महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । 

श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो । 

पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । 

नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।

 समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ ।

एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ । 

समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

धनुषा। मधेश प्रदेश सरकारले मङ्गलबार मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका (लोसपा) वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानअनुसार कार्य जिम्मेवारी र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।   पुनर्गठित मन्त्रिपरिषदमा मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालयको कार्य जिम्मेवारी सम्हालेका छन् । भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा सञ्जयकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, खेलकुद तथा समाज कल्याणमन्त्रीमा सुरीताकुमारी साह, गृह तथा सञ्चारमन्त्रीमा राजकुमार लेखी, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा सिंगासन सा कलवार, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शत्रुधन सिंह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा सुनिता यादव, ऊर्जा सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा शेखअबुलकलाम आजाद, उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा रहबर अन्सारी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा केशव राय रहेका छन् । यसअघि २०८० चैत १० गते १४ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् रहेको थियो भने अहिले १३ सदस्यीय रहेको छ । लोसपाले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने सार्वजनिक भएपछि सो पार्टीबाट मन्त्री बन्नु भएका कुर्मीलाई मात्र हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको आङ्कलन गरिएको छ । 

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल फागुन ११ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५९ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर 

अखिल क्रान्तिकारीले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने

काठमाडौं । विद्यार्थी दिवसको अवसर आगामी जेठ १ गते अनेरास्ववीयू (क्रान्तिकारी) ले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ। नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा ‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार’ विषयक डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।  अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मीका अनुसार वक्तृत्वकला प्रतियोगिताको समन्वयको जिम्मेवारी संगठनका उपाध्यक्ष पवन कार्कीलाइ दिइएको छ।  प्रतियोगितामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज हिमाल शर्मा, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.केशव भुसाल, नेपाल प्रज्ञा परिषदका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत निर्णायक समितिमा रहने भएका छन्। प्रतियोगितामा प्रथम हुने लाई ५९ हजार, दोस्रो हुनेलाई ३९ हजार र तृतीय हुनेलाई १९ पुरस्कार पाउने व्यवस्था गरिएको छ भने चौथो हुनेले सान्तवना पुरस्कार स्वरुप रु ९ हजार पाउनेछन्। प्रतियोगितामा सहभागी हुनेले ‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार’ शीर्षकमा अधिकतम ५ मिनेटको भिडियो बनाउनु पर्ने छ। प्रतियोगीले उभिएर शरीरको पूर्ण भाग देखिनेगरी आफ्नो विषय प्रस्तुत गर्नु पर्ने नियम बनाइएको छ । एभरेष्ट दैनिकसँगको कुराकानीमा उपाध्यक्ष रेग्मीले प्रतियोगितामा निर्णायक समितिको निर्णय नै अन्तिम हुने जानकारी दिए। उनका अनुसार सहभागीले प्रतियोगिताको निम्ति तयार गरेका भिडियो अखिल (क्रान्तिकारी) को आधिकारिक इमेल [email protected] मा यही वैशाख २५ गते बेलुका सात बजेसम्म पठाइ सक्नु पर्नेछ। प्राप्त भिडियोहरु वैशाख २६ गतेदेखि संगठनको अफिसियल पेजबाट प्रशारित गरिने र प्रसारित भएका भिडियोमा वैशाख ३० गते बेलुका ११ बजेसम्म आएका लाईक, शेयर, भिउज र अनलाइन भोटिङको परिणामलाई समेत आधार मानी निर्णय गरिने अखिन क्रान्तिकारीले जनाएको छ। नेपाली विद्यार्थी आन्दोलनको गौरवपूर्ण दिन जेष्ठ १ गते विद्यार्थी दिवसको अवसरमा प्रतियोगिताको नतिजा सार्वजनिक र पुरस्कार वितरण गरिने नेता रेग्मीले बताए । सोही दिन विद्यार्थी आन्दोलनको इतिहास झल्किने डकुमेन्ट्री पनि सार्बजनिक गरिने उनले बताए ।  उपाध्यक्ष रेग्मीका अनुसार यस्तो डकुमेन्ट्री उपाध्यक्ष क्षितिस सापकोटाले निर्माण गरेका छन् ।

मधेस प्रदेशसभामा जनमत पार्टीको अवरोध

काठमाडौं । मधेस प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । जनमत पार्टीले नाराबाजी गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।  मंगलबारको बैठक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको थियो । सप्तरीको राजविराजमा मधेस कृषि विश्व विद्यालयको शिलान्यासका क्रममा भएको घटनाको जवाफ माग गर्दै जनमत पार्टीले बैठक अवरोध गरेको हो । माघ ८ गते सप्तरीको राजविराजमा मधेस कृषि विश्व विद्यालयको शिलान्यास कार्यक्रममा क्याबिनेट मन्त्रीसहित सांसदमाथि भएको घटना छानबिन हुनुपर्ने माग जनमतले राखेको छ । सो कार्यक्रममा भएको झडपमा महेश यादवलगायत तीन सांसद प्रहरीको बल प्रयोगबाट घाइते भएका थिए ।  

सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम कति ?

काठमाडौं । सेयर बजारको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।  नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ। सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन।  आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेको थियो।  सो दिन ३ अर्ब ७७ करोड  मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा खरिदबिक्री भए। आज सामान्य अंकले घटेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले वृद्धि भएको हो। ३१ करोड ७३ लाख ७० हजार ९९८ रुपैयाँको कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। यसैगरी साना किसान विकास वित्तीय संस्थाले १२ करोड,जोशी हाइड्रोपावरले ८ करोड,नगदी ग्रुपले ६ करोड मूल्य बराबरको सेयर कारोबार गरे। १३ उपसमूहमध्ये पाँच उपसमूहको मात्रै सूचक बढ्यो।डेभलपमेन्ट बैंक,फाइनान्स,इन्भेस्टमेन्ट , मनु एण्ड प्रो र अदर्श उपसमूहबाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएका हुन्। कारोबारमा आएका कम्पनीमध्ये ९० वटाको मूल्य बढ्दा १५० को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज यहाँ उद्घाटन गरेका छन्। प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ ।  प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए। उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । आजदेखि शुरु भएको यस प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ। 

प्रकाश दाहाल स्मृति चौथो राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट

काठमाडौं । आजबाट प्रकाश दाहाल स्मृति चौथो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियगिता शुरु हुँदै छ। राष्ट्रिय बक्सिङ प्रतियोगिता नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा आयोजनामा हुन लागेको हो । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १७ गते दिउँसो (आज) ठिक १२ बजे दशरथ रंगशालाको कभर्ड हलमा गर्ने आयोजकले जनाएको छ । राष्ट्रिय बक्सिङ प्रतियोगिता पाँच दिन सम्म चल्नेछ।

कर्णालीका मुख्यमन्त्रीद्धारा राजीनामा घोषणा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । अहिले वीरेन्द्रनगरस्थित प्रदेशसभा भवनमा जारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका हुन् । यसअघि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको भएपनि सत्ता गठबन्धनमा भएको राजनीतिक सहमतिअनुसार मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।  राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिए । शर्माले राजीनामा दिएसँगै मुख्यमन्त्रीले विश्वासको मत लिने कारबाही अघि नबढ्ने सभामुख नन्दा गुरुले जानकारी दिइन् । यससँगै प्रदेशसभाको बैठक चैत २५ गतेसम्म स्थगित भएको छ ।

भारतमा पहिरो परी मृत्यु भएका तीन जनाको शव नेपाल ल्याइयो

कञ्चनपुर ।  भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका तीनजनाको शव नेपाल ल्याइएको छ । शनिबार दिउँसो गड्डाचौकी नाका हुँदै उनीहरुको शव नेपाल ल्याइएको हो ।  पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परिवार, कृष्ण परियार र पुर्ण नेपालीको शव नेपाल ल्याइएको हो । उनीहरुको शव एउटै गाडीमा ल्याइएको छ । आज रातिसम्म घरमा पुगेपछि भोलि अन्तिम संस्कार गरिने मृतक तुलबहादुरका भान्जा गोपाल परियारले जानकारी दिनुभयो । गोपालको परिवार र मृतक चारैजनासँगै काम गर्दै आएका थिए । पहिरोमा परी मृत्यु भएका दैलेखका दिपक बुढाको भने केदारनाथ क्षेत्रमै अन्तिम संस्कार गरिएको छ । बिहीबार राति केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको थियो ।

राहत लिएर रंगेलीका अग्नी पिडित वस्तिमा पूर्वमन्त्री आचार्य

काठमाडौं । नेकपा (माओवादी केन्द्रका केन्द्रीय)सदस्य समेत रहेका कोशी प्रदेशका पूर्वअर्थमन्त्री जीवन आचार्य राहतसहित मोरंगको रंगेली सन्थालका अग्नी पिडितको वस्तिमा पुगेका छन् ।    बुधबार दिउँसो राहत सामग्री सहित आगलागीबाट क्षति पुगेको सन्थाल, सतार र मुसहर समुदायको वस्तिमा पुगेका आचार्यले कर्मचारी तथा समाजसेवीहरुको उपस्थितिमा आगजनी पिडितलाइ राहत वितरण गरे । सो अवसरमा उनले आगलागीबाट पिडित बनेका जनताको बसोवास र खानपानको प्रबन्ध मिलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चासो रहेको पिडितलाई जानकारी गराए । साथै उनले आगजनीबाट भएको क्षतिको क्षतिपूर्ति र बसोवासका लागि घर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए ।  चैत्र ४ गते मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएका थिए ।शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको थियो।  आगलागीबाट पिडित बनेका नागरिकहरुलाई मलम लगाउन गरिएको राहत वितरणमा पूर्वमन्त्री एंव सांसद आचार्यसहित मोरंग जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, नेपाल प्रहरीका जिल्ला एसपी, सशस्त्र प्रहरीका जिल्ला एसपी, सिएनआईका केन्द्रीय उपाध्यक्ष भिम घिमिरे, पवन शारडा, मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल लगायत पूर्व सांसदहरु, पत्रकारहरु र नागरिक समाजका अगुवाहरु सहभागी थिए। 

भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो ।  भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७  रन प्रहार गरिन् ।  जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो 

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको आज उद्घाटन गरेका छन् । सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । करिब रु २५ करोड ८० लाख र कार्यालयबाट उपलब्ध गराइएको रु तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको लागतमा सम्पन्न भएको सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ ।  झोलुङ्गे पूलको चौडाई ४ फिट रहेकोले मानिस, चौपाया, साइकल र मोटरसाइकलले प्रयोग गर्न सक्ने भए पनि झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डोर्‍याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ ।

कारोबारको पहिलो दिन ओरालो लाग्यो नेप्से, कोरोबार कति ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अंकले ओरालो लागेको छ। परिसूचक १ दशमलव ३३ प्रतिशतले घटेर १ हजार ९७९ दशमलव ०२ बिन्दुमा आएको हो। गत मंसिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से परिसूचक २ हजारको बिन्दुभन्दा तल झरेको हो। आज विभिन्न ३१७ कम्पनीका ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ७१ हजार ८८० पटक खरिदबिक्री हुँदा ३ अर्ब आठ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन्।  वित्त समूह १ दशमलव ४० र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै जलविद्युत् समूह २ दशमलव ४२ प्रतिशतले घटेको छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ।  यो कम्पनीको २५ करोड १८ लाख १२ हजार २४२ रुपैयाँ बराबरको ४ लाख १५ हजार ९४९ कित्ता शेयर किनबेच भएको छ।

झापाका सन्तोष बने ‘रियलमी मिष्टर नेपाल २०२४’

काठमाडौं । रियलमी ‘मिष्टर नेपाल २०२४’ सन्तोष लोक्सम घोषित भएका छन् । शनिबार राति सोल्टीमोड स्थित होटल सोल्टीमा भव्य स्टेज सेटअप सहित आयोजित  ‘रियलमी मिष्टर नेपाल २०२४’को अन्तिमस्पर्धामा झापा सन्तोष लोक्समले शीर्ष उपाधिको ट्रफी उचाल्न सफल भएका हुन् । विजेता बनेसँंगै उनी आधिकारिक रुपमा ‘मिष्टर नेपाल वल्र्ड २०२४’ चयन भएका छन् । उनले आगामी नोभेम्बर महिनामा भियतनामा संचालन हुने ‘मिष्टर वल्र्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।  कार्यक्रममा सन्तोषलाई एन्ट फाउन्डेसनले सोसल एम्बेसडरका रुपमा पनि पुरस्कृत गरेको छ । विजेता बनेसँगै सन्तोषले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन् ।  प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ ‘मिष्टर ग्लबोल नेपाल २०२४’ छानिएका । उनले नेपालको तर्फबाट आउँदो अक्टोबर महिनाको पहिलो साता थाईल्याण्डमा सम्पन्न हुने ‘मिष्टर ग्लबोल २०२४’ नेपालको प्रतिनिधित्प गर्नेछन् । त्यस्तै काठमाडौंका आयुष दुलाल प्रतियोगीतामा ‘म्यान अफ द वल्र्ड नेपाल २०२४’ चयन भए । दुलाले ‘म्यान अफ द वल्र्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।  योगेश र आयुष दुवै तीन लाख बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन् । तीनै जना मुख्य उपाधि विजेताले विभिन्न ब्राण्डका लागि मोडलिङ गर्ने अवसर समेत प्राप्त गरेका छन् ।  प्रतियोगितामा धरानका आदेश प्रधान फस्टरनर अप तथा हेटौंडाका आयुष बमजन सेकेन्ड रनर अप भए । बौद्धिकता सहितको व्यक्तित्व, आकर्षण सहितको आवरण तथा दृढ निश्चयता सहितको आत्मविश्वास भएको युवाको खोजी अन्तर्गत संचालन गरिएको ‘मिष्टर नेपाल २०२४’ को फाइनल प्रतिस्पर्धाको यात्रामा राइनो लेदरको पहिरनमा सहभागिहरुले आफ्नो प्रारम्भिक प्रस्तुति दिएका थिए, भने त्यसपछिका प्रस्तुतिमा ब्ल्याकबेरिजको विभिन्न मेन्स् वेयरमा सजिएर फाइनल प्रतिस्पर्धाको मैदान आफूलाई अब्बल रुपमा उतारेका थिए ।  एक्सपोज नेपालको पहलमा नेक्स्ट मोडल्स नेपालको आयोजनामा नेपाली युवाको बौद्धिकता, व्यक्तित्व, प्रतिभा, साँस्कृतिक पृष्ठभूमि र आत्मविश्वास संग जोडिएको राष्ट्रिय स्तरको प्रतियोगिता रियलमी मिष्टर नेपाल २०२४ मा देशभरिका ३८ जना युवाहरुको सहभागिता रहेको थियो । अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकार कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा  फोटोग्राफर राजभाई सुवाल, युवा उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री एवं मोडल नीति शाह, पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्व मिष्टर नेपालद्वय डा. रुपक घिमिरे र सन्दिप पोखरेल रहेका थिए । प्रतियोगिताको विभिन्न विधागत अवार्डमा आयुष बोमजन रियलमी मोस्ट पपुलर, आदेश प्रधान पब्लिक च्वाइस, आयुष दुलाल टेनएक्स वेष्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मोस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ आर्टसियम मिष्टर फाटोजेनिक, साकार बजिमय प्रिमेरा मोस्ट इन्टिलेक्चुयल, मनोज गुरुङ बज्र वेष्टफिजिक, सन्तोष लोक्सम ब्ल्याकबेरी म्यान अफ एलिगेन्स, प्रकाश चौहान योलो मोस्ट एक्टिभ, समिर तिमिल्सिना आवरण वेष्ट स्कीन, पियुष श्रेष्ठ जोय मेन च्वाइस, अनिकेत प्रजापति श्रीकेश वेष्ट हेयर, सिजल कपाली राइनो मिष्टर फेसनीष्टा, अग्रज श्रेष्ठ प्रो स्टाइल मिष्टर स्टाइल आइकन तथा मनोज गुरुङ केएफसी वेष्ट स्पोर्टस्मेनशीप अवार्डमा विजेता चयन भएका थिए । ‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगीतामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट लगायत प्रतियोगीका रुपमा रहदै आएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।  

एसीसी वुमन्स एसिया कप : भारत र श्रीलंका फाइनलमा प्रवेश

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनल खेल्ने भएका छन्।  गएराति श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै भारत फाइनलमा पुगेको हो।  बंगलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍ यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८० रन बनाएको थियो।  यस्तै आयोजक श्रीलंका पनि पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। पाकिस्तानले दिएको १४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाएर १९.५ ओभरमा पूरा गर्‍यो।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १४० रन बनाएको थियो।