सुनको मूल्य एकैदिन तोलामा २४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।

रिटर्नी सेन्टरको प्रथम राष्ट्रिय सम्मेलन चितवनमा

चितवन । रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय सम्मेलन चितवनमा शुक्रबार सुरु हुँदैछ । विदेशबाट फर्किएका नेपालीहरुको संगठन रिटर्नी सेन्टरको प्रथम सम्मेलन बिहीबार र शुक्रबार दुई दिनसम्म चल्नेछ सेन्टरका अध्यक्ष देबेन्द्र सम्बाहाम्फेले चितवनको भरतपुरमा हुने सम्मेलनको तयारी पुरा भएको बताए ।  सम्मेलनका लागि सेन्टरले स्थानीय तह , जिल्ला र प्रदेश सम्मेलन गरिसकेको छ । ‘एक रिटर्नी, एक उद्यम प्रविधिको माध्यम’ भन्ने मूल नारा सहित हुन लागेको प्रथम सम्मेलनमा देशभरबाट १ हजार ४९५ जना प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा कृषि तथा डिजिटल प्रविधिबारे वर्कसप समेत हुने बताइएको छ। स्थापना भएको केही महिनामै ६० भन्दा बढी जिल्लामा संगठन निर्माण गरेको सेन्टरले विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि एवम् पुँजीलाई उपयोग गरेर नेपालमा उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने लक्ष राखेको छ। सेन्टरले गत १० पुसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटेर बन्द कलकारखाना हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना संचालन गर्नुपर्ने, ७७ जिल्लामा किसानको बजार स्थापना गर्नुपर्ने, कोरियाली प्रविधि प्रयोग गरी ग्रीन इनर्जी इँट्टा उद्योग सन्चालन गर्नुपर्ने लगायत ५ बुँदे माग अगाडि सारेको छ। बन्द कलकारखाना सन्चालन गर्न वैदेशिक रोजगारबाट फर्केका र वैदेशिक रोजगारीमा रहेका युवाहरुको परिवारको भूमिका हुनुपर्ने सेन्टरले बताएको छ । सेन्टरकै माग अनुसार प्रधानमन्त्रीले बन्द कलकारखाना सन्चालन गर्ने घोषणा गरिसकेका छन् । एभरेष्ट दैनिकले रिटर्नी सेन्टरको उद्देश्य र राष्ट्रिय सम्मेलनको विषयमा गरेको कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस ।

जनप्रगतिशिल मन्च युरोपको महाधिबेशन बार्सिलोनामा हुँदै

काठमाडौं । यहि मार्च १७ र १८ गते स्पेनको बार्सिलोनामा हुने नेपाली जनप्रगतिशिल मन्च युरोपको ५ औ महाधिबेशनको तयारी तिब्र पारिएको छ ।  नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) युरोपको ५ औँ महाधिवेशनका लागि युरोपका विभिन्न देशमा तयारी भैरहेको छ ।  एनपीपीएफ युरोप कमिटीको १५ औँ पूर्ण बैठकले मार्च १७ र १८ गते स्पेनको बार्सिलोनामा ५ औ महाधिबेशनको गर्ने निर्णय गरेको थियो  । यो अधिवेशनले एनपीपीएफ युरोपको नयाँ नेतृत्व निर्वाचित गर्नेछ । अधिवेशनमा युरोपका डेढ दर्जनभन्दा बढी देशबाट एनपीपीएफका प्रतिनिधीहरु सहभागी हुनेछन् । भेलामा विचार र नीतिमाथि तथा परदेशमा नेपालीहरुले भोगेका समस्या बारेमा पनि छलफल गर्ने बताइएको छ । अधिवेशन तयारीका लागि विभिन्न समितिहरु गठन भएको छ ।  सन् २००५ मा एनपीपीएफ युरोपको स्थापना भएको थियो । युरोपका डेढ दर्जन बढी देशमा एनपीपीएफका राष्ट्रिय समिति सक्रिय छन् ।

गौरवमय यात्रातर्फ राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको औचित्यलाई राम्रोसँग प्रमाणित गर्दै लगेको छ । विगतका दिनहरूमा भएका प्रयासहरूले यो पटक थप शक्ति आर्जन गरेको देखिन्छ । नेपाल रैथाने मौलिक लोककलाको मूलभण्डार भएको देश हो । नेपालभित्रका प्रदेशका विविधतालाई झल्काउने मात्र नभएर ललितकलाभित्रका विविध विधालाई मुखर गर्ने कार्यमा राष्ट्रिय ललितकला प्रदर्शनी (२०८१) ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।  पुरस्कारको सङ्ख्या र गुणमा नौलो पाइला चालेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले विगतमा दिँदै आएको ३६ ओटा पुरस्कारमा ३० ओटा थपेर ६६ ओटा बनाइएको छ । प्रदेश प्रदेशमा व्यवस्थित ढङ्गले चलाइएको कला प्रदर्शनी र त्यस प्रदर्शनीमा छानिएका कलालाई मात्र नभएर गणतन्त्र प्राप्तिका लागि बलिदान दिने सहिद कलाकार अनिल लामा र सहिद कलाकार बाबुराम लामाका स्मृतिमा पुरस्कार स्थापना गरेर गणतन्त्रको आधारलाई थप बलियो बनाउने कार्य भएको छ । प्रादेशिक कला प्रदर्शनी र पुरस्कारको व्यवस्थाले कर्णाली प्रदेशले समेत राष्ट्रिय कला प्रदर्शनीमा आफूलाई राष्ट्रिय स्तरमा सशक्त ढङ्गले उभ्याउन पाएको तथ्यले देखाएको छ । यस कला प्रदर्शनीमा प्रादेशिक प्रदर्शनीबाट छनोट भई आएका र अप्रतियोगीसमेत गरी ४८२ कलाकारका ५२२ कलाकृतिहरू समावेश छन् । यसबाट कला सिर्जना र सम्मानका पाटामा महत्त्वपूर्ण यात्रा तय भएको मान्न सकिन्छ । कला कलाका लागि होइन, कलाले सामाजिक रूपान्तरण गर्नुपर्दछ । कला राष्ट्र निर्माणको जग अर्थतन्त्रको स्रोत बन्नुपर्दछ । कलाले मानवजीवनको यात्रालाई प्रस्तुत गर्नुपर्दछ । नेपाली कलामा रहेको स्थानीय रङ र त्यसभित्रको कलाशिल्प अनि ज्ञानपरम्पराको हस्तान्तरणको पक्ष अति नै शक्तिशाली माध्यम हो ।  राष्ट्रिय ललितकला प्रदर्शनीले नेपालको कलालाई दुईओटा पक्षबाट सशक्त बनाएको छ, एकातिर काष्ठकला, मूर्तिकला, लोककलाका पाटामा पुनर्जागरणको सम्भावनातर्फ सङ्केत गरेको छ भने प्रतिस्थापन कला, फोटोग्राफी कलाजस्ता कलाले विश्वस्तरमा उन्नत गर्नुपर्ने मेहनतलाई राम्रैसँग देखाएको छ । कलाले नेपालको अर्थतन्त्रलाई उकास्न कति मद्दत पु¥याउन सक्छ भने कुरा हामी पौभा कला र थाङ्का कलाबाट थाहा पाउन सक्छौँ । मूर्तिकला र काष्ठकलाको शक्ति कति छ भन्ने पत्ता लगाउन हामी अरनिको जस्ता प्रतिभाले विश्वस्तरमा पारेको प्रभावका आधारमा पनि हेर्न सक्छौँ । राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएका कलाकृतिबाट नेपालको अर्थव्यवस्था, समाज व्यवस्था र यसले आगामी दिनमा निर्माण गर्ने मनोविज्ञानको पाटोलाई समेत हेर्दा प्रस्ट आशाका सङ्केत देख्न सकिन्छ । त्यसको मूल आधार भनेको हाम्रो रैथाने संस्कृति र भौगोलिक विविधता नै हो ।  नेपालको जातीय विविधता र भौगोलिक विविधताले निर्माण गरेको जैविक विविधताको पाटो शक्तिशाली छ । यहाँको  भूगोलपिच्छे फरक रहेको जीवनशैलीले हाम्रो राष्ट्रिय जीवनमा सङ्कट समाधानको मौलिक सूत्र सुझाउने गर्दछ । कला जीवनको प्रतिबिम्बन हो । अर्थात् जीवन निर्वाहभित्रका सुख दुःखको अभिव्यक्ति कला हो । यस कोणबाट हेर्दा हाम्रो नेपाल एउटा विशेष गुणले युक्त देश हो । जुन जाति आफ्नो भूगोलमा लामो समय बसेका छन् त्यही जाति त्यस भूगोलको प्रतिबिम्ब कलामा उतार्न सफल हुन्छ । दैनिक जीवनका आवश्यकताले निर्माण गरेको खोजको बाटोलाई निरन्तरको कला अभ्यास भन्न सकिन्छ । त्यसभित्रको बनोटमा आएको निखार र त्यसले ल्याएको जनजीवनको गुणात्मक यात्रा नै कलाको लक्ष्य हुनुपर्दछ । कला चिन्तन काल सापेक्ष हुन्छ भने कला निर्माण जीवनयापनसँग जोडिएको हुन्छ नै । जीवन व्यवहारसँग नजोडिएको कलाले मानवजीवनलाई सही बाटामा डो¥याउन सक्दैन ।  राष्ट्रिय ललितकला प्रदर्शनी (२०८१) मा समावेश भएका प्रतियोगी र अप्रतियोगी कलाकृतिले नेपालका प्रतिभालाई विश्वसामु थपिएको चुनौतीका बारेमा कलाचेत भर्न र नेपालको मौलिक पहिचान जोगाउन अपनाउनुपर्ने उपायतर्फ ध्यान खिचिदिएको छ । राष्ट्रिय ललितकला प्रदर्शनी हेरिरहँदा यस्तो लाग्छ जन्मदेखि मृत्युसम्म आवश्यक वस्तु, ज्ञान–चिन्तन परम्परा र अर्थतन्त्रको विकासमा कलाले मात्र मार्ग निर्माण गर्न सक्दछ, र गरिरहेको छ । यस कला प्रदर्शनीमा पुरस्कृत भनेर राखिएको सूचना सङ्केत निकालिदिने हो भने प्रदर्शनीमा आएका आमदर्शकहरू सबैलाई उत्तिकै आदर दिन तयार छन् तथापि कला मूल्याङ्कनका आधार तय गरेर मूल्य निर्धारण गर्ने कलाविज्ञ र आमदर्शक उही दर्जाका होइनन् नै ।  राष्ट्रिय ललितकला प्रदर्शनीभित्र परिवर्तनको कला अर्थात् देशमा आएको गणतन्त्र र यसको प्राप्तिका लागि भएका बलिदानीपूर्ण सङ्घर्षको कथालाई देखाउने कलाकृति निर्माणमा ध्यान पु¥याउनुपर्ने विषय खड्किएको छ । कला प्रदर्शनीमा स्वदेशको माया झल्काउने सामग्री धेरै भए पनि स्वदेशमै युवालाई अवसर दिलाएर आत्मनिर्भर संस्कृति र अर्थतन्त्रको निर्माणका लागि विशेष सन्देश प्रवाह गर्ने कला समावेश हुनु आजको आवश्यकता हो ।  

हेर्नुहोस् आज सुनचाँदीको मूल्य

काठमाडौं। आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार रहेको थियो। त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला ४० रुपियाँले बढेर तोलाको १७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

माओवादी केन्द्रको कोशी प्रदेश बैठक जारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश १ (कोशी) प्रदेश कमिटीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठक जारी छ । बैठक पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कोशीको विराटनगरमा बसिरहेको छ । विराटनगरको होटेल स्वागतमा आयोजित बैठकमा प्रदेश समिति र सो सरह तथा माथिल्लो समितिका नेताहरूको उपस्थिति छ । बैठकमा पछिल्लो परिस्थिति र पार्टीको अवस्थाबारे अध्यक्ष प्रचण्डले प्रतिरक्षात्मक मन्तव्य तथा निर्देशन दिने बताइएको छ । यस्तै सबै जिल्लाका संयोजकबाट रिपोर्टिङ हुने र अन्तरक्रिया पनि हुने प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिए ।  

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज शपथ लिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार शपथ लिँदैछन्। शाहले सोमबार अपराह्न ४ बजेपछि शपथ ग्रहण गर्ने उनको सचिवालयले जनाएको छ। दोस्रोपटक मुख्यमन्त्री बनेका शाहले सोमबार नै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी गरेका छन्। मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ गराउने तयारी छ। सात सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिनेगरी भागवण्डा टुंगिएको छ।

नेपाली जनप्रगतिशील मंच माल्टाको अध्यक्षमा विनय चयन

काठमाडौं । नेपाली जनप्रगतिशील मंच माल्टाको अध्यक्षमा कान्छाराम बुढाथोकी विनय चयन भएका छन् ।  मंचको प्रथम अधिवेशनले विनयलाई अध्यक्षमा चयन गरेको हो । माल्टामा मञ्चको पहिलो पटक अधिबेशन भएको थियो । माल्टामा रहेका नेपालीहरु संगठित हुने उद्देश्य सहित मञ्चको गठन गरेको बताइएको छ ।  नवनिर्वाचित अध्यक्ष विनयले माल्टामा रहेका नेपालीहरुको हकहितका लागि मञ्चले काम गर्ने बताए । 

बेलायतमा आप्रवासी विरोधी हिंसाको डर, संयमता अपनाउन नेपालीलाई आग्रह

काठमाडौं । बेलायतस्थित नेपाली दूतावासले बेलायतमा रहेका नेपालीहरूलाई सुरक्षा संयमता अपनाउन आग्रह गरेको छ । बेलायतका विभिन्न सहरमा केही दिनदेखि प्रदर्शन भइरहेको छ ।मंगलबार एक सूचनामार्फत दूतावासले बेलायत भ्रमण गर्न लागेका नेपालीलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न आग्रह गरेको छ । बेलायतका विभिन्न सहरमा पछिल्लो समय दङ्गा फैलिएका छन् । यस हप्ता बढी आप्रवासी विरोधी हिंसाका घटनाहरू हुने डर रहेको छ । सोमबार राति दक्षिणपश्चिम इङ्गल्याण्डको तटीय शहरमा भएको हिंसामा प्लायमाउथमा प्रहरी अधिकारीहरू घाइते भएका छन् ।  पछिल्लो समय बेलायतका दुई शहरहरूमा सप्ताहन्तमा फारराइट उत्तेजकहरूले शरणार्थीहरूलाई आवास दिइरहेका होटेलहरूमा आगो लगाए ।जुन घटनाले भित्र रहेका व्यक्तिहरू भयभित भएका थिए । यद्यपी अन्य शहरहरूमा दङ्गाकारहरू सार्वजनिक भवनहरूलाई क्षति पुर्‍याउँदै र प्रहरीसँग भिड्दै, अधिकारीहरूमा वस्तुहरू फ्याँक्दै र उनीहरूको सवारीसाधनहरू तोड्दै थिए। गत महिना उत्तर इङ्ल्यान्डको साउथपोर्टमा तीन बालबालिकाको मृत्यु हुने गरी भएको छुरा प्रहारको आक्रमणले बेलायतिहरुलाई आप्रवासीविरुद्ध क्रोधित र उत्तेजित बनाएको छ । यी हिंसाका घटनापश्चात बेलायतस्थित नेपाली संघ संगठनलाई आफ्नो संस्था तथा समुदायमार्फत नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन पनि दूतावासले आग्रह गरेको छ । आपत्‌कालीन अवस्था आए दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

कर्णालिमा नयाँ सरकार गठन गर्न आह्वान

सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् । परियारले बुधवार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरेका हुन्।  बुधवार मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरे ।  दाबी पेस गर्ने समय चैत्र २७ गते दिउँसो ५ः५० बजेसम्मको दिइएको छ । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै कर्णालीमा एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्।    यस्तै,मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका राजकुमार शर्मालाई कामचलाउ सरकारको जिम्मेवारी दिएको छ । प्रमुख परियारलाई शर्माले राजीनामा बुझाए लगत्तै अर्को मन्त्रीपरिषद् गठन नहुनेञ्जलसम्म मौजुदा मन्त्री परिषदबाटै कार्य सञ्चालनका लागि जिम्मेवारी तोकेका छन् । 

काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ। यसअघि शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि नेपालले ऐतिहासिक जित निकालेको थियो ।

सुनको भाउमा नयाँ रेकर्ड

काठमाडौं । आज सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ।पछिल्लो समय थोरे घटदै धेरै बढ्दै सुनको मूल्यले रेकर्ड पछि रेकर्ड कायम गर्दै आएको छ । आइतबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको भाउले सोमबार रेकर्ड कायम गरेको हो। आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्म कै उच्च हो। आइतबार २४ क्यारेट सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज २२ क्यारेटको सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज सोमबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४५४ दशमलव १९ डलरमा कारोबार भइरहेको छ, भने प्रतिऔंस चाँदी २८ डलर ६१ पैसामा कारोबार भइरहेको छ।

त्रिविमा प्रधानमन्त्री ओलीको हस्तक्षेप : नीतिबिना बजेट पासको उल्टो बाटो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)ले चालु आर्थिक वर्षको बजेट मंगलबार पारित गरेको छ । नीति तथा कार्यक्रमका आधारमा बजेट स्वीकृत गर्ने अभ्यास रहेकामा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले प्रस्तावित नीति तथा कार्यक्रम पेस गर्न रोक लगाएका थिए । प्रधानमन्त्री ओलीले छिट्टै ‘नीति अधिवेशन’ गर्ने भनेपछि सभाले बजेट मात्र पारित गरेको हो ।  नीति तथा कार्यक्रम रोकिएकामा उपकुलपति केशरजंग बरालले आफ्नो असन्तुष्टि त्रिवि सभामै व्यक्त गरेका थिए । उनले योजना परिषद्, कार्यकारी परिषद्बाट पास भएर प्रि–सभामा समेत छलफल भएको नीति तथा कार्यक्रम रोकिएको बताए । ‘सिद्धान्ततः नीतिअनुसार बजेट आउने हो । नीतिबिनाको बजेट पास गरेर उल्टो बाटो भयो,’ उनले भने, ‘आज विश्वविद्यालयले हार्‍यो । अरू कसैले जित्यो होला ।’ बरालले असन्तुष्टि व्यक्त गर्दा सभाको अध्यक्षता गरेका कुलपति ओली सहकुलपति तथा शिक्षामन्त्री विद्या भट्टराईलाई अध्यक्षता छाडेर बाहिरिइसकेका थिए । सहकुलपति भट्टराईले सम्झाउने प्रयास गर्दै नीति अधिवेशन छिट्टै गर्ने भन्दै प्रधानमन्त्रीकै भनाइमा लय मिलाएकी थिइन् । ‘आफूले भनेको कुरा भएन भन्दैमा सबै बिग्रियो भन्ने भाष्य निर्माण नगरौं,’ उनले भनिन्, ‘परम्परागत अभ्यासलाई परिवर्तन गर्दा केही बिग्रँदैन । सरोकारवाला सबै पक्षसँग छलफल गरेर नीति तथा कार्यक्रम बनाउँदा नै उपयुक्त हुन्छ ।’ सभाका सदस्यले नीति अधिवेशन गरेर विश्वविद्यालयले दीर्घकालीन नीति बनाउन सक्ने भए पनि बजेटअघिको वार्षिक नीति तथा कार्यक्रम रोक्नु उपयुक्त नभएको प्रतिक्रिया दिए । त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले नीतिबिनाको बजेटको अर्थ नहुने बताए । ‘विश्वविद्यालयले कुन बाटो लिने भन्ने नीति तथा कार्यक्रमले तय गर्छ । नीतिमा आधारित भएर बजेट आउनुपर्छ,’ उनले कान्तिपुरसित भने, ‘नीतिबिनै बजेट आउनु अनौठो भयो ।’ असार ३१ मा हुनुपर्ने त्रिवि सभा सरकार परिवर्तनका कारण रोकिएको थियो । सभाले ‘ग्रेस लिस्ट’ पास गर्ने, नीति तथा कार्यक्रमसहित बजेट पारित गर्ने एजेन्डा थियो । ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि उपकुलपति बरालसहितका पदाधिकारीले भेटेर मंगलबारका लागि सभाको मिति तय गरेका थिए । त्रिवि परिसर कीर्तिपुरमा भएको सभामा ग्रेस लिस्ट पास भएपछि रजिस्ट्रार केदार रिजालले बजेटसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्न थाले । प्रधानमन्त्री ओलीले रजिस्ट्रार रिजाललाई बीचमै रोकेर समय अभाव भएकाले बजेट मात्रै प्रस्तुत गर्न निर्देशन दिए । १९ पेजको नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्दै गरेका रिजालले एकैचोटि दोस्रो पेजबाट १२ औं पेजको बजेट वाचन गरे । २६ अर्ब १६ करोडको बजेट प्रस्तुत गरिएपछि सभाका सदस्यहरूले नीति कार्यक्रम सभाको एजेन्डा हो कि होइन भन्दै प्रश्न गरेका थिए । सभा सञ्चालक रेक्टर खड्ग केसीले नीति तथा कार्यक्रम पनि एजेन्डा रहेको बताए । सभाका अध्यक्ष ओलीले होइन भनेर पुनः रोकिदिए र बजेटमा मात्र केन्द्रित भएर प्रश्न उठाउन निर्देश गरे । त्यसअघि नै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सभाका केही सदस्यलाई बाँडिसकिएको थियो । सभाका सदस्य तथा स्ववियु सभापति श्यामराज ओझाले बजेटमाथि बोल्दै प्रधानमन्त्री कुलपति हुने व्यवस्था कहिलेसम्म भनेर प्रश्न गरे । जवाफमा प्रधानमन्त्री ओलीले प्रधानन्त्री कुलपति हुँदा विश्वविद्यालयलाई धेरै फाइदा हुने जवाफ दिए । ‘म स्वयंसेवी रूपमा कुलपति भएको हुँ । मलाई बैठक भत्ता लिनु छैन, मानार्थ उपाधि लिनु पनि छैन,’ उनले थपे, ‘प्रधानमन्त्री कुलपति हुँदाको फाइदा विश्वविद्यालयले लिन चाहँदैन भने सोच्नुपर्छ । अहिले विश्वविद्यालयको फाइल मकहाँ सिधै आउँछ । घुमेर आउने पनि प्रधानमन्त्रीसम्म नै हो ।’ त्रिविका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री सभामा सहभागी हुन बालुवाटारबाट हिँड्नु अघि नै नीति तथा कार्यक्रमलाई एजेन्डाबाट हटाउन खबर गरिएको थियो । ‘नीतिअनुसार नै बजेट बनेको थियो । त्यसमा प्रधानमन्त्री र उपकुलपति दुवैले अडान लिन आवश्यक थिएन,’ सभाका एक सदस्यले भने, ‘दुवैले अडान नछाड्दा सभामा केही नमिलेजस्तो भयो ।’ स्ववियुबाट प्रतिनिधित्व गर्ने विद्यार्थी, कर्मचारी र प्राध्यापक संघसंगठनले आफ्ना माग नीति तथा कार्यक्रममा नसमेटिए सभा नै बहिस्कार गर्ने चेतावनी दिँदै आएकाले कार्यसूचीबाट हटाइएको रेक्टर केसीले बताए । केसीलाई रेक्टर र रिजाललाई रजिस्ट्रार नियुक्त गर्दादेखि नै ओली उपकुलपति बरालसँग बेखुसी छन् । बरालले प्रतिस्पर्धाका आधारमा उपकुलपतिले पदाधिकारीको टिम बनाउन पाउनुपर्ने अडान लिएका थिए भने ओलीले रजिस्ट्रार एमाले कोटामा हुनुपर्ने दबाब दिएका थिए । बराललाई तत्कालीन कुलपति पुष्पकमल दाहाल प्रचण्डले मेरिट बेसिसका आधारमा गत फागुनमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले उपकुलपतिभन्दा पनि आफ्नो दल निकटका प्राध्यापकको कुरा सुनेर नीति तथा कार्यक्रम रोकेको एक प्राध्यापकले अनुमान गरे । ‘उपकुलपतिले आफ्नो नीति लागू हुनुपर्ने अडान लिनुभएको थियो । दलीय भ्रातृ संगठनहरूलाई त्यो कुरा मन परेको थिएन,’ ती प्राध्यापकले भने, ‘नीति तथा कार्यक्रम रोकेर उपकुलपतिलाई दबाबमा राख्न खोजिएको हुन सक्छ ।’ प्रधानमन्त्रीसँग समन्वय गरेर छिट्टै नीति अधिवेशन गरेर नीति तथा कार्यक्रम टुंग्याउने भन्दा पनि नेतृत्वसँग बखेडा गर्नतिर उपकुलपति लागे भने विश्वविद्यालयको वातावरण झनै बिथोलिन सक्ने पनि उनले औंल्याए । सभाले बजेटसँगै ६२ औं ग्रेस लिस्ट पारित गरेको छ । लिस्टमा २०८० असार १ देखि २०८१ जेठ मसान्तसम्म ट्रान्सक्रिप्टसमेत लिइसकेका स्नातक, स्नातकोत्तर, पीजीडीएस, एमफिल र विद्यावारिधि तहका ७३ हजार ९ सय ९५ विद्यार्थी समावेश छन् । उनीहरूका लागि आगमी पुसमा दीक्षान्त कार्यक्रम आयोजना हुनेछ ।कान्तिपुरमा समाचार छ ।

एकैदिन तोलामा २३ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाल बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, यस दिन छापावाल सुन (२४ क्यारेट)प्रतितोला एक लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार (हिजो) छापावाल सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५० हजार रुपैयाँ थियो । चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।

कर्णालीमा कांग्रेसका चार मन्त्रीको शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेकपा (एमाले) नेतृत्वको सरकारमा नेपाली कांग्रेसकोतर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो। जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा नियुक्त भए । नवनियुक्त मन्त्रीले आइतबार पदभार ग्रहण गरेका हुन्।

मधेस सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

वीरगन्ज । मधेस प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी हुन् ।  चौथो पटक विश्वासको मत लिएपछि थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथ खुवाएका छन्। माओवादीका युवराज भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटन  र संसदीय दलका नेता भरत साहलाई विना विभागीय मन्त्रीमा शपथ लिएका छन्।  यसैगरी, एकीकृत समाजवादीका बेची लुंगेलीलाई पनि विना विभागीय मन्त्रीमा शपथ खुवाइएको छ। त्यस्तै गृह राज्यमन्त्रीमा नेकपा एमालेको तर्फबाट शारदा थापाले शपथ  लिएकी छन्।  नव नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुवेदीले शपथ खुवाएकी थिइन् भने गृह राज्यमन्त्री थापालाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ खुवाएका थिए ।