UPDATE : नुवाकोट बस दुर्घटनामा २ काे मृत्यु, ४४ जना घाइते

नुवाकोट, असोज २६ ।

नुवाकोटबाट काठमाडौं आउँदै गरेको  बा१ख ६३५६ नम्बरको यात्रुवहाक बस सूर्यगढी–५ फेदीबेशीमा दुर्घटना हुँदा २ जना मृत्यु भएको छ । मृतक एक जना महिला एक पुरुषा भएपनि सनाखत हुन सकेकाे छैन ।  बस दुर्घटनामा ४४ जना घाइते भएका छन् ।

घाइतेमध्ये गम्भीर रहेका १३ जनालाई उपचारका लागि काठमाडौं लगिएकाे छ । अन्य घाइतहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । दुर्घटनाकाे थप विवरण आउनै बाँकी ।

बामदेवकाे पुनरागमन लोकतन्त्रको भ्रष्टीकरण र राजनीतिक अनिष्टताको संकेत : डा. भट्टराई

काठमाडौं, असोज २४ । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बर्दियाबाट पराजित बामदेव गौतमका लागि काठमाडौं ७ मा उपचुनाव गराउनु चरम राजनीतिक अनिष्टताको संकेत भएको टिप्पणी गरेका छन् । बुधबार बिहान ट्वीट गर्दै उनले यसलाई लोकतन्त्रको भ्रष्टीकरण भएको बताएका छन् । ट्वीटरमा उनले लेखेका छन्, ‘काठमाडौं ७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । बेलैमा होस पुर्‍याऔं !’ नेकपाले काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर उपनिर्वाचनमार्फत बामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी भइरहेको छ ।

काङ्ग्रेस केन्द्रीय समितिद्वारा सुदूरपश्चिमको राजधानी पुनःविचार गर्न माग

काठमाडौँ, २२ असोज (रासस)  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णयमा पुनःविचार गर्न माग गरेको छ । काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलालीको गोदावरी नगरपालिकाको २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास विरोधी र भू तथा वन माफियाको चलखेलबाट प्रभावित भएको आरोप लगाएको छ । केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले उक्त निर्णयले सो स्थानमा भौतिक पूर्वाधारको निर्माण गर्न अर्बाै लगानी हुन गई विकास निर्माणका सम्पूर्ण कार्य ठप्प हुने निष्कर्ष निकालेको छ । काङ्ग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णयमार्फत आज सो सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गरेको हो । वातावरणीय दृष्टिकोणलेसमेत वनक्षेत्र नाश हुने, वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने, चुरेको फेदीमा अवस्थित सो क्षेत्रमा शहर निर्माण गर्दा प्राकृतिक प्रकोप बढ्ने र तल्लो तटीय क्षेत्रमा बाढी, भू–क्षयलगायत मरुभूमीकरणको समस्या बढ्ने जोखिम रहेको भन्दै काङ्ग्रेसले चिन्ता व्यक्त गरेको छ । तसर्थ बैठकले राजधानी गोदावरी नपा– २ र ४ मा बनाउने गरी गरिएको निर्णयमा पुनःविचार गर्न माग गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको बैठकले चाडपर्वका बेला आमनागरिकको मुख्य चासो हुने शान्ति सुरक्षा र उपभोग्य वस्तुको सुपथ मूल्य कायम गर्न सरकारले नसकेको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बैठकले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाइ महीना पुगिसक्दा पनि कारवाहीको दायरामा ल्याउन नसक्नु दुःखद् भन्दै शान्ति सुरक्षा कायम गर्न र आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्न सरकारलाई सचेत गराएको छ । काङ्ग्रेसले नेपाल विद्यार्थी सङ्घको सदस्य बन्ने उमेरको हदबारे सङ्घको ११औँ महाधिवेशनबाट पारित विद्यमान व्यवस्थाको ३२ वर्षे प्रावधानलाई यथावत् राख्ने निर्णय गरेको छ । नेविसङ्घको विधानमा रहेको अन्य व्यवस्थाका सन्दर्भमा आगामी असोज २५ गते विहान ११ बजे बस्ने बैठकले निर्णय गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

महाकालीमा पुल निर्माण गर्न भारतलाई अनुमति

दार्चुला, असोज २१ । जिल्लाको व्यास गाउँपालिकाका ४ ठाउँमा महाकाली नदीमा नेपाल–भारत जोड्ने काठेपुल निर्माण गरिने भएको छ । दुवै देशका स्थानीय बासिन्दाको मागका आधारमा काठेपुल निर्माण हुन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।   भारतीय क्षेत्रमा सडक निर्माणको काम चालु हुँदा दुवै देशका बासिन्दाले हिँड्ने पैदल मार्ग अवरुद्ध भएकाले महाकालीमा काठेपुल निर्माण गर्न माग गरिएको थियो । भारतीय पक्षले लखनपुर र नजांग तथा नेपाली पक्षले दुम्लिङ र मालमामा अस्थायी काठेपुल निर्माणका लागि माग गरेका थिए ।     पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत उत्तरी क्षेत्रका बासिन्दाको आउजाउ तथा मानसरोवर जाने भारतीय तीर्थयात्रीको सहजताका लागि भारतीय पक्षले अस्थायी काठेपुल बनाउन माग गरेको थियो । स्थानीयको समस्या मध्यनजर गरी मन्त्रालयबाट समेत अनुमति आइसकेपछि पुल बनाउन सकिने विषयमा भारतीय प्रशासनलाई जानकारी गराइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।   उक्त समस्या दुवै देशका बासिन्दाको साझा समस्या भएकाले अस्थायी रूपमा पुल निर्माण गर्न भारतीय पक्षलाई अनुमति दिइएको उनले बताए । भारतीय पक्षले लखनपुरदेखि माथि लिपुलेकसम्म सडक निर्माण तीव्र गतिमा गरिरहेको हुँदा उसका क्षेत्रमा पैदल यात्रा गर्न नसकिएपछि पुल निर्माणका लागि अनुरोध गरेको थियो ।     योसँगै भारतीय व्यापारीका चीनबाट यो क्षेत्र हुँदै आउने मालसामान ढुवानी सहज हुनेछ । यस्तै व्यास गाउँपालिका १ र २ वडाका बासिन्दा सदरमुकाम आवतजावत गर्न र व्यासी सौका समुदायको बसाइँसराइ मध्यनजर गर्दै भारतीय पक्षसँग दुई ठाउँमा अस्थायी काठेपुल निर्माणका लागि नेपाली पक्षबाट पनि माग भएको थियो । कान्तिपुरमा खबर छ ।

आजदेखि नयाँ नोट पाइने, कुन-कुन बैंकमा साट्न पाइन्छ ?

काठमाडौं, असोज २१ । आउदैं गरेको दसैं र तिहारका लागि राष्ट्र बैंकले आइतबारदेखि नयाँ नोट साटिदिने भएको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।     राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि नयाँ नोट वितरण गरिसकेको छ। बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि आइतबारदेखि मात्र वितरण सुरु गर्दैछन् ।     नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘ आइतबारदेखि २९ गतेसम्म ५, १०, २० र ५० का दुई, दुई र १ सय दरका एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले सटही सुविधा उपलब्ध गराइने भएकाले आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।       काठमाडौं उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही गर्न सकिनेछ। यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सान, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।     यसैगरी उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् । मोफसलमा राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

मानव अधिकार आयोगले भन्यो,- ‘बिप्लव सरकारसँग वार्ता गर्न प्रतिबद्ध छन्’

काठमाडौ, असोज २० । राष्ट्रिय मानव अधिकार आयोगले बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ ।     क्रान्तिकारी पत्रकार संगठन नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको ‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य सुदीप पाठकले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग संवाद गर्न चाहेमा आवश्यक वातावरण बन्ने विश्वास व्यक्त बताए ।     ‘सरकार वार्ताका लागि गम्भीर छ, हामी पार्टीलाई लिखित पत्र दिएर वार्ताका लागि आह्वान गर्छौं भन्ने भनार्इ सरकारबाट आएको छ, नेपाल कम्युनिष्ट पार्टीलाई लाग्यो भने वार्ताको वातावरण बन्छ’, सदस्य पाठकले भने ।     उनले मानव अधिकारको सवालमा कतिपय कमीकमजोरी हुनसक्ने भन्दै त्यसबाट सच्चिएर अझै क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । विचार लिएर जाने स्वतन्त्रतालाई सरकारले रोक्न नहुने उनको भनाइ छ ।     सदस्य पाठकले राजनीतिक कुरा राजनीतिकरुपमै टुङ्ग्याउन बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सुझाव दिदैं एकले अर्काको सम्मान गर्न, वैचारिक संघर्ष मात्रै गर्न र साझा एजेण्डाका साथ देश विकासमा लाग्न राजनीतिक दललाई आग्रह गरे।     बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले मानव अधिकार, प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा आँच पुग्ने काम भइरहेको भन्दै यसमाथि गम्भीर अनुगमन गर्न आयोगलाई अनुरोध गरे ।     नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारलाई फौजदारी कानूनअन्तर्गत कारवाही गर्नेगरी आएको कानून नसच्याएसम्म महासङ्घले आन्दोलन जारी राख्ने प्रतिवद्धता व्यक्त गरे । -रासस

एउटा बच्चीको हत्यारा पत्ता लगाउन नसक्ने सरकार ‘नालायक’ : देउवा

काठमाडौं, असोज २० । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् । सभापति देउवाले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । शनिबार नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा पनि आपत्ति जनाए । उनले वातावरणीयलगायतका सबै हिसावले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै सो निर्णयको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । । रुख काट्ने र ऐस आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको सभापति देउवाको आरोप छ । सभापति देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी सबै हिसावले धनगढीमा उपयुक्त हुने तर्क पनि गरे ।

प्रदेश, जिल्ला र जनसंगठनको एकता बिना व्यवधान छिट्टै टुंगो लाग्छः प्रचण्ड

प्युठान, असोज १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रदेश, जिल्ला र जनसंगठनको एकता छिट्टै टुंगिने बताएका छन् । प्युठानमा आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रमा उनले यस्तो बताएका हुन् । प्रचण्डले भने ‘आइतबार पार्टीको सचिवालय बैठक बस्दैछ, बैठकमा प्रदेश, जिल्ला र जनसंगठनको एकताबारे पनि छलफल हुनेछ । कुनै समस्याबीना छिट्टै एकता पक्रिया टुग्यान्छाैं ।’ अध्यक्ष प्रचण्डले प्रदेश, जिल्ला र जनसंगठनको एकता पक्रियामा कुनै बाधा नहुने बताए । साथै, उनले अहिले सबैको मुख्य एजेण्डा देशमा समृद्धि र सुशासन कायम गर्नु रहेकाले एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले सरकारले जनताले अनुभूति हुने गरि काम गरिरहेको बताए । साथै, उनले सरकारको प्रभावकारिताबारे पार्टीमा र विभिन्न पक्षसँग अन्तक्रिया गरेर अझ त्यसमा गति दिने जानकारी गराए ।

नेपाललाई चौंथो सफलता, सोमपालले लिए लगातार २ विकेट ! [अपडेट]

काठमाडौं, असोज २० । मलेसियामा भइरहेको आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा नेपालले आज घरेलु टोलीसँग खेलिरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो ।   मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजेबाट सुरु भएको छ । यसैबीच, मलेसियाको चौंथो विकेट पतन भएको छ ।     तेस्रो र चौंथो विकेट सोमपाल कामीले लिएका हुन् । उनले आफ्नो दोस्रो ओभरको पहिलो र दोस्रो बलमै २ विकेट लिन सफल भए । यसअघि सन्दिप लामिछानेले २ विकट लिएका थिए । आज मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो ।   खेलको लाइभ स्कोर हेर्न हयाँ क्लिक गर्नुस्–   नेपालले सन् २०१३ पछि पहिलोपटक नेपालले मलेसियासँग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो। टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ भने एक खेल मलेसियाले जितेको छ।

नाफा खोज्ने एयरलाइन्सलाई उडानमा रोक

हुम्ला, असोज १९ । नेपालगञ्ज-सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् ।     एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँ, तिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ ।     निजी एयरलाइन्सले उडानमा कमी ल्याएको भन्दै सिमकोट गाउँपालिकाको बिहीबार बसेको गाउँ सभाले दशैँ, तिहारजस्ता पर्वमा हुम्लाका लागि उडान नभरेमा निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक लगाउने निर्णय गरेको छ ।     हुम्लीहरू अहिले नेपालगञ्ज-सुर्खेतमा हवाईजहाजले कम उडान गर्दा यात्रु टिकटका लागि भौतारिरहेका छन् । कहिले महँगो भाडा, कहिले जहाज टिकट नपाउने यो हुम्लीको समस्या नयाँ होइन । बैठकले सिमकोट गाउँपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी सञ्चाकर्मीलगायतको सो निर्णय गरेको हो । -रासस

मिसावट गर्नेलार्इ कडा कारवाही हुन्छ : राज्यमन्त्री चौधरी

काठमाडौं,असोज १८। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री रामकुमारी चौधरीले यसपालिको चाडपर्वमा हरेक नेपालीले स्वस्थकर खाद्यपदार्थ खान पाउने वातावरण बनाउने बताएकी छन् । दुई वर्षभित्र हरेक खानेकुरालार्इ शुध्द, स्वस्थ र मिसावटरहित बनाउने सरकारको लक्ष्य रहेको हुँदा सोही अनुरुप काम भैरहेको उनले बताइन् । पशु सेवा बिभाग द्वारा पशु सेवा विभाग स्थापना दिवस तथा विश्व पशुपन्क्षी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले खाद्यय पदार्थमा मिसावट नरोकिए कडा भन्दा कडा कार्वाही हुन सक्ने चेतावनी दिइन् । अहिले देश व्यापीरुपमा सरकारले खाद्य स्वच्छता अभियान संचालनमा ल्याएको बताउदै मासु जन्य पदार्थमा शुध्दता कायम गर्न अनुगमन र नियमन गर्न विभागलाई कडा निर्देशन दिएको बताइन् । रोगी पशु, पन्छि र अन्य खाद्यय पदार्थहरु बाहिरबाट भित्रन सक्ने कुरालाई गम्भीरतापूर्वक लिन उनले सम्बन्धित निकायलार्इ निर्देशनसमेत दिइन् । खाद्य स्वच्छताको लागि सबै शक्ति प्रयोग गरेर अखाद्य बस्तु नियन्त्रणमा लिंदै गलत गर्नेलाई तत्काल कारबाही गर्ने बताउँदै यो अभियान सफल पार्न सबैको साथ दिनुपर्ने बताइन् ।

४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने !

काठमाडौं असोज १२ । शुक्रबारदेखि काठमाडौं उपत्यकाभित्र र बाहिर गरी ४७ स्थानमा सरकारी संस्थानहरूले सुपथ मूल्य पसल सञ्चालन गर्दैछन् । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालन हुने सुपथ मूल्यका पसल कात्तिक २७ गतेसम्म रहने छन्। सुपथ मूल्य पसलको संयोजन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको छ भने साल्ट ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले भाग लिएका छन् । ती पसलहरूमा संस्थानहरूमा उपलब्ध खाद्य सामग्रीहरू बिक्री वितरण हुने छन् । बजारमा प्रचलित मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट गरी सुपथ पसल सञ्चालन गरिएको विभागले जनाएको छ । साथै घुम्ती पसल पनि सञ्चालन गरिने विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिएका छन् । उनका अनुसार सरकारी संस्थानमात्रै नभई विभागमा दर्ता सहकारी पसलहरूले समेत छुट मूल्यका साथ सुपथ मूल्य पसलमा सहभागिता जनाउने छन् । यसरी सञ्चालन हुने सुपथ मूल्य पसलले विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट हुने विभागले जनाएको छ। यस्तो छ छुटको व्यवस्था साल्ट ट्रेडिङ कर्पोरेसन साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौं उपत्यकाका नौ स्थानमा स्टल सञ्चालन गर्दैछ। त्यस्तै तीनवटा घुम्ती पसलबाट नुन, चिनी बिक्री वितरण गर्ने छ। उपत्यकाबाहिर भने आफ्ना डिपो तथा कार्यालय रहेका २४ स्थानबाट सामान बिक्री वितरण गर्ने कर्पोरेसनले जनाएको छ । नुनमा २ रुपैंया छुटसहित १८ रुपैंया प्रतिकेजीमा वितरण गर्ने छ। नेपाल खाद्य संस्थान खाद्य संस्थानले पनि उपत्यकाका सुपथ मूल्य पसलको स्टलमा आफ्नो सहभागिता जनाउँदै छ । देशभरका आफ्ना गोदाम तथा कार्यालयबाट पनि सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण गर्ने भएको छ। संस्थानले सोना मन्सुली चामल ४५ रुपैयाँ, जिरा मसिनो चामल ६० रुपैयाँ मूल्य रहेकामा ५ रुपैयाँ छुटमा बिक्री वितरण गर्ने छ। बास्मती चामल ९१ रुपैंयामा १० छुट, गोरखनाथ चामल ४८ मा ५ छुटसहित बिक्री गर्ने संस्थानले जनाएको छ। त्यस्तै जापानिज चामल ८० मा ५ रुपैंया छुट, जुम्ली सिमी १ सय ३० मा १० छुट, जुम्लाको तिते फापर ८० मा १० रुपैंया छुट गरी बिक्री गर्ने खाद्य संस्थानले वाणिज्य विभागलाई जानकारी दिएको छ। संस्थानले घटस्थापनादेखि खसीबोका र च्याङ्ग्रा पनि बिक्री वितरण गर्ने जनाएको छ । खसीबोका तथा च्याङ्ग्रा प्रचलित मूल्यभन्दा प्रतिकेजी १० रुपैंया छुट दिने जनाएको छ । दुग्ध विकास संस्थान दुग्ध विकास संस्थानले उपत्कामा सञ्चालन हुने सुपथ मूल्य पसल र देशभर रहेका आफ्नो कार्यालयबाट आफ्ना उत्पादन सहुलियत मूल्य बिक्री वितरण गर्ने छ । संस्थानले चाडबाड लक्षित सहुलियत अनुसार घ्यू प्रतिलिटर ९ सय रुपैंया रहेकोमा ५०, पनीर ६ सय २० मा २० रुपैंया छुटसहित बिक्री वितरण गर्ने छ । त्यस्तै संस्थानको उत्पादन बटर दही, चिज, लालमोहन, रसवरी, पेडा, लस्सी, आइसक्रिमजस्ता वस्तुमा पनि छुटसहित बिक्री वितरण गर्ने छ। सहकारी पसल सहकारी पसलहरुले दाल चामलमा ३ प्रतिशत छुट दिने भएका छन् । घ्यू तेलमा ३ रुपैयाँ प्रतिलिटर छुट दिने छ। त्यस्तै ५ लिटर खरिद गरेमा भने १ सय ५० रुपैंया छुट दिने छ। चिनी भ्याटबाहेक ५७ रुपैंयामा उपलब्ध गराउने छ। मसला प्रतिकेजी २० रुपैयाँ छुटसहित उपलब्ध गराइने बताइएको छ। सुपथ पसल उपत्यकामा कालीमाटी, कोटेश्वर, टेकू, सिंहदरबार, सतुंगलमा सञ्चालन हुनेछन् । यस्तै भक्तपुर, ललितपुर विभन्नि स्थानमा पनि सुपथ मूल्य पसल सञ्चालन हुँदैछन् । नेपालखबरबाट

नेइमार खेल नभएको मौका छोपी प्रेमिकासँग मस्तीमा !

एजेन्सी । ब्राजिलका स्टार स्ट्राइकर नेइमार प्रेमिका ब्रना मार्कोजीनासँग खेल नभएको मौका छोपी अहिले मस्तीमा छन् । एकदुई दिनअघि मात्रै उनी आफ्नी प्रसमकासँग फेसन विकमा पुगेका थिए । पेरीस फेसन विक हेर्न पुगेका नेइमार सबैका आँखाको तारा बने । प्रेमिका मोडल ब्रुनासँग फेसन विकमा पुगेका नेइमारले पुरै फेसन कार्यक्रम हेरेर फर्किएका थिए । लिग वनमा रिम्स विरुद्धको खेलमा जित दिलाउन गोल पनि गरेका नेइमारसँगै डेनी एल्भेसपनि संगै पुगेका थिए । प्रेमीकाका कारण चर्चामा रहेका नेइमारसँग आयोजकले फोटो खिच्नका लागि अफर गरे पनि अन्तिममा मात्र उनले अवसर दिएका थिए ।

अध्यक्ष प्रचण्डको घोषणा पूरा हुँदै, शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने

चितवन, असोज १२ । सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई संकलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो ।   सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउनुपर्ने घोषणा गरेपछि गृहकार्य शुरु भएको बताए । श्रेष्ठले विश्वका द्वन्द्व भएका मुलुकमा सङ्ग्रहालय रहेको भन्दै कुन ठाउँमा कस्तो सङ्ग्रहालय बनाउने भन्ने विषयमा छलफल भइरहेको बताए ।   सो क्षेत्रका प्रदेश सांसद घनश्याम दाहालले पूर्व लडाकूहरु रहेको तेस्रो डिभिजनमा हाल नेपाली सेना रहेको भन्दै सेना हटेर औद्योगिक क्षेत्र बन्ने क्रममा ठाउँ तय गरी युद्ध सङ्ग्रहालय बनाइने बताए । सो क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बन्ने प्रक्रिया अघि बढिरहेको छ । दाहालले १० वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने कला कुँदेर देखाइने बताए ।   युद्ध सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने उनले बताए । सो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले विश्वका युद्ध भएका विभिन्न मुलुकमा युद्ध झल्कने सङ्ग्रहालय रहेको बताए ।   ती ठाउँहरु स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने भएकाले चितवनको शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन सकेमा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने बताए । -रासस

नेकपा अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान

काठमाडौं, असोज १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि आज साँझ सिङ्गापुर प्रस्थान गरेका छन् ।   यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा उपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ ।   सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आएकी छन् । उनका साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ गएका छन् । नेपालमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको थियो ।   केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो । माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो । -रासस

एकताले समृद्धि र समाजवादको यात्रा सहज भएको छ : प्रचण्ड

काठमाडौँ, असोज ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको बताएका छन् । वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाले केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलताका बीच पनि वाम आन्दोलन र यसलाई टुंगोमा पु¥याउन सतिसालजस्तै प्रस्तुत हुनु नेतृ साहनाको साहसी कदम भएको बताए । नेता झलनाथ खनालले राणा शासन हुँदै पञ्चायतविरोधी आन्दोलनमा नेत्री प्रधानको स्थान महत्वपूर्ण रहेको जनाउँदै प्रधानले संविधानसभाको निर्वाचन, लोकतान्त्रिक संविधान निर्माणमा समेत प्रेरणादायी भूमिका निर्वाह गरेको स्मरण गरे । साथै नेकपाका नेता वामदेव गौतमले नेपालमा कम्युनिष्ट विचारलाई सङ्गठितरूपमा फैलाउन पुष्पलाल तथा साहना प्रधानको भूमिका ऐतिहासिक रहेको बताए । विसं २०४६ को नेत्री प्रधानले वाममोर्चाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै जनआन्न्दोलनको नेतृत्व गरेकी थिइन् । नेतृ प्रधानको स्मृतिमा युवा नेत्री रामकुमारी झाँक्रीको नेतृत्वमा स्मृति प्रतिष्ठान गठन गरिएको छ ।