बंगलादेश प्रिमियर लिगः टिम हार्‍यो, सन्दीप हारेनन् !

काठमाडौं, पुष २२ । बंगलादेशमा जारी बंगालदेश प्रिमियर लिगको पहिलो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध सिलेट सिक्सर्स पराजित भएको छ । कोमीला भिक्टोरियन्सविरुद्ध भएको पहिलो खेलमा सन्दीपको टोली ४ विकेटले पराजित भयो ।

टिम हारे पनि सन्दीपले भने शानदार प्रदर्शन गरे । उनले डेब्यू खेलमा महत्वपूर्ण २ विकेट लिए । सिलेट सिक्सर्समा आवद्ध सन्दीपले कोमीला भिक्टोरियन्सविरुद्धको खेलको १३औं ओभरको अन्तिम बलमा सोयब मल्लिकलाई आउट गर्दै विकेटको खाता खोलेका थिए।

यस्तै उनले व्यक्तिगत चौथो ओभरको दोस्रो बलमा अनमुल हकलाई बोल्ड गर्दै बीपीएलमा पनि उत्कृष्ट डेब्यू गरे। उनले लिगमा ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिएका हुन्।

सरकारको काम गतिलो नभएको भन्दै उपप्रधानमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं, पुस २२ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारको दृश्य हेर्न लायक थियो । हुन त त्यो दृश्यमा देखिएका पात्रहरूको अनुहार बिर्सिदिने हो भने त्यो प्रधानमन्त्री निवासको आम दृश्य नै हो, कुनै एक समूह सरकारसँग केही माग लिएर आउँछ र आफ्नो ज्ञापनपत्र बुझाउँछ । तर यो दृश विशेष हुनुमा ज्ञापनपत्र बुझ्ने र बुझाउने पात्रहरूले गर्दा हो । सरकारकै उपप्रधानमन्त्री प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको यस दृश्यले सबैको ध्यान आकृष्ट गर्नु स्वाभाविक नै थियो । ज्ञापनपत्र पनि अरु केही नभएर सरकारको काम गतिलो नभएको भन्दै ! शनिबार दलबलसहित प्रधानमन्त्री निवास पुगेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री ओलीसँग कुनै विषयविशेषमा परामर्श गरेनन् बरू आफ्ना पार्टीको तर्फबाट ‘सरकारको काम गतिलो नभएको’ भन्दै भन्दै ११ बुँदे ज्ञापनपत्र नै बुझाए । फोरमले संविधान संशोधनलगायत विगतमा भएका सहमति कार्यान्वयनको माग दोहोर्‍याएको छ । ज्ञापनपत्रमा भने फोरम अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर भने छैन । महासचिव रामसहायकप्रसाद यादवले हस्ताक्षर गरेका छन् । दुई बुँदे सहमति गर्दै फोरम ओली नेतृत्वको सरकारमा सामेल भएको थियो । त्यसैअनुसार फोरम अध्यक्ष यादव ते श्रो वरियतासहित उपप्रधान तथा स्वास्थ्यमन्त्री बने । उनकै पार्टीका नेता इस्तियाक राई सहरी विकास र अर्का नेता डा. सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री छन् । आफैं सरकारमा हुँदाहुँदै फोरमले सरकारको काम प्रभावकारी नभएकाले समीक्षा गर्नुपर्ने माग राखेको छ । फोरम नेता तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यशैलीसँग प्रधानमन्त्री असन्तुष्ट छन् । त्यसैले संघीय सरकारमा भएपनि नेकपा-फोरम सम्बन्ध सुमधुर हुन सकेको छैन । फोरमले ज्ञापनपत्र बुझाउँदा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा र नेकपा महासचिव विष्णु पौडेल पनि उपस्थित थिए । फोरमका तर्फबाट भने अशोक राई, राजेन्द्र श्रेष्ठ, रामसहायकप्रसाद यादव, हेमराज राई र प्रकाश अधिकारी बालुवाटार पुगेका थिए । ज्ञापनपत्रमा फोरमले सहमतिअनुसार संविधान संशोधनका लागि ध्यानाकर्षण गराएको छ । आवश्यक गृहकार्य गर्न संयुक्त कार्यदल बनाउन, संसद्को जारी अधिवेसनबाटै संविधान संशोधनको प्रक्रिया अघि बढाई पारित गराउन पनि सरकारलाई आग्रह गरेको छ । प्रदेश दुई नम्बरको सरकारलाई केन्द्रले आवश्यक सहयोग नगरेको आरोप पनि फोरमले लगाएको छ । विकासका दृष्टिले पछाडि परेका प्रदेश २ र कर्णाली प्रदेशलाई विकास निर्माणका लागि स्पेशल प्याकेज घोषणा गर्ने माग राखेको छ । ‘हामीसँगको सहमतिअनुसार संविधान संशोधनमा ढिलाइ हुन थालेपछि सरकारलाई झक्झक्याएका हौं,’ महासचिव यादवले अन्नपूर्णसँग भने । फोरमलाई सरकारमा सहभागी गराउने बेला नेकपाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनको सहमति गरेको थियो । प्रधानमन्त्रीले फोरम नेतासँग सहमति अनुसार छिट्टै सरकारले संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिए । ‘तराई-मधेशको माग आवश्यकताका आधारमा सम्बोधन गर्ने प्रक्रियामै सरकार छ । राजपासँग पनि छलफल चलिरहेको छ । उहाँहरु (राजपा)का माग अनुसार रेशम चौधरीको सपथ ग्रहण पनि सरकारले गरेको छ । सबै विषयलाई प्याकेजमै सम्बोधन गर्ने सरकारको तयारी छ,’ प्रधानमन्त्रीको भनाइ उदधृत गदै ज्ञापनपत्र बुझाउन पुगेका फोरमका एक नेताले बताए । राजपाको मागअनुसार सरकारकै बिहीबार टीकापुर काण्डका आरोपित रेशम चौधरीलाई सांसदको सपथ गराएको थियो । यसै मेसोमा संविधान संशोधन गराउन सकिने आकलनका साथ फोरमले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । अन्नपूर्णपोस्टबाट

पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने

काठमाडौँ, पुस २२ । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ । श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यतालाई जनसमक्ष प्रचारप्रसार गर्न कार्ययोजना ल्याउन लागिएको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जानकारी दिए । पौष कृष्ण औँसीका अवसरमा श्री कान्तिभैरव वाग्मती गङ्गा सन्ध्या आरती व्यवस्थापन उपसमितिले शनिबार साँझ गोकर्णेश्वर उत्तरगया धाममा आयोजना गरेको वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा उनले पशुपतिनाथ–गोकर्णेश्वर–सुन्दरीमाई–श्वेतबाराही–कागेश्वरी–शालीनदी–नवतनधामलगायत तीर्थस्थललाई जोडेर धार्मिक पर्यटन प्रवद्र्धनको कार्ययोजना ल्याउन कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकासँग समेत सहकार्य गरिने बताए । उपप्रमुख शान्ति नेपालले धार्मिक, सांस्कृतिक, पौराणिक र पुरातात्विक महत्वको गोकर्णेश्वर उत्तरगया पितृतीर्थधामलाई दिव्यधामका रुपमा विकास गर्न नागरिक समाजसँग सहकार्य गर्न लागिएको जानकारी दिए । कान्तिभैरव गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष प्राडा ऋषिराम पोखरेलले स्कन्द पुराणको हिमवत्खण्ड नेपाल माहात्म्यमा उल्लेख भएअनुसारको महत्व झल्काउन गोकर्णेश्वर उत्तरगया क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना बनाएर काम गर्न माग गरे । विसं २०७४ को पौष कृष्ण औँसीका दिनदेखि शुरु भएको आरतीका गायक दीप थापा, गौरव श्रेष्ठ, भक्तबहादुर बुढाथोकी, आरतीकर्ता अविनाश भट्ट र गौरीशङ्कर भण्डारीलगायत आर्थिक सहयोग गर्ने दातालाई नगरप्रमुख चालिसेले सो अवसरमा सम्मान गरेका थिए । रासस

डीपीएल अक्सनः कुन क्लबमा को खेलाडी ? हेर्नुस्

काठमाडौ, पुस २१ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज सम्पन्न भएको छ । यही माघ २६ गतेदेखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि छवटा क्लबले अक्सनबाट ७२ खेलाडी र ट्यालेन्ट हन्टबाट छजना खेलाडी छनोट गरेका छन् । आज सम्पन्न अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी थिए जसमध्ये प्रत्येक टोलीले ११ जना खेलाडीहरु टोलीमा लिएका छन् । खेलाडी खरिद गर्न टोलीहरुले अधिकतम रु १२ लाख खर्च गर्न पाउने नियम थियो । रु १२ लाख बढी रकम खर्चिए २५ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था थियो । अक्सनमा सहभागी २०५ खेलाडीहरुमध्ये ७२ जना खेलाडीहरु बिक्री भए भने बाँकीलाई कसैले पनि किनेन । यस्तै ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीहरुमध्ये छ जनालाई छ वटा टोलीले एक÷एक खेलाडी लिएका छन् । अक्सनमा सहभागी छवटा टोलीमध्ये खेलाडी खरिदका लागि वसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले रु १४ लाख ४५ हजार खर्च ग¥यो । यस्तै सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले रु १२ लाख २० हजार, शरद भेषवाकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले रु ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले रु १० लाख ९५ हजार, करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्सले रु नौ लाख ९० हजार तथा दिपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सिवाइसी अत्तरियाले रु नौ लाख खर्च ग¥र्यो । अक्सनमा विनोद भण्डारी, ललित नारायण राजवंशी, ललित सिंह भण्डारी, भिम सार्की, पवन सर्राफ र आरिफ शेख अधिकतम मूल्य दुई लाख ५० हजार हजारमा बिक्री भएका छन् । यस्तै यस पटक प्रदिप ऐरी रुपन्देहीमा २ लाख ४० हजार, सन्दीप जोरालाई सीवाईसी अत्तरियामा २ लाख ३० हजार, रोहित पौडेल २ लाख ३० हजार र भुवन कार्की अत्तरियामा २ लाख १० हजारमा अनुबन्धित भएका छन् । कुन क्लबले कुन खेलाडी किने ?  महेन्द्रनगर युनाइटेड (शरद भेषवाकर, मार्की प्लेयर) ले रोहित पौडेललाई रु दुई लाख ३० हजार, अविनाश बोहरालाई रु एक लाख ७० हजार, आरिफ शेख रु दुई लाख ५० हजार, अमर सिंह रौटेलालाई रु एक लाख २० हजार, सागर ढकाललाई रु एक लाख, सिद्धान्त लोहनीलाई रु ७० हजार, दिलिप नाथलाई रु ७५ हजार, शाहब आलमलाई रु ६० हजार, कुशल मल्ललाई रु ५० हजार, दिपेन्द्र चन्दलाई रु ३० हजार, सन्तोष भट्टलाई रु ३० हजार र सुशील खड्का रु ३० हजारमा खरिद गरेको छ । ज्ञानेन्द्र मल्ल मार्की प्लेयर रहेको काठमाडौँ गोल्डेन्सले अक्सनबाट ललित राजवंशीलाई रु दुई लाख ५० हजार, अनिल साहलाई रु एक लाख ७० हजार, विक्रम भुसाललाई रु एक लाख ६० हजार, अविनभ यादवलाई रु ३० हजार, राशिद खानलाई रु एक लाख ७० हजार, योगेन्द्र कार्कीलाई रु ७० हजार, नन्दन यादव–५० हजार, सोनु तामाङलाई रु ६५ हजार, सूर्य तामाङलाई रु ५० हजार, मेहबुब आलमलाई रु ५० हजार, सुधिर चौधरीलाई रु ३० हजार र विक्रम ठगुन्नालाई रु ३० हजारमा किनेको छ । त्यसैगरी सोमपाल कार्मी मार्की प्लेयर रहेको धनगढी स्टार्सले पवन सर्राफलाई रु दुई लाख ५० हजार, दिपेश श्रेष्ठ–८० हजार सौरभ खनाल रु एक लाख ६० हजार, विपिन खत्री रु ९५ हजार, हरिबहादुर चौहान रु ९५ हजार, अमित श्रेष्ठ रु एक लाख ८० हजार, राजु रिजाल रु ७५ हजार, रोविन क्षेत्री रु ३५ हजार, सुनील धमला रु एक लाख ८० हजार, सन्दिप रजाली रु ४० हजार, धिरज शाही रु ३० हजार र कृष्ण ऐरलाई रु ३० हजारमा किनेको छ । यसैगरी वसन्त रेग्मी मार्की प्यलेर रहेको रुपन्देही च्यालेञ्जर्सल भीम सार्की – रु दुई लाख ५० हजार, ललित भण्डार रु दुई लाख ५० हजार, प्रदिप ऐरीलाई रु दुई लाख ४० हजार, पुरन विक रु ५० हजार, सन्दिप सुनार रु एक एक लाख १० हजार, विक्रम सोब रु ६० हजार, कृष्ण कार्की रु एक लाख, सुमित महर्जन रु ७५ हजार, विनोद भण्डारी रु दुई लाख ५० हजार, सुरज दराई रु ३० हजार, अनिल खरेल रु ३० हजार र शेर मल्ललाई रु ३० हजारमा खरिद गरेको छ । त्यसैगरी दिपेन्द्र ऐरी मार्की प्लेयर रहेको अत्तरियाले सन्दिप जोरा २ लाख ३० हजार, जितेन्द्र सिंह ठकुरी ७५ हजार, भुवन कार्की – दुई लाख १० हजार दिपेन्द्र रावत – ३० हजार , प्रेम तामाङ – ५० हजार , आदील अन्सारी – ५० हजार , रामनरेश गिरि – ७५ हजार , कमल सिंह ऐरि – ९० हजार , शुबेन्दु पाण्डे – ५० हजार, खगेन्द्र जोशी – ३० हजार, रित गौतम – ३० हजार, ज्ञानेन्द्र कुँवर – ३० हजारमा खरिद गरेको छ । त्यसैगरी करन केसी मार्की प्लेयर रहेको विराटनगर किंग्सले कुशल भुर्तेल एक लाख ६० हजार, पृथु बास्कोटा – एक लाख २० हजार, अर्जुन अधिकारी – ३० हजार, किशोर महतो – १ लाख, संसाद शेख – ७५ हजार, राजेश पुलामी – ७५ हजार, आसिफ शेख – १ लाख ८० हजार, हरिशंकर शाह – ९० हजार, सुशन भारि – १ लाख, अमृत गुरुङ – ३० हजार , तृतराज दास – ३० हजार , सुबास ऐरलाई ३० हजारमा खरिद गरेको छ । टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । प्लेअफमा पुगेको चार टोलीमध्ये अङ्क तालिकामा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्छ भने पराजित हुने टोलीले तेस्रो र चौथोबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा छ टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन् । रोउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई÷दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताको रुपमा २०७३ र २०७४ सालमा डिपिएलको पहिलो र दोस्रो संस्करण भएको थियो । दुवै संस्करणको उपाधि टोली चौराह धनगढीले जितेको थियो ।

वाइडबडी प्रकरणमा संलग्न जोसुकै भए पनि कांग्रेसले छाड्दैनः देउवा

उर्लाबारी, पुष २१ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै सभापति देउवाले वाइडबडी विमान प्रकरणमा जुनसकै पार्टीको भए पनि कारवाही हुनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारे । सरकारले छुट्टै छानविन समिति बनाएर घटनालाई लुकाउने शङ्का उत्पन्न भएको बताउदै उनले भने, “घटनामा संलग्न जोसुकै भए पनि काङ्ग्रेसले छाड्दैन”, सभापति देउवाले जनताको इच्छा र चाहनाअनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको आरोप लगाए । उनले सरकारले शिक्षा, सञ्चार, प्रहरी सङ्गठनलगायतका क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसका विरुद्ध काङ्ग्रेसले अब देशभर आन्दोलन शुरु गर्ने बताए। सभापति सरकारले कर बढाएर उद्योगी व्यापारीलाई दुःख दिएको बताए । कार्यक्रममा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य डा शेखर कोइराला डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा. डिला सङ्ग्रौला र अमृत अर्यालले आगामी निर्वाचनमा काङ्ग्रेसलाई बहुमत जिताउन अहिलेदेखि नै सबै कार्यकर्ता एकजुट भए लागिपर्नुपर्नेमा जोड दिएका थिए । रासस

भीमदत्त नगरपालिकाको अभियानः सन् २०१९ लाई ‘पूर्वाधार र प्रचार वर्ष’ घोषणा

कञ्चनपुर, पुष २० । जिल्लाको भीमदत्त नगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई मध्यनजर गर्दै सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरेको छ । नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले नेपाल भ्रमण वर्षमा नगरपालिकामा क्षेत्रमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार र प्रचार वर्ष घोषणा गरेका हुन् । उनी भीमदत्त नगरपालिकालाई पर्यटकीय नगरी बनाउने लक्ष्यका साथ अघि बढेका छन् । पर्यटनलाई भीमदत्त नगर समृद्धिको प्रमुख आधारका मानेर कार्यक्रम सञ्चालन गरिएका छन् । ‘भीमदत्त नगरपालिकामा पर्यटनका विशाल सम्भावना छन्, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छ, झिलमिला छ, विविध संस्कृति छ, ताल तलैया छ’ उनले भने, ‘पर्यटनलाई नगर समृद्धिको प्रमुख आधार मानेर नीति कार्यक्रम बनेको छ, कार्यक्रम गरिएका छन्, नेपाल भ्रमण वर्ष सफल बनाउन यो २०१९ लाई पूर्वाधार र प्रचार वर्षका रुपमा घोषणा गरेका छौ ।’ पुस महिनाभित्र हुने चौंथो नगर सभाको पूर्व सन्ध्यामा नगर प्रमुख विष्टले पर्यटकीय स्थलको संरक्षण, प्रवद्र्धन, पूर्वाधार विकास लगायतका कार्यक्रमका लागि २०२० लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरिएको हो । चौथो नगर सभाबाट यसका लागि थप नीति तथा कार्यक्रम पारित गर्न छलफल गरिएको छ । भीमदत्त नगरपालिकामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित महाकाली नदीको झोलुङ्गे पुल, झिलमिला ताल, विष्णु मन्दिर धाम, भम्केनी धाम, बाराकुण्डा, रौटेला, तिलकपुरको मिनी लिङ्गा, महाकाली नदीको मौन दृष्य, टुँडिखेलको ५२ ढोके, कालिताल झरना, शिवधाम क्षेत्र, ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर, कलपटे मन्दिर, राना थारु संस्कृति, सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा लगायतका धार्मिक पर्यकीय स्थल र साँस्कृतिक सम्पदा छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आउने पर्यटकहरुका लागि नयाँ कटानस्थित राना थारु होमस्टेको संग्राहलय निर्माणमा सहयोग कार्यक्रम राखिएको छ । पश्चिमी सीमा नाका गड्डाचौकीमा वर्र्षौदेखि खाल्डाखुल्डी परेको बाटोमा ग्राभेलिङ्ग गरी आवागमनका लागि सहज बनाइएको छ । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले भ्रमण वर्ष सफल बनाउन नगरपालिकाले सरोकारवाला निकायसित छलफल गरी थप कार्यक्रम बनाउने जानकारी दिए ।

अनलाइन सेवा विस्तार हुँदै

काठमाडौँ, पुस २० । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ । उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित बनाउन चार महिना अघि ३७ कार्यालयमा अनलाइन सेवा उपलब्ध गराएकामा अहिले थप १० कार्यालयमा सो सेवा उपलब्ध गराएको होे । मन्त्री पद्मा अर्यालले सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रयोगमा ल्याइएको अनलाइन सेवाले देशभरको जग्गा जमीनका करीब ७५ प्रतिशत कारोवार समेटने बताए । अनलाइनमा व्यवस्थित गरिएका जग्गा सधैँका लागि सुरक्षित हुने हुँदा तमसुकका आधारमा सम्बन्धित व्यक्तिको विवरण उक्त प्रणालीमा दर्ता गरी कार्यालयले प्रमाणीकरणसमेत गर्छ । जग्गा खरीद बिक्री गर्ने दुवै पक्षको फोटो, औँठाछाप कम्प्युटरमा व्यवस्थित गरिन्छ । उक्त प्रणालीले कार्यालयमा सेवाग्राही र सेवा प्रदायकबीचको उपस्थितिलाई न्यूनीकरण गर्ने र कार्यालयका सम्बन्धित व्यक्तिको औँठा छाप व्यवस्थित गर्ने हुँदा कीर्ते तथा जालसाजी हुने जोखिमबाट जग्गाधनी सुरक्षित हुने जनाइएको छ । मालपोत कार्यालयका किनबेचको सम्पूर्ण विवरण अनलाइनमार्फत निगरानी गरेर यस क्षेत्रमा देखापरेका विकृति अन्त्य गर्न उक्त प्रणालीलाई देशभरका १३१ कार्यालयमै विस्तार गरिने सचिव गोपीनाथ मैनालीले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले मुलुकमा सुशासन, र जनताप्रति जिम्मेवार बन्न दिएको निर्देशनपछि उक्त मन्त्रालयले रजिस्ट्रेशन वापत हुने राजश्व छली रोक्न सो सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन लागेको हो । अनलाइनमा राखिएका जग्गा सधैँका लागि सुरक्षित हुने हुँदा तमसुकका आधारमा सम्बन्धित व्यक्तिको विवरण प्रणालीमा पनि दर्ता गर्ने गरिन्छ र त्यसलाई कार्यालयले प्रमाणीकरण गर्छ । जग्गा खरीद बिक्री गर्ने दुवै पक्षको फोटो, औँठाछाप कम्प्युटरमा व्यवस्थित गरिन्छ । गुणस्तरीय सेवा प्रदान गर्न र एउटै जग्गा जालसाजी गरी फरक–फरक व्यक्तिलाई बेच्दै ठगी गर्न नसकुन् भनेर अनलाइन प्रक्रियामार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण शुरु गरिएको हो । विगतमा मालपोतका कर्मचारी, घरजग्गा दलाल र लेखापढी व्यवसायीलगायतको मिलेमतोमा राजश्व छली, विभिन्न किसिमका अनियमितता सार्वजनिक हुन थालेपछि सम्पूर्ण कर्मचारीलाई जनताको काम चुस्तदुरुस्त रुपमा गर्न मन्त्रालयले कडाइ गरेको छ ।यो प्रणाली शुरु भएका स्थानमा सेवाग्राहीले आफ्नो जग्गा के कति छ भनेर मोबाइल मार्फत नै जानकारी पनि लिन सक्ने भएका छन् । रासस

लिभरपुललाई म्यानचेस्टर सिटीले २–१ ले हरायो

काठमाडौं, पुस २० । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ । गएराति भएको खेलमा लिभरपुललाई म्यानचेस्टर सिटीले २–१ ले हराएको हो । खेलमा सिटीका लागि सर्जियो अगुएरो र लेरोए सानेले एक–एक गोल गरे । लिभरपुलका रोबर्टो फर्मिनोले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले लिभरपुलसँगको अन्तर चार अंकमा झारेको छ । लिभरपुलको २१ खेलबाट ५४ अंक छ भने सिटी ५० अंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटनह्याम हट्सपरको ४८ अंक छ । ४४ अंकका साथ चेल्सी चौथो, ४१ अंकका साथ आर्सनल पाँचौ तथा ३८ अंकका साथ म्यान्चेस्टर युनाईटेड छैटौं स्थानमा छन् ।

काठमाडौंको सतुंगलमा भिषण आगलागी, निभाउने प्रयास जारी

काठमाडौं, पुष १९ । सतुंगलस्थित एक घरमा करिब डेढ घण्टादेखि आगलागी भइरहेको छ । साँझ साढे ७ बजेतिर आगलागी सुरु भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो निभाउन ४ दमकलसहित प्रहरी, स्थानीय खटिएका छन् । डिएसपी होविन्द्र बोगटीका अनुसार उक्त घरमा कपास वा कपडा गोदाम भएको अनुमान छ।आगो अन्यत्र नफैलियोस् भनेर सतर्कता अपनाइएको छ।

रेशमको शपथपछि महतो भन्छन्, ‘लोकतन्त्र र जनमतको सम्मान’

काठमाडौं, पौष १९ । रेशम चौधरीले सपथ लिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले लोकतन्त्र र जनमतको सम्मान भएको प्रतिक्रिया दिएका छन् । टीकापुर घटनाका मुख्य दोषी चौधरीलाई संसद् सचिवालयमा बिहीबार सभामुख कृष्णबहादुर महराले शपथ खुवाइसकेपछि महतोले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन्। महतोले चौधरीको शपथपछि पनि आफूहरु सरकारमा भने सहभागी नहुने प्रस्ट्याए। उनले संविधान संशोधन, अन्य थुनामा रहेका नेता, कार्यकर्ताहरुको रिहाई नभएसम्म सरकारलाई दबाब दिइरहने बताए। महतोले भने, ‘संविधान संशोधन बाँकी छ। थुनामा रहेका साथीहरुको मुद्दा टुंगिएको छैन। दबाब जारी रहन्छ। सरकारमा जाने कुरै छैन।’ राजपाले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शपथ गराउनुपर्ने लगायत माग उठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो।

सरकारको नीतिः अब भिखारीलाई पनि जेल सजायको व्यवस्था

काठमाडौं, पुस १९ । काठमाडौंका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । प्रहरीले बेवारिसे वृद्धवृद्धालाई आश्रममा पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो । महानगरीय परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई आश्रममा राखिने छ । भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याएर कानूनअनुसार कारबाही गरिने छ । नयाँ पत्रिकाबाट

जेलमा रहेका टिकापुर हत्याकाण्डका आराेपी सांसद रेशम चाैधरीले आज शपथ लिने

काठमाडौ, पौष १९ । टीकापुरमा भएकाे हत्याकाण्डमा मुख्य अभियुक्तको रुपमा थुनामा रहेको सांसद् रेशम चौधरीले आज सपथ लिने भएका छन् । सभामुख कृष्णबहादुर महराले बिहान साढे ११ बजे संसद् भवनमा चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाउनेछन् । उनी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद हुन् । राजपाका नेताहरुले सांसद चौधरीलाई शपथ दिलाउन र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसदमा र सचिवालयसँग बारम्बार माग गर्दै आएका थिए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्बाङले निर्वाचन आयोगले चौधरी विजय भएको प्रमाण पत्र सभामुखको कार्यकक्षमा पठाएपछि शपथको लागि प्रक्रिया सुरु गरिएको जानकारी दिए। उनले भने, ‘सभामुखले चौधरीलाई मेरै कार्यकक्षमा ल्याए म शपथ गराउँछु भन्नु भएको थियो। कानुन बमोजिम यो शपथ प्रक्रिया अघि बढाउन हामीले भूमिका खेलेको हौं। उहाँको मुद्दा र यो शपथ फरक कुरा हो। ती हामीसँग सम्बन्धित कुरा होइन। त्यसैले शपथ गराउन पहल गरेका हौं। उहाँको मुद्दा कानुनअनुसार अघि बढ्छ।’ चौधरी गत वर्ष भएको प्रतिनिधि सभाको चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट ३४३४१ मत ल्याएर विजयी भएका थिए। उनको निकटतम प्रतिस्पर्धी तत्कालीन वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र ल्याएकी थिइन्। चौधरी र शाहबीचको मतअन्तर २० हजार ९ सय ३५ थियो। चौधरी कैलाली घटनाका मुख्य आरोपी भएको हुन्। घटनापछि उनी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए। उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए। ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो। उक्त आन्दोलनलाई चर्काउन चौधरीले मुख्य भूमिका खेलेको आरोप लागेको थियो। चुनाव जितिसकेपछि गत फागुन १४ गते सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए। टीकापुर घटनाका अभियुक्त रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका भएका थिए। न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाएका थिए।

सम्राट अकिहितोले गरे अन्तिम सम्बोधन

टोकियो, पुस १८ । जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन् । उनले आफ्ना हजारौँ शुभचिन्तकसामू अम्बोधन गरेका हुन् । बुधबार बिहान सम्राटको नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा उनका ७२ हजार भन्दा बढी शुभचिन्तक सम्राट अकिहितो करिब दुई शताब्दीयता यस प्रकार पदत्याग गर्ने नै पहिलो जापानी सम्राट हुन् । उनले ३० वर्षको शासनपछि अगामी अप्रिल ३० मा आफ्नो राजगद्दी छोड्दै छन् । ‘तपाईहरुसँग खुल्ला आकाशमुनि नयाँ वर्ष मनाउन पाउँदा म अत्यन्त खुशी छु’ जापानी झण्डा हल्लाउँदै सम्राटको लामो जीवनको कामना गरिरहेका हजारौ व्यक्तिसामू अकिहितोले भने । रासस

जबर्जस्ती संविधान जारी गर्ने पक्ष पनि संशोधनको पक्षमा- मन्त्री उपेन्द्र यादव

राजविराज, पुस १८ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र मन्त्री यादवले ‘जबर्जस्ती संविधान जारी’ गर्ने पक्षले पनि संविधान संशोधन गर्नैपर्ने महसुस गरेको दाबी गरेका छन् । संविधान संशोधनको एजेन्डा यथावत् रहेको बताउँदै यादवले देश मौलिक हक कार्यन्वयनको बाटोमा अघि बढेको समेत बताए । बृहत् स्वास्थ्य शिविरको तयारीका लागि बुधबार सप्तरीको राजविराज आएका उनले संविधानप्रदत्त मौलिक हक कार्यान्वयनका लागि महत्वपूर्ण १६ ओटा ऐन बनाएर अघि बढेको बताए । इमेजखबरबाट

छुट्टाछुट्टै दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौँ, पुस १८ । काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गाअड्डास्थित सडकमा ना ३ ख २४१ नम्बरको कन्टेनरले बा ७६ प ४५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नैकापका २४ वर्षीय गिभसन अधिकारीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मंगलबार साँझ भएको सो दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । ट्रकका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी काठमाडौँ महानगरपालिका–२७ जमलमा अन्दाजी ४५ वर्षीय पुरुष मृतावस्थामा फेला परेका छन् । उनको पहिचान नखुलेको प्रहरीले बुधबार जानकारी दिएको छ । यसैबीच काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान डेरा गरी बस्ने धनुषा ढल्केबरका २७ वर्षीय पुष्कर बानियाँको कोठाबाट मंगलबार करीब रु एक लाख ५० हजार बराबरको सुनका गरगहना चोरी भएको छ । काठमाडौँ बस्दै आएका सोलुखुम्बुका सञ्जीव गुरुङको कोठाबाट करीब रु एक लाख छ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले आज जानकारी दिएको छ । रासस

बुधबारदेखि महेन्द्रनगरमा पाँच दिने आन्दोलन शुरु, २४ गते सिटी जुलुस

कञ्चनपुर, पुस १८ । महेन्द्रनगर नगर विकास समितिले विभिन्न व्यक्ति तथा संघ–संस्थालाई लिजमा लिएको जमिन खारेजीको माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएका छन् । सत्ता पक्षीय नेकपा (पुर्व एमाले–माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा विप्लवका युवा विद्यार्थीले नगरविकास समितिले गरेको लिज सम्झौता खारेजीको माग गर्दै पाँच दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । युवा संघ, अनेरास्ववियु, वाईसियल, अखिल क्रान्तिकारी, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, क्रान्तिकारी युवा संघ नेपाल र क्रान्तिकारीले संयुक्त रुपमा १८ पुषदेखि २४ सम्म आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । १८ पुसमा भीमदत्त नगरका जनप्रतिनिधी र पुस २० मा जिल्लास्थित सबै सरोकारवालासँग छलफलसँग छलफल गर्ने । २२ पुषमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टलाई ज्ञापन पत्र बुझाउने, २३ पुषमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना र २४ पुषमा महेन्द्रनगरमा सिटी जुलुस गर्ने कार्यक्रम घोणा गरिएका छन् । युवा संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले गुरु योजना निर्माण भएका सम्पूर्ण अवैध घर टहरा भत्काउनका लागि आन्दोलन थालेको बताए । ‘जुनसुकै नेता कार्यकर्ताले त्यहाँ लिजमा लिएको जमिन खारेजी हुनुपर्छ’, उनले भने, ‘यहाँ व्यक्ति वा समुह भन्ने होइन, नीतिगत रुपमा खारेजीको माग हो ।’ उनले भीमदत्त नगरका सिँचाई एव विभिन्न अतिक्रमण गरिएका संरचना खाली गर्न आन्दोलन गरिने बताए । वाईसीयल नेपालका केन्द्रीय सदस्य अर्जुन सिह साउदले भूमाफियाको चुङ्गोलबाट महेन्द्रनगरको सुन्दरता जोगाउनका लागि युवा जागेको बताए । ‘शुरुवातदेखिको सम्पूर्ण लिज सम्झौता खारेजी गर्नुपर्छ, ‘उनले भने, ‘नगरलाई भूमाफियाबाट बचाउनुपर्छ ।’ सुकुम्बासी कतै सार्वजनिक जमिनमा बस्ने वितिक्कै त्यहाँ शक्ति परिचालन गरेर पनि विस्थापित गरिने र यता नाङ्गो रुपमा अतिक्रमण हुँदा सरकारी निकाय चुप लाग्ने प्रवृतिले माफियाले मौकाएको टिप्पणी गरे । उनले वर्षाैंदेखि न्यून भाडादरमा कारोबार भईरहेका सटर पनि खारेजी गरेर नयाँ ढङले भाडादर निर्धारणमा जोडदिए । नेपाल दरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दले गलतका विरुद्ध एक ढिक्का भएर संघर्षमा उत्रेका युवा र विद्यार्थीविच कोही बेचिने संङकै नरहेको बताए । उनले नीतिगत रुपमा अनियमिता नरोकिन्जेलसम्म आन्दोलन जारी राख्ने बताए । अखिल क्रान्तिकारीका प्रवक्ता चन्द्रकान्त भट्ट (सिके)ले नगर विकास समितिका केही पदाधिकारीले नगरको औद्योगिक क्षेत्रलाई समेत दोहन गरेको टिप्पणी गरे । ‘बनखेत औद्योगिक क्षेत्र हो’, उनले भने, ‘त्यहाँ घरैघर बनेका छन्, अहिले लाखौं भाडा असुलिरहेका छन् ।’ प्रचलित कानुनको बर्खिलाप नगरविकास समितिको जमिन दोहन गरिएको उनको भनाई छ । नेपाल विद्यार्थी संघका नेता प्रकास थापाले गलत कार्यका बिरुद्ध अन्तिम समयसम्म पनि आन्दोलन जारी राखिने बताए । उनले जस्तोसुकै परिस्थित आएपनि आन्दोलनबाट पछाडि फर्किन नहुने बताए । नेकपा विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकास जप्रेलले भूमाफियाले दोहोरो भूमिका निर्वाह गर्दा नगरविकासको जमिन स्वाहा पार्ने खेल भएको बताए । उनले आन्दोलन बार्किनिङ्गमा टुङग्याउन नहुने सुझाव दिँदै तार्किन निष्कर्षमै पुर्याउनुपर्नेमा जोड दिए । अनेरास्ववियुका सह–सचिव कमल रोकायाले भू–माफियाकरणले सार्वजनिक सम्पत्ति व्यक्ति व्यक्तिका नाममा राखिएको बताउँदै उक्त कार्यका विरुद्धमा संघर्ष जारी रहेको बताए । अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्रराज विष्टले नगरविकासको सिङ्गपुरै लिजमा लिएको जमिन खाली गराउन आन्दोलन छेडिएको बताए । उनले भीमदत्त नगरको सालघारी लगायत सम्पूर्ण क्षेत्रमा भईरहेको अवैध जमिनमा निर्माण भएको घटरा, घर कुनैपनि संरचना खाली गराउने आन्दोलन भएको बताए । उनीहरुले सोमबार नगरविकास समितिबाट लिजमा लिएर निर्माण भएका विभिन्न व्यावसायिक तथा गैर व्यवसायिक घर संरचनामा रातो रङ लगाएपछि सम्बन्धीत धनीहरुले आपत्ति जनाएका थिए । उनीहरुले कानुन हातमा लिएर सत्ताधारी र प्रतिपक्षीले काम गरेको दुःखेसो पोखेका थिए । कञ्चनपुर खोकाछाप्रा तथा उद्धार समितिले पनि रङ लगाएको प्रति आपत्ति जनाएका छन् । कञ्चनपुर खोका छाप्रा तथा उद्धार समितिका उपाध्यक्ष बिरादत्त जोशीले वषौँदेखि आफूहरु सोही स्थानमा बस्दै आएको र एकाएक रङ लगाईदिएको भन्दै आपत्ति जनाए । ‘चुनावका बेला यी नै पार्टीका नेताहरु जिताइदिनुहोस् भनेर भोट माग्न हाम्रौ दैलोमा आउँछन्, उनले भने, ‘चुनाव जितेपछि हाम्रो दैलो अवैध भन्दै उनीहरुका मान्छे, अवैध भन्दै भत्काउँन आउँछन् ।’ उनले वास्तविक खोकाछाप्रा पीडित र गैर पीडित पहिचान गरेर अघि बढ्नुपर्नेमा जोड दिए । सबै राजनीतिक दलहरुले खोकाछाप्राको व्यवस्थापनमा लिखितै प्रतिबद्धता जाहेर गरेपनि अहिले आएर आफुहरुलाई पनि भू–माफिया भन्दै हिडेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । उनीहरुले केही नेता साँसदले आफ्ना लागि नगर विकाससँग जमिन माग गरेर माग गरे अनुसार जमिन नदिएपछि आफुहरु बिरुद्ध विभिन्न बहानामा टुनामुना बाँधिरहेको दाबी गर्दै आएका छन् । आफुले पाँउदा चुप अरुले पाउँदा हल्लाखल्ला भएको चर्चा चलिरहेको छ । तर, आन्दोलनमा उत्रेका युवा विद्यार्थीले आफुहरुको कुनै पनि व्यक्तिगत स्वार्थ नभई सुन्दरनगर दोहन हुँदै गरेकोमा चिन्ता लागेरै आन्दोलनमा होमिएको बताएका छन् । उनीहरुले कुनै पनि सासद, नेता, मन्त्री वा कुनै शक्तिबाट परिचालन नभएको स्पष्ट पार्दै राज्यका नियम पालना नगर्ने कदमका विरुद्धमा संघर्षमा उत्रिएको दाबी गरेका छन् । रेडियोसुदूरसञ्चारबाट