गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन
भरतपुर । भरतपुर महानगरपालिको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०८१/८२ को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले निर्माणधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गर्नुभयो ।
भरतपुरमा निर्माणधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीब्र रुपमा अघि बढेको बताउनुभयो । रंगशालाको काम अहिले १२ प्रतिशत पुरा भइसकेको छ ।
भ्रष्टाचार विरुदको अभियान चितवनको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरुले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए ।
सहभागीहरुले ६ लेन सडकमा ट्राफिक लाईट राख्नुपर्ने, फोहर व्यवस्थापन, घरबाहल कर, ड्रेनको निर्माण, भरतपुरका सडकको मापदण्ड, विमानस्थलको विस्तारलगायतका प्रश्न सोधेका थिए । सहभागीहरुले गुनासो तथा सुझावहरुको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी लगायतले जवाफ दिनुभएको थिए ।
भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुरमा मुख्य चोकमा ५ वटा ट्राफिक लाईट राख्ने कार्यलाई अगाडि बढाइएको बताउनुभयो । यस्तै उहाँले संघीय खानेपानी तथा सरसफाई योजनाबाट हुन लागेको ३ अर्बको योजनाको डिपिआर बन्ने अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । भरतपुरलाई सौन्दर्यकरण गर्न मापदण्ड विपरितका संरचना भत्काउने कार्य निरन्तर रुपमा अघि बढिरहने उहाँको भनाई थियो ।
महानगरपालिकाको आन्तरिक आय कम हुँदा हुँदै पनि सक्रिय पहल र समवन्यमा ठुला ठुला विकास निर्माणका कार्यहरु अगाडि बढाउन सकिएको उल्लेख गर्नुभयो । ६ लेन सडक निर्माण भए पश्चात सर्भिस लेनमा पाकिङ हुने समस्या हटेर जाने विश्वास व्यक्त गर्नुभयो । यसका लागि कार्यदल बनाएर काम भइरहेको जानकारी दिनुभयो ।
मेयर दाहालले कुनै पनि कुरामा गुनासो नआउने गसरी काम अगाडि बढाउन सम्बन्धीत महाशाखा, शाखाका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले महानगरपालिकाको कामलाई छिटो छरिदो बनाउन नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको पनि प्रष्ट पार्नुभयो ।
कार्यक्रममा कार्यक्रममा जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायणप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, चितवन प्रहरी प्रमुख गौतम मिश्रको उपस्थिति रहेको थियो ।
थारू भाषा सरकारी कामकाजीको भाषा हुनुपर्छ : सांसद आचार्य
काठमाडौं । कोशी प्रदेश सभाका सांसद पूर्वअर्थमन्त्री जीवन आचार्यले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गर्नुपर्ने बताएका छन् । मंगलबार (आज) विराटनगरमा बसेको प्रदेशसभाको बैठकममा प्रदेश सरकारका तर्फबाट सदनमा पेश गरिएको नीति तथा कार्यक्रमबारे धारणा राख्ने क्रममा सांसद आचार्यले सो कुरा बताएका हुन् । बैठकमा सांसद आचार्यले थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नुपर्ने बताउँदै भने “मोरंग सुनसरीमा ठुलो थारु समुदायको बस्ती छ, थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गर्न म सरकारलाई अनुरोध गर्छु।” कोशी प्रदेश सभामा प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रमका बारेमा मंगलबार(आज) देखि छलफल प्रारम्भ भएको छ।
एनपिएल उपाधिका लागि सुदूरपश्चिम र जनकपुरको भिडन्त हुने
काठमाडौं। कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिनका लागि सुदुरपश्चिमसँग भिड्ने भएको छ । बिहीबार भएको क्वालिफायर २ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्ससँगको भेट तय गरेको हो । सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ। यो खेलमा हार बेहोरेसँगै जनकपुरले फाइनलमा भिड्न अर्को अवसर पाएको थियो। उक्त अवसरलाई जनकपुरले सदुपयोगगरेको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले अन्तिम ६ बल अगाडि नै आठ विकेट गुमाउँदै पूरा गरेको हो।
३१ अंकले घट्यो नेप्से, कारोबार कति ?
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.३१ अंकले घटेको छ । नेप्से १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा आएको हो । आज ८ अर्ब २५ करोड ५७ लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर कारोबार भएको छ । प्रि–ओपन सेसनमा समेत झिनो अंकले घटेको नेप्सेमा आज ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१४ कम्पनी कारोबारमा आउँदा ८४ हजार ८५८ पटक शेयर किनबेच भएको छ । यस्तै २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा जानकी फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । सबैभन्दा बढी फाइनान्स समूह २.८६ प्रतिशतले घटेर ३ हजार ५६९.४३ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्यचुअल फण्ड समूह ०.१९ प्रतिशतले घटेर २१.९१ विन्दुमा पुगेको छ । यता, वाणिज्य बैंक ०.९० प्रतिशतले, विकास बैंक १.४७ प्रतिशतले, होटल तथा पर्यटन १.७३ प्रतिशतले, हाइड्रोपावर ०.९० प्रतिशतले, लगानी ०.९० प्रतिशतले, जीवन बीमा १.३६ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.५४ प्रतिशतले, लघुवित्त ०.६८ प्रतिशतले, निर्जीवन बीमा १.१६ प्रतिशतले, ट्रेडिङ ०.९८ प्रतिशतले र अन्य समूह १.६१ प्रतिशतले घटेको छ ।
घट्यो सुनचाँदीको मूल्य कतिमा भैरहेको छ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको हो ।
गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह‐ विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुहोस
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाद्धारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका अनगिन्ती सम्भावना रहेका र अहिले लगानीको वातावरण पनि रहेकाले आफ्नो मातृभूमिमा लगानी भित्र्याउन आग्रह गर्नुभएको हो । सो कार्यक्रममा उहाँले भन्नुभयो “प्रकृतिले नेपाललाई धेरै कुरा दिएको छ । तर त्यसको उपयोग र उपभोग गर्न हामी सफल हुन सकेका छैनौँ । देशलाई यतिखेर यहाँहरुले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजीको जरुरत छ । अहिले हामी जहाँ र जस्तोसुकै काम विशेषमा रहेका भए पनि भोलिको सन्ततिका लागि नेपालमै केही गर्नुपर्छ ।” अध्यक्ष ढकालले संकटका बेला सबैलाई आफ्नै जन्मथलो चाहिने प्रसंग उल्लेख गर्दै भन्नुभयो “कोरोना महामारीका बेला हामी सहरमा बसेका गाउँ फर्कियौँ, विदेशमा विभिन्न कारणले बसेका नेपालीहरु घर फर्किए । त्यो अवस्थाको स्मरण गर्दा हामी अहिले जहाँ जुन रुपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ भन्ने लागेको थियो । त्यसैले पनि म यहाँहरुलाई यो आग्रह गर्दछु कि आफ्नै जन्मस्थानमा केही गर्नुपर्छ ।” उहाँले संसारका कैयौँ देशमा रहेर गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप तथा पुँजीको ठूलो महत्व रहेको बताउनुभयो । त्यसैले त्यसको केही प्रतिशत छुट्याएर नेपालमा लगानी गर्नसके गैरआवासीय नेपाली तथा नेपालकै लागि फाइदा पुग्ने उहाँको भनाई थियो । गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्न चाहेमा महासंघले आवश्यक सबै सहजीकरण गर्ने त छँदैछ नेपालका लगानीकर्ताहरु पनि सहकार्य गर्न इच्छुक रहेका उहाँको भनाई थियो । अध्यक्ष ढकालले नेपालमा अहिले जलविद्युत, पर्यटन, हस्पिटालिटी, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेका उल्लेख गर्नुभयो । कोरोना महामारीपछि मुलुकको अर्थतन्त्र लयमा फर्कने तरखरमा रहेको र नेपालमा अहिले पर्यटन क्षेत्र फस्टाउँदो अवस्थामा रहेकाले ती क्षेत्रमा लगानी गरेर मुनाफा आर्जन गर्न पनि आग्रह गर्नुभयो ।
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको अध्यक्षमा बस्याल
बाँके । राष्ट्रिय दलित पत्रकार संघ नेपालको लुम्बिनी प्रदेश अधिवेशनबाट बाँकेका टेकेन्द्र बस्यालको अध्यक्षतामा लुम्बिनी प्रदेशको कार्य समिति निर्वाचित भएको छ । जसको बरिष्ठ उपाधयक्षमा लोकेन्द्र सुनार (प्युठान), उपाध्यक्षहरु कृष्ण दर्नाल (पाल्पा) र भरत नेपाली (रोल्पा), सचिव अनिल नेपाली (अर्घाखाँची), सहसचिवहरुमा विवेक विश्वकर्मा (रुपन्देही) र अमृतकुमार नेपाली (दाङ) तथा कोषाध्यक्षमा बिधुत्मा रैका (बाके) रहनुभएको मछ । सदस्यहरुमा जगलाल नेपाली (रुपन्देही), सिग्मति रैका (नवलपरासी), रामबहादुर गन्धर्व (कपिलवस्तु), रामसरण रैदाश (कपिलवस्तु), रावन बिश्वकर्मा (बर्दिया) र अनिता नेपाली (बाके) निर्वाचित हुनुभएको छ ।
कारोबारको अन्तिम दिन शेयर बजार घटेर बन्द
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार उच्च अंकले घटेर बन्द भएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से ३१ दशमलव ४३ अंक घटेर २५९६ दशमलव ८२ विन्दुमा झरेको छ । नेप्सेमा रहेका १३ वटै उपसमूह आरालो लाग्दा ब्यापार उपसमूह सर्वाधिक २ दशमलव ७३ प्रतिशतले घटेको छ । घटेको बजारमा पनि सपोर्ट लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ भने नारायणी डेभलपमेन्ट बैंक सर्वाधिक ९ दशमलव २१ प्रतिशतले घटेको छ । बिहीबार ३१० वटा स्टकको ९८ लाख ३२ हजार कित्ता शेयर ४ अर्ब ७६ करोड २ लाख ६७ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । कारोबार रकमको आधारमा जानकी फाइनान्सको सर्वाधिक १७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् एनपीएलमा दुई छोरालाई विजेता र उपविजेता बनाउने आमाबुवा
वीरगञ्ज । वीरगञ्ज (पर्सा), पुस ७ गते । वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुनुहुन्छ, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बुबाआमा हुनुहुन्छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएका आरिफ शेख र आसिफ शेख भने फरक–फरक टिमबाट प्रतिनिधित्व गर्दै उपाधि होडका लागि प्रतिस्पर्धामा उत्रिनुभएको थियो । त्यस्तै खालको फरक दृश्य सङ्घीय राजधानीभन्दा दुई सय ७० किलोमिटर टाढा रहेको वीरगञ्जको मुर्ली नयाँटोलस्थित दुवै खेलाडीको घरमा पनि देखिन्थ्यो । उहाँहरुको बुबा–आमा पनि फरक–फरक टिमको समर्थक बनेर आफ्ना दुवै छोराका टिमलाई हौसला थप्दै हुुनुहुन्थ्यो । बुबा मोहम्मद कान्छो छोरा आसिफ शेख खेल्ने जनकपुर बोल्ट्सको समर्थक हुनुहुन्थ्यो भने आमा भने जेठो छोरा आरिफले खेल्ने सुदूरपश्चिम रोयल्सको समर्थक हुनुहुन्थ्यो । बुबा मोहम्मदले एनपिएल खेलमा दुवै छोरा खेल्ने निश्चित भएसँगै दुवै टिम फाइनलमा प्रतिस्पर्धा गरोस् भन्ने चाहना रहेको सुनाउनुभयो । “एउटै घरका दुई छोरा फरक–फरक टिमबाट खेल खेलेपछि एउटाले जित्ने र अर्कोले हार्ने त निश्चित जस्तै थियो । त्यसैले पनि बाध्य भएर नै एउटाको समर्थक बन्न परेको हो”, उहाँले भन्नुभयो, “एनपिएलमा दुवै छोरा फरकफरक टिमबाट प्रतिनिधित्व गरेसँगै आफूलाई दुवै छोराले फाइनल खेलोस् भन्ने चाहना पनि पूरा हुँदा खुसीले गद्गद् भएको छु ।” शनिबार बेलुकापख आरिफ र आसिफको घरपुग्दा भने बुबा हर्षित मुद्रामा देखिनुहुन्थ्यो भने आमा समा भने केही मलिन मुद्रामा देखिनुहुन्थ्यो । “मलाई त दुवै छोराले खेल जितुन् भन्ने लागेको थियो । तर के गर्नु खेलको नियम त एउटाले जित्नुपर्ने रैछ”, आमा समा प्रवीनले भन्नुभयो, “दुवै छोराहरु फरक–फरक टिमबाट खेल्ने भएपछि श्रीमान्ले जनकपुरको पक्षमा रहनुभयो भने मैले सुदूरपश्चिमको पक्षमा रहेँ ।” सुदूरपश्चिमले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । त्यो बेलासम्म आमा समालाई सुदूरपश्चिमले एनपिएलको उपाधि जित्नेमा कुनै शङ्का नै थिएन । उहाँ सुदूरपश्चिमका खेलाडीले चौका र छक्का हिर्काउँदा भने निकै प्रफुल्लित हुने गरेको सुनाउनुभयो । “मलाई त पहिलो चरणको ब्याटिङ हेरेपछि त सुदूपश्चिमले उपाधि जित्नेमा ढुक्क जस्तै थिएँ । तर, पछि जनकपुरले उत्कृष्ट कमब्याक गर्दै उपाधि जित्यो”, उहाँले भन्नुभयो, “जुन टिमले जिते पनि नेपाली क्रिकेटको जित भएको अनुभूति गरेको छु ।” सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सलाई दिएको थियो । तर, शुरुआती चरणमै उत्कृष्ट ब्याटिङ गर्दै जनकपुरले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पछ्याएको थियो । फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै उपाधि होड रक्षा गरेको थियो । शेख परिवारमा आमा र बुबा फरक–फरक टिमका समर्थक भए पनि दुवै खेलाडीका बहिनी मुस्कान प्रविन भने दुवै दाजुको टिमको समर्थक रहेको बताउनुभयो । “आमा–बाबा अलगअलग टिमको पक्षमा हुनुहुन्थ्यो । मेरा लागि दुवै दाजुहरु बराबर भएकाले दुवैको फ्यान थिएँ”, उहाँले दाजुहरुको मेहनत र लगनशील भएर खेलेकाले दुवै टिमको समर्थक रहेको बताउनुभयो । बुबा मोहम्मद छोराहरु आरिफ र आसिफ आजको यो स्थानसम्म आइपुग्न भने धेरै नै सङ्घर्ष गरेको स्मरण गर्नुहुन्छ । “छोराहरुको जहाँजहाँ खेल हुन्थ्यो । म त्यहीँ पुगेर नै खेल हेरेर हौसला थप्ने काम गर्थें”, मोहम्मदले भन्नुभयो, “क्रिकेट खेल्नका लागि आवश्यक पर्ने सबै खालका खेल सामग्री पनि उपलब्ध गराइदिन्थें ।” आरिफ शेख नेपाली राष्ट्रिय क्रिकेटका अलराउण्डर खेलाडीका रुपमा परिचित हुनुहुन्छ । आरिफले वीरगञ्जको नारायणी रङ्गशाला परिसरमा रहेको वीरगञ्ज क्रिकेट मैदानबाट भएको खेल यात्रालाई अहिलेसम्म अविच्छिन्न अघि बढाउँदै आउनुभएको छ । वीरगञ्जको विद्यासदन सेकेन्डरी विद्यालय हुँदै ‘अन्डर १९’ राष्ट्रिय टिममा खेल्दै सिनियर टिमसम्म पुग्न सफल खेलाडीको रुपमा परिचित हुनुहुन्छ उहाँ । नेपाली टिममा एक दशकभन्दा लामो समय खेल्दै आएका आरिफ नेपाली क्रिकेट टिमका भरपर्दा खेलाडीका रुपमा चिनिने गर्नुहुन्छ । ‘लोभर मिडल अर्डर’मा ब्याटिङ गर्ने गर्नुहुन्छ । आरिफले एनपिएलमा फाइनल खेलमा पनि त्यति उत्साहजनक खेल पस्किन भने सक्नुभएन् । फाइनल खेलमा आरिफले तीन बलमा एक रन बनाएर आउट हुनुभयो । सृदूरपश्चिम रोयल्सले आरिफलाई एनपिएलको अक्सनमार्फत १५ लाख रुपैयाँ खर्चेर टिममा भित्राएको थियो । आरिफका सहोदर भाइ हुनुहुन्छ आसिफ शेख । जनकपुर बोल्ट्सले मार्की खेलाडीका रुपमा आसिफलाई २० लाख रुपैयाँ खर्चेर किनेको थियो । जनकपुर बोल्ट्सका कप्तान अनिल साह घाइते भएसँगै कप्तानको जिम्मेवारी समेत आसिफको काँधमा आइपुगेको थियो । आसिफले फाइनल खेलमा शुरुआती व्याट्सम्यानका रुपमा क्रिकेट मैदानमा छिर्नुभएको थियो । आसिफले फाइनल खेलमा १९ बल खेल्दै चार चौका र दुई छक्कासहित ३३ रन बनाएका थिए । प्रतियोगिताको अन्य खेलमा राम्रो चल्न नसकेका आसिफले फाइनल खेलमा लाहिरु मिलान्थासँग उत्कृष्ट शुरुआत गर्नुभएको थियो । विश्वकप जितेको हेर्ने बुबाको धोको मोहम्मदले आफ्ना छोराहरुलाई उनीहरुको रुचि र चाहनाअनुसार नै क्रिकेटमा लाग्न प्रेरित गर्नुुभएको थियो । “मेरो प्रशस्त धनसम्पत्ति भएर छोराहरुलाई खेलाडी बनाएको होइन”, उहाँले भन्नुभयो, “असल संस्कार र शिक्षादिक्षाकै कारणले अहिलेको यो स्थानमा आइपुग्न सफल भएका हुन् ।” उहाँलाई ‘नेपाली क्रिकेटले विश्वकपको उपाधि जितेको हेर्ने धोको छ । आमा प्रवीनले अझै पनि नेपाली क्रिकेट खेलाडी खेल खेलेरै जीविकोपार्जन गर्न नसक्ने अवस्था भएकामा दुःख लागेको बताउनहुन्छ । “क्रिकेट खेलेरै खेलाडीले आफ्नो जीविकोपार्जन गर्नसक्ने अवस्था गराउनुपर्ने हुन्छ”, उहाँले भन्यो, “त्यसो भएको खण्डमा नयाँ–नयाँ खेलाडीहरु खेलप्रति आकर्षित हुन सक्थे ।”
‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म
काठमाडौं। आनी छोइङ डोल्माको जीवनी प्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा स् नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को ओपनिङ फिल्म रहने भएको छ । हङकङस्थित सिटी युनिभर्सिटीमा आमसञ्चारका प्राध्यापक लिनले आनीलाई सात वर्ष पछ्याएर सो वृत्तचित्र तयार गरेका हुन् । फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित वृत्तचित्र महोत्सवको उद्घाटनसँगै देखाइने चलचित्रका रूपमा रहने जानकारी दिए। डोल्माको साङ्गीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई वृत्तचित्रले प्रस्तुतिको विषय बनाएको जनाइएको छ । निर्देशक लिनले वृत्तचित्र आनीको स्वतन्त्रताको खोजीका रूपमा केन्द्रित रहने बताए। सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाका लागि डोल्माले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि वृत्तचित्र बनाउने सोच पलाएको र त्यसको पाँच वर्षपछि काम थालेको लिनले उल्लेख गरे ।
सुनको मूल्यमा प्रतितोला तीन सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार चार सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार एक लाख ५० हजार सात सय पुगेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल कात्तिक २० गते मंगलबार सन् २०२४ नोभेम्बर ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ २४ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ र बिक्रीदर एक सय दुई रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।
सुन र चाँदी दुवैको मूल्य घट्यो
काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको हो । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ थियो । चाँदी पनि आज २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ कायम भएको छ । शुक्रबार यसको मूल्य १ हजार ८९० रुपैयाँ रहेको थियो ।
अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने !
काठमाडौं । राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले अब चाँडै नै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने हुने भएको छ। सरकारले सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्न लागेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले यातायात व्यवस्था विभागसँग प्राविधिक सहकार्य गरी सवारी चालक अनुमतिपत्रमा भएका विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार एक महिनाभित्र सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम सम्पन्न हुनेछ । त्यसपछि चालकले आफ्नो सवारी सवारी चालक अनुमतिपत्र नबोकेर राष्ट्रिय परिचयपत्र बोके पुग्ने उनले जनाए । यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने बताइएको छ। यसका लागि प्रहरीसँग पनि छलफल भइरहेको निर्देशक केशरीले जनाए । उनका अनुसार सुरुवाती चरणमा पुराना सवारी लाइसेन्सको विवरण राख्ने र त्यसपछि मात्र नयाँ लाइसेन्सको विवरण राख्नेगरी काम भइरहेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।प्रदेशसभामा मंगलबार भएको मतदानमा मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो । ११० सदस्यीय प्रदेशसभामा विश्वासकोम तका लागि न्युनतम् ५६ सांसदको समर्थन आवश्यक पर्दछ । लामालाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदले मत दिएका थिए । लामाको विपक्षमा ३५ मत परेको थियो भने ३ मत तटस्थमा परेको थियो । २०७९ मंसीरको चुनावपछि गठन भएको प्रदेशसभाबाट मुख्यमन्त्री बन्ने तेस्रो व्यक्ति हुन् ।
लगानी सहजीकरणमा महासंघले सघाउँछ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय विविध कारण विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बनेको बताएका छन् । अमेरिकाको वासिंटनमा यूएस चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत विकसित मुलुकमा प्राप्त भन्साररहित पहुँच एवं ऊर्जा खरिद बिक्री सम्झौता मुख्य कारण रहेको बताए । नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरे । नेपालमा उत्पादन गरी यहाँको बजारसँगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावनातर्फ लगानीकर्ताको ध्यानाकर्षण गराए । उनले भारतसँग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युत्मा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरूलाई गराए । नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आह्वान गरे ।संसारको सबैभन्दा बढि जनसंख्या रहेको भारतीय सीमाबाट औसत दुई घण्टाको दूरीमा शीतल र स्वस्थ वातावरणसहितको हिलस्टेसन विकास गर्न सकिने सम्भावना रहेको लगानीकर्ताहरुलाई देखाए । लगानी सहजीकरणका लागि महासंघले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) हेल्प डेस्क स्थापना गरेको जानकारी दिँदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासंघले एफडीआई हेल्पडेस्कमार्फत सहजीकरण गरिरहेको छ । नेपालमा पर्याप्त विदेशी मुद्राको सञ्चिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्यून हुँदै गएको जनाए । साथै सरकारले कानुन सुधार र द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी गराए ।

