अध्यक्ष प्रचण्डको घोषणा पूरा हुँदै, शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने

चितवन, असोज १२ । सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई संकलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो ।

 

सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउनुपर्ने घोषणा गरेपछि गृहकार्य शुरु भएको बताए । श्रेष्ठले विश्वका द्वन्द्व भएका मुलुकमा सङ्ग्रहालय रहेको भन्दै कुन ठाउँमा कस्तो सङ्ग्रहालय बनाउने भन्ने विषयमा छलफल भइरहेको बताए ।

 

सो क्षेत्रका प्रदेश सांसद घनश्याम दाहालले पूर्व लडाकूहरु रहेको तेस्रो डिभिजनमा हाल नेपाली सेना रहेको भन्दै सेना हटेर औद्योगिक क्षेत्र बन्ने क्रममा ठाउँ तय गरी युद्ध सङ्ग्रहालय बनाइने बताए । सो क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बन्ने प्रक्रिया अघि बढिरहेको छ । दाहालले १० वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने कला कुँदेर देखाइने बताए ।

 

युद्ध सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने उनले बताए । सो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले विश्वका युद्ध भएका विभिन्न मुलुकमा युद्ध झल्कने सङ्ग्रहालय रहेको बताए ।

 

ती ठाउँहरु स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने भएकाले चितवनको शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन सकेमा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने बताए । -रासस

आलम हत्या बारे तत्काल छानबिन गर्न राज्य मन्त्री चौधरी द्वारा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौ,असोज ५।सुनसरी हरिनगरा -२ भुटाहामा भारतीय नम्बर प्लेटका २वटा मोटोरबाइकमा आएका हत्यार धारी समुहले मौलाना खुर्सिद आलमलाइ गोलि हानी हत्या गरि फरार भए पछी सुनसरीमा तनाव उत्पन भएको छ। कृषि तथा पशुपक्षि बिकास राज्य मन्त्री राम कुमारी चौधरीले शुक्रबार गृह मन्त्री राम बहादुर थापा “बादल “लाई गृह मन्त्रालयमा भेटी खुर्सिद आलम हत्याकाण्डको छानबिन समिति गठन गरि छिटो भन्दा छिटो हत्यारालाइ कार्वाही गर्नु पर्ने माग राखेकी छिन। सुनसरी जिल्ला मन्त्री चौधरीको गृह जिल्ला समेत हो। आलमको हत्या पछि सुनसरी हरीनगरामा मुस्लिम समुदाय आन्दोलित छन। बुधबार आलमलाइ गोलि हानी दक्षिण सिमाना तिर भाग्दै गर्दा घुस्किमा प्रहरीले छेक्न खोज्दा एक प्रहरी हल्दार समेत घाइते भएका थिए। भेटमा गृहमन्त्री थापाले घटना बारे गृहमत्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउदै हत्या बारे अनुसन्धान सुरु भैसकेको र हत्यारा चाडै पत्ता लाग्ने बिश्वास व्यक्त गरेका छन्।

बार्सिलोनाको शानदार जित, मेसीले गरे ह्याट्रिक !

असोज ३ । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको यो वर्षको सिजनमा शानदार सुरुवात गरेको छ । युरोपियन क्षेत्रका शीर्ष लिगमा खेल्ने क्लब बिचको महादेशीय प्रतिस्पर्धा च्याम्पियन्स लिग फुटबलको समूह चरणका खेल मंगलबार रातिदेखि सुरु भएका छन् ।   मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले समूह बी अन्तर्गतको आफ्नो पहिलो खेलमा मंगलबार राति नेदरल्याण्डसको क्लब पिएसभी एन्थोवेनलाई ४-० ले हरायो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउने क्रममा मेस्सीले ह्याट्रिक गरे । यस्तै उसमान डेम्बेलेले एक गोल गरे ।   बार्सिलोना अन्तिमको १० मिनेट भन्दा बढी समय १० खेलाडीमा सीमित भएको थियो । ७९ औँ मिनेटमा सामुएल उमटिटी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमति भएको हो ।   मेस्सीले ३१ औँ मिनेटमा फ्रि-किक मार्फत सुन्दर गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १-० को अग्रता दिलाए । ७४ औँ मिनेटमा डेम्बेलेले गोल गर्दै अग्रता दोब्बर पारे ।   त्यसको तीन मिनेटपछि मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । लगत्तै उमटिटी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।   तर पनि बार्सिलोना कमजोर देखिएन । मेस्सीले ८७ औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले ४–० को प्रभावशाली जित पक्का गर्यो ।   समूह बी अन्तर्गतकै अर्को खेलमा सुरुमा पछि परेर पनि इटालियन क्लब इन्टर मिलानले इंग्लिस क्लब टोटनह्यामलाई पराजित गर्न सफल भयो ।   इन्टरले टोटनह्यामलाई २–१ ले पराजित भएको हो । अवे मैदानमा भएको खेलमा ५३ औँ मिनेटमा क्रिष्टियन एरिक्सनको गोलबाट माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले अग्रता लिएको थियो ।   तर अन्तिमको पाँच मिनेट र इन्जुरी समयमा सम्हालिन नसक्दा नतिजा इन्टरलाई सुम्पियो । इन्टरका लागि ८५ औँ मिनेटमा आइकार्डी र इन्जुरी समयको दोस्रो मिनेटमा वेसिनोले गोल गरे ।   मेस्सीको ४८ औँ ह्याट्रिक घरेलु मैदानमा भएको खेलमा बार्सिलोना कप्तान मेस्सीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरी च्याम्पियन्स लिगको यो सिजनको पहिलो खेलमा नै ह्याट्रिक गरे । मेस्सीको यो ह्याट्रिक उनको खेल जीवनको ४८ औँ ह्याट्रिक हो ।   आन्द्रेस इनिएस्टा बिदा भएपछि मेस्सी बार्सिलोनाको कप्तान बनेका छन् र उनी अहिले आफ्नो लयको उच्चतम स्तरमा देखिएका छन् । मेस्सीले यो सिजन ६ खेलमा सात गोल गरिसकेका छन् ।   मेस्सीका सबै गोल उत्कृष्ट थिए । तर यो खेलमा गरेको पहिलो फ्रि–किक गोल भने निकै उत्कृष्ट रह्यो । उनले सन् २०१८ मा फ्रि–किकबाटै ८ गोल गरिसकेका छन् ।   मेस्सीले च्याम्पियन्स लिगमा ८ ह्याट्रिकसहित १०४ गोल गरेका छन् । यस्तै उनीले च्याम्पियन्स लिगका लगातार चौथ सिजन गोल गरेका छन् ।   यो रियल मड्रिडका लेजेण्ड राउलको कीर्तिमानसँग बराबरी हो । मेस्सीको लय र सुरुको शानदार जितले यो वर्ष बार्सिलोनाको दबाब च्याम्पियन्स लिगमा रहने देखिएको छ । देश सञ्चारबाट

निर्मला पन्तका हत्यारालाई कानूनी कारवाहीको दायरामा ल्याउ- राष्ट्रपति

काठमाडौँ, २९ भदौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कलिला बालबालिकामाथि हुने यौनजन्य हिँसा मानवताविरुद्ध कलङ्क भएकाले यसलाई जरैदेखि उखेल्नुपर्ने विचार व्यक्त गरेकी छिन् । राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह समेत गरिन् । राष्ट्रपतिले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् भएको र आफूलाई यस घटनाले अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गरिन् । राष्ट्रपतिले ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो भन्दै भनिन्, “हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ । ” राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार अन्त्य गर्न सकिने कुरामा जोड दिइन् । बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्नेमा जोड दिएकी छिन् । आजका बालबालिका भोलिका सक्षम र योग्य नागरिक हुन्, उनीहरुको जन्मदेखि नै स्वास्थ्य एवं शिक्षामा सरकारको विशेष ध्यान जानुपर्ने उल्लेख गरिन् । गर्दै यसवर्षको बाल दिवसको नारा “सुखी नेपाली, समृद्ध नेपाल बालअधिकार सबैको सरोकार” रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानप्रदत्त बालबालिकाका अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक ऐन तयार गरी मन्त्रालयले संसदमा प्रस्तुत गरेको जानकारी गराइन् । मन्त्री थापाले बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा बलात्कारका घटना अन्त्य गर्न सामूहिक प्रयासको खाँचो रहेको बताइन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव वुद्धिबहादुर खड्काले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न स्थानीय सरकार बढी सम्बेदनशील बन्नुपर्ने कुरामा जोड दिए । खगेन्द्र नवजीवन विद्यालय जोरपाटीमा कक्षा १० मा अध्ययरत छात्रा सविता थापाले पछिल्लो समय निर्धक्क रुपमा सडकमा हिंडडुल गर्न नसकिने अवस्था सिर्जना भएको बताइन् । बालअधिकारकर्मी गौरी प्रधानले बालबालिका शान्ति क्षेत्र हुन् यसका लागि तीनै तहका सरकारले बालमैत्री नीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिइन् । रासस

डोल्पाको बाटो बन्द भएपछि बामदेव रुकुम र प्युठान रोज्दै !

काठमाडौं, भदौ २६ । डोल्पाका सांसद बुढाले राजीनामा नदिने भएपछि वामदेवका लागि उपनिर्वाचन गराउने अर्को क्षेत्रको खोजी हुन थालेको छ । पूर्वी रुकुम र प्युठान विकल्प हुन सक्ने भन्दै छलफल चलेको छ । पूर्वी रुकुममा कमला रोक्का र प्युठानमा दुर्गा पौडेल सांसद छन् ।   ‘मलाई राजीनामा गराएर वामदेव गौतमलाई उठाउने विषय औपचारिक रूपमा मसमक्ष आइपुगेको छैन । तर, नेताहरूबीच अनौपचारिक छलफल भइरहेको मैले पनि सुनेकी छु,’ पूर्वी रुकुमबाट निर्वाचित सांसद रोक्काले भनिन् ।   यस्तै, वाम गठबन्धनअन्तर्गत प्युठानबाट निर्वाचित राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई राजीनामा गराउने विषयमा पनि अनौपचारिक छलफल भइरहेको एक नेताले बताए ।   यसअघि वामदेवले ललितपुर १ बाट निर्वाचित नवराज सिलवाल, नवलपरासी (नवलपुर) का तिलक महत र प्युठानबाट निर्वाचित दुर्गा पौडेलमध्ये एकलाई राजीनामा गर्न लगाएर उम्मेदवार बन्ने योजना बनाएका थिए । तर, तीनैजनाले अस्वीकार गरेपछि अन्तिम विकल्पका रूपमा डोल्पा रोजेका थिए । नयाँ पत्रिकामा खबर छ ।   केही दिनमै सचिवालयले निर्णय गर्छः वामदेव गौतम केही दिनभित्रै सचिवालय बैठक बस्दै छ । उपनिर्वाचनमा उठ्ने-नउठ्ने भन्ने विषयमा सचिवालय बैठकमा छलफल हुन सक्छ । उठ्ने-नउठ्ने भन्ने विषय बैठकपछि मात्र केही भन्न सकिएला ।

१० किलो सुन पक्राउ गर्ने प्रहरी पुरस्कृत

गोरखा, भदौ २५ । शनिबार १० किलो सुन पक्राउ गर्न सफल भएका गोरखाको चुमनुव्री गाउँपालिका ३ फिलिमस्थित सिर्दिवास प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक तुलबहादुर सेनलाई जिल्ला प्रहरी कार्यालयले नगदसहित पुरस्कृत गरेको हो । शनिबार सिर्दिवासबाट अवैध १० किलो सुनसहित छेकम्पारका दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा ५८ वर्षीय मुटुप लामा भन्ने छिरिङ मुटुप लामा र २८ वर्षीय लोप्चन तेन्वे छन् । छेकम्पारबाट आरुघाट ल्याउँदै गरेको अवैध सुन सिर्दिवास चेकपोष्ट अगाडि चेकजाँचका क्रममा बरामद भएको थियो । बरामद भएको सुन तिब्बतबाट ल्याइएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उत्तरी गोरखा सिर्दिवासको स्यात्ला नाकाबाट सुन ल्याएको पत्रकार सम्मेलनमा गोरखा प्रहरी प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए । प्रहरीकाअनुसार चीनको तिव्वतस्थित जोङ्ग भन्ने स्थानमा च्याङचिन भन्ने चिनियाँ नागरिकले सुन काठमाडौं पुर्‍याउन भनेका थिए । ‘त्यही नजिकै चिया पसल गरेर बस्ने तिव्वतका पासाङले समन्वय गरेर लामा र तेन्वेलाइ सुन काठमाडौ पुर्‍याइदिन भनेका रहेछन्’ एसपी बस्नेतले भने, ‘उनीहरुको फोन नम्वर राखेर काठमाडौ पुगेपछि तपाइलाई फोन आउँछ, त्यही व्यक्तिलाई सुन दिनु भनेछन् ।’ उनीहरु २१ भदौमा तिब्बतबाट हिँडेका थिए । नेपालको नाकासम्म ट्याक्टर चढेर आएका थिए । सुन काठमाडौं पुर्‍याए वापत नगद ५० हजार पाउने सहमति थियो । उत्तरी गोरखाबाट अवैध रुपमा सुनसहित अन्य सामानहरु ओसारपसार हुन्छ भन्ने सूचना पाएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको थियो । शनिबार सिर्दिवास चेकपोष्ट हुँदै आवातजावत गर्नेहरुको चेकजाँच भइरहेको थियो । करिव ४ बजेतिर समयमा लामा र तेन्वे लाइनमा नवसी अगाडि बढ्न थालेपछि प्रहरीले रोक्यो । चेकजाँचको क्रममा उनीहरुबाट १० किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । लामाले गलवन्दीभित्र सुन राखेर बाहिरबाट सिलाएका थिए र गलबन्दी कम्मर बेल्ट जस्तो बनाएर बाँधेका थिए । उनको साथबाट पाँच थान सुनको बिस्कृट, कानमा लगाउने कुन्दरा दुई थान (सात तोला) र दुई थान टप बरामद भएको छ । तेन्वेले भने पछाडि बोकेको झोलामा पाँच थान सुनको बिस्कुट बोकेको भेटिएको एसपी बस्नेतले बताए ।

संविधान दिवसः महानगर झिलिमिली बन्ने

काठमाडौं । काठमाडौंँ महानगरपालिकाले आगामी संविधान दिवस मनाउने क्रममा महानगरलाई झिलिमिली बनाउने भएको छ । आगामी असोज ३ गते मनाइने संविधान दिवसका लागि कामपा वृक्षारोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, विकासे र सांस्कृतिक झाँकी प्रदर्शन र सजावटको काममा लागेको छ । मूल समारोह अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ, मञ्चको विशिष्ट कक्षलगायत स्थानमा पिउने पानीको व्यवस्था र ध्वनिको व्यवस्था गर्ने कामपाले जनाएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले संविधान दिवस मनाउनका लागि तयारी गर्न सम्बन्धित सबै विभागीय प्रमुखलाई निर्देशन दिँदै सबै काम दिगो र प्रभावकारी रुपमा गर्नुपर्ने बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले ५ फिटभन्दा कम उचाइका विरुवा नरोप्न, रोपिएका विरुवालाई रोप्ने व्यक्ति वा संस्थालाई नै हुर्काउने जिम्मा लिन र बिरुवा रोपेर विज्ञापन राख्ने काम बन्द गर्न वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी महाशाखालाई निर्देशन दिए। दिवसका दिन मूल कार्यक्रममा सहभागी हुन आउने नागरिकलाई अघिल्ला वर्षमा जस्तो घाममा उभ्याउन नलगाई व्यवस्थित रुपमा बस्नका लागि स्थान तथा आवश्यक परेमा स्वास्थ्य सेवा र पानीको व्यवस्था कामपाले गर्ने छ । त्यससँगै ध्वजा पताकासहितको तोरण र बेलुन उडाइने तथा काठमाडौँ उपत्यकाका सबै नगरपालिकाको परम्परागत, सांस्कृतिक र जातीय पहिचानसहितको झाँकी र विभिन्न पेशागत समूहको प्रदर्शनमा महानगरले समन्वय गरिने काम कामपाको रहने बताइएको छ । रासस

वर्षाका कारण नेपाल र सिंगापुरबीचको खेल रोकियो [अपडेट]

काठमाडौं, भदौ १७ । एसिया कप छनोट अन्तर्गत नेपाल र सिंगापुरको खेल वर्षाका कारण रोकिएको छ । १५२ रनको विजयी लक्ष्य पाएको नेपालले ७ ओभरमा ३४ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।   यसअघि सिंगापुरले ४१.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १५१ रन जोड्न सक्यो । युकेएम ओभल मैदानमा खराब सुरुवात गरेको सिंगापुरले १८ रन बनाउँदा महत्वपूर्ण ३ विकेट गुमाएको थियो। सोमपाल कामीले प्रारम्भिक ब्याट्सम्यान अर्जुन मुत्रेजालाई शन्य र रोहन रंगराजन ८ रनलाई गर्दा ललितनारायण राजबंशीले अरिता दत्तालाई ८ रनमा आउट गरेपछि सिंगापुर नाजुक अवस्थामा पुगेको थियो।   ३ विकेट गुमेपछि चौथो विकेटको लागि कप्तान चेतन सूर्यबंशी र अनिश परमले चौथो विकेटकको लागि ८० रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए। सूर्यबंशीले ६१ रन बनाउने क्रममा ८८ बलमा १ छक्का र ८ चौका तथा अनिशले ३१ रन बनाउन ६७ बलमा २ चौका प्रहार गरे। अनिशलाई दिपेन्द्र ऐरीले २७ औं ओभरमा रन आउट गरेपछि सूर्यबंशीलाई पनि ललित राजबंशीले एलबिडब्लु गरे । त्यसपछि भने सिंगापुरले लगातार विकेट गुमाउन थाल्यो।   सिंगापुरलाई सस्तैमा रोक्ने क्रममा सन्दिप लामिछाने र ललितनाराण राजवंशीले उत्कृष्ट बलिङ गरे । दुवैंले समान ३ ३ विकेट लिए । यस्तै, सोमपाल कामीले २, पारस खड्का र बसन्त रेग्मीले समान १-१ विकेट लिन सफल भए । नेपालले केही बेरमा जावाफी ब्याटिङ गर्ने छ ।   प्रतियोगिताको फाइनल पुग्दै एसिया कप खेल्ने सपनालाई कायम राख्न नेपाललाई खेल जित्नै पर्ने दवाब रहेको छ । यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स (युएई) मा संचालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनोट प्रतियोगितामा भागलिंदै छन् ।   प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हङकङ, ओमान र सिंगापुर भिड्दै छन् । यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह ‘ए’ मा रहेर भारत र पाकिस्तानसंग समूह चरणमा खेल्ने मौका प्राप्त गर्ने छ।

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन

काठमाडौ, भदौ १५ । रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।विसं १९८२ असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उनकै निवासमा राखिने छ ।   रिमालले आफ्नो निधनपछि कुनै किसिमको तडकभडक नगर्न भनेकाले बिहान १० बजेपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने शिष्य एवं चलचित्र निर्देशक–अभिनेता सम्राट सापकोटाले जानकारी दिए ।

दोषीलाई कडा कारवाहीको माग

काठमाडौं, भदौ १३ । अन्तर पार्टी महिला सञ्जालले मुलुकभर महिला तथा बालबालिकामाथि भएका हिंसा र बलात्कारका घटनासम्बन्धमा छानबिन गरी कारवाही गर्न सरकारसँग माग गरेको छ । सञ्जालले बुधवार गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षणपत्र बुझाउँदै त्यस्ता घटनामा संलग्न दोषीलाई कुनै पनि बहानामा उम्मुक्ति दिन नहुने जनाएको हो । सञ्जालका अध्यक्ष नीलम बर्मा नेतृत्वको टोलीले पछिल्लो समय मुलुकभर महिला तथा बालबालिकामाथि हिंसा, बलात्कार र हत्याका घटना बढ्दै गएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । “कतै बोक्सीको नाममा महिलामाथि क्रूर यातना दिने काम भइरहेको छ भने कतै प्रथा परम्पराको नाममा महिलामाथि अपमान र तीरस्कार भइरहेको छ”, ध्यानाकर्षणपत्रमा उल्लेख छ । त्यस्ता घटनाले मानव अधिकारको खिल्ली उडाउनुका साथै महिला समुदायलाई नै अपमानित र आक्रोशित तुल्याएको सञ्जालले जनाएको छ ।

आज नेकपाका अध्यक्ष ओली र प्रचण्ड एकसाथ मधेश जादैँ, भव्य स्वागतकाे तयारी

काठमाडौं, भदौ २ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड शनिबार पहिलोपटक एकैसाथ जादै छन् । जनयुद्धका सहिद रामवृक्ष यादवको २४ औं स्मृतिसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड धनुषा जान लागेका हुन् । प्रधानमन्त्री ओलीले स्मृतिसभालाई सम्बोधन गर्नुअघि शनिबार बिहान ११ बजे प्रदेश नं. २ को प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिहान साढे १० बजे जनकपुर विमानस्थलमा आएर प्रधानमन्त्री ओली सिधा प्रदेशसभामा जानुहुने छ । प्रदेशसभामा नलाई भव्य स्वागत गर्ने तयारी गरेको छ । प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गर्ने हुँदा अनिवार्य उपस्थितिका लागि प्रदेश २ का सबै सांसदलाई म्यासेज पठाइएको सभामुख सरोज यादवले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भव्य स्वागत गर्न जनकपुर विमानस्थलदेखि प्रदेशसभासम्म ५ वटा स्वागत गेट निर्माण गरिएको छ । प्रदेशसभामा सम्बोधनपश्चात ओलीलाई प्रदेशसभा परिसरमै मिथिला भोजन दाल,भात, तरुवा, तरकारी, करही बरी र माछालगायत खाना खुवाएर पनि स्वागत गर्ने तयारी रहेको सभामुख यादवले बताए । ओली र प्रचण्ड पहिलो पटक यादवको स्मृतिसभालाई संयुक्त रुपमा सम्बोधन गर्न लागेका हुन् ।

जनताको सरकार हो भन्ने विश्वास दिलाउन जरुरी छ : प्रचण्ड

काठमाडौं, भदौं १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अहिलेको सरकार जनताको सरकार भन्ने विश्वास दिलाउने गरी जनमुखी काम गर्नु पर्ने बताएका छन् । शुक्रबार राजधानीमा अयोजित नेपाल मण्डल पर्यटन महोत्सव २०७४–७५ ‘टिष्टा–काँगडा नेपाल एकीकरण, वीर योद्धाहरुको सम्झना र सम्मान’ विषयक राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘निर्वाचनपछि सरकार गठन भएको झण्डै ६ महिना हन लाग्यो, कता कता जनताले सोचे जस्तो नहुने पो हो कि ? महंगी बढेको कुरा, कर बढेको कुरा र सरकारका कामकारबाहीहरु जनताले सोचे जस्तो भएनन् भन्ने गुनासो आएको छ । जनतालाई के विश्वास दिलाउन जरुरी छ भने यो जनताकै सरकार हो र जनताकै निम्ति समर्पीत छ भन्ने विश्वास दिलाउने एतिहासिक दायित्व हाम्रो काँधमा छ ।’ ‘मैले हिजोमात्रै प्रधानमन्त्रीजीसँग यी विषयमा हामीले समीक्ष गर्न जरुरी छ भनेको छु । हाम्रो सरकारका, हाम्रा मन्त्रालयका कामहरु, हाम्रो बजेटसँग सम्बन्धित कामहरुमा केही करेक्सन गर्नुपर्नै छ भने करेक्सन गर्न आँट पाि गर्नुपर्छ,’ प्रचण्डले भने । सरकार जनताका गुनासा र आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रचण्डले भने, ‘अहिले हामी त्यो समीक्षाको प्रक्रियामा पनि छौं र जनआवाजलाई गम्भीरतापूर्वक विचार गर्नै प्रकियामा पनि छौं ।’ गौरबपूण एतिहासिक क्षणहरु जसले नेपाललाई विश्वसामु स्थापित गरेर एउटा स्वतन्त्र आत्म सम्मानसहितको राष्ट्रको रुपमा नेपाललाई राखे र हामी नेपालीहरुलाई वीरविरङ्गाको देशको रुपमा हाम्रो पहिचान बनाए उनीहरुलाई एउटा संक्षिप्त कार्यक्रममार्फत सम्झीने र सम्मान गर्ने आयोजककालाई प्रचण्डले धन्यवाद दिए । उनले भने, ‘आफ्नो मौलिक, संस्कृति पहिचानसहितको जातीय विविधता, क्षेत्रीय विविधता र ती विविधताभित्र एउटा नयाँ राष्ट्रिय एकतासहितको नपाल बनाउन जुन जुन कालखण्डमा जुन जुन पात्रहरुले भूमिका खेले तिनीहरुलाई कलामार्फत जसरी यहाँ प्रदर्शित गरिएको छ र अहिलेको नयाँ संघीय गणतन्त्र नोललाई प्रतिकात्मक रुपले प्रस्तुत गर्ने दंगले नेपाल मण्डल पर्यटन नगरी भनेर जे परिकल्पना गरिएको छ त्यो आफैमा एउटा मौलिक परिकल्पना भएको मलाई महशुश भएको छ ।’ प्रचण्डले राजनीतिक परिवर्तन विशेष गरी राजतन्त्र फालेर गणतन्त्र ल्याउन सबैभन्दा ठूलो संघर्ष, त्याग र तपश्य गर्ने व्यक्तिहरुलाई पहिलो राष्ट्रपति र उपराष्ट्रपति बनाउन नसकेकाले जनताले परितर्वन अनभुत गर्न नपाएको बताए । प्रचण्डले भने, ‘अहिले हामी जे अप्ठ्याराहरु र जे उतारचढावहरु देखिरहेका छौं । यति ठूलो संघर्ष र यति डूलो बलिदानपछि आएको परिवर्तन जनताले राम्रोसँग आफ्नो जीवनमा अनभूत गनैृ गरी महशुश गर्न किन गाह्रो भइरहेको छ भनेर हेर्यो भने यो परिवर्तनका लागि बसैभन्दा बढी संघर्ष गर्नै व्यक्तिलाई किन गणतन्त्र नेपालको पहिलो राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित गर्न सकेनौ भन्नेबाट शुरु हुन्छ ।’ कार्यक्रममा संस्कृतिविद एवं युग पुरुष सत्यमोहन जोशी, पत्रकार भैरव रिसाल, नेत्री शान्त श्रेष्ठ, गायक जीवन शर्मा, जेबी टुहुरे, कलाकार नवल खड्का, संगीतकार बिबि अनुरागी लगायतका आफ्नो क्षेत्रमा राष्ट्रका लागि योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रचण्डले सम्मानपत्र प्रधान गरेका थिए ।

सपन श्रेष्ठलाई पेस्कोको आर्थिक सहयोग

इटहरी । कला भएर पनि आफ्नो गायन कलालाई अघि बढाउन नसकेको नवप्रतिभा सपना श्रेष्ठलाई पेस्को मेकअप स्टुडियो इटहरीले आर्थिक सहयोग गरेको छ । पछिल्लो समय उनको गीत रेकर्ड तथा भिडियो निर्माणको लागि केही आर्थिक अभाव भइरहेको थियो । करिब १ महिना अघिबाट युट्युबमा एक अन्तर्वार्ता सार्बजनिक भएपछि उनको गायन कलाले चर्चा पाएको थियो । पेस्को सञ्चालिका मनिता तामाङले सपनको गायन कला युट्युबमा देखेपछि ५ हजार आर्थिक सहयोग गरेकी हुन् । विगत २७ वर्षदेखि ईटहरीमा मनिताको मम्मीले रुप कला ब्युटी पार्लर संचालन गर्दै आईरहेकी छिन् । आफ्नो मम्मीको पेशालाई आत्मसात गर्दै पछिल्लो समय बढ्दै गएको आधुनिकीकरणलाई ख्याल गरेर मनिताले केही महिनामात्र अत्याधुनिक स्टुडियोसहित पेस्को संचालनमा ल्याएकी हुन् । सपनाले युट्युबमा धेरैको माया पाएका छन् भने उनलाई हौसला दिनेहरु पनि दिन प्रतिदिन बढिरहेका छन् । सपनाको ‘सुरमै जादु छ! बोलको पहिलो गीतको ट्र्याक गायक कमल खत्रीले उपलब्ध गराइसकेका छन् । हाल सपना सोही गीत रेकर्डिङको लागि तयारी गरिरहेका छन् । भिडियोको लागि द मोन्टाज क्रीयशन काठमाडौका पवन सुस्लिङले छायांकन र सम्पादनको जिम्मा सपना सुरुमा मिडियामा आउने साथ लिएका थिए । यता भिडियोमा मोडलिङको लागि ‘रातो लिबिस्टिक’, ‘महसुस’ लगायत थुप्रै भिडियो खेलेर चर्चामा आएका शुभम शाहले सपनलाई सहयोग स्वरुप बिना पारिश्रमिक अभिनय गर्ने पक्का भएको छ भने केटी मोडल भने फिक्स हुन बाकी नै रहेको छ । गीत रेकर्डदेखि भिडियो निर्माणसम्मको ब्यवस्था मिलाउन सुरुदेखि जुटेका डिग्री अनलाइनका सुवास संकल्पले ‘अब केही रकम अपुग छ, सो रकम उठिसकेपछि काठमाडौ गीत रेकर्डका लागि जाने र रेकर्ड पछि लगत्तै भिडियो छायांकन पनि गरेर फर्किने’ जानकारी गराए । हेर्नुस् सपन श्रेष्ठको पहिलो अन्तरबार्ता–

अब बलात्कार गरी हत्या गर्नेलाई बाँचुञ्जेल जेल

काठमाडौं, साउन २६ । अब जबरजस्ती करणी गरी ज्यान मार्नेलाई जीवनभर सजाय हुने भएको छ । बलात्कार र हत्याका घटना दिनहुँ बढिरहेको भन्दै त्यसलाई रोक्न अब यस्तो कडा कानूनको ल्याइन लागिएको हो । यो कानून भदौं १ गतेदेखि लागू हुँदै छ । नयाँ मुलुकी संहिताले जबर्जस्ती करणी गरी ज्यान मार्ने कसुरमा संलग्नलाई जीवित रहँदासम्म कैद सजाय हुने व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद पाँचको दफा ४१ ले यस्तो व्यवस्था गरेको हो । उक्त दफाले क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मार्ने, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मार्ने, अपहरण गरी वा शरीर बन्धक बनाइ ज्यान मार्ने कसुरमा संलग्नलाई जीवित रहेसम्म कैद सजायको व्यवस्था गरेको हो । यसअघि अपहरण गरी वा शरीर बन्धक बनाई ज्यान मार्ने अभियोगका कसुरदारलाई जन्मकैदको मात्रै व्यवस्था थियो ।

यसरी अाउँदै छ वागमतीको पानी काठमाडौंवासीका घरमा (भिडियासहित)

काठमाडौं, साउन १५ । मेलम्ची खानेपानी काठमाडौंमा आउनु भन्दा पहिला वागमतिको पानी काठमाडौंबासीलाई वितरण गर्ने काम करीब अन्तिम चरणमा पुगेको छ । त्यसको तयारी स्वरुप अहिले सुन्दरीजलबाट वागमतिको पानी ल्याई मेलम्ची खानेपानी आयोजनाका लागि विछ्याइएको पाइप परीक्षण गर्ने र पलाख्ने (फ्लसिङ) को कामलाई परियोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) ले तीब्रता दिएको छ । पहिलो चरणमा सुन्दरीजलदेखि धोवीघाटसम्म करीब ११ किलोमिटर पाइप परीक्षण र फ्लसिङको काम भइरहेको पीआइडीका निर्देशक तिरेसप्रसाद खत्रीले जानकारी दिए । उनका अनुसार चरणमा गएको महिनादेखि शुरु भएको सुन्दरीजल–धोवीघाट फ्लसिङको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्मकै ठूलो तहमा मंगलबार पाँच हजार क्युविक मिटर प्रतिघण्टाका दरमा पाइप फ्लसिङको काम सम्पन्न भएको छ । यदि अहिलेकै गतिमा काम भए अबको चार पाँच दिनमा सो खण्डको फ्लसिङको काम सकिने उनले बताए । सुन्दरीजलदेखि घोवीघाटसम्म १७ वटा एयरभल्भ राखिएको छ । जुन पाइपमा जम्मा भएको हावा बाहिर निकाल्न प्रयोग हुन्छ । भने सो दुरीमा विभिन्न स्थानमा गरी सातवटा वासआउट राखिएको छ । वासआउटबाट पाइपमा आएको पानी बाहिर फ्याकेर पाइपमा जम्मा भएको वा जमेको फोहोर (माटो र बालुवा) बाहिर निकाल्ने गरिन्छ । सुन्दरीजलदेखि धोवीघाटसम्मको फ्लसिङको काम सकिएपछि । बाँकी क्षेत्रमा फ्लसिङको काम हुने शुरु हने छ । तर बाँकी क्षेत्रमा कम समयमा नै फ्लसिङको काम सकिने र फ्लसिङको काम सकिए लगत्तै काठमाडौंवासीलाई पानी वितरण गर्ने तयारीमा पीआइडी रहेको छ । उता खानेपानी मन्त्री बीना मगर पनि दशैंभन्दा अगाडि नै काठमाडौंवासीको धारामा पानी पुर्याउने मिसनमा रहेकी छन् । सो अनुरुप निर्देशन पनि दिएकी छन् ।

डा केसीसँगको सहमति अनुरुप सत्तारुढ दलका सांसदद्वारा संशोधन दर्ता

काठमाडौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का साँसदहरुले प्राडा. गोविन्द केसीसँग सरकारले गरेको नौं बुँदे सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गरेका छन्। नेकपाका प्रमुख सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल र शान्ता चौधरीले विधेयकमाथि मंगलबार संशोधन दर्ता गराएको संसद सचिवालयले जनाएको छ । विधेयकमाथि नेकपाबाहेक अन्य ५ वटा संशोधन दर्ता भएका छन्। कांग्रेस सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले पनि संशोधन दर्ता गरेका छन्। कांग्रेसकै भरत गौतम र सञ्जयकुमार गौतमले पनि संशोधन दर्ता गराएका छन्। त्यस्तै, राष्ट्रिय जनता पार्टीका अनिलकुमार झा, नेकपाका गंगा चौधरी सत्गौवा, लक्ष्मीकुमारी चौधरी र आशाकुमारी विकले पनि संशोधन विधेयक दर्ता गरेका छन्। त्यस्तै कांग्रेसका भरतकुमार साह र दिलेन्द्र प्रसाद बडुले संशोधन दर्ता गराएका छन्। डा केसीको २७ दिन लामो आमरण अनशन तोडाउने क्रममा सरकारले संसदमा विचाराधिन विधेयक फिर्ता नहुने तर त्यसमा आवश्यक संशोधन गर्ने गरी २२ वटा बुँदामा संशोधन गर्ने सहमति भएको थियो । सत्तारुढ दलमा सांसदले डा केसीसँगका सहमति अनुरुप विधेयकमाथि संशोधनको प्रस्ताव दर्ता गराएका हुन् । सहमतिमा के छ सरकार र प्राडा केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ । आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका शिक्षण संस्थाका हकमा भने सम्बन्धित शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्नेछ । त्यस्ता शिक्षण संस्थाले प्राथमिकता तोकिएका क्षेत्रमा स्थानान्तरण गर्न चाहेमा सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराउनेछ । विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले आफ्नो आंगिक कार्यक्रम नभएका विषयमा कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने पनि जनाइएको छ । त्यस्तै एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । यसअघि सम्बन्धन दिइसकेको चिकित्सा शिक्षण संस्थामा सो प्रावधान लागू हुनेछैन । काठमाडौँ उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा भने नीति निर्माण गरी निर्णय गरेबमोजिम हुने जनाइएको छ । त्यस्तै प्रमाणपत्र तहमुनिका स्वास्थ्यसम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रम अबदेखि सञ्चालन नगर्ने तथा हाल चालू रहेका कार्यक्रम पनि ऐन लागू भएको मितिले पाँच वर्षभित्र क्रमशः फेजआउट गर्दै जाने, परिषद्अन्तर्गत प्रमाणपत्र तहका स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रमको प्रवेश परीक्षासम्बन्धी व्यवस्था चिकित्सा शिक्षा आयोगको समन्वयमा परिषद्ले गर्ने बताइएको छ । सार्वजनिक शिक्षण संस्थाले स्नातकस्तरको कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका लागि व्यवस्था गर्नुपर्ने र आयोगको परामर्शमा त्यस्तो सिट क्रमशः वृद्धि गर्दै लैजान सकिने पनि उल्लेख छ । नेपाली विद्यार्थीका हकमा ऐन प्रारम्भ भएपछि सञ्चालन गरिने चिकित्सा क्षेत्रको स्नातकोत्तर तहका सबै सरकारी शिक्षण संस्थामा निःशुल्क हुनेछ । परिषद्अन्तर्गतका शिक्षण संस्थामा आयोगले तोकेबमोजिमको न्यूनतम योग्यता र अनुभव भएका प्रशिक्षकको व्यवस्था गर्नुपर्ने पनि सहमतिमा उल्लेख छ ।