मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिन लागेका छन्।

विश्वासको मत लिने प्रयोजनका लागि मधेश प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुखको कार्यालयले जनाएको छ । 

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सरकारबाट बाहिरिएपछि कांग्रेसले गत चैत ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

मुख्यमन्त्री यादवले १५ महिनाको अवधिमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय मधेश प्रदेशमा बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक छ ।

‘आर्थिक पारदर्शितामा भरतपुर महानगरपालिका उत्कृष्ट छ’

चितवन । भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक (चैत–असार) भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । शुक्रबार भरतपुर–७ स्थित विपी कोईराला मेमोरिय क्यान्सर अस्पताल सभाहलमा भएको सार्वजनिक सुनुवाईका क्रममा वडावासीले महानगरले दिने सेवालाई थप जनमुखी बनाउन सुझाव दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले ४ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तेस्रो चौमासिकमा गौतम बुद्ध क्रिकेट रंगशालाको टेण्डर गर्ने, भरतपुर भ्रमण वर्ष २०२४ अभियान, नारायणी तटबन्धन, सिटी हल, खानेपानी, हरियाली सडक, सिक्स लेन सडक, लगायतका गौरवका आयोजनामा भएका प्रगति विवरण प्रस्तुत गर्नुभयो ।   सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले सडक, बत्ती, ढल निर्माण, शिक्षा, स्वास्थ्य लगायतका शुसासनका विषयमा महानगर प्रमुख रेनु दाहाललाई प्रश्न गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तरलगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो ।  महानगरबासीका प्रश्नको उत्तर दिँदै महानगर प्रमुख दाहालले आर्थिक पारदर्शितामा भरतपुर महानगरपालिकाका उत्कृष्ट रहेको बताउनुभयो । भरतपुरले फोहर व्यवस्थापनमा सोचे अनुरुप काम गर्न नसकेको उहाँले स्पष्ट पार्नुभयो । ल्याण्डफिल साईटको जग्गाको देखिएको समस्या समधान भए निर्माण प्रकृयामा जाने उहाँको भनाई थियो । यस तेस्रो चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उहाँले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताउनुभयो। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउदै उहाँले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनु पर्ने बताउनुभयो। कार्यक्रममा चौमासिक प्रगति प्रतिवेदन पेश गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक वर्ष २०८०/८१ को विनियोजित ६ अर्ब ४२ करोड १३ लाख ३० हजार रहेकोमा रु ४ अर्ब १७ करोड ३७ लाख ७६ हजार खर्च भएको उल्लेख गर्नुभयो । यो बजेटको ६४ दशमलव ९९ प्रतिशत हो । जसमध्ये चालुतर्फ ८४ दशमलव ७ प्रतिशत र पूँजीगततर्फ ५० दशमलव ५ प्रतिशत खर्च भएको छ । यसैगरी महानगरले आर्थिक वर्ष २०८०/०८१ को लागि रु १ अर्ब ७५ करोड लक्ष्य लिएकोमा रु १ अर्ब ३० करोड ९१ लाख ४८ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ७५ प्रतिशत हो ।

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् । उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गरेका हुन् ।

भरतपुर महानगरले दियो २ सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । प्रमुख दाहालले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रुपमा ठूलो फड्को मारेको छ ।” शिक्षामा सबैको पहुँच पु¥याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उहाँले बताउनुभयो । “शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ ।” वितरणलाई अझै प्रभावकारी र वैज्ञानिक बनाउँदै लगिने उहाँले बताउनुभयो । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालय सरह बनाउने गरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उहाँको भनाइ थियो । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई आईतबार सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ । ‘जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ’, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भन्नुभयो । ३० संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना रहेका छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका ८, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ जना रहेका छन् । जसमध्ये अरोमा कलेज ४५ जना, अर्किड कलेज ३० जना, बालमीकि शिक्षा सदन २५ जना, नारायणी पब्लिक कलेज २४ जान, गुरुकुल एकेडमी १८ जना, एपेक्स एकेडमी १३ जना, सप्तगण्डकी कलेज ९ जना, अंकुरम एकेडमी ९ जना, अरबिट यूनिक स्कुल ९ जना र अन्य स्कुल गरी २६६ जनाले छात्रवृत्ति पाएका छन् । महानगरले वार्षिक रुपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले २ सय ७४ जनालाई छात्रवृति दिएको थियो ।

धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिर)

रत्ननगर, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान रोपेका छन् ।प्रधानमन्त्री प्रचण्डले चितवन स्थित रत्ननगरमा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आयोजित कार्यक्रममा धान नयाँ प्रविधि अनुसार धान रोपेका हुन् । धान रोप्नु अघि २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताएका थिए ।  

नेपाली सेनाले माग्यो दरखास्त

काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ ।  आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो ।  रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।  आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ । 

नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन -'प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुनुहोस् '

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन्। हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा भेट गरी प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताएका हुन्। पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.हेमराज पन्तले आज नियुक्तिपत्र बुझेसँगै प्रधानमन्त्री एवं कुलपति प्रचण्डलाई भेट गरेका हुन्।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन दिए। “विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्यगरी प्रतिस्पर्धाका आधार जिम्मेवारी दिन सुरु गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यहाँहरूको नियुक्ति पनि सोहीअनुसार भएको हो, आ–आफ्ना जिम्मेवारी निष्पक्ष तवरले पूरा गर्नुहोला ।” प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिहरूलाई निर्देशन दिए। 

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी निःशुल्क कक्षा सञ्चालनका लागि आवेदन आह्वान गरेको हो । सूचनामा महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि निःशुल्क लोकसेवाको तयारी कक्षा सञ्चालन गरिने उल्लेख छ । महानगरले इच्छुक उम्मेदवारलाई नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र महानगरपालिकाको सामाजिक विकास विभागमा आवेदन पेस गर्न आग्रह गरेको छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा नेपालगञ्ज रंगशालाको अवलोकन

नेपालगञ्ज, १६ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान नेपालगञ्ज रंगशालाको अवलोकन गर्नुभएको छ । सो क्रममा उहाँले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो । हिजो मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गर्नुभएका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताउनुभयो । ‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुद मन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’– उहाँले भन्नुभयो– ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ ।’ यही वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन अध्यक्ष प्रचण्डले खेलाडीहरुलाई आग्रह गर्नुभयो । उहाँले दशौं राष्ट्रिय खेलकुदको सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उहाँले स्पष्ट गर्नुभयो । सो क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीहरुले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए । उहाँसँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता रहेको थियो ।  

विद्यार्थीलाई समय सान्दर्भिक पाठ्यक्रम पढाऔं : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन्।  पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका हुन्।  “युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ । समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।” युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले युवा लक्षित उद्यमशीलता र नवप्रवर्तन तथा मानव संशाधान विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जनामा विशेष जोड दिए।  “युवा जोश, जाँगरयुक्त ज्ञान, सीप र क्षमतालाई देशले नियालिरहेको छ र योगदान खोजिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कूल जनसङ्ख्याको करिब ४० प्रतिशत युवा जनसाङ्ख्यिक लाभ नेपालले लिन सक्नुपर्छ र हामीले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्नैपर्छ ।”  शैक्षिक क्षेत्रको उन्नयनमा आमूल रुपान्तरण गर्न नसक्नु दुःखद् विषय भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले शैक्षिक प्रणाली र यसले सिर्जना गरेको शैक्षिक बेरोजगारीको अवस्थालाई परिवर्तन गर्न जरुरी रहेको बताए। लामो समयदेखि विद्यालय तथा विश्वविद्यालय तहमा सिकाउनेभन्दा रटाउने शिक्षा पद्धति चलिरहेको अनुभूति हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्राविधिक ज्ञान र सीपलाई विशेष जोड दिन निर्देशन दिए।

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुर । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने प्रचलन रहेको छ ।   विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

किमाथाङ्का–खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : उपप्रधानमन्त्री महासेठ

किमाथाङ्का ।  उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन् ।सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुँदै उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका लागि बजेट अभाव नभएको उल्लेख गरे।  कार्यक्रममा रक्षामन्त्री हरि उप्रेतीले किमाथाङ्का नाका चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गरे। उपप्रधानमन्त्री महासेठ र मन्त्री उप्रेतीले किमाथाङ्का नाका र राजमार्गको अवलोकन गर्नुभयो । मन्त्रीद्वयसमक्ष भोटखोलाका अध्यक्ष वाङ छेदर लामाले गाउँपालिकाको विकासका लागि मागपत्र पेस गरेका थिए ।  राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकखण्डको १४ किलोमिटर क्षेत्रमा ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मा दिइएको थियो । भौगोलिक हिसाबले किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक खोल्न सकस भएको हो। खाँदबारी–किमाथाङ्का एक सय ६२ किलोमिटर खण्डमा आव २०६५/६६ मा ट्र्याक खोल्न सुरु गरिएको थियो। भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको थप १४ किलोमिटर सडक ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । सो सडक निर्माण सम्पन्न भए कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । 

कोशीमा हिक्मत कार्की बने तेस्रो पटक मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन्।उनलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । नेता हिक्मत कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका थिए । त्यहीअनुसार खापुङले कार्कीको पक्षमा ५२ सांसदको सनाखत भइसकेकाले मुख्यमन्त्रीमा नियुक्त गरिएको बताए। उनले प्रदेश सभामा रहेका ९३ सांसदमध्ये ५२ अर्थात् बहुमत सदस्यको सनाखत भइसकेकाले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिए। प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बुधबार साँझ सरकार गठनको आह्वान गरेका थिए । उनको आह्यवानपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेस गरेका थिए। यसअघि कार्की दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको निर्वाचनमा कुनै पनि दलले प्रदेशमा बहुमत पाउन नसक्दा पुस २४ मा एमाले नेता कार्की नेकपा माओवादी, जनता समाजवादी पार्टी, राप्रपा लगायतका दलहरूको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर बीचैमा माओवादी र जसपाले साथ छाडेपछि कार्की असार १५ मा पदमुक्त भएका थिए। त्यसपछि असार २१ मा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका थिए। सभामुखलाई पनि हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्री बनेका थापालाई साउन ११ मा सर्वोच्च अदालतले पदमुक्त गरिदियो। लगत्तै सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर साउन १६ मा थापा दोस्रोपटक मुख्यमन्त्री बने। भदौ ४ मा विश्वासको मत लिने दिन उपसभामुख सृजना दनुवारलगायतका एमाले–राप्रपाका ८ जना ज्येष्ठ सदस्य अनुपस्थित रहे। सत्ता गठबन्धनले बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई पनि मुख्यमन्त्रीको पक्षमा मत दिन लगाएको थियो। बैठकको अध्यक्षता गरेका मन्सुरीको मतले पनि थापालाई टिकाउन सकेन। यसैबीच मुख्यमन्त्रीका लागि कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ । कोशीमा जसपाका एक सांसद निर्मला लिम्बू छिन् । जसपाले समर्थन गरेसँगै कार्कीलाई समर्थन गर्ने सांसदको संख्या ५३ पुगेको छ ।

शिक्षक महासंघको महाधिवेशन आज सुरु हुँदै

काठमाडौं। नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आज सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने घोषणा गरेको छ । महासंघको विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो । महासंघको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाए । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि संगठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गरे ।

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

देउवा दम्पत्तिविरुद्ध फेसबुकमा टिप्पणी गर्ने युवाहरुलाई कागज गराएर छाडियो

धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि फेसबुकमा टिप्पणी गरेको आरोपमा कैलाली प्रहरीले धनगढीका दुई युवालाई नियन्त्रणमा लिएर छाडेको छ । जिल्ला प्रहरी कार्यालयले फेसबुकमा ‘स्टाटस’ लेखेको आरोपमा धनगढीका प्रतीक जोशी र रचित शाहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिई राति छाडेको हो ।  पक्राउ गर्नुको कारण खुलाएको छैन । तर, शान्तिसुरक्षामा खलल नपुर्‍याउने कागज गराएर उनीहरूलाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले मौखिक उजुरीका आधारमा दुईजनालाई केहीबेर नियन्त्रणमा लिइएको बताए । उनले कस्तो खालको उजुरी भन्नेबारे खुलाएनन् । ‘शान्तिसुरक्षाको सवालमा केही चुनौती आउन सक्ने भन्ने थियो, ल्याएर हिजै छोडेका छौँ,’ उनले भने, ‘यसबारे योभन्दा धेरै नबोलौँ ।’  फेसबुकमा आफूले कुनै आपत्तिजनक विषय नलेखे पनि प्रहरीले आफूलाई नियन्त्रणमा लिएको प्रतीकले बताए । ‘मुलुक अहिले वास्तवमा संकटै संकटमा छ, आमजनता संकटको अवस्थामा छन्,’ प्रतीकले लेखेका थिए, ‘संस्कार नभएका भनेर बोलेको लोकलाजको विषय बनेको छ । तपाईंहरूको प्रजातन्त्रमा यस्तै हुन्छ ?’ शान्तिसुरक्षामा खलल नपुर्‍याउने कागज गराएर प्रहरीले राति रिहा गरेको उनले बताए । रचितले पाँचपटक प्रधानमन्त्री हुँदा पनि पनि देउवाले केही काम गर्न नसकेको, भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्रीलाई पार्टीबाट कारबाही नगरेको र गिरीबन्धु घोटालाका आरोपितलाई प्रधानमन्त्री बनाएको आशयले स्टाटस लेखेका थिए । प्रतीकका अनुसार अपराह्न चार बजेतिर बोराडाँडीमा खाजा खाने क्रममा आएका प्रहरीले सोधपुछ गर्नु छ भनेर दुवैजनालाई नजिकैको प्रहरी बिटमा लगेका थिए । ‘त्यहाँबाट जिल्ला प्रहरी कार्यालय जानुपर्‍यो भनेपछि आफ्नै गाडीमा जिल्ला प्रहरीमा गयौँ,’ प्रतीकले भने, ‘डेढ घण्टासम्म परिसरमा राख्यो । पछि प्रहरीले फेसबुक प्रोफाइलमा के छ, पढाइ, राजनीतिक आस्था के हो भनेर सोधे ।’