माेदीकाे सुरक्षार्थ भारतीय सुरक्षाकर्मी अावश्यक थिएन : एमाले नेताहरु

काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा आएको भारतीय सुरक्षाकर्मीको टिम तैनाथ छ ।

भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका सुरक्षाकर्मीको टिमले मोदीको भ्रमणका बेला अपनाइने सुरक्षा घेराको स्केच तयार पारेको छ।

नेपाली सुरक्षाकर्मीको सल्लाहमा तयार पारिएको मोदीको सुरक्षा घेराको स्केच अत्यन्तै गोप्य राखिएको छ।

तर यो कार्यको स्वमं सरकारको नेतृत्वकर्ता दल एमालेका नेताहरुले मन पराएका छैनन् । एभरेष्टदैनिकसंग संछिप्त कुरा गर्दै एमालेका एक नेताले भने, “त्यसो नगरेको भए हुन्थ्यो, भयो यसमा धेरै नकारात्मक हुनुपर्ने केहि छैन् । ”

तर सामाजिक सञ्जालमा यसको तिव्र विराेध भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी तैनाथ रहनेछन्। मोदीको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेनालाई खटाइएको छ।

दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र मोदीको सबभन्दा नजिकको अन्तिम घेरामा भारतीय सुरक्षाकर्मी खटिनेछ।

राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई सादा पोसाकमा अर्को घेरामा तैनाथ गरिएको छ ।

सुरक्षाकर्मीले मोदी चढेको हेलिकप्टरको हेलिप्याड, उनको नागरिक अभिनन्दन गरिने मञ्च र पन्डाल तथा कति दूरीमा सर्वसाधारण राख्ने र त्यहाँको सुरक्षा व्यवस्था कसरी मिलाउने, त्यसको स्केच तयार पारेको छ।
‘मोदीको भ्रमणका बेला जनकपुरको शान्ति–सुरक्षाको बन्दोबस्त उच्चस्तरको मिलाइनेछ,’ आन्तरिक मामिलामन्त्री यादवले भने, ‘सुरक्षा बन्दोबस्त कडा हुनेछ।’
सुरक्षाकर्मीले गाडी वा पैदल दुवै अवस्थामा हुने मोदीको यात्रालाई केन्द्रित गरेर सुरक्षाको बन्दोबस्त मिलाएको छ।

मोदीको जनकपुर भ्रमणका बेला करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आन्तरिक मामिलामन्त्री यादवको अध्यक्षतामा बनेको सुरक्षा समितिमा आन्तरिक मामिला राज्यमन्त्री, मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका सचिव छन्।

सुरक्षा ‘खतरा’ हुन नदिन प्रदेश सरकारले जनकपुर आउने र बाहिरिने मानिसहरूको निगरानी र तथ्यांक संकलन गरेको छ।
ट्राफिक प्रहरीलाई यो अवधिमा जनकपुर आउने र बाहिरिने व्यक्तिको सबै विवरण राख्न प्रदेश सरकारले निर्देशन दिएको थियो। होटल तथा पसलमा समेत निगरानी बढाइएको छ। होटल सञ्चालकलाई ग्राहकको प्रमाण खुल्ने सबै विवरण दुरुस्त राख्न भनिएको छ।

अवैध लागूऔषधसहित राजधानीबाट पाँच जना पक्राउ

काठमाडौं, वैशाख २४ । काठमाडौं महानगरपालिका–१७ बालाजु बस्ने १७ वर्षीय बिश्व सेनलाई लागूऔषध नाइट्राभेट ट्याब्लेट १५ सय थानसहित सोमबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ चेकप्वाइन्टमा पोखराबाट काठमाडौं आउँदै गरेको बा१६च २२०३ नम्बरको गाडी जाँच गर्ने क्रममा सेनले झोलामा लुकाईछिपाई ल्याएको उक्त लागूऔषध फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । यसैगरी काठमाडौं महानगरपालिका–१६ बनस्थलीबाट नुवाकोट बिदुर नगरपालिका–१३ कल्याणपुरका २४ वर्षीय धनबहादुर तामाङलाई करीब १ केजी चरेश जस्तो देखिने लागूऔषधसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी, भक्तपुरको ब्यासी बस्ने १८ वर्षीय थुनिस बासुकला र भक्तपुर उपमहानगरपालिका–१० महालक्ष्मीस्थान बस्ने १८ वर्षीय मुकेश गोपीलाई लागूऔषध चरेश ३ ग्रामसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी र चोरी सम्बन्धी मुद्धाको महानगरीय प्रहरी परिसर भक्तपुरमा रहेका थुनुवा सुजन हेङगजुलाई भेट्न आएका थुनिस र मुकेशलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट उक्त लागूऔषध बरामद भएको प्रहरीले बताएको छ । ललितपुर महानगरपालिका लगनखेल चोकबाट काठमाडौं डल्लु बस्ने २४ वर्षीय सविन शाहीलाई १० ग्राम लागूऔषध चरेश, नाइट्रोभेट क्याप्सुल १० थान, नगद १४ हजार ८ सय ४६ नेपाली रुपैयाँ, ३ सय १० भारतीय रुपैयाँ र मोबाईल १ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मेस्सी र रोनाल्डोको अन्तिम भिड्न्त, गर या मरको अवस्थामा रोनाल्डो

काठमाडौं, वैशाख २३ । स्पेनिस ला लिगाको जारी सिजनमा अपराजित रहदै एक खेल बाँकी छदै बार्सिलोनाले गतसाता उपाधि जितिसेको छ । अब उसको एक मात्रै लक्ष्य भनेको जारी सिजनलाई अपराजित टुंग्याउनु हो । यी प्रतिस्पर्धी आज अन्तिम खेल खेल्दै छन् । उसको बाटोको मुख्य बाधक बनेर आइतबार राति रियल म्याड्रिड उसैको घरेलु मैदानमा भिड्दैछ। एल क्लासिकोको यस सिजनको अन्तिम खेलमा यी दुर्इ टोली आज राति भिड्न लागेका हुन्। यस सिजनमा हार नबेहोरेको बार्सिलोना घरेलु मैदानमा त्यसलार्इ निरन्तरता दिने सोचमा छ भने उपाधि गुमाइसकेको रियल बार्सिलोनालार्इ पराजित गर्दै घाउमा मल्हम लगाउने दाउमा छ । यस सिजनको एल क्लासिकोमा भने यी दुर्इ टोलीहरुबीच कडा प्रतिस्पर्धा भएको छ। यसअघि भएका पछिल्ला चार एलक्लासिकोमा दुवै टोलीले २–२ खेल जितेका छन्। एल क्लासिकोको इतिहासमा २३६ भेटमा रियलले ९६ र बार्सिलोनाले ९२ खेल जितेको छ।

दिउँसाे २ बजे नेपाली काँग्रेसको बैठक : पदाधिकारी मनोनयनको कार्यसूची

काठमाडौँ । नेपाली काँग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा पदाधिकारी मनोनयनको कार्यसूची रहेको पार्टी कार्यालयले जनाएको छ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्नुहुने र कार्यसमितिबाट त्यसलाई अनुमोदन गराउनुपर्ने केन्द्रीय सदस्य मीन विश्वकर्माले राससलाई जानकारी दिनुभयो । विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था छ । आजको बैठकमा सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतको नाम प्रस्ताव गर्नुहुने संस्थापन पक्षका एक केन्द्रीय सदस्यले बताउनुभयो । उहाँका अनुसार यसअघि सभापति देउवाले सहमहामन्त्री पद नेता पौडेल पक्षलाई दिने मनसाय बनाएको भए पनि पार्टीभित्रको पछिल्लो घटनाक्रमले त्यसमा फेरबदल आएको हो । वरिष्ठ नेता पौडेल पक्षले भने महाधिवेशन भएको दुई महिनामा गर्नुपर्ने पदाधिकारी मनोनयन दुई वर्षसम्म पनि नगर्दाको अवस्थामा विधानको प्रावधानलाई समेत सम्बोधन गर्ने गरी सहमतिमै पदाधिकारी मनोनयन गर्दा राम्रो सन्देश जाने सुझाव दिएको छ । साथै मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदार र सो दलका नेतालाई समेत व्यवस्थापन गर्ने गरी निर्णय गर्नुपर्ने केन्द्रीय सदस्य दीलेन्द्र बडूको भनाइ छ । सभापति देउवाले भने तत्काल नेता गच्छदारलाई वरिष्ठ नेता पौडेलपछिको वरियतामा वरिष्ठ नेताको स्थान दिने तयारी गर्नुभएको छ । काँग्रेसको हालको विधानले निर्वाचित केन्द्रीय सदस्यलाई मात्र पदाधिकारीमा मनोनयन गर्न पाउने व्यवस्था गरेको छ । यसअघि पदाधिकारी मनोनयनका लागि निर्वाचित पदाधिकारी एवं सदस्यको बैठक यही वैशाख १७ गते बस्ने भनिएकामा विशेष कारणवस स्थगित भएपछि बैठक आजका लागि बोलाइएको हो । वरिष्ठ नेता पौडेल पक्षले केन्द्रीय कार्यसमिति बैठक अघि पदाधिकारी मनोनयन सम्बन्धमा आन्तरीक छलफल गर्दैछ भने सभापति देउवा पक्षले सबै पदाधिकारी आफ्नै पक्षबाट मनोनयन गर्ने तयारी गरेको छ । यस अघि पार्टी केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनमा पार्टी पराजयको जिम्मा कसले लिने भन्ने सम्बन्धमा पनि दुबै पक्षबीच विवाद भएको थियो । अन्ततः गत चैत ९ गतेदेखि वैशाख १६ सम्म चलेको समीक्षा बैठकले पार्टी प्रतिकूल भएको निर्वाचन परिणामको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय गरेको थियो । सो बैठकले काँग्रेसजिल्ला सभापति भेला आगामी जेठ अन्तिम सातामा आयोजना गर्ने, पार्टीको विधानलाई परिमार्जन एवं संशोधनलगायतका कार्य आगामी भदौमा हुने पार्टी महासमितिको बैठक गर्ने तयारी पनि गरेको छ । रासस

चर्चित अभिनेत्री क‌ंगनाको नयाँ घर यस्तो छ (फोटोफिचर)

मुम्बई । बलिउड अभिनेत्री कंगना रनोटकाे नयाँ घरकाे विभिन्न ए‌ंगलबार लिइएका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । बलिउडमा चर्चामा रहेकी सफल अभिनेत्री कंगनाले भर्खरै मात्रै मनालीमा बनाएकाे नयाँ घरको तस्वीरहरु अहिले बलिउडमा चर्चामा रहेकाे छ । अभिनेत्री कंगनाको नयाँ घरको फोटो आर्किटेक्चुअल डाइजेस्ट इण्डिया म्यागजिनका लागि यो फोटोसुट गरिएको थियो । तस्वीरमा देखाइएका ८ वटा बेडरुममध्ये एउटा कंगनाको स्पेशल काेठा रहेको छ । कंगना हिमाचलकी बासिन्दा हुन । त्यसैले  कंगनाकाे स्पेसल काेठाबाट हिमालको दृश्य सजिलै  देख्न सकिने बनाइएकाे छ । उनको घरका इन्टिनियर डिजाइनर ऋचा बहलले गरेका हुन् । कंगनाको घरकाे मूल्य  ३० करोड अभिनेत्री कंगनाकी घरको मूल्य करीब ३० करोड रुपैयाँ लागतमा बनाइएकाे बताइएकाे छ । कंगनाले  १० कराेड रुपैयाँमा जमिन खरिद गरेकी थिइन् । साे जमिनमा उनले २० कराेड खर्च गरेर घर बनाएकी हुन।  यस लक्जरी बंगलामा ८ बेडरुम रहेका छन् । यसको साथै डाइनिंग रुम, फायर प्लेस, जिम, भिन्नै योगा रुम पनि रहेकाे छ । कंगनाका बेडरुम क्लासिकल आर्मचेयर र जयपुर रग्स कार्पेटले सजाइएकाे छ । भित्तामा मुम्बईबाट किनेका कस्टमाइज पिस लगाएकी छन् र बेडको राफ लारेनको होम कलेक्शनबाट लिएका हुन् । एन्ट्रेसबाट अचम्म आइटम्स झुण्ड्याएका छन् र पाहुनाको लागि बेडरुमको डिजाइन लेनबाट डिजाइन गरेका हुन् । कंगनाकाे परिवारिका पृष्ठभूमि अभिनेत्री कंगनाका पिता अमरदीप रनोट एक व्यवसायी हुन् र आमा आशा रनोट स्कूल शिक्षिक हुन् । उनकी ठूलो दिदी पनि छिन् जसको नाम रंगोली हाे । रंगोली, कंगनाकी म्यानेजर पनि हुन् । एसिड आक्रमण जस्ता दुःखद घटना झेलिसकेकी रंगोलीको लाइफबारे कंगना बायोपिक बनाउने इच्छा राख्दछिन् । कंगनाको एउटा भाई पनि छन् जसको नाम अक्षत रनोट हुन् । रनोटले अभिनय गरेका चलचित्र  २३ मार्च १९८७ को हिमाचल प्रदेशको मन्डी जिल्लामा अवस्थित सुरजपुर (भावंला) मा जन्मेकी कंगनाले २००६ सालमा चलचित्र ‘ग्याङस्टर’ बाट आफ्नो फिल्मी यात्रा सुरुवात गरेकी थिइन् । यसको अलावा उनले फेशन , वो लम्हे, लाइफ इन मेट्रो, वन्स अपन ए टाइम इन मुम्बई, तनु वेड्स, मनु, क्विन, तन् वेड्स मनु रिटन्र्स जस्ता सुपरहिट चलचित्रमा अभिनय गरिसकेकी छन् । हालैमात्र रिभल्वर रानी, नो प्रोब्लम, नक आउट, आई लव एक वायु, कट्टी बट्टी, रंगुन जस्ता चलचित्र बक्स अफिसमा असफल रहेका छन् । अभिनेत्री क‌ंगना रनोटका नयाँ घरको केही तस्वीरहरु-  

प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

मुस्ताङ । मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ । मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको हो । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका साथै सुरक्षा वस्तु अवस्थाको बारेमा जानकारी लिएर फर्किएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेर सुरक्षा तयारी तीव्र बनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो । उहाँले हाल मुस्ताङको सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिनुभयो । वैशाख २८ गते मोदी धार्मिक भ्रमणका लागि जनकपुरदेखि हेलिकोप्टरमार्फत मुक्तिनाथ आउने कार्यक्रम तय भएको छ । मुक्तिनाथ मन्दिरदेखि केही तल दुई वटा हेलिप्याड रहेका छन् । थप एकवटा हेलिप्याड निर्माण गरिने प्रजिअ पौडेलले बताउनुभयो । सीमानाका र मुक्तिनाथ क्षेत्रमा सुरक्षा सतर्कताका साथ चेकजाँच तथा गस्ती गरिएको छ । आकस्मिक उपचारको समेत व्यवस्था गरिएको छ । मुक्तिनाथ समुद्री सतहदेखि तीन हजार ८०० सय मिटरको उचाइमा अवस्थित छ । भ्रमणलाई लक्षित गरेर बेनी—जोमसोम सडक तीन दिनका लागि खुल्ला गरिने भएको छ । ७६ किलोमिटर दूरीको बेनी—जोमसोम सडक स्तरोन्नतिका लागि दैनिक आठघण्टा बन्द गरिँदै आएको छ । भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणले नेपाल—भारत सम्बन्ध जनस्तरमा अझै बलियो हुने र मुक्तिनाथको महत्वको बारेमा उजागर भई धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको मुस्ताङका नागरिक अगुवा चन्द्रबहादुर थकालीले बताउनुभयो । मुक्तिनाथमा मोदीको स्वागतका लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष छेम्चोक छेक्तेन गुरुङको संयोजकत्वमा एक समिति पनि गठन भएको छ । रासस

हटाइएका बिदा पुनरावलोकन गरिदिन अध्यक्ष प्रचण्डसँग आदिवासी जनजातिको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आदिवासी जनजाति महासंघका प्रतिनिधिले सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन् । अध्यक्ष निवास खुमलटारमा बिहीबार बिहान भेट गर्दै उनीहरुले सांस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौती भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए । अध्यक्ष प्रचण्डले समुदायसँग छलफल नगरी कटौति भएका बिदा पुनरावलोकनको पहल गर्ने बताउनुभयो । उहाँले त्यसै पनि धेरै बिदा भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने बताउनुहुँदै सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको बताउनुभयो । ‘अहिले दिइरहेको बिदा कटौती गर्ने भन्ने छलफल भएको विषय होइन । बिदाको पक्षमा तपाईहरुलाई मेरो सहयोग हुन्छ,’ उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अोलीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताउनुभयो । उहाँले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको विषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास दिलाउनुभयो । उनीहरुले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धि भएको भन्दै सरकारले कुनै सरसल्लाह बिना नै बिदा कटौती गरेको बताए । त्यसैगरी आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निश्क्रिय बनाएको, गुम्वा विकासमा बजेट नदिएको दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामाङ्कनमा पहिचान छुटाएको लगायतका गुनासो आदिवासी जनजातिहरुको थियो ।

देउवाले रोकेको भारतीय सहयोग, ओलीले खोलीदिए

काठमाडौं, बैशाख २० । भारतले नेपालमाथि लगाएको नाकाबन्दीको विरोध गरेर र नेपालको सार्वभौमसत्ताको सुरक्षा गर्नेजस्ता नारा दिएर कम्युनिस्ट गठबन्धनको नाममा बहुमत ल्याउन सफल प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवाको सरकारले समेत नगरेको एउटा काम गरेर देखाएका छन् । शेरबहादुर देउवाको सरकारलाई अत्यधिक भारतमुखी भएको भन्दै सर्वत्र आलोचना गरिएको भए पनि भारतले नेपालका साना परियोजनामा सिधै लगानी गर्ने गलत परिपाटीमाथि उनकै कार्यकालमा रोक लगाइएको थियो । तर, कम्युनिस्ट सरकार बनेको दुई महिना नबित्दै साना परियोजनाको नाममा एउटा परियोजनामा रु. पाँच करोडसम्म भारतीय दूतावासले सिधै लगानी गर्नसक्ने बाटो यस सरकारले खोलिदिएको छ । नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक, ऐतिहासिक तथा शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता क्षेत्रमा भारतले सिधै हस्तक्षेप गर्छ भन्ने चित्त दुखाइको मुख्य कारक नै साना आयोजनामा भारतीय दूतावासले सिधै सहयोग गर्नसक्ने प्रावधान हो । यस्तो परियोजनामा सहयोग गर्ने बहानामा स्थानीय स्तरसम्मको राजनीतिमा भारतीय दूतावासको सिधै हस्तक्षेप हुने कारणले गर्दा पनि यस्तो सहयोगको विरोध भएको थियो । त्यतिमात्र नभई सहयोग दिएको आयोजना उद्घाटन गर्दै हिंडेर भारतीय राजदूतले नेपालमा समानान्तर प्रधानमन्त्रीको जस्तो व्यवहार गरेको पनि आरोप लाग्ने गरेको थियो । नेपाल सरकारसँग कुनै प्रकारको अनुमति नलिई भारतले सिधै तीन करोडसम्मको सहयोग गर्नसक्ने प्रावधान सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला पहिलोपल्ट सन् २००३ मा सुरु गरिएको थियो । पछि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यो लगानी गर्न पाउने अधिकतम रकम बढाएर पाँच करोड बनाइएको थियो । तर, यो सम्झौताको म्याद सन् २०१७ अगस्ट ५ मा सकिएपछि संवैधानिक प्रावधानका कारण यसको नवीकरण गर्न नमिल्ने भन्दै शेरबहादुर देउवाको सरकारले रोकेर राखेको थियो । नागरिक दैनिकमा सुरेन्द्र पौडेलले संप्रेषण गरेको समाचारअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आएर केपी शर्मा ओलीको सरकारले यो सम्झौतालाई नवीकरण गरिदिएको छ । नागरिकले यो सम्झौता नवीकरण भएको जानकारी अर्थ मन्त्रालयको स्रोतबाट लिएको समाचारमा उल्लेख छ । सुन प्रकरणका सात प्रश्न तेत्तीस किलो सुन बेपत्ता भएको र ३ व्यक्तिको ज्यान गएको प्रकरणमा छानविन समितिले हिजो विराटनगरमा सात प्रहरी अधिकृतसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । यो समाचारलाई आजका अधिकांश दैनिक पत्रिकाले महत्त्वका साथ प्रकाशित गरेका छन् । आज प्रकाशित नयाँ पत्रिकाले यो सुन काण्डमा सातवटा प्रश्न अझै अनुत्तरित रहेको समाचार प्रकाशित गरेको छ । नयाँ पत्रिकाको पहिलो प्रश्न छ, मुख्य अपराधी मानिएको फरार रहेका चुडामणि उप्रेती अर्थात गोरेलाई बाहिरबाट सघाउने प्रहरी अधिकृत पक्राउ परेका छन् तर विमानस्थलबाट उनलाई सुन ल्याउन सहयोग गर्ने प्रहरी अधिकृतमाथि अनुसन्धान किन भएन ? विमानस्थलमा रहेका अन्य एजेन्सीका मान्छे किन पक्राउ परेनन् वा कारवाहीमा परेनन् ? एयरलाइन्सका कर्मचारीमा ठूला कर्मचारी कसरी जोगिए ? सीसीटीभी सबैतिर जडान भएको हुन्छ तर सुन कसरी आयो भन्ने विषयमा किन सीसीटीभीको फुटेज खोजिएन ? थाई एयरवेजका सुन ओसार्ने आरोप लागेका सानु वन आफैँ दौडिँदै गर्दा इन्धन बोक्ने ट्रकको ठक्कर लागेर मरेका छन् । यस विषयमा किन थप कुरा बाहिर आएन ? त्यस्तै अपराधको मुख्य योजनाकारको अत्तोपत्तो नहुनु र हराएको भनिएको सुन अझै किन पत्ता लागेन ? नेपाली कांग्रेसको राजनीति नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकका विषयमा नागरिक दैनिक तथा नयाँ पत्रिकाले समाचार प्रथम पृष्ठमा प्रकाशित गरेका छन् । नयाँ पत्रिकाले महासमितिको बैठक हुने सूचनासहित कांग्रेसको संस्थापन पक्ष जसरी भए पनि अहिलेको विवादलाई प्रक्रियामा लगेर टुंग्याउने पक्षमा पुगेको, पौडेल समूह संस्थापनविरुद्ध छिद्र खोज्दै बसेको तथा दुई समूहको टकरावमा आफूलाई तेस्रो समूहकारूपमा अघि बढाउन केपी सिटौला समूह तयार रहेको समाचार प्रकाशित गरेको छ । नागरिक दैनिकले रामचन्द्र पौडेलको समूह जसरी पनि ‘बार्गेनिङ’ गरेर सहमहामन्त्रीमा आफ्नो पक्षको व्यक्तिलाई नियुक्त गर्न लागि परेको समाचार प्रकाशित गरेको छ । विचार र दृष्टिकोण रणनीतिबाज बादलको अस्तव्यस्त गृह : पत्रकार तथा स्तम्भकार कृष्णमुरारी अधिकारीले नागरिक दैनिकमा गृहमन्त्री रामबहादुर थापा बादलको कार्य कुशलतामा प्रश्न उठ्ने लेख प्रकाशित गरेका छन् । अहिलेको समाजमा कुनै पनि काम गर्न अपराधीको सहयोग नलिई फत्ते नहुने भन्दै अधिकारी लेख्छन्, ‘किनभने पूरै मुलुकमा तिनकै राज छ । माफियाको राजनीतिक नेतासम्म पहुँच छ । नेताहरू तिनीहरूविरुद्ध चुइक्क बोल्न सक्दैनन् ।’ भण्डारी लेख्छन्, ‘गृहमन्त्री बादललाई यो थाहा हुनपर्छ – समाजमा शान्ति सुव्यवस्था छैन, गाउँमा सानो व्यवसाय गरेर बस्ने अवसरसमेत छैन । डन, तस्कर, दलाल, भ्रष्टाचारी र अपराधीलाई सेयर नदिई वा हप्ता नबुझाई सहरमा माखो मार्न सकिँदैंन ।’ सुनकाण्ड र प्रहरीको मनोबल : गोरखापत्रमा पत्रकार विष्णु रिजाल लेख्छन्, ३३ किलो सुन प्रकरण मुलुकको सुरक्षा संयन्त्रमाथि कालो पोतिएको घटना हो । रिजालका अनुसार – ‘आश्चर्यको कुरा, सेवामा रहेका वा सेवा निवृत्त प्रहरीलाई धमाधम पक्राउ गरेर मुद्दा चलाए पनि छानविन समितिको सुई सुनका मालिकतर्फ सोझिन सकेको छैन । त्यति ठूलो तस्करीमा संलग्न व्यक्ति विश्वको जुनसुकै कुनामा भए पनि पक्राउ पर्न नसक्ने भन्ने हुँदैन ।’ रिजाल लेख्छन् – नेपाल प्रहरी अनुसन्धानमा कम नभएको र केन्द्रीय अनुसन्धान ब्युरोले सुनसहितका कतिपय ठूल्ठूला अपराधहरूको सहजतापूर्वक छानविन गरेको परिप्रेक्ष्यमा गृह मन्त्रालयमा धेरै समय नबिताएका एक सहसचिवको संयोजकत्वमा यो अपराधको अनुसन्धान छाडिएको छ । सम्पादकीय बिहीबारको राजधानीले बस व्यवसायीहरूको समितिहरू गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त प्रेस सम्मेलन गरेर सरकारलाई वार्ताको वातावरण बनाउन आह्वान गरेको र आफ्नो १३ बुँदे माग पनि प्रस्तुत गरेको सन्दर्भमा सम्पादकीय लेख्दै राजधानीले भनेको छ – उनीहरूको माग हेर्दा सरकारसँग वार्ताको नाटक गर्दै उनीहरू पुनः सिन्डिकेट कायम गर्न चाहन्छन् । तर, राजधानी आफ्नो सोचमा स्पष्टता ल्याउँदै लेख्छ, ‘अहिले व्यवसायीले जेजस्ता धम्की दिएका छन् ती धम्कीबाट डराएर सरकार पछि हट्यो भने सिन्डिकेट फेरि अर्को एक दशक कायम हुन्छ । तसर्थ, सरकारले सिन्डिकेटधारी बस मालिकसँग वार्ता गरेर होइन, कारवाही गरेर अघि बढनुपर्छ ।’ नयाँ पत्रिकाले सरकारले गरेको सहयोग र अनुदानमा सहयोग प्राप्त गर्ने जनसमुदायको सहभागिता हुनुपर्ने तर्क अघि सारेको छ । नयाँ पत्रिकाका अनुसार असहाय र भौतिक निर्माणमा राज्यको सहुलियत पाउने अशक्त परिवारबाहेक अरू सबैले केही न केही श्रम गर्नैपर्ने बाध्यात्मक व्यवस्था सिर्जना गरिनुपर्छ । आजको नागरिकले विकास आयोजनामा ठेक्का व्यवस्थापन पादर्शी नहुँदा लागत बढ्ने, ठेक्का तोड्नेजस्ता र अनुचित फाइदा लिने काम भएको विषय उठान गर्दै यस्ता बदमासीको अन्त्य गर्नुपर्ने माग गरेको छ । कान्तिपुरले सरकारी वेबसाइटको सुरक्षाका लागि सशक्त उपाय अपनाउनुपर्ने विषयमा सम्पादकीय लेखेको छ भने गोरखापत्रले प्रेस स्वतन्त्रता अपरिहार्य भएको भन्दै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पादकीय विचार दिएको छ । -बारखरीबाट

भारतीय प्रम मोदीको स्वागतमा ५० हजार मान्छे उतार्न सर्कुलर

काठमाडौं, वैशाख १९ । नयाँ पत्रिका दैनिकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा जनकपुरमा भव्य तयारी भइरहेको समाचारलाई प्रमुखताका साथ छापेको छ । समाचारमा लेखिएअनुसार मोदीको सम्बोधन गर्ने सभामा ५० हजार मान्छे उतार्न प्रदेश सरकारले आठ जिल्लामा सर्कुलरसमेत गरेको छ । मोदी यही वैशाख २८ गते पटनाबाट सीधै जनकपुर आउनेछन् । त्यसपछि काठमाडौं हुँदै मुस्ताङ जाने तयारी छ । बाह्रबिघा मैदानमा मोदी सवार हेलिकोप्टर अवतरण गर्ने छ । मोदीको.सुरक्षा व्यवस्थाका लागि जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने पनि नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । यसबाहेक सुरक्षा अवस्था बुझ्न भारतीय सुरक्षाकर्मी सोमबार नै जनकपुर आइसकेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् । मोदीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ ।

आइपिएलमा मुम्बईलाई हराउँदै बेंगलोर विजयी

काठमाडौं, वैशाख १९ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार रोयल च्यालेन्जर्स बेंगलोर विजयी भएको छ । मुम्बई इन्डीयन्सलाई १४ रनले पराजित गर्दै आठ खेलमा तेश्रो जित दर्ता गरेको हो । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रनमा सिमित भयो । बेंगलरविरुद्ध ब्याटिङमा उत्रिएको मुम्वईले खराव सुरुवात गर्‍यो । ओपनर इशान किशन पहिलो बलमै बोल्ड भए । चौथो ओभरमा उमेश यादवले पहिलो बलमा ९ बलमा ९ रन जोडेका सूर्यकुमार यादवलाई पेभेलिएन फर्काए । त्यसपछि दोश्रो बलमा मुम्बईका कप्तान रोहित शर्मा पनि शून्यमै आउट भए । जतिबेला तीन विकेट गुमाएको मुम्वईको २१ रन मात्रै थियो । त्यसपछि काइरन पोलार्डले १३ बलमा १३ रन, जेपी ड्युमिनीले २९ बलमा २३ र हार्दिक पान्ड्याले ४२ बलमा ५० रन जोड्दै जितको सम्भावना देखाए । क्रुनाल पान्ड्याले २३ रन र बेन कटीङले १२ रन मात्रै जोडे ।अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । बेंगलोरका लागि साउथी, यादव र मोहमद सिराजले समान २ विकेट लिए । त्यसअघि टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको बेंगलोरले ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । खराव प्रदर्शन गररहेको बेंगलोरलाई कप्तान विराट कोहलिले सम्हाले भने अन्तिमका ब्याटस्म्यान कोलिन डे ग्राण्डहोमले आक्रमक ब्याटिङ गरेपछि बेंगलोरले सम्मानजनक स्कोर बनाएको थियो । ग्राण्डहोमले १० बलमा ३ छक्काको मदतले नटआउट २३ रनको योगदान दिए । बेंगलोरले अन्तिम ओभरमा मात्रै २४ रन जोडेको थियो । कप्तान विराट कोहलीले २६ बलमा २ चौका र १ छक्का सहित ३२ रन जोडेपछि बेंगलोर सम्हालिएको थियो । ओपनर क्विनटन डेककले १३ बलमा ७ रन जोड्दै खराब प्रदर्शन गरेपनि अर्का ओपनर मनन भोराले सम्हालिएको प्रदर्शन गरेका थिए । भोराले ३१ बलमा २ चौका र ४ छक्काको मदतले ४५ रन जोडे । ब्रेन्डन मक्कुलमले ४ चौका र २ छक्का प्रहार गर्दै २५ बलमा ३७ रन जोडे । मन्दिप सिंहले १० बलमा १४ रन जोडेपनि वासिङ्टन सुन्दर र टिम साउथी समान १ रनमा पेभेलियन फर्किए । मुम्बईका लागि हार्दिक पान्ड्याले ३ विकेट तथा जस्प्रित बुमराह, मायांक मार्कान्डे र मक्लीनाघनले १/१ विकेट लिए । जितपछि बेंगलोर ६ अंक सहित सातौं स्थानमा उक्लिएको छ भने ८ खेलमा ४ अंक जोडेको मुम्वई सातौं स्थानमा छ ।

नमुना विद्यालय चलाउने तयारी, देशभरमा २२२ नमुना विद्यालय छनोट

काठमाडौं, वैशाख १९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश सरकारमातहतमा नमुना विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गत सन् २०२२ सम्म हजार नमुना विद्यालय बनाउने लक्ष्यसहित कार्यक्रमकै रूपमा प्रदेश सरकारमार्फत सञ्चालन गर्ने तयारी भएको हो। विद्यालय तहको अधिकार स्थानीय तहमा गएकाले केन्द्रले नमुना विद्यालयको मापदण्ड बनाउने र प्रदेशले कार्यक्रमका रूपमा कार्यान्वयन गर्ने तयारी भएको हो । नमुना विद्यालयका लागि दातृ निकायले लगानी गर्ने भएकाले प्रदेश सरकारलाई जिम्मेवार बनाउन खोजेको शिक्षा मन्त्रालयका अधिकारी बताउँछन् । शिक्षा मन्त्रालयका कार्यक्रम तथा योजना महाशाखा प्रमुख वैकुण्ठ अर्यालले नमुना विद्यालय प्रदेशमार्फत कार्यक्रमका रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको र अर्थ मन्त्रालयसँग छलफल गरेर कार्यक्रमबारे निर्णय हुने बताए । नमुना विद्यालयमा पूर्वाधार विकास, व्यवस्थापकीयलगायत पक्षमा ठूलो लगानी हुने भएकाले केन्द्रले बढी चासो दिएको हो । देशभरमा २२२ नमुना विद्यालय छनोट विद्यालय क्षेत्र विकास कार्यक्रमले सात वर्षमा हजार नमुना विद्यालय बनाउने लक्ष्य राखे पनि दुई वर्षमा २ सय २२ विद्यालय मात्र छनोट भएका छन् । सरकारले अघिल्लो वर्ष सबै निर्वाचन क्षेत्रमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने लक्ष्य राखे पनि सामुदायिक विद्यालयले छनोटको आधारसमेत पूरा गर्न नसक्दा लक्ष्य पूरा हुन सकेन । अघिल्लो वर्ष शिक्षा विभागले तीनपटक सार्वजनिक सूचना गर्दा पनि २ सय ९ निर्वाचन क्षेत्रबाट मात्र दरखास्त आएको थियो । नमुना विद्यालय बनाउनका लागि छनोट मापदण्ड पूरा गर्न नसक्दा सबै जिल्ला शिक्षा कार्यालयबाट सबै निर्वाचन क्षेत्र पर्ने गरी सिफारिस आएको थिएन ।

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा फेरि अस्पताल भर्ना

काठमाडौं, वैशाख १८ । लामो समय बेलायतका लण्डनस्थित किङ्ग्स कलेज हस्पिटलमा उपचार गराएर शनिबार मात्रै स्वदेश फर्केका वरिष्ठ स्नायु शल्यचिकित्सक डा उपेन्द्र देवकोटा मंगलबार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा फेरि समस्या देखिएपछि डा देवकोटालाई बाँसबारीस्थित न्यूरो अस्पताल भर्ना गरिएको हो । डा देवकोटा उक्त अस्पतालका संस्थापक हुन । गएको मंसिर १० सम्पन्न संघ र प्रदेशको चुनावमा गृह जिल्ला गोरखामा सक्रिय रहेका देवकोटा स्वास्थ्यमा अचानक समस्या आएपछि पाँच महिनासम्म लण्डनस्थित किङ्ग्स कलेज अस्पतालमा उपचार गराएर नेपाल फर्केका थिए। देवकोटाका स्वास्थ्य अवस्था गम्भीर रहेपनि शुरुदेखि नै उनलाई वास्तविक रुपमा के भएको हो त्यो अहिलेसम्म गोप्य राखिएको छ । उपचारमा संलग्न चिकित्सकहरुले उनको उपचार भइरहेको बताएका तर समस्याको बारेमा बताएनन्। उनी पर्वूराजा ज्ञानेन्द्र शाहको सक्रिय शासनमा स्वास्थ्यमन्त्री थिए ।

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश नं २ र ७ भिड्ने

काठमाडौ‌, वैशाख १८ । प्रथम मनमोहन मेमोरियल १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रदेश नं ७ र प्रदेश नं २ प्रवेश गरका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा म‌गलबार भएको सेमिफाइनल खेलमा प्रदेश ७ ले प्रदेश १ लाई ५ विकेटले पराजित गर्दै फाइन यात्रा तय गरेको हो भने प्रदेश २ ले प्रदेश ३ लाई ४१ रनले पाखा लगाउँदै फाइनल यात्रा तय गरेको हो । प्रदेश १ ले दिएको १४९ रनको लक्ष्य प्रदेश ७ ले २२ ओभरमा ५ विकेट गुमाएर भेटायो । प्रदेश ७ का सुवास ऐरले ३७, राजन सिंहले ३२ राहुल भण्डारीले नटआउट २५ तथा रोशन साउदले २३ रनको योगदान दिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ३० ओभरमा ८ विकेट गुमाएर १४८ रन जोडेको थियो । उसका विवेक महताले सर्वाधिक ४१ रन बनाए । प्रदेश १ लाई सस्तैमा समेटने क्रममा प्रदेश ७ का नरेन्द्र साउद एक्लैले ४ विकेट लिए । यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले २१६ रनको योगफल बनायो । अमित यादवले सर्वाधिक ८६ रनको योगदान दिए भने विवेक यादवले ६३ तथा सुजित शाहले ३५ रन जोडे । प्रदेश ३ का कप्तान प्रतिस जिसी र सुशान्त कार्कीले समान २ विकेट लिए । २१७ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले २८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १७५ रनमा समेटियो । उसको लागि कप्तान प्रतिश जिसीले ४८, दीपक बोहराले ३० तथा सम्भव श्रेष्ठले ३४ रन बनाए । बलिङतर्फ प्रदेश २ का लागि विक्रम कुशवाहले ४ विकेट लिए भने सन्नी शाले २ विकेट लिए । बुधबार उपाधिका लागि दुवै टोली भिड्नेछन् ।

बलात्कृत हुनेमा २५ प्रतिशत १० वर्षमुनिका बालिका

काठमाडाैं, वैशाख १८ ।  बलात्कारका कुल घटनामध्ये करिब ६० प्रतिशत पीडितहरू १६ वर्षमुनिका बालिका हुने गरेको प्रहरीको आँकडाले देखाएको छ। तिनमध्ये १० वर्ष मुनिका पीडितको सङ्ख्या उल्लेख्य रहेको छ। केन्द्रीय बाल कल्याण समितिले गत हप्ता प्रकाशित गरेको एउटा अध्ययन प्रतिवेदनले गत चार महिनामा दर्ता भएका बलात्कारका घटनामध्ये एकतिहाइ पीडितहरू १० वर्ष मुनिका बालिका भएको देखाएको छ। बलात्कार लगायतका यौनजन्य हिंसा अपरिचितभन्दा पनि परिचित व्यक्तिबाट धेरै हुने गरेको अधिकारकर्मीहरूले बताएका छन्। परिवारमा कलङ्क लाग्ने डर र कतिपय अवस्थामा सङ्कोचका कारण बालिका बलात्कारका सबै घटनाहरू अझै बाहिर आउन नसकेको उनीहरूको बुझाइ छ। शिकार पछिल्लो समय बलात्कार लगायतका यौनहिंसाका घटनाबारे प्रहरीमा उजुरी गर्ने क्रम बढेको देखिएको छ। प्रहरीसँग भएको तथ्याङ्कले बालिकामाथि बढी यौन हिंसा हुने गरेको सङ्केत गर्छ। गत साता केन्द्रीय बाल कल्याण समितिले सार्वजनिक गरेको प्रतिवेदनले पनि त्यही देखाएको समितिका कार्यकारी निर्देशक तारक धितालले बताए। उनले भने, “गएको चार महिनामा भएका बलात्कारका घटनामा ३१ प्रतिशत १० वर्ष मुनिका बालिकाहरू परेको देखिएको छ। सबैभन्दा धेरै अथवा ६२ प्रतिशत ११ देखि १५ वर्षका बालिकाहरू यस्तो घटनाको सिकार भएको भेटिएको छ। यौन दुर्व्यवहार गर्न साना बालिकाहरूलाई बढी सिकार बनाइएको यसले देखाएको छ।” तथ्याङ्क प्रहरी तथ्याङ्कका अनुसार गत वर्ष ११ सय ३१ वटा बलात्कारका घटना दर्ता भएका थिए। त्यसमध्ये २११ वटा मुद्दा १० वर्ष मुनिका बालिकामाथि बलात्कार भएको भनी दर्ता भएको थियो। यस्तै ४४४ बलात्कारका घटना ११ वर्ष देखि १६ वर्ष उमेरसम्मका बालिका र ८८ वटा १७ देखि १८ वर्षका किशोरीमाथि भएको भनी दर्ता भएको नेपाल प्रहरीले जनाएको छ। बालअधिकारकर्मी सुम्निमा तुलाधरका अनुसार बालिकामाथि हुने अधिकांश यौनहिंसा उनीहरूले चिनेजानेकै मानिसबाट हुने गरेको छ। पीडक “हाडनाता करणीसम्बन्धी बलात्कारहरू १२.५ प्रतिशत हुने गरेको पाइएको छ। यस्तै ७० प्रतिशत भन्दा बढी पीडकहरू बालिकाले कुनै न कुनै रूपमा चिनेका व्यक्ति हुने गरेका छन्,” तुलाधरले बताइन्। बलात्कारका हिंसामा पर्नेमध्ये उल्लेखनीय सङ्ख्यामा विभिन्न प्रकारका अपाङ्गता भएका बालिका हुने गरेको राष्ट्रिय अपाङ्ग महासङ्घकी उपाध्यक्ष टीका दाहालले बताइन्। पीडकलाई पहिचान गर्न नसक्ने, आफ्ना अभिव्यक्ति स्पष्ट राख्न नसक्ने र सजिलै भाग्न नसक्ने जस्ता कारणले अपाङ्गता भएका महिलालाई पीडकले लक्षित गर्ने गरेको दाहाल बताउँछिन्। यस्ता थुप्रै घटना अझ बाहिर आउन नसकेको दाहालले बताइन्, “यो अरूको पनि चासोको विषय नहुने अनि परिवारले पनि हामीले यसविरुद्ध लड्न समय दिन सक्दैनौँ वा प्रमाण जुटाउन सक्दैनौँ भन्ने खालका सोच राख्ने गरेका कारण पनि कतिपय घटना बाहिर नआएको भेटिएको छ।” लुकाउने चलन कलङ्कको डरले बलात्कार र अन्य यौनहिंसाका घटना लुकाउने चलन समाजमा अझै पनि रहेकोले प्रहरीको तथ्याङ्कले देखाएकोभन्दा अझ धेरै बलात्कारका घटना भएका दाहाल बताउँछिन्। सहमतिमै बालिकासँग शारीरिक सम्पर्क भए पनि कानुनी दृष्टिकोणमा त्यो अपराध हुन्छ। त्यसैले स्वास्थ्य परीक्षणद्वारा १६ वर्ष मुनिका बालिकासँग स्थापित यौनसम्बन्धलाई बलात्कार भनेर पुष्टि गर्न अलि सजिलो छ, अधिवक्ता इन्दु तुलाधारले भन्छिन्। तर त्यसका लागि चाहिने प्रमाण भने समयमै जुटाउनुपर्ने उनको भनाइ छ। “बलात्कार भएको घटना लुकाउन खोज्ने वा मिलाउन कोसिस गर्ने, समयमै प्रहरीकोमा नपुर्‍याउने र प्रमाण लोप हुनसक्ने अवस्थाजस्ता केही व्यवहारिक कठिनाइहरू छन्।” सजाय दश वर्षमुनिका बालिकालाई जबर्जस्ती करणी गरेको प्रमाणित भएमा १० देखि १५ वर्ष सम्म जेल सजाय हुने व्यवस्था कानुनमा छ। त्यसैगरी १० देखि १४ वर्ष मुनिका बालिका र १४ देखि १६ वर्ष मुनिका बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा दोषीलाई क्रमश: १२ र १० वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ। यस्ता घटना न्यूनीकरण गर्न सरकारको तर्फबाट प्रयास गरिएको भए पनि त्यो पर्याप्त नभएको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक धितालले बताए। “यौनहिंसालाई न्यूनीकरण गर्न भनी सरकारले विभिन्न कार्यक्रमहरू गरिरहेको छ। तर यस्ता हिंसा बढी हुने क्षेत्रहरू विश्लेषण गरेर लक्षित कार्यक्रमहरू सञ्चालन हुनुपर्ने आवश्यकता देखिएको छ।” बलात्कारजस्तो हिंसाको छाप पीडित बालिकाको जीवनभरि बाँकी रहने र त्यसको दुष्परिणाम पीडितले मात्र नभई उसको सन्तानले पनि परोक्ष रूपमा भोग्नुपर्ने हुनाले त्यसको रोकथामका लागि सामाजिक अभियान चलाउनु अहिलेको ठूलो आवश्यकता रहेको भनाइ विज्ञहरूको रहेको छ। साथै पीडितहरूलाई मनोपरामर्शको व्यवस्था गर्न पनि मागहरु उठेका छन्। बीबीसी

एक/दुई दिनभित्रै पार्टी एकताको टुंगो लाग्छ : प्रचण्ड

काठमाडौं, वैशाख १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकाध दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताउनुभएको छ । अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सम्पन्न हुने चरणमा रहेको छ । केही दिनभित्रै हामी त्यसलाई ठोस निष्कर्षमा पुऱ्याउँछौं र विश्व समुदायलाई नयाँ सन्देश दिन्छौँ ।” अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विभिन्न पेशागत महासंघ र टे«ड यूनियनसँग आबद्ध संघ–संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा नै एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने तयारी भइरहेको बताउनुभयो । एकता प्रक्रिया नेपाली कम्युनिस्ट, नेपाली जनता र विश्वका श्रमजीवी जनताको सम्पत्ति भइसकेको उल्लेख गर्दै उहाँले यस अभियानबाट कोही पनि पछाडि फर्कने अवस्था नभएको स्पष्ट पार्नुभयो । “एकता प्रक्रिया अगाडि बढ्दैन कि, यो बीचमै रोकिन्छ कि भनेर भ्रम पाल्नु आवश्यक छैन । प्रक्रिया धेरै अगाडि बढिसकेको छ । विश्व श्रमिक दिवसका दिन यस्तो जानकारी गराउन पाउँदा माओवादी केन्द्र र पार्टी एकता संयोजन समितिको तर्फबाट मलाई गौरव लागेको छ”–अध्यक्ष दाहालले भन्नुभयो । नेपालका लागि दुईतिहाई मतसहितको सरकार बनाउने र समाजवाद उन्मुख संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि र विकासको महान् अभियान पूरा गर्ने अवसर प्राप्त भएको भन्दै उहाँले यसलाई कुनै पनि हालतमा चुक्न नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । इतिहासमा बिरलै प्राप्त हुने अवसरलाई पूर्णरुपमा सदुपयोग गरेर सामाजिक न्यायसहितको आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नैपर्ने अध्यक्ष दाहालको कथन थियो । लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त राजनीतिक अधिकारलाई संस्थागत गर्दै श्रमजीवी वर्गको हित रक्षाका लागि आफूहरुले हदैसम्मको प्रयास गर्ने उहाँको भनाइ थियो । धनी र गरिबबीचको खाडल नहुने गरी सबैलाई समान अवसर प्रदान गर्ने गरी संविधानमा नै समाजवाद उन्मुख राज्य प्रणालीको परिकल्पना गरिएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली जनताको चाहनालाई हामी सम्बोधन गर्दै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्छौँ ।” कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले लामो संघर्षबाट प्राप्त राजनीतिक अधिकारलाई संस्थागत गर्दै आर्थिक विकासको चरणमा प्रवेश गर्नैपर्ने धारणा राख्नुभयो । सुखी नेपाली, समृद्ध नेपालको नारा कार्यान्वयन गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएकाले श्रमजीवी वर्गको हित र चाहनालाई सम्बोधन गर्नैपर्ने उहाँको भनाइ थियो । विभिन्न टुक्रामा विभक्त भएका नेपालका कम्युनिस्ट पार्टी विस्तारै एकताको प्रक्रिया अगाडि बढेको भन्दै उहाँले शीघ्र पार्टी एकताको घोषणा हुने विश्वास दिलाउनुभयो । लोकतन्त्रलाई संस्थागत गर्ने, राष्ट्रियताको जगर्ने गर्ने, गरिबी, अशिक्षा र भोकमरीको उन्मूलन गर्ने र सन्तुलित विदेश नीति अपनाएर मुलुकलाई समृद्ध बनाउनुपर्ने उहाँको भनाइ थियो । श्रमजीवी, गरिखाने वर्गको हितमा वर्तमान सरकारले काम गर्नैपर्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेता खनालले भन्नुभयो, “वर्तमान सरकार परिवर्तनको जगमा निर्माण भएको सरकार भएकाले जनताको पक्षमा काम गर्नैपर्छ ।” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम क्षेत्रका काम गर्ने मजदुरलाई बैंक खातामार्फत ज्याला पाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । उहाँले आगामी साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम् ज्याला वृद्धि गर्ने गरी तयारी भएको जानकारी दिँदै मन्त्री विष्टले केही प्रतिष्ठित उद्योग तथा प्रतिष्ठानले समेत न्यायोचित ज्याला नदिएको भन्ने गुनासो आएको उल्लेख गर्नुभयो । आगामी दुई चार महिना भित्रैमा श्रमजीवी वर्गले अनभव गर्ने गरी परिवर्तनको महसुस गराउने तयारीमा सरकार रहेको भन्दै उहाँले श्रमिकले सञ्चयकोष, औषधि उपचार तथा अन्य सुविधा पाउने व्यवस्था गराएरै छाडिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा गोपीरमण उपाध्यायले अनुवाद गर्नुभएको कम्युनिस्ट पार्टीको घोषणा पत्र, पूर्वप्रधानमन्त्री खनालले लेख्नुभएको ‘भिजन अफ आवर टाइम’ र योगेन्द्र शाहीले लेख्नु भएको ‘नेपालमा भूमिसुधार वामपन्थी दृष्टिकोण’ नामक पुस्तकको समेत लोकापर्ण गरिएको थियो ।

प्रतिशतमा होइन समानताका आधारमा एकता : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रतिशतका आधारमा नभई न्यायोचित सम्मान र समानताका आधारमा नेकपा माओवादी केन्द्रसँग चाँडै एकता हुने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वलाई कार्यभार हस्तान्तरण समारोहमा आज महासचिव पोखरेलले आफूहरुले गरेका प्रतिबद्धतालाई कार्यान्वयनको परीक्षाको घडी आएकाले एकताबाट भाग्ने छुट दुवै पार्टीका नेतालाई नभएकाले यथोचित, सम्मानजनक र समानताका आधारमा एकता हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पचास पचास वा साठी चालीस प्रतिशतमा होइन तीन आधारमा एकता हुन्छ । यसमा ढुक्क हुनुस् । यो राष्ट्र, जनताको चाहना र आवश्यकता हो । यसलाई हामीले जिम्मेवार र संवेदनशील रुपमा पूरा गर्नेछौँ ।” दुई पार्टीको एकता संयोजन समितिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्राविधिक र अन्य विषयको बिट मार्न जिम्मेवारी दिएकाले अतीतमुखी नभई भविष्यमुखी विचारका आधारमा एकता हुने स्पष्ट गर्नुभयो । उहाँले वाम गठबन्धनले चुनावमा जारी गरेको साझा घोषणापत्रका आधारमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको जनाउँदै लोकतान्त्रिक प्रतिष्पर्धालाई जित्ने र जित्न नसक्ने दुवैले स्वीकार गर्न सक्नुपर्ने जनाउनुभयो । “राजनीतिक अधिकार प्राप्तिको कालखण्ड आधारभूत रुपमा पूरा भएकाले अब राजनीतिक स्थिरतासहित आर्थिक समृद्धिका लागि वर्तमान सरकारले काम गर्नेछ । श्रमिक आन्दोलनले पनि यही साझा मुद्दामा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । निवर्तमान अध्यक्ष एवं महासंघका संरक्षक विष्णु रिमालले सरकारले मजदूरको साक्षी भएर मात्र होइन मजदूरका पक्षमा काम गर्नुपर्ने उल्लेख गर्दै महासंघको गौरव र उपलब्धिलाई नयाँ नेतृत्वले आत्मसात् गर्नुपर्ने अपेक्षा गर्नुभयो । नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले विगतको उपलब्धिका जगमा श्रमिक अधिकारको रक्षा र मुलुकको समृद्धिका लागि महासंघले काम गर्ने बताउनुभयो । रासस