फ्रान्स एक खेल अगावै नकआउट चरणमा, पेरु भने बाहिरियो
मस्को । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत हिजो साँझ भएको खेलमा पूर्व विजेता फ्रान्स विजयी भएको छ । समूह ‘सी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा उसले पेरुलाई १-० गोलले हराउँदै विजयी भएको हो ।
पेरुलाई हराएसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। समूहमा लगातार दोस्रो जित हात पारेको फ्रान्स अन्तिम खेलमा डेनमार्कसँग भिड्नुअघि नै अघिल्लो चरण पुग्ने निश्चित भएको छ। समूहमा फ्रान्सले दुई खेलबाट ६ अंक जोडेको छ।
दुई खेलबाट चार अंक भएको डेनमार्क दोस्रो स्थानमा छ। दुई खेलपछि अस्ट्रेलियाको एक अंक छ भने पेरुले अंक जोड्न सकेको छैन। फ्रान्सको जितमा केलिन एमबाप्पेले निर्णायक गोल गरे। एमबाप्पेले ३४ औं मिनेटमा गोल गरेका थिए। -एजेन्सी
विश्वकपमा उत्कृष्ट प्रदर्शनसँगै रोनाल्डोको ५१औँ ह्याट्रिक
काठमाडौं । क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फर्ममा रहनु र नहुनुको अर्थ बेग्लै हुन्छ । जब उनी फर्ममा हुन्छन्, आफ्नो अगाडि बलिया प्रतिद्वन्द्वीका डिफेन्स सहजै तोडिरहेका हुन्छन् । उनी खराब फर्ममा रहँदा अति नै कमजोर टोलीविरुद्ध सहज गोल अवसर पनि गुमाउँछन् । रोनाल्डोले पुनः एकपटक आफू विश्वकप फुटबलमा वर्तमान समयकै उत्कृष्ट स्ट्राइकर रहेको प्रमाणित गरेका छन् । समूह बीको खेलमा हारनजिक पुगेको पोर्चुगललाई रोनाल्डोले सञ्जीवनी बुटी दिलाउँदै एक अंक दिलाए । यति मात्र होइन, रोनाल्डोले स्पेनजस्तो पूर्वविश्वकप र दुईपटकको युरोकप च्याम्पियन टोलीविरुद्ध ह्याट्रिकसमेत लगाए । त्यो ह्याट्रिक उनको करिअरकै ५१औँ रह्यो । रोनाल्डोको ह्याट्रिकको मद्दतमा सन् २०१६ को युरोकप विजेता पोर्चुगलले स्पेनलाई ३–३को बराबरीमा रोक्न सफल भयो । खेलको ८८औँ मिनेटमा रोनाल्डोले २२ यार्ड टाढाबाट पहिलो बारमा सनसनी फ्रिकिक गोल गर्दा स्पेनका गोलरक्षक डेभिड डी जियाले मेसो नै पाउन सकेनन् । विश्वकपमा रोनाल्डोको रेकर्ड रोनाल्डो विश्वकप फुटबलमा सर्वाधिक पाको उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । स्पेनविरुद्धको ह्याट्रिक पूरा गर्दा उनी ३३ वर्ष १ सय ३० दिनका थिए । यसअघि नेदरल्यान्डका रोव रेनसेनव्रिन्कको नाममा सो रेकर्ड थियो । रोवले १९७८ को संस्करणमा इरानविरुद्ध ह्याट्रिक लगाउँदा ३० वर्ष ३ सय ३५ दिनका थिए । रोनाल्डोले शुक्रबार गरेको ह्याट्रिक विश्वकपको इतिहासकै ५१औँ ह्याट्रिक हो । विश्वकपको पहिलो संस्करणमै पहिलो ह्याट्रिक बनेको थियो । पोर्चुगलका कप्तान रोनाल्डो सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकप संस्करणमा गोल गर्न सफल रहे चार विश्वकपमा गोल रोनाल्डोले सन् २००४ मा पोर्चुगलले नै आयोजना गरेको युरोकपमा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धा गरेका थिए । त्यसबेला पोर्चुगलका प्ले मेकर लुइस फिगोको प्रदर्शनमा रोनाल्डो छायामा परे । फिगोको सन्न्यासपछि पोर्चुगल फुटबलमा रोनाल्डोले एकछत्र राज गरिरहेका छन् । यद्यपि, ३३ वर्ष भए पनि रोनाल्डोले गोल गर्न छाडेका छैनन् । विश्वकपको चार संस्करणमा गोल गर्ने रोनाल्डो चौथो खेलाडी बनेका छन् । रोनाल्डोले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकप संस्करणमा गोल गर्न सफल रहे । विश्वकपमा पेले, सेलेर तथा मिरोस्लाभ क्लोजले पनि चारवटा विश्वकपमा गोल गरेका छन् । रोनाल्डोले १ सय ५१ खेलमा ८१ अन्तर्राष्ट्रिय गोल गरेका छन् । एउटा ठूलो उपलब्धि रोनाल्डोले विश्वकपमा आफ्नो व्यक्तिगत पहिलो ह्याट्रिक लगाउन पाउँदा फरक अनुभव गरेको बताएका छन् । ‘स्पेनसँगको प्रतिस्पर्धा स्मरणीय छ, मैले विश्वकपमा ह्याट्रिक लगाएँ,’ रोनाल्डो भन्छन्, ‘कठिन अवस्थामा गोल गर्नुका साथै ह्याट्रिक गर्नुको मजा फरक हुँदो रहेछ ।’ विश्व फुटबलकै बलियो राष्ट्रसँग त्यही स्तरमा प्रतिस्पर्धा गर्नु कठिन रहेको उनको भनाइ छ । ‘स्पेन विश्वकप दाबेदार राष्ट्र हो, यो नतिजा सोचेजस्तो हो,’ उनले भने । दुईपटकको अग्रता पोर्चुगलले स्पेनविरुद्ध दुईपटक अग्रता लिएको थियो । दुवैपटक स्पेनले अग्रता रक्षा गर्न नसक्दा खेलमा ३–२ले पछि प(यो । चौथो मिनेटमा रोनाल्डोले पेनाल्टी गोल गरे । नाचोले रोनाल्डोलाई लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । डिएगो कोस्टाले कोस्टाले २४औँ मिनेटमा १–१ को बराबरीमा स्पेनलाई पुर्याए । रोनाल्डेले ४४औँ मिनेटमा पोर्चुगलका लागि २–१ को अग्रता दिलाए । ५५ औँ मिनेटमा कोस्टाले स्पेनलाई २–२ को बराबरीमा पु(याए । खेलको ५८औँ मिनेटमा नाचोले स्पेनलाई ३–२ को अग्रता दिलाए । स्पेनले विश्वकप इतिहासमा पछिल्लो १३ समूहचरणको पहिलो खेलमा दुई खेलमा मात्र जित निकालेको छ । एजेन्सीको सहयाेगबाट
जग्गा कारोबारीको सम्पत्ति छानबिन हुन्छ : मन्त्री खनाल
काठमाडौं, असार २ । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ । खेतीयोग्य जमिनलाई भू–माफियाले टुक्रा टुक्रामा विभाजन गर्ने र चर्को मूल्यमा घडेरीका नाममा पल्टिङ गरी बिक्री वितरण गरेका कारण जग्गाको वर्गिकरण गरी जमिनलाई बाँझो रहन र खण्डीकरण हुनबाट रोक्न गोप्य परामर्श गर्नुपरेको अधिकारीहरु बताउँछन् । औद्योगिक, व्यवसाय, बसोवास र खेतीयोग्य गरी चार भागमा जमिनको वर्गिकरण गर्ने प्रारम्भिक छलफल भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीका प्रेस संयोजक बाेमलाल गिरीले बताउनुभयो । केही भू–माफियाले वित्तीय संस्थालाई आफ्नो पक्षमा आर्कषण गरी कर्जा लगानी गर्न उत्साही गर्ने र खेतीयोग्य जमिनलाई रातारात पल्टिङ गरी बिक्री वितरण गर्ने सोचलाई रुपान्तरण गर्ने अभिप्रायबाट सरकारले जग्गाको वर्गिकरण शुरु गरेको हो । ‘धेरैजसो मानिस गाउँबाट शहरमा बसाइँ सरेका छन्, शहरमा रम्ने बाबुआमाका अधिकांश छोराछोरी वैदेशिक रोजगारमा हुन्छन्’ । “भू–माफियाले वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणलाई उपयोग गरी जमिन टुक्राउने धन्दालाई निरन्तरता दिएको पाइन्छ । भू–माफियाले मालपोतका कर्मचारीलाई आफ्नो नजिकको सुत्र बनाएका छन्,” कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भन्नुभयो । जग्गा खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यबाट माफियाले मालपोतमा काम गर्ने कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी जग्गाधनीका सिधैँ पुग्ने सम्पर्क सुत्र प्रयोग गरेको मन्त्रालय सुत्रले जनाएको छ । मन्त्री खनालले जग्गा कारोबारीले आर्थिक प्रलोभनमा पारेर कर्मचारीबाट राजश्वसमेत घटाउन लागि परेका हुन्छन् भन्दै त्यस्ता कर्मचारीलाई कानून बमोजिम कारबाही गर्ने र जग्गा कारोबारीको सम्पत्तिसमेत छानबिन गर्ने बताउनुभयो । जग्गा खण्डीकरणले खेतीयोग्य जमिन नाश हुनगई कृषिमा परनिर्भरता बढेको छ । गाउँका मानिस शहरमा बसाइँ सरेका छन्, भने युवाजति वैदेशिक रोजगारमा, त्यसैले व्यापक जमिन बाँझो हुन गएको छ । कूल खेतीयोग्य जमिनको दुई करोड ६० लाख रोपनी जमिन बाँझो छ । हाल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । कृषिविज्ञ कृष्ण पौडेलले भन्नुभयो, “भूमि राज्यको हो, नागरिकलाई उपयोगको हिस्सा मात्र वितरण गर्ने हो, उर्वर जमिनलाई बाँझो राख्न नपाइने कानुन आवश्यक छ ।” खेतीयोग्य जमिन बाँझो राख्न नपाइने, जग्गााधनीले बाँझो जमिनलाई उपयोग गर्न दिनुपर्ने, आवासीय भूमिमा कर बढाउनुपर्ने र कृषियोग्य जमिनमा घर बनाउन नपाइने विषय ऐनमा समेट्नुपर्ने आवश्यकतामाथि विज्ञहरुले जोड दिएका छन् । छैठौं कृषिगणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेश गर्न नपाएको उल्लेख छ । कृषि मजदुर, भूमिहीन र सिमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसानको हातमा जमिन छैन । गणनामा ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकोमा ८३ प्रतिशत जनता कृषि पेशामा आत्मानिर्भर रहेको जनाएको छ । ४२ प्रतिशत कृषकले कृषि कर्म गर्न ऋण उपलव्ध नभएको उल्लेख छ । खेतीको अलवा ५८ लाख २६ हजार ४४० ९हेक्टर० क्षेत्रफल वन जंगल र एक हजार ५६० झाडी, चरिचरनको क्षेत्र १७ लाख ६६ हजार, पानीले ओगटेका क्षेत्रफल तीन लाख ८३ हजार तथा सिमसारलगायत अन्य २६ लाख २० हजार गरी कूल एक लाख ४७ हजार १८१ वर्ग किमी जमिन छ ।
फिल्म ‘सञ्जु’ मा रणवीर र सलमानको यस्तो सवाल-जवाफ
अभिनेता सलमान खान अभिनित फिल्म ‘रेस ३’ जुन १५ मा प्रदर्शन भइसकेको छ । ‘रेस ३’ को जति चर्चा प्रदर्शन हुनुअघि भएको थियो, त्यसको तुलनामा प्रदर्शन पछि भने अपेक्षा अनुरुपको प्रतिक्रिया पाइरहेको छैन । फिल्म समिक्षक तरण आदर्शले यस फिल्मलाई निराशा जनक नै भनिदिएका छन । यही मौकालाई हेर्दै अभिनेता रणवीर कपूरले सलमानले यसअघि बोलेको कुराको जवाफ फर्काएका छन । किनकी सलमानले ‘रेस ३’ को प्रमोशन कार्यक्रमका बेला रणवीरको अभिनयमाथि सवाल उठाएका थिए । सलमानले बोलेको कुराले मिडियामा रामै्रसँग चर्चा पाएको थियो । चर्चाको विषय अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’ थियो । जसमा सञ्जय दत्तको भूमिका निर्वाह गरेका थिए अभिनेता रणवीर कपूरले । प्रमोसनका क्रममा सलमानलाई फिल्म ‘सञ्जु’ का बारेमा सोधिएको प्रश्नमा अभिनेता सञ्जय दत्तको बायोपिकमा अन्य कुनै पनि कलाकारले अभिनय गर्न नसक्ने बताएका थिए । साथै अरु कसैले सञ्जय दत्त बन्नको लागि गरेको मेहनत व्यर्थ रहेको र ‘सञ्जु’ मा सञ्जय दत्तको पछिल्लो १० वर्ष यताको भूमिका सञ्जय आफैले गर्नु पर्ने बताएका थिए । फिल्म ‘सञ्जु’ मा सञ्जय दत्तको भूमिकामा रहेका अभिनेता रणवीर कपूरले अहिले सलमानलाई कडा जवाफ दिएका छन । रणवीरले भने,‘मलाई लाग्छ, यस्तो कसैको पनि बायोपिकमा भएको छैन कि जसको जीवनीमा फिल्म बनिरहेको छ, उसैले त्यस फिल्ममा आफै अभिनय गरेको । यदि यस्तो भयो भने त्यो पात्रको प्रभाव बाँकी नै रहँदैन । मलाई पहिल्यै थाहा थियो व्यक्तिहरु मलाई स्क्रिनमा देख्ने बित्तिकै सञ्जय दत्तसँग तुलना गर्न थाल्नेछन् । त्यसैले मैले इमान्दारीका साथ आफ्नो भूमिका निर्वाह गरेको छु ।’ उनले अगाडि भने, ‘दर्शकले मलाई सञ्जय दत्तको ४० औं वर्षको अवतारमा देखुन वा २० औ वर्षको अवतारमा देखुन । उनीहरुलाई यस्तो लागोस् कि उनीहरुका अगाडि एक कलाकारले सञ्जय दत्तको भूमिका निर्वाह गरिरहेको छ । यो सत्य हो कि म दास्रो सञ्जय दत्त बन्न सक्दिन । हाम्रो प्रयास भनेको सञ्जय दत्तको जीवनीलाई दर्शक माझ ल्याउनु हो ।’ यति बेला फिल्म ‘सञ्जु’ को प्रमोसनमा रणवीर कपूरलगायत अन्य कलाकारहरु व्यस्त छन । राजकुमार हिरानीको निर्देशन रहेको यस फिल्ममा अभिनेता रणवीरका साथै मनिषा कोइराला, दिया मिर्जा, सोनम कपूर, परेश रावल र विक्की कौशलको अभिनय रहेको छ । जुन २९ मा प्रदर्शन हुने यस फिल्ममा सञ्जय दत्तको जीवन कथा हेर्नका लागि दर्शकहरु व्यग्रताका साथ पर्खिरहेका छन । -एजेन्सी
रोनाल्डको ह्याट्रिकले मेस्सीलाइ तनाव !
काठमाडौं, असार २ । रुसमा जारी फीफा विश्वकपमा यो शताब्दीकै दुई उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी यो पटकको विश्वकप जित्ने अन्तिम प्रयासमा छन् । दुवै खेलाडी गएको एक दशकदेखि आलोपालो जस्तै गरी वर्ष खेलाडी बन्दै आएका पनि छन् । तर दुःखको कुरा उनीहरुले देशका लागि भने विश्वकप जित्न सकेका छैनन् । रोनाल्डोले दुई वर्षअघि युरोकपको उपाधि जितेर केही उपलब्धी त हात पारेका छन् तर विश्वकप अझै अपूरो छ । यस्तै मेस्सीले ओलम्पिकमा मेडल बाहेक जित्न सकेका छैनन्, राष्ट्रिय टिमबाट । विश्वकप अन्तर्गत क्रिष्टियानो रोनाल्डोले शुक्रबार राति भएको खेलमा ह्याट्रिक गरे । उनकै ह्याट्रिकको सहयोगमा पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोक्न सफल भयो । अब दबाब अर्का स्टार खेलाडी अर्जेन्टिनाका लियोनल मेस्सीमाथि आएको फुटबल पण्डितले बताएका छन् । रोनाल्डोको ह्याट्रिकले अब मेस्सीमाथि दबाब परेको म्याच अफ द डेका फुटबल पण्डित रिओ फरडिनान्डले बताएका हुन् । उनले भने,‘रोनाल्डोले जस्तै पूरै टिमको जिम्मेवारी आफूमा लिन सक्ने क्षमता भएका अर्का खेलाडी हुन्, लियोनल मेस्सी । रोनाल्डोको उत्कृष्टताको चाह जहिले पनि चाहेर वा नचाहेर मेस्सीसँग जोडिएको हुन्छ र मेस्सीको रोनाल्डोसँग । अब मेस्सीमाथि दबाब परेको छ ।’ मेस्सीको टिम अर्जेन्टिनाले शनिबार राति पहिलो पटक विश्वकप खेल्न लागेको आइसल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । रोनाल्डोको प्रदर्शन हेरेपछि मेस्सीमा पक्कै दबाब परेको हुनुपर्छ । -देशसञ्चार
गुड्दागुड्दै अटोरिक्सामा आगलागी
गौशाला, जेठ ३१ । महोत्तरीको गौशाला नगरपालिका क्षेत्रमा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी हुँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार बुधबार अबेर साँझ गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ गाउँको हनुमानचोक नजिकै पूर्व पश्चिम राजमार्गबाट दक्षिणतर्फ आउँदै गरेको एउटा अटोरिक्सा गुड्दागुड्दै अचानक आफैँ आगलागी भएको थियो । अटोरिक्सामा मेशिनको गडबडी भएर गुडिरहेकै अवस्थामा आफैं आगलागी भएको र आगलागीबाट सो अटोरिक्सा पूर्ण जलेर रु चार लाख ४५ हजार मूल्यको क्षति भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । सो अटोरिक्सामा आगलागी हुँदा त्यसमा सवार चालकसहित सबै यात्रु हतारहतार ओर्लिन सफल भएका र एकछिनमै हेर्दाहेर्दै पूरै अटोरिक्सा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । -रासस
बलात्कार आरोपमा गुन्डा नाइके लामा पक्राउ
काठमाडौं, जेठ ३० । गुन्डा नाइके संजीव लामा ‘स्याल’ बलात्कार मुद्दामा पक्राउ परेका छन्। आफ्नै रेस्टुरेन्टमा कार्यरत युवतीलाई पटक पटक बलात्कार प्रयासको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले पक्राउ गरेको हो। उडल्याण्ड कम्प्लेक्समा नोला लाउञ्ज एण्ड बार चलाउँदै आएका लामालाई जबरजस्तीकरणी उद्योग मुद्दामा प्रहरीले कारबाही गर्ने तयारी गरेको छ। दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्लले लामालाई पक्राउ गरिएको पुष्टि गरे। लामा लामो समयदेखि गुन्डागर्दीमा संलग्न व्यक्ति भएको प्रहरी अधिकारीहरु बताउँछन्। उनी पटक पटक पक्राउ समेत परेका थिए। गोठाटार गोलीकाण्डमा समेत उनी मुछिएका व्यक्ति हुन्। जसमा एक बालकको मृत्यु भएको थियो। गुन्डागर्दीमा प्रहरीबाट जोगिन उनी राजनीतिमा समेत लागेका थिए। उनी तरुण दल काभ्रेका अध्यक्ष हुन्। स्रोतका अनुसार आफु ठूलो डन हुँ भन्दै युवतीलाई पटक पटक यौन दुव्र्यबहार गर्दै आएका थिए। आफ्नो गर्लफ्रेन्ड बन्न भन्दै ती किशोरीलाई उनले यातना दिदै आएका थिए। नेपाल लाइभ
खानेपानी महसुल निर्धारण आयोग हात्तीको देखाउने दाँत
काठमाडौँ । देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए-नभएको अनुगमन गर्ने खानेपानी महसुल निर्धारण आयोग स्थापनाको ११ वर्षसम्म हात्तीको देखाउने दाँत मात्र बनेको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका क्रममा दाताले खानेपानीको गुणस्तर र सेवाको अनुगमन एवं महसुल निर्धारणका लागि छुट्टै निकाय हुनुपर्ने शर्त राखेपछि सरकारले २०६३ सालमा आयोग स्थापना गरेको थियो । आयोगसित पानी गुणस्तरीय भए÷नभएको अनुगमन गर्न आवश्यक जनशक्ति तथा आर्थिक स्रोत दुवै नभएकाले अलपत्र परेको हो । स्थापनाको ११ वर्षसम्म पनि आयोग अध्यक्ष, लेखापाल, चालक र कार्यालय सहयोगी एक–एक गरी चारजनाका भरमा चलेको छ । आयोगका अध्यक्ष उपेन्द्रकुमार अधिकारी जनशक्तिको अभावमा ऐन नियममा तोकिएका काम गर्न नसकिएको बताउनुहुन्छ । “आयोगलाई नेपाल खानेपानी संस्थानका २२ शाखा, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड र भरतपुर खानेपानी व्यवस्थापन बोर्डबाट महसुलमार्फत उठेको दुई प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भए पनि पाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो । बजेटसमेत नभएको गुनासो गर्दै अध्यक्ष अधिकारीले भन्नुभयो, “आयोगलाई सरकारले बजेट दिँदैन, महसुलको दुई प्रतिशत लिन पाउने व्यवस्था ऐनमा भए पनि यसअघि आयोग बैठकले एक प्रतिशतमात्र लिने निर्णय गरेकामा, त्यो पनि पाउन सकिएन ।” संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको संविधानको मौलिक हकअन्तर्गत धारा ३५ स्वास्थ्यसम्बन्धी हकको उपधारा ४ मा ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ’ भनी खानेपानी र सरसफाइको हक सुनिश्चित गरिएको छ तर आयोगमा जनशक्तिको व्यवस्था नगरिँदा उपभोक्ता अधिकारबाट वञ्चित छन् । आयोग ऐनमा खानेपानी सेवा भन्नाले प्राकृतिक पानीलाई प्रशोधन तथा शुद्धीकरण गरी उपभोक्तालाई उपलब्ध गराउने काम सम्झनुपर्छ भनी परिभाषा गरिएको छ तर राजधानीकै उपभोक्ताका धारामा धमिलो पानी झर्दा पनि अनुगमन गर्ने कार्यालयको अत्तोपत्तो नभएको उपभोक्ता मञ्चका केन्द्रीय उपाध्यक्ष रोशन पोखरेल बताउनुहुन्छ । सरसफाइ सेवालाई मानव मलमूत्रबाट वा घरेलु, व्यापारिक वा औद्योगिक उपयोगपश्चात् निष्काशन भएको फोहर पानी तथा त्यस्तो पानीमा मिश्रित सबै किसिमका फोहर पदार्थलाई नष्ट गर्ने, निष्काशन गर्ने, प्रशोधन गर्ने वा शुद्धीकरण गर्ने काम सम्झनुपर्छ भनी सरसफाइ सेवाको ऐनमा उल्लेख छ । खानेपानी र सरसफाइ सेवाको गुणस्तरीयता जाँच गर्ने आयोगमा जनशक्ति नहुँदा उपभोक्ता गुणस्तरीय त के खानेपानी र सरसफाइ सेवाबाटै वञ्चित भएका छन् । सेवा प्रदायक संस्था घाटामा चलेकाले महसुलको एक प्रतिशत रकम पनि आयोगको कोषमा जम्मा हुन सकेको छैन । लिमिटेडका प्रवक्ता सुरेश आचार्य वार्षिक रु ८६ करोडको बिलिङ हुने गरेकाले एक प्रतिशतका दरले रु ८६ लाख आयोगलाई बुझाउनुपर्ने भए पनि सङ्कलन कम हुँदा बुझाउन नसकिएको स्वीकार्नुहुन्छ । “बिलिङ रु ८६ करोड भए पनि सरदर वार्षिक रु ७८ करोडमात्र महसुल संकलन हुन्छ, लिमिटेडको वार्षिक खर्च सरदर रु एक खर्ब १८ करोड छ, आम्दानीभन्दा खर्च बढी भएकाले बोर्ड र आयोगलाई बुझाउनुपर्ने पैसा बुझाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो । सेवा प्रदायक संस्थाले तोकिएको रकम नतिर्दा गुणस्तरीय पानी सेवाबाट उपभोक्ता वञ्चित हुनुपरेको छ । जनशक्ति र बजेटको अभावमा खानेपानीको गुणस्तरीयताको अनुगमन गर्न नसकिएको आयोगको भनाइ छ । आठ वर्षदेखि स्वीकृत भएन नियमावली विसं २०६७ असोजमा मस्यौदा गरी तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको कर्मचारी सेवा शर्त नियमावली आठ वर्ष बितिसक्दा पनि स्वीकृत हुन सकेको छैन । खानेपानी सेवा मन्त्रालयबाट झिकी शहरी विकास हुँदै खानेपानी तथा सरसफाइ मन्त्रालयमा पुगे पनि नियमावली स्वीकृत नभएको हो । नियमावलीको मस्यौदा संशोधन गरी २०७३ वैशाखमा खानेपानी मन्त्रालयमा पेश गरिएको उहाँले बताउनुभयो । आयोगका दुई सदस्यको पदाबधि २०७३ कात्तिक २२ गते नै सकिए पनि अझै पदपूर्ति हुन सकेको छैन । मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदी यसअघिको सरकारका पालामा सदस्य मनोनयनका लागि सिफारिस समिति गठन भएकामा सरकार परिवर्तन भएकाले समिति पनि भंग हुनपुग्दा ढिलाइ भएको बताउनुहुन्छ । राष्ट्रिय योजना आयोगको खानेपानी हेर्ने सदस्यको संयोजकत्वमा समिति गठनको तयारी गरिएको उहाँको भनाइ छ । आयोगको कर्मचारी सेवा शर्त नियमावलीका विषयमा पनि छिटो टुङ्ग्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । रासस
कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट
कैलाली, जेठ २२ । कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट गर्न सकिने व्यवस्था शुरु गरिएको छ । ई–सेवा धनगढीले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको धनगढी, टीकापुर, अत्तरिया, सुख्खडलगायत क्षेत्रका विद्युत् उपभोक्ताले विद्युत् महसुल ई–सेवाबाट बुझाउन सक्ने व्यवस्था गरेको धनगढी ई–सेवाका सञ्चालक कलम बमले जानकारी दिनुभयो । सम्मेलनमा नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख धीरेन्द्रकुमार यादवले ई–सेवाबाट विद्युत् महशुल बुझाउँदा समयको बचत, अनावश्यक झण्झटलगायतबाट ग्राहकले छुटकारा पाउने विश्वास आफूले लिएको बताउनुभयो । उक्त सेवाबाट सहजैरुपमा विद्युत्को महशुल तिर्न सकिने भएकाले सेवाग्राहीले विद्युत् केन्द्रसम्म धाउनु नपर्ने प्राधिकरणले जनाएको छ । धनगढी वितरण केन्द्रअन्तर्गत ४३ हजार तथा अत्तरिया विद्युत् वितरण केन्द्रअन्तर्गत १० हजार गरी कूल ५३ हजार विद्युत् उपभोक्ताले उक्त सेवाबाट आफू अनुकूल जहाँसुकैबाट पनि विद्युत् महशुल तिर्न सक्ने व्यवस्था प्राधिकरणले गरेको छ । यसअघि प्रभु बैंक, एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, महालक्ष्मी बैंकसहित आठवटा वित्तिय संघसंस्थाबाट विद्युत् महशुल तिर्न सकिने व्यवस्था रहेको प्रमुख यादवले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । रासस
भूकम्प प्रभावित चार जिल्लामा निःशुल्क इन्टरनेट
काठमाडौं, जेठ २२ । भूकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले नेपाल दुरसञ्चार प्राधिकरणसँग भएको समझौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको हो । सिन्धुलीपाल्चोक, काभ्रे, नुवाकोट र रसुवाका सार्वजनिक संस्था तथा महत्वपुर्ण स्थानमा यस्तो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ । कान्तिपुरमा समाचार छ ।
कञ्चनपुरमा काम नगर्नेलाई नै बढि ठेक्का !
कञ्चनपुर, जेठ २२ । गत वैशाखमै सक्नुपर्ने ९ वटा योजनाको निर्माण कार्य अझैसम्म सम्पन्न भएको छैन । जिल्लामा सञ्चालित सामुदायिक सिँचाइ आयोजनाअन्तर्गतका योजनाको निर्माण सम्पन्न नभएको हो । अझ रोचक त के छ भने ९ मध्ये ५ वटाको ठेक्का एउटै निर्माण कम्पनी बन्दन भगवती–महरा जेभी कञ्चनपुरले पाएको छ। जिल्ला प्रशासन कार्यालयले संकलन गरेको विवरणअनुसार सामुदायिक सिँचाइसँगै सडक र पुल निर्माण योजना पनि काम नगर्ने ठेकेदारले नै पाएको हो। एसएनआरडीपीअन्तर्गतको पुनर्वास नगरपालिकाको परासन–त्रिभुवनबस्ती र महाकाली नगरपालिकाको झोलुंगे–कुतियाकभर सडकखण्ड निर्माणको ठेक्का धनगढीको महालक्ष्मी एमके जेभी निर्माण कम्पनीले पाएको छ। पुनर्वासको सडक योजनाको समायवधि जेठ १७ मा सकिँदा पनि निर्माण प्रगति ८५ प्रतिशत मात्रै छ। झोलुंगे–कुतियाकभरको निर्माण प्रगति पनि १७ प्रतिशत मात्रै छ। ‘सबैभन्दा बढी लापरबाही यही योजनामा देखियो,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडकाले भने। खबर आजको कान्तिपुरमा छ ।
दक्षिण एशियाको दोस्रो लामो दोधारा-चाँदनी झोलुंगे पुल चुँडिदै
कञ्चनपुर, जेठ २२ । कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ । पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् । एक हजार ४५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चँुडिएका छन् । महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिजालीले चाँडै पुल टुट्ने अवस्थामा पुगेको बताउनुभयो । पुलको धेरैजसो स्थानमा बिछ्याइएका पाता टुटेका र चारैतिरका फलामे डोरी चुँडिन थालेका कारण जुनसुकै बेला पनि पुल टुट्न सक्ने अवस्थामा रहेको उहाले बताउनुभयो । पुलका नटबोल्ट र रड खसेका छन् भने जाली च्यातिएका छन् । पैदल, मोटरसाइकल तथा साइकलयात्रीको क्षमताभन्दा बढी भार बढ्दै गएकाले पुल कमजोर बन्दै गएको स्थानीय टीका उपाध्यायले बताउनुभयो । महाकाली नगरपालिका र भीमदत्त नगरपालिकाले मिलेर तत्कालै पुलको मर्मत गर्नुपर्ने उहाँको भनाइ रहेको छ । “कति बेला दुर्घटना हुन्छ, कस्को ज्यान लिने गरी पुल भाँच्चिने हो कुन्नि थाहा छैन” उपाध्यायले भन्नुभयो । पुलको तेस्रो टावर नजिक पुल पूर्णरुपमा भाँचिने अवस्थामा रहेको हुँदा सरकारले प्राविधिक बोलाएर मर्मत सम्भार गर्न लाग्नुपर्ने स्थानीय बासिन्दाले बताएका छन् । महाकाली नदीपारिका साविकको दोधारा र चाँदनी गाविस (हालको महाकाली नगरपालिका) का स्थानीयबासी १३ वर्ष अघि सदरमुकाम आउजाउ गर्न भारतीय बाटो वनबासाको प्रयोग गर्थे । भीमदत्त नगरपालिकाको वडा नं १३ र महाकाली नगरपालिका–४ मा पर्ने महाकाली नदीमा विसं २०६१ मा रु नौ करोड ४२ लाख बराबरको लागतमा झोलुंगे पुल निर्माण भएपछि सर्वसाधारणले राहत महसुस गरेका थिए । पुल पर्यटकको आकर्षणका रुपमा समेत रहेको छ । “महाकालीमा पक्की पुल निर्माण नहुञ्जेल हामीले झोलुंगे पुलको संरक्षण गर्न आवश्यक छ”, स्थानीय गगन सिंहले भन्नुभयो । सम्बन्धित निकायको चरम लापर्बाहीका कारण दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल मर्मतको अभावमा चुँडिने अवस्थामा पुगेको उहाँको भनाइ रहेको छ । सरकारी उदासीनताका कारण निर्माणको एक दशकमै मर्मत सम्भारको अभावमा अहिले पुल जीर्ण बनेको स्थानीयको बुझाइ रहेको छ । दोधारा चाँदनीलाई सदरमुकामसँग जोड्न पुल निर्माण गरिएको हो । अहिले दैनिक करीब तीन हजार यात्रुले पुलबाट ओहोरदोहोर गर्छन् । पुल बनेपछि जिल्लाका ५०–६० हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित छन्, तर सर्वसाधारणभन्दा पनि भारतीय बजारबाट अवैध कारोबार गर्ने व्यापारीले बढी पुलको प्रयोग गर्दै आएका कारण पुलको यो अवस्था भएको बताइएको छ । रासस
अमेरिकी सेनाद्धारा एक वर्षमा पाँच सय नागरिक मारिए
वासिङटन, जेठ १९ । अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै ४९९ जनाको मृत्यु भएको र १६९ जना घाइते भएका उल्लेख गरिएको छ । अमेरिकी सेनाले इराक, सिरिया, अफगानिस्तान र यमनमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका जनाइएको छ । “मारिनु दुखद घटना त हो तर त्यो सुरक्षाको दृष्टिकोणले आवश्यक र जिम्मेवारीपूर्ण नै थियो,” प्रतिवेदनमा लेखिएको छ । सोमालिया र लिबियामा अमेरिकी सेनाद्धारा मारिएकाहरुको कुनै पहिचान हुन नसकेको जनाइएको छ । सिन्ह्वा
संघीय सांसदको कार्य कानून निर्माण गर्ने हो : मन्त्री पण्डित
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले संघीय सांसदको कार्य कानून निर्माण गर्ने भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकास कोषका लागि छुट्याएको रु चार करोड रकममा संघीय सांसदहरुले सहयोगी भूमिका मात्र निभाउनु पर्ने प्रष्ट पार्नुभयो । उहाँले उक्त रकम खर्च गर्ने सम्बन्धमा सरकारले आवश्यक प्रक्रिया ल्याउन नै बाँकी रहेको बताउनुभयो । मन्त्री पण्डिले स्थानीय निकायका प्रमुख पदका ९५ प्रतिशत कर्मचारी पठाइसकिएको र उनीहरुले आफ्नो कार्य गरिरहेको बताउँदै बाँकी रहेको कर्मचारी यही जेठ मसान्तसम्म आ–आफनो कार्य क्षेत्रमा पुगी जनताको सेवामा तल्लीन हुने उल्लेख गर्नुभयो । उहाँले स्वच्छिक अवकास हाल स्थगित रहेको जानकारी दिँदै नियमित रुपमा अहिलेसम्म दुई हजार कर्मचारीले अवकास लिएको र बाँकीले आफ्नो कार्य प्रारम्भ गरि सकेका छन् भन्नुभयो । उहाँले कर्मचारीका सम्बन्धमा प्रस्तावित संघीय निजामती विधेयक कानून मन्त्रालय पुगेको जानकारी दिँदै निजामतीमा धेरै कर्मचारी संगठन आवश्यक नरहेको र एउटा निर्वाचित कर्मचारी संगठन मात्र हुनुपर्ने धारणा राख्नुभयो । प्रदेशमा कर्मचारीको पदपूर्तिका लागि आवश्यक प्रदेशिक लोकसेवा आयोग निर्माण भई सोहीअनुसार हुने बताउँदै उहाँले अहिले आवश्यक रहेको केही प्राविधिक पदमा कर्मचारी राख्न सकिने धारणा व्यक्त गर्नुभयो । रासस
ट्रम्प भन्छन्,-‘किमसँगको शिखर बैठक जुन १२ मै हुन्छ’
रद्द गरिएको एक हप्तापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ अनसँग जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर बैठक पूर्वनिर्धारित समयमै हुने बताएका छन्। एकजना उच्च उत्तर कोरियाली दूतसँग ह्वाइट हाउसमा भेटेपछि उनले यस्तो बताएका हुन्। ती दूत किम यङ चोलले उत्तर कोरियाली नेताले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र हस्तान्तरण गरेका थिए। शुरूमा ट्रम्पले त्यो पत्र निकै चाखलाग्दो भनेर व्याख्या गरे। तर पछि उनले पत्र खोलिनसकेको बताए। अपेक्षा ट्रम्पले शिखर बैठक एउटा शुरूवात मात्रै भए पनि अन्ततोगत्वा त्यो सफल हुने आफ्नो विश्वास रहेको बताए। उनले उत्तर कोरियासँगको सम्बन्ध बनिरहेको र त्यो निकै सकारात्मक रहेको उल्लेख गरे। अवसर शुरूमा आगो र क्रोधु सम्बन्धदेखि ुलामो समययताकै सबैभन्दा राम्रो सम्बन्धु भनेर ट्रम्पले भनिरहँदा शिखर बैठक पहिले आयोजना हुने र त्यसपछि नहुने भनियो। अहिले आएर फेरि हुने भनिएको छ। ट्रम्प र किमबीच सहमति होला ? ऐतिहासिक वार्ताहरू गरिरहँदा ट्रम्पले पत्रकारहरूसँग पूर्वयोजना विनाकै १६ मिनेट लामो सवाल जवाफको सत्र बिताएका थिए र विश्वको ध्यान आफूतिर खिचेका थिए। कानून पारित गर्न गाह्रो छ। अझ रुसले चुनावमा गरेका भनिएका हस्तक्षेपविरूद्धको अनुसन्धान झेल्नु आवेगपूर्ण छ। तर ह्वाइट हाउसमा ुउत्तर कोरियाका दोस्रा वरिष्ठ नेतालाई स्वागत गर्नु तुलनात्मक रूपमा सजिलो छ। ट्रम्पले भइरहेका प्रगतिको स्वागत गरे पनि उनले आगामी शिखर बैठकबाट गरिएका अपेक्षाहरूलाई भने कमै रहन थिए। त्यसक्रममा उनले शिखर बैठक एउटा भव्य हस्ताक्षर समारोहमा रुपान्तरण हुनेछ भनेर अपेक्षा नगरिएको बताए। अहिले सिंगापुर बैठक पहिलो पाइला मात्रै हुने देखिन्छ। त्यसले दुई नेताहरूलाई ऐतिहासिक फोटो खिचाउने अवसर दिनेछ। र, भविष्यमा महत्त्वपूर्ण समझदारीको अपेक्षा गरिनेछ। अघिल्लो वर्ष धेरैले युद्धतर्फ उन्मुख भएको भनेका राष्ट्रपतिका लागि त्यो अपेक्षा गरेभन्दा बढी हो। बीबीसीबाट
नापीको टोलीसहित राज्यमन्त्री चौधरी मेची सिमानामा
झापा। कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरी दलबल सहित मेची सिमानामा पुगेकि छिन। भारतीय पक्षले झापाको मेची सिमानामा नेपाली भु – भाग पटकपटक मिचेको जनगुनासो आएपछि झापा नापी कार्यलयका केही कर्मचारीहरुलाइ लिएर चौधरी शुक्रबार नेपाल भारतको मेची सिमानामा पुगेकी हुन। मेची नदि पुर्व सम्म नेपाली भुमी रहेको र नेपालीहरुको बसोबास संगै नक्सा र लालपुर्जा भएता पनि उक्त जमिन हाल भारतले दाबी गरेकाले बेला बेलामा उक्त ठाउँमा दुई पक्षिय बिवाद भइरहने स्थानीय बासिन्दा हरुको गुनासो छ । संसदिय टोली र नापि बिभागको टोलि एकै पटक अध्यनको लागि पुगेता पनि हाल सम्म समस्याको समाधान नभएको प्रति राज्य मन्त्रीलाई स्थानीयहरुले गुनासो व्यक्त गर्दै समस्या समाधानको लागि पहल गरिदिन अनुरोध गरेका छन्। सिमाको निरीक्षण पछि स्थानीय बासिन्दाहरु संगको भेटेमा राज्य मन्त्री चौधरीले सिमा बिवादको समस्या बारे केन्द्रमा छ्लफल गर्ने र छिट्टै बस्ने नेपाल भारत मन्त्री स्तरीय बैठकमा सिमा विवाद बारे कुरा उठाउदै समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकि छिन ।