मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

दुई मोटरसाइकल ठोक्किदा पाँचखपन–९ का ६५ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

आज दिउँसो १२ बजे पाँचखपनको भित्रि सडकखण्डअन्तर्गत याङ्सिजुङबाट वानातर्फ आउँदै गरेको बा ४० प १७९ नम्बरको मोटरसाइकल र को ३७ प १८४२ नम्बरको मोटरसाइकल ठक्कर खाएको र विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए।
त्यसैगरी दुर्घटनामा परेर पाँचखपनका २७ वर्षीय कमानसिं विश्वकर्मा गम्भीर घाइते भएको उनले बताए। घाइते कमानसिंको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले ठक्कर दिएको अभियोगमा बा ४० प १७९ नम्बरको मोटरसाइकलका चालक धनकुटा नगरपालिका–१० का २३ वर्षीय पदम भण्डारीलाई नियन्त्रणमा लिएको छ।


 

दलितलाई खै आन्दोलन किन ?

सरोजदिलु राजनीतिक चरित्रः  इतिहासको कालखण्डदेखि नै वर्णब्यवस्थाका कारणले तुच्छ घोषित गरी हरेक अवसरबाट अलग्याई मान्छे हुनै नदिइएको जातीय समुह हो– दलित समुदाय । आज सांस्कृतिक विभेद त छ नै, वहुअपेक्षित नयाँ संविधान आइसक्दा समेत सत्ता राजनीतिबाट यो समुदाय कुनै न कुनैरुपमा तिरस्कृत नै छ, आर्थिक अवसरहरुमा कुनै न कुनै वहानामा यिनलाई अझपनि पाखाल गाइएको छ । मनुस्मृतिमा भनेजसरी आजको समाजमा फलाम तताएर नडामेता पनि राज्यका अवसरमा अयोग्य घोषित गरेर डामिएकै छ, वेदाशास्त्र पढ्न नदिइए वा यिनका शरीरलाई टुक्रा पार्न नसकेता पनि यिनीहरुको विद्धतालाई नकारिएकै छ । चाणक्यको सामदाम, दण्डभेदकै नीतिमुताविक दलितको संगठित आन्दोलनलाई त्रास र विभिन्न आस्वासनमा टुङ्ग्याईएको छ, टुक्र्याएको छ । सिधै नमारीकन वरु अझ प्रगतीशील तवरले हत्या गर्न थालिएको छ । विषेशगरी सर्वहारा श्रमजीवि वर्गलाई आफ्नो सांगठानिक आधार मान्ने कम्युनिष्टहरु नै दलित अधिकारका विषयमा मौन बस्दैआएका छन् । उनीहरु वीचको छलफलमा‘समावेशीकरण त भन्ने पो त, गर्न कहाँँ सकिन्छ ?’ भन्ने गरेको यदाकदा सुनिन्छ । दलितको पिठ्युँमा चढेर युद्ध जितेको माओवादीले समेत दलित समावेशीकरणको कुरालाई ब्यवहारमा छाड्दैगएको छ । कथम्कदाचित समकालिन नेता–कार्यकर्ताहरुसंग दलितका विषय उठाइयो भने जातीय कुरा गौण राखेर उनीहरु वर्गीय कुरामा अलमल्याउन थालिहाल्छन् । यसरी वर्गीय राजनीति गर्ने र दलित उत्पीडितको जनाधारको कुरा गर्ने कम्युनिष्ट सरकार र पार्टीहरु नै समावेशीकरण विरोधी भएको प्रमाणित हुँदैगएका छन् । उनीहरु अंजिङ्गरले रङिगन पुच्छर हल्लाएर आहारा चप्काएझैं दलितलाई मिठो कुरा गर्दै झुठो आस्वासनमा प्रयोग मात्र गरिरहेका छन् । अन्य लोकतान्त्रिक दलका केही अगुवा नेताहरु तथा जिम्मेवार कार्यकर्ताहरुले नै अव त आफ्नो भागभोग हरिने भो भन्ने त्रासले समावेशीकरण खोज्ने जाति समुहहरुलाई निकम्मा र असक्षम भन्दै आरक्षणलाई गलत ढंगवाट प्रसारप्रचार गरि साईवर हंगामा मच्याउँदै आएको देखिन्छ । समावेशीकरणको कुरा गरी खाइपाई आएका बर्ग–समुदायको आलोचना गरियो भने राजनीतिक नेताहरुले नै जातीय विखण्डनवादीको बिल्ला भिराइदिने र पार्टीको पहुँचबाट टाढा हुत्त्याइदिने गरेका छन् । जसकाकारण दलित नेताहरुले आफ्ना पार्टी नेताहरुको जुनसुकै अन्यायका विरुद्ध बोल्न नसक्ने अवस्था छ । अन्तर्राष्ट्रियस्तरमा बनेका जातिभेद विरुद्धको महासन्धी वा मानवअधिकारको विश्वब्यापी घोषणापत्र, अन्य अभिसन्धी तथा प्रतिज्ञापत्रहरुलाई नेपाल राष्ट्रले स्वीकार गरिसकेको अवस्थामा समेत दलितका सवालमा वकालत गर्नेहरुलाई विदेशी दलालको ट्याग् लगाइने गरिएको छ ।  अझ समाज पढेका बुझेका केही प्रध्यापक, डाक्टर, जिम्मेवार राष्ट्रसेवक प्रहरी र कर्मचारी तहमा समेत छूवाछूत राज्यले हटाउने होइन आफै हट्छ, हतार गर्न खोजे समाज बिग्रन्छ भन्ने अनर्गल प्रचार भइरहेको अवस्था हो । यसर्थ दलितको समावेशीकरणको कुरा संविधानमा संवोधन गसिक्दा ब्यवहारमा दलितलाई जताततै वर्जित गर्ने राजनीतिक अभ्यास र राज्य चलाउनेहरुबाट भइरहेको नियोजित षढयन्त्रका विरुद्ध दलित आन्दोलन अपरिहार्य छ । संविधानको शुन्य अभ्यास नयाँ संविधान बनेपछि सवै समुदायको समान हकाधिकार सुनिश्चीत भइ उत्पीडित, दलितको समृद्धिको मुलप्रवाहीकरण हुने भनेर हामील डङ्का पिटेको ९ वर्ष भयो । तर दलितका सन्दर्भका संविधानका धारा ४० कार्यन्वयन गर्ने लगायतका १३ वटा कानुनहरु बन्न अझै बाँकी छन् । छुवाछूत तथा जातीयविभेद दण्डसजाय कसुरदार एन (आचारसंहिता) ऐन २०६८ लागू भएको १३ वर्ष भयोे, समावेशीकरण ऐन २०६४ लगायतका ऐनकानुनहरु बनेको दुई दशक हुनलाग्यो तर दलितमाथि हुने सामाजिक अपराध रोकिएन । सविधान घोषणाको भोलीपल्टदेखि दलितहरु मारिन थाले, कलिला चेलिबेटीहरु माथी बलात्कार र हत्या हुनथाल्यो । पीडितहरु आज कोही मुर्दाघरमा छन् त कोही आधा मुर्दा भएर बाँचिरहेका छन् तर पीडकहरु भने निस्फिक्री बजारमा हिँडिरहेकै देखिन्छ । नविन विश्वकर्मालाई प्रेम उत्तेजित बनाउने सीमा मगरहरु र प्रेमको नाटक गरी दलितलाई बलात्कारको मुद्दा लगाउनेहरु यस समाजको आइडल बन्नपुगेका छन् । समावेशीकरणको परिणामलाई हेर्ने हो भने संघमा मात्र पछिल्लो ९ वर्षमा ९ वटै सरकार बन्ने अवस्थामा छ । यसक्रममा ५०० जनाभन्दा बढी मन्त्रीभइसके । प्रदेशमा गनिसाध्य छैन । सयौँँ राजनीतिक नियुक्तीहरु भए । आयोग, नियोग, परिषद आदिमा हजारौं मनोनयनहरु भए । तर दलितलाई कहीँ योग्य देखिएन । दलितका लागि दलित आयोगभन्दा अन्य संरचनामा वर्जित नै गरियो । योजना आयोग, वहुचर्चित पुननिर्माण प्राधिकरण, मानवअधिकार आयोग, निर्वाचन आयोगदेखि न्याय परिषद, अख्तियार लगायतका उच्च संरचनाहरुमा दलितलाई योग्य मानिएकै छैन । राष्ट्रपति, प्रधानमन्त्री निवास र कार्यालयमा तथा पार्टी नेताहरुकै सचिवालयमा एकजना पियन पनि दलित समावेशीकरण हुनसकेन ।  अरुको कुरा नगरौं, श्रमजिवी, मजदुर तथा दलितलाई जनाधार मान्ने कम्युनिष्ट सरकारसंग मात्रै सोधौँ– तिमीहरुले नै भनेको दलितको समावेशीकरण खै ? दलित उत्पीडित र वर्गका कुरा गर्ने तिम्रा सचिवालयमा कुन दलितलाई राखेका छौ ? अरु पार्टीका मन्त्रालयका कुरा नगरौँ, कम्युनिष्टहरुले चलाएका प्रधानमन्त्री कार्यालय, मन्त्रालयहरुमा कुन दलितलाई पत्याएका छौ ? तिम्रा मन्त्रालयका विभिन्न विभाग, समिती, आयोगहरुमा भटाभट नियुक्ती दिइरहेका छौ तर कतिजना दलितलाई राख्यौ ?? यी प्रश्नहरुको उत्तर कसैले दिनचाहन्नन् । हाम्रै पार्टी र नेताहरुले यसो गर्नु भनेको अप्रत्येक्षरुपमा दलितलाई अवसर दिनहुन्न, सम्मान दिनुहुन्न, रगैरदलितल खाइपाइआएको भातभान्सा छुन र छिर्न हुन्न भनेर छुवाछूत नै गरिएको हो । त्यसका लागि दलितलाई खै भन्ने आन्दोलन हो ।  दलितलाई थप वर्जित गर्ने नयाँ ऐनहरु आउँदै अहिले निजामती कर्मचारी भर्नासम्वन्धी विधेयक संसदीय समितीमा छ । सो विधेयकमा कुनैपनि जाति वर्गका लागि समावेशीकरण बाध्यकारी नहुने भनेर प्रस्ताव गरिएको छ । यसैगरी आरक्षण कोटामा समेत न्युनतम् अंक नल्याए उसलाई फेल गरी अर्को वर्षमा समग्र कोटामा समावेश गरी त्यसमा समग्रमा गाभ्ने लोकसेवा ऐनमा ब्यवस्था छ । संसदीय समितीमा भरखरै भ्रष्टचारसम्वन्धी पाचवर्षे उजुरी हदम्याद राख्ने विषयमा छलफल भयो । एमाले महासचिवले त अव दुई दलीय ब्यवस्थामा जानुपर्छ, समावेशीकरणका कारण सरकार अस्थिर भयो, समानुपातिक पद्धती र थ्रेसहोल्डमा संसोधन गर्नपर्छ भनिरहेका छन् । सोहीअनुसार निर्वाचन आयोगले थ्रेसहोल्ड बढाउने र समानुपातिक कोटाहरु घटाउने गरी निर्वाचन मस्यौदा तयार गर्दैछ । अहिले सरकार वहुमतमा छ, यदि यो विधेययक संसदमा प्रवेश भयो भने सिधै पास हुन्छ । अनि कम्तिमा ७ प्रतिशत थ्रेसहोल्ड राख्दा साना दलहरु र ती दलमार्फत उदाउन खोजिरहेका विभिन्न जातजाति समुदायका नेताहरु वर्जित हुनेछन् । यसो हुनुभनेको नयाँ दल खोल्न नपाउनु नयाँ नेता आउन नदिने र खाइपाइरहेका नेता र पार्टीहरुलाई मानेर जानु भन्ने हो । यसो हुँदा दलित उत्पीडितहरु ती पार्टीको माथिल्लो निकायमा पुग्न सक्दैनन् । त्यो अवस्था आउन नदिनका लागि पनि खगेन्द्र सुनारले संयोजन गरेको दलितलाई खै आन्दोलन हो ।  सबै आन्दालनकारी एउटै प्लेटफाममा उभिनुपर्ने हाम्रो समाजमा एउटै वर्गभित्रै छुवाछूत तथा विभेद हुनेगरेकाले वर्गीय चरित्र बदलिनसाथ छूवाछूत हट्ने सम्भावना देखिन्न । जातीय विभेद र वर्जितीकरणलाई बिर्सेर बर्गीय मुक्तिको कल्पना कदापी गर्नै सकिन्न । अर्थात नेपाल र भारतको समयसापेक्षता र सामाजिक परिवेशलाई हेर्दा माक्र्सवादभन्दा अम्वेडकर दर्शन नै ब्यवहारिक देखिएको छ । यसर्थ डा.भीम रावलाई मान्ने हो र उत्पीडित उपेक्षित र दलितको मुद्दालाई वलियो गरी उठाउने हो भने अम्वेडकरवादको एउटै प्लेटफाममा सवै उभिनु जरुरी छ । दलितलाई खै आन्दोलनले अम्वडकरवादको साझा प्लेटफाममा उभ्याउँछ । तर यतिवेला खगेन्द्रको नेतृत्वलाई सहजै स्वीकार्न धेरैजना हिच्किचाइरहेको देखिन्छ भने कतिलाई नयाँ मानिस आएर आन्दोलनको नेतृत्व गरिदिँदा ज्वलन भएको छ । कतिलाई दलितलाई खै भन्ने शब्द नै मन परेको छैन भने कतिलाई खगेन्द्रको लगाई र बोलाई पनि मन नपरेको होला । कतिलाई खगेन्द्रलाई किन आन्दोलनको हिरो बनाउनु ? त्योसंग मुक्तिको के ज्ञान छ र ?? भन्ने प्रश्न पनि होला । अरु शंकाउपशंका समेत होलान । यस्ता सानासाना कुराले अरुको अस्तित्व नस्वीकार्ने चिन्तनले दलित आन्दोलनलाई पहिलेदेखि नै कमजोर बनाउँदै ल्याएको हो । यही कमजोरीमा दलितमाथी गैरदलित नेताहरुले आफूलाई बलियो बनाईरहेका छन् । अहिले हामी फेरी त्यही गर्दैछौँ । तर खगेन्द्र भन्ने एउटा पात्र मात्र हुन्, उनी ब्यक्तिगतरुपमा जेसुकै हुन्, त्यसले खास फरक पार्दैन । मुद्दा कसका लागि र केका लागि हो भन्ने मूल विषय हो । यसर्थमा उनले सवै दलितका मुद्दलाई उठाएका छन्, भूईँमान्छेदेखि नागरिक समाज र राजनीतिक नेताहरु सवैका मुद्दालाई उनले उठाएका छन् । त्यसो हो भने हामीले हिजो यिनै हाम्रा नेता र पार्टीहरुका लागि विद्रोह गरेका थियौँ, अव आफ्नो लागि यिनीहरुसंग विद्रोह गर्न तयार हुनैपर्छ । जवकी दलितहरु प्रयोगका साधन मात्र होइनन्, विद्रोहका साध्य पनि हुन्, निर्णायक समयमा आफूलाई प्रयोग गर्नेहरुलाई सिध्याउन पनि जान्दछन् । अतः प्रयोगवादीहरु दलहरु र नेताहरुकाविरुद्ध सवैतिरबाट मोर्चावन्दी गर्ने समय पनि यही हो । त्यसका लागि पनि दलितका लागि खै आन्दोलन हो ।    

अनलाइनबाट ठग्ने बंगलादेशीसँग नेपाली नागरिकता र राहदानी

विराटनगर । सर्वसाधारणको सम्पूर्ण व्यक्तिगत विवरण लगेर ठग्दै हिँड्ने बंगलादेशी नागरिकसँग नेपाली नागरिकता र राहदानी भेटिएको छ। मोरङ प्रहरीको पक्राउ गरेको बंगलादेशी नागरिकसँग नेपाली नागरिकताको प्रमाणपत्र र त्यसैका आधारमा बनेको राहदानी फेला परेको हो । प्रहरीका अनुसार उनीहरुले गाउँ–गाउँमा गएर पैसा बाँड्दै नेपालीहरुको नागरिकताको फोटो खिच्ने, अन्य कागजातहरुको फोटो खिच्ने र त्यसको बदलामा पैसा दिने अनि त्यही कागजातको फोटोको आधारमा अनलाइन ठगी गर्ने गरेको पाइएको छ। यो समूहले गएको फागुन २८ मा मोरङको सुन्दरहरैंचा –८ स्थित सलकपुरमा स्थानीयबासीलाई भेला गरेर रकम बाँड्दै गरेको थियो। त्यही बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । त्यसक्रममा पक्राउ परेकामध्ये एक वंगलादेशी नागरिकसँग नेपालको नागरिकता र राहदानी फेला परेको प्रहरीले जनाएको छ । काडमाडौ नयाँ बजारकी २३ वर्षीया सुनिता खत्रीलाई २९ गते मोरङको सलकपुरबाटै प्रहरीले पक्राउ गरेको थियो। खत्रीको बयानका आधारमा वंगलादेशी नागरिकद्वय ४९ वर्षीय मोहमद महबुर हुसेन र ३७ वर्षीय मोहमद तानवीर हुसेनलाई प्रहरीले पक्रेको हो। तानवीरको साथबाट ‘तानवीर  मिया दर्जी’ नामको नागरिकता र राहदानी फेला परेको हो । २०६३ सालमा रौतहट जिल्लाबाट बनाएको नागरिकता भएकाले वंगलादेशी नागरिककै हो होइन भन्ने थप प्रमाणको खोजीमा लागिएको इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक तेजबहादुर दाहालले बताए । वंगलादेशी नागरिकले नेपाली युवतीको प्रयोग गरी नेपालीहरुको नागरिकताको प्रतिलिपि संकलन गरेर अनलाइन ठगीको कारोबार गरेको प्रहरीको अनुमान छ। उनीहरुले आफूलाई अन्तर्राष्ट्रिय परोपकारी संस्थाको प्रतिनिधि बताउँदै ग्रामीण भेगका बासिन्दालाई रकम दिएर नागरिकताको फोटो खिचेर लगेका थिए। गिरोहले ब्यक्तिगत पहिचानको  परिचयपत्र लिएर दुरुपयोग गरेको प्रहरीले जनाएको छ। उनीहरुले रकम दिएर ३० जना भन्दा बढीको नागरिकताको फोटो खिचेर लगेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले एनसेलको १५ वटा सीमकार्ड पनि फेला पारेको छ।

लुम्बिनीका एक मन्त्री र एक सांसदलाई कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन

देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले विभिन्न आरोप खेपेका लुम्बिनी प्रदेशका दुई सांसदलाई कानुनी कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ। नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पूर्वका डिबी भनिने धनबहादुर केसीलाई कानुनी कारबाही गर्न मागसहित चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको उक्त पार्टीका जिल्ला सेक्रेटरी अमर खड्काले जानकारी दिनुभयो ।  सोमबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरि नेकपा (बहुमत)का नेताहरुले लुम्बिनीका वन मन्त्री कुर्मी र रुकुम पूर्वका प्रदेश सांसद केसीलाई कानुनी कारबाही गरि पदबाट हटाउन माग गरेका थिए ।  उनीहरले आइतबार मात्रै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई त्यससम्बन्धी ज्ञापन पत्र बुझाएका थिए। पार्टीका जिल्ला इञ्चार्ज तिलकको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउँदै उनीहरूले कुर्मी र केसीलाई उनीहरूको कसुर अनुरुप सांसद पदमा रहिरहन कानुन बिपरित रहेको हुँदा तत्काल सांसद पदबाट हटाउन माग गरेका थिए। ज्ञापन पत्र बुझाउनु भन्दा पहिले उनीहरूले प्रदर्शनसमेत गरेका थिए। उनीहरूले मंगलबार लुम्बिनीका सबै प्रमुख जिल्ला अधिकारीहरूलाई सोही ब्यहोराको ज्ञापन पत्र बुझाउने बताएका छन्। त्यतिगर्दा पनि आरोपित व्यक्तिहरूमाथि कारबाही नभए भदौ २० गते पछि सरकारी गाडी चल्न नदिने लगायका थप आन्दोलनका कार्यक्रमहरू गर्ने जिल्ला सेक्रेटरी अमर खड्काले बताउनुभयो ।  मन्त्री कुर्मीमाथि बाँकेकी निर्मला कुर्मीलाई अपहरण तथा बन्धक बनाइ बेपत्ता पारेको गम्भीर आरोप छ। जसको विरोधमा बाँकेदेखि काठमाडौंसम्म पुगेर महिला अधिकारकर्मीहरू चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन्। त्यस्तै सांसद केसीमाथि किर्ते गरेको अभियोग छ। २०४८ साल असार ६ गते  तत्कालीन जिल्ला न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा ३२ वर्ष पहिले अदालतले उनलाई त्यस्तो फैसला सुनाएपछि उनी फरारको सूचिमा रहँदै आएका छन्।

धनकुटामा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, ७ घाइते

हिले । धनकुटाको चुङमाङ्गमा पिकअप भ्यान दुर्घटना हुँदा एक वालकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।  मृतकको नाम खुलेको छैन । हिलेबाट चुङमाङ्ग जाँदैगरेको को २ च १६१९ नम्बरको पिकअप गाडि पाख्रिवास नगरपालिका –१० चुङमाङ्गमास्थित भारती माबि छेउमा दुर्घटना भएको हो । गाडिमा १७ जना सवार रहेको बताइएको छ । घाइतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । गाडीको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकवाट करिब ५० मिटर तल खसेको प्रहरीचौकी हिलेका असई अर्जुन कार्कीले जानकारी दिए ।

पारालिम्पिक्समा पदक विजेता पलेशालाई भव्य स्वागत

काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उहाँसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो । परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो । पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक प्राप्त गर्नुभएको थियो । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ।  कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अंकभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ ।  परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।’ उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको बताउनुभयो । उहाँले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ । गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । 

३०० शैया अस्पताल र विराटनगर रिङरोड बनाउने घोषणाले हामी हर्षित छौं : सांसद आचार्य

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दरहरैँचा नगरपालिकाको गोठगाँउमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यहि वर्ष सुरु गर्ने घोषणा गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज संचालन गर्न ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यहि आर्थिक वर्षमा सुरु गर्ने घोषणा गरेका हुन् । मोरङ जिल्ला निर्वाचन क्षेत्र ६ प्रदेशसभा १ का सांसद रहेका पूर्वमन्त्री जीवन आर्चायले विराटनगर क्षेत्रको मुहार फेर्न जनताका जनजिविकाका कामसँगै  त्यस क्षेत्रमा महत्वाकांक्षी योजना अगाडि बढाउने बताउँदै आएका थिए।  पूर्वमन्त्री आर्चायले निर्वाचनको दौरान त्यस क्षेत्रका जनतालाई भरोसा दिलाएका थिए र चुनावी सभामा प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री भए सो बाचा पुरा गरिदिने बताएका थिए। प्रचण्ड प्रधानमन्त्री बनेको केहि दिनमै पुर्वान्चल विश्वविद्यालयलाई मेडिकल कलेजको अनुमति दिएका थिए। यस सन्दर्भमा प्रदेश सभा सदस्य आचार्य भन्छन, “मेडिकल कलेजका लागि आफ्नै ३०० शैय्याको अस्पताल अनिवार्य छ त्यसैले हामीले निरन्तर प्रधानमन्त्री ज्यूलाई भनिरहेका थियौं।”  संसद आचार्यको पहलमा सो क्षेत्रमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको अभियान नै चलेको थियो। सो अभियानलाई लिएर सांसद आचार्य अभियन्ताको भुमिकामा लामो समय देखि संघर्षरत थिए।अन्ततः आज दिक्षान्त समारोहमा बोल्दै काम सुरु गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले घोषणा गरेका ती योजनाले सुन्दरहरैँचा नगरपालिका र समग्र विराटनगरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास सांसद आर्चायले व्यक्त गरेका छन् ।

कर्णाली राजमार्ग पाँच दिनपछि सञ्चालनमा

सुर्खेत । पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । १२ भदौको राति परेको अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध सडक आइतबार साँझदेखि सञ्चालनमा आएको हो । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठविस नगरपालिका–५, को मालाचौरदेखि कालिकोटको शुभकालिका गाउँपालिका–१, को हुल्म बजारसम्मको सडक खण्डको पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको हो । यो खण्डमा पर्ने दही खोला, एससमोड, मेयरखोला, गगने खोला लगायतका ठाउँमा ठूलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि साविक कर्णालीका चार जिल्ला यातायात सेवाबाट पूर्ण रूपमा अलग भएका थिए । सडक सञ्चालनमा आएसँगै रोकिएका सबै यात्रु तथा मालबहाक सवारीहरू गन्तव्यतर्फ हिँडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता एवंम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो । उनका अनुसार कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर हिँडेका करिब ४५ बढी ट्रकहरू पाँच दिनदेखि अलपत्र परेका थिए ।  जुम्लाबाट बजार पठाइएका स्याउका ४५ ट्रक अर्थात्, एक सय सात टन (करिब सात करोड मूल्य बराबर) को स्याउ कालिकोटको खाँडाचक्र नगरपालिका–३ को ताडी बसपार्कमा रोकिएका थिए ।

माओवादी केन्द्रको अगुवाईमा प्रकाश तामाङको घर निर्माण सुरु

 भोजपुर। ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । नेकपा माओवादी केन्द्रको अगुवाई घर निर्माण थालिएको हो ।  भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । घर निर्माण समितिका संयोजक रहनुभएका पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्त रूपमा नयाँ बन्ने घरको शिलान्यास गर्नुभयो । माओवादी केन्द्रीय सदस्यसमेत रहेका गेसोका अध्यक्ष राईले १५ लाख बराबरको आफ्नो पूख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण दिनुभएको छ। उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ । घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइने छ ।

बङ्गलादेशका प्रधानन्यायाधीश हसनले दिए राजीनामा

ढाका । बङ्गलादेशको सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओबैदुल हसनले न्यायपालिकाको प्रमुखको पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शनकारीले शनिबार ढाकास्थित सर्वोच्च अदालत घेराउ गरेका थिए। त्यसपछि प्रधानन्यायाधीशसहित सबै न्यायाधीशलाई दिउँसो १ बजेसम्म राजीनामा दिन भनिएको थियो । प्रधानन्यायाधीशले सर्वोच्च अदालत परिसरमा पत्रकारहरुसँगको कुराकानीमा देशको विषम परिस्थितिमा सर्वोच्च अदालत, उच्च अदालत र तल्लो अदालतका देशभरका न्यायाधीशको सुरक्षालाई ध्यानमा राखेर राजीनामा दिने निर्णय गरेको बताए ।

सुनको मूल्यमा फेरि किर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।  बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो । यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।  बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार २० रुपैयाँ बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको छ । 

निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई बङ्गुरको पाठा वितरण

चितवन।  भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो बर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिइन्। अभियानकै क्रममा बिहीबार पनि भरतपुर महानगरपालिका–२८  का जागृति कोशिस कृषक महिला समुहका २० जनालाई बङ्गुरका पाठा वितरण गरिएको हो। निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न ८४ वटा पाठा वितरण गरिएको हो । जसमध्ये ४ वटा बङ्गुरको भाले पाठा वितरण गरिएको हो। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ । भरतपुर महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष दण्डपाणि रिजालले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बंगुर वितरण गरिएको बताइन्। उनले बंगुरलाई ५ गुणाले वृद्धि गर्न सुझाव पनि दिइन्। बंगुरको पाठा पाएपछि समूहकी सदस्या मिना बोटेले महानगरले बंगुर दिएर व्यवसायीक कृषक बनाउनतर्फ अग्रसर गरेकोमा खुसी व्यक्त गरिन् । निर्वाहमुखी कृषि कर्म गर्ने कृषकलाई महानगरको यो सहयोगले जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास मेयर दाहालले व्यक्त गरिन् । आगामी दिनमा पनि महानगरले यस्ता कार्यक्रम ल्याएर अति विपन्न परिवारलाई जीविकोपार्जन गर्न प्रोत्सहान गर्नुपर्ने उनको भनाइ छ । बंगुरका पाठा पाउनेहरु बोटे र दलित समुदायका रहेका छन् ।  

एसईईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक हप्तामा सार्वजनिक गर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणित गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०८० को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको जनाएको छ । बोर्डले २०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट सजिलै हेर्न सकिने जनाएको छ । जसको लागी आफ्नो मोबाइलको मेसेज बक्समा गएर SEE <space> symbol no लेखि 34949 मा मेसेज गर्नुपर्नेछ ।

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मुल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।  बुधवार सुनको मुल्यमा हालसम्मकै उच्च रेकर्ड राख्दै तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै विहीबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधवार तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्यमा बिहीबार घटेर १ हजार ८६० रुपैयाँ कायम भएको छ । 

जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्छ : प्रमुख रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने बताएकी छिन्।भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको जेष्ठ नागरिक र एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले जेष्ठ नागरिकसँग रहेका राम्रा ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्न सके जेष्ठ नागरिकप्रतिको सम्मानमा कमी नआउने उल्लेख गरेकी हुन् ।  कार्यक्रममा वडा नम्बर २५ का ३०० जनाभन्दा बढी जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरिएको थियो । हिजोका दुःख संघर्ष अहिलेका पीडिले थाहा नपाउदा अहिलेको पुस्ताले जेष्ठ नागरिकलाई गर्ने सम्मानमा कमी आएको उनको भनाइ थियो । आगामी दिनमा जेष्ठ नागरिकलाई आदार सम्मान गरी पालपोषण गर्ने छोरा बुहारी, छोरा छोरीलाई यस्तै कार्यक्रम आयोजना गरी सम्मान गर्नुपर्नेमा जोड दिइन् । नेपालमा पनि बुवा–आमालाई अहिले पनि भगवानकै ठाँउमा राखेर पुज्नेहरु छन्–मेयर दाहालले भनिन् ।  तर, केही व्यक्तिहरुले भने वृद्धि बुवा–आमालाई वृद्धआश्रममा गएर छाड्ने परिपाटी दुखद भएको बताइन् । बुवा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततीले त्यही सिको गर्ने उनको भनाई थियो । ‘मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत १६ हजार बढी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण भएको छ,उनले भनिन्,‘अब घर–घरमै पुगेरसम्बन्धित रोगको औषधि वितरण गर्नेछौ । यो नै महानगरको जेष्ठ नागरिकप्रतिको सम्मान हो ।’ जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उनले बताइन्।जेष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गरिन्। बुवा–आमालाई हेला–होचो गर्ने अवस्थालाई न्युनिकरण गरी सबै घरमा खुसीयाली ल्याउन महानगरपालिकाले प्रयास गरिरहेको उनले औल्याइन् । समाजमा देखिएका गलत सोच र विकृतिलाई निरुत्साहित गर्दै सुन्दर र सुसंस्कृत सहर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने प्रमुख दाहालको भनाई थियो । कार्यक्रममा भरतपुर २४ नम्बरका अध्यक्ष रामु गोदार, वडा नम्बर २५ का अध्यक्ष छविलाल सापकोटा, प्रभात माविका प्रधानध्यापक होमनाथ भण्डारीले मन्तव्य व्यक्त गरेकी थिइन्।