बंगलादेश प्रिमियर लिगः सन्दीपको टिमले ब्याटिङ गर्दै

काठमाडौं, पुष २२ । शनिबार देखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलहेट सिक्सर्सले टस हारेर ब्याटिङको निम्तो पाएको छ । आज सिक्सर्सले शाहितद अफ्रिदी, स्टीभ स्मिथ जस्ता चर्चित खेलाडी रहेको कोमिल्ला भिक्टोरिएन्ससँग खेल्दै छ ।

गुणस्तरहीन भएपछि गाउँपालिका प्रमुखले नै भत्काए आफ्नो कार्यालय

खोटाङ, पुस २० । रावाबेंशी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन बनेको भन्दै गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भत्काएका छन् । तीन महीनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालोले खनेर भत्काएका हुन् । भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफूखुशी गुणस्तरहीन भवन बनाएकाले कोदालोले खनेर भत्काइएको प्रमुख निरौलाले बताए । “हामीले भवन निर्माणमा गुणस्तर निर्धारण गर्न र समयमा सम्पन्न गर्न ठेकेदारलाई पटकपटक आग्रह गर्यौँ ।” उनले भने “हामीले गरेको आग्रहलाई ठेकेदारले अटेर गर्दै गुणस्तरहीन बनाएपछि सोही खर्चमा पुनःनिर्माण गर्न लगाउन भत्काइएको हो ।” प्रमुख निरौलाले भवनको भित्री भागको भुइँमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टी गरिएको प्लास्टरलगायत भत्काइ दिनुभएको स्थानीयले बताएका छन् । भवन निर्माणमा ठेकेदारले चरम लापरवाही गरेको सर्वत्र गुनासो आएपछि प्रमुख निरौलाले भत्काएर पुनःनिर्माण गर्न आग्रह गरेका छन् । भवनको भुइँतलामा ढुङ्गा बिछ्याएर ढलान गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि ठेकेदारले माटोमाथि ढलान गरेको पाइएको प्रमुख निरौलाले बताए । भुइँमा बिछ्याइएको ढुङ्गामाथि चार इञ्च ढलान गर्नुपर्नेमा माटोमाथि दुई इञ्चमात्र गरिएको र ढलानको सामग्रीसमेत गुणस्तरहीन भएको पाइएको प्राविधिकले जनाएको छ । गाउँपालिका प्रमुखले निर्माणाधीन भवन भत्काएपछि ठेकेदार कम्पनीले पुनःनिर्माणको काम थालेको स्थानीयवासीले बताएका छन् । ठेकेदारले पुनःनिर्माणको काम शुरु गरेपनि उक्त भवन गुणस्तरहीन नै हुने स्रोतको दाबी छ । निर्माणाधीन कार्यालय भवन छोटो समयमा सम्पन्न गर्नुपर्ने भएकाले केही कमजोरी भएको निर्माणको काम जिम्मा लिएको कम्पनीका उमेश राईले स्वीकारेका छन् । “हतारमा काम गर्दा केही कमजोरी भएकै हो”, उनले भने, “गाउँपालिकाको खबरदारीपछि पुनःभत्काएर गुणस्तर निर्धारण गर्ने काम भइरहेको छ ।” निर्माणमा समेत ढिलासुस्ती भएको उक्त कार्यालय भवन निर्माणका लागि दोस्रोपटक थपिएको अवधिसमेत गत मङ्सिर १५ गते सकिएको छ । ठेकेदार कम्पनीले रु ७६ लाखको लागतमा निर्माणको जिम्मा लिएको चार कोठा भएको एकतले भवन अहिलेसम्म पनि सम्पन्न भएको छैन । इँटाको गाह्रो लगाएर कोठा छुट्याइने कार्यालय भवनमा आल्मोनियम जडान गरेपछि १४ कोठा हुने जनाइएको छ । प्राविधिक मूल्याङ्कनभन्दा कम लागतमा निर्माण कार्य थालिएको भवनका लागि गाउँपालिकाले रु एक करोड, तीन लाखमा टेण्डर आह्वान गरेको थियो । ठेकेदार कम्पनी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले घटाघटमा उक्त भवन निर्माणको सम्पूर्ण जिम्मा लिएको गाउँपालिकाले जनाएको छ । रावाबेँशीसँगै निर्माण कार्य थालिएको दिप्रुङ चुइँचुम्मा गाउँपालिकाको भवन पाँच महीना अघिनै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । दिप्रुङ चुइँचुम्मा बाहेक जिल्लाका अधिकांश गाउँपालिका अहिलेसम्म भाडाकै भवनमा रहेको छ । रासस

सरकारले तोक्यो उखुको मूल्य, यस्तो छ नयाँ मूल्य

काठमाडौ‌, पुष १९ । सरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि उखुको मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद् बैठकले यही पुस १३ र १६ गते गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल ५३६ रुपियाँ ५६ पैसा निर्धारण गरेको जानकारी दिए । उनका अनुसार सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसासमेत अनुदान दिने निर्णय गरेको छ । उखु उत्पादक कृषकले सीधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि २०७५’ बमोजिम प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई रकम निकास गरिने उनले जानकारी दिए । चिनी मिलले सम्बन्धित उखु कृषकलाई प्रतिक्विन्टल ४७१ रुपियाँ २८ पैसा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्ने उनले बताए ।

दोहोरो नागरिकता लिने महिला पक्राउ

इनरुवा, पुस १९ । झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन् । विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि सुनसरी पठाएको सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बुधबार जानकारी दिए । दाहालले २०४४ साल चैत्र १५ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट तीर्थराज खतिवडालाई बाबु बनाई नागरिकता लिएको र बाबुराम दाहाललाई बाबु बनाई सुनसरी जिल्ला प्रशासनबाट २०४६ साल जेठ १६ गते अर्को नागरिकता लिएको भेटिएकाले उनलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिए । रासस

श्रीमानको १३ दिने काजक्रिया सकेर पत्नीले गरिन आत्महत्या

मुगु, पौष १८ । छायाँनाथ रारा नगरपालिका–७ टोप्ला गाउँ निवासी एक युवाको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि उनको १३ दिने काजक्रिया सकेकै दिन पत्नीले आत्महत्या गरेकी छन् । टोप्ला गाउँका २९ वर्षीय नवराज शाहीको गत पुस ७ गते सोरु गाउँपालिकाको तातोपानीबाट आउँदै गर्दा भे ८ प ७०७८ नम्बरको पल्सर मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको थियो । नवराजकी पत्नी लालुमायाले १३ दिने काजक्रिया सकेकै दिन आत्महत्या गरेकी हुन् । लामो समयदेखि प्रेममा परेपछि लालुमाया केही हप्ताअघि मात्रै परिवारको इच्छा विपरित नवराजको घरमा श्रीमतिकै रुपमा बस्न थालेकी थिइन् । शाहीकी पत्नी ३० वर्षीया लालुमायाले गाईगोठमा दोपट्टा कसेर आत्महत्या गरेकी हुन् । सोरु गाँउपालिका जिमा गाउँको कर्णाली नदी किनारमा रहेको तातोपानी कुण्डमा नुहाउन आफन्तलाई पुर्याएर बिहीबार घर फर्कँदै गर्दा साँझ ५ बजे फूली गाउँस्थित गमगढी धौकोट धुलाचौर सडककोे भिरमा मोटरसाईकल दुर्घटनामा परी नवराजको मृत्यु भएको थियो । घटनापछि बुधबारै मृतकको लाशलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अन्नपूर्ण पोष्टबाट साभार

१६औं अनशन बस्न डा. केसी डराए वा आश्वासन पाए ?

इलाम, पौष १८ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १६औं चरणको अनशन तयारी गरेका डा. गोविन्द केसीले ७ दिनलाई अनशन स्थगित गरेका छन्। अनशन बस्नकै लागि इलाम आएका डा।केसीले बुधबार साँझ सदरमुकाममा पत्रकार सम्मेलन गरी संघीय संसद्को संसदीय समितिको आग्रह स्वीकार्दै आफूले केही दिन पर्खिएको बताए। ‘म इलाममा अनशन बस्नै आएको हुँ,’ उनले भने, ‘तर, संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले कम्तीमा २ दिन अनशन नबस्न आग्रह गरेपछि ७ दिन पर्खिने निर्णयमा पुगेको हुँ।’ बुधबार संसदीय समितिमा चिकित्सा शिक्षा विधेयकमा छलफल भएको र छलफल केही दिन लम्बिने भन्दै सभापति घर्तीले पर्खिन आग्रह गरेको सुनाए। ‘सभापतिले हाम्रा एक अभियन्तालाई फोन गरेर अनशन केही दिन स्थगित गर्न भन्नुभएछ,’ उनले भने, ‘त्यति मात्र होइन, साउन १० को सहमतिअनुसारै ऐन ल्याउन पहल भइरहेको पनि भन्नुभएकाले मात्र स्थगित गरेको हुँ।’ मंगलबार इलाम आएका डा. केसीले इलाममा १६औंं अनशन बस्ने तयारी गरेर स्थल खोजी गरेका थिए। जुम्लामा २७ दिन आमरण अनशन बसेका बेला डा. केसीले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा पनि सरकारी मेडिकल कलेज खोल्न माग राखेका थिए। उनले राजधानीबाहिरका यी जिल्लामा सरकारी मेडिकल खोल्नुपर्ने आफ्नै चौथौ अनशनदेखिकै माग रहेकाले इलाम आएको बताए। नागरिक न्युजबाट

नयाँ वर्षको कार्यक्रममा गोली चल्दा एकै परिवारका ६ जनाको मृत्यु

बैङ्कक, पौष १७ । थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् । नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली हानेर दुई जना बालबालिका सहित एकै परिवारका छ जनाको मृत्यु भएको हो । ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीहरुले मंगलबार जनाएका छन् । चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यहरुमाथि निरन्तर रुपमा गोली वर्षाएका थिए । अत्यधिक मदिरा सेवन गरेका सुचीप सोर्नसुङ नाम गरेका ती व्यक्तिले रमाइलो कार्यक्रम सुरु भएपछि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । ‘पीडित सवै जना उनकै पारिवारिक सदस्य हुन्, ती मध्ये एक जना उनैका नौ वर्षको छोरा र छ वर्षकी छोरी पनि रहेका छन्’ एक प्रहरी अधिकारीले भने । श्रीमतीको माइतीले उनलाई स्वागत नगरेको रिसमा उनले आफ्नै परिवारमाथि गोली प्रहार गरेको प्रहरीको भनाई छ । मारिनेमा अरु दुई जना महिला र दुई जना पुरुष ४७ देखि ७१ वर्ष सम्मका रहेका छन् । ती दुई जनाको नाता भने खुलाइएको छैन । थाइल्याण्डमा पछिल्लो समयमा गोली प्रहार गरी हत्या गर्ने गरेका घटनामा बृद्धि भएको बताइएको छ । एजेन्सी

रानीपोखरी पुनःनिर्माणका लागि चौथो पटक बोलपत्र

काठमाडौँ, पुस १७ । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चौथो पटक बोलपत्र आह्वानको तयारी गरेको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म रानीपोखरी कहिले पुनःनिर्माण हुने भन्ने विषय अझै अन्योलमा परिरहँदा कामपाले बोलपत्र आह्वानको तयारी गरेको हो । भूकम्प गएकै वर्ष माघ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणको शुभारम्भ गर्नु भएपनि निर्माण कार्यले अहिलेसम्म गति लिन सकेको छैन । कामपाले पहिलो पटक बोलपत्र आह्वान गरी पुनःनिर्माण गर्दा आधुनिक सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि निर्माण कार्य रोकिएको थियो । त्यस्तै दोस्रो पटक बोलपत्र आह्वान गरे पनि कामपाको मागअनुरूप बोलपत्र प्राप्त नभएकाले काम अघि बढ्न सकेन । तेस्रो पटक आह्वान गरिएको बोलपत्रमा निर्माण कम्पनीले कामपाले तोकेको भन्दा बढी रकम देखाएपछि रद्द भएको हो । कामपाले रु १२ करोड ६६ लाख तय गरे पनि निर्माण कम्पनीले कामपाले निर्धारण गरेको भन्दा ११ प्रतिशत बढी रकम लाग्ने बताएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । डङ्गोलले भने, “यसै साताभित्र रानीपोखरी पुनःनिर्माणका लागि चौथो पटक बोलपत्र आह्वान गर्ने तयारी कामपाले गरेको छ, आशयपत्र पेश गर्ने समय यस अघिको जति लामो हुनेछैन ।” निर्माणका लागि इच्छा देखाएका कम्पनीले तोकिएको भन्दा बढी रकम देखाएपछि चौथो पटक निर्माणको तयारीमा कामपा जुटेको हो । यही पुस १० गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी तिहारसम्ममा रानीपोखरी निर्माणको काम सम्पन्न हुने बताए पनि त्यस किसिमको वातावरण देखिँदैन । कामपा र पुरातत्व विभागबीच सकारात्मक समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन नसकेको हो । भूकम्प जानुअघि रानीपोखरीको स्वरूप जस्तो थियो सोही अनुरूप निर्माण कार्य छिटो गर्न समयसमयमा सम्पदाप्रेमी र राजनीतिक दलका प्रतिनिधिले कामपाका प्रमुख र उपप्रमुखलाई ज्ञापनपत्र पनि पेस गरेका छन् । पुनः निर्माणसम्बन्धी विवाद समाधान गर्न गत वर्ष पुस १३ गते गठन गरेको विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने सुझाव दिएको थियो । प्रताप मल्लले छोरा चक्रवर्तीन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले छोरा चक्रवर्तीन्द्रको नाममा पाँच वर्ष लगाएर निर्माण सम्पन्न गरेका थिए । बालगोपालेश्वर मन्दिरको स्वरूप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुङ्गाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको ‘स्केच’बाट पनि प्रष्ट हुन्छ । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले भूकम्प र अन्य कारणले भत्किएका ऐतिहासिक सम्पदा पुनःनिर्माणको काम पहिलो प्राथमिकतामा रहेको बताउँदै आउनुभएको छ । यसै क्रममा ऐतिहासिक धरहरा पुनःनिर्माणका लागि यही पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । धरहराको निर्माणका लागि दुई वर्षको समय लाग्ने पनि सोही अवसरमा जानकारी गराइएको छ । भूकम्पले नै क्षति पुगेको काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरी धार्मिकरूपमा निर्माणको काम शुरु गरिसकिएको छ । रासस

मनाइयो टोपी दिवस

काठमाडौँ, पुस १७ । ‘नेपाली टोपी : हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघर मण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् । माइतीघर मण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रभातफेरि गरेका थिए । अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् । सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ । राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । रासस

दुई ट्रककाे चपेटामा कार, एकै परिवारका १० जनाकाे मृत्यु

एजेन्सी । भारतको गुजरातमा जीप दुर्घटना हुँदा एकै परिवारका दश जनाको मृत्यु भएको छ । गुजरातको भजाउ तालुकेमा ट्रकको चपेटामा पर्दा जीपमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको हो । घाइते भएका  बाँकी पाँच जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था पनि गम्भीर रहेको छ । दुई ट्रक एकआपसमा ठोक्किएका बेला अचानक जीप ट्रककाे चेपेटामा परेको थियो ।

सडक सुरक्षाका लागि कम्तीमा २ लेनका पूर्वाधार

काठमाडौ‌, पुष १६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुरक्षाका लागि सडक, पुललगायत पूर्वाधार कम्तीमा दुई लेनको बनाउन शुरु गरिएको बताएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा भएको ‘सडक सुरक्षा’सम्बन्धी छलफलमा उनले भौगोलिक रुपमा अप्ठ्यारो स्थानमा समेत दुई लेनकै पूर्वाधार संरचना निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री महासेठले कतै एक लेनकै बनेको भए तत्काल सच्याउन सडक विभागका महानिर्देशकलाई निर्देशन पनि दिए । “पैदलमार्गमा पसल र पार्किङ गर्नाले सवारी दुर्घटनामा वृद्धि भएको छ, पैदलमार्ग खाली गर्न आजै महानगरीय ट्राफिक प्रहरी महाशाखासँग बैठक बसेर व्यवस्थापन गरिनेछ, सडक ‘डिभाइडर’ का रुपमा डोरी राख्न एक हप्ताभित्र हट्छ”, उनले भने । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा ‘डिभाइडर’ को व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । लामो मार्गमा दुई जना चालकको व्यवस्था गर्न, सवारी चलाउँदै मोबाइल चलाउने चालकको अनुमति पत्र (लाइसेन्स) मा प्वाल पार्न पनि मन्त्री महासेठले निर्देशन दिए । जापानी प्राविधिकले बिपी राजमार्ग ठूला सवारी समेत हिँड्न सक्ने गरी डिजाइन गरेकाले ३२ सिट क्षमतासम्मका सवारीलाई अनुमति दिइएको जनाइएको छ । समितिका सभापति कल्याणकुमारी खड्काले सवारीको सिट क्षमताभन्दा बढी यात्रु बसी दुर्घटना भएमा तिनको बीमाको व्यवस्थाका बारेमा समस्या हुने गरेको बताइन् । सांसद रामबहादुर विष्टले सुर्खेत–जुम्ला सडकमा धेरै दुर्घटना हुने गरेकाले सुधारमा विभागको ध्यान जानुपर्ने बताए । सांसद यज्ञराज सुनुवारले जथाभावी सडक निर्माण, थोत्रा सवारी, अनुभवहीन चालकका कारण बढी दुर्घटना हुने गरेको बताए । सांसद गौरीशङ्कर चौधरीले सडकका बीचबीचमा पुनर्ताजगी केन्द्रको व्यवस्था गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सांसद टेकबहादुर बस्नेतले जीर्ण सडककै कारण २० वर्षको अवधिमा सल्यानमा पाँच वटा ठूला दुर्घटना भएको उल्लेख गरे । नेपालगञ्ज–सुर्खेत सडक तीन मिटर पनि नहुँदा दुर्घटना बढ्ने गरेकाले कम्तीमा दुई लेनको सडक बनाउन उनले माग गरे । सांसद केदार सिग्देलले सडक निर्माणका क्रममा अनुगमन कम हुँदा गुणस्तरीय काम नभई सुरक्षा चुनौती बढेको बताए । सांसद कमला रोक्काले राप्ती मार्गको स्तरोन्नति नहुँदा दुर्घटना बढेकोतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गराइन् । सांसद गणेश पहाडीले सरकारको सडक सुरक्षा रणनीतिमा सन् २०२० सम्म दुर्घटना ५० प्रतिशत कम गर्ने लक्ष्य भएपनि वार्षिक रुपमा मृत्यु हुनेको सङ्ख्या एक हजार ८०० बाट दुई हजार पुगेको तथ्याङ्क पेश गर्दै सडक सुरक्षा परीक्षण गरिनुपर्नेमा जोड दिए । सांसद आशाकुमारी विकले बुटवलबाट काठमाडौंसम्म बसमा रु ५०० भाडा तिरेर आउन पाएपनि कलङ्कीबाट नयाँबानेश्वरसम्मको ट्याक्सी भाडा रु ६०० तिर्नुपरेको गुनासो गरिन् । ट्याक्सी मिटरमा हिँड्न नमान्ने भएकाले भनेजति भाडा नतिरी यात्रा गर्न नपाइने उनको गुनासो थियो । सांसद राजेन्द्र राईले दिनभर सडकमा यात्रुको सुरक्षाका लागि खटिने ट्राफिक प्रहरीलाई तलब, भत्ता लगायत साधनस्रोत पर्याप्तमात्रामा नदिँदा उत्साह जाग्न नसकेकोतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्ने सुझाव दिए । रासस

भरतपुरमा पूर्वाधार निर्माणले तिव्रता लियो, नारायणगढमा बन्दैछ यस्तो भव्य बहुउद्देश्यीय भवन

चितवन, पुष १६ । भरतपुर महानगरपालिकामा पछिल्लो समय एकपछि अर्को ठूला पूर्वाधार निर्माणको काम अघि बढिरहेका छन् । केही समय अन्यौल बनेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रामपुरमा बन्ने भएको छ । भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा क्रिकेट रंगशाला निर्माणको काम अघि बढेको छ । ५० करोडको लागतमा जिल्ला समन्वय समितिले उपलव्ध गराएको जग्गामा सिटी हल निर्माणको काम पनि अगाडि बढ्ने पक्का भएको छ । लामो समय अन्यौल रहेको सिटी हलले पनि अब पूर्णता पाउने भएको छ । भरतपुर महानगरपालिकाले रिङरोड र लिंकरोडको काम पनि अगाडि बढारहेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकामा एकपछि अर्को ठूला पूर्वाधार निर्माणको काम अगाडि बढेको बताइन् । उनले भनिन्, ‘सिटी हल, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सँगसँगै अघि बढ्छ, नारायणगढमा बन्ने बहुउद्देश्यीय व्यावसायिक भवनको निर्माणको काम पनि अगाडि बढेको छ ।’ उनले रिंगरोड लिंकरोडको कामले पनि तीव्रता पाएको बताइन् । देवघाटमा विद्युतीय शवदाह गृह निर्माणमा पनि भरतपुर महानगरले बजेट उपलव्ध गराएको छ । महानगर प्रमुख दाहालका अनुसार महानगरपालिकाले लायन्सचोकमा रहेको पुरानो सव्जीमण्डी रहेको जग्गामा बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण गर्न लागिएको हो । सो क्षेत्रमा भरतपुर महानगरको १० कठ्ठा १५ धुर जग्गा छ । महानगर प्रमुख दाहालले भनिन्, ‘भरतपुर महानगरमा एकपछि अर्को पूर्वाधार निर्माणको काम अघि बढेका छन्, अब झन्डै ४ वर्षको अवधिमा भरतपुर महानगर हरेक दृष्टिकोणले देशकै हेर्नलायक नमुना महानगरको रुपमा परिणत हुनेछ ।’ महानगर प्रमुख दाहालले नारायणगढको लायन्सचोकमा बहुतलाको बहुउद्देश्यीय भवनको नक्साङ्कनको काम भइरहेको बताइन् । महानगरपालिकाले अरनिको डिजाइनर्स एण्ड प्लानर्स प्रालिलाई नक्साङ्कनको जिम्मा दिएको छ । नक्साङ्कनलाई अन्तिम रुप दिनमात्र बाँकी रहेको छ । भूमिगत तला पार्किङको व्यवस्था गरिने छ । एक हजार ७१२ स्क्वायर मिटरको भूमिगत तलामा ५० गाडी र ६५ मोटरसाइकल अट्ने छन् । भुइँ तला एक हजार ५१५ स्क्वायर मिटरको छ । चार तलासम्म सोही हाराहारी क्षेत्रफलको हुनेछ । त्यसपछि क्रमश क्षेत्रफल घट्दै जानेछ । चार तलासम्म व्यावसायिक सटर हुनेछन् भने त्यसमाथि दुई व्यावसायिक हल, दुई सिनेमा हल, जिमहल, फुडकोट, रेष्टुरेन्टहरु हुनेछन् । बहुउद्देश्यीय भवन देशकै नमुना बन्ने महानगर प्रमुख दाहालको भनाइ थियो । भरतपुर महानगरपालिका प्रमुख दाहालले शहरी विकास कोषको सहयोगमा भवन बनाउन लागिएको बताइन् । यकिन लागत आई नसके पनि करिब ८० करोडको हाराहारी खर्च हुने अनुमान गरिएको उनले बताइन् । यस भवन बनेसँगै बजारको व्यवस्थापनमा सहजता आउने उनले बताइन् । भवनलाई आकर्षक बनाइने भन्दै उनले व्यवस्थित बजार विकासमा सहयोगी बन्ने बताइन् । महानगरपालिका वडा नं ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले महानगरको मुख्य बजार नारायणगढ क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउन बहुद्देश्यीय भवन बनाउन लागिएको बताए । सो ठाउँको तरकारी बजार क्षेत्रपुरमा सरेपछि त्यहाँ भवन बनाउने प्रक्रिया अघि बढेको हो । केही दिनमानै नक्साङ्कनको टुङ्गो लागेर निर्माणको प्रक्रिया अघि बढ्ने महानगरले जनाएको छ ।

सरकार दुइटा रेल किन्दै, तीन महिनाभित्र जनकपुर–जयनगरमा गुड्ने

काठमाडौं, पुष १६ । यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी दिए । ‘भारत सरकारबाट लिजमा ल्याएर चलाउने कि भन्ने थियो,’ उनले भने, ‘पछि आफ्नै राष्ट्रिय ध्वजावाहक रेल चलाउने अन्तिम निर्णय भएको छ ।’ भारत सरकारबाट रेलको ‘स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको महासेठले बताए । ‘दुइटै रेल एकैचोटि खरिद गर्छौं,’ उनले भने, ‘तीन महिनाभित्र पहिलो आउँछ, अर्को त्यसको एक महिनापछि ।’ रेल खरिद प्रक्रिया नेपाल–भारत सरकारबीच हुनेछ । केही दिनभित्रै सम्पूर्ण जानकारी सार्वजनिक गरिने महासेठले बताए । ‘सैद्धान्तिक सहमति भइसकेको छ, जनवरी १० (पुस २६) मा सबै सार्वजनिक गर्छौं,’ उनले भने, ‘अब अन्तिम स्वीकृति लिन मात्र बाँकी छ ।’ उक्त रेल प्रतिघण्टा सय किमि गतिमा कुद्ने क्षमताको हुनेछ । जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजना भारतको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ । जयनगर–जनकपुर–बर्दिबासमा १० अर्ब रुपैयाँ लागतमा ब्रोडगेज रेलमार्ग निर्माणाधीन छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

पास होलान त चोलेन्द्र श्रीमान ? सांसदहरुले सोधे यस्ता प्रश्न

काठमाडौं, प्रधान न्यायाधिश चोलेन्द्र शमसेर जबरामाथिको सुनुवाईका क्रममा सांसदहरुले कडा प्रश्न तेस्र्याएका छन् । आजको बैठकमा समितिका सदस्यहरु योगेश भट्टराई, पुष्पा भुसा, पूर्णा कुमारी सुवेदी लगायतले प्रश्न सोधेका थिए । बैठकमा सदस्य योगेश भट्टराईले अदालतबाट सार्वजनिक सम्पत्तिको संरक्षण हुन नसकेको बारे प्रश्न सोधेका थिए। यस्तै उनले ‘सुनुवाइबाट कति नम्बरको आशा राख्नु भएको छ ?’ भन्दै राणालाई सोधेका थिए। उनले अघि सोधे, ‘संसदबाट अस्वीकृत व्यक्ति पनि सर्वोच्च अदालतमा न्यायाधीश भएर बसेका छन्। के भन्नुहुन्छ रु’ यस्तै पुष्पा भुसालले न्यायीक भ्रष्टाचार रोक्ने योजनाबारसे प्रश्न राखेकी थिइन्। सुवेदीले भने गरिब र तल्लो तहका जनताका लागि न्यायमा विश्वास नहुनुको कारण के हो रु भन्दै बैठकमा सोधेकी थिइन्। बैठक सुरु भए पनि सुनुवाई सम्पन्न भएको छैन। कर्मचारीको आन्दोलनका कारण आज राणाले जवाफ भने दिन सकेनन् । मंगलबार सम्मका लागि बैठक स्थगित गरिएको हो। राणाले पनि मंगलबार नै आफूमाथिका प्रश्नको जवाफ दिने छन्।

प्रदेश २ बाट श्रम स्वीकृति दिन शुरु, सेवा लिने दुईजना सम्मानित

जनकपुर, पुष १५ । प्रदेश नम्बर २ को जनकपुर श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृति सेवा प्रदान गर्न शुरु गरेको छ । आइतबारदेखि कार्यालयले सेवा प्रदान गर्न सुरु गरेको हो । आज पहिलो दिन श्रम स्वीकृतिको सेवा ग्रहण गर्ने दुईजनालाई सम्मानसमेत भएका छन् । कार्यालयको सेवारम्भ गरेको भन्दै दुई सेवाग्राही हंसपुर नगरपालिका–७ लौवाखोरका जलिल नदाफ र धनौजी बहुअर्वाका मो जिलानी मोमिन सम्मानित भएका हुन् । सेवा प्रभावकारी बनाउने र केन्द्रमा चाप कम गर्ने भन्दै यही पुस महिनाभित्रै प्रदेश २ र ५ बाट श्रम स्वीकृति दिने गरी कार्यालय सञ्चालन गरिएको हो । जसमध्ये प्रदेश २ बाट आजैदेखि श्रम स्वीकृति दिन थलिएको निमित्त कार्यालय प्रमुख मनोज यादवले बताए । श्रम तथा रोजगार मन्त्रालयले यसअघि नै सबै प्रदेशबाछ श्रम स्वीकृति दिन सकिने भन्दै त्यस अनुरुप तयारी गरेको बताएको थियो ।

गुराँस इन्सुरेन्सले गर्यो बीमा दाबीको भुक्तानी

भद्रपुर, पुस १५ । गुराँस लाइफ इन्सुरेन्स कम्पनी क्षेत्रीय कार्यालयले बीमित झापा भद्रपुर–८ निवासी स्व किस्मत प्रधानको घरमै गएर आइतबार उनका परिवारलाई बीमाबापतको रकम रु २० लाख ४९ हजार हस्तान्तरण गरेको छ । किस्मतले गत असारमा अभिकर्ता कमला राईमार्फत इलाममा रु १० लाखको जीवन बीमा र रु १० लाखको दुर्घटना बीमा गरेका थिए । गत कात्तिक २६ गते मोटरसाइकल दुर्घटनामा उनको निधन भएकाले पाउने बीमाबापतको रकम र बोनस रकम कम्पनीले परिवारलार्ई प्रदान गरेको हो । कम्पनीका क्षेत्रीय प्रबन्धक गिरधर श्रेष्ठलगायत कर्मचारीको टोली घरमै पुगेर पिता कृष्ण प्रधानलाई बीमा दाबी रकमको चेक हस्तान्तरण गरेका थिए । उक्त कम्पनीले चालू आवको साउनयता रु एक करोडभन्दा बढी बीमाको भुक्तानी गरिसकेको प्रबन्धक श्रेष्ठले जानकारी दिए। रासस