बाँकेमा बस दुर्घटना, दुईको मृत्यु, २७ घाइते

नेपालगञ्ज । कोहलपुर–नेपालगन्ज सडक खण्डको गनापुरमा बिहीबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार, दाङको तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा परी दाङको तुल्सीपुरका  ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा २७ जना घाइते भएको छ । घाइतेहरु मध्ये २१ जनाको भेरी अस्पताल नेपालगन्जमा, ५ जनाको कोहलपुर शिक्षण अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा घाइते १ जना नेपालगन्ज मेडिकल कलेजमा उपचार पछि डिस्चार्ज भएका छन् ।

बसका चालकले बसको पट्टा भाँचिदा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीलाई बताएका छन् । अनियन्त्रित बसले एउटा मोटरसाइकललाई पनि ठक्कर दिएको हुनसक्ने प्रहरीले बताएको छ । सकडमा पल्टिएको बस डोजरको मद्दतले सडकबाट साइडमा राखिएको छ ।

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर । मधेस प्रदेसका मुख्यमन्त्री सरोज कुमार यादवले तेश्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । गत माघ ९ गते जनमतका दुई मन्त्रीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै राजीनामा दिएपछि यादवले तेश्रोपटक विश्वासको मत लिएका हुन् । आइतबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवलाई ६९ जना सदस्यहरुले विश्वासको मत दिए । प्रदेश सभाका कुल १०७ सदस्यमध्ये आइतबार भएको मतदानमा १०४ सांसद उपस्थित थिए । उनीहरुमध्ये ६९ जनाले मुख्यमन्त्री यादवलाई विश्वासको मतको पक्षमा मतदान गरे भने ३५ जनाले विपक्षमा मतदान गरे । नेकपा एमाले र जनमतका सांसदहरु विपक्षमा मतदान गरेका हुन् । जसपाका मुख्यमन्त्री यादवलाई सतारुढ दलहरु नेपाली काग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुले विश्वासको मत दिएका छन् । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९/९ रहेका सांसद छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्मा महोत्तरी जिल्ला अदालतबाट जन्मकैद सजाय पाएर निलम्बित छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १र१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन् । प्रदेश सभा बैठकमा प्रदेश सांसदहरुले मुख्यमन्त्री यादवको कार्यशैली माथि प्रश्न उठाएका थिए ।

सशस्त्र प्रहरी बलका डीएसपी मृत भेटिए

विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । धनपालथान गाउँपालिका ३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् । बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख पनि हुन् । कार्यालय परिसरमा रहेको क्वाटरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए । ‘बाहिर झ्यालबाट हेर्दा झुण्डिएको देखिन्छ, तर कोठा भित्र प्रहरी टोली प्रवेश गरेको छैन’, उनले भने, ‘परिवारका सदस्यलाई बोलाएका छौं, उहाँहरु आएपछि मात्रै भित्र पस्छौं ।’ बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो ।

पारा ओलम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक हात पारेकोमा बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उहाँले ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि बधाई दिनुभएको हो । ‘नेपालकी पलेशा गोवर्धनले पाराओलम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन्’– उहाँले भन्नुभएको छ– ‘पलेशालाई यस उल्लेखनीय उपलब्धिको लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ।’  

दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ : प्रचण्ड

‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्’– उहाँले भन्नुभयो– ‘यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’

सुनको मूल्यमा नयाँ रेकर्ड हुने क्रम जारी, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य नेपाली बजारमा आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । हिजो सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँमा कारोबार भैरहेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला नौ सय रूपैयाँले बढी हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ।  हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। हिजो सोमबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।  आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २४ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बंगलादेशका विद्यार्थी नेताद्धारा अदालत घेर्न आह्वानपछि प्रधानन्यायाधीशले रोके बैठक

काठमाडौं । सत्ता फर्ने गरी कोटा प्रणालीको विरोधमा भएको विद्यार्थी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीश ओबेदुल हसनको राजीनामा माग गरेका छन् ।  अन्तरिम सरकारको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका उनले प्रधानन्यायाधीशलाई कुनै प्रकारकको ‘षड्यन्त्र’ नगर्न चेतावनी समेत दिएका छन्। उनले शनिबार फेसबुकमा पोस्टमार्फत भनेका छन्,'फासीवादलाई समर्थन गर्ने र विभिन्न कूकर्ममा संलग्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशले सरकारसँग परामर्श नगरी अदालतको पूर्ण बैठक बोलाएका छन् । परास्त शक्तिको कुनै पनि षड्यन्त्र सैह्य छैन।' यसैबीच, आन्दोलनकै अर्को संयोजक हसनत अब्दुल्लाले फेसबुक लाइभमार्फत समर्थकहरूलाई उच्च अदालत घेराउ गर्न आह्वान गरेका छन् ।विद्यार्थी नेताको चेतावनी पश्चात अदालतले बोलाएको बैठक स्थगित गरेको छ ।

क्रिकेटरका लागि वाइवाइको १० लाख हस्तान्तरण

काठमाडौं । वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टी २० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनबापत भन्दै चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेडले रकम हस्तान्तरण गरेको हो । नेपाल राष्ट्रिय टिम टी २० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहनस्वरूप वाइवाइले प्रत्येक रनका लागि  १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो।  त्यसैगरी प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा  १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो ।  त्यसैगरी सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउने वाइवाइको घोषणा थियो । सोही घोषणाअनुसार विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शनअनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार रुपैयाँ थपेर हस्तान्तरण गरिएको छ।  बुधबार ललितपुरमा आयोजित समारोहबीच सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।  कार्यक्रममा पुडासैनीले भने, ‘नेपालको क्रिकेट बामे सर्दै गर्दा  प्रायोजन गरेकोमा अहिले खुसी हुने ठाउँमा पुगेका छौँ।’ चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने बताए । कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई  बलियो बनाउन चौधरी ग्रुपले पुर्‍याउँदै आएको योगदान उच्च रहेको भन्दै नेपालले साउथ अफ्रिका र बंगलादेशसँग राम्रो खेलेर हराउन सक्ने सन्देश दिएको बताए ।  क्रिक्रेटर सन्दीप लामिछानेले चौधरी ग्रुपको सहयोगले खेलाडीलाई प्रोत्साहन र हौसला मिलेको बताए ।

नेप्से १२७.३२ अंकले बढ्यो, कारोबार रकम पनि बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार एकैदिन १२७.३२ अंकले बढेर बन्द भएको छ ।कारोबार आठ दिनको घटेको सेयर बजार उच्च अंकले बढेको हो । आज नेप्से परिसूचक ४.७२ प्रतिशतले बढेर २८२३.२५ विन्दुमा बन्द भएको हो । १३ अर्ब १० करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । २३९ कम्पनीको सेयर मूल्य बढेको छ । पाँच कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक सर्वाधिक वृद्धि फाइनान्स समूहको भएको छ ।

दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली

घोराही । राष्ट्रिय दलित पत्रकार संघ दाङकाे अध्यक्षमा पत्रकार गिरिराज नेपाली चयन हुनु भएकाे छ । संघकाे आज घाेराहीमा सम्पन्न चाैथाे जिल्ला अधिवेशनले नेपालीकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । संघकाे बरिष्ठ उपाध्यक्ष प्रियास्मृति गजमेर, उपाध्यक्षमा अर्जुन परियार, सचिवमा देवका परियार, सह-सचिवमा चन्द्रप्रकाश नेपाली र काेषाध्यक्षमा तेजबहादुर परियार चयन गरिएकाे छ । जसकाे सदस्यहरूमा हेमराज परिवर्तन, सरिता नेपाली , सिर्जना विश्वकर्मा , अन्जना बिक र रमा नेपाली रहनु भएकाे छ । त्यस्तै अधिवेशनले संघका सस्थापक अध्यक्ष जनक नेपाली, पुर्व अध्यक्ष नवीन अभिलाषी, वसन्त परियार , जीवन नेपाली र अर्जुन परियारलाई केन्द्रीय पार्षद र हेमराज परिवर्तन, सरिता नेपाली, अरूण नेपाली, सुवास परियार, चन्द्रप्रकाश नेपाली र हिमाल बिकलाई प्रदेश पार्षदमा चयन गरेकाे छ । अधिवेशन जिल्ला अध्यक्ष वसन्त परियारकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

नेपालले जित्यो  ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको फेसबुकमा ४०० प्रतिशतले रिच वृद्धि भएको उल्लेख गरेको छ।

रंगेलीको वस्तीमा  २० घर जल्दा २३ परिवारको बिचल्ली

विराटनगर । मोरङको रंगेली नगरपालिका ३ मा रहेको गरिब वस्तीमा आगलागी हुँदा २३ परिवारको बिचल्ली भएको छ । आगलागीबाट सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् डिएसपी रञ्जन दाहालले शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको जानकारी दिए । डिएसपी दाहालका अनुसार शनिबार पाँच बजेतिर आगोलाई नियन्त्रणमा लिइए पनि सानातिना आगो र धुवाँ आउने क्रम आइतबार बिहानसम्मै जारी थियो । आइतबार बिहान चार बजेमात्र आगो पूरै निभाइएको डिएसपी दाहालले बताए । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको थियो । पश्चिमबाट चलेको हावाका कारण आगो निभाउन कठिन भएको र टोलमा रहेका सबै घर जलेको प्रहरीले जानकारी दिएको छ । अधिकांश आगलागी पीडितले शरीरमा लगाएका कपडा बाहेक अन्य सामान जोगाउन नसकेको वडा अध्यक्ष भरत प्रसाईंले बताए ।  बस्तीमा प्राय एउटै प्रकृतिका र बाक्ला घर भएको यस वस्तीमा बाँस, सन्ठी र पराल मिलाएर बनाइएका घरमा आगो छिटो फैलिएको र हावाहुरी चलेकाले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ । पीडित परिवारहरु घर जलेकै स्थान नजिक त्रिपाल टाँगेर बसेका छन् । वडा अध्यक्ष प्रसाईंले आगलागी पीडितहरुलाई पालिकाले घर बनाउनका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

माइतीघर एकल प्रदर्शन गरिरहेका चपागाईंलाई सुन्न पुगिन शिक्षामन्त्री

काठमाडौं । विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईंंका कुरा सुन्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ आइतबार माइतीघर मण्डला पुगेकी छिन् ।  त्यहाँ उनले आन्दोलनरत चापागाईंंका कुरा सुनेपछि अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमति पत्र आवश्यक रहेको बताएकी छिन्।  उनले अटिजम काउन्सिलरहरूको लागि इजाजतपत्रको व्यवस्था गर्न मन्त्रालय लागिरहेको बताइन्। अनुमति पत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको पनि उनको भनाइ छ।  आन्दोलनरत नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्यका नेत्र चापागाईंले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउन माग गरे। उनले विद्यार्थीको खाजा खर्च १५  रुपैयाँ रहेकोमा बढाएर ५० बनाउनुपर्ने, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्ने मागसहित विगत पाँच दिनदेखि उभिएर विरोध जनाइरहेका छन् ।

पदक विजेता पलेसाको सम्मानमा आज नगर परिक्रमा

काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्धननको सम्मानमा आज नगर परिक्रमा गराइने भएको छ । फ्रान्सको राजधानी पेरिसमा भएको पारालिम्पिकको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जित्नुभएको थियो ।  नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो । ऐतिहासिक पदक विजेता पलोसा आज बिहान काठमाडौं आएपछि उहाँसहित नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगर परिक्रमासहित स्वागत गर्न लागेको हो । राखेपका अनुसार बुधबार बिहान साढे बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली सुरु हुनेछ । र्‍याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ । पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि आज स्वदेश फर्कदै हुनहुुन्छ । १० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी पलेसा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध हुनुभएको थियो । सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेसाको डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यो प्रतियोगितामा उहाँले पाँचौं स्थान हासिल गर्नुभएको थियो ।  २१ वर्षीया पलेसाले पेरिस पारालिम्पिकसहित ६ अन्तर्राष्ट्रिय पदक जित्नुभएको छ, जसमातीन स्वर्ण र तीन कांस्य छ । पलेसासँग लन्डन र टर्कीमा भएको दुई विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौं एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारालिम्पिकको छनोट, टोकियो पारालिम्पिक, साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ ।

नयाँ विश्व व्यवस्थाका लागि चीन-अफ्रिका साझेदारीको रणनीतिक महत्व

जु फङ चीन-अफ्रिका सहयोग मञ्च (FOCAC) को जारी २०२४ शिखर सम्मेलन चीन-आफ्रिका सम्बन्धको विकासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ। बेइजिङ (२००६ र २०१८), जोहानसबर्ग (२०१५) र डाकार (२०२१) मा भएका ऐतिहासिक शिखर सम्मेलनहरूपछि, चिनियाँ र अफ्रिकी नेताहरू फेरि एक पटक बेइजिङमा भेला भएका छन् ताकि तीव्र परिवर्तन भइरहेको अन्तर्राष्ट्रिय परिवेश, बढ्दो चुनौती र अनिश्चितताका बीच चीन-अफ्रिकी सम्बन्धलाई सुदृढ गर्ने नयाँ तरिकाहरू अन्वेषण गर्न र ग्लोबल साउथलाई बलियो बनाउन सकियोस्। यो शिखर सम्मेलन यस वर्ष चीनमा आयोजित सबैभन्दा ठूलो कूटनीतिक कार्यक्रम हो, जसले विश्वव्यापी ध्यान तानेको छ। धेरैले यो सम्मेलनले कसरी विश्व शान्ति कायम राख्ने, विकासलाई प्रवर्द्धन गर्ने, र चीन-आफ्रिका सहकार्यलाई बढावा दिने जस्ता गहन प्रश्नहरूको सिर्जनशील उत्तर दिने आशा गरेका छन्। विश्वको सबैभन्दा ठूलो विकासशील देश र सबैभन्दा धेरै विकासशील देशहरू रहेको महाद्वीपको रूपमा, चीन र अफ्रिकाले सधैं सहकार्य र साझेदारीलाई प्राथमिकता दिएका छन्। मार्च २०१३ मा चीनको राष्ट्रपति निर्वाचित भएपश्चात राष्ट्रपति सी जिनपिङले आफ्नो पहिलो विदेशी भ्रमण अफ्रिकामा रोज्नुले चीनले चीन-अफ्रिकी सम्बन्धलाई कति महत्त्व दिन्छ भन्ने देखाउँछ। सो भ्रमणको क्रममा, तान्जानियामा राष्ट्रपति सीले चीन र अफ्रिका साझा भविष्यसहितको समुदायजस्तै छन् भनेर घोषणा गरेको स्मरणीय छ। त्यसबेलादेखि, चीनले विभिन्न क्षेत्रहरूमा अफ्रिकी देशहरूसँग सहकार्यलाई गहिरो बनाएको छ र परिणामस्वरूप फलदायी उपलब्धिहरू हासिल भएका छन्। दुबै पक्षले मिलेर साझा भविष्यसहितको चीन-अफ्रिका समुदाय निर्माण गरेका छन्। शक्तिशाली प्रतिस्पर्धा र आर्थिक अस्थिरता चरित्रको विश्वव्यापी उथलपुथल र तीव्र परिवर्तनहरूको सामना गर्दै गर्दा  शान्ति र विकासप्रतिको चाहना अहिले विश्वभरिका मानिसहरूमा बढेको छ। विश्वव्यापी राजनीतिक र आर्थिक परिदृश्यमा भएका परिवर्तनहरूले जोखिम र अवसर दुवैलाई प्रस्तुत गर्छन्। यस अवस्थामा, चीन-अफ्रिका विकास सहकार्यको संरचना र मोडेललाई अनुकूल बनाउन, चीन-अफ्रिकी मित्रतालाई अझ बलियो बनाउन, ग्लोबल साउथभित्रको सहकार्यलाई गहिरो बनाउन, साथै चीनलाई आधुनिक समाजवादी देश बन्ने आफ्नो लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउन अनुकूल बाह्य वातावरण सिर्जना गर्न महत्वपूर्ण छ। अफ्रिकी देशहरूले चीनको विकास अनुभवबाट सिक्न इच्छा व्यक्त छन्। अफ्रिकी देशहरू चीनसँगको विकास सहकार्यलाई विस्तार गर्न चाहन्छन्, तर तिनीहरू चीनले अफ्रिकाप्रतिको आफ्नो नीतिलाई अझ परिष्कृत गर्ने अपेक्षा पनि गर्छन्। तिनीहरूको विकासशील मागहरू फरक छन्, जसमा औद्योगिक उन्नति, क्षेत्रीय आर्थिक एकीकरण, दिगो विकास र प्रतिभा विकास आदी रहेका छन् र यी क्षेत्रमा गहिरो सहकार्यको आवश्यकता रहेको छ। पछिल्ला वर्षहरूमा, अफ्रिकी देशहरूले अफ्रिकी संघको एजेन्डा २०६३ मा उल्लिखित महत्त्वाकांक्षी योजनाको आधारमा क्षेत्रीय आर्थिक एकीकरणलाई बढावा दिने काम गरिरहेका छन्। क्षेत्रीय एकीकरणले अफ्रिकाको समग्र व्यापारिक वातावरणलाई सुधार गर्नेछ, र अफ्रिकामा थप चिनियाँ लगानी आकर्षित गर्नेछ, जसले महाद्वीपको आर्थिक विकासलाई प्रवर्द्धन गर्नेछ। अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्र (AfCFTA), जुन २०२१ मा सञ्चालनमा आएको थियो, को प्रमुख लक्ष्य भनेको व्यापक क्षेत्रीय मूल्य श्रृंखला निर्माण गर्नु हो। साथै, अफ्रिकी देशहरू चीनसँग सहकार्यलाई बलियो बनाउन इच्छुक छन् ताकि आर्थिक एकीकरणलाई अगाडि बढाउन सकियोस्, विशेष गरी यातायात पूर्वाधार र डिजिटल सम्पर्कताका क्षेत्रमा, जसले क्षेत्रीय व्यापारमा बाधा पुर्‍याइरहेका अवरोधहरू हटाउन मद्दत गर्नेछ। त्यसैगरी, वातावरणीय संरक्षण अफ्रिकाको दिगो विकास एजेन्डाको प्रमुख मुद्दा बनेको छ। अफ्रिकी देशहरू चीनको पारिस्थितिक शासन अनुभवबाट सिक्न र यस क्षेत्रमा सहकार्यलाई गहिरो बनाउन इच्छुक छन्। यसको अर्थ चीन र अफ्रिका वातावरणमैत्री र स्रोत-प्रभावकारी परियोजनाहरूमा ध्यान केन्द्रित गर्ने सम्भावना छ, जस्तै हरित ऊर्जा पहल र जल स्रोत व्यवस्थापन। सौर्य, पवन, र जलविद्युत जस्ता नवीकरणीय ऊर्जामा लगानी बढाउँदा अफ्रिकाको वातावरणीय दबाब कम हुनेछ, र यसले संयुक्त राष्ट्रको २०३० दिगो विकास एजेन्डा र अफ्रिकी संघको एजेन्डा २०६३ हासिल गर्न मद्दत गर्नेछ। चीनले अफ्रिकी देशहरूसँग आपसी लाभका साझेदारीहरू कायम राखेको छ। अफ्रिकाको साम्राज्यवाद विरोधी र उपनिवेशवाद विरोधी संघर्षमा समर्थनदेखि लिएर साझेदारी भविष्यसहितको चीन-आफ्रिका समुदाय निर्माण गर्न मद्दत गर्नसम्म, चीनले विगतका सात दशकमा अफ्रिकी देशहरूसँग विभिन्न क्षेत्रहरूमा संलग्नता राखेको छ, र विभिन्न मञ्चहरू मार्फत बहुपक्षीय, बिना शर्त विकास सहकार्यलाई गहिरो बनाएर अफ्रिकी देशहरूको आवश्यकताहरू पूरा गर्न सहयोग गरेको छ। तर, अफ्रिकी देशहरू राजनीतिक र सामाजिक शासन क्षमताहरू, विकासका स्तरहरू, र हरित रूपान्तरण क्षमताहरूको हिसाबले धेरै फरक छन्, र केही देशहरूसँग जलवायु परिवर्तनसँग लड्ने स्रोतहरू छैनन्। यसैले चीनले विभिन्न अफ्रिकी देशहरूसँग संलग्न हुँदा फरक दृष्टिकोणहरू अपनाउनुपर्छ, र सामूहिक विकासलाई प्रोत्साहित गर्न इमान्दार प्रयास गर्नुपर्छ। अफ्रिकाले विभिन्न क्षेत्रमा आत्मनिर्भरताको लक्ष्य हासिल गर्नको लागि आन्तरिक विकास गतिलाई सृजना गर्नु नै मुख्य हो। यसलाई ध्यानमा राख्दै, चीनले अफ्रिकाका वित्तीय आवश्यकताहरू विचार गर्दा सधैं सावधानीपूर्वक कदम चालेको छ, र लगानीको दक्षता र प्रभावकारितामा ध्यान केन्द्रित गरेको छ। त्यसैगरी, बेल्ट एन्ड रोड इनिसिएटिभले चिनियाँ "हरित" कम्पनीहरूलाई अफ्रिकामा लगानी गर्न, आफ्नो व्यापार विस्तार गर्न, र अफ्रिकी देशहरूसँग हरित रूपान्तरण प्रविधिहरू साझा गर्न प्रोत्साहित गरेको छ, साथै नवीकरणीय ऊर्जा र सम्बन्धित उद्योगहरूमा सहकार्यलाई गहिरो बनाएको छ। चीनले अफ्रिकामा कृषि र स्वास्थ्यजस्ता क्षेत्रमा "सानो र सुन्दर" परियोजनाहरू प्रवर्द्धन गर्दै आएको छ। शान्तिपूर्ण विकास र सुधारमा प्रतिबद्ध रहँदै, चीनले विश्वव्यापी शान्ति कायम राख्न र अन्तर्राष्ट्रिय न्यायको पक्षमा उभिन जारी राख्नेछ, र विश्वव्यापी आधुनिकीकरण प्रक्रियामा, विशेष गरी ग्लोबल साउथको पुनरुत्थानमा योगदान दिनेछ। यस सन्दर्भमा, जारी FOCAC शिखर सम्मेलनले पारम्परिक चीन-अफ्रिकी मित्रता र सहकार्यलाई सुदृढ गर्ने, र साझेदारी भविष्यसहितको उच्च-स्तरीय चीन-आफ्रिका समुदायको विकासलाई प्रोत्साहित गर्ने, साथै ग्लोबल साउथका साझा हितहरूलाई सुरक्षित गर्ने अपेक्षा गरिएको छ। लेखक नानजिङ विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध स्कूलका कार्यकारी डीन र प्राध्यापक हुन्। Chinadaily बाट साभार गरिएको

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। दुई मोटरसाइकल ठोक्किदा पाँचखपन–९ का ६५ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। आज दिउँसो १२ बजे पाँचखपनको भित्रि सडकखण्डअन्तर्गत याङ्सिजुङबाट वानातर्फ आउँदै गरेको बा ४० प १७९ नम्बरको मोटरसाइकल र को ३७ प १८४२ नम्बरको मोटरसाइकल ठक्कर खाएको र विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए। त्यसैगरी दुर्घटनामा परेर पाँचखपनका २७ वर्षीय कमानसिं विश्वकर्मा गम्भीर घाइते भएको उनले बताए। घाइते कमानसिंको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले ठक्कर दिएको अभियोगमा बा ४० प १७९ नम्बरको मोटरसाइकलका चालक धनकुटा नगरपालिका–१० का २३ वर्षीय पदम भण्डारीलाई नियन्त्रणमा लिएको छ।