कांगेसका प्रभावशाली ६६ कार्यकर्ता नेकपामा प्रवेश

ओखलढुंगा, भदौ १ । कांग्रेस ओखलढुंगाका प्रभावशाली ६६ जना नेता-कार्यकर्ता एकैपटक नेकपामा प्रवेश गरेका छन् । वर्तमान नेतृत्व बिपीको सिद्धान्त छाडेर स्वार्थमा लाग्दा कांग्रेस अस्तित्वविहीन भएको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन् ।

नेकपामा प्रवेश गर्नेमा कांग्रेस ओखलढुंगाका पूर्वसचिव तथा पूर्वजिविस सदस्य रामबहादुर खत्री, वर्तमान जिल्ला कमिटी सदस्य सुरेश सुनुवार, खिजीकाती गाउँ कमिटी सभापति तथा पूर्वगाविस अध्यक्षहरू रेवतकुमार सुनुवार र लालप्रसाद नेपाल छन् ।

यस्तै, गाउँ पार्टी सभापति गजेन्द्रबहादुर बस्नेत, पूर्वगाउँ सभापति चकेन्द्र दास सुनुवार, उपाध्यक्षहरू होमबहादुर सुनुवार, अमरबहादुर खत्री, सचिवहरू केशरकुमार सुनुवार, चूडाप्रसाद पौडेल, कोषाध्यक्ष मञ्जुकुमारी विक, कांग्रेस श्रमिक संघ जिल्ला अध्यक्ष ताराधन सुनुवारलगायत छन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरे । नेकपा ओखलढुंगाका नेता कमल न्यौपानेका अनुसार कांग्रेस त्यागेर नेकपामा प्रवेश गर्नेमा खिजीदेम्बा गाउँपालिकाका बढी छन् ।

पार्टीको नेतृत्व गरिरहेका र स्थानीय निर्वाचनमा उमेदवार भएका खिजीदेम्बाका प्रभावशाली नेताहरू नेकपामा प्रवेश गरेका हुन् । जनताको चाहनाअनुसार कांग्रेसले काम गर्न नसकेकाले पार्टी परित्याग गरेको नेता रामबहादुर खत्रीले बताए । नयाँ पत्रिकामा खबर छ ।

‘कांग्रेस कांग्रेस जस्तो रहेन, लामो समय रगत पसिना बगाइयो त्यसको कुनै अर्थ भएन, त्यसैले विकल्प खोजियो,’ उनले भने, ‘केन्द्र र प्रदेशमा कांग्रेसको साइज सानो भए पनि हाम्रो गाउँपालिकामा कांग्रेस बलियो छ । तर, कांग्रेसबाट जितेका जनप्रतिनिधिले जनताको कामभन्दा आफू मोटाउने काम गरेकाले अन्ततः पार्टी नै छाडियो ।’

जति कष्ट अाइपरेपनि अास्था राख्न कहिल्यै छोडिन्न- दर्शनार्थी

काठमाडौँ । यस वर्षको साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान ३ बजेदेखि नै भक्तजन पूजा एवं दर्शनका लागि लाममा बसेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । बिहान केही समय वर्षातले लाइनमा बसेका भक्तजनलाई अप्ठ्यारो पारेर केही समय रोकिएपनि सहजरुपमा लाइन सरेको उनले बताए । दिउँसो १ बजेसम्म अढाई लाखभन्दा बढी भक्तजनले मूल मन्दिर प्रवेश गरी पूजा गरेको कोषले जनाएको छ । सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान् शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा बसेको हो । पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोल बम मेला पनि लाग्ने गर्छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । रासस

नेकपाको सचिवालय बैठक प्रधामन्त्री निवासमा, के विषयमा हुँदैछ छलफल ?

काठमाडौँ, साउन १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा चिकित्सा शिक्षा विधेयकमा गरिएको परिमार्जनको विरोधमा अनशनमा रहेका डा. गोविन्द केसीका मागका बारेमा छलफल भइरहेको बुझिएको छ । विधेयकमा गरेको परिमार्जनले जनताको हित भन्दा पनि माफियाको हित हुने भन्दै डा. केसी जुम्लामा अनशन बसीरहेका छन् । यस्तै संसदमा कांग्रेसले त्यसको विरोधमा प्रस्ताव दर्ता गरेको छ । यही कारणले संसद बैठक पनि अवरुद्ध हुने गरेको छ । यस्तै सचिवालय बैठकमा केही दिनअघि अनुमोदित पार्टीको नियमावली अनुसार पार्टीका सबै कमिटी र जनवर्गीय संगठनको सांगठनिक एकीकरणको योजना बनाउने विषयमा पनि छलफल हुँदैछ । गएको असार २७ गतेको सचिवालय बैठकले पार्टीको नियमावली अनुमोदन गरेको थियो ।

नायक बनेर फकिर्यो क्रोएसियाली टिम, यसरी भयो भव्य स्वागत [फाेटाेफिचर]

एजेन्सी । क्रोएसियाले रुसमा सम्पन्न २१औं संस्करणको विश्वपक जित्न नसके पनि लाखौं समर्थकको मन जित्यो । उसले उपाधि हासिल गर्न नसके पनि ऐतिहासिक सफलता भने अवश्य पाएको थियो । पहिलो पटक उपाधि नजिक पुग्नु नै रुसका लागि ठूलो सफलता थियो । उपविजेता बनेर घर फर्किएको क्रोएसियाली टोली सोमबार स्वदेश फर्किएको छ । टोलीको राजधानी जाग्रेबमा भव्य स्वागत भएको छ । कप्तान लुका मोड्रिक र टिमका खेलाडी तथा प्रशिक्षक ज्लाट्को डालिक राष्ट्रिय नायकका रुपमा घर फर्किएका हुन् । लुका प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेर गोल्डेन बल जित्ने कप्तान हुन् । फाइनल हेर्न मस्को पुगेकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविचको स्नेह र माया पाएका क्रोएसियाली खेलाडीहरुले घर फर्किँदा हजारौँ समर्थकको साथ पाए । उनीहरुको स्वागतका लागि ४५ लाखको हाराहारीमा जनसंख्या रहेको देशका साढे दुईलाख मानिस पुगेका थिए । उपाधि जित्न नसके पनि क्रोएसियाली टिमले आफ्ना नागरिकबाट यसरी भव्य स्वागत पायो- याे पनि पढाै‌- विश्वकप सकियो, क्रोएसियाली राष्ट्रपतिको चर्चा चुलियो !  

अझै पनि केन्द्रमै बढी कर्मचारी रहने !

काठमाडौं, साउन १ ।  मुलुक संघीय संरचनामा गए पनि सरकारले केन्द्रमै ४५ हजार कर्मचारी रहने गरी कर्मचारीको दरबन्दी निर्धारण गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय व्यवस्थापन तथा सर्वेक्षण ‘ओ एन्ड एम’ समितिले संघमा ४५ हजार र प्रदेशमा १६ हजार कर्मचारी दरबन्दी रहने प्रारुप तयार पारेको हो । समितिले झन्डै चार महिना लगाएर सरकारी कार्यालय र कर्मचारी दरबन्दीको प्रारूपसहितको प्रतिवेदन तयार पारेको थियो । यस्तै स्थानीय तहमा बढीमा ५७ हजार कर्मचारी रहनेछन् । देशभरका स्थानीय तहमा झन्डै १७ हजार कर्मचारी यसअघि नै रहेका छन् । यस्तो अवस्थामा संघबाट करिब २५ हजारको हाराहारीमा कर्मचारी स्थानीय तहमा पठाइँदा कुल दरबन्दी पूर्ति हुने अवस्था आउँछ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता

काठमाडौं, असार २९ । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए । प्रधानसेनापति क्षत्री भ्रमणका लागि यही असार १९ गते म्यानमारतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले असार २० देखि २३ गतेसम्म म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकी, सेनाध्यक्ष सिनियर जनलर मिन आङ हलिङ र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गरे । साथै असार २४ देखि २९ गतेसम्म चिनियाँ रक्षामन्त्री, सेनाध्यक्ष, वेस्र्टन सेक्टर कमाण्डरलगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र चीन तथा म्यानमारको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध वृद्धि हुनाका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

कंगना या आलियालाई आफ्नो बायोपिकमा खेलाउने मनीषाको इच्छा

असार २९ । मनिषा कोइराला नामै काफी छ । नेपाली चेली भए पनि बलिउडमा उनले राम्रो छाप छोडेकी छन् । मनिषाले बलिउडका दर्जनौ फिल्ममा अभिनय गरेकी छन् । भने बलिउडका करीब सबै चर्चित कलाकार सँग स्क्रीन शेयर गरिसकेकी छन् । लामो समयपछि फेरि बलिउडमा मनिषा कोइराला चर्चाको शिखरमा छन् । गएको जून २९ मा रिलिज भएको संजय दत्तको बायोपिक फिल्म ‘सन्जू’ मा मनिषाले आमाको भूमिकामा अभिनय गरेकी छन् । बलिउड इन्डष्टीमा सन्जूले अहिले नाम र दाम दबैमा यसअघिको थुप्रै फिल्मले बनाएका रेकर्ड ब्रेक गरिरहेको छ । क्यान्सर भएर लामो समय अभिनय क्षेत्रबाट टाढा रहेकी मनिषा कोइराला संजय दत्तको जीवनीमा आधारित फिल्म सन्जूबाट कमव्याक गरेकी हुन । सन्जूमा मनिषा रणबीर कपूरकी आमाको भूमिकामा छन् । आफूले अभिनय गरेकी फिल्मले बक्सअफिसमा एकपछि अर्कोे सफलता चुम्दै गर्दा मनिषलाई पनि बायोपिक बनाउने महात्वकांक्षा जागेको छ र त्यो सार्वजनिक रुपमा उनले भनेकी छन् । एउटा भारतीय सञ्चारमाध्यमलाई दिएकी अन्तर्वार्तामा उनले वायोपिक बनाउने खुलासा गरेकी हुन् । उनले भनेकी छिन्, ‘ मैले बायोपिक बनाए भने मेरो भूमिका कंगना या आलिया भट्टले निभाउने छन् ।’

चीनको औद्योगिक क्षेत्रमा विष्फोट, १९ जनाको मृत्यु

एजेन्सी । चीनको सिचुवान प्रान्तको औद्योगिक क्षेत्रमा भएको विष्फोटमा परी १९ जनाको मृत्यु भएको छ । १२ जना घाईते भएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । यिविन हिन्ग्दा प्रविधिको रसायनिक कारखानामा विष्फोट भएको हो । विष्फोटको कारणबारे अनुसन्धान भैरहेको स्थानिय अधिकारीले उल्लेख गरेका छन् । सन् २०१५ मा तियान्जिन शहरमा रसायनिक कारखानामा विष्फोट हुँदा १ सय ७३ जनाको मृत्यु भएको थियो ।

आज ‘भद्र’ र ‘रुपसी’ चीन लगिदै

काठमाडौं, असार २८ । नेपालले उपहार दिएको एकसिंगे जोडी गैँडा आज बोईङमा राखेर चीन लगिँदै छ । चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार राति काठमाडौं ल्याईएको एक जोडी गैँडा साँझ चीन लान लागिएको हो । अपराह्न ४ बजे काठमाडौं उत्रिने चिनियाँ बोईङ भद्र र रुपसी नामका गैंडा लिएर साँझ ६ः२० बजे फर्किनेछ । गैँडा लिन एक भेटेनरी चिकित्सकसहित दुईजना किपर आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए ।

भीषण वर्षाले भक्तपुर र थिमिका सयौँ घर डुबानमा

भक्तपुर, असार २९ । गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् । राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो । भक्तपुरका धेरै ठाउँ डुबानमा [फाेटाेफिचर] जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिनुभयो । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् । यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दा अमर थापाले बताउनुभयो । -रासस

फेरि पोखरा-बागलुङ सडकखण्ड अवरुद्ध

फलेवास, पर्वत, असार २८ । अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराेका कारण गए रातिदेखि पोखरा-बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका-५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । गए राति झण्डै १० बजेदेखि नै पहिरो खस्न शुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेका छन् । बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ । बाटो खुलाउनका लागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडक पुनः सञ्चालन हुन सकेको छैन । वर्षा शुरु भएसंँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा–बागलुङ सडकखण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ । दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस

सिण्डिकेट फर्काउने प्रयास सफल हुन दिन्न : गृहमन्त्री

काठमाडौं, असार २७ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पार्नुभएको छ । बुधबार नयाँ बसपार्क गंगबुमा युनाईटेड ट्रान्सपोर्ट भलाई एण्ड इन्भेस्टमेन्ट प्रा.लि.ले आयोजना गरेको ‘ याताय क्षेत्रको विद्यमान अनयौलत , चुनौती र समाधान ’ विषयक अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले अझै सिण्डिकेट फर्काउने प्रयास भईरहेको भन्दै त्यो पुरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ अहिलेपनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनिहरुको समृद्धि हुने, यो क्षेमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भईरहेको छ । यसबारे सरकार सचेत छ ।’ यातायात मात्रै नभई कृषी , शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सिण्डिकेटले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको गृहमन्त्री थापाको भनाई छ । उहाँले भन्नुभयो, ‘ सिण्डिकेट रहेसम्म देशको विकास र समृद्धि सम्भव छैन । जनतालाई समृद्ध बनाउने जुन प्रतिवद्धता गरेका छौं । त्यो पुरा हुन सक्दैन । ’ सिण्डिकेट हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भनदै सबैको सहयोगका लागि उहाँले अपिल गर्नुृभयो ।

क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

काठमाडौं, असार २७ । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा बुधबार क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ । क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरिसकेको छ भने इङ्ग्ल्याण्डले स्विडेनलाई २–० ले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता क्रोएसिया सेमिफाइनलमा पुग्न सकेको छैन । विश्वकपमा क्रोएसियाले दोस्रो पटक सेमिफाइनल खेल्दैछ । सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल खेलेको इङ्ग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो भने इङ्ग्ल्याण्डको यो तेस्रो सेमिफाइनल खेल हो । अहिले विश्वकपमा क्रोएसिया र इङ्ग्याण्ड पहिलो पटक भिड्न लागेको हो । यसअघि सन् २००४ को भएको युरोकपमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । यी दुई टोलीले अहिलेसम्म सात खेल खेलेकामा इङ्ग्ल्याण्डले ४ खेल जितेको छ भने क्रोएसियाले दुई खेल जितेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । यी दुई टोली क्रोएसिया र इङ्ग्लयाण्डका विजेताले फाइलनमा फ्रान्ससंग सामना गर्नेछन् ।

बेल्जियमलाई हराउने ब्राजिलका ५ सूत्र !

मस्को । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आजदेखि क्वाटरफाइनलका खेल हुँदै छन् । पहिलो खेलमा यसअघिका विश्वकप विजेता उरुग्वे र फ्रान्स भिड्ने छन् । यस्तै, दोस्रो खेल पाँच पटकको विश्वकप विजेता ब्राजिल र विश्वकपको दाबेदार बेल्जियमबीच हुने छ । दुवै खेल रोचक हुने समर्थकको अपेक्षा छ । आज सबैभन्दा बढि चाँसोकासाथ हेरिएको खेल ब्राजिल र बेल्जियमको हो । यो खेललाई उत्सुकतापूर्वक हेरिनुको प्रमुख कारण नेइमार सहभागि टिम भएर होला । साथै, धेरै उपाधी जित्न सफल टिम भएर पनि समर्थकको नजर ब्राजिल र बेल्जियमबीचको खेलमा गएको हुन सक्छ । पाँच पटक विश्वकपको ट्रफि उचालेको ब्राजिलले के यो पटक जित्दै इतिहास रच्ला ? यसको छिनोफानो हुँदै जाने छ । तर, आजको खेल जित्दै अन्तिम ४ मा ब्राजिल पुग्ला कि नपुग्ला यो चाँसोको विषय हुन सक्छ । यो पटक अन्तिम ४ मा पुग्न ब्राजिललाई त्यति सजिलो छैन । समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १ गोल खाएको थियो। त्यसपछि लगातार जित निकालेको ब्राजिलले ६ गोल गरिसकेको छ। तर पनि ब्राजिल डिफेन्समा अझै विश्वस्त हुन सकिरहेको छैन। शुक्रबार राति बेल्जियमसँग भिड्नुअघि ब्राजिललाई चिन्ता भनेको रक्षापंक्तिकै छ। किनकि बेल्जियम जारी विश्वकपका बढी गोल गर्ने टिम हो भने विश्वका नामी फरवार्ड र मिडफिल्डर बेल्जियमको टिममा छन्। सहायक प्रशिक्षक क्लेबेर जाभियरले बेल्जियमसँग खेल्नुअघि रक्षापंक्तिलाई बलियो बनाउने ५ सूत्र प्रिम्याच पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन्। जाभियर सन् २०११ देखि मुख्य प्रशिक्षक टिटेका विश्वासिला पात्र हुन्। जाभियर सुत्र यस्ता छन्- क्षेत्र निगरानी- ‘हामी रक्षापंक्तिमा क्षेत्रको निर्धारण र निगरानी दुवै गर्छौ। खेलको दौरान र सेट पिससमा पनि बढी ध्यान दिन्छौं। यो आधार मात्र हो ।’ जाभियरले भने, ‘क्षेत्र निगरानी र निर्धारण गर्दा हामीले आफ्नो स्वाभाविक खेल खेल्छौं। हामी प्रतियोगिताको अनुशासित खेल्ने टिम हौं।’ पूर्ण दबाब-‘हाम्रो रक्षापंक्तिले विपक्षीलाई तीन तरिकाबाट दबाब दिन्छ। पूर्ण दबाब, मध्य दबाब र कम दबाब। विपक्षीले बल अघि बढाउँदा रक्षापंक्तिले खुलेर खेल्ने। मिडफिल्डमा बल पठाउने गर्छौं। हामी धेरैजसो समय पूर्ण दबाब दिनेछौं। मध्यम र कम दबाब दिन अलि व्यवस्थित हुनेछौं’ उनले भने। रक्षा गर्ने तर आक्रमणमा उत्रने-‘हामी खेल्ने बेला खेल्छौं र रोक्ने बेला रोक्नेछौं। तर जब विपक्षी हाम्रो पोस्टमा बल अघि बढाउँछ त्यही बेला हामी रक्षापंक्तिमा रोक्छौं र तत्काल आक्रमणमा उत्रन्छौं। डिफेन्ड गर्ने बेला हामीसँग अवश्य बल हुनेछ। त्यही बलमा हामी विपक्षी पोस्टमा उत्रनेछौं’ जाभियरले भने। स्पष्ट रणनीति- जाभियरका अनुसार ब्राजिलले आफ्नो रणनीति विश्वकपमा लागि मात्र बनाएको होइन। धेरै लामो सयमदेखि ब्राजिल आफ्नो रणनीतिमा स्पष्ट छ। ‘हामीले आफ्नो रणनीति धेरै समयअघि देखि बनाएका हौं। उत्कृष्ट टिम हुँदम यो रणनीति सफल भइरहेको छ। आफ्नो अवधारणाअनुसार खेल खेल्दा नजिता राम्रो आइरहेको छ। त्यसैले हामीले के गर्दैछौं भने कुरा सबै स्पष्ट छ र त्यही प्राप्त गर्न केन्द्रित छौं’ उनले भने। सञ्चार शक्ति- ‘हामीले सबै खेलाडीलाई उनीहरुको कामबारे स्पष्ट भनेका छौं। जस्तो कि नेइमार आइतबार पिएसजीबाट खेलेर सोमबार राष्ट्रिय टिममा खेल्न आउँदैछन्, हामी उनलाई पहिले नै खेलको रणनीतिबारे मोबाइलमा सूचना पठाइसेका हुन्छौं। हामीले सबै खेलाडीलाई उनले गर्ने सक्ने काम र गर्नुपर्ने काम बारे पहिले नै स्पष्ट पारेका हुन्छौं’ जाभियरले भने। -एजेन्सी

कर्मचारीको भ्रमण कार्यक्रम कोरिया, घुम्ने चाहिँ सिंगापुर !

काठमाडौं, असार २२ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तर्गतका विभागका कर्मचारी विभाग नै खाली गराएर विदेश सयरमा लागेका छन् । असार मसान्त आउनै लाग्दा बजेट सिध्याउनका लागि कर्मचारी विदेश भ्रमणको कार्यक्रम बनाएर जाने गरेको पाइएको छ । भूमिसुधार तथा व्यवस्था विभागबाट मंगोलिया गएका महानिर्देशक मुक्तिप्रसाद आचार्य र निर्देशक रामदत्त भट्ट फर्कन नपाउँदै फेरि बुधबार विभागका ९ जनासहित नापी विभागबाट २ जना र मन्त्रालयबाट १ जना गरी १२ जना कोरिया उडेका छन । मन्त्रालयका अधिकारी तालिममा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोपाल गिरीले मन्त्रालयका अधिकारी जग्गा प्रशाासनसम्बन्धी तालिममा गएको जानकारी दिनुभएको छ । विभागको अत्तोपत्तो छैन यता विभागबाट के प्रयोजनका लागि गएको हो मन्त्रालयमा रेकर्ड नहुने मन्त्रालयका मुकुन्द गुरागार्इंले बताउनुभएको छ । उहाँले विभागमा भ्रमणका लागि सबैको हानथाप र दाबी हुने भएकाले विभागका अधिकारीले सुटुक्क सचिवको हस्ताक्षर गराउन फाइल ल्याउने र उतै लैजाने गरेको बताउनुभयो । भ्रमणको कार्यक्रम कोरिया, घुम्ने चाहिँ सिंगापुर यता कोरिया भ्रमणमा निस्केका कर्मचारीहरु सिंगापुर पुगेको मन्त्रालय स्रोतले बताएको छ । मन्त्रालयका एक कर्मचारीले सिंगापुर हुँदै कोरिया जाने कार्यक्रम रहेको नेपाल समाचारपत्रलाई बताएका छन । ‘सिंगापुर हुँदै कोरिया जाने कार्यक्रम छ’, उनले भने–‘खै को को के काममा जान लाग्नुभएको हो मलाई थाहा छैन ।’ नेपाल समाचारपत्रले भूमिसुधार तथा ब्यवस्था विभागमा भ्रमणबारे बुझ्दा सूचना दिने अधिकारी कोही नभएपछि एक खरिदारले भ्रमण टोलीमा जाने कर्मचारीको नाम उपलब्ध गराएका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

कम्युष्टिहरुबीच एकता जरुरी : मोहनविक्रम

नेपालगञ्‍ज, असार २१ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले कम्युनिष्टहरु एकजुट हुनुपर्ने बताएका छन् । सिंह नेकपाले आयोजना गरेको कार्ल माक्र्स जन्म द्विशतवार्षिकी प्रदेशिक गोष्ठीलाई प्रशिक्षण दिन नेपालगञ्ज पुगेका छन् । असार २२ र २३ गते नेपालगञ्जमा नेकपाको आयोजनामा गरेको गोष्ठीमा सहभागी हुन पुगेका पाका नेता सिंहले मिल्न सक्ने जति मिल्ने र विचार तथा सैद्धान्तिक मतभेद भएकाहरुका बीचमा मोर्चा बनाएर अघि बढ्नु पर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग एकताको प्रसंगमा सिंहले एकता केन्द्र र मसालको एकताको उदाहरण दिदै विचार र सिद्धान्तमा घोतलिएर मात्रै एकता गर्ने बताए । मोहन बैद्य र विप्लवसँग एकताबारेमा सिंहले भने, ‘उहाँहरु पहिला एकता भन्नुहुन्छ तर हामी भने पहिलो सिद्धान्त भन्छौ त्यसैले त्यो विषय थाँती छ । नेकपाले आयोजना गरेको दुई दिने कार्ल माक्र्स द्विशतवार्षिकी प्रदेशिक गोष्ठीलाई सिंहसँगै प्रचण्ड, झलनाथ खनाल, गणेश शाह, घनश्याम भूसाल, राम कार्की र चिन्तक प्रदीप गिरीले प्रशिक्षण दिने समारोहका प्रदेश संयोजक ठाकुर गैरेले जानकारी दिए।