लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन मन्त्रीले लिए सपथ
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सपथ ग्रहण गरेका छन्। नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका महरासहित तीन जना सांसदले विना विभागीय मन्त्रीको रुपमा आइतबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन्।
आज अर्घाखाँची १(१)बाट निर्वाचित सांसद् एमालेका चेतनारायण आचार्य, रोल्पा १(२)बाट निर्वाचित माओवादी केन्द्रका दिपेन्द्रकुमार पुन र बाँके २(१) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का भण्डारी लाल अहिरले सपथ लिए। जसपाका अहिर यसअघि कृषि मन्त्री र एमालेका आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए।

कांग्रेसका डिल्लीबहादुर चौधरीले बहुमत आउने नदेखिएपछि राजीनामा दिएका थिए। नयाँ सत्ता समिकरणबाट मुख्यमन्त्री बनेका माओवादी केन्द्रका महरालाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद्ले साथ दिएका छन्।
आज सपथ लिंदै लुम्बिनीका मुख्यमन्त्री महरा
बुटवल । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथग्रहण आज हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे शपथग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ। आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने योजना मुख्यमन्त्री महराले बनाउने भएका छन्। केन्द्रीय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। बहुमत पुर्याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ। जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने गरी दलहरुको वीचमा लिखित सहमती भएको खुलेको थियो । जनता समाजवादीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय सहित शहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिने सम्मको सहमति भएको छ। यसका साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजना पनि छ। लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सहित दश वटा मन्त्रालय छन्। एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्री सहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनितिक दललाई दिने गरी तयारी गरेको बताइएको छ ।
राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान
भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।
डोल्पामा डढेलो नियन्त्रणका क्रममा घाइते सैनिक जवानको निधन
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मस्टाभवानी सामुदायिक वनको लागेको डढेलो नियन्त्रणका क्रममा घाइते भएका नेपाली सेनाका एक जवानको निधन भएको छ । जिल्ला अस्पताल दुनैमा उपचारका क्रममा सैनिक जवान २८ वर्षीय हेमन्त रावलको निधन भएको हो । अर्का घाइते ३८ वर्षीय केशर मगरको अवस्था गम्भीर छ । उनीहरूलाई आजै हेलिकप्टरबाट सुर्खेत ल्याउने तयारी गरिएको थियो । तर, रात परेपछि हेलिकप्टर अवतरण नसक्दा सो सम्भव हुन सकेन । आइतबार दिउँसोदेखि वनमा लागेको डढेलो हुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो । नियन्त्रणमा लागि नेपाली सेनाको टोली खटिएको थियो ।
बढ्यो सुनचाँदीको मूल्य, कतिमा भैरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
उदारतालाई कमजोरी ठाने इतिहास निकै निर्मम हुनसक्छ : अध्यक्ष प्रचण्ड( पूर्णपाठ)
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदारतालाई कमजोरी ठानियो भने इतिहास निकै निर्मम भएर प्रस्तुत हुनसक्ने बताउनुभएको छ । संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएको थुप्रै इतिहास भेटिए पनि नेपालमा भने गणतन्त्र मौलिक ढंग्गले आएको उल्लेख गर्दै प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पूर्वराजालाई संविधान भित्र रहेका गतिविधि गर्न सुझाउनुभएको हो । साथै अध्यक्ष प्रचण्डले सरकारको गलत क्रियाकलापविरुद्ध र अर्कोतिर प्रतिगामी चलखेलकाविरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सर्जना भएको बताउँदै राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी समेत गर्नुभएको छ । अध्यक्ष प्रचण्डले राजावादीहरू सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको समेत बताउनुभएको छ। व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेलसमेत मिसिएको अध्यक्ष प्रचण्डको भनाइ छ । ‘राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् । तर यस खालका चलखेल आजमात्र भएका होइनन् । नेपालमा यस्ता खालका चलखेलहरु हिजो पनि थिए, अस्ति पनि थिए,’ उहाँले भन्नुभयो । पूर्वराजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुने समेत उहाँले चेतावनी दिनुभयो। प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डज्यूले २०८१ फागुन २७ गते प्रतिनिधिसभा बैठकमा गर्नुभएको सम्बोधन सभामुख महोदय, सबभन्दा पहिले त म संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि जीवन वलिदान गर्ने हजारौं वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, हजारौं बेपत्ता योद्धा र घाइतेहरु अनि लाखौं लाख जनसमुदायप्रति हार्दिक सम्मान र आभार प्रकट गर्दछु । इतिहासका विभिन्न कालखण्डका ती गौरवपूर्ण वलिदानलाई आज अझ विवेक र कृतज्ञताका साथ स्मरण गर्नुपर्ने भएकोछ किनकि, त्यो शहादतबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदै छ । त्यसकारण हामीले विशेष रुपले स्मरण गर्न जरुरी छ । जनताको बलिदानपूर्ण लामो संर्घषबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कोशिस हुँदैछ । म आज विशेष समय लिएर आम नेपाली जनतालाई यो भन्न सम्मानित रोस्टममा उभिएको छु कि अब हामीले एकातिर सरकारको गलत क्रियाकलापविरुद्ध र अर्कोतिर प्रतिगामी चलखेलकाविरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सर्जना भएको छ । सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभंग बढाउँदै लगेको छ । आठ महिना अघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष थिएन । माइतिघर मण्डला पनि लगभग खाली हुँदै थियो । तर, आज मिटरब्याजपीडितले सिडिओ अफिसभित्रै आत्महत्या गर्न खोजेका समाचार पढ्नु परेको छ । गुठीपीडित जनता सयौं किलोमिटर छिचोलेर आफ्ना पीडा सुनाउन काठमाडौं आइपुगेका छन् । लघुवित्तपीडितका समस्या अझ बल्झिएका छन् । सहकारीपीडित थप पीडित भएका छन् । देशभरका सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका छन् । दुग्ध उत्पादक किसान होउन् वा तरकारी उत्पादक, निर्माण व्यवसायी होउन् वा उखु किसान, दलित होउन् वा महिला म सबैलाई आज आन्दोलनमै देखिरहेको छु । मलाई लाग्छ सबैले स्थिति अलि जटिल छ भन्ने महसुस गरेकै छौं । सरकारमा बसेका साथीहरुलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलनबाहेक अरु विकल्पै देख्न छाडेको हो ? सरकारले जनतासँग संवाद गर्ने सामथ्र्य गुमाएको हो कि संवाद गर्न नचाहेको हो ? जनताको नजरमा सरकारको विश्वसनीयता र सरकारसँग संवादको औचित्य नै समाप्त भएको हो ? सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनःस्थापनको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनःस्थापनाको चुनौती दिन थालेका छन् । राजावादीहरुको यो चहलपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् । तर, म के भन्न चाहन्छु भने यसखालका चलखेल आज मात्रै भएका होइनन् । नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए । तर चाहि अचानक वृद्धि किन भयो ? प्रश्न मुख्यतः यहाँ रहेको छ । पछिल्ला आठ महिनामा सत्तामा रहेका पार्टीहरुले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाई छैन । सभामुख महोदय, आज म ठूलो जिम्मेवारीका साथ, सँगसँगै चेतावनीका साथ पनि भन्न चाहन्छु, नेपालको शान्ति प्रक्रिया मात्र होइन, गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ । संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रे रगतले लेखिएको थुप्रै इतिहास भेटिन्छछ तर नेपाल त्यसमा अपवाद बन्यो । हामी सबैलाई जानकारी छ, यो हाम्रो मौलिकता र उदारताको प्रमाण थियो । पूर्व शाही परिवारमाथि हिंसा त परको कुरा, निर्वासनसमेत नतोकी, पूर्वराजालाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँसमेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने हामी कसैले बिर्सनु हुँदैन । यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने कसैलाई लागेको छ भने त्यो निकै ठूलो भ्रम मात्रै हुनेछ र उदारतालाई कमजोरी ठानियो भने इतिहास निकै निर्मम भएर प्रस्तुत हुनसक्छ भनेर हामी सबैले हेक्का राख्न जरुरी छ । गणतन्त्रका लागि यो देशका लगभग हरेक ढुंगामा जनताको रगत बगेको छ, हामी कसैले नबिर्सौं । क्रान्तिको इतिहास पढ्नुहोस्, गणतन्त्रको जग कति फराकिलो छ । सीमित माओवादीले उठाएको बन्दुकका कारणले मात्र होइन यो देशका सबैभन्दा सीमान्त वर्ग, लिंग, जाति, समुदाय समग्रको त्याग र बलिदानको परिणामको रुपमा आएको हो, यो हेक्का हामी सबैलाई रहोस् । सार्वभौम भइसकेका नेपाली जनता फेरि रैती हुन्छन् भनेर सोचियो भने त्यो भन्दा ठूलो भ्रम अरु केही हुनै सक्दैन । हिजो राजतन्त्रमा गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो । अहिले राजावादी साथीहरु सम्मानित संसदमै हुनुहुन्छ । लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने राम्रो उदाहरण यो भन्दा केही हुन्छ र ? एउटा विचारका रुपमा राजतन्त्रसँग मेरा असहमति छन् तर म लोकतान्त्रिक हकको सम्मान गर्दछु । एक सय ६ वर्ष अघि राजतन्त्र समाप्त भएको रुसमा अझै राजतन्त्रवादी पार्टी अस्तित्वमा छन् । फ्रान्समा अन्तिम राजतन्त्र सकिएको एक सय ७५ वर्ष भयो, अझै पनि त्यहाँ राजतन्त्र फर्काउन चाहने पार्टीहरु अस्तित्वमा छन् । सर्विया, बुल्गेरिया, इरान, अफगानिस्तानमा पनि राजावादीहरुको ससानो उपस्थिति अहिले पनि देखिएकै छ । राजावादीहरुलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नोस्, हामीलाई आपत्ति छैन । लोकतन्त्र जति प्रचण्डको हो, त्यत्ति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी राजनीतिक दलहरुले राखेका छौं र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ । यो कुरालाई कमजोरी नठानियोस् । तर, लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले फेरि एकपटक आफ्नो शक्ति देखाउने छ । यो चुनौती पनि म राख्न चाहन्छु । एकातिर राजावादी साथीहरु सडकमा हुनुहुन्छ, सदनमा पनि हुनहुन्छ । उहाँहरुका उद्देश्य प्रष्ट छन्, उहाँहरुले इतिहासको चक्कालाई पछाडितिर फर्काउन चाहनुभएको छ । पनि खतरनाक र प्रतिगामी छन् । अर्कातिर सरकारको कुशासन पनि छ । लोकतन्त्रलाई जति ठुलो चुनौती बाहिरबाट छ, सत्तासीन साथीहरुको कुशासनले व्यवस्थाभित्रैबाट लोकतन्त्रलाई त्यो भन्दा बढी चुनौती दिइरहेको छ भन्ने कुरालाई पनि हामीले बिर्सनु हुँदैन । सत्तारुढ दलका साथीहरुले लोकतन्त्रकमा मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरिरहनुभएको छ । संसद प्रतिपक्षको हो भन्ने अन्तराष्ट्रिय मान्यता, यद्यपि त्यो संवैधानिक र कानुनी मान्यता होइन, तर यो आम रुपमा स्वीकारिएको मान्यता हो ।संसद सञ्चालनमा तपाईहरुले प्रतिपक्षलाई कति स्पेस दिनुभएको छ, आफैसँग सोध्नुहोस् । प्रमुख प्रतिपक्षी दलको नेता रोस्टममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि, संस्कारहीनता हो वा कुण्ठा हो, त्यसको जवाफ पनि आफैं खोज्नोस् । अर्को प्रतिपक्षी नेतालाई अनुचित ढंगले निलम्वन गरिएको छ । त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा परेको प्रभाव आफैं मूल्यांकन गर्नुहोस् । हिरासतमा नभएको नेतालाई संसदमा आउन दिने प्रचलन हामीले पहिले स्थापित गरिसकेका छौं । सदनभित्र बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ, ठाउँठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन, यो कुरा पनि हेक्का रहोस् । विचौलियाको हितका लागि धमाधम अध्यादेश ल्याउने सरकार संघीयता कार्यान्वयनसँग जोडिएका संसदमा विचाराधिन विद्येयक अघि बढाउन सरकार किन अनिच्छिुक देखिएको हो ? गम्भीर प्रश्न हो । संघीय निजामति विधेययक, जो मैले आफ्नो प्रधानमन्त्रीत्वकालमा धेरै मेहनत गरेर सदनसम्म ल्याइपुर्याएको छु, विद्यालय शिक्षा लगायतका विधेयकहरु अहिले पनि सरकारकै कारण अघि बढ्न सकेका छैनन । यो आफैमा गम्भीर विषय छ । आज प्रतिगमनतिरको मनोबल सरकारका स्वेच्छाचारी र गलत गतिविधिले गर्दा नै बढेको छ भनेर हेक्का राखिएन भने आउने दिन अझ गम्भीर र चुनौतीपूर्ण हुन्छन् भन्ने कुरा विचार गर्न जरुरी छ । कसैको तस्बिर छापिएका टिसर्ट लगाएकै कारण सरकारले नागरिकलाई निणन्त्रणमा लिइरहेको छ । लोकतन्त्रमा सरकारले राख्छ त्यस्तो हक ? हिजो राजामहाराजाझैं पूरै सडक खाली गरेर सवारी चलाउने सनक चढ्छ हाम्रा प्रधानमन्त्रीजीलाई । लोकतन्त्रले के यो राजसी ठाँट स्वीकार गर्छ ? सत्तारुढ पार्टीका कार्यकर्ताले आम नागरिक त परको कुरा, बर्दीधारीलाई नै आक्रमण गर्छन् तर तिनलाई कारवाही हुँदैन । यस्तो दण्डहिनताले लोकतन्त्रप्रति जनताको भरोसा बढाउँछ या जनताको वितृष्णा बढाउँछ हेक्का राख्नुपर्ने विषय हो । मैले पटकपटक भनेको छु, आज हामी सबै जनताको अत्यन्त सघन निगरानीमा छौं । तर, तपाईहरुले जनचाहनालाई वारम्वार उपेक्षा गरिहनुभएको छ । पछिल्ला आठ महिनामा तपाईहरुले लोकतन्त्रलाई गंगा नदी जस्तो बनाइदिनुभएको छ । एकअर्कालाई चोख्याएर, नक्कली भुटानी शरणार्थीए काण्ड धुनुभयो गंगा नदीमा तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो तर फोहोर थुप्रियो लोकतन्त्रमा । गिरिबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयका जमिनहरुको काण्ड धुनुभयो तर जनताको नजरमा मैलो लोकतन्त्र देखियो । तपाईहरुप्रतिको आक्रोश आज व्यवस्थाविरुद्ध पोखिन खोज्दै छ भन्ने कुरालाई कत्तिको आत्मसमीक्षा गर्नुभएको छ ? मैले यही सदनमा पछिल्लोपटक विश्वासको मत लिंदै गर्दा भनेको थिएँ आत्मसमीक्षासहित, गल्ती हाम्रा पनि भए । हामी सबैले आफ्नो आत्मसमीक्षा गरेर जनताप्रति जवाफदेही हुने प्रक्रियाको सुरुवात गरेनौं भने आउने दिन झन् जटिल हुन्छज्र भनेर भनेको थिएँ । अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथीहरुले बडो घमण्ड गरेको सुनिन्छ, सरकार यो गर्दैछ, त्यो गर्दै छ । तर, दुई तिहाईको घोडा कसले दौडाएको छ ? मैले त्यतिबेला पनि भनेको थिएँ, अहिले पनि जोड दिएर भन्न चाहन्छु, सरकारको दुई तिहाईको घोडा प्रधानमन्त्री र मन्त्रीले चलाएको मैले देखेको छैन । त्यो घोडा विचौलियाहरुले चलाएका छन् । तपाईले गर्ने नियुक्ति, तपाईहरुले गर्ने सेटिङ, तपाईहरुले गरेको मैले देख्दिनँ, ती त विचौलियाहरुले निर्णय गरेअनुसार भएको देखेको छु । म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला आठ महिनाका एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति मलाई भनिदिनोस्, जसका पछाडि विचौलिया छैन । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ । तपाईहरुका संयन्त्र, समिति, बैठक, यी सबै नाटक जस्ता मात्र देखिएका छन् । सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया छ । मेरो नेतृत्वको सरकार किन हट्यो भन्ने कुराको व्याख्या मैले पहिले नै गरिसकेको छु । विचौलियाको आँट र शक्तिले आज इमान्दार व्यवसायीलाई विचलित बनाएको छ, भोलि तपाईहरु विचलित हुनुहुनेछ । यो सरकार ठूलो राजनीतिक बलमिच्याइ र संविधानको अवहेलनाबाट बन्यो । लोकतन्त्रको सिधा अवहेलना गरियो, जनता झस्केकै त्यही बिन्दुबाट हो भन्ने कुरा म सरकारमा भएका प्रमुख पार्टीका नेता साथीहरुलाई गम्भीरतापूर्वक समीक्षा गर्न अनुरोध गर्न चाहन्छु । तपाईहरुले एकातिर त सदनभित्रको पहिलो र दोस्रो पार्टीको गठबन्धन बनाएर सदनभित्रबाट बहस र संघर्षबाट सरकारको विकल्प बन्छ भन्ने ठाउँ सिध्याइदिनुभयो । निरंकुशता हुन्छ भन्ने कुरा स्थापित गरिदिनुभयो तपाईहरुले । यस्तो सामान्यतः लोकतन्त्रमा हुँदैन भन्ने कुरा थाहा नपाएर होइन, थाहा पाएरै तपाईहरुले गर्नुभयो । जनता त्यही विन्दुदेखि तपाईहरुसँग नराम्रोसँग झस्किएको छ । अस्तिको राजावादीको जुलुसबाट मात्र होइन, तपाईहरुलाई थाहा छ, म र मेरो पार्टीको नेतृत्वको टीम अहिले हुलाकी राजमार्ग केन्द्रित एउटा जागरण अभियानमा छौं । झापाबाट सुरु गरेर रौटहटसम्म आएर केही दिनका लागि स्थागित गरेर हामी छिट्टै जाँदै छौं । त्यहाँ हामीले जे देख्यौं, जनतामा सरकारप्रति विश्वास छैन । अविश्वास छ, जनता विकल्प खोज्नेतिर लागिरहेको छ । हामीले नयाँ कुरा लगेर जाँदा जनतामा आशा र भरोसा जागेको पनि देख्यौं । एकातिर तपाइँहरुसँग दुई तिहाई छ तर यही दुई तिहाई लोकतन्त्रका घातक हुँदैछ । तपाईहरु दुई तिहाई भनेर ढुक्क देखिनुभएको छ, जसलाई नियुक्त गरे पनि भयो, तीन नम्बरकोलाई एक नम्बर बनाए पनि भयो, एक नम्बरको लाई चार नम्बरमा फालिदिए पनि भयो, जे जे गरे पनि भएको छ किनकि तपाइँहरुसँग दुई तिहाई छ । तर, यो दुई तिहाई नै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ । तपाईहरुलाई पनि यसमा गम्भीररुपमा विचार गर्न अनुरोध मात्रै गर्न सक्छु अहिले । यो संख्याको अहंकारसँगै सत्ताको दुरुपयोग सुरु भएको छ । प्रतिपक्ष र जनताको रचनात्मक खबरदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिने अवस्था आएको छ । यसबीचमा तपाईहरुले पटकपटक लोकतन्त्रको लक्ष्मणरेखा नाघ्नुभयो । पहिलो त यो जन्म नै संविधान र लोकतन्त्रविरुद्ध भयो । तपाईहरुले यो मेरो भनाइलाई सरकार छाड्नपुरेको पीडा होला भनेर बडो सहज व्याख्या गर्ने गर्नुभएको छ, जबकि सदनभित्रको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा नै लोकतान्त्रिक मर्म विपरीत छ । यसले सदनभित्रको विकल्प रोक्ने काम भएको छ । मैले विश्वासको मत नपाएपपछि सरकार सदनको सबैभन्दा ठूलो दलको नेतृत्वमा बन्नैपथ्र्यो । तपाईहरुले त्यहाँ बल मिच्याई र जबरजस्ती गर्नुभयो । संविधानमा ब्ल्याक एण्ड ह्वाइटमा लेखेको प्रावधानलाई मिचेर भए पनि सरकार चाहिं बनाइ छाड्ने गर्नुभयो, त्यही विन्दुबाट तपाइँहरुले लोकतन्त्रमाथि नराम्रोसँग प्रहार सुरु गरेको जनताले महसुस गरेको छ । मैले यही रोस्टमबाट भनेको थिएँ, सरकार कुशासन र स्वार्थसमूहहरुको भरिया भएर उभिँदा जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रुपमा बढेको छ । त्यो आगो लोकतन्त्रकै विरुद्ध प्रयोग हुने हो कि भन्ने प्रश्न अहिले हामी सबैको मनमा छ । अहिले त्यही देखिएको छ । बेथिति र विकृति सरकारले नै बोकेको छ । व्यापारीहरुसँग वक्यौता उठाउन खोज्यो, जथाभावी लाइसेन्स बेच्न दिएन भनेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सरकारको कोपभाजनमा पर्नुभएको छ । प्रतिगमनकारीहरु नारायणहिटीको गेटैमा आइपुग्दा पनि सरकारको कार्यशैली यस्तो भएपछि लोकतन्त्र जोखिममा पर्दैन त ? म पछिल्ला प्रदर्शनहरुलाई केही पनि होइनन् भनेर उपेक्षा गर्दिनँ । सत्तामा रहेकाहरुलाई भन्न चाहन्छु, तपाईहरु पनि यसको निम्ति भागिदार हुनुहुन्छ । विदेशी षड्यन्त्र पनि होलान्, विगतमा पनि हामीले देख्ने गरेका छौं । अस्तिको प्रदर्शनमा पनि देख्यौं, को कसका फोटो टाँसिए, इत्यादी तर म त्यसलाई म पहिलो प्रमुख हो भन्ने मलाई लाग्र्दैन । मुख्य कुरा त त्यहाँ उत्रिएको त नेपाली जनता नै हो नि । यसलाई जनताको असन्तोष, अव्यवस्था र कुशासनविरुद्ध जनताको आक्रोशको रुपमा बुझ्न ढिला गरियो भने धेरै ढिला हुनसक्छ । सरकारलाई मेरो चेतावनीपूर्ण आग्रह छ, यसलाई गिजोल्नतिर नलाग्नोेस्, सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नोस् । तपाईहरुको अनावश्यक अहंकार र दुर्वचन, उपेक्षा, घमण्ड र अविवेकको मूल्य हो त्यो । त्यसको थप मूल्य तिर्न यो देश तयार छैन । आजको लोकतन्त्र तत्कालीन सात राजनीतिक दल र माओवादीबीच सहकार्यको परिणाम हो । संविधानको एउटा अभिन्न अंग शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाले जीवनका अन्तिम क्षणमा अस्पतालमा मेरो हात समातेर संविधान र लोकतन्त्र तपाईको जिम्मा भनेको सुन्ने साथीहरु यही संसदमा पनि हुनुहुन्छ । उहाँलाई दिएको वचनलाई साक्षी राखेर शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ताको नाताले म भन्न चाहन्छु र यो संसदलाई विश्वास दिलाउँछु, प्रगिगमन सफल हुन दिइनेछैन । जुनसुकै राजनीतिक दलसमर्थक भए पनि गणतन्त्रप्राप्तिको संघर्ष र क्रान्तिका सबै महान् शहिदहरुको सपनाको जिम्मा लिन म तयार छु । तपाइँहरुले अहिलकति आत्मसमीक्षा गरिदिनुभयो र संसदभित्रै विकल्प हुनसक्छ भन्ने मान्यतातिर अगाडि बढिदिनुभयो भने त्यो धेरै ठूलो कुरा हुनेछ । यदि त्यसो हुन सकेन भने पनि बाह्र बुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र, जनयुद्ध र जनआन्दोलनका ती हजारौं सदिहरुको सपना बोकेर हिड्न हाम्रो पार्टी र म तयार छौं, म यो विश्वासका साथ तपाईहरुलाई राख्न चाहन्छु । तपाईहरु जतिसुकै विचलित भए पनि मलाई विश्वास छ, नेपाली कांग्रेस र नेकपा एमालेभित्र इमान्दार, देशभक्त र लोकतान्त्रिकवादीहरु प्रतिगमनको पक्षमा कोही पनि हुने छैनन् । देशभरिका लोकतान्त्रिक शक्तिहरुको साथ लिएर हामी प्रतिगमन त रोक्ने छौैं तर सत्तारु साथीहरु कहिले सुध्रनुहुन्छ ? दुई तिहाईको अहंकारमा तपाईहरुले दौडाएको कुशासनको घोडा नै अहिले लोकतन्त्रमाथिको सबैभन्दा ठूलो संकट बन्दैछ । यो संकटको सामना गर्न सबैभन्दा ठूलो जिम्मेवारी सत्तारुढ दलहरुकै हुन आएको छ । तपाइँहरुको दुई तिहाईको अहंकारले लाखौं जनतालाई सडकमा पुर्याउँदै छ । यसको गम्भीर आत्मसमीक्षा गर्नुहोला । लोकतन्त्रको सुदृढ गर्नतिर तपाइहरुका कदम बढेमा हाम्रो साथ हुनेछ । यही विश्वाससहित मेरो भनाई टुंग्याउँछु । धन्यवाद । अभिवादन ।
डढेलो निभाउन जाँदा ३ जना नेपाली सैनिकको निधन
काठमाडौँ । डढेलो निभाउन जाँदा ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो । डडेलोले टिप्दा घाइते भएका ४ जना सैनिकमध्ये ३ जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एक जनाको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको छ भने थप २ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । देशका विभिन्न स्थानहरूमा भइरहेका आगलागी नियन्त्रणका निमित्त करिब ८ सय स्थानमा १२ हजार ५ सय जना सकलदर्जा परिचालित भएको जनाइएको छ ।
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलामा एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
उपचुनावको लक्षण राम्रो देखिएको छ, परिणाम राम्रै आउँछ : अध्यक्ष प्रचण्ड
गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपचुनावको परिणामले आफ्नो पार्टी उकालो लाग्दै छ कि छैन भनेर संकेत गर्ने बताउनुभएको छ । बिहीबार पार्टी कार्यालय पाटेचौरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपचुनावको लक्षण राम्रो देखिएको र परिणाम राम्रै आउने आशा गरेको बताउनुभयो । ‘उपचुनावको परिणामले हामी उकालो लाग्दै छौँ कि छैन भन्ने संकेत गर्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो,‘यद्यपि यो चाहिँ सबै होइन है फेरि, हारियो भने बर्बाद भयो भन्ने कुरा त छैन, तर लक्षण राम्रो छ ।’ रुकुम पूर्वको १ वडामा निर्विरोध विजयीले उत्साह थपेको बताउनुभयो। ‘यो पनि हाम्रो लागि प्लस नै भएको छ, गोरखा-५ को निर्वाचन जितियो भने गण्डकी प्रदेशलाई पुग्छ, देशैभरि देखिन्छ, बल गर्दा सम्भावना बढ्दो छ भन्ने देखिएको छ,’ उहाँले भन्नुभयो । चुनावमा काँग्रेस, एमालेसँग कुनै हालतमा तालमेल नगर्ने ‘ब्ल्याक एन्ड हृवाइट’ निर्णय गरिएको पनि उहाँले कार्यकर्ता प्रशिक्षणमा बताउनुभयो। ‘खाली अर्काको खुट्टामा टेक्दा माओवादीको पहिचान हरायो, हामी एक्लै भिड्ने हो,’ उहाँले भन्नुभयो ,‘एक्लै भिड्दा असली पहिचान र ताकत देखिन्छ ।’ विपक्षी दलको नेता भएकाले विपक्षीहरूलाई पनि संरक्षण गर्ने जिम्मेवारी रहेको उहाँले बताउनुभयो। कीर्तिपुरको मेयरमा समाजवादी मोर्चामा भएका विप्लव, उपेन्द्र यादव र एकीकृत समाजवादीको पनि समर्थन प्राप्त भएको बताउनुभयो । ‘हाम्रो भित्र पनि राम्रो एकता देखा परेको छ, त्यसबाट पनि आशावादी भएका छौँ,’उहाँले भन्नुभयो,‘राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तिममा सकारात्मक नै गर्ला कि भन्ने आशा गरिएको छ, लगातार छलफल पनि भइरहेको छ ।’ पुस २ गते केन्द्रीय समिति बैठक राखिएको तथा देशैभर खबरदारी सभा गर्ने पनि उहाँले बताउनुभयो। ‘फागुनपछि शक्तिशाली आन्दोलन काठमाडौं केन्द्रित गर्नुपर्ने पनि हुन सक्छ, बाहिर भएको सभाले फेरि शासकलाई छुने गरेको छैन, काठमाडौं केन्द्रित गरेर मात्रै राजनीतिक परिवर्तन विगतमा पनि सम्भव हुने गरेको छ,’ प्रचण्डले भन्नुभयो । १८ महिना आफू प्रधानमन्त्री हुँदा एउटा रेकर्ड बनेको अध्यक्ष प्रचण्डले बताउनुभयो । बहुमत दियो भने धेरै पो गर्छ कि भन्ने जनतामा परेको बताउनुभयो। ‘यसलाई बचाऔँ, गोरखाले हिजो युद्ध र क्रान्तिमा पनि इतिहास बनायो, अब समाजवादी आन्दोलनका लागि उत्पादनको निमित्त संघर्ष र सांस्कृतिक रूपमा रूपान्तरणको कार्य योजनालाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ ।’उहाँले भन्नुभयो ।
महिला साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, यस्तो छ खेल तालिका
काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको सातौं संस्करण आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात हुनेछ। खेल साँझ ५ः३० बजे सुरु हुनेछ। सन् २०१० देखि सुरु भएको साफ च्याम्पियनसिपको ६ संस्करणमा ५ पटक विजेता बनेको थियो। दुई वर्षअघि नेपालमा भएको पछिल्लो संस्करणमा भने भारत सेमिफाइनलमा पराजित भएको थियो। त्यति बेला नेपालसँग पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको थियो। नेपालले भारतलाई महिला फुटबलमा हराएको त्यो पहिलो पटक थियो। भारत सदा जस्तै प्रतियोगिताको मुख्य दाबेदार मध्येको टोली हो। पाकिस्तानको भने साफ च्याम्पियनसिपमा कमजोर उपस्थिति रहँदै आएको छ। २०१० मा बाहेक पाकिस्तान सेमिफाइनलमा पनि पुग्न सकेको छैन। भारतलाई रोक्न सके वा हराउन सके पाकिस्तानी फुटबलका ठूलो नतिजा हुनेछ। भारत, पाकिस्तानसँगै बंगालादेश समूह एमा छन् । नेपालसहित भुटान, श्रीलंका र माल्दिभ्स अर्को समूहमा छन्। भुटानसँग शुक्रवार खेल्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ। खेल ५ः३० बजे सुरु हुनेछ। त्यसअघि शुक्रवार श्रीलंका र माल्दिभ्स बीच खेल हुनेछ। नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिपको आयोजना गर्दैछ। हेर्नुहोस् खेल तालिका
घट्यो सुनचाँदीको मूल्य, कतिमा भैरहेको कारोबार ?
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २० रुपैयाँ घटेर एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
भरतपुर मेयर कप : लिग चरण सकियो, चार टोली सिधै क्वाटरफाइनलमा प्रवेश
भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । लिग चरणका खेलबाट ६ समूहका शिर्ष २-२ गरी १२ टोली नकआउट प्रवेश गरेका छन् । ६ समूहका विजेता मध्य उत्कृष्ट ४ टोली सिधै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बाँकी दुई समूह विजेता र ६ समूह उपविजेता टोली भने प्रि क्वाटरफाईनलमा प्रवेश गरेका छन् । सिधै क्वाटरफाइनलमा स्थान बनाउने उत्कृष्ट ४ टोलीहरुमा समूह बी बाट आदिकवि भानु मावि, सी बाट विश्व प्रकाश मावि, समूह डी बाट नारायनी नमूना मावि र ई बाट अमर मावि रहेका छन् । यी टोलीले लिग चरणका सबै तिनै खेल जितेका छन् । समूह ए को विजेता स्टेप बाई स्टेप र एफ बाट किरण अमरजंग भने प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यी दुबै टोलीले समूह चरणका तीन खेलमा दुई जित र एक बराबरी ७-७ अंक जोडेका छन् । यस्तै समूह ए बाट ओमशान्ति एकेडेमी, बी बाट ग्रीनल्याण्ड पब्लिक स्कुल, सी बाट लक्ष्मी मावि, डी बाट जनज्योति मावि, ई बाट दुर्गाशेषकान्त मावि र एफबाट ग्रामोदय इङ्लिस बोर्डिङ स्कुलले पनि उपविजेताको रुपमा प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् । प्रि-क्वाटरफाइनलका खेलहरु शनिबारबाट सुरु हुनेछ । प्रि-क्वाटरफाइनलबाट ४ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रि-क्वाटरफाइनलको खेल तालिका आजै सार्वजनिक गरिने सह आयोजक चितवन जिल्ला फुटबल संघले जनाएको छ ।
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्यलाई थप केही दिन राखिने
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर बर्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनु भएको छ। गत शनिबारदेखि अस्पतालमा उपचार गराइरहनु भएका पौडेल आज सोमबार ‘डिस्चार्ज’ हुनुभएको हो । उहाँसँगै घाइते हुनुभएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको भएपनि उहाँलाई थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाएको छ । मेयर धनराज आचार्यलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने अस्पतालले जानकारी गराएको छ।
हाम्रो संस्कृति संसारकै अनुकरणीय: राष्ट्रियसभा अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको बताएका छन् । होली पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् । सन्देशमा अध्यक्ष दाहालले भनेका छन्, “यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भ्रातृत्व एवम् विविध रङ्गको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु ।” फागुपूर्णिमा (होली) नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये महत्त्वपूर्ण पर्व भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वका दृष्टिले हामी धेरै सम्पन्न रहेको बताएका छन् । “हामी यति बेला प्रतिनिधिसभा सदस्य निर्वाचनको सङ्घारमा छौँ । गत भदौमा भएको जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिपछि यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ,” अध्यक्ष दाहालले सन्देशमा भनेका छन्, “होली पर्वमा व्यक्त हुने आपसी सद्भाव, भ्रातृत्व र उत्साहझैँ निर्वाचनलाई पनि उत्सवकै रूपमा सम्पन्न गर्न सबैको इमानदार र सकारात्मक पहल हुने मैले विश्वास लिएको छु ।”
संविधानले सबै समुदायको उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जनजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड दिएको बताएका छन्। भूमे पर्व (भुम्या पर्व) २०८१ का अवसरमा आज जारी शुभकामना सन्देशमा उनले पर्वले सबै नेपालीमा सकारात्मक सोचको विकास गरी भ्रातृत्व, एकता, सद्भाव र मेलमिलापको वातावरण सृजना एवं देश निर्माणमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन्। उनले विज्ञप्तिमा परापूर्वकालदेखि प्रकृतिपूजक मगरहरूले मानवीय क्षति नहोस् र प्राकृतिक विपत्ति नआओस् भनी भूमिपूजा अर्थात् प्रकृतिको पूजा गरी भूमे पर्वको सुरुआत गरेको उल्लेख गरेका छन्।
कर्णालीको मुख्यमन्त्रीमा गठबन्धनका यामलाल कँडेलले दाबी पेश गर्दै
काठमाडौँ । कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद मंगलबार सकिँदै छ । सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् । तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। पहिले नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेको छ। एमाले संसदीय दलका नेता कँडेलले माओवादी केन्द्रको समर्थनमा सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् । ४० सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन् । त्यसैगरी नेपाली काँग्रेसका १४, राप्रपा र स्वतन्त्रबाट १र१ जना सांसद रहेका छन् ।

