नेता नेपाल भन्छन्, ‘कम्युनिस्ट सरकार असफल भए राष्ट्र नै असफल हुन्छ’

काठमाडौं, कार्तिक २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको सरकार असफल भए सिङ्गो राष्ट्र नै असफल हुने बताएका छन् । रिपोर्टर्स क्लबले उनको निवासमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।

मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकारले प्राथमिकिकरण गरेको र राज्यका निकायलाई गतिशील बनाएर सरकार अगाडि बढ्नुपर्नेमा नेता नेपालले जोड दिए । देश र जनतालाई विकास र समृद्धिमा लैजानका लागि सरकारसँग स्पष्ट दृष्टिकोण रहेकोसमेत उनले बताए ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रधानमन्त्री ओलीले कम्युनिष्टहरुको एकतामा निर्वाह गरेको भूमिकाले देशको राजनीतिक स्थिरताका लागि सकारात्मक प्रभाव पार्ने बताए । उनले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले राप्रपा परिवेशका सबै पार्टी हिन्दू राष्ट्र कायम गर्ने समझदारीका साथ एकीकरणको प्रयास भइरहेको बताए । -रासस

नेकपा अध्यक्ष प्रचण्डको घोषणा– आगामी वर्ष वृद्धभत्ता पुग्ने गरी बढ्छ

विराटनगर, कार्तिक १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आउँदो आर्थिक वर्षको बजेटमा वृद्धभत्ता वृद्धि हुने बताएका छन् । विराटनगरमा आयोजित तिहार तथा छठ पर्वकाे शुभकामना कार्यक्रममा प्रचण्डले भने, ‘वृद्धभक्ताबारे सचिवालयमा नेताहरुसँग छलफल भइरहेकाे छ । विचैमा कतैबाट काटेर दिउकी भन्ने पनि भएको छ । यात काटेर दिइन्छ, नभए भने आउने बजेटमा पुग्ने गरी दिइन्छ हेर्नुहोला ?’ पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार पूर्वाधार विकासमा केन्द्रित भएको बताए । उनले काठमाडौंका खाल्डाहरु पुर्ने काम छिट्टै सकिने विश्वास दिलाए । प्रचण्डले भने, ‘सरकारको गति बढ्दैछ। काठमाडौंका खाल्डा पुर्ने बित्तिकै सरकारको जयजयकार हुन्छ । खाल्डो पुरेपछि कांग्रेसले के भन्ने रहेछ, हेरौला ।’ साथै, अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धीहरु कर्मचारीका कारणले गुम्ने खतरा रहेको समेत उनले उल्लेख गरे। उनले भने, ‘प्रदेशमा कर्मचारी जान मान्दैनन्। केन्द्रमा बस्न खोज्छन्। कर्मचारीतन्त्रले परिर्वतन बुझ्न पर्नेछ। कर्मचारीलाई सिकाउन जरुरी छ । शान्ति प्रक्रिया पश्चात् दुई पार्टी एकीकरण अनेक प्रस‌ंग समेत कोट्याएका प्रचण्डले भने, ‘चुनावमा कति परिणाम आउने माओवादीलाई पूर्व आँकलन थिएन। ५०र५० प्रतिशत गरी एकता गरौं भनेको माधवजीले मान्नु भएन।’

सोमबार नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि

काठमाडौं, कार्तिक १९ । वाम बुद्धिजीवी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिँदै छ । लाजिम्पाटस्थित निवासबाट दिउँसो १ बजे शव यात्रा निकालिने छ । कमलाक्षी, असन, बांगेमुढा, क्षेत्रपाटी हुँदै शोभा भगवतीसम्म शवयात्रा गरिने र दिउँसो शोभा भगवतीको कर्णदीपमा अन्त्येष्टि गरिने छ । शवयात्रा अघि अन्तिम श्रद्धाञ्जलीका लागि शव निवासमै राखिएको पारिवारिक स्रोतले जनाए । मस्तिष्कघात र मृगौलाको समस्याबाट पीडित तुलाधरको ७८ वर्षको उमेरमा आइतबार निधन भएको हो । कात्तिक १३ गतेदेखि काठमाडौंस्थित नर्भिक अस्पतालको आइसीयूमा उपचाररत तुलाधरको आइतबार अपराह्न निधन भएको हो । पञ्चायतकालदेखि वाम राजनीतिमा सक्रिय उनी पछिल्लो समय मानवअधिकारवादी अभियानमा पनि लागेका थिए। उनको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरूले दुःख व्यक्त गरेका छन्। प्रशासनबाट

सुविधा दुई चालकको, काम एकै जनाबाट

काठमाडौँ, कात्तिक १९ । संघीय संसद्का पदाधिकारी सबैले २ जना सवारी चालक राख्न पाउँछन् । धेरैले सुविधा अनुसारका दुईजना चालक राखेका छैनन् तर पारिश्रमिक भने लिएका छन् । प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा समिति सभापति समेतले २ जना चालकको सुविधा पाउँछन् । संघीय संसद् सचिवालयले पदाधिकारीलाई दुई जना सवारी चालकको सुविधा दिने गरेको छ । चालकको मासिक पारिश्रमिक भुक्तानी पनि सम्बन्धित पदाधिकारीकै बैंक खाता मार्फत गरिन्छ । हलुका सवारी चालकका रूपमा प्रतिसवारी चालक १८ हजार तीन सय रुपियाँका दरले दुईजना चालकका लागि मासिक ३६ हजार ६०० रुपियाँ पदाधिकारीकै खातामा जम्मा गरिदिन्छ । तर, दुई सवारी चालकको सुविधा बुझे पनि अधिकांश पदाधिकारीका चालक एक जनामात्र छन् । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले स्पष्ट कानुनी व्यवस्था नहुँदा पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी व्यवस्था गरिने गरिएको बताए । पाण्डेले भने– ‘हामीले अहिले पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी गर्र्दै आएका छौँ । को राख्ने कति राख्ने सबै उहाँहरुकै स्वविवेकको कुरा हो । दुई चालक राख्ने सुविधा ऐनले दिएको छ ।’ पदाधिकारीले सुविधा बुझ्नका लागि भने अनिवार्य रूपमा दुई चालककै नाम उपलब्ध गराउनुपर्छ । तर, सचिवालयको सवारी शाखाको रेकर्ड अनुसार गेटपासका लागि नाम दर्ता गर्ने सवारी चालक भने अधिकांश पदाधिकारीका एकमात्र छन् । दुई जनाका दुई चालक सचिवालयका अनुसार नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक देब गुरुङका दुई चालकले नै गेटपासका लागि नाम दर्ता गराएका छन् । गुरुङको सवारी चालकका रूपमा सचिवालयमा महेश गुरुङ र युगेन लामाको नाम दर्ता छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठका पनि दुई चालक छन् । रेकर्ड अनुसार श्रेष्ठका चालकमा सरोज तामाङ र पासाङ लामा रहेका छन् । नेकपाका संसदीय दलका सचेतक शान्ता चौधरीको पनि एकमात्र चालक छन् । उहाँका चालकका रुपमा अर्जुन प्याकुरेलको नाम दर्ता छ । यस्तै, कांग्रेस सचेतक पुष्पा भुसालका चालकका रूपमा बुदु खड्गीको नाम दर्ता छ । लेखा समिति सभापति भरतकुमार शाहका पनि एकमात्र चालक छन् । नेकपाका राष्ट्रियसभा दलका अध्यक्ष दिनानाथ शर्मा, सचेतक खिमलाल भट्टराईका पनि एक-एक जना चालकको मात्र दर्ता छन् । यस्तै, विपक्षी दल कांग्रेसकी सचेतक सरिता प्रसाईँका तर्फबाट पनि एकमात्र चालकको नाम दर्ता छ । प्रसाईँका चालकका रुपमा मिङ्मा शेर्पा छन् । प्रतिनिधिसभामा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाका पनि एकमात्र चालक छन् । यस्तै, राष्ट्रियसभा दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, विधायन व्यवस्थापन समिति सभापति रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावलका पनि एकमात्र चालकले परिचयपत्र र पासका लागि नाम दर्ता गराएका छन् । सचिवालयको रेकर्ड अनुसार प्रतिनिधिसभाको अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेल, विकास समिति सभापति कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, कृषि समिति सभापति पूर्णकुमारी सुवेदीका पनि एकमात्र चालक छन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्या‌ंकन समिति सभापति निरादेवी जैरुका पनि एकमात्र चालक छन् । सचिवालयको रेकर्ड अनुसार जैरुका चालकका रुपमा कुमार रोका कार्यरत छन् । न्यून पारिश्रमिक, टिक्दैनन् चालक सचिवालयले दुई सवारी चालक पदाधिकारीका लागि व्यवस्था गरिदिए पनि अधिकांशले एकमात्र चालक राख्ने गरेका छन् भने राखिएका चालकले पनि सन्तोषजनक पारिश्रमिक नपाएको बताएका छन् । केही चालकले भने पारिश्रमिकमा सन्तुष्टि जनाएका छन् । ‘दुई जना ड्राइभर राख्न तलब आउँछ भन्ने हामीलाई पनि जानकारी छ । तर, एकजना ड्राइभर राखिन्छ । त्यसमा पनि भनेजस्स्तो पैसा पाइन्न । कहिले त १७–१८ घन्टासम्म काम गर्नुपर्छ’ एक पदाधिकारीका चालकले गुनासो गरे । चालकहरूका अनुसार केहीले २५ हजार रुपियाँसम्म पारिश्रमिक पाएका छन् । कतिपयले भने २० देखि २२ हजारसम्म मात्र मासिक भुक्तानी पाउने गरेको बताएका छन् । सचिवालयका उच्च अधिकारीको अनुभव अनुसार पनि पदाधिकारीका चालक फेरिइरहन्छन् । ‘कतिपयका त १५ दिनमै फेरिएको पनि रेकर्ड छ । केहीका दुई चार महिनामा । केहीका भने लामो समयदेखि कार्यरत छन् । लामो समय काम गर्ने उच्च पदाधिकारीका चालक छन् । बिहान ६ बजेदेखि अबेरसम्म काम गर्नुपर्ने हुनसक्छ । पारिश्रमिक चित्त नबुझेर पनि होला हामी छिटोछिटो चालक फेरिएको देख्छौँ ।’ गोरखापत्रबाट

विवाद उत्पन्न भएपछि युवाहरुद्वारा स्याङ्जाका मेयरमाथि नै हातपात

काठमाडौँ कार्तिक १८ । स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन् । रारा भ्रमणबाट फर्किएका मेयर गिरीमाथि कालिकोट सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा शनिबार राति हातपात भएको हो । मेयर बसेको होटलमा बसेका काठमाडौँका युवाहरुको टोली र मेयरबीच विवाद उत्पन्न भएपछि युवाहरुको टोलीले मेयर गिरीमाथि कुटपिट गरेको हो। ‘मदक पदार्थ सेवन मेयरले आफ्नो पदको घमण्ड देखाउन थालेपछि विवाद भएको हो’, स्रोतले भने, ‘विवाद बढ्दै गएपछि मेयर र काठमाडौँको समूहबीच हात हालाहाल भएको हो ।’ हात हालाहालमा मेयर गिरीसहित उक्त टोलीका अन्य ४ जान पनि घाइते भएको बताइएको छ। घाइते मेयर गिरीलाई राति नै जिल्ला अस्पताल कालिकोट लगिएको थियो। मेयर गिरीको टाउकोमा चोटलागेको र ४ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न काठमाडौँका ८ युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक देवेन्द्र मल्लले दुबै पक्ष मादक पदार्थ सेवन गरेर आक्रमणमा उत्रिएको बताए । उनले अहिले दुवै पक्षबीच जिल्ला प्रहरी कार्यालयमा मिलापत्रको गराउने कार्य सुरु भएको बताए । यता मेयर गिरीले भने आफूमाथि कुनै कुटपिट नभएको प्रतिक्रिया दिएका छन् । मेयर गिरीले भने, ‘हामी रारा भ्रमणमा गएका थियौँ । अहिले सुर्खेत फर्कँदै छौँ, बाहिर हल्लामा आएजस्तो कुनै घटना भएको छैन। नेपालखबरबाट

कार्तिक ३० देखि सानिमा बैंकले दुई अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं, कार्तिक १८ । सानिमा बैंकले यही कार्तिक ३० गतेदेखि १० वर्षअवधिको २ अर्ब रूपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकको निष्काशन गर्ने कूल ऋणपत्रमध्ये ८० प्रतिशत अर्थात एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता व्यक्तिगत तवर मार्फत बिक्री छ भने २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई खुला गरिएको हो । सर्वसाधारणमा निष्काशन हुने कूल ४ लाख कित्ता ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्टाइएको छ भने ३ लाख ८० हजार कित्ता सर्वसाधारले आवेदन दिन पाउने छन् । १०५ सानिमा डिवेञ्चर २०८५, नाम दिइएको १० वर्ष अवधिको यस ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर अर्ध–वार्षिकरुपमा प्राप्त हुने बैंकले जनाएको छ । ऋणपत्रमा मंसिर ४ गतेसम्म आवेदन गर्न पाइने छ । ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि ३ लाख ८० हजार कित्ता अर्थात ३८ करोड रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । बैंकको ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले ऋणपत्रको बिक्री प्रबन्धक प्रबन्धक काठमाडौं क्यापिटल, सानिमा बैंकको उपत्यका तथा उपत्यका बहिरका शाखा कार्यालयहरुबाट दरखास्त फारमा बुझाउन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि आस्वाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन गर्न सकिने छ । पूँजी प्रयाप्तता अनुपात बढाउन र व्यवसाय विस्तारका लागि ऋणपत्र जारी गर्न लागिएको सानिमा बैंकले जनाएको छ । बैंकलाई आवश्यक दीर्घकालीन पूँजीको जोहो गर्न यो ऋणपत्र बिक्री गर्न खोजेको हो। उसको पूँजी कोष अनुपात अहिले १२।९३ प्रतिशत छ । हाल बैंकमा बचत खाताको ब्याजदर ७ प्रतिशत हाराहारीमा मात्र रहेको छ । ऋणपत्रमा १० प्रतिशत ब्याज पाइने भएकाले उच्च प्रतिफल सहित दीर्घकालीन लगानी गर्न खोज्ने लगानीकर्ताका लागि यो राम्रो अवसर हुने बैंकले जनाएको छ । बैंकले ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट कात्तिक ७ गते अनुमति प्राप्त गरेको थियो । बैंकको यो दोस्रो ऋणपत्र हो । यसअघि बैंकले ३७ करोडको ७५ सानिमा डिवेञ्चर २०७९ जारी गरेको थियो । बैंकले गत बर्षको खुद नाफाबाट १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मेरोलगानीबाट

सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि

कैलाली, कार्तिक १७ । सुदूरपश्चिम प्रदेशको खाद्य भण्डार कैलाली र कञ्चनपुरमा यो वर्ष धान उत्पादन १५ प्रतिशतले वृद्धि हुने भएको छ  । कृषि ज्ञान केन्द्रहरूले उत्पादन बढेको प्रारम्भिक आँकडा दिएका छन्  । कैलाली र कञ्चनपुर हेर्ने कृषि ज्ञान केन्द्रका प्रमुख गोकुलप्रसाद बोहोराले कैलाली र कञ्चनपुरमा १५ प्रतिशतले धानको वृद्धि भएको प्रारम्भिक अनुमान गरे । ‘यकिन तथ्य आउन केही समय लाग्छ,’ उनले भने, ‘किसानहरूको कुरा र धान रोप्ने बेला गरिएको अनुगमनबाट बढेको छ भन्न सकिन्छ ।’ वर्षा राम्रो भएकाले धानबालीमा लाग्ने रोगहरू नलागेकाले उत्पादन बढेको उनले बताए । ‘धान रोप्ने बेलामा मलको अभावसमेत भएन,’ उनले भने । नयाँ प्रविधिले पनि उत्पादनमा वृद्धि भएको हो । स्थानीय किसानले पनि एक बिघामा ५ देखि ७ बोरासम्म धान उत्पादन बढ्ने बताएका छन् । कैलालीको भजनीका गंगा चौधरीले यो वर्ष बाढी तथा रोगले असर नपारेको बताए । कैलालीको धेरै धान उत्पादन हुने दक्षिणी भेग डुबान क्षेत्रमा पर्छ । वर्षा बढी भए ३० प्रतिशत बाली क्षति पुर्‍याउने गरेको छ । ‘यसपटक अधिक वर्षा पनि नभएकाले बाली जोगियो,’ उनले भने । सुदूरपश्चिम प्रदेशका कृषि मन्त्रालयका योजना अनुगमन मूल्यांकन महाशाखाका उपसचिव यज्ञराज जोशीले धान वृद्धिको मुख्य कारण मौसम र रोग किरा नलाग्नु भएको बताए । यो वर्ष सिञ्चित क्षेत्रसमेत विस्तार भएको उनले बताए । उनका अनुसार अहिले किसानले प्रतिहेक्टर ७ देखि ८ टनसम्म धान फलाउन थालेका छन् । कैलाली जिल्ला प्रदेश ७ को मात्रै नभएर नेपालकै प्रमुख अन्न उत्पादन हुने जिल्ला पर्छ । ७२ हजार हेक्टरमा धान बाली लगाइन्छ । ४४ हजार हेक्टर भूमि सिञ्चित छ । कैलालीमा धानको उत्पादकत्व दर ४।०५ टन छ । गत वर्ष २ लाख ९२ हजार ६ सय ९९ टन उत्पादन गरेको थियो । जिल्लाको वार्षिक खाद्यान्न उत्पादन २ लाख ५८ हजार ३५७ टन हो । जसमध्ये वार्षिक १ लाख १७ हजार ९५४ टन खाद्यान्न बचत हुने गरेको छ । कैलालीको बचत खाद्यान्न प्रदेश ७ का पहाडी जिल्लामा जान्छ । विवरण संकलन नभए पनि कञ्चनपुरमा विगतको तुलनामा १५ प्रतिशतले उत्पादन वृद्धि हुने अनुमान छ । कञ्चनपुरमा धान प्रतिहेक्टर ३ टन हुन्छ । यस वर्ष साढे ३ टन पुग्ने वरिष्ठ कृषि अधिकृत बोहोराले बताए । कञ्च्नपुरमा करिब ५० हेक्टरमा धान खेती गरिन्छ । यस वर्ष रोगको प्रकोप पनि छिटफुट मात्रै भयो । धानबाली भित्र्याउने बेला वर्षा नहुँदा नोक्सान भएन । कञ्चनपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान पकेट क्षेत्र कार्यक्रम पनि सञ्चालित छ । जिल्लाकै औसतभन्दा उक्त क्षेत्रमा झन्डै दोब्बर उत्पादन हुन पुगेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा अनुकूल मौसम र उपयुक्त बीउको प्रयोगले धान उत्पादन वृद्धि हुने अनुमान छ । १५ देखि २० प्रतिशत बढ्ने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । यस वर्ष तीन वर्षयताकै राम्रो उत्पादन हुने दाबी गरिएको छ । बझाङमा यस वर्ष करिब ८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लाभर करिब २८ हजार टनभन्दा बढी धान फल्ने प्रारम्भिक अनुमान छ । यो गत वर्षभन्दा करिब ५ हजार टन बढी हो । गत वर्ष २३ हजार ५ सय टन उत्पादन भएको कृषि ज्ञान केन्द्र प्रमुख रामलाल जोशीले बताए । ‘३ वर्षयताकै धेरै उत्पादन हुने अनुमान गरेका छौं । १५ देखि २० प्रतिशत उत्पादनमा वृद्धि हुन्छ,’ उनले भने । अहिलेसम्म करिब ९० प्रतिशत धान भित्र्याउने काम सम्पन्न भइसकेको छ । कात्तिकभित्र सबै धान भित्र्याइसक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । कान्तिपुर दैनिकबाट

कांग्रेसले नेकपाको रेकर्ड तोड्यो, चियापानमा एक लाखलाई निम्ता !

काठमाडौं, कार्तिक १५ । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई उछिनेको छ । उसले चुनावमा होइन चियापान कार्यक्रममा सहभागी ल्याउने संख्यामा उछिनेको हो । प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । सो कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । २०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै यही कात्तिक १६ गते अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । यसअघि सत्तारुढ दल नेकपाले गएको शनिबार आयोजना गरेको चियापान कार्यक्रममा झण्डै ५० हजार व्यक्तिलाई निमन्त्रणा पठाएको थियो । चियापानको नाममा अनावश्यक खर्च गरेको भन्दै नेकपा नेतृत्वको जनस्तरबाट आलोचनासमेत भएको थियो । नेकपाले भन्दा बढीलाई निमन्त्रणा पठाएपछि कांग्रेसको समेत आलोचना सुरु हुन थालेको छ ।

बिस्थापित बन्दै केशव स्थापित, प्रधानमन्त्रीको निर्णय पर्खाई

हेटौडा, प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थाापितलाई पदबाट हटाउने तयारीमा मुख्यमन्त्री डोरमणि पौडेल जुटेका छन् । यसै बिषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्न बिहीबार उनी काठमाडौं गएको कान्तिपुर दैनिकले जनाएको छ । मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक पटक अपमान गरेको आरोप छ । बुधबारको मन्त्रिपरिषद बैठकमामु्ख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेका थिए। उक्त विचार व्यक्त गर्ने वितिक्कै मन्त्री स्थापितले आफूले मन्त्रालयको काम गरिरहेको जिकिर गर्दैै मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेका थिए। १३ अर्ब वजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम अगाडि बढाउन सकेको छैन। मन्त्री स्थापितलाई पदबाट हटाउन नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौ गएका छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको अनुमति पाएपछिमात्र मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्री पदबाट हटाउने बताइएको छ । मुख्यमन्त्री पौडेल मन्त्री स्थापितको बुधबारको व्यवहारवाट अत्यन्त आक्रोशित भएको एक मन्त्रीले बताए। ‘नरम र शिष्ट स्वभावका मुख्यमन्त्री पौडेल स्थापितको व्यवहारबाट अत्यन्त आक्रोशित भएका छन्,’ती मन्त्रीले भने, ‘स्थापित कहिल्यै गम्भीर नहुने स्वभावका रहेछन्।’ तर, मन्त्री स्थापितले भने, मेरो अलि स्वर ठूलो छ, ठूलो स्वरमा कराएँ, अभद्र व्यवहार गरेको छैन।’ एक मन्त्रीका अनुसार स्थापित अभद्र ढंगले प्रस्तुत भएपछि बैठकमै टेबुल ठोकाठोक भयो। मन्त्री स्थापित पनि बुधबार बेलुका नै काठमाडौं आइसकेका छन्।

दुई हजार डलरको बिमएमडब्लू कप क्रिकेटको उपाधि सगरमाथा क्रिकेट क्लबलाई

नेपालले क्रिकेटको क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा नै सम्मानजनक उल्लेखनिय उपलब्धी हासिल गरिरहेको बेला अष्ट्रेलियाको मेलबर्नमा पनि क्रिकेट खेलप्रति खेलाडिहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले दुई हजार डलरको बिमएमडब्लू कपको शुरुवात गरिएको छ र सेप्टेम्बर ९ बाट सुरु गरी करिब ई महिना लगाइएको दुई हजार डलर राशीको बिएमडब्लू कप क्रिकेटको उपाधि सगरमाथा क्रिकेट क्लबले हात पारेको छ । फाईनल प्रतिस्पर्धामा रोयल राईनोज क्रिकेट क्लबलाई ४ रनले पराजित गर्दै उपाधिमाथि सगरमाथाले कब्जा जमाएको हो । रोयल राईनोजलाई १ सय २८ रनको चुनौती दिएको सगरमाथा क्लबलाई पछ्याउँदै रोयल राईनोजले २० ओभरमा मात्र १ सय २४ रन बनाउन सफल भएको थियो । प्रमुख अतिथिको रुपमा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले बिजयी खेलाडिहरुलाई पुरस्कार वितरण गर्दै मन्तब्य राख्ने क्रममा खेलको माध्यमबाट समुदायलाई एकताबद्ध गर्नुका साथै आफ्नै स्वास्थ्यको लागि समेत लाभदायक हुने भएकोले यसतर्फ सबैलाई प्रोत्साहित गरिनुपर्ने धारणा राखेका थिए । अतिथिको रुपमा आयोजक कमिटीको तर्फबाट बिएमडब्लू मेलबर्नका निर्देशक विष्णु सापकोटाले क्रिकेट खेललाई पेशा बनाउँदै यहाँको प्रतिष्ठित प्रतियोगिताहरुमा समेत नेपाली खेलाडी पुग्न सकुन् भन्ने शुभकामना दिए । प्रतियोगितामा मात्र १६ रन खर्चेर ४ विकेट लिन सफल रोयल राईनोज क्रिकेट क्लबका पुकार भण्डारी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको वेष्ट व्याट्सम्यान एक्सपर्ट क्रिकेट क्लबका क्याप्टेन सुनम गौतम बन्न सफल भए भने बेष्ट बलर सुनोद श्रेष्ठ, बेष्ट फिल्डर निरज श्रेष्ठ, बेष्ट विकेटकिपर आशिष जिसी, म्यान अफ द सिरिज चाँद श्रेष्ठ, क्याच अफ द टुर्नामेन्ट नारेकिंग्सका शिशिर घोषित भए । रोयल राईनोज क्रिकेट क्लब आयोजक रहेको यो प्रतियोगिताको प्रायोजन बिएमडव्लु एजुकेसन एण्ड भिसा सर्भिसेजले गरेको थियो र भिक्टोरियन नेप्लिज क्रिकेट एशोशियसनको सहयोगमा भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनले व्यबस्थापन गरेको थियो ।

छुट्टाछुट्टै स्थानमा ३ जनाको शव भेटिए

गौशाला, कार्तिक १५ । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बुधबार २ जनाको शव भेटेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार तीन जनाको मृत्यु भएको अवस्थामा शव भेटिएको हो । उनका अनुसार जिल्लाको लोहारपट्टि नगरपालिका–३ महदैया गाउँमा स्थानीय रामसोगारथ यादवको भुस राख्ने घरको बरण्डामा जनकपुर उपमहानगरपालिका–२१ बस्ने महाजन मण्डलका छोरा ३९ वर्षीय मखन मण्डलको शव भेटिएको हो । त्यस्तै जिल्लाको महोत्तरी गाउँपालिका–१ पर्सा टोलस्थित बाँसघारीमा स्थानीय ८० वर्षीय तपसी ठाकुर बरहीको शव डोरीको पासो लगाई झुण्डिरहेको अवस्थामा फेला परेको हो । त्यसैगरी जिल्लाको गौशाला नगरपालिका–११ मा ढोलन खोला किनारमा रहेको आँप बगैँचामा स्थानीय भोला महतोको छोरा १६ वर्षीय सचिनकुमार महतोको आँपको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिरहेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । मृतक तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । भारतबाट ल्याउँदै गरेको ९२ प्याकेट पटाका बरामद भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको ९२ प्याकेट पटाका गए राति महोत्तरी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–३ मलिवारास्थित बस बिसौनीमा भारतबाट भन्सार छली लुकाइछिपाइ ल्याएको विभिन्न ब्राण्डका ९२ प्याकेट पटाका प्रहरीले बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार प्रहरीले गस्तीको क्रममा बस बिसौनीबाट ५० प्याकेट नागिन ब्राण्ड, ३५ प्याकेट फुलझरी ब्राण्ड र सात प्याकेट आलुबम ब्राण्डका गरी जम्मा ९२ प्याकेट पटाका बरामद गरेको छ । रासस

नेकपा सचिवालय बैठक शुरु, यस्ता विषयमा छलफल केन्द्रित

काठमाडौं, कार्तिक ४ । दसैंअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिस्ट पार्टीको आइतबार बसकेको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।   गत असोज २२ को सचिवालय बैठकले असोज २४ का लागि तोकेको बैठक पटक पटक सरेकामा आइतबार र सोमबारका लागि तय गरिएको छ । सो बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, यही कात्तिक १२–१३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।   गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने जनाइए पनि तीन महीना पूरा भएको दुई महीना व्यतीत भइसकेको छ ।   प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिक रुपमा व्यक्त गरेको असन्तुष्टि, मन्त्रीहरुको कार्यप्रगति, नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट संसद्मा ल्याउनेसम्बन्धी प्रस्तावलगायत विषयमा नेकपाभित्र विवाद पैदा हुँदै आएको छ । बैठकले ती विवादका विषयमा निक्र्योल गर्ने बुझिएको छ । -रासस

एसपी विष्टलाई निष्काशन गर्ने–नगर्ने आज निर्णय हुनसक्ने

काठमाडौं, कार्तिक ४ । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।   प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले दिए । गृहमन्त्रालयले उक्त सिफारिस उपर आइतबार निर्णय गर्न सक्ने सम्भावना रहेको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिए । -रासस

गृहमन्त्री फेर्ने प्रधानमन्त्रीको चाहना, प्रचण्डको जवाफ आउन बाँकी

काठमाडौं, कार्तिक ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको तीन महिने अवधि पूरा भएका बेला सबै मन्त्री र सचिवलाई बोलाएर कार्ययोजना पेश गर्न र प्रभावकारी काम गर्न निर्देशन दिएका थिए ।   कार्यकालको ६ महिनासम्म आइपुग्दा प्रधानमन्त्री ओलीले प्रभावकारी काम गर्न नसक्ने मन्त्रीहरु फेर्ने संकेत गरेका थिए । नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि भारत भ्रमणको पूर्वसन्ध्यामा टीम परिवर्तन गरेर भए पनि सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।   तर, पार्टी अध्यक्षद्वयले मन्त्री हेरफेर गर्न तयार रहेको संकेत गर्दै आए पनि अहिलेसम्म कानूनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएको बाहेक कोही पनि मन्त्रीहरु परिवर्तन भएका छैनन् ।   मन्त्री फेरिने चर्चासँगै कोको मन्त्री बाहिरिएलान् भन्ने त्रासचाहिँ धेरैजना मन्त्रीहरुमा बढेको छ । विशेष गरी पर्यटनमन्त्री रविन्द्र अधिकारी फेरिन सक्ने चर्चा छ । प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नै फेर्न चाहेको नेकपा स्रोत बताउँछ ।   तर, बादललाई गृहमन्त्रीबाट हटाउने मामिलामा प्रचण्डले ओलीलाई जवाफ दिन नसकेको स्रोत बताउँछ । बादललाई हटाउँदा नेकपाभित्रको शक्ति सन्तुलन खल्बलिन सक्ने डर प्रचण्डलाई छ । उता पूर्वमाओवादीका नेताहरु चाहिँ अर्थमन्त्री युवारज खतिवडालाई पनि हटाउनुपर्ने लाइनमा रहेको स्रोतको भनाइ छ ।   कामको भूमिकाका हिसाबले हेर्ने हो भने ओली सरकारका कोही पनि मन्त्रीहरुको काम गराइ प्रभावकारी देखिएको छैन । युवा पुस्ताले आश गरेका रविन्द्र अधिकारीदेखि लिएर उद्योगमन्त्री मात्रिका यादव, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसम्मको कार्यसम्पादन कमजोर देखिएको छ ।   गृहमन्त्री रामबहादुर थापा वादलजस्तै अर्थमन्त्री डा। युवराज खतिवडाको भूमिका पनि प्रभावकारी हुन नसकेको जनगुनासो छ । त्यस्तै उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्तिबहादुर बस्नेतको पनि काम गराई प्रभावकारी देखिएको छैन ।   सञ्चारमन्त्री गोकुल बास्कोटा बेलाबखतमा विवादमा आइरहेका छन् । यसरी सबै मन्त्रीहरुको काम गराईलाई हेर्दाखेरि फेरिनुपर्नेमा प्रायः सबै मन्त्रीहरुको नाम लिनुपर्ने अवस्था छ ।   नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले मन्त्रीहरु फेर्छौं भने पनि फेर्ने त्यति सजिलोचाहिँ देखिँदैन । तर, यही टीम लिएर अघि बढ्ने ओ भने ओली सरकारले गति लिन सक्ने पनि देखिँदैन । अनलाइनखबारबाट

रोनाल्डोमाथि लागेको बलात्कारको आरोप झुट !

मिलान । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् ।     ३३ बर्षे रोनाल्डोले २००९ मा लास भेगासको एक होटलमा पूर्वमोडल क्याथरिन मायोर्गामाथि बलात्कार गरेको भन्ने आरोपको खण्डन गर्दै आएका छन् ।मायोर्गाले सो समयमा रोनाल्डोले माफूमाथि होटलमा जबरजस्ती गरेको दाबी गर्दै आएकी छन् ।     रोनाल्डोका वकिल पिटर क्रिस्टियानसेनले रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा आधारहीन भएको भन्दै त्यसको खण्डन गरेका हुन् । यसअघि रोनाल्डोले जर्मनीको डेर स्वेजल साप्ताहिकमा छापिएको आफूमाथि लागेको बलात्कारको आरोप झूटो भएको बताएका थिए । वकिल पिटरले सो पत्रिकाविरुद्ध मानहानिको मुद्दा हाल्ने तयारी भएको बताए । नागरिक दैनिकमा खबर छ ।

आजदृेखि देशैभरका हलहरुमा ‘छक्का पञ्जा ३’ रिलिज, सबै हलहरुमा हाउसफुल

काठमाडौं । असोज २४ गते अर्थात घटस्थापनाको शुभ अवसरमा मुलुकभरिकै सबै हलहरुमा नेपाली कथानक चलचित्र छक्का पञ्जा ३ भव्यरुपमा प्रदर्शन भएको छ । बुधबारबाट देशभरका सबैजसो पर्दामा रिलिज भएको यो चलचित्रले बिहानैबाट आक्रामक सुरुवात गरेको छ । काठमाडौं लगायत देशभरका अधिकांश मल्टिप्लेक्स हलमा दर्शकको उच्च चाप छ । अधिकांश हलमा बुकिङ तीव्रगतिमा भएकाले पनि दर्शकको निकै भीड देखिएको हो । सबैजसो मल्टिप्लेक्सले यो चलचित्रलाई उच्च शो दिएका थिए । काठमाडौंका सिंगल हलमा पनि चलचित्रले राम्रो सुरुवात गरेको छ । बुधबार घटस्थापना भएपनि सार्वजनिक बिदा भने छैन । तर, पनि दर्शकको चलचित्रप्रतिको मोह भने गज्जबको देखिएको छ । काठमाण्डौको गोपिकृष्ण हलमा बिहानैबाट दर्शकको चाप देखियो । बिहानी शोमा गोपिकृष्णका ४ वटा पर्दा हाउसफूल थिए । काठमाण्डौ बाहिर पनि चलचित्रले आक्रामक सुरुवात गरेको छ । चितवनको क्यूएफएक्स जलमाले १० शो दिएकोमा, ७ शो सोल्ड आउट भैसकेका छन् । बिहान ८ बजेको शोमा पनि दर्शकको चाप उच्च देखिएपछि निर्देशक दिपाश्री निरौलाले आफूहरु सफल भएको बताइन् । निर्माता तथा कलाकार दीपकराज गिरीले भने- ‘यसपटक हामीले ५० प्रतिशत बिषय र ५० प्रतिशत कमेडीमा ध्यान दिएका थियौ । दर्शकले त्यसलाई मन पराइदिनु भएको छ ।’ अघिल्ला २ चलचित्रमा बिषयवस्तु भन्दा कमेडीलाई ध्यान दिएको यसको निर्माण पक्षले यसपटक भने विषयवस्तुमा जोड दिएको छ । यसपटक सरकारी विद्यालयमा हुने राजनीति र त्यसले निम्त्याएको परिणामलाई उठान गरिएको छ । सरकारी विद्यालयमा हुने राजनीतिले विद्यार्थीको भविष्यलाई कसरी खेलवाड गरिरहेको छ भन्ने कथालाई चलचित्रले उठान गरेको छ । चलचित्र हेर्ने सबैले यसपटक बिषयवस्तु बलियो रहेको प्रतिक्रिया दिएका छन् । निर्देशक दिपाश्री निरौलाले भने यसपटक सबैले देखेर पनि बोल्न नसकेको बिषयलाई पर्दामा उठान गरेको प्रतिक्रिया दिइन् । दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रमा नायिकाद्धय प्रियंका कार्की र स्वस्तिमा खड्काको साथमा नायक संजोग कोइरालाको बिशेष भूमिकिा देख्न सकिन्छ ।