कम्युष्टिहरुबीच एकता जरुरी : मोहनविक्रम

नेपालगञ्‍ज, असार २१ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले कम्युनिष्टहरु एकजुट हुनुपर्ने बताएका छन् । सिंह नेकपाले आयोजना गरेको कार्ल माक्र्स जन्म द्विशतवार्षिकी प्रदेशिक गोष्ठीलाई प्रशिक्षण दिन नेपालगञ्ज पुगेका छन् ।

असार २२ र २३ गते नेपालगञ्जमा नेकपाको आयोजनामा गरेको गोष्ठीमा सहभागी हुन पुगेका पाका नेता सिंहले मिल्न सक्ने जति मिल्ने र विचार तथा सैद्धान्तिक मतभेद भएकाहरुका बीचमा मोर्चा बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग एकताको प्रसंगमा सिंहले एकता केन्द्र र मसालको एकताको उदाहरण दिदै विचार र सिद्धान्तमा घोतलिएर मात्रै एकता गर्ने बताए ।

मोहन बैद्य र विप्लवसँग एकताबारेमा सिंहले भने, ‘उहाँहरु पहिला एकता भन्नुहुन्छ तर हामी भने पहिलो सिद्धान्त भन्छौ त्यसैले त्यो विषय थाँती छ ।

नेकपाले आयोजना गरेको दुई दिने कार्ल माक्र्स द्विशतवार्षिकी प्रदेशिक गोष्ठीलाई सिंहसँगै प्रचण्ड, झलनाथ खनाल, गणेश शाह, घनश्याम भूसाल, राम कार्की र चिन्तक प्रदीप गिरीले प्रशिक्षण दिने समारोहका प्रदेश संयोजक ठाकुर गैरेले जानकारी दिए।

३०८ परिवारलाई १२ हजार फलफूलका बिरुवा नि:शुल्क वितरण

रसुवा । जिल्लामा विभिन्न जातका फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ। जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार पहिलो चरणमा बाढी पहिरोपीडित कालिका, नौकुण्ड र उत्तरगया गाउँपालिकाका ३०८ परिवारलाई १२ हजार ७०० फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ । कागती, सुन्तला, अम्बा र अलैँचीका बिरुवा वितरण गरिएको हो । बिरुवा संरक्षण गर्न किसानलाई प्राविधिकले आग्रह गरेका छन् । उत्तरी रसुवाको स्याफ्रुबेँसीमा अहिले अम्बाका साथै सुन्तलासमेत उत्पादन हुन थालेको छ । यस्तै चालू आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा कृषि कार्यालयले ८१ मौरीको घार वितरण गरेको छ । मौरीसहित रु १० हजार मूल्य पर्ने घार र प्रतिघार रु पाँच हजार ढुवानी भाडा किसानलाई उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत दिनेशबाबु तिवारीले बताउनुभयो । कार्यालयले हालसम्म एक हजार ५५६ मौरीका घार वितरण गरेको छ । किसानलाई एपिस सेरेना जातको मौरी उपलब्ध गराइएको हो । गत वर्षको तथ्याङ्क अनुसार परम्परा र आधुनिक ढंगबाट पालिएका मौरीले १८ क्विन्टल मह उत्पादन गरी कूल रु एक करोड ८० लाखबराबर आम्दानी गरेको कार्यालयले जनाएको छ । मह प्रतिकिलो रु ६०० मा बिक्री गरिएको थियो । रासस

इङ्ल्यान्ड भर्सेस कोलम्बियाः अाज गोल्डेन बुटका दाबेदार ह्यारी केनको अग्नी परीक्षा !

मस्को । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आज प्री क्वाटरफाइनलको अन्तिम खेल इङ्ल्यान्ड र कोलम्बियाबीच हुँदैछ । इंग्ल्यान्ड १९६६ को विश्व विजेता हो । उसले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको छ । ह्यारी केन, जिसे लिङ्गार्ड तथा डेली अलीजस्ता खेलाडीको उत्कृष्ट प्रदर्शनमा इङ्ल्यान्डले पहिलो दुई खेलमा सहज नतिजा निकालेको थियो। तर, इङ्ल्यान्डको युवा टोलीको वास्तविक परीक्षण हुने बेल्जियमविरुद्धको खेलमा दुवै टोलीले दोस्रो रोजाइका खेलाडी उतारे। जसले दुवै टोलीका प्रशिक्षकको आलोचना भइरहेको छ। नकआउट चरणमा इङ्ल्यान्डको इतिहास बिर्सनलायक छ। इङ्ल्यान्डमा अनुभवी खेलाडीको कमी भए पनि टोलीमा प्रतिभावान् खेलाडीको कमी छैन। समूहचरणमा पाएको सफलताले पनि उनीहरूको मनोबल बढाएको छ। कप्तान केनले ५ गोल गरिसकेका छन् र उनी प्रतियोगितमा गोल्डेन बुटको दाबेदारका रूपमा उभिएका छन्। ‘हेड टु हेड’ पछिल्ला भेटमा कोलम्बियाले इङ्ल्यान्डलाई पराजित गर्न सकेको छैन। पछिल्लो पटक फ्रान्समा सम्पन्न १९९८ को विश्वकपमा पनि इङ्ल्यान्ड २-० ले विजयी भएको थियो। पहिलो खेलमा जापानसँग २-१ ले पराजित भएको जोसे पेकरम्यानको कोलम्बियाले दोस्रो खेलमा पोल्यान्डलाई ३-० तथा अन्तिम खेलमा अफ्रिकी टोली सेनेगललाई १-० ले हराउँदै समूह ‘एच’ को शीर्ष स्थानमा रहेर अन्तिम १६ को यात्रा तय गरेको हो। कोलम्बियाको आक्रमण पंक्तिमा राडामेल फाल्काओ र हामेस रोडरिग्वेजजस्ता खेलाडी छन्। तर, चोटका कारण २०१४ को विश्वकपमा गोल्डेन बुट जितेका रोडरिग्वेज इङ्ल्यान्डविरुद्धको खेलमा उपलब्ध हुनेमा शंका छ। ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको कोलम्बिया त्यही नतिजालाई दोहोर्याउँदै लगातार दोस्रो पटक अन्तिम ८ मा पुग्ने लक्ष्यमा छ। लगातार चार खेल जितेको कोलम्बिया क्वार्टरफाइनलमा आयोजक ब्राजिलसँग २-१ ले पराजित हुँदै घर फर्किएको थियो। -एजेन्सी

अबिरल वर्षाका कारण हवाई उडान बन्द

बाँके, असार १९ । लगातारको वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ । आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताए । नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहुँदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् । कर्णालीबाहेक काठमाडौँको उडान मात्र नियमित रहेको सो कार्यालयले जनाएको छ । -रासस

५० बढी गाउँ बाढीको उच्च जोखिममा

महोत्तरी, असार १९ । जिल्लाका आठ नगरपालिका र दुई गाउँपालिकाका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा परेका छन् । विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण जलेश्वर, बर्दिवास, औहरी, भंगहा, लोहारपट्टी, बलवा, गौशाला र मटिहानी नगरपालिका तथा पिपरा र सोनमा गाउँपालिकाका ५० भन्दा बढी गाउँ डुबानको उच्च जोखिममा रहेका छन् । ती विभिन्न नगरपालिका तथा गाउँपालिका भएर बग्ने रातु, मरहा, जंघा, विग्ही, कुटमेश्वरीलगायतका नदीमा बाढीको पानीको सतह तीव्ररुपमा बढिरहेका कारण कुनै पनि बेला नदीको पानी गाउँ बस्तीमा पसेर दर्जनौँ गाउँ डुबानमा पार्नसक्ने खतरा बढेको स्थानीयले बताएका छन् । त्यस्तै, ती नगरपालिका र गाउँपालिकाका प्रमुखले समेत लगातारको वर्षाका कारण यसपालि पनि ठूलै बाढी आउन सक्ने संकेत देखिएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्नुभएको छ । यता जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि अहिलेसम्म जिल्लामा कुनै अप्रिय घटना नघटेको तर बाढीको खतरा रहेको जनाउँदै जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको छ । -रासस

चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुन सकेन

काठमाडौं, असार १७ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत हुन सकेन । सरकार र प्रमुख प्रतिपक्षी दलबीच विधेयकमा केही प्रावधानमा सहमति हुन नसक्दा आज पूर्वनिर्धारित कार्यतालिकामा रहे पनि विधेयक प्रस्तुत हुन नसकेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । विधेयक संसद्मा प्रस्तुत गर्न यसअघि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० उपनियमलाई बैठकले निलम्बन गर्ने कार्यसूची थियो । राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन गर्न सरकारले सो विधेयक ल्याएको हो । संविधानअनुसार अध्यादेशलाई प्रतिस्थापन गर्न सदन प्रारम्भ भएको ६० दिनभित्र विधेयक पारित गरिसक्नुपर्ने छ । चालू अधिवेशनको प्रारम्भ अर्थात् गत वैशाख २३ गतेदेखि ६० दिन अर्थात् आगामी असार २० भित्र संघीय संसद्बाट सो विधेयक पारित गरी प्रमाणीकरण गरिसक्नुपर्ने छ । विधेयक सदनमा प्रस्तुत गर्न मात्र सो उपनियम निलम्बनको प्रस्ताव गर्न लागिएको हो । विधेयकमाथि संशोधनको सूचना दिन ७२ घण्टाको समयसीमालाई घटाई आज साँझ ५ बजेसम्म झार्न सो नियम निलम्बनको प्रस्ताव गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का खगराज अधिकारीले अध्यादेशकै आधारमा टेकेर विधेयक आएको हो भन्दै प्रतिपक्षसँगको छलफलका आधारमा प्रक्रियाका विषयमा सहमतिका साथ सरकार अघि बढ्न तयार रहेको बताउनुभयो । बैठकपछि पत्रकारसँग उहाँले भन्नुभयो, “अध्यादेशलाई प्रतिस्थापन गर्दा त्यसका सबै विषय आउँछन् भन्ने छैन, सार्वभौम संसद्ले आफ्नो निर्णय गर्न पाउँछ, मूलभूत कुरा अध्यादेशअनुसारकै आएको छ ।” उहाँले विद्यालय शिक्षासम्बन्धी सदनमा बेग्लै विधेयक आउने भएकाले चिकित्सा विधेयकलाई मात्र एकाङ्की रुपमा हेर्न नमिल्ने र चिकित्सा विधेयकमा प्रस्ताव गरिएका प्रावधानबारे बाहिर कतिपय बौद्धिक क्षेत्रमा रहेको बुझाइभन्दा सदनको बुझाइले चिकित्सा शिक्षालाई गुणस्तरयुक्त र व्यवस्थित बनाउन सक्ने जिकिर गर्नुभयो । प्रतिनिधिसभाको बैठक आज आधा घण्टाका लागि स्थगन भएकामा विधेयकमा सहमतिका लागि सोमबार बिहान ११ बजे बस्ने गरी सूचना टाँसी स्थगन भएको छ ।

हारसँगै अर्जेन्टिनाका मिडफिल्डरद्धारा संन्यासकाे घोषणा !

मस्को । जारी विश्वकप फुटबलबाट बाहिरिएसँगै अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले अबदेखि आफू अर्जेन्टिनाको फ्यान मात्रै रहने बताएका छन् । ३४ वर्षे मास्चरोनोले राष्ट्रिय टिमबाट १४५ औं पटक फ्रान्सविरुद्ध खेले । सो खेलमा ४-३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना प्रिक्वाटर फाइनलबाटै बाहिरियो । बीबीसीकाअनुसार शनिबारको खेलपछि मास्चेरोनाले डिपोर्ट टिभीसँग भनेका छन्, ‘व्यक्तिगत रुपमा मेरा लागि अब सबै पूरा भयो । अबदेखि म मात्रै थप भएको अर्जेन्टिनाको फ्यान हुँ ।’ २००३ मा सिनियर करिअर सुरु गरेका मास्चेरानोले लगातार चौथो पटक विश्वकप खेलेका थिए । उनी हाल चिनियाँ क्लबमा अनुवन्ध छन् । -एजेन्सी

नकआउट चरणको पहिलो भिड्न्त, फ्रान्स अर्जेन्टिनाका अगाडि निरीह

काठमाडौं, असार १६ । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल २०१८ अन्तर्गत आजदेखि नकआउट चरणको खेल शुरु हुँदै छन । शनिबार राती दुईवटा खेल हुँदै छन् । पहिलो खेलमा राति पौने ८ बजे पूर्व विश्व विजेता अर्जेन्टिना र फ्रान्स कजान रङशालामा जित निकाल्दै अघिल्लो चरण प्रवेशको मार्ग सुनिश्चित गर्ने उद्देश्यका साथ मैदान उत्रिने छन् । फ्रान्स समूह सी को विजेता र अर्जेन्टिना समूह डी को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। रसिया पुग्नु अघि दुवै टोलीलाई उपाधिका दाबेदार मानिएको थियो । लीग चरणमा दुबै टोलीको प्रदर्शन राम्रो रहेन । समूह सी मा फ्रान्सले दुई खेल जित्दा एक खेल बराबरी खेलेको थियो। यता अर्जेन्टिनालाई लीगचरण पार गर्ने ठूलो संघर्ष गर्नु पर्यो । विश्व फुटबलका उत्कृष्ट खेलाडी लियोनल मेसी जस्ता सुपरस्टार टोलीमा रहेपनि अर्जेन्टिनाले समूह चरणमा राम्रो खेल्न सकेन। सुरुको दुई खेलमा तालमेल नमिल्दा जितबाट बन्चित रहेको अर्जेन्टिनाले अन्तिम खेलमा भने सुधारिएको खेल खेल्दै नाजेरियामाथि २-१ को जित हात पार्‍यो। अर्जेन्टिना विश्व वरीयतामा पाँचौ तथा फ्रान्स सातौँ स्थानमा छ।आजको खेल नकआउट चरणको प्रतिक्षित खेलमध्य एक हो । अन्तिम १६ का ८ मध्ये यो सबैभन्दा प्रतिक्षित खेल समेत हुनेछ। दुवै टोली विश्वकपको पूर्व विजेता समेत हो। अर्जेन्टिनाले १९७८ र १९८६ मा तथा फ्रान्सले १९९८ मा विश्वकप जितेको थियो। लियोलन मेसीसहित सर्जियो अगुएरो गोन्जालो हिग्वेन पालो डिबला एन्जल डि मारियो ज्याभिएर मास्केरानो एभर बनेगा जस्ता खेलाडी रहेको अर्जेन्टिना र एन्टोनी ग्रीजमन ओलिभर जिरुड केलिएन एमबापे एन गोलो कान्टे ब्लइस मटुइडी पउल पोग्बा राफेल भरान र ह्युगो लोरिस जस्ता खेलाडीबीचको प्रतिस्पर्धा ‘माउथ वाटरिङ’ हुनेछ। यी दुई देशबीच यसअघि विश्वकपमा २ खेल मात्र भएका छन्। दुवैले खेल अर्जेन्टिनाले जितेको थियो। सन् १९३० को पहिलो विश्वकपमा १-० ले विजयी भएको ला अल्बिसेलेस्टेले १९७८ मा घरमै आयोजना भएको विश्वकपमा फ्रान्सलाई २-० ले पराजित गरेको थियो। दक्षिण अमेरिकी राष्ट्रविरुद्ध फ्रान्सको रेकर्ड राम्रो छ। तर अर्जेन्टिनालार्इ अहिलेसम्म जित्न भने सकेको छैन । फ्रान्स र अर्जेन्टिना विश्वकपको नकआउट राउण्डमा भिड्न लागेको यो पहिलो पटक हो। समग्रमा भने यी दुई १२ औँ पटक भिड्न लागेका हुन्। अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले २ खेल मात्र जितेको छ। यस्तै पछिल्लो ३२ वर्षमा भएको दुई मात्र मैत्रीपूर्ण खेल पनि अर्जेन्टिनाले जितेको छ। २००७ मा १–० तथा  २००९  मा २–० ले जितेको थियो। समग्रमा अहिलेसम्म फ्रान्सले अर्जेन्टिनामाथि जित निकालेको छैन ।

पर्यटन मन्त्रीद्वारा‘पुँजीगत अनुदान’ का नाममा अन्धाधुन्ध रकम वितरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न संस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् । आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रवद्र्धन कार्यक्रमअन्तर्गत ‘पुँजीगत अनुदान’ का नाममा अन्धाधुन्ध रकम वितरण गरेका हुन् । अाजको कान्तिपुरमा खबर छ-विभिन्न दलका नेता, साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई मनपरी रकम वितरण गरिएको हो । रकम पाउने संस्था र प्रतिष्ठानमा अधिकांश नेपाल कम्युनिस्ट पार्टीका नेता र निकट कलाकार, साहित्यकारका नाममा खुलेका संस्था र प्रतिष्ठान छन् । त्यसमा पनि मन्त्री अधिकारीको गृहजिल्ला कास्कीका संस्था बढी छन् । केही अपवादबाहेक रकम पाउने अधिकांश संस्था र प्रतिष्ठान निष्क्रिय र झोले प्रकृतिका छन् । ती संस्था र प्रतिष्ठानको उपस्थिति र सामाजिक गतिविधि शून्यप्राय: छ । ती संस्थाले गर्ने संस्कृति संवद्र्धन र प्रवद्र्धनको औचित्य पुष्टि नगरी मन्त्रालयले हचुवाको भरमा रकम बाँडेको हो । मन्त्रालयले राज्यको ढुकुटीबाट यसरी बाँडेको रकम सम्बन्धित संस्थाले बिनामापदण्ड आफूखुसी खर्च गर्न पाउँछन् । यस्तो खर्चको औचित्य पुष्टि गर्ने कागजात र स्रेस्तासमेत यी संस्थाले सरकारलाई बुझाउनुपर्दैन । विभिन्न दलका नेता र पार्टी निकट लेखक तथा साहित्यकारका नाममा खुलेका यस्ता संस्थामा विभिन्न दलका नेता तथा कार्यकर्ताको हालिमुहाली छ । कोहीप्रति जवाफदेही हुनु नपर्ने यस्ता संस्था र प्रतिष्ठानका पदाधिकारीले राज्यको ढुकुटीबाट पाएको अनुदानको पूरै दुरुपयोग गर्ने गरेका छन् । आर्थिक समृद्धिको नारा दिएको सरकारले सालिक र गेट निर्माणजस्ता अनुत्पादक काममा समेत अनुदान बाँडेको छ । गत वैशाख ३ गते पहिलो चरणमा ८७ र दोस्रो चरणमा जेठ २७ मा ४४ वटा गरी १ सय ३१ वटा संस्थालाई आर्थिक सहयोग बाँडिएको हो । कम्युनिस्ट र कांग्रेसका नेताका नाममा स्थापित आधा दर्जन संस्थालाई मात्रै १५ करोड रुपैयाँ बाँडिएको छ । पुष्पलाल, बीपी कोइराला, मदन भण्डारी, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित प्रतिष्ठानलाई साढे २ करोड रुपैयाँका दरले रकम दिइएको छ । मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईका नाममा स्थापित प्रतिष्ठानले पनि त्यति नै रकम पाएका छन् । दोस्रो चरणमा वितरित कार्यक्रममा काठमाडौं र पोखराका संस्था धेरै छन् । विभिन्न आठवटा संस्थाले एक करोडभन्दा माथिको रकम सहायता पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुदानको टिप्पणी उठाउने क्रममा विनियोजित ६० करोड रुपैयाँमध्ये ‘अर्थ मन्त्रालयबाट स्वीकृत कार्यक्रममा नै ६० वटा प्रतिष्ठानको नाम उल्लेख गरी अन्य प्रतिष्ठानलाई अनुदान उपलब्ध गराउने’ भन्ने उल्लेख छ । मन्त्रालयको उक्त टिप्पणीलाई विश्वास गर्ने हो भने अनुत्पादक क्षेत्रमा राज्यकोषको रकम वितरणमा कठोर रणनीति लिने उद्घोष गरेका अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्ति र कार्यशैलीसमेत विरोधाभासयुक्त रहेको देखिन्छ । अघिल्लो संसदीय कार्यकालमा विकास समितिको सभापति हुँदा उनले विभिन्न मन्त्रालयबाट वितरण हुने आर्थिक सहायता र अनुदानको विरोध गर्दै त्यस्ता निर्णय नगर्न समितिका तर्फबाट निर्देशन दिने गर्थे । तिनै अधिकारीले मन्त्री हुँदा संस्कृति संरक्षणका नाममा दलका नेता तथा कार्यकर्तालाई पोस्न अन्धाधुन्ध रकम वितरण गरेका हुन् । अनुदान पाएका अधिकांश संस्था तथा प्रतिष्ठान राजनीतिक प्रकृतिका छन् । केही संस्था फरक प्रकृतिका समेत छन् । प्रजातान्त्रिक आन्दोलनको दमनमा भूमिका निर्वाह गरेको भनी वामपन्थीले आलोचना गर्ने पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको नाममा स्थापित संस्थाले समेत ६० लाख रुपैयाँ अनुदान पाएको छ । लोकदोहरी प्रतिष्ठान, संगीत रोयल्टी संकलक समाज, प्रस्तोता समाज, संगीत उत्पादक समाजलगायत संस्थाका नाममा समेत रकम बाँडिएको छ । मन्त्रालयले प्रारम्भिक चरणमा छानिएका संस्थालाई कम्तीमा १० लाखका दरले अनुदान दिएको छ । पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्री, नयाँ–नयाँ ढंगले वितरणमुखी कार्यक्रम सञ्चालन गर्ने र कार्यकर्ताका लागि चुहावट गर्ने क्रियाकलाप हरेक वर्ष दोहोरिने गरेको टिप्पणी गर्छन् । ‘गैरसरकारी संस्थाका नाममा यसरी वितरण हुने रकम कहाँ खर्च भयो भनी नदेखिने र राज्यकोषको दुरुपयोग हुने प्रवृत्ति दोहोरिइरहेको छ,’ उनले भने, ‘यस्ता संस्थाले के कामका लागि कसरी रकम लगे र कहाँ खर्च गरे, पछि खोज्दा भेटिँदैन ।’ युवा स्वरोजगार कोषको कार्यक्रम सञ्चालन हुँदा विभिन्न संस्थालाई बाँडिएको रकमको अहिलेसम्म हिसाबकिताब नभेटिएको उदाहरण दिँदै उनले आर्थिक अनुदानकै नाममा वितरण हुने रकम झनै जोखिमपूर्ण हुने टिप्पणी गरे । गुपचुप रूपमा पहिलो चरणमा वितरित आर्थिक सहायताको कुनै विरोध नभएपछि मन्त्री अधिकारीले दोस्रो चरणमा ४४ वटा संस्थालाई ५ देखि १५ लाख रुपैयाँका दरले रकम बाँडे । सहिद प्रतिष्ठानका नाममा धेरै संघसंस्था छनोटमा परेका छन् । रामानन्दाचार्य सेवा पीठ, दाहाल प्रतिष्ठान, नई प्रकाशन, बगर फाउन्डेसन, किताब–चरो नेपाल, जोन जोन शिक्षा प्रतिष्ठान, साहित्य शृंखलालगायतले समेत अनुदान पाएका छन् । संगीत रोयल्टी संकलक समाज, प्रस्तोता समाजलगायतले दुई पटक अनुदान पाएका छन् । दोस्रो पटकको अनुदान वितरण गर्ने निर्णयमा भने ‘उल्लिखित प्रतिष्ठानहरूलाई सम्बन्धित नगरपालिका, गाउँपालिकामार्फत कार्यान्वयन हुने गरी पुँजीगत अनुदान उपलब्ध गराउने’ भनी निर्णय भएको छ । दुवै निर्णयमा पर्यटनमन्त्री अधिकारीले हस्ताक्षर गरेका छन् ।

साझाका २४ नयाँ बस थपिँदै

ललितपुर, असार १५ । साझा यातायातले काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ वटा बस थप गर्ने भएको छ । तीमध्ये चारवटा डिलक्स र २० वटा सिटी बस रहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । “केही महिना पहिले बस खरिदका लागि ठेक्का सम्झौता भएको थियो, तीमध्ये चारवटा बस एक साताभित्रै काठमाडौँ आइपुग्नेछ,” उहाँले भन्नुभयो, “ बस आइसकेपछि यसको सञ्चालन प्रक्रिया अघि बढाइनेछ ।” बाँकी २० वटा बस पनि केही समयमै उपत्यका भित्रनेछन्, कामु कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिनुभयो । अहिले काठमाडौँ उपत्यका र उपत्यका बाहिर साझा यातायातको माग बढिरहेको छ । “हामीले माग भएका सबै ठाउँमा बस सञ्चालन गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो ।

पार्टीभित्र एक अर्कालाई आलोचना गर्ने बेला छैन : उपसभापति निधि

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र एक अर्कामा आलोचना गर्ने बेला नभएको बताउनुभएको छ । सभापति देउवाले उपसभापति मनोनयन गरेपछि आज पार्टी कार्यालय सानेपामा पदवहालीका क्रममा उहाँले चुनावको समीक्षा गर्नुभन्दा संगठन निर्माण गर्नुपर्ने बेला आएको बताउनुभयो । “पार्टीभित्र झगडा गर्नुभन्दा पनि संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुुपर्ने बेला आएको छ”, उपसभापति निधिले भन्नुभयो । हेटौँडामा सम्पन्न जिल्ला सभापतिको भेलाले पार्टीभित्रको कमीकमजोरीबारे सुझाव दिइसकेको बताउँदै उहाँले अहिले नेतृत्वको नभई नीतिको बहस आवश्यक भएको स्पष्ट पार्नुभयो । “काँग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको छ नेतृत्व होइन, नीतिको बहस गरौँ” उपसभापति निधिले भन्नुभयो । राष्ट्रिय, राष्ट्रियता, समाजवाद, लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रणाली र शान्तिपूर्ण राजनीति काँग्रेसको एजेण्डा भएकाले यसलाई वडा तहसम्म लैजानुपर्नेमा उहाँले जोड दिनुभयोे । रासस

सरकार स‌ंघीयता असफल पार्न लागेको गगन थापाको आरोप

काठमाडौं, असार १४ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले संसदलाई साक्षी राखेर संघीयता असफल पार्न खोजेको आरोप लगाएको छन् । साथै उनले संसद त्यसको साक्षी नबन्ने पनि बताएका छन् । सत्तारुढ दलका सांसदले केन्द्र सरकारबाट निर्माणाधिन आयोजना निर्माण सम्पन्न गरेर मात्र प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेपछि कांग्रेसका सांसदहरु सरकार नै संघीयता असफल पार्न लागिपरेको भन्दै आक्रोसित भएका हुन्। सांसद थापाले मुलुक संघीय संरचनामा गइसकेपनि सत्तारुढ सांसदले राखेको केन्द्रमुखी प्रस्तावलाई प्राथमिकता दिइएकाले सरकार संघीयता विरोधी भएको आरोप लगाए। ‘संघीयता विफल हुन्छ भन्न प्रधानमन्त्रीले पाउनु हुन्न, संघीयता चल्दैन, काम गर्दैन भनेर संसदलाई साक्षि राख्न खोजिएको हो भने त्यसको साक्षी संसद् बस्न सक्दैन’ थापाले भने, ‘त्यसको संरक्षण गर्न सरकार सक्दैन भने हामी तयार छौं। हामी संघीयतालाई सफल पार्न उभिन्छौं।’ सांसद थापाले स्वयं सत्तारुढ सांसदले नै यो वर्षको बजेट सन्तुलित, न्यायपूर्ण र विवेकपूर्ण नभएको भनेर टिप्पणी गरेको बताए। बिहीवार प्रतिनिधि सभाको बैठकमा नेकपाका सांसद् खगराज अधिकारीले ‘केन्द्र सरकारबाट निर्माणाधीन आयोजना निर्माण सम्पन्न गरेर मात्र प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न’ आग्रह गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश गरेपछि कांग्रेस सांसद थापाले सरकारले संघीयता असफल भएको भनेर संसदलाई साक्षि राख्न खोजेको आरोप लगाएका हुन्। सांसद अधिकारीले बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेको चालु आव २०७५/७६ सम्म सरकारको छनोटका खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजनाहरु सम्पन्न गरी तत् प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक भएको’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका थिए । सांसद अधिकारीले केन्द्रको स्रोतबाट निर्माणाधीन आयोजना अलपत्र हुनसक्ने र समयमै सम्पन्न हुन नसक्ने र विकास निर्माणमा गम्भीर असर पर्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न अत्यावश्यक भएको भन्दै गत जेठ २९ गते संघीय सचिवालयलमा उक्त प्रस्ताव दर्ता गराएका थिए । छलफलमा सांसदहरुले उठाएका चासो र सरोकारको जवाफ दिंदै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार संघीयता विरोधी नभएको दाबी गरे। स्थानीय सरकारलाई सवल बनाएर अधिकार दिने कि कमजोर हुँदै अधिकार दिएर काम गर्न नसक्ने बनाउने भन्ने नै अहिलेको द्वन्द्व भएको बताउदै खतिवडा भने, ‘सरकारले पहिलो विकल्प रोजेको हो ।’

कांग्रेस युवा नेता भन्छन्,-‘७० नाघ्नुभयो, विश्राम लिनुहोस्’

काठमाडौं, असार १२ । कांग्रेसमा सभापति शेरबहादुर देउवा ७३ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७४ वर्ष पुगेका छन् । पार्टी ओरालो लाग्दै गएको विषयलाई उनीहरूको उमेरसँग जोड्दै पछिल्लो पुस्ताका नेताहरू भन्छन्, ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ।’ तर, दुवैको छाँट त्यस्तो छैन । केही समयअघि नेता बालकृष्ण खाँणले दुवैलाई भने पनि ‘तपार्इंहरूसँग अझै नयाँ विचार केही छ भने त्यसलाई ल्याउनुहोस्, नत्र नेतृत्व हस्तान्तरणतिर लाग्नुहोस् ।’ जब नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्छ, देउवा ९२ वर्षमा सत्तामा पुनः उदाएका मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् । कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् । युवा नेताहरू भने अब ‘गर कि छाड’ को अडानमा पुगेका छन् । राज्यका तीनै तहका निर्वाचनमा पार्टी नराम्ररी हारेपछि उनीहरू शुद्धीकरणका लागि नेतृत्व परिवर्तनको जोडमा लागेका छन् । कान्तिपुरमा खबर छ ।

चारकिलोमा पहिरो, मुग्लिङ सडक अवरुद्ध

चितवन, असार १२ । नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन÷चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता शिव शर्मा आचार्यले बताउनुभयो । दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ जसका कारण यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । -रासस

लगातारको पहिरोले मुग्लिनमा यात्रुलाई सास्ती

चितवन, असार ११ । पटकपटक पहिरो खस्दा आज बिहानैदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ । राति २ः३५ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकमा अहिले १२ बजेभित्र चार पटक पहिरो खसिसकेको छ जसका कारण बिहानैदेखि रोकिएका सवारी गन्तव्यमा जान पाएका छैनन् । पहिरो खस्ने, प्रहरीले सडक खोल्ने, अनि फेरि पहिरो खस्ने क्रम देखिएकाले थप सास्ती बेहोर्नुपरेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्य बताउनुहुन्छ । अहिले ११ः३० मा चारकिलो भन्ने स्थानमा फेरि पहिरोसँगै ढुंगा खसेर अवरुद्ध भएको सडक १२ बजे फेरि खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि राति खसेको पहिरो बिहान ८ बजे हटाएर एकतर्फी सडक खुलाइएको थियो । लगत्तै पुनः पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहान १० बजे पहिरो हटाएर यातायात दुईतर्फी नै सञ्चालनमा ल्याइएको थियो । यातायात सञ्चालन भएको डेढघण्टा नबित्दै पुनः ढुंगा खसेर अवरुद्ध भएको मुग्लिन सडक ढुंगा पन्छाएर १२ बजे पुनः सञ्चालन भयो । अब कतिबेला फेरि पहिरो खसेर सडक बन्द हुने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्य अहिलेसम्म चार/पाँच पटक पहिरो खसिसकेको बताउनुहुन्छ । पहिरो हटाएर सडक खुल्ने बित्तिकै पुनः पहिरो खस्ने क्रम दोहोरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा राति २ः३५ बजे पहिरो खसेको थियो । सोही सडकखण्ड अन्तर्गत पाँच किलो, जलबिरे र कालिखोलामा समेत थप पहिरो खसेको थियो । पटकपटक पहिरो खस्ने क्रम नरोकिँदा बिहानदेखि रोकिएका सवारी साधन गन्तव्यमा जान पाएका छ्रैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले कुनै पनि बेला पहिरो खस्नसक्ने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ । उक्त सडक चौडा पार्ने काम सकिएको भए पनि भित्तो काटिएको स्थानमा पहिरो खस्ने क्रम भने रोकिएको छैन । पहिरो रोक्ने प्रयास पनि सफल हुनसकेको छैन ।

धरानमा विमानस्थल बन्ने अनिश्चित

इटहरी । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्तिका लागि ठोस योजनासहित कार्य अघि बढाएको प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले रासससँगको कुराकानीमा बताउनुभयो । नेपालमा चालू अवस्थामा रहेका विमानस्थलको स्तरोन्नत्ति गर्ने र पहिला निर्माण भई सञ्चालनमा रहेका विमानस्थलमध्ये अहिले सञ्चालनमा नरहेका विमानस्थल कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा प्राधिकरणले गहन अध्ययन गरिरहेको पनि उपमहानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नयाँ विमानस्थल निर्माणभन्दा पनि ठूला विमान अवतरण गरिरहेका स्थानको स्तरोन्नति तथा अन्तर्राष्ट्रिय क्षमताका विमानस्थलको स्तरोन्नति गरी धावनमार्ग विस्तारमा प्राधिकरण केन्द्रित रहेको छ भन्नुभयो । एक दशकअघिदेखि यति कर्पोरेटले सुनसरीले धरानमा विमानस्थल बनाउन थालेको अभियानका विषयमा के हुन्छ त भन्ने प्रश्न गर्दा उपमहानिर्देशक श्रेष्ठले त्यहाँ पनि विमानस्थल बनाउन सकिने सम्भावना रहेपनि भौगोलिक जोखिमपूर्ण रहेको तथा विराटनगर विमानस्थल नजिक रहेकाले यस विषयमा अध्ययन भइरहेको बताउनुभयो । उहाँले धरान उपमहानगरपालिकाले विमानस्थल बनाउन प्राधिकरणलाई सात बिगाह जमिन उपलब्ध गराउने आश्वासन दिएको भए पनि त्यो प्राप्ति गर्ने कार्य अघि नबढेको स्पष्ट पार्र्नुभयो । धरानमा विमानस्थल सम्भव छ कि छैन भन्ने विषयमा हालै प्राधिकरणका वरिष्ठ अधिकृत भोला घिमिरेको टोलीले स्थलगत अध्ययन गरेको र प्राधिकरणले वातावरण प्रभाव मूल्यांकन गर्ने प्रक्रिया अघि बढाएको उपमहानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । यस विषयमा विस्तृत जानकारीका लागि प्राधिकरणले छुट्टै सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने योजना बनाएको छ । उपमहानिर्देशक श्रेष्ठले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्ने उद्देश्यले रु एक अर्ब ३५ करोड बजेट नै विनियोजन गरेर दीर्घकालीन योजनासहित थप आवश्यक जमिन अधिग्रहणदेखि विमानस्थलको रन वे विस्तार योजनासमेत अघि बढाइसकेको जानकारीसमेत सार्वजनिक गर्नुभयो । उहाँले हाल विराटनगरमा एक हजार ५०० मिटरको रन वे रहेको तथा त्यहाँ अब कम्तीमा दुई हजार ५०० मिटरको रन वे बनाउने योजनासहित प्राधिकरणले कार्य अघि बढाइसकेको पनि उहाँको भनाइ छ । त्यसअन्तर्गत अहिले रु तीन करोडको लागतमा टर्मिनल भवन रिमोडलिङ गर्ने कार्यको थालनी गरेको बताउनुभयो । यता धरानको विमानस्थलका विषयमा भने उहाँले भौगोलिकरुपमा हाल त्यहाँको जमिनअनुसार ८०० मिटरको धावनमार्गमात्र बन्न सक्ने भएकाले त्यहाँ साना र कम क्षमताका विमान मात्र अवतरण गर्न सक्ने भएकाले धरानको विमानस्थल ज्यादै खर्चिलोसमेत हुने भएकाले त्यहाँ विमानस्थल बनाउनुको औचित्य नरहने धारणासमेत स्पष्ट पार्नुभयो । धरानमा विमानस्थल बन्दा कम यात्रु बोक्ने विमान मात्र अवतरण गर्र्न सक्ने र खर्चको दृष्टिकोणले विराटनगरको यात्राभन्दा धेरै महँगोसमेत पर्न जाने भएकाले यात्रु सुविधाका हिसाबले पनि धरानको विमानस्थल सुलभ नभई महँगो भाडादरका कारण चल्न नसक्ने खतरा पनि रहने भएकाले त्यसप्रति प्राधिकरणले खासै चासो नराखेको पनि उहाँले खुलासा गर्नुभयो । धरानवासीले विमानस्थल जरुरी छ भन्ने औचित्य पुष्टिसँगै सानो विमान अवतरणका लागिसमेत आवश्यक पूर्वाधार तयार गर्न कम्तीमा ९१ बिगाह जमिन उपलब्ध हुन जरुरी रहेकाले त्यसको सम्भावना छ वा छैन भन्ने विषयमा प्राधिकरणले सम्भाव्यता अध्ययन आदि कार्यका लागि रु सात करोड छुट्याएको छ । तर त्यहाँ नयाँ विमानस्थल बनाउँदा लाग्ने खर्च, जग्गा प्राप्ति वा खरिद गर्दा लाग्ने खर्च आदिका हिसाबले पनि धरानको विमानस्थल ज्यादै खर्चिलो र जोखिमपूर्णसमेत रहने भएकाले अहिले नै धरानमा विमानस्थल बन्न सक्ने सम्भावना दह्रो छ भनेर भन्न सक्ने अवस्था नरहेको पनि उपमहानिर्देशक श्रेष्ठको भनाइ छ । धरान विमानस्थलसम्बन्धी पछिल्लो समय अध्ययनमा आउनुभएका वरिष्ठ अधिकृत घिमिरेले अहिले नै धरानमा विमान अवतरणका लागि विमानस्थल बन्न सक्ने सम्भावना ज्यादै कम रहेको तथा त्यो विषयमा अध्ययनमात्र भइरहेको बताउनुभयो । उहाँले त्यसका लागि जग्गा प्राप्ति नै जटिल विषय रहेको तथा भौगोलिक दृष्टिले पनि उपयुक्त नदेखिएको उल्लेख गर्नुभयो । धरानमा विमानस्थल बनाउने योजना लिएर आउने यति कर्पोरेटका तत्कालीन अधिकार प्राप्त व्यक्ति विजय श्रेष्ठले डेढ वर्षअघि नै यति कर्पोरेट छाडेर अन्यत्र गइसकेकाले उहाँको सक्रियतामा धरान विमानस्थलका लागि खरिद भएको जग्गादातासँगको विमानस्थल नबने जग्गा फिर्ता गर्ने सम्झौतासमेत अन्योलमा परेको छ । यता धरानमा विमानस्थल बन्नुपर्छ भन्ने अभियानमा सक्रिय भएर लाग्नुभएका धरानका व्यवसायी अशोक अग्रवाल पनि धरानमा विमानस्थल बन्ने सम्भावना कम बन्दै गएपछि जग्गा फिर्ता हुनुपर्छ भन्ने पक्षमा उभिनुभएको छ । उहाँले जुन उद्देश्यले धरानवासीले जग्गा दिएको वा बेचेको हो त्यसको उद्देश्य प्राप्ति भएन भने जग्गा विक्रेताले सम्झौता मुताविक यति कर्पोरेटबाट जग्गा फिर्ता पाउनुपर्ने उहाँको भनाइ छ । धरान विमानस्थल निर्माण योजना र विराटनगर विमानस्थल स्तरोन्नतिको सवालमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग जिज्ञासा राख्दा उहाँले प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजना नै अघि बढाइसकेकाले अहिले नै बन्छ भन्न सकिने अवस्था नरहेको बताउनुभयो । रासस