‘डिजिटल नेपाल’ को ढाँचा एक महिनामा ल्याइन्छः मन्त्री बाँस्कोटा

काठमाडौं, पुष १४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले संकल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महिनाभित्र ल्याइने बताएका छन् ।

कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले प्रविधिको उच्चतम प्रयोग गरी समृद्धिलाई सार्थक तुल्याउन उक्त डिजिटल फ्रेमवर्कका आधारमा पाँचवर्षे कार्यक्रम बनाएर अघि बढ्ने उल्लेख गरे ।

मन्त्री बाँस्कोटाले प्रविधिको पहुँच र प्रभावकारिता बढेसँगै यसको जोखिम र विकृति पनि उत्तिकै रहेको भन्दै प्रविधिको प्रयोगबाट लाभ लिन सकेमात्र त्यसको सान्दर्भिकता हुने उल्लेख गरे ।

उनले भने, “प्रविधिको प्रयोगमा पहुँच मात्र हैन त्यसबाट प्राप्त उपलब्धि महत्वपूर्ण कुरा हो, जब समाजमा उत्पादन वृद्धि र सीप सिकाउँछ त्यहाँ प्रविधिको सफलता र मानिसको जीवनसँगको सामिप्यता ठहरिन्छ तर, यसको दुरुपयोग र विकृतिलाई हटाउनै पर्छ ।”

सञ्चारमन्त्री बाँस्कोटाले प्रविधिको सही ढङ्गले प्रयोग गर्नसके मात्र यसको सान्दर्भिकता हुने भएकाले प्रविधि मानिसभन्दा वुद्धिमान र क्षमतावान हुन नहुने धारणा राखे ।

उनले भने, “प्रविधि मान्छेकै नियन्त्रणमा हुनुपर्छ तर मान्छेको जीवनलाई यसले सहज चाहीँ बनाउनुपर्छ । एउटा स्वीचले संसारै ध्वस्त हुने यही प्रविधिकै कारणले त हो नि । त्यसैले मानिसलाई सहज बनाओस् तर प्रविधिले मान्छेलाई कहिल्यै नजितोस् । आवश्यकताअनुरुप प्रविधिको आविष्कार र प्रयोग गर्न सकियोस् ।”

सञ्चारमन्त्री बाँस्कोटाले प्रविधिको सरल र उच्चतम प्रयोगका लागि विद्युतीय कारोबारसम्बन्धी कानूनलाई समय सान्दर्भिक बनाइने बताए । रासस

सारासँग अनमोल अफेयर

काठमाडौं । ‘सुश्री सम्पत्ति’ रिलिजको पूर्वसन्ध्यामा सारा शिरपाइली र अनमोल केसीको अफेयरको चर्चा चल्यो। धेरैको अनुमान थियो, यो फिल्म चलाउन निर्माण टिमले चलाएको हल्ला थियो। तर, सारा र अनमोलको अफेयर हल्ला मात्र नभएको अनमोल स्वयंको भनाइले पुष्टि भयो। फिल्म ‘क्याप्टेन’को गीत सार्वजनिक गर्ने कार्यक्रममा अनमोल फिल्म र गीतभन्दा पनि सारासँगको अफेयरको प्रश्नले घेरिए। कुनै समय सारासँग भेट नै नभएको बताउँदै आएका उनले त्यो दिन आफू र साराबीच भेटघाट भएको स्विकार्न बाध्य भए। अनमोल साराको जन्मदिन मनाउन नगरकोटसम्म पुगेको चर्चा छ। अनमोलले अहिलेसम्म आना शर्माबाहेक अरू हिरोइनसँगको अफेयरलाई लुकाएर राख्दै आएका थिए। त्यसो त उनको ‘कृ’ अभिनेत्री अदिति बुढाथोकीसँग पनि अफेयर रहेको हल्ला थियो। तर, यो फिल्मको प्रमोसनयता दुवै सँगै देखिएका छैनन्। अनमोलको व्यक्तिगत कुरा सितिमिति बाहिर निस्कन्न। तर, यो पटक निस्कियो। मतलब, हावा चलेर नै पात हल्लिएको हो।

फरार अभियुक्त जेल चलान

धरान, पुस १३ । दश महिनाअघि हाड नाता पर्ने एक किशोरी बलात्कार गरी फरार रहेका धरान–५ साउनेका झमकबहादुर बस्नेत अदालतमा हाजिर भएका छन् । पुस १० गते अदालतमा हाजिर भएपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न क्षेत्रीय कारागार कार्यालय झुम्का पठाइएको छ । दश महीना अगाडि हाडनाता पर्ने किशोरीलाई पटक–पटक बलात्कार गरेको भन्दै पीडितका परिवारले गत असार ८ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । उजुरी लगत्तै उनी फरार रहेका थिए । गत फागुन २५ गते ती किशोरीलाई उनले बलात्कार गरेको उजुरीमा उल्लेख थियो । अदालतको आदेशमा पुर्पक्षका लागि पुस १० गते नै कारागार चलान गरिएको इप्रका धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । रासस

सुन बनाइदिने भन्दै ठगी गर्ने ६ भारतीय पक्राउ

भोजपुर – पूर्वी पौवादुम्मा गाउँपालिकामा सुन बनाइदिने भन्दै ठगी गर्ने ६ जना भारतीय नागरिक पक्राउ परेका छन् । गाउँमा सुन बनाइदिने भन्दै सक्कली सुन लिने नक्कली सुन दिँदै ठगी गर्ने ६ जना समूहमा रहेको भारतीय नागरिकलाई पौवादुम्मागाउँपालिका–४ बाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सुन पगाल्ने केमिकलसहित ठगी गर्ने ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पौवादुम्मा गाउँपालिका वडा नम्बर ४ वास्तिमकी २६ वर्षीया दिलमाया प्रधान, ३४ वर्षीया मेनुका प्रधान, ५६ वर्षीया बेनमाया प्रधानलाई गहना बनाई दिन्छु भन्दै झुक्याएर सुन लुकाएको र त्यसको साटो सुन जस्तो देखिने पहेंलो धातु नक्कली सुनको गरगहना दिएर ठगी गरी अन्यत्र जाँदै गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा नै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ठगीमा संलग्न मोतिहारी, अंचल घोडासहन वडा नं १४ सरस्वती चौक विहार भारत बस्ने वर्ष ३१ का लवकुश साह, वर्ष २२ का जितेन्द्र साह, वर्ष १९ का श्रवणकुमार साह, वर्ष २२ का रविन्द्र साह, वर्ष १८ को रमेश कुमार र वर्ष ३६ का राकेश कुमार गरी ६ जनालाई पक्राउ गरिएको छ ।  

सफलताः नेपालकाे बिजुली किन्न भारत सहमत

काठमाडौं : बर्खायाममा धेरै बिजुली उत्पादन हुने । तर हिउँदमा कम । बर्खायाममा छेलोखेलो तर हिउँदमा अभाव । आयात नै गर्नुपर्ने । विद्युत् प्राधिकरणले बर्खायाममा उत्पादन हुने तर उपयोग गर्न नसकी खेर जाने बिजुलीको आँकडा तयार गरेको थियो— ४ हजार ७ सय ५० मेगावाट । अर्थात् एक खर्ब ७९ अर्ब रुपैयाँ बराबरको बिजुली खेर जानेमा प्राधिकरण चिन्तित थियो । त्यही भएर उसले बर्खायामको बिजुली किन्ने सम्झौतै (पीपीए) गर्न छाडेको थियो । अब प्राधिकरण खेर जाने बिजुलीको तनावबाट मुक्त भएको छ । प्राधिकरण मात्र होइन, नेपालका नदी नालाबाट उत्पादन हुने बिजुलीको पूर्ण उपयोग हुने भएको छ । सुन्दै असम्भव लाग्ने यो कसरी सम्भव भयो ? नेपाल र भारतका अधिकारीबीच वस्तु विनिमयझैं बिजुली पनि आदान–प्रदान गर्ने सहमति भएको छ । अब नेपालमा बर्खायाममा खेर जाने बिजुली भारतले लिनेछ । नेपालमा उत्पादन कम भएर लोडसेडिङ गर्नुपरेका बेला उसले दिनेछ । यो बन्दोबस्तलाई ऊर्जाको भाषामा ऊर्जा बैंकिङ भन्छन् । बुधबार नयाँ दिल्लीमा भएको बैठकमा नेपालले एक दशकभन्दा अघिदेखि माग गर्र्र्दै आएको ऊर्जा बंैकिङ गर्न भारत सहमत भएको हो । प्राधिकरणको विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले भने, ‘अब हामी (प्राधिकरण) ठूलो तनावबाट मुक्त हुने भयौँ ।’ इनर्जी बैंकिङ सहमतिअनुसार अब नेपालमा बर्खायाममा खेर जाने बिजुली भारतले लिनेछ भने हिउँदमा त्यति नै बिजुली दिनेछ । आगामी माघ ९ र १० गते पोखरामा हुने नेपाल भारत जलस्रोत सचिवस्तरीय बैठकले नयाँ दिल्लीमा बुधबार भएको सहमतिलाई अनुमोदन गर्ने अधिकारीले बताए । सहमतिअनुसार सचिवस्तरीय बैठकले अनुमोदन गरेपछि निर्माण सम्पन्न भई चालू रहेको ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट इनर्जी बंैकिङ आरम्भ हुनेछ । त्यसबाहेक महेन्द्रनगर–टनकपुर खण्डमा पनि यो सहमति लागू हुनेछ । यी दुई सीमापार अन्तर्देशीय प्रसारण लाइनबाहेक दुई देशबीच निर्माणका लागि प्रस्तावित सबै खण्डमा लागू हुने प्राधिकरणका प्रवक्ता समेत रहेका अधिकारीको भनाइ छ । ऊर्जा बैंकिङअनुसार नेपालले बर्खायाममा उत्पादन भएको बिजुली दिएर निर्यात गरिएको बराबर परिणाम हिउँदयाममा लिनेछ । ‘यो भनेको हिउँदयाममा हामीले यहीं उत्पादन गरेसरह हो,’ अधिकारीले भने, ‘उदाहरणका लागि सय युनिट दिएर एक सय २ युनिट लियौं भने दुई युनिटको व्यापारिक हिसाब हुनेछ ।’ प्राधिकरणले हालसम्म विद्युत् खरिद सम्झौता (पीपीए) गरेका आयोजनाअन्तर्गत दुई हजार दुई सय ५० मेगावाट नदीप्रवाही (रन अफ रिभर) र दुई हजार पाँच सय मेगावाट अर्धजलाशययुक्त (पिकिङ आरओआर) बिजुली बर्खायाममा खेर जानेछ । नदीप्रवाहीबाट मात्रै प्राधिकरणलाई वर्षको ८४ अर्ब र अर्धजलाशययुक्तबाट वर्षको ९५ अर्ब रुपैयाँ घाटा पर्ने तथ्यांक छ । ‘यो दुवै तनाव अब अन्त्य हुनेछ,’ उनले भने । भारतले अर्काे नयाँ सहमति पनि गरेको उनले बताए । विगतमा भारतले तोकेको एउटा कम्पनी (सरकारी वा अर्धसरकारी) बाट मात्रै बिजुली कारोबार हुने गरेकोमा नयाँ सहमति अनुसार भारतका जुनसुकै स्वतन्त्र ऊर्जा व्यापार कम्पनीले दुई देशको बिजुली कारोबार गर्न पाउनेछन् । पछिल्लो समय भारतले नेपालको विद्युत्का सन्दर्भमा एकपछि अर्काे सकारात्मक निर्णय गरेको छ । यही महिनामा उसले नेपालमा उसका बहुमत स्वामित्व (५१ प्रतिशतभन्दा बढी) भएका कम्पनीले उत्पादन गरेका बिजुली मात्र आयात गर्ने नीतिलाई परिवर्तन गरेको थियो । यसबाट नेपालमा जसले लगानी गरेर उत्पादन गरेको बिजुली पनि उसकोमा निर्बाध निर्यात हुने ढोका खुलेको छ । भारतले विद्युत् आयातमा लगाउँदै आएको अंकुश हटाएको छ । ‘इनर्जी बैकिङ सहमतिबाट नेपाललाई ठूलो सफलता हासिल भएको छ, यो नेपालको ऊर्जा क्षेत्रको ठूलो कोसेढुंगा हो,’ बैठकमा नेपाली पक्षको नेतृत्व गरेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने । अाजकाे अन्नपूर्ण पाेष्टमा प्रकाशित समाचार

२३ समूहसँग वार्ताः विप्लव भेटिएनन्, राउत खोजिएनन्

काठमाडौं, पुुष १३ । देशमा द्वन्द्वरत समूहलाई मूलधारमा ल्याउने कार्यादेश पाएको उच्चस्तरीय सरकारी वार्ता टोलीले चार महिनामा ४५ भूमिगत तथा अर्धभूमिगत समूहको पहिचान गरी २३ सँग वार्ता गरेको छ ।  तीन चरणको वार्तापछि २२ समूह शान्तिपूर्ण राजनीतिमा अवतरण हुन सहमत भएका छन् भने तीन समूहले राज्यलाई हतियार बुझाएका छन् । पटकपटक वार्तामा बसेर सहमतिमा पुगेको जनमुक्ति सेना नेपाल भने सम्झौता गर्ने वेला सम्पर्कमा आएन ।जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूह, जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूह र खुम्बुवान मुक्ति मोर्चा (संयुक्त) ले पेस्तोल, रिभल्वरलगायत ३३ थान हतियार बुझाएको वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले बताए । उनीहरूले हतियारसँगै गोली गठ्ठा पनि बुझाएका छन् । अन्य केही समूह पनि हतियार बुझाउने तयारीमा रहेको पाण्डेले बताए । ‘हामीले खोजी गर्दा ४५ समूहको पहिचान भयो । यसमध्ये २६ समूह मात्र अस्तित्वमा रहेछन् । यीमध्ये २३ समूहसँग वार्ता भयो, २२ समूहले शान्ति–प्रक्रियामा अवतरण हुने प्रतिबद्धता जनाए,’ पाण्डले भने, ‘उनीहरूको अवस्था निकै कमजोर रहेछ । कुनै समूहका नेता जेल परेको, कुनै नेतालाई वारेन्ट जारी गरेको र कसैको सम्पत्ति रोक्का भएको पायौँ ।’ वार्ता टोलीले आफ्नै कार्यकक्षदेखि ललितपुरको गोदावरी तथा तराईका विराटनगर, राजविराज र वीरगन्जलगायत क्षेत्रमा ती समूहसँग वार्ता गरेको थियो । भूमिगत तथा अर्धभूमिगत समूहसँगको सहमतिमा टोलीले वार्तास्थल तय गरेको थियो । ८ भदौमा गठित कार्यदललाई दिइएको तीनमहिने म्याद ८ मंसिरमै सकिएको थियो । तर, समय अपुग भएको भन्दै थप समय मागेपछि १० पुससम्मका लागि थपिएको थियो । वार्ता टोलीले चार महिनामा भएका कामको विवरणसहितको प्रतिवेदन १० पुसमै प्रधानमन्त्रीलाई बुझाएको छ । वार्ता टोलीले प्रतिवेदन बुझाएपछि स्वतः म्याद सकिएको छ । आवश्यक परे पुनः वार्ता टोली गठन गरिने पाण्डेले बताए । पाण्डे नेतृत्वको टोलीमा सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी र गृह मन्त्रालयका सहसचिव कुमारबहादुर खड्का सदस्य थिए । विप्लव र सिके राउतसँग किन भएन वार्ता ? सरकारले द्वन्द्वरत समूहसँग वार्ता गर्ने योजना बनाएर खासगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने लक्ष्य लिएको थियो । वार्ता टोलीले विप्लवलाई भेट्न धेरै कोसिस पनि गर्‍यो । तर, विप्लवले भेट्न नचाहेको संयोजक पाण्डेले बताए । ‘हामीले विप्लव समूहका केन्द्रीय सदस्यसम्मका नेतासँग वार्ताका लागि छलफल गर्‍यौँ । तर, विप्लवसँग भेट गराउने वातावरण मिलाउनुभएन । चाहँदा पनि भेट्न पाएनौँ । वार्ताको वातावरण नै नबनाएपछि आधिकारिक पत्र पनि पठाएनौँ,’ उनले भने । छुट्टै स्वतन्त्र मधेस राज्य माग गर्दै भूमिगत आन्दोलनमा रहेका सिके राउतसँग भने सरकारले वार्ताको योजना नै नबनाएको पाण्डेले बताए । ‘हामीलाई पहिलेदेखि नै सिके राउतसँग वार्ता गर्ने म्यान्डेट थिएन,’ उनले भने, देश टुक्र्याउन खोज्ने पृथक्तावादीसँग वार्ता गर्ने कुरै हुँदैन ।’ यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

झापाको मेचीनगरमा भिषण आगलागी, दर्जन घर जले

झापा, पुष १२ । जिल्लाको मेचीनगर–६ स्थित साठी बिघा भन्ने ठाउँमा भिषण आगलागी भएको छ । आगलागी हुँदा दर्जन घर जलेका छन् । राति करिब ८ बजेदेखि लागेको आगो अहिलेसम्म निभाउन सकेको छैन । ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्। आगो नियन्त्रणका लागि मेची नगरपालिकाको दमकलसहित स्थानीय र सुरक्षाकर्मी लागीपरेका छन्। अगालागीबाट मानवीय क्षति भने भएको छैन। एक मात्र दमकल भएकाले आगो निभाउन कठिनाई भएको प्रहरीले जनाएको छ।

सर्दु खोलामा पक्की पुलको निर्माण कार्य सुरु

इटहरी, पुस १२ । धरान हेटौँडा सडकखण्डको सर्दू खोलामा पक्की पुल निर्माण भएको छ । सुनसरी जिल्लाको धरान उपमहागनरपालिका–१७ सर्दुदेखि हेटौंडा जोड्ने राजमार्गको वैकल्पिक मार्गको रुपमा निर्माण भइरहेकामा धरानदेखि चतराबीचमा पर्ने दुई ठूला पक्की पुलको निर्माण लगभग पूरा भएको रसुवा निर्माण सेवाका इञ्जिनीयर आर्यन आचार्यले जानकारी दिए । पूर्वपश्चिम राजमार्गलाई जोड्ने उक्त सडकखण्डअन्तर्गत सुनसरीतर्फ पर्ने २५० मिटर लामो सर्दु खोलामा रहेको पुल र २५ मिटर लामो ठकुरी पुलको निर्माण अन्तिम चरणमा पुगेको हो । उक्त कम्पनीले सम्झौता मितिभन्दा एक वर्षअघि नै निर्माण गरी पुल हस्तान्तरण गर्ने योजना बनाएको जनाएको छ । इञ्जिनियर आर्चायले ती दुबै पुल निर्माणको अन्तिम चरणमा पुगेको र पटनाली पुल पनि तीव्र गतिमा निर्माण भएकाले तोकिएको समयभन्दा एक वर्षअघि नै निर्माण पूरा हुने बताए । उक्त कम्पनीले निर्माणको जिम्मा पाएको पटनाली, सर्दु र ठकुरी पुलको कूल लागत रु ५५ करोड रहेको र आगामी सन् २०१९ को डिसेम्बरसम्म समयसीमा रहेपनि करीब एक वर्षअघि नै निर्माण गर्ने योजना बनाएको हो । उक्त सडकखण्डमा ४३वटा पुल निर्माण गर्नुपर्छ । रासस

रासायनिक मलरहितको गाउँपालिका बनाइने

बलेवा, पुस १२ । गाउँपालिकाभित्र हुने सबै कृषि उत्पादनका लागि रासायनिक मलरहित बनाउन यहाँको एक गाउँपालिकाले अभियान थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले जैविक मल मात्रै प्रयोग गरेर परम्परागत कृषिको जगेर्ना गर्न लागेको अध्यक्ष प्रकाश घर्तीले बताए । रासायनिक मलको प्रयोग बढिरहेका बेला सिङ्गो गाउँमै जैविक मल प्रयोग गराउन पहल गर्ने उद्देश्यले यसको उत्पादनका लागि अभियान थालिएको उनले जानकारी दिए । आफ्नो क्षेत्रभित्रका किसानलाई जैविक खेतीमा आधारित कृषि उत्पादनमा लगाएर जैविक गाउँपालिका बनाउने योजना अनुसार अहिले उत्पादन भइरहेका हरेक फसलमा कुनै पनि रसायनिक मल प्रयोग नगर्न, स्थानीय उत्पादनमा जोड दिन र कृषि पर्यटनको केन्द्र बनाउनका लागि विज्ञहरुसँग छलफलसमेत थालिएको अध्यक्ष घर्तीले बताए । गाउँका सबै उत्पादनलाई जैविक बनाउन केही किसानलाई परिचालन गर्नाका साथै घरघरमा लिमे तथा पाराकोटे जातका स्थानीय भैसीपालनमा जोड दिइएको र यसबाट जैविक मल उत्पादनमा सहयोग पुग्ने उल्लेख गर्दै उनले भने, “जैविक फसलको ब्राण्ड बनाउ“दा पर्यटकीय शहरका बजार ओगट्न सक्छौँ ।” उक्त गाउँपालिकाका सबै वडामा तरकारी बाली राम्रो फल्ने गरेको छ । यहाँ उत्पादन भएका तरकारी स्थानीय बजारका साथै छिमेकी बजारमा समेत बिक्री हुने गरेको छ । यहाँ उत्पादित आलु विदेशमासमेत निकै लोकप्रिय रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुसालले बताए । ताराखोला भटमास, राजमा, मुला, साग र आलुमा समेत आत्मनिर्भर गाउँपालिका भएकाले दूध उत्पादनमा पनि आत्मनिर्भर बनाउने उद्देश्यले पशु फार्म सञ्चालनका लागि अनुदान, पाडापाडी हुर्काउने किसानलाई पशु सुत्केरी भत्तासमेत दिने नीति बनाइएको छ । चालु वर्षका लागि मात्र कम्तिमा ३०० भैसीलाई एक हजार भत्ता दिन रु तीन लाख बजेट विनियोजन गरिएको अध्यक्ष घर्तीले बताए । गाउँपालिकाको बैठकले सामाजिक विकृतिविरुद्ध पनि अभियान चाल्ने निर्णय गरेको छ । आलु, बोडी, भट्ट, सिमी, राजमा, च्याउको सुकुटी, क्वाटी, केराउ, मस्यौरा, कर्कलो, मुलाको धजरा, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र स्थानीय जातका धान ताराखोलाका उत्पादन हुन् । यी सबै उत्पादनलाई जैविक प्रमाणित गर्न चाहिने शर्त पूरा गरेर लेबलसमेत बनाई बिक्री गर्ने व्यवस्थाका लागि प्राविधिक तयारी गर्न विज्ञहरुको टोलीले सुझाएको छ । रासस

सबै कृषि उत्पादन रासायनिक मलरहित बनाउन गाउँपालिकाको अभियान

बलेवा, १२ पुस (रासस) ः गाउँपालिकाभित्र हुने सबै कृषि उत्पादनका लागि रासायनिक मलरहित बनाउन यहाँको एक गाउँपालिकाले अभियान थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले जैविक मल मात्रै प्रयोग गरेर परम्परागत कृषिको जगेर्ना गर्न लागेको अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । रासायनिक मलको प्रयोग बढिरहेका बेला सिङ्गो गाउँमै जैविक मल प्रयोग गराउन पहल गर्ने उद्देश्यले यसको उत्पादनका लागि अभियान थालिएको उहाँले जानकारी दिनुभयो । आफ्नो क्षेत्रभित्रका किसानलाई जैविक खेतीमा आधारित कृषि उत्पादनमा लगाएर जैविक गाउँपालिका बनाउने योजना अनुसार अहिले उत्पादन भइरहेका हरेक फसलमा कुनै पनि रसायनिक मल प्रयोग नगर्न, स्थानीय उत्पादनमा जोड दिन र कृषि पर्यटनको केन्द्र बनाउनका लागि विज्ञहरुसँग छलफलसमेत थालिएको अध्यक्ष घर्तीले बताउनुभयो । गाउँका सबै उत्पादनलाई जैविक बनाउन केही किसानलाई परिचालन गर्नाका साथै घरघरमा लिमे तथा पाराकोटे जातका स्थानीय भैसीपालनमा जोड दिइएको र यसबाट जैविक मल उत्पादनमा सहयोग पुग्ने उल्लेख गर्दै उहाँले भन्नुभयोे, “जैविक फसलको ब्राण्ड बनाउ“दा पर्यटकीय शहरका बजार ओगट्न सक्छौँ ।” उक्त गाउ“पालिकाका सबै वडामा तरकारी बाली राम्रो फल्ने गरेको छ । यहाँ उत्पादन भएका तरकारी स्थानीय बजारका साथै छिमेकी बजारमा समेत बिक्री हुने गरेको छ । यहाँ उत्पादित आलु विदेशमासमेत निकै लोकप्रिय रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुसालले बताउनुभयो । ताराखोला भटमास, राजमा, मुला, साग र आलुमा समेत आत्मनिर्भर गाउँपालिका भएकाले दूध उत्पादनमा पनि आत्मनिर्भर बनाउने उद्देश्यले पशु फार्म सञ्चालनका लागि अनुदान, पाडापाडी हुर्काउने किसानलाई पशु सुत्केरी भत्तासमेत दिने नीति बनाइएको छ । चालु वर्षका लागि मात्र कम्तिमा ३०० भैसीलाई एक हजार भत्ता दिन रु तीन लाख बजेट विनियोजन गरिएको अध्यक्ष घर्तीले बताउनुभयो । गाउ“पालिकाको बैठकले सामाजिक विकृतिविरुद्ध पनि अभियान चाल्ने निर्णय गरेको छ । आलु, बोडी, भट्ट, सिमी, राजमा, च्याउको सुकुटी, क्वाटी, केराउ, मस्यौरा, कर्कलो, मुलाको धजरा, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र स्थानीय जातका धान ताराखोलाका उत्पादन हुन् । यी सबै उत्पादनलाई जैविक प्रमाणित गर्न चाहिने शर्त पूरा गरेर लेबलसमेत बनाई बिक्री गर्ने व्यवस्थाका लागि प्राविधिक तयारी गर्न विज्ञहरुको टोलीले सुझाएको छ ।

शिक्षकको कुटाइबाट छात्रको मृत्यु, शिक्षक फरार

बारा — शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन् । विद्यालयबाट उनको घर ३ किमि टाढा छ । घर पुगेको केही घण्टामै जिल्ला अस्पताल कलैया पुर्याइएका उनको उपचारक्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड त्रिभुवनचन्द्र झाले बताए । प्राथमिक तहका शिक्षक यादवले अजयलाई विद्यालय प्रांगणमा हात र बाँसको लठ्ठीले पैतालादेखि घाँटीसम्म कुटेको प्रत्यक्षदर्शी अजयकी साथी रीमा मण्डलले बताइन् । मृत्युपछि प्रहरीमा जाहेरी दिएको अजयका काका जितेन्द्रले बताए । शिक्षक यादव भने फरार छन् । शिक्षकविरुद्ध ज्यान कसुरमा पीडितबाट उजुरी लिएर विस्तृत अनुसन्धान थालिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । ‘शवको पोस्टमार्टम रिपोर्टका आधारमा कारबाही हुन्छ, भिसेरा जाँचका लागि पठाइएको छ’, उनले भने । रिपोर्ट आइसकेको छैन । मृत्युको कारण अहिल्यै भन्न नसकिने उनले बताए । ‘बाहिरी चोटपटक देखिएको छैन, सूक्ष्म अनुसन्धान भइरहेको छ,’ उनले भने । साथी रीमाका अनुसार शिक्षकको पिटाइपछि अजय रुँदै विद्यालयबाट निस्केका थिए । घाँस काट्न गएकी आमा कोशिलाले घर फर्कंदा अजयलाई खाटमा बेहोस अवस्थामा भेटेकी थिइन् । ‘छोरालाई बेहोस देखेपछि हतपत अस्पताल लग्यौं, अस्पताल पुगेको केहीबेरमै बाबुको सास गयो,’ कोशिलाले भनिन् । उनले भनिन्, ‘किन त्यस्तो भयो, विद्यालयबाट किन चाँडै फर्केको हो भन्ने पछि मात्रै थाहा भयो ।’ त्यही विद्यालयमा कक्षा ६ मा पढदै गरेकी छोरी शान्ति र छिमेककी अर्की छात्राले सुनाएपछि मात्रै घटनाबारे थाहा पाएको उनले बताइन् । अजयका साथी धर्मेन्द्र ठाकुरका अनुसार कक्षा ७ का सबै जनालाई शिक्षक यादवले तेस्रो घण्टीमा बाहिर निकालेका थिए । ‘कक्षामा फर्काएर सरले अजयलाई बेस्सरी कुट्नुभयो, कुटाइले उ थरथर कामिरहेको थियो,’ उनले भने, ‘सरले कुटदै, हप्काउँदै घर पठाइदिनुभयो, अजय रुँदै गयो ।’ निजी विद्यालयमा पढ्ने अजय यसै वर्षदेखि उक्त सरकारी विद्यालयमा भर्ना भएका हुन् । विद्यार्थीको मृत्युपछि गाउँका सयौं व्यक्ति जिल्ला प्रहरी कार्यालय र अस्पताल पुगेका थिए । ‘अस्पताल ल्याउँदा अजय बेहोस थियो, मुखबाट र्‍याल निस्केको थियो,’ मेडिकल सुपरिन्टेन्डेड झाले भने, ‘पोस्टमार्टम जाँचका लागि प्रहरीले पेटमा भएको खानाको केही भाग लगेको छ, रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ ।’ अजयले बान्ता र पखाला गरेको देखिएको उनले जानकारी दिए ।

रानीपोखरीको टेन्डरमा मिलेमतोको आशंका

काठमाडौँ – भूकम्पबाट भत्किएको रानीपोखरीको पुर्ननिर्माणका लागि नयाँ टेन्डर आह्वान गरिने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यसअघिको टेन्डरमा ठेकेदारले लागत अनुमानभन्दा झन्डै १२ प्रतिशतभन्दा बढी रकमको ठेक्का हालेको र मिलेमतो भएको आशंकामा नयाँ टेन्डर आह्वान गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणका लागि १२ करोड ६६ लागत अनुमान गरेको छ । केही दिनमै नयाँ टेन्डर खोलिने काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १५ नम्बर वडाका वडाध्यक्ष ईश्वरमान डंगोलले बताए । पछिल्लोपटक रानीपोखरी पुनर्निर्माणका लागि ई–टेन्डर आह्वान हुँदा तीनवटा टेन्डर परेको र तीमध्ये रविना कन्स्ट्रक्सनकोे टेन्डर मात्र प्राविधिक मूल्यांकनमा पास भएको थियो । सुनकोसी कन्स्ट्रक्सनले व्यावसायिक कर नै नतिरेकाले फेल भएको र तेस्रोले ठेक्का आवेदन नै हटाएको डंगोलले बताए ।

संसदको हिउँदे अधिवेशन आजदेखि

काठमाडौँ, पुस ११ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को यो अधिवेशन विधेयकमाथि छलफल र पारित गर्ने विषयमा नै केन्द्रित रहने बताईको छ । आगामी फागुन २१ गते अर्थात (सङ्घीय संसद्को पहिलो बैठक बसेको एक वर्षभित्र) नेपालको संविधानसँग बाझिने कानून संशोधन गरेर संविधानसम्मत बनाई सक्नुपर्ने कार्यभार रहेको हुँदा यो अधिवेशन निकै महत्वपूर्ण रहने छ । प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बुधबार नै दुई वटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ । पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउने भएका छन्उ । त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरूले मन्तव्य दिनेछन् । त्यसपछि सदनमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संसद् सचिवालयले जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ पेश गर्ने भएका छन् । प्रतिनिधिसभाको आजै बस्ने बुधबारको दोस्रो बैठकमा संसद्का पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधार र मोतिदेवी चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गरी पारित गरिने सम्भावित कार्यसूची तय गरिएको बताइएको छ । त्यस्तै राष्ट्रियसभामा भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, विभिन्न राजनीतिक दलका नेताबाट शुभकामना मन्तव्य, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने र बैठकको अन्त्यमा पूर्वसांसद बाँस्तोला, तुलाधर र चौधरीको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची तय भएको बताइएको छ । रासस

लक्ष्यभन्दा कम राजश्व संकलन

बाँके, पुस १० । नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालयले ५ महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७५/०७६ को पाँच महीनाको अवधिमा रु एक अर्ब ३४ करोड एक लाख ५५ हजार संकलन गर्ने लक्ष्य लिएकोमा रु एक अर्ब २१ करोड ६७ लाख ५७ हजार सङ्कलन गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार लक्ष्यभन्दा करीब १० प्रतिशत अर्थात् रु १२ करोड ३३ लाख ९८ हजार कम राजश्व सङ्कलन भएको छ । “राजश्व कम सङ्कलन हुनुमा विविध कारण हुन सक्छन्”, उनले भने, “वार्षिकरूपमा लक्ष्य पूरा गर्ने हाम्रो प्रयास हुने छ ।” आन्तरिक राजश्व विभागले चालू आवका लागि कार्यालयलाई कूल रु तीन अर्ब ५१ करोड राजश्व उठाउने लक्ष्य दिएको छ । कार्यालयले यसअघि साविक भेरी र कर्णाली अञ्चलका १० जिल्लाबाट राजश्व संकलन गर्दै आएको थियो । गत वर्ष कार्यालयले रु चार अर्ब राजश्व सङ्कलन गरेको बताइएको छ । राज्य पुनःसंरचनापश्चात् कर्णाली प्रदेशमा परेका आठ जिल्लालाई सुर्खेतमा हालै स्थापना भएको कार्यालयले हेर्दैै आएको छ । नेपालगञ्जको कार्यालयले चालू वर्षबाट बाँके र बर्दियाका मात्र करदाताबाट राजश्व सङ्कलन गरिरहेको कर अधिकृत यज्ञ ढकालले जानकारी दिए । “कार्यालयले यसअघि भेरी र कर्णालीका गरी १० जिल्लालाई हेर्दै आएको थियो, अहिले बाँके र बर्दियालाई मात्र हेरिरहेको छ”, ढकालले भने, “चालू वर्षको साउन महिनादेखि शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क पनि हटिसक्यो, घरबहाल कर स्थानीय तहमा गइसक्यो, यसले पनि लक्ष्य पूरा हुन नसकेको होला ।” तत्कालीन समयमा साविक भेरी र कर्णालीका १० जिल्लामा ६५ हजार करदाता थिए । त्यसमध्येका ३४ हजार करदाता सुर्खेतस्थित कार्यालयमा सरेका छन् । नेपालगञ्जस्थित कार्यालयमा बाँके र बर्दियाका पुराना ३१ हजार र नयाँ थपिएका समेत गरेर ३५ हजार ५०० करदाता पुगेका छन् । कार्यालयले आय कर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क बापतको राजश्व संकलन गर्दै आएको छ । रासस

उद्धारका लागि गएको प्रहरी नै घाइते

धादिङ, पुस १० । दुर्घटनामा परेको कारका चालकको मंगलबार उद्धारका लागि गएको प्रहरी नै घाइते भएका छन् । काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा १४ च ९८०० नं को ट्याक्सी बेनीघाट रोराङ गाउँपालिका–५ भैँसेबाट ६० मिटर तल खसेको कारको चालक उद्वार गर्न जाँदा ट्राफिक प्रहरी पोष्ट बेनीघाटमा कार्यरत प्रहरी हबलदार सुरेशबहादुर चन्द गम्भीर घाइते भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए। घटनास्थल जाँन लाग्दा घाइते भएका चन्दको टाउकोमा पाँच टाँका लगाइएको छ । दुर्घटनामा कार चालक बारा जिल्ला निजगढ निवासी ३० वर्षीय अमृत भण्डारी घाइते भएकाले गजुरी अस्पतालमा उपचार भइरहेको छ । रासस

आइजिपी खनालको दाबी- निर्मला हत्या प्रकरणमा कमजोरी गर्ने प्रहरीलाई छोडिदैन

काठमाडौं, पुष १० । प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा कमजोरी गर्ने प्रहरीलाई नछोडिने स्पष्ट पारेका छन्। सोमवार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरेर आइजिपी खनालले अनुसन्धानमा कमजोरी गर्ने प्रहरीलाई प्रशासनिकदेखि फौजदारी कानुनअन्तर्गतसम्म कारवाही गरिने बताए। ‘घटनाको अनुसन्धानमा कमी कमजोरी गर्ने प्रहरीलाई छोडिदैन। अनुसन्धानका क्रममा गल्ती कमजोरी भेटिएका छन्। प्रशासनिक कारवाही र फौजदारी कानुन अन्तर्गत भए त्यसअन्तर्गत कारवाही गर्छौं। कुन तहको कुन किसिमको कारवाहीको सिफारिस भएको त्यही अनुसार कारवाही गर्छौं’, उनले भने। निर्मलाका हत्यारा पत्ता लगाउन आफूहरुले अधिकतम स्रोत साधन परिचालन गरेको भन्दै आइजिपी खनालले परिणाम आउन बाँकी रहेको बताए। ‘सबै स्रोत परिचालन गरेका छौं। अहिलेसम्म आउट पुट छैन। अनुसन्धान ठ्याक्कै शून्यमै छैन्। परिणाम नजिक पुगेका छौं’, खनालले प्रष्ट्याए। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।