१९ हजार सवारी चालक कारबाहीमा
चितवन, माघ २४ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार ७०० सवारी चालकलाई कारबाही गरेको छ ।
कारवाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३८५, क्षमताभन्दा बढी सामान बोक्ने तीन हजार ९८८, सिटबेल्ट नबाँध्ने र हेल्मेट नलगाएका एक हजार १७८, सवारी चलाउँदा आवश्यक पर्ने कागजपत्र नबोकेका तीन हजार ३०८ र सवारी चालक अनुमतिपत्र नभएका २ हजार ७२६ जना रहेका छन् ।
यस्तै सवारी साधनमा बत्तीको अवस्था ठिक नभएका १५३, अन्यमा छ हजार ६६९, तीव्रगतिमा सवारी चलाउने ३४२, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ६२८ सवारी चालकलाई कारवाही गरिएको हो ।
जिल्लाको विभिन्न स्थानमा गरिएको जाँचका क्रममा कारवाहीमा परेका उनीहरुबाट एक करोड ४६ लाख ३१ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएका विभिन्न कार्यक्रम प्रभावकारी बन्दै गएको भए पनि सवारीसाधन लापरवाहीले चलाउनेको सङ्ख्यामा कमी आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।
बाघको आक्रमणबाट एक घाइते
कालिका नगरपालिका–१ जुटपानीमा बाघको आक्रमणबाट एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाइते हुनेमा ३७ वर्षीय यमबहादुर केसी रहेका छन् ।
राति ४ः३० बजे घरमा पालेको कुकुर कराएपछि चोर आयो कि भनेर हेर्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते केसीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते केसीको हात र खुट्टामा चोट रहेको छ ।
यस्तै नारायणगढबाट काठमाडौं जाँदै गरेको माइक्रोबसमा ढुङ्गा लाग्दा एक घाइते भएका छन् । प्रहरीका अनुसार बा३ख १७७३ नंको माइक्रोबसमा इच्छाकामना गाउँपालिका–६ जलबिरेमा माथिबाट खसेको ढुङ्गा लागी कालिका नगरपालिका–६ बस्ने ६० वर्षीय विर्जलाल मर्दनीया घाइते भएका हुन् । घाइते मर्दनीयाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । मर्दनीयाको टाउको र गालामा चोट लागेको प्रहरीले जनाएको छ । रासस
प्रधानमन्त्रीकाे गृहनगरमा याेजनाकाे चाङ
दमक, प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा विकास निर्माणका अनेकौं योजना केन्द्रित गरिएको छ । दमकको तुलनामा झापाका अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । दमकमा राष्ट्रिय गौरवका योजनासहित नगरस्तरीय योजनाहरूमा पनि संघीय सरकारले अर्बौंको बजेट विनियोजन गरेको छ । सरकारले दमकमा पौने तीन अर्बको लागतमा भ्यु टावर निर्माणका लागि टेन्डर आहवान गरेको छ । दमकलाई केन्द्र बनाएर कमल गाउँपालिका र गौरादह नगरपालिकाका २२ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण योजना अघि सारिएको छ । यसका लागि अहिले जग्गाधनीलाई मुआब्जा रकम वितरण भइरहेको छ । प्रधानमन्त्री ओलीले दमकमै विश्वको अग्लो बुद्धमूर्ति निर्माण योजना पनि अघि सारेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार बुद्धमूर्तिका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने कार्य भइरहेको छ । नगरको उत्तरी क्षेत्र जंगल क्षेत्र भएकाले तीन तहको सरकारको अनुमति हुनेगरी जग्गा व्यवस्थापन गर्ने प्रक्रियामा जुटेको नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र एवं गृहनगर भएकाले दमकले मन्त्रालयगत बजेटमा पनि विशेष प्राथमिकता पाउने गरेको छ । जिल्लामा सहरी विकास मन्त्रालयले यो वर्ष २६ योजनामा बजेट विनियोजन गरेको छ । जसमा ११ वटा दमकका मात्र छन् । सहरी मन्त्रालयले मंगलबार दमक ३ दापगाछीमा १८ तले भ्यु टावरका लागि २ अर्ब ७२ करोड लागत अनुमानसहित टेन्डर आहवान गरेको हो । मन्त्रालयले माघ १४ गते योजना संशोधन गरेर दमकमा सडक, नाला, पार्कलगायत पूर्वाधारका लागि यो वर्ष १० करोड रुपैयाँ विनियोजन गरेको छ । दमक बसपार्कमा दोस्रो चरणको निर्माण कार्यका लागि बहुवर्षीय योजनाअन्तर्गत तीन करोड विनियोजन गरेको छ । मन्त्रालयले दमकमा ‘एक सहर, एक पहिचान’ कार्यक्रमअन्तर्गत नगरको बजार क्षेत्र वडा ६ र ७ मा सडक, रेलिङ र सौर्यबत्ती जडानका लागि ५ करोड ७० लाख विनियोजन गरेको छ । दमक ८ स्थित लक्ष्मीमार्ग–बालुवाटार चक्रपथ मार्गमा ढल तथा सडक स्तरोन्नतिका लागि १ करोड ७५ लाख विनियोजन गरिएको छ । नगरपालिकाको आवधिक योजना कार्यान्वयनअन्तर्गत दमक बसपार्कमा पूर्वाधार निर्माणका लागि ४ करोड २० लाख विनियोजन गरिएको सघन सहरी विकास कार्यक्रम आयोजनाले जनायो । नगरको पशुपति मन्दिरदेखि शंखधर चोक हुँदै भृकुटी चोक उत्तर लाइफलाइनसम्मको फुटपाथमा रेलिङ, सौर्य बत्तीसहितको पूर्वाधार निर्माण गर्न एक करोड ५० लाख, दमक ५, ६, ७ र ८ का मुख्य सडकमा सौर्य बत्ती, वृक्षरोपण, फुटपाथ निर्माणमा एक करोड ५० लाख, दमक ८ स्थित रतुवामार्ग स्तरोन्नतिमा एक करोड विनियोजन गरिएको छ । यस्तै, फाल्गुनन्द बसपार्कका लागि ४ करोड, दमकदेखि चुलाचुलीबाट ढुंगेसम्मको सडक स्तरोन्नति तथा नगरपालिकाको एकीकृत सहरी पूर्वाधार विकासका लागि एक अर्ब रुपैयाँ विनियोजन भएको छ । सहरी विकास मन्त्रालयले गत वर्ष पनि दमकमा सडक, नाला, ढल, सौर्य बत्तीलगायत पूर्वाधार निर्माणमा करोडौं रुपैयाँ खर्चिएको थियो । प्रधानमन्त्री ओलीले सांसद कोषबाट खर्च गरिने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट दमकलाई डेढ करोड विनियोजन गरेका छन् । उनले दमक नगरपालिकाभित्र विपन्न आवास निर्माण शीर्षकमा एक करोड ४० लाख तथा दमक ८ स्थित ज्येष्ठ नागरिक भवन निर्माणका लागि १० लाख रुपैयाँ छुट्याएका छन् । कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले प्रधानमन्त्रीकै गृहनगर भएकाले योजना बढी पर्नु स्वाभाविक भएको बताए । उनले विगतमा पनि शक्तिमा भएको स्थान र व्यक्तिको प्रभाव पर्दै आएकाले दमकमा पनि त्यसैको प्रभाव परेको प्रतिक्रिया दिए । सहरी मन्त्रालयले कन्काई नगरपालिकामा भने २१ करोडको एउटामात्र योजना पारेको छ । उक्त मन्त्रालयबाट जिल्लामा दोस्रो धेरै योजना भद्रपुर नगरपालिकामा ६ वटा छन् । गौरादह र अर्जुनधारा नगरपालिकामा २/२, बिर्तामोड र मेचीनगर नगरपालिकामा एक/एक तथा कमल गाउँपालिकामा एउटा योजना परेको छ । सहरी मन्त्रालयबाट यो वर्ष जिल्लाका शिवसताक्षी नगरपालिका, गौरीगन्ज, बाह्रदशी, कचनकवल, झापा र बुद्धशान्ति गाउँपालिकामा कुनै योजना परेको छैन । -कान्तिपुर दैनिकबाट
मेलम्चीको विषयमा सिएमसीका प्रतिनिधिबीच सिंगापुरमा वार्ता
काठमाडौं, माघ २३ । मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरु बीच वार्ता भईरहेको छ । वार्ता सिंगापुरमा जारी छ । सिएमसी कम्पनीले राखेका केही मागहरुका विषयमा छलफल भईरहेको छ । मेलम्चीको काम छिटो भन्दा छिटो सक्न सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने नभए विकल्पका रुपमा अन्य कदम चाल्ने विषयमा खानेपानी मन्त्रालयले गृहकार्य गरिहेको छ । आयोजना समाप्त नहुँदै काम छाडेर भागेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गत माघ ६ गते पत्राचार गरेको थियो । भोलिसम्म थप छलफल गर्न सिएमसीसँग वार्ता भईरहेको छ । निकास निकाल्न सिएमसीसँग सिंगापुरमा पहिलो चरणको वार्ता भईरहेको हो । यसअघि औपचारिक र अनौपचारिक रुपले सिएमसीका प्रतिनिधिहरुसँग छलफल भईरहेको थियो । दिल्लीस्थित नेपाली र ईटालीका राजदूत बीच यस विषयमा छलफल समेत भएको थियो । यसअघि सीएमसीलाई पठाइएको पत्रमा मेलम्ची खानेपानी समितिलाई कुनै जानकारी नदिई आयोजनास्थल छाडेर भागेको उल्लेख गर्दै यसका कारणसहित जवाफ दिन भनिएको थियो । त्यसैगरी आर्थिक रूपमा टाट पल्टेको भन्दै खारेजीका लागि इटाली सरकारलाई सीएमसीले निवेदन दिएको विषयमा स्पष्ट पार्न पनि उल्लेख गरिएको थियो । ठेकेदार कम्पनी सिएमसीसँग कुनै सहमति नभए सरकारले कानुनी व्यवधान नआउने गरी औपचारिक रुपमा ठेक्का सम्झौता तोड्ने छ ।
छाउपडीले लियाे अर्काे ज्यान, निसास्सिएर मृत्यु
(डोटी) — महिनावारी भएका बेला घरमा आगो बालेर सुतेकी डोटी पूर्वीचौकी गाउँपालिका– ५ की २१ वर्षीया पार्वती बोगटीको बुधबार राति निसास्सिएर मृत्यु भएको छ । झरी परेर ओसिएको कोठामा आगो तापेर एक्लै सुुतेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् । आफ्नो घरभन्दा केही परको खाली घरमा सुतेकी बुहारी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको सासू लक्ष्मी बोगटीले बताइन् । ‘पाँचौं दिनमा चोखिन्छु भनेर खुसी थिई, आगो बालेर सुतेकी रहिछ,’ लक्ष्मीले भनिन्, ‘विचरी सधैंका लागि आँखा चिम्लेर गई ।’ शनिबारदेखि छाउ बार्दै आएकी पार्वती त्यो दिन छाउगोठमा अरू तीन जना थपिएर ठाउँ नपुगेपछि नजिकैको घरमा सुत्न गएकी थिइन् । उनी सुतेको साँघुरो कोठामा सानो झ्याल र ढोका छ । लक्ष्मीका अनुसार पार्वती झ्याल–ढोका बन्द गरी आगो बालेर सुतेकी थिइन् । उनका केही लुगा पनि जलेका छन् । खरानी कोठाभरि छरिएको छ । आगो बालेर सुतेकाले निसास्सिएर मृत्यु भएको हुन सक्ने गाउँपालिका अध्यक्ष दीर्घ बोगटीले बताए । अध्यक्ष बोगटीकै गाउँमा घटना भएको हो । पार्वतीको शव पोस्टमार्टमका लागि प्रहरीले बिहीबार साँझ जिल्ला स्वास्थ्य कार्यालय डोटी ल्याएको थियो । विशेषज्ञ डाक्टरको अभावमा डोटीमा पोस्टमार्टम हुन नसकेपछि शुक्रबार बिहान शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको छ । जिल्ला अस्पताल डोटीमा कार्यरत तीनै जना डाक्टर तालिमका लागि भन्दै काठमाडौं गएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भूषण मिश्रले पोस्टमार्टम तालिम लिनैका लागि डाक्टरहरू काठमाडौं गएको बताए । जिल्ला प्रहरी कार्यालयका एसपी लालबहादुर धामीले प्रारम्भिक अनुसन्धानमा पार्वतीको निसास्सिएर मृत्यु भएको देखिएको बताए । बिहान ढोका खोलेर हेर्दा मृत भेटिएपछि स्थानीयवासीले नजिकैको सानागाउँ प्रहरी चौकीमा खबर गरेका थिए । त्यसलगत्तै पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय ल्याएको थियो । ६ परिवार रहेको बोगटी गाउँको बाहुनटोलमा चार घरका महिला एउटै छाउगोठमा सुत्छन् । दुई परिवारका महिला भने घरभित्रको भुइँ तलामा सुत्ने गरेका छन् । ‘कहिलेकाहीँ ४/५ जना सँगै महिनावारी हुँदा पनि गोठमै सुत्नुपर्छ,’ कक्षा ७ मा अध्ययनरत मैना बोगटीले भनिन्, ‘खुट्टा तन्काउन पनि ठाउँ हुन्न, रातभर कुप्रो बसेर जाग्राम बस्नुपर्छ ।’ तेडी, नर्याल, मालिका देवता छन् भनेर गाउँमा महिनावारी भएका बेला छाउगोठभित्रै सुत्ने चलन छ । छाउगोठमा सुत्दै आएकी कक्षा ८ मा अध्ययनरत बिस्ना बोगटीले बूढापाकाले घरभित्र आउन बन्देज गरेको दुखेसो गरिन् । गाउँमा पहिलोपटक अशुभ घटना भएकाले स्थानीयवासी त्रसित छन् । ‘छाउगोठ छोडेर घरभित्र सुत्दा त्यस्तो घटना भएको हो, यतै सुतेको भए त्यस्तो घटना हुन्नथ्यो कि,’ देवता रिसाएको कारण देखाउँदै पार्वतीकी जेठानी भगवती बोगटीले भनिन्, ‘मानिस बस्ने घरको माथिल्लो तलामा सुत्दा अरू के–के पो हुने हो !’ सासू लक्ष्मी भने देवता रिसाएर नभई साँघुरो कोठामा आगो बालेर सुतेकाले बुहारी गुमाउनुपरेको बताउँछिन् । छाउपडी प्रथा अन्त्य गर्नुपर्ने उनले बताइन् । ‘के गर्नु समाजले जति गरे पनि घरभित्र सुत्न मान्दैन, छाउगोठमा सुत्नुपर्ने चलन हटाउन नसक्दा बुहारीको ज्यान गयो’, उनले दुखेसो पोखिन् । कान्तिपुर दैनिकमा माेहन शाहीकाे समाचार प्रकाशित छ।
कीर्तिमानी सन्दीप पनि आउट, नेपालले गुमायो पाँच विकेट (लाइभ)
काठमाडौं, माघ १८ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेटका रुपमा सन्दीप जोरा (१) मा आउट भए । यसअघि, करण केसी, ज्ञानेन्द्र मल्ल, कप्तान पारस खड्का र प्रदीप ऐरी आउट भइसकेका छन् । यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनाएको छ । उसका लागि सिपी रिजवानले सर्बाधिक ४४ रन प्रहार गरे । बलिङमा नेपालका अविनाश बोहराले ३, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले समान दुई-दुई र करण केसीले एक विकेट लिन सफल भए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
अनसनरत डा. केसीविरुद्ध अनसनरत थापामाथि हाहतियार मुद्दा चलेकाे खुलासा
काठमाडौं : डा. गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी गाविसका थापा यसअघि उदपुर कटारीमा चन्दा असुलीको अरोपमा सार्वजनिक अपराध सँजाय ऐन अन्तर्गत मुद्दा खेपेको प्रहरी अभिलेखमा देखिएको छ। विद्यार्थीकाल देखि नै तत्कालीन विद्रोही माओवादीमा लागेका थापा माओवादीको भातृ संगठन वाईसिलएलको नाममा चन्दा असुली गरेको आरोपमा २०७० असारमा जिल्ला प्रहरी कायालय उदयपुरले सार्वजनिक अपराध सँजाय ऐनमा मुद्दा चलाएको प्रहरी अभिलेखबाट खुलेको छ । तिनै थापा उदयपुरको कटारीबाट सार्वजनिक अपराध मुद्दामा छुटेपछि उनी सिरहाको मिर्चैयामा २०७१ मा पेस्तालसहित पक्राउ परेपछि हतियार खरखजानमा मुद्दा खेपेको प्रहरीको क्रिमिनल डाटा सिष्टमबाट देखिएको छ। त्यसअघि थापालाई जिल्ला प्रहरी कार्यालय धनुषाले ढल्केबगरबाट २०६७ जेठ २४ गते पेस्तोलसहित पक्राउ परेका थिए। तत्काली धनुषा जिल्लाका प्रहरी प्रमुख एसपी सर्वेन्द्र खनाल (बर्तमान प्रहरी प्रमुख) को कार्यकालमा ढल्केबगरबाट थापासहितका केही व्यक्तिलाई पक्राउ गरेका थिए। थापा हाताहतियार खरखजाना मुद्दामा धरौटीमा छुटेको अभिलेख प्रहरीमा रहेपनि पूर्ण फैसलाका बारेमा प्रहरी बेखबर देखिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख गोविन्द थपलियाले थापा हातहतियार खरखजाना मुद्दामा धरौटीमा छुटेको अभिलेखमा देखिएको पुष्टी गरे। भने, उनको अभिलेख पल्टाउँदा हातहतियार मुद्दामा धरौटीमा छुटेको देखियो बाँकी थाहाभएन। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका डीआइजी विकास श्रेष्ठले थापा हतियारसहित पक्राउ परेपनि केही समय जेल बसेर छुटेको बताए। उनले भने, हाम्रो अभिलेखमा यो देखिन्छ। थप अनुसन्धान गर्दैछौं। थापा केही समय जेल बसेर धरौटीमा छुटेपछि पुन इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको प्रहरी अभिलेखले देखाएको छ। यस विषयमा प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने गैरजिम्मेवारीपूर्ण जफाव दिए। उनले यस विषयमा प्रहरीले क्रिमिनल डाटा रेकर्ड नहेरेको र मंगलबार मात्रै थप पत्ता लाग्ने बताए। भने, हामी डाटा रेकर्ड सिष्टम हेर्छौं यदि थापको त्यस्तो रहेछ भने कानुन बमोजिम जान्छौं। अन्नपुर्ण पाेष्टबाट
सरकारले मेनपावरसँग माग्याे मलेशियाकाे कलिङ भिसाको विवरण
काठमाडौं : सरकारले मलेसियासँग भएको श्रम सम्झौताअघि प्राप्त गरेका कलिङ भिसाको विवरण मागेको छ। वैदेशिक रोजगार विभागले कलिङ भिसाको वास्तविक तथ्यांक बुझ्नका लागि म्यानपावर कम्पनीसँग विवरण माग गरेको हो। वैदेशिक रोजगार विभागका महानिर्देशक दीलिपकुमार चापागाईले १५ दिनभित्र त्यस्ता विवरण पठाउन म्यानपावर कम्पनीसँग माग गरेका हुन्। सरकार र मलेसियाबीच कात्तिक १२ गते भएको श्रम सम्झौतापश्चात बनेको दुई देशका प्रतिनिधि सम्मिलित प्राविधिक टोलीले कलिङ भिसाका कामदार पठाउने निर्णय गरेपनि सरकारले पठाएको थिएन। विभागका महानिर्देशक चापागाईले म्यानपावरले बुझाएको विवरणका आधारमा सरकारले त्यस्ता कामदारलाई पठाउन सक्ने संकेत गरेको छ। व्यवसायीले कलिङ भिसा प्राप्त गरेका कामदार ९ हजार २३४ रहेको दावी गर्दै आएका छन्। सरकारले त्यस्ता कामदारको फोननम्बरसहित विस्तृत विवरण माग गरेको हो। सरकारले उक्त विवरण प्रमाणित गरेर मात्रै १५ दिनपछि त्यस्ता कामदार पठाउन सक्ने विभागले जनाएको छ। प्राविधिक टोलीले कलिङ भिसाका कामदारलाई जान दिने निर्णय गरेपनि श्रममन्त्री गोकर्ण विष्टले कामदार ठगी गर्ने भीएलएनमार्फत कलिङ भिसा आएकालाई पनि अन्तिम श्रम स्वीकृति नदिने अडान लिँदै आएका थिए। – अन्नपूर्ण पाेष्टबाट
मेलम्ची: ठेकेदार नआए बाँकी काम विभाजन गरि अघि बढाइने , २ अर्ब ५० कराेड धराैटी जफत हुने
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार ईटालियन कम्पनी सिएमसीलाई अन्तिम ताकेता गरिएपछि सरकारी पक्ष बलियाे बनेकाे छ । याे सँगै एशियालि विकास बैंकसँग बाँकी रहेकाे कामलाई विभाजन गरी छिटो सम्पन्न गरिने सहमति भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाँकी रहेको सुरुङ‘फिनिसिङ, हेडवक्स निर्माण र भेन्टिेलेसन’को कामलाई विभाजनगरी अगाडि बढाउने सहमति एसियाली विकास बैङ्क(एडीबी)सँग गरेको जनाएको हाे । ठेकेदार कम्पनीकाे सम्झौता म्याद समाप्त हुन लागेकाे अवस्थामा सरकारले समयमा नै अन्तिम ताकेता पठाएकाे हाे । अब ठेकेदारले काममा नफर्किए उसले सम्झाैता सरकारका कारण भंग भएकाे भन्न पाउने अवस्था छैन । खानेपानी मन्त्री बीना मगरले व्यापक छलफल र भविष्यकाे तयारीका बारेमा समेत ध्यानमा राखि सचेततापुर्वक याे निर्णय गरिएकाे बताइन । ठेकेदार नआएकाे अवस्थामा समेत काममा समस्या नहुने मन्त्री मगरकाे दावी छ । यही विषयमा मेलम्चि विकास समिति र एडीबीबीच सम्पन्न सोमबारको बैठकमा कम्पनी नआए बाँकी काम विभाजन गरी अगाडि बढाउने सहमति भएको समितिले जनाएको छ । पत्र पठाएको १४ दिनभित्र काममा नआए स्वतः सम्झौता रद्द हुने पत्र पठाइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उहाँका अनुसार १४ दिनभित्र निर्माण कम्पनी काममा नफर्किए ठेक्का रद्द गरिने छ । समितिका अनुसार सीएमसीलाई किन ठेक्का रद्द नगर्ने ?भन्दै ठेक्का रद्द गर्नेे जानकारी पठाइएको छ । यसले गर्दा भविष्यमा डिसजन बाेर्ड या अन्य निकायमा उजुरि गर्न सक्ने अवस्था कमजाेर बनेकाे हाे । चित्तबुझ्दो जवाफ दिएर काममा नफर्किए ठेक्का सम्झौता रद्द भएको जानकारी गराइने समितिले जनाएको छ । अन्तिम समयसम्म पटक–पटक वार्ताका लागि पहल गर्दा पनि कम्पनी नआएपछि सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको हो । सीएमसी काममा नफर्किए सीएमसीको दुई अर्ब ५० करोड रुपियाँ धरौटी पनि जफत हुनेछ । एक महिनाअघि निर्माण कम्पनीले ठेक्का तोड्ने आशयसहितको पत्र दिएपनि सरकारले बुझको थिएन । कम्पनी आर्थिक सङ्कटमा परेपछि मेलम्चीमा खटिएका कम्पनीका कर्मचारीहरू एक महिनाअघि काम छाडेर स्वदेश फर्किएका थिए । कम्पनी काममा फर्किनुको साटो भुक्तानी गर्न बाँकी रकम, भेरियसनबापतको थप दावी रकम छिटो दिनुपर्ने लगायतका सर्तहरु अगाडि सारिएको थियो । झण्डै दुई दशकदेखि भइरहेको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माणमा करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका अधिकारीहरूले बताएका छन्। सिनियर डिभिजनल इन्जिनियर पन्तका अनुसार २६ किलोमिटर सुरुङ्गमध्ये करिब आठसय ८५ मिटर जति ‘इन्भर्ट कन्क्रिट’को काम, फाइनल सपोर्टको ४१० मिटर काम र दुईवटा भेन्टिलेशन शाफ्टको काम बाँकी छ। त्यसैगरी सुरुङ्गको दैनिक अनुगमन गर्ने प्रणाली स्थापना गर्न बाँकी रहेको पन्तले बताए। माथि उल्लेखित काममध्ये अनुगमन प्रणाली स्थापना गर्ने बाहेकका काम नेपाली कम्पनीहरूले गर्न सक्ने आयोजनाका अधिकारीहरूको भनाइ छ।
मालीस्थित संयुक्त राष्ट्रसंघको शान्ति सेनामाथि आक्रमण, दश जनाको मृत्यु
बामाको, माली : बन्दूकधारीको एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा १० जना शान्ति सेना मारिएका छन् । यो आक्रमणको पुष्टि मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले गरेको छ । ‘पछिल्लो तथ्याङ्क अनुसार आक्रमणबाट १० जना शान्ति योद्धाको निधन भएको छ भने २५ जना घाइते भएका छन्,’ राष्ट्रसंघ शान्ति सेना स्रोतले जनाएको छ । उक्त घटनामा केही आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । आइतबार विहानै भएको आक्रमण मालीको किडालबाट करिब २ सय किलोमिटर उत्तरी क्षेत्रमा रहेको आगुलहोक शिविरमा भएको हो । यो आक्रमणको जिम्मा अलकायदा अन्तर्गतको इस्लामिक मघेर्ब समूहले लिएको छ । उनले इजरालयका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले चाडको भ्रमण गरेको विरोधमा शान्ति सेनामाथि आक्रमण गरिएको जिकिर गरेका छन् । सन् २०१२ मा मालीको पूर्वी क्षेत्रलाई इश्लामिक लडाकूले नियन्त्रणमा लिएपछि राष्ट्रसंघको पहलमा शान्ति स्थापनार्थ करिब १३ हजार अन्तर्राष्ट्रिय सेनालाई खटाइएको छ । एएफपी
सेनामा समायोजन गरिएका माओवादी सेना फिर्ता बोलाउन गच्छेदारको चुनौती !
काठमाडौं, माघ ७ । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले गिरिजाप्रसाद कोइरालाको योगदानको कदर नगर्ने भए सेनामा समायोजन गरिएका माओवादी सेनालाई फिर्ता गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेता गच्छेदारले सरकारले पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पतालहरूको गठनादेश जारी नगरेकोमा आक्रोश पोख्दै उनले यसो भनेका हुन् । नेता गच्छेदारले सरकार नेपाली काँग्रेसप्रति पूर्वाग्रही भएको भन्दै नेपालको इतिहासमा गिरिजाप्रसाद कोइरालालाई संघीय गणतान्त्रिक नेपालको गठन, शान्तिप्रक्रियाको सूत्रधार र नयाँ संविधानको प्रमुख योजनाकारका रूपमा सम्झिनुपर्ने समेत बताए । गच्छेदारले भने, “यदि गिरिजाप्रसाद कोइरालाको योगदान नै नमान्ने हो भने विपी राजमार्गको नाम केपी राजमार्ग रखिदिनुस् ।” सभामुख महराले समय सकिएको सूचना दिँदा गच्छेदारले भने, “हिम्मत छ भने सेनामा समायोजन गरिएका माओवादी सेना फिर्ता बोलाउन सरकारलाई चुनौती दिन्छु, यो शान्तिप्रक्रियासँग पनि गिरिजाप्रसाद जोडिनु भएको छ ।” गच्छेदारले सरकारले उक्त दुई अस्पताल प्रदेश सरकारको जिम्मा लगाउने निर्णय नसच्याउंजेल आफ्नो पार्टीले सदन चलन नदिने बताए । गच्छेदारले भने “ती अस्पतालहरूको गठन आदेश जारी नभएसम्म यो सदन चलन साक्दैन ।”
सर्ने भयो दक्षिण एसियाली खेलकुद
काठमाडौं, माघ ७ । सन् २०१९ मार्चमा नेपालमा आयोजना हुने भनिएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमा नहुने भएको छ । पर्याप्त तयारी नभएको भन्दै साग सचिवालयले खेलको कार्यतालिका छ महिना पर सारिदिन नेपाल ओलम्पिक कमिटि (एनओसी) लाई पत्राचार गरेको हो । साग आयोजनको मुख्य स्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अझै तयार भइनसकेकाले आगामी मार्च महीनाका लागि तय भएको साग सर्ने निश्चित भएको छ । सरकार मातहत गठित १३औँ साग आयोजना सचिवालयबाट एनओसीलाई पत्र प्राप्त भएको उल्लेख गर्दै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पूर्वाधार निर्माणलगायत कारण प्रतियोगिता छ महीना सार्न पत्र प्राप्त भएको जानकारी दिए । अध्यक्ष श्रेष्ठले भने, “राष्ट्रिय खेलकुद परिषद्बाट पत्र प्राप्त भएको अब यो विषयलाई दक्षिण एशियाली ओलम्पिक काउन्सिलमा छलफल गर्नेछौं ।” दक्षिण एशियाली ओलम्पिक काउन्सिलका अध्यक्षसमेत रहेका श्रेष्ठले सागको नयाँ तिथिका बारेमा छलफल गर्न यही महीना बैठक राख्ने प्रयास गरे पनि अन्य पदाधिकारीको व्यवस्थाका कारण सफल नभएकाले अब मार्चमा बैठक बसी यसबारे निर्णय गर्ने बताए । सागको मिति सार्ने विषयमा काउन्सिलका सबै सदस्य राष्ट्रको सहमति जुट्न आवश्यक हुन्छ । १३ औँ सागमा ह्यान्डबल, जुडो, कबड्डी, खो–खो, सुटिङ, स्क्वास, स्वीमिङ, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ, आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल गरी २७ खेल समावेश गर्ने यसअघि नै निर्णय भइसकेको छ । यसैबीच पूर्वाधार अभावकै करण मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकुदसमेत पटक पटक सर्दै आएको छ । प्रदेश नं ५ मा हुने तय भएको उक्त प्रतियोगिता आगामी फागुनमा गर्ने सहमति भए पनि अझै मिति टुङ्गो लाग्न सकेको छैन । प्रतियोगिता आयोजना गर्ने विषयमा राखेपकै पदाधिकारीबीच एकमत नहुँदा प्रतियोगिता कहिले गर्ने भन्न टुङ्गो लाग्न नसकेको राखेप सञ्चालक समितिका एक सदस्यले भने ।
४६ जना सांसदले लगे ७ लाख ८० हजार उपचार खर्च, अधिकांश सुगर र प्रेसरका बिरामी
काठमाडौँ – संघीय संसद सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय ५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ । सांसदहरुमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरको बिरामी भेटिएका छन् । संघीय संसद् सचिवालयस्थित स्वास्थ्य सेवासम्बन्धी शाखामा पुग्ने सांसदमध्ये अधिकांश प्र्रेसर, सुगरदेखि महिला सांसदमध्ये धेरै गाइनेको समस्या लिएर पुग्ने गरेका छन् ।
नेकपा सांसद नविना लामाले घरभाडा फिर्ता गर्ने
काठमाडौं, माघ ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद नविना लामाले घरभाडा फिर्ता गर्ने बताएकी छिन् । संसद् सचिवालयमा यसअघि काठमाडौंमा घर भएको जानकारी गराए पनि भाडा उपलब्ध गराइरहेको उनले बताइन् । विवाह गर्नुअघि बुबाको घरमा र विवाहपछि ससुराको नाममा रहेको घरमा बस्ने गरेको उनले बताइन् । ‘संसद् सचिवालयले काठमाडौंमा घर भएका र नभएका विवरण फारम भराउँदा मैले काठमाडौंमा घर भएको पहिले नै उल्लेख गरेकी थिएँ,’उनले आइतबार विज्ञप्ति जारी गर्दै उनले भनेकी छिन्, ‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।’ सचिवालयको अभिलेखमा भाडा लिने सूचीमा आफ्नो नाम परेकोमा आश्चर्यमा परेको उनले बताइन् ।
ट्रम्प र किम फेब्रुअरीमा भेट्दै
वासिंगटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच फेब्रुअरीमा दोस्रो भेटवार्ता हुने भएको छ । यस अघि दुई नेताहरूबीच गत जुनमा सिङ्गापुरमा पहिलो ऐतिहासिक भेटवार्ता भएको थियो । उक्त वार्तामा किमले उत्तर कोरियाको परमाणु कार्यक्रम बन्द गर्न राजी भएका थिए । व्हाइट हाउसले ट्रंप र उत्तर कोरियाका शीर्ष वार्ताकार किम योङ चोलबीच भेटघाटपछि उक्त मिति तोकिएको जनाएको छ । व्हाइट हाउसकी प्रेस सचिव सारा स्यांडर्सले राष्ट्र्पतित्रंप उक्त भेट वार्ताका लागि निकै उत्साहित रहेको र दुवै नेताहरू कहाँ भेट्ने भन्ने बारे छिटै तय गरिने बताइन् । साथै स्यांडर्सले अमेरिकाले उत्तर कोरियाको पूर्ण निरस्त्रीकरण नहोउन्जेल प्रतिबन्धात्मक दबाब दिइराख्ने बताइन् । एजेन्सी
यी हुन् भरतपुरका ठूला योजना, जसले महानगरको मुहार परिर्वतन हुनसक्छ
चितवन, माघ ६ । जिल्लाको भरतपुर महानगरपालिकामा ठूला पूर्वाधार आयोजनाका काम सुरु भएका छन् । महानगरपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवासुविधा प्रदान गर्न सक्ने गरी तयार गरिएका योजनाका काम अगाडि बढेका छन् । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम अगाडि बढाएको बताउँदै महानगरपालिका प्रमुख रेनु दाहालले ठूला परियोजनाहरुको काम अगाडि बढिसकेको जानकारी दिइन् । नेपालकै नमुना महानगर बनाउन स्वदेशी र विदेशी संघसंस्थासँगको सम्बन्ध र सहयोगलाई विशेष प्रथामिकता दिएको उनले बताइन् । हरेक क्षेत्रमा काम गर्नका लागि स्वदेशी तथा विदेशी संघ संस्थाहरुको चासो बढिरहेको बताउँदै उनले पछिल्लो समय चितवनमा ठूलो प्लान्टमा अर्गानिक कृषि प्रविधि ल्याउन, प्रविधिक शिक्षालय बनाउन र विकास निर्माणका लागि चासो बढी रहेको मेयर दाहालले बताइन् । महानगर क्षेत्रमै पर्ने चितवन क्षेत्र नं. ३ का सांसदसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको साथले पनि महानगरभित्रका ठूला आयोजनाले गति लिन थालेका हुन् । देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिकामा पछिल्लो समय विकासका लागि सहयोग गर्न स्वदेशी एवं विदेशी लगानीकर्ताको चासो बढ्दै गएको छ । अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला महानगरभित्र अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने काममा लामो समयदेखि प्रयास जारी रहेको थियो । केही समय अन्यौलजस्तो अवस्थामा पुगेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने काम अगाडि बढेको छ । महानगरभित्रै पर्ने कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको रामपुरमा जग्गा प्राप्त भएपछि निर्माणको प्रकृया अगाडि बढेको हो । धुर्मुस सुन्तली फाउण्डेशनसँगको सहकार्यमा निर्माण हुने गरी प्रकृया अगाडि बढेको प्रमुख दाहालले बताइन् । यही महिनामा एउटा विशेष कार्यक्रमको आयोजना गरी कामको सुरुवात हुने उनले बताइन् । ३० बिघा क्षेत्रफलमा बन्ने रंगशाला निर्माणका लागि लगभग ३ अर्ब रुपैयाँ लगानी हुने र एशियाकै नमूना रङ्गशाला बन्ने महानगरले जनाएको छ । नमुना सिटी हल परिकल्पना पहिल्यैको भएपनि जमिनको बिषयमा विवाद भएका कारण केही समय अन्यौलमा रहेको सभागृह निर्माणको काम पनि अगाडि बढेको छ । शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सभागृह निर्माणका लागि जिल्ला समन्वय समितिको परिसरमा रहेको चार बिघा चार कठ्ठा जग्गा महानगरपालिकाको नाममा हस्तान्तरण भइसकेको छ । सिटी हल निर्माणको लागि नक्साङ्कनका लागि प्राविधिक टोली आएर काम शुरु गरिसकेको जानकारी दिँदै महानगर प्रमुख दाहालले जतिसक्दो छिटो नक्साङ्कन गरेर बोलपत्र आह्वान गरिने जानकारी दिइन् । शहरी विकास तथा भवन निर्माण विभाग मार्फत ५१ करोड रुपैयाँ विनियोजन गरिसकेको र अपुग हुने रकमका लागि संघीय सरकारबाट उपलव्ध गराउने प्रतिवद्धता भइसकेको महानगर प्रमुख दाहालले बताइन् । सिटी हल निर्माणका लागि परामर्शदाताद्वारा जग्गाको नापजाँच भएको र शहरी विकास तथा भवन निर्माण विभागले चैत महिना सम्ममा डिपीआर दिएमा असारमा शिल्यान्यास गर्न सकिने बताइएको छ । बहुउद्देश्यीय व्यावसायिक भवन नारायणगढ बजारको लायन्सचोकमा बहुउद्देश्यीय व्यावसायिक भवन बनाउने कामको प्रकृया पनि महानगरले अगाडि बढाएको छ । केही समय अगाडिसम्म फलफूल तथा तरकारी बजार रहेको त्यस क्षेत्रमा ८० करोड रुपैयाँ बराबरको लागानीमा पार्किङसहितको बहुतले भवन बनाइने प्रमुख दाहालले बताइन्। विस्तृत अध्ययन गरी नक्साङ्कनको काम अन्तिम चरणमा पुगेको बताउदै उनले व्यस्त बजार नजिकै आधुनिक शैलीमा बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण भएपछि नारायणगढ बजार थप व्यवस्थित हुने जानकारी दिइन् । रिङरोड र लिङ्करोड महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सडकको स्तर उन्नति, कालोपत्रे र सडक बिस्तारको कामलाई प्रथामिकतामा राखेको दाहालले बताइन् । महानगरको योजनामा परेका सघन शहरी विकास कार्यक्रम अन्तर्गत १३ वटा सडक कालोपत्रे निर्माणको लागि सम्झौता भई काम थालिएको छ । महानगरभित्र रिङरोड र लिङ्करोड निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभागले भरतपुर महानगरमा एक अर्ब ५० करोड खर्च गर्न सक्ने गरी काम अघि बढाएको छ । रिङरोड र लिङ्करोडका लागि बाटाका लागि बोलपत्र आह्वान भई ठेकेदार कम्पनीले काम अघि बढाइसकेका छन् । बसपार्क सोही कार्यालयको सहयोगमा भरतपुरस्थित केन्द्रीय बसपार्क र नारायणगढमा रहेको बसपर्कलाई थप व्यवस्थापन गर्ने योजना महानगरले अगाडि बढाएको छ । ठेक्का सम्झौता भई काम अगाडि बढिसकेको महानगर प्रमुख दाहालले बताइन् । कुनै समय दक्षिण एसियाकै नमुना बसपार्क भनिएको केन्द्रीय बसपार्कको व्यवस्थापनदेखि थप भौतिक पूर्वाधार विकास गरी नमुना बसपार्क बनाउने गरी काम अगाडि बढेको उनले बताइन् । आधुनिक पार्क महानगरपालिकाले नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गर्ने तयारी गरेको छ । नगरवन, रानीपोखरी, लक्ष्मीनारायण मन्दिरमा पार्क निर्माणका लागि लगभग १४ करोड खर्च गर्ने गरी काम अगाडि बढाएको छ । महानगरमा रहेका तीन वटा पार्क पर्यटकको आकर्षण केन्द्र बन्ने अपेक्षा गरिएको छ । पार्क निर्मााणका लागि बोलपत्र आह्वान भइसकेको बताउँदै उनले स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको जानकारी दिइन् । नारायणी नदी किनारमा रहेको नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गरी अन्तर्राष्ट्रिय पर्यटकहरुलाई समेत आकर्षित गर्ने गरी पर्यटकीय क्षेत्र बनाइने उनले बताइन् । विभिन्न क्षेत्रबाट सहयोगको प्रस्ताव आइरहेकोले यसलाई विभिन्न सरोकार राख्ने निकायहरुसंग समन्वय गरेर काम सुरु गर्ने उहाँले जानकारी दिए । अस्पताल विकास महानगरले जिल्लामा रहेका दुई वटा अस्पताललाई ठूलो अयोजनाको रुपमा लिएर काम अगाडि बढाएको छ । भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्ने महानगरकै अगुवाइमा विभागको सहयोगमा भरतपुर अस्पतालमा ६ करोड रुपैयाँ लगानी गरी बिरामी कुरुवा घर निर्माणको काम अगाडि बढिसकेको दाहालले बताइन् । चौंथो प्याकेज अन्तर्गत ६ करोड रुपैंयाँको लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी रविना–जोशी–फूलजोर जेभीसँग सम्झौता भएको हो । कुरुवा घरमा ५० वटा बेड रहने छन् । कुरुवा घरभित्र रेष्टुरेण्ट, पार्किङ लगायतको व्यवस्था हुनेछ । महानगरले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न गृहकार्य अघि बढाइएको छ । क्यान्सर रोगसँग सम्बन्धित बिषय अध्ययन अनुसन्धानका लागि प्रतिष्ठनकै रुपमा अस्पतालको विकास गर्ने लक्ष्य राखिएको उनले बताइन् । शव दाहगृह देवघाटमा १० करोडको लागानीमा शव दाहगृह बनाउने तयारी भइरहेको छ । ठेक्का सम्झौता भइसकेको छ । सरकारको लगानीमा देवघाटमा बन्ने शवदाह गृह निर्माणका लागि मिलिनियम–सिद्धगढी जेभी काठमाडौंसँग यसै हप्ता सम्झौता हुने प्रमुख दाहालले बताइन् । १० करोड रुपैयाँको लगानीमा दुई वर्ष्भित्र शवदाह गृह निर्माण हुने निर्माण भएपछि एक घण्टामा एउटा शव दहन गर्न सकिने छ । सफल खबरबाट साभार
किन एक्लियो निर्मला पन्तको परिवार ?
कञ्चनपुर, माघ ६ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्ने क्रममा प्रहरीले उनका छिमेकीहरूको नै डीएनए परीक्षणका लागि रगत संकलन गर्न थालेपछि उनको परिवार एक्लिन थालेको छ । प्रहरीले घटनाको सुरुवातदेखि नै पन्त परिवारलाई सघाइरहेकाहरू माथि पनि शंका गर्न थालेपछि छिमेकीहरू निर्मलाकी आमासँग रुष्ट भएका हुन् । छिमेकीहरूले आमाले नै नाम दिएकाले प्रहरीले आफूहरुको डीएनए परीक्षण गर्न रगतको नमुना लिएको आरोप लगाएका छन् । निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रहरीले रगत संकलन गरेपछि छिमेकीहरु आफूसँग रुष्ट बनेको गुनासो गरिन् । ‘सुरुमै प्रहरीको लापरवाहीका कारण अहिलेसम्म दोषी पत्ता लाग्न सकेन, उनले भनिन्, ‘दोषी पत्ता लगाउन भन्दै प्रहरीले स्थानीय युवाको रगत संकलन गरेपछि छिमेकीहरु मसँग रुष्ट हुन थाले, मैले नै नाम भनेर प्रहरीले रगतको नमूना संकलन गरेको उनीहरुको बुझाइ छ ।’ कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले भने अनुसन्धानका क्रममा शंकास्पद देखिएका व्यक्तिको मात्रै डिएनए परीक्षण गरिएको भन्दै परिवार वा अन्य कसैले छिमेकीको नाम नदिएको स्पष्ट पारे । अनुसन्धानका क्रममा शंकास्पद देखिएको भन्दै प्रहरीले झन्डै दुई दर्जन छिमेकीसहित एक सय जनाको डीएनए परीक्षण गरिसकेको छ । तर हालसम्म घटनामा संलग्न व्यक्तिको भने पहिचान हुन सकेको छैन । इमेजखबरबाट