उक्त प्रान्तको अर्को क्षेत्र जयपुरामा विद्यार्थीको हुलले प्रहरी तथा सेनामाथि ढुंगा प्रहार गर्दा उक्त घटना भएको थियो । अगस्टमा जातिवादी प्रतिक्रिया दिएको आरोपमा सुरु भएको आन्दोलन केही दिन शान्त भए पनि फेरि आन्दोलनले हिंसात्मक मोड लिएको हो । अघिल्लो पटक भएको आन्दोलनका क्रममा नेश्नालिस्ट समूहले पपुआ विश्वविद्यालयका विद्यार्थीले इन्डोनेसियाको स्वतन्त्रता दिवसको दिन झण्डा च्यातेपछि उनीहरुलाई ‘बाँदर’, सुँगुर, र कुकुरको संज्ञा दिइएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीबाट सिक्नुपर्ने कुरा अनुशासन– अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपाका अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको पार्टी अनुशासनबाट नेपालका कम्युनिष्टहरुले शिक्षा लिनुपर्ने बताएका छन्। सोमबारबाट सुरु भएको विचारधारात्मक छलफल कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्। चिनियाँ कम्युनिष्ट पार्टीका अनुभवहरुबारे नेकपाका नेता कार्यकर्ताबीच बहसका लागि आयोजना गरिएको कार्यक्रममा प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीसँग ९ करोड पार्टी सदस्य भएको र त्यहाँको उच्च अनुशासन विश्वकै लागि नमूना भएकोसमेत उल्लेख गरेका छन्। प्रचण्डले आफ्नो सम्वोधनमा नेपाल र चीनको सम्वन्ध १६ सय वर्ष पुरानो रहेकोमा जोड दिँदै भृकुटीदेखि स्थापित नेपाल–चीन सम्वन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनले सन् १९५५ मा नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापित भएयता सधैं अहस्तक्षेप, सार्वभौम समानता, मित्रता र असल छिमेकीको सम्वन्ध रहेकोसमेत स्मरण गरेका छन्। प्रचण्डले सम्वोधनमा एक चीन नीतिप्रति नेपालको प्रतिवद्धता फेरि दोहोराएका छन्। उनले बिआरआइले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरमा जोड्न र समृद्धिको कडीका रुपमा स्थापित गर्न सहयोग पुग्नेसमेत विश्वास व्यक्त गरेका छन्। प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको समृद्धि र समाजवादको बाटोप्रति नेकपाको ऐक्यवद्धता जाहेर गरेका छन्। ९ करोड पार्टी सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीले अन्तरपार्टी जनवाद र अनुशासनका क्षेत्रमा हासिल गरेको सफलता विश्वभरिकै कम्युनिष्टका लागि सिक्नलायक भएको उनको तर्क छ। ‘चिनियाँ शैलीको समाजवादबाट हामीले के सिक्न सक्छौं भन्ने कुरा विज्ञहरुबाट आउनेछ’ प्रचण्डले भनेका छन्। उनले बिना शत्रुता समाजवादको जग हाल्ने नीतिबाट नेपालले प्रशस्त शिक्षा लिनसक्ने समेत उल्लेख गरेका छन्। प्रचण्डको सम्वोधनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्

चीनमा पढ्दै नेकपाका २९ मेयर, कक्षा बिहान र दिउँसो

काठमाडौंः  नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन्। पढाइका विषय छन्– चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगीकरण, सहरीकरणलगायत। साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन्। ‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन्। युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्रध्यापकले तिनलाई पढाउने गरेका छन्। कक्षा बिहान र अपराह्न गरी दुई चरणमा दैनिक हुन्छ। कक्षा नभएका बेला चीनको विकास देखाउन स्थलगत भ्रमणमा लगिन्छ। टोलीमा ७ वटै प्रदेशबाट कम्तीमा ४ जना सहभागी छन्। उनीहरू सबैलाई प्रधानमन्त्री कार्यालयले छानेको हो। उनीहरूलाई विश्वविद्यालयभित्रकै भवनमा बस्ने प्रबन्ध मिलाइएको छ। नेकपाका केन्द्रीय सदस्यसमेत रहेका भक्तपुरको चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मि श्रले टोलीको नेतृत्व गरेका छन्। प्रधानमन्त्री कार्यालयले नेपालस्थित चिनियाँ दूतावाससँग समन्वय गरी यो अध्ययन भ्रमणमा पठाएको हो। याे अन्नपूर्ण पाेस्ट दैनिकबाट लिइएकाे हाे ।

भारतविरुद्ध दक्षिण अफ्रिका ९ विकेटले विजयी

काठमाडौंः भारत विरुद्धको टि–२० क्रिकेट सिरिजको अन्तिम खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको छ । भारतले दिएको १३५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको दक्षिण अफ्रिकाले १६.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान क्विन्टन डीककले ५ छक्का र ६ चौकाको मद्दतमा ५२ बलमा नटआउट ७९ रन बनाए । यस्तै, तेम्बा बाबुमाले अविजित २७ र रिजा हेन्ड्रिक्सले २८ रन बनाए । बलिङमा भारतका हार्दिक पाण्ड्याले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनायो । उसका लागि शिखर धवनले ३६, ऋषभ पन्त, रविन्द्र जडेजाले १९–१९, हार्दिक पाण्ड्याले २४, विराट कोहली, रोहित शर्माले ९–९, श्रेयस अय्यरले ५, वासिङटन सुन्दर र कुणाल पाण्ड्याले ४–४ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३, ब्यूरन हेन्ड्रिक्स, बिजोर्न फोर्टिनले २–२ र तरबिज शम्मीले एक विकेट लिए । यो जीतसँगै ३ खेलको सिरिज १–१ मा टुंगिएको छ । सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

कास्की-२ बाट चुनाव नलडने वामदेव गाैतमकाे घाेषणा

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले कास्की–२ बाट आफू उपनिर्वाचन नलड्ने घाेषणा गरेका छन् । गौतमले कास्की २ बाट चुनाव उठ्नु फेरि पराजित हुनु हो भन्दै त्यहाँबाट आफू नउठ्ने शनिबार सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । ‘मंसिर १४ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिन आग्रह गर्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालप्रति आभार प्रकट गर्छु तर म चुनावमा उठ्दिनँ,’ गौतमले भनेका छन् । त्यहाँ स्थानीय नेतालाई नै चुनावमा उठाउन गौतमले अध्यक्षद्वयलाई आग्रह गरेका छन्। २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा गौतम बर्दिया १ बाट पराजित भएका थिए। यसअघि कास्की २ बाट गौतम उपचुनावमा उठ्ने चर्चा थियो। हेलिकप्टर दुर्घटनामा प्रतिनिधिसभा सदस्य एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुँदै छ। उनले लेखेका छन: जानकारी का लागी:: मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि- आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु । यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया- १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु । वामदेव गौतम ४ आश्विन २०७६

इंग्ल्याण्डका मोइन अलीले लिए अचानक टेष्ट क्रिकेटबाट ब्रेक

लण्डन । क्रिकेट खेलाडीको जीवन निकै उतारचढावपूर्ण रहेको हुन्छ । नयाँ खेलाडी आउने क्रमसँगै पुराना खेलाडीका लागि यसले सधैंभरी उत्कृष्ट प्रदर्शन गरिराख्नुपर्ने दबाब सिर्जना गर्छ । यस्तै दबाबबीच कतिपयले चुनौती पार गर्छन् भने कतिपयले ब्रेक या सन्यास लिने निर्णय गर्छन् । अहिले यस्तै भएको छ इंग्ल्याण्डका चर्चित खेलाडीलाई । मोइन अली, इंग्ल्याण्डका अलराउण्डर क्रिकेटर हुन् । अहिले उनले टेष्ट क्रिकेटबाट ब्रेक लिने निर्णय गरेका छन् । अलिलाई हालैमात्र केन्द्रीय अनुबन्धनका समावेश नगरिएपछि उनले यस्तो निर्णय लिएको धेरैले अनुमान गरेका छन् । अलीलाई सीमित ओभरको फम्र्याटका लागि बनाईएको केन्द्रीय अनुबन्ध सूचिमा भने समावेश गरिएको छ । यसबाट वानडे तथा टी–२० मा उनको स्थान सुरक्षित रहेको मान्न सकिन्छ । तर, टेष्टबाट उनले ब्रेक लिएका कारण न्यूजिल्याण्ड विरुद्ध हुने आगामी सिरिजमा उनी देखिने छैनन् । “मलाई लामो फम्र्याटबाट ब्रेक लिनुपर्छ जस्तो लाग्यो ।” मोइनले भनेका छन, “तर लामो ब्रेक भने होइन, न्यूजिल्याण्ड सिरिजपछि के गर्ने भन्ने कुरा पछि हेर्नुपर्ला ।” केन्द्रीय अनुबन्धनमा समावेश नहुनु निराशाजनक भएपनि यसकारण नै तनावमा भने नआएको उनले स्पष्ट गरेका छन् । क्रिकेटलाई पैसा कमाउने पेशाका रुपमा नलिएको भन्दै उनले आफूमाथि विश्वास गर्ने र समयक्रम अनुसार सबै कुरा ठीक हुने समेत विश्वास व्यक्त गरेका छन् ।

पेन्सनधारीलाई पनि तलब

काठमाडौं । दाङ-जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि २०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए । प्रदेश ५ बाट निर्धारण भएको स्थानीय सरकारका जनप्रतिनिधिको मासिक सुविधाअन्तर्गत जिल्ला समन्वय समितिका उपप्रमुखको तलब ३६ हजार तोकियो । पेन्सनधारी जिल्ला समन्वय समिति दाङका उपप्रमुख शर्मा पनि जनप्रतिनिधि बनेपछि मासिक ३६ हजार तलब बुझ्ने सूचीमा परे । तर स्थानीय तहका कर्मचारीको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकले राज्यबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिदियो । यही व्यवस्था टेकेर शिक्षण पेसाबाट सेवा निवृत्त शर्माले पेन्सनबापत आउने रकम छोडिदिए, उपप्रमुखका लागि आउने सुविधा मात्र लिन थाले । ‘राज्यबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरेपछि मैले पेन्सन रकम छोडेर जनप्रतिनिधिका लागि तोकिएको रकम लिन थाले,’ उनले भने । दुई वर्षसम्म एउटै सुविधा लिएका शर्मालाई अब भने दोहोरो सुविधा लिन कानुनी बाटो खुला हुने भएको छ । प्रदेशसभाले नै दोहोरो सुविधा लिन बाटो खुला गरेको हो ।‘मैले पनि सेवा निवृत्त जनप्रतिनिधिलाई दोहोरो सुविधा लिन मिल्नेगरी कानुन संशोधन भएको छ भन्ने सुनेको छु,’ शर्माले भने,‘यो हाम्रा लागि राम्रो पक्ष पनि हो ।’ यो समाचार नागरिक दैनिकमा छापिएको छ ।

‘मुलुकले काँचुली अवश्य फेर्छ, सबै सपना पुरा हुन्छन्, धैर्य गर्नुस्’

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देखाएका सपना पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । संविधान दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समय धेर्य गर्न आग्रह गरे । उनले भने, ‘मुलुकले काँचुली अवश्य फेर्छ, सबै सपना पुरा हुन्छन्, धैर्यगर्नुस् ।’ मुलुकको सम्बृद्धिका लागि वर्तमान सरकारसँग ठोस आधार रहेको भन्दै ओलीले युवाहरुलाई पनि देश विकासमा सघाउन आग्रह गरे । उनले संविधान कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष नहुँने भन्दै सबैलाई त्यसमा सहयोग गर्न आग्रह गरे । ‘केही अतिवादी समूह संविधानलाई स्वीकार गर्दै मुलधारमा आइसकेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘बाटो विराई रहेकालाई पनि संविधानमा टेकेर मुलधारमा आउन आग्रह गर्दछु ।’ आजको आवश्यकता अराजकता नभएर एकता भएको भन्दै ओलीले संविधान र कानून विपरितका कुनै पनि गतिविधि रोक्न सरकार बाध्य हुने चेतावनी दिए ।

साफ यु–१८ च्याम्पियनसिपः पहिलो खेल माल्दिभ्सविरुद्ध खेल्दै नेपाली युवा टिम

काठमाडौं । नेपालले आज साफ यु–१८ च्याम्पियनसिपअन्तर्गत पहिलो खेल माल्दिभ्सविरुद्ध खेल्दै छ। दुई पटकको च्याम्पियन नेपाल तेस्रो पटक उपाधि रक्षाको लागि मैदानमा हुनेछ। २०१५ र २०१७ मा नेपालले क्रमश भारत र बंगलादेशलाई हराएर उपाधि जितेको थियो। त्यसैले योपटक पनि नेपाल माल्दीभ्स विरुद्धको खेलबाट यात्रा सुरु गर्दै छ। यसअघिका दुई संस्करणमध्ये नेपालले २०१७ को संस्करणमा माल्दिभ्सविरुद्ध प्रतिष्पर्धा गरेको थियो। जतिबेला नेपालले माल्दीभ्सलाई २–० ले पराजित गरेको थियो। घरेलु मैदानमा नेपाल आफ्नो साविक च्याम्पियनको छवि जोगाउने चुनौतीका साथमा मैदानमा हुनेछ। प्रतियोगितामा दुई समूहमा रहेर दक्षिण एसियाका ६ टिमले प्रतिष्पर्धा गर्दै छन्। नेपालले आफ्नो समूहमा माल्दिभ्स र भुटानको सामना गर्दा अर्को समूहमा भारत, बंगलादेश र श्रीलंका रहेका छन्।

पोखरा जाँदै गरेको हेलिकोप्टर खेतमा आपतकालीन अवतरण

म्याग्दी । मुस्ताङबाट तीर्थयात्री बोकेर पोखरा हिँडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतमा आकस्मिक अवतरण गरिएको छ। मौसम खराब भएका कारण एयर डाइनेस्टिक हेलिकोप्टर धानखेतमा अवतरण गरेको हो। रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले मौसम खरावका कारण पाइलट अर्जुन मल्लसहित ६ जना यात्रु सवार हेलिकोप्टर खेतमा आकस्मिक अवतरण गरेको जानकारी दिए। पाइलट अर्जुन मल्लसहित मुक्तिनाथ तीर्थयात्रामा गएका पाँचजना भारतीय नागरिक हेलिकोप्टरमा सवार थिए। हेलिकोप्टरमा सवार सबै सकुशल रहेको उनले बताए।

दाँत उपचारका लागि प्रचण्ड अस्पतालमा

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड दाँत उपचारका लागि ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेका छन् । उनको सचिवालयका अनुसार पटकपटक दाँत दुख्ने समस्या देखिएपछि अध्यक्ष प्रचण्ड अस्पताल पुगेका हुन् । उपचारमा संलग्न चिकित्सकले प्रचण्डको दुख्ने दाँत निकाल्नु पर्ने सुझाव दिएको उनको सचिवालयले जनाएको छ ।

वर्षाले तोड्यो भारतमा ७५ वर्ष पुरानो रेकर्ड

काठमाडौं । भारतको मध्यप्रदेशस्थित मन्दसौरमा वर्षाले ७५ वर्ष पुरानो रेकर्ड तोडेको छ । यसपटक मनसुनमा अहिलेसम्म ७७.५ इन्च वर्षा भइसकेको छ । यसअघि सन् १९४४ मा ६२ इन्च वर्षा भएको थियो । निरन्तर वर्षा भएको उक्त क्षेत्रमा शुक्रबार साँझदेखि आइतबार बिहानसम्म ९ इन्च वर्षा भएको थियो । जसका कारण २०० गाउँमा मानिसको कम्मर कम्मर पानीको मात्रा पुगेको छ । ११७ गाउँ खाली गराइएको छ भने २० हजार मानिसलाई ५५ वटा राहत क्याम्पमा राखिएको छ । शनिबार राति गान्धीसागर ड्यामको पानी मन्दसौर र निमच जिल्लाका ६३ गाउँमा पसेको थियो । राति मानिसहरु सुतेका बेलामा उक्त घटना भएपछि उद्दारमा कठिन भएको थियो । उक्त क्षेत्रमा रेड अलर्ट कायमै रहेको छ । गान्धीसागरबाट १६ लाख क्यूसेक पानी आएको बताइएको छ । भोपाल र इन्दोरमा सोमबार–मंगलबार वर्षा हुने जनाईएको छ । २२ सेप्टेम्बरपछिमात्र वर्षामा कमी आउने पनि उल्लेख गरिएको छ । १२ राज्यमा दुई दिन भारी वर्षा हुने चेतावनी दिइएको छ ।

प्रशासनलाई थाहै नदिएर ज्ञानेन्द्रको पत्रकार सम्मेलन, घटनास्थलमा प्रहरी नपुगेको भए…

काठमाडौं, स्थानीय प्रशासनसँग समन्वय नगर्दा ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलन हिंश्रक बन्न पुगेको देखिएको छ । संघसंस्था या व्यक्तिले कुनै पनि औपचारिक कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्ने सामान्य कानुनी परिपाटी भएपनि विवादाष्पद विषयमा पत्रकार सम्मेलन गर्ने विषयमा शाहीले प्रहरी र प्रशासनलाई जानकारी दिएका थिएनन् । ललितपुर परिसरका एसएसपी टेक राईका अनुसार, जिल्ला प्रशासन कार्यालय र परिसरलाई शाहीको कार्यक्रमको बारेमा कुनै जानकारी दिइएको थिएन । “हामीलाई पूर्व जानकारी दिइएको थिएन ।” एभरेष्टदैनिकसँग राईले भने, “तर पनि हामीले आफ्नो तर्फबाट सुरक्षा प्रदान गर्दा अप्रिय घटना हुन पाएन ।” ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्न गइरहेको भन्ने विषयमा प्रहरीले आन्तरिक श्रोतबाट जानकारी पाएपछि सुझबुझ अपनाउँदै प्रहरी पठाएको थियो । “वहाँले कुनै जानकारी दिनु भएको थिएन । तर प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्दै जिल्ला प्रशासनसँग समन्वय गरी प्रहरी पठायौं ।” राईले भने, “तर शुरुमा प्रहरीलाई पनि वहाँहरुले भित्र जान दिनु भएन । चर्काचर्की परेपछि हामी जानैपर्यो ।” आजको पत्रकार सम्मेलनमा प्रहरीको उपस्थिति नभएको भए दुबै पक्षबीच रक्ताम्य हातपात हुने निश्चित नै देखिन्थ्यो । ज्ञानेन्द्र शाहीले पर्यटन मन्त्री योगेश भटु्टराईप्रति गरेको व्यवहार गलत भएको भन्दै आमरुपमा त्यसको बिरोध भएको छ । विगतमा ज्ञानेन्द्र शाहीकै पक्षमा रहेकोहरु समेत मन्त्रीले जहाज ढिलो गर्नु गल्ती भएपनि ज्ञानेन्द्र शाहीले अशिष्ट र अमर्यादित व्यवहार गरेको टिप्पणी गरिरहेका छन् । यसरी विवादमा रहेका विषयमा पत्रकार सम्मेलन जस्तो गम्भीर सार्वजनिक कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई पहिला नै सूचना दिएको भए सम्भवतः ज्ञानेन्द्र शाहीको कार्यक्रम बिथोलिने थिएन । ज्ञानेन्द्र शाहीले कार्यक्रम अघि लाईभ गरेको भिडियोमा कार्यालयको तल प्रहरी आएको विषयमा उनीहरुले आपत्ती जनाउँदै कुराकानी गरेको देखिन्छ । प्रहरीलाई खबर गर्नुको साटो दूरदर्शिता अपनाउँदै समयमा नै कार्यालयमा पुगेका प्रहरीलाई देखेर शाही र उनका समर्थकले आलोचना गरेको भिडियोमा देख्न सकिन्छ । परिसरका एसएसपी राई भने यसलाई बिडम्बना नै भन्छन् । “हामी गए पनि प्रहरी किन मूक र मौन, कहाँ हरायो प्रहरी भन्ने, गएपनि प्रहरी हस्तक्षेप भन्ने प्रवृत्ति छ ।” उनले भने, “तर फूलको आँखामा फुलै संसार भनेझैं कसैको आलोचनाका वावजूद पनि हामी आफ्नो कर्तव्यबाट विमुख हुन मिलेन । अवस्थाको गम्भीरता हेरेर शान्ति सुरक्षा बहाल गर्न आवश्यक कदम चालिएको हो ।” ज्ञानेन्द्र शाहीलाई परिसरका डिएसपी देवेन्द्र पाण्डेको नेतृत्वको टोलीले सुरक्षितरुपमा कार्यक्रमबाट बाहिर निकालेको थियो । अहिले भने ज्ञानेन्द्र शाहीले ज्यान जोगाइदिएकोमा प्रहरीलाई धन्यवाद दिएको श्रोतले जनाएको छ । भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले शनिबार पुल्चोकमा आयोजना गरेको पत्रकार सम्मेलनमा झडप भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्ज विमानास्थलमा पर्यटन मन्त्री योगेश भट्टराईका कारण विमान उड्न ढिलाई भएको विषयमा शाहीले पत्रकार सम्मेलन गर्दै थिए । पत्रकार सम्मेलनकै क्रममा भनाभन भएको र झडप हुने अवस्था आएपछि शाहीलाई सुरक्षाका लागि ललितपुर महानगरीय प्रहरी परीसर लगिएको हो । परीसरका एसएसपी टेक राईले शाहीलाई नियन्त्रणमा लिएको नभई सुरक्षाका लागि परीसर ल्याइएको बताए । ‘पत्रकार सम्मेलनमा अवस्था तनावपूर्ण भएपछि उहाँ (शाही) लाई सुरक्षाका लागि ल्याएका हौं,’ राईले भने, ‘पक्राउ वा नियन्त्रण केही हैन् ।’

बिराटको स्पष्टीकरणः ‘म जस्तै दुनियाँले सोच्छ भन्ने जरुरी छैन’

काठमाडौंः  भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीले आफूले सोचेजस्तो अरुले नसोच्ने हुँदा विवादमा आएको बताएका छन् । दक्षिण अफ्रिकाविरुद्ध हुन गइरहेको टि-२० खेल अघि शनिबार र भारतीय टिमको नयाँ जर्सी सार्वजनिक कार्यक्रममा उनले यो अभिव्यक्ति दिएका हुन् । पत्रकार सम्मेलनमा बिराट कोहलीलाई हालैमात्र उनले सार्वजनिक गरेको तस्वीरको बारेमा प्रश्न गरिएको थियो । बिराट कोहलीले महेन्द्र सिंह धोनीसँग आफ्नो तस्वीर सार्वजनिक गरेका थिए । तस्वीर सार्वजनिक गर्दै उनले “म त्यो रात कहिल्यै बिर्सिन सक्दिनँ” भनेर लेखेपछि यो कुरालाई पूर्व कप्तान महेन्द्रसिंह धोनीले सन्यास लिने विषयसँग जोडेर निकै ठूलो हल्ला मच्चिएको थियो । पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिँदै कोहलीले आफूले बिना कुनै कुरा सोचेर तस्वीर राखेको प्रष्ट पारेका छन् । “म घरमा बसेको बेला त्यो फोटो पोष्ट गरेको हो ।” उनले भने, “सामान्यरुपमा राखेको तस्वीर तत्कालै समाचार बन्यो, त्यसमा मेरो कुनै उद्देश्य थिएन ।” कोहलीले कतिपय बेला आफूले सोचेजस्तै अरुले पनि सोच्न नसक्दा चर्चा हुने पनि बताए । “मलाई लाग्छ, यो मेरालाई एउटा शिक्षा जस्तै हो ।” उनले भने, “म जसरी सोच्छु, बाँकी दुनियाँले पनि त्यसरी नै सोच्छ भन्ने जरुरी छैन ।” त्यो तस्वीरलाई धोनीको रिटायर्टमेन्टसँग जोडिएला भनेर कल्पना समेत नगरेको उनले बताए । कोहलीले तस्वीरका बारेमा बताउँदै धोनीले अष्ट्रेलियाविरुद्धको उक्त खेलको कुनै चर्चा नगरको तर आफूले भने त्यो खेल सधैं सम्झेको बताए । “अरु खेलजस्तै अष्ट्रेलियाविरुद्ध खेलिएको त्यो पारीको बारेमा पनि धोनी कहिल्यै कुरा गर्दैनन् । तर म त्यो खेललाई आज पनि सम्झिन्छु ।” उनले भने, “अहिलेसम्म त्यो खेलको बारेमा कुरा नगरेको हुँदा मैले त्यो तस्वीर राखेको हो तर मानिसहरुले उक्त पोष्टलाई गलतरुपमा लिन पुगे ।” कोहलीले टि२० विश्वकप कपअघि ३० खेल भारतले खेल्ने बताए ।