नेपालको शान्ति प्रक्रिया, सक्रमणकालीन न्याय र प्रचण्डविरुद्धको मुद्धा

नेपालमा सञ्चालित माओवादी जनयुद्धका क्रममा भएका घटनामा नियमित अदालतमा मुद्धा चलाउने वा सक्रमणकालीन न्यायको वाटोवाट न्याय निरुपण गर्ने भन्ने विषयमा फेरि बहस सुरु भएको छ । यही फागुन १९ गते सर्वोच्च अदालतले माओवादी जनयुद्धका प्रमुख कमाण्डर रहेका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध जनयुद्धकालका घटनामा रिट दर्ता गर्न अनुमति दिएपछि सर्वोच्च अदालतवाटै बिस्तृत शान्ति सम्झौता र संविधानको भावना कुल्चने काम भएको महशुस हुँदैछ । कानूनतः सर्वोच्च अदालतको क्षेत्राधिकारभित्र नरहेको र उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् टुंगो लगाउनुपर्ने विषयमा सर्वोच्चले आदेश जारी गरेको धारणा सरकार र माओवादी दुवै पक्षले सार्वजनिक गरिसकेको छ ।यो आदेशपछि नेपालको शान्ति प्रक्रियामा सहभागी विभिन्न पक्षकोसमेत ध्यान तानिएको छ । सर्वोच्चको आदेश लगत्तै फागुन २१ गते बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, एकीकृत समाजवादी, राजमो, नेसपासहित ९ दलको बैठकले संविधान र बृहद शान्ति सम्झौता अनुसार सक्रमणकालका घटनाको टुंगो सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगमार्फत् लगाइने वताउँदै यससम्वन्धमा संसदवाटसमेत आवश्यक कानून बनाउने प्रतिवद्धता सार्वजनिक गरेको छ ।

२०६३ मंसिर ५ गते तत्कालिन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र जनयुद्धरत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” बीच भएको बिस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ५.२.५ मा भनिएको छ “सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार उल्लङ्घन गर्ने र मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिहरूको सत्यतथ्य छानबिन गर्न र समाजमा मेलमिलापको वातावरण सिर्जना गर्न आपसी सहमतिबाट उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न दुवै पक्ष सहमत छन् ।” यसैगरी उक्त सम्झौताको बुँदा ५.२.७ मा दुवै पक्षले राजनीतिक कारण र विचाराधीन मुद्दाका आधारमा लगाइएका सबै आरोप, अभियोग र उजुरी फिर्ता लिने र राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्ने ग्यारेन्टी गरिएको छ ।

नेपाल सरकार र माओवादीबीच भएको सोही बृहद शान्ति सम्झौताका आधारमा देशमा राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना हुनुका साथै संविधानसभाको चुनाव सम्पन्न भई संविधानसभाले नयाँ संविधान जारी गरिसकेको छ । बिस्तृत शान्ति सम्झौतालाई अन्तरिम संविधानको अंग बनाइएको र सोही सम्झौताअनुसार देश राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणको वाटोमा अघि बढिसकेको अवस्थामा अहिले फेरि जनयुद्धकालीन घटनालाई परम्परागतढंगले अदालती प्रक्रियावाटै टुंगो लगाउन खोज्नु नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनलाई नजर अन्दाज गर्नु हो । सर्वोच्च अदालतवाट आदेश जारी गर्ने न्यायधिशद्वय मध्ये न्यायधिश हरिप्रसाद फूयाल् सर्वोच्च अदालत प्रवेश गर्नुपूर्व कानून व्यवसायीकारुपमा अग्नी सापकोटासहित विभिन्न माओवादी नेताको द्धन्द्धकालीन मुदामा नियमित अदालतवाटै कारवाही हुनुपर्छ भन्ने मान्यताका साथ एनजिओ आइएनजिओमार्फत् अभियान चलाउनुका साथै अदालतमासमेत बहस पैरवी गर्दै आएको कुरा कसैवाट छिपेको छैन । साथै हालको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहँदा विगतमा महान्यायधिवक्ता रहीसकेको र एमालेमा केन्द्रीय लेखा आयोगको सदस्य भइसकेकाले पनि न्यायधिश हरि फूयालवाट प्रधानमन्त्री प्रचण्डविरुद्धको उजुरीमा सुनुवाई गरिँदा निष्पक्षताको सिद्धान्तको बर्खिलाप हुनुका साथै राजनीतिक स्वार्थ प्रेरित हुनसक्ने देखिन्छ । अदालतवाट आएको यस किसिमको विवादास्पद आदेशले विषयलाई थप गम्भीर बनाएको छ ।

हामी सबैलाई थाहा छ, नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक र अनुकरणीय छ । नेकपा (माओवादी)का प्रमुख नेता प्रचण्डको नेतृत्वमा ०५२ फागुन १ देखि सुरु गरेको जनयुद्धको मुख्य उद्देश्य राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापना गर्ने रहेको थियो । २०६३ मंसिर ५ गते तत्कालिन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” बीच भएको बिस्तृत शान्ति सम्झौता बमोजिम देशमा राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो । सोही सम्झौताका आधारमा संविधानसभाको चुनाव भएर नयाँ संविधान जारी गरिएको हो । पहिलो संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियतले गणतन्त्रात्मक सरकारको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्ने हैसियत माओवादी अध्यक्ष प्रचण्डलाई प्राप्त भएको हो । नयाँ संविधान जारी भएपछि दोस्रो पटक २०७३ सालमा र तेस्रो पटक हाल २०७९ सालमा प्रचण्ड प्रधानमन्त्री बन्नु भयो । अहिले पनि प्रचण्ड प्रधानमन्त्री नै हुनुहुन्छ ।

नेपालको वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हालका प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सञ्चालित माओवादी जनयुद्धकै कारण संभव भएको हो । प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए नेपालमा न त संविधानसभावाट नयाँ संविधान बन्दथ्यो, न गणतन्त्र नै संभव थियो । माओवादीकै कारण समावेशिता, समानुपातिक सहभागिता, महिला, दलित, आदिवासी, जनजाति, मधेशी, सिमान्तकृतका अधिकार सम्भव भएको हो । यसरी अहिले देशमा भएका राजनीतिक परिवर्तन र उपलब्धीहरुको बास्तविक जन्मदाता रहेका प्रधानमन्त्री प्रचण्डविरुद्ध अमुक राजनीतिक भाषणलाई आधार बनाएर मुद्धा चलाउन अनुमति दिने सर्वोच्चको आदेश मात्र राजनीतिक स्टन्बाजी हो । यसले कुनै संबैधानिक र कानूनी महत्व राख्दैन ।

तीन वर्ष अघि पनि द्वन्दकालीन घटनाका सम्वन्धमा अदालती प्रक्रियावाट माओवादीका नेता कार्यकर्तामाथि मुद्धा चलाइन थालेपछि पार्टी अध्यक्ष प्रचण्डले द्वन्दको समयमा माओवादी पक्षवाट भए गरेका घटनाको नैतिक जिम्मा आफूले लिने राजनीतिक भाषण गर्नुभएको थियो । नेपालमा माओवादी जनयुद्धका क्रममा राज्य र बिद्रोही पक्षवाट करिव १७ हजार मानिस मारिएको तथ्यांक छ । यसमा राज्य पक्षवाट १२ हजारभन्दा बढी र माओवादी पक्षवाट करिव ५ हजार मारिएको अनुमान छ । कहिलेकाही माओवादीमाथि “१७ हजारको हत्यारा” भन्दै गालीगलौच गर्ने गरिएको सन्दर्भमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवाद गर्दै बोलेका शब्दहरुवाट केही शब्दमात्रै टिपेर माओवादीका विरोधीहरुले अनर्गल प्रचार गर्दै मुद्धा मामिला गरेकै भरमा सर्वोच्चले मुद्धा चलाउन अनुमति दिने हो भने नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुग्नुको साटो विथोलिदै जाने अवस्था आउन सक्छ ।

माओवादी जनयुद्धका समयमा भएका एक एक घटनामा सक्रमणकालीन न्यायको साटो नियमित अदालतकै वाटो समात्ने हो भने ०५२ साल फागुन १ गते यता सरकारमा पुगेर माओवादी समाप्त पार्ने नाममा जनतामाथि दमन श्रृंखला चलाएका नेपाली कांग्रेस, एमाले, राप्रपाका नेता र स्वयं राजा ज्ञानेन्द्रमाथिसमेत सयौ ज्यानमुद्धा लाग्न सक्छ । त्यतिमात्रै होइन, २००७ सालको राण शाषन विरुद्धको लडाईमा नेपाली कांग्रेसले हतियार बोकेकै हो र मान्छे मारेकै हो । ०२८ सालको झापा आन्दोलनमा एमलेले व्यक्तिहत्याको वाटो रोजेकै हो । यी घटनामा तत्कालिन पार्टी नेतृत्वले राजनीतिक उद्देश्य प्राप्तिका लागि गरिएको भन्दै नैतिक जिम्मा लिने गरेको थियो । नैतिक जिम्मा लिएकै भरमा मुद्धा चलाउँदै जाने हो भने २००७ साल, २०१७ साल, २०२८ साल र ०४६ साल लगायतका सबै आन्दोलनका क्रममा भएका हिंसा र हत्यामा तत्कालिन नेतृत्वकर्ता विरुद्ध मुद्धा चलाउनु पर्ने हुन्छ । के यसरी राजनीतिक प्रतिशोध साधेर मुद्धा चलाउँदै गएर नेपालमा शान्ति कायम होला त ? अवश्य हुँदैन । तर २०५२ सालको जनयुद्ध, जसका कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव बन्यो, त्यसका अगुवा माथि मुद्धा चलाउनुको अर्थ अहिलेको परिवर्तन र संविधानमाथिकै प्रहार हो ।

नेपालको विस्तृत शान्ति सम्झौताको मक्सद गम्भीर अपराधमा संलग्नहरुलाई कुनै पनि कारवाही नगर्ने भन्ने हुँदै होइन । राजनीतिक द्वन्दपछि शान्ति प्रक्रियामा सहभागी हुँदा नियमित अदालतभन्दा बेग्लै कार्यादेशसहित बन्ने संयन्त्रहरुवाट न्याय प्रक्रिया अघि बढाउदा समाजमा शान्ति र मेलमिलाप कायम हुनुका साथै द्वन्द अन्त्य गर्न सकिने अन्तराष्ट्रिय अनुभवहरु छन् । विश्वका विभिन्न देशमा भएका राजनीतिक द्वन्द र शान्ति सम्झौताका अनुभवका आधारमा नेपालमा पनि निश्चित विधि, प्रक्रिया र संयन्त्रवाट सक्रमणकालीन न्यायको वाटो तय गरिएको हो । द्वन्दमा दुवै पक्षवाट भएका घटनाको छिटो छानविन गरेर सत्य तथ्य पत्ता लगाउने, गम्भीर र नियतवस भएका घटनामा कारवाहीको शिफारिस गर्ने, परिस्थितिजन्य र अन्य घटनामा एकआपसमा मेलमिलाप गर्न चाहेमा मध्यस्थता गर्ने, क्षतिपूर्ती र राहत उपलब्ध गराउने तथा आममाफी दिन सकिने घटनामा आम माफीको शिफारिस गर्ने जस्ता कार्यहरु सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्न सक्छ । यी कामका लागि नियमित अदालतको साटो फरक संयन्त्र बनाएर न्याय दिँदा एकातिर सत्य के हो भनेर स्थापित हुन्छ भने अर्कोतिर समाजमा मेलमिलाप र एकले अर्कोलाई स्विकार्ने अवस्था सिर्जना हुन्छ । बास्तविक पीडितले न्याय पाउने, गम्भीर घटनाका दोषीले उन्मुक्ति पनि नपाउने र सामाजिक सम्बन्धहरुमा खलल पैदा नहुने वाटो नै अहिलेका लागि सक्रमणकालीन न्याय निरुपणको बाटो हो ।

माओवादीले नेतृत्व गरेका हरेक तहका सरकारले नमूना काम गरेका छन्ः शर्मा

दाङ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले आफ्नो पार्टीले नेतृत्व लिएका कुनै पनि तहका सरकारमा नमूना काम गर्दै आएको बताउनुभएको छ । दाङको घोराही उपमहानगरपालिका जबरपुरमा आयोजित पार्टी कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले वडादेखि केन्द्रसम्म माओवादीले नेतृत्व गरेका सरकारहरुले नमूना काम गर्दै आएको बताउनुभयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसअघि लोडसेडिङमुक्त नेपाल बनाएको स्मरण गराउँदै उहाँले पछिल्लो कार्यकालमा गम्भीर भ्रष्टाचारका फाइलहरु खोलेर सुशासनको नयाँ अभियान सुरु गरेको बताउनुभयो । ‘माओवादीले अहिलेसम्म धेरै सम्हालेका उर्जा र सञ्जार मन्त्रालय हुन्, यी मन्त्रालयले नै अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेका छन्’– शर्माले भन्नुभयो– ‘दिनमा १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त गरेर दश वर्षमा दश हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्नेसम्मको तहलाई देशमा पुर्याउने माओवादी नै हो । घरघरमा इन्टरनेट, हातहातमा मोबाइल सेटको नारासहित सञ्चार क्षेत्रको विकास गर्दै अहिले नेपाललाई सूचना प्रविधि दशकको घोषणासम्मको अवस्थामा पुर्याएको पनि माओवादीले नै हो ।’  माओवादीको पहिलो सरकारले मध्यपहाडी लोकमार्गजस्तो राष्ट्रिय महत्वको आयोजना अघि बढाएको स्मरण गर्दै उहाँले माओवादीले नेतृत्व गरेका केन्द्रदेखि स्थानीय तहका हरेक सरकारले नमूना काम गर्दै आएको बताउनुभयो । माओवादीले धेरै काम गरे पनि जनतासँगको सम्बन्ध र व्यवहारलाई ध्यान दिन नसक्दा कमजोर भएको स्वीकार गर्दै नेता शर्माले अब जनतासँगै एकाकार भएर आगामी निर्वाचन एक्लै लड्ने तयारीका साथ अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका शर्माले सबै टोलटोलमा एकैचोटी विकास पुर्याउन नसके पनि क्रमशः विकास योजनाहरु योजनाबद्ध रुपमा अघि बढाउँदै लगेको बताउनुभयो । जनताबाट निर्वाचित हुँदा आफूले सके जति राम्रो गर्नेछु र नराम्रो गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उहाँले सके जति राम्रो गरिरहेको तर नराम्रो नगरेको र कहिल्यै नगर्ने वाचा दोहोर्याउनुभयो । ‘मैले निर्वाचन जितेको पाँच वर्ष पुगेपछि निर्वाचन क्षेत्रमा के कति काम गरियो, के कति गर्न सकिएन र के कारणले गर्न सकिएन भनेर स्वेतपत्र जारी गर्नेछु’– उहाँले भन्नुभयो– ‘हामी जो जहाँ छौं, इमान्दारितापूर्वक लागौं, गर्न सकेका कामको स्वामित्व लिऔं, नसकेका कामका लागि निरन्तर पहल गरौं, हामी अवश्यक सफल हुनेछौं ।’  

जिल्ला न्यायधिश घिमिरे इलाम २ को मुख्य निर्वाचन अधिकृत

इलाम । इलामका जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई इलाम क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले इलाम २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय भोलि चैत २२ गते इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै मतदाताको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका छ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन दर्ता हुनेछ । इलामको उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको जनाएको छ ।  निर्वाचन कार्यालयका अनुसार इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन गर्ने तय भएको छ । निर्वाचन आयोगले चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।

बुद्ध एअरको पहिलो जहाजलाई दिइयो ‘अन्तिम सलामी’

काठमाडौं । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको एउटा एटीआर–४२ विमान अब सदाका लागि व्यावसायिक उडानबाट बिदा भएको छ । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहबीच सम्मानस्वरूप पानीको फोहोराले अन्तिम सलामी (वाटर स्यालुट) दिएर उक्त जहाजलाई बिदा गरिएको हो । बुद्ध एयरले १६ वर्षदेखि आन्तरिक गन्तव्यहरूमा उडाइरहेको ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको एटीआर विमानलाई बिदा गरेको हो । आन्तरिक उडानमा बुद्ध एयरले सन् २००८ मा भित्र्याएको यो उसको पहिलो एटीआर विमान थियो । बुद्ध नेपालमा सबैभन्दा धेरै एटीआर विमान उडान गर्ने वायुसेवा कम्पनी हो । योसँग ४७ सिटका एटीआर–४२ तीन र ७० सिट क्षमताका १५ वटा एटीआर विमान छन् । त्यति बेला ३० हजार हाराहारी साइकल विदेशमा उडिसकेको यो विमान खरिद गरेर नेपाल ल्याइएको बुद्ध एयरका एक वरिष्ठ प्राविधिक बताउँछन् । उडानमा एउटा टेकअफ र एउटा ल्यान्डिङलाई एक साइकल मानिन्छ । यो विमानको अझै १७ वटा साइकल बाँकी थियो । अन्तिम उडानमा एटीआरको सिंगापुरस्थित क्षेत्रीय कार्यालयबाट आएका दुई जना प्रतिनिधि, बुद्ध एयरलाई ऋण सहायतामा सघाउने केही बैंकरसहित १६र१७ जना यात्रु राखेर माउन्टेन फ्लाइट भएको थियो । ‘वाटर स्यालु’पछि जहाजलाई बुद्ध एयरको ह्यांगरमा लगिएको छ । अब यो विमानको दर्ता खारेजी हुनेछ । यसमा प्रयोग भएका काम लाग्ने उपकरण झिकेर खोक्रो ढाँचा नागरिक उड्डयन प्राधिकरणलाई अभ्यासका लागि दिइने बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

विराटनगरको धार्मिक र्‍यालीमा विवाद हुँदा रानी क्षेत्रमा तनाव

विराटनगर । रामनवमीको सन्दर्भ पारेर हिन्दु धार्मिक संघसंस्थाले विराटनगरमा निकालेको धार्मिक र्‍यालीका क्रममा विवाद भएको छ । विराटनगर महानगरपालिका–१५ का युवाले बृहत् मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरेपछि अर्को समूहले अवरोध गर्न खोज्दा विराटनगर–१५ स्थित रानीमा तनाव सिर्जना भएको हो । सडक अवरोध हुन खोजेपनि प्रहरीले हस्तक्षेप गरेर अवस्था नियन्त्रणमा लिएको छ ।  विराटनगर–१५ र १७ सिमानामा दुई समूहबीच झडपको अवस्था आएपछि प्रहरीले हवाई फायर गरेको थियो । अवस्था बिग्रन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शिक्षक सरुवासम्बन्धी निर्देशिका स्वीकृत, निवेदन दिएको ३० दिनभित्रमा सरुवा (निर्देशिकासहित)

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गरेको छ।सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउनको लागि मन्त्रालयले निर्देशिका लागू गरेको जनाएको हो। निर्देशिका अनुसार दरबन्दी मिलानको सिलसिलामा खुद पुल कायम भएको दरबन्दी भएमा, सम्बन्धित तहमा स्थायी नियुक्ति भएको एक वर्ष अवधि नपुगेको वा अनिवार्य अवकाश हुन एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेको शिक्षक भएमा सरुवा गर्न नसकिने उल्लेख छ। रिक्त पद खुला वा बढुवाद्वारा पदपूर्तिका लागि सम्बन्धित निकायमा लेखी पठाइएको भएमा लगायतको अवस्थामा सरुवा सहमति दिन वा सरुवा गर्न नसकिने उल्लेख गरिएको छ। मन्त्रालयले तयार गरेको निर्देशिकामा विद्यालय व्यवस्थापन समितिको भूमिका शिक्षा नियमावली २०५९ को अनुसूची १७ अनुसार नै हुने भएको छ। निर्देशिकामा पाँच वर्ष अवधि नपुगी सरुवा हुन चाहनेका लागि प्रचलित व्यवस्थामा परिमार्जन गरी विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने बनाएर सरुवा सरल बनाउन खोजिएको थियो। यसमा विद्यालय व्यवस्थापन महासंघले आपत्ति जनाएपछि अनुसूची १७ अनुसार कायम गरिएको छ। यसैगरी निर्देशिका अनुसार शिक्षक सरुवासम्बन्धी कार्यमा आवश्यक समन्वय तथा सहजीकरण गर्न केन्द्रमा सहजीकरण समिति हुनेछ। उक्त समितिको संयोजक शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक, सदस्य शिक्षा मन्त्रालयका विद्यालय शिक्षा शाखा प्रमुख र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक सदस्य सचिव रहने व्यवस्था गरिएको छ । समितिले शिक्षक सरुवासम्बन्धी विषयमा आवश्यक समन्वय र सहजीकरण गर्नेछ। त्यस्तै समितिले सरुवासम्बन्धी उजुरी र गुनासो व्यवस्थापन कार्य गर्ने निर्देशिकामा जनाइएको छ ।

३ वटा सवारी ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

विराटनगर, १८ फागुन । मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । शुक्रबार बिहान पूर्व –पश्चिम लोकमार्गको बेलबारी नगरपालिका १ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो । बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलाई पनि ठक्कर दिएको प्रहरीको भनाई छ । दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका २ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोमा सवार झापाको कमल गाउँपालिका(२ ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुष गम्भीर घाइते छन् । न्युरो अस्पताल विराटनगरमा उनीहरुको उपचार भइरहेको छ । घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएकोमा २ जनाको बाटो मै  मृत्यु भएको हो । दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा  क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका(७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।

अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको सानदार जीत

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत सेमिफाइनलमा  दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पाँच ओभर मै समेटेको छ । यससँगै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको हो। अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै ६० रन बनायो। दक्षिण अफ्रिकाका रिजा हेड्रिक्सले अविजित रहँदै सर्वाधिक २९ रन बनाए। २५ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे। कप्तान एडन मार्क्रम २३ रनमा अविजित रहँदा ओपनर क्विन्टन डी कक पाँच रनमा पेभिलियन फर्किए। अफगानिस्तानका फजलहक फारुकीले एक विकेट लिए। त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ११।५ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनाएको थियो। अफगानिस्तानका अजमतउल्लाह ओमरजाईबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। दक्षिण अफ्रिकाका मार्को यानसन र तबरेज शम्सीले समान तीन विकेट लिए। कगिसो रबाडा र अनरिख नार्खिऐको नाममा समान दुई विकेट रह्यो।

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौं ।  कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । सोमबार बिहान मायामीस्थति हार्ड रक स्टेडियममा भएको फाइनलमा निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।  निर्धारित ९० मिनेटसम्म कुनै पनि टिमले गोल गर्न नसकेपछि अतिरिक्त समयको दोस्रो हाफमा अर्जेन्टिनाले १ गोल गर्दै फाइनल आफ्नो पक्षमा ल्याएको हो । अतिरिक्त समयको अन्तिममा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरेका थिए । उनको सोही गोल नै जितका लागि निर्णायक बन्यो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा जिओभानी लो सोल्सोको पासमा निर्णायक गोल गर्न सफल भएका हुन्। लाउटारो र लो सोल्सो दुवै ९७औं मिनेटमा मैदान प्रवेश गरेका थिए। च्याम्पियन बनेपछि अर्जेन्टिना कोपा अमेरिकाको सर्वाधि सफल टिम बनेको छ । यसअघि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उपाधि जितेका थिए।यो जीतसँगै अर्जेन्टिनाले उरुग्वेलाई पछि पारिसकेको छ। यसैगरी अर्जेन्टिनाले लगातार तीन मुख्य उपाधि समेत जितेको छ। अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको थियो भने सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो।

लागुऔषधको कुलतबाट छुटकारा पाउन अपनाउनहोुस यस्ता उपाय !

काठमाडौं, चैत २६ । –लागुऔषधबाट छुटकारा पाउन सबैभन्दा पहिले आफ्नो समस्या पहिचान गर्नुपर्ने हुन्छ । ड्रग्सका कारण व्यक्तिगत स्वास्थ्य तथा समाजमा असर परिरहेको छ भन्ने बुझेपछि प्रयोगकर्ताले परिवर्तनका लागि निर्णय लिनुपर्छ । –तनाव कत्तिको छ, जीवन कसरी चल्दै छ, स्वास्थ्यमा ड्रग्सको असर कति परेको छ, यी र यस्ता प्रश्न आफैँसँग गर्नुहोस् । –आफ्ना लागि ड्रग्सभन्दा महत्वपूर्ण  कुरा के–के छन्, जस्तो– परिवार, करिअर, तपाईंको स्वास्थ्य, तपाईंले माया गरेर घरमा पालेका जनावर, तपाईंकी श्रीमती वा गर्लफ्रेन्ड । यस्ता कुराको सूची तयार गर्नुहोस् । –ड्रग्सका कारण तपाईंको जीवनमा के भइरहेको छ र यसलाई त्याग गर्दा तपाईंलाई आर्थिक र सामाजिक रूपमा के–कस्ता फाइदा हुन्छन् भनेर सोच्नुहोस् । –तपाईंलाई ड्रग्स छाड्न के कुराले अवरोध गरिरहेको छ भनेर आफैँलाई प्रश्न गर्नुहोस् । यो सामाग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुनको मूल्य १ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छः प्रचण्ड

काठमाडौं, २१ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ । खुमलमटारमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपालका लागि ओलम्पिकमा पहिलो पदक  प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गर्नुभएको हो । उहाँले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गर्नुभएको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले नेपालबाट इतिहास रच्ने पलेशालाई बधाई दिंदै यो जीतले संसारभरि रहेका नेपालीहरुले गौरव गर्ने अवसर प्राप्त भएको बताउनुभयो । ‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ’– उहाँले भन्नुभयो– ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रबर्धन गर्छ, त्यसैले पलेशाको यो जीत अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्वपूर्ण जीत हो ।’ खेलको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा बहुआयामिक महत्व भएकाले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले समय फेरिएको छ, खेलले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठूलाठूला समस्याको समाधान पनि दिएको छ । अहिले पलेशाले मेडल जितेपछि राष्ट्र एक ढिक्का भएको छ, सबले गर्व गरेका छन्, सब खुशी भएका छन् ।’ पलेशाको जीत राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै उहाँले आगामी ओलम्पिकमा पनि थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । यो जीतका लागि आधार तयार पार्ने प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो संघ र घरपरिवारलाई राष्ट्रका लागि योगदान गरेकोमा उहाँले धन्यवाद र बधाई दिनुभयो । पलेशाको परिवारलाई विशेष बधाई दिंदै उहाँले एउटा अफ्ठ्यारो अवस्थाबाट गुज्रेर विश्व रेकर्ड बनाउनु चानचुने विषय नभएको बताउनुभयो ।  यसअघिका विभिन्न खेलहरुमा अरुभन्दा धेरै पदक जितेको र यसपटक ओलम्पिकमा इतिहास नै कायम गर्न सफल भएको तेक्वान्दो क्षेत्र नेपालका लागि विशेष खेल बन्न पुगेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा राज्यले बढी लगानी गर्नुपर्ने अवस्था आएको बताउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुँदा खेल क्षेत्रमा लगानी वृद्धि, खेल पूर्वाधार विकास र खेलाडीलाई प्रोत्साहनका लागि पुरस्कारको व्यवस्थालगायतका थुप्रै काम गरेको स्मरण पनि गर्नुभयो । उहाँले यसअघि आफू प्रधानमन्त्री हुँदा एशियन क्वालिफायरमा मेडल लिएर आउँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बधाई दिंदै पाराओलम्पिक यात्रामा सफलताको शुभकामना व्यक्त गरेको स्मरण गर्दै अझै माथिल्लो पदक प्राप्तिको संभावना रहेको बताउनुभयो ।  सो क्रममा पदक विजेता पलेशाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा गोल्ड मेडलका लागि तयारी गर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ लगायत पदाधिकारी, राखेप सदस्य सचिव टंकलाल घिसिङ र पलेशाका बुवा प्रदीप गोबर्धनले आफ्ना अनुभव सुनाउनुभएको थियो । 

साफ यू–२० : नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाली युवा टोलीले अवसर गुमाउँदा अर्को एक मौका गुमाएको छ। सातदोबाटोस्थित एन्फा मैदानमा भएको उपाधि भिडन्तमा नेपाल ४–१ गोल अन्तरले पराजित भएको हो। खेलको पहिलो हाफमा नेपालले खेलमा केही दबाब बनाएपनि दोस्रो हाफमा लगातार गोल खाँदा नेपाल पराजित भएको हो ।  दोस्रो हाफमा पेश बढाएको नेपाल विरुद्द बंगलादेशले काउण्टर बनाउँदै इतिहास रन्च सफल भयो । नेपाल एक सान्त्वना गोल गरेको हो। नेपालका लागि समिर तामाङले सान्तवना गोल फर्काउनुभयो । पहिलो हाफको इन्ज्युरी समयमा बंगालदेशका मिलाजुल इस्लामले फ्रिकीकमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो। २१ औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो । बंगलादेशका गोलरक्षक एक अर्कासँग जुधेर लडेपछि निराजनले बल अघि बढाउनुभयो । उहाँले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको क्रसलाई अभिनाश स्याङतानले पोस्टको दिशा दिन नसक्दा नेपाल गोल गर्नबाट चक्न पुग्यो । पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशले अग्रता लियो।  मिराजुल इस्लामले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्नुभयो। उहाँको फ्रिकिक टप कर्नरमा लाग्दै गोल भएको थियो । दोस्रो हाफको ५६ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । असादुल इस्लामले बायाँ विंगबाट दिएको क्रसमा असादुल मोल्लाले दिएको ब्याक हेडरलाई अनमार्क रहेका मिराजुल इस्लामले गोल गरे । ७१ औं मिनेटमा बंगलादेशले अर्को गोल थप्यो ।  यसपटक मिराजुलको पासलाई मोहमद हुसेन राहुलले नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट सुन्दर फिनिस गर्नुभयो । ८० औं मिनेटमा नेपालका लागि समिर तामाङले गोल गर्दै नेपालका लागि आशा जगाएको भएपनि इन्ज्युरी समयमा पियास नोभाले गोल गर्दै बंगलादेशको जित सुनिश्चित बनाउनुभयो । पहिलो हाफको नवौ मिनेटमा निराजन धामीको लामो प्रहार बंगलादेशका गोलरक्षकले बचाउ गर्नुभएको थियो ।

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

कैलाली । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो।  विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।  अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको छ। रासस

गण्डकी सरकारमा एमाले प्रवेश, चार मन्त्रीद्धारा शपथ ग्रहण

पोखरा । गण्डकी सरकारमा एमाले प्रवेश गरेको छ । सरकार गठनको करिब दुई महिना पुग्नै लाग्दा मन्त्रालय फुटाएर भागबण्डा मिलाएर सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त गरिएको हो । उहाँहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।  एमालेबाट मन्त्री नियुक्त भएसँगै गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन पनि भएको छ। कार्यविभाजन अनुसार एमालेका जिसीले कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, बस्यालले उद्योग तथा पर्यटन, पाठकले स्वास्थ्य र केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गर्नुहुने भएको छ । यसअघि सरकारमै रहेका कांग्रेस सांसद डा.टकराज गुरुङ आर्थिक मामिला मन्त्रालयमा निरन्तरता पाउनुभएको छ भने विन्दुकुमार थापाले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । मनाङबाट स्वतन्त्र निर्वाचित राजीव गुरुङ ‘दीपक मनाङे’ले वन तथा वातावरण र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । सरकारमा एमालेलाई प्रवेश गराउन दुई मन्त्रालय फुटाएर ७ बाट बढाएर ९ मन्त्रालय गराइएको छ ।

संविधान संशोधनका नाममा उपेक्षित वर्गको अधिकार खोस्ने चलखेलः पूर्वमन्त्री शर्मा

गिरिराज नेपाली  दाङ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य रेखा शर्माले नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनको सरकार संविधान संसोधनको नाममा जनताका अधिकार खोस्ने चलखेलमा लागेको बताउनुभएको छ । वर्तमान सरकार संविधान संसोधन गरी समानुपातिक समावेशिताको अधिकार सहित संविधानले उत्पीडित जाति वर्ग र  समुदायले संविधान मार्फत प्राप्त गरेको अधिकार हनन गर्ने गरी संविधान नै संसोधनको आन्तरिक गृहकार्यमा रहेको बताउनुुभयो ।  अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिकाले आयोजना गरेको तिज मिलन तथा शुभकामना आदाप्रदानमा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री शर्माले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको उत्पीडत जाति समुदायको अधिकार छिन्ने गरी संविधान फेर्ने र अधिकार मास्ने खेलमा रहेको उहाँको भनाई थियो । उहाँले भन्नुुभयो– ‘दलित, मुुस्लिम, महिला, जनजातिहरुलाई संविधानले समानुपातिक समावेशिताको अधिकार दिएको छ । त्यो कुरा सत्ता गठबन्धन दलहरुले फेर्न चाहान्छन् । मुलुकको उत्पीडित जाति समुदाय र वर्गलाई आफ्नो अधिकार र स्वतन्त्रतावाट बञ्चित गर्न गठबन्धन सरकार चाहान्छ ।’ मुलुक परिवर्तनसँगै प्राप्त गरेको उपलब्धीको रक्षा क्रान्तिकारी शक्तिहरुले गर्ने भएकाले अब मुलुक परिवर्तनका लागि नभई प्राप्त अधिकारको रक्षाका लागि उत्पीडित जाति, वर्ग र समुदाय एक भएर लाग्नुुपर्ने उहाँले जोड दिनुुभयो । उहाँले थप्नुुभयो– ‘हिजो परिवर्तन र अधिकार प्राप्तीको लडाई थियो, आज अधिकार रक्षाको लडाई जरुरी छ । जसले हिजोको जनयुद्ध र जनआन्दोलनको झझल्को दिलाउन सकोस् ।’ महिला दिदिबहिनीहरु मुुलुकको हरेक परिवर्तनमा अग्रिणी भूमिकामा रहि परिवर्तनका लागि संघर्षशिल बन्दै आइरहे पनि हिजोको त्यो व्यवस्थाले महिलाहरुलाई थिचोमिचो र अन्यायमा पारे पनि अहिले महिलाहरु परिवर्तन सँगै अधिकार प्राप्ती अनुुभूूत गर्न पाएकाले मुुलुक परिवर्तनसँगै प्राप्त उपलब्धीको रक्षा जोगाउने प्रमुख दायित्व महिला, उत्पीडित जाति समुदायको रहेको उहाँको भनाई थियो ।  पूर्वमन्त्री शर्माले हरितालिका तीज महिला दिदि बहिनीहरुको सुख, शान्ति र मनोरञ्जनको पर्व रहेकाले यसमा विकासित समाजसँगै विकृत समेत बढ्दै गईरहेको बताउनुुभयो । तर विकृतिलाई निरुत्साहित गर्दै हाम्रा मौलिक पर्व एवं संस्कृतिहरुको परम्परा मौलिकतालाई जोगाउन जरुरी रहेको बताउनुुभयो । पछिल्लो समय चार्डपर्वका नाममा हुने खाने र हुदा खानेहरुको अन्तर समेत मौलाउदै गइरहेकाले यसलाई सास्कृतिक, सामाजिक सहिष्णुुता कायम राख्न सबैले प्रयत्न गर्नुुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुुभयो– ‘पर्वले हामी राम्रो सिकाउने, तर पर्वका नाममा हामीले धेरै कुरा नराम्रो सिकेका छौं । गरिव र धनी बीचको अन्तर विरोध र अन्तर सम्वन्ध हामीले हाम्रा चार्डपर्व र संस्कार सस्कृतिहरुबाट छुटाउदै आइरहेको छौं ।’  कार्यक्रममा लुम्विनी प्रदेशसभा सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले मौलिक पहिचान सहित हाम्रा संस्कार संस्कृति हराउदै गइरहेकाले ति मौलिक पहिचान सहितको संस्कार संस्कृति जोगाउनुु हाम्रो दायित्व रहेको बताउनुुभयो । मौलिक चालचलन र सस्कार संस्कृति नै हाम्रा पहिचान रहेकाले यि यस्ता पर्वहरु देखासिकी नभई आपसी खुुसीयाली पर्वका रुपमा मनाउनुुपर्ने बताउनुुभयो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिका अध्यक्ष दुरपति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङका ईन्चार्ज पुनम शेरपाईली लगायतलेको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।