तेस्रो पटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उनले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।  

दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठ्दै आए पनि केन्द्रीय गठबन्धनका कारण प्रदेशमा पनि कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने भएका छन् ।

जनमतले छाडेका दुई मन्त्रालय कांग्रेस र माओवादीलाई दिने सहमतिमा दुवै दलले विश्वासको मत दिने सहमति छ ।  

मधेसमा १०७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९–९ सांसद छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन् भने एकजना स्वतन्त्र सांसद रहेका छन् ।

१३ वर्षपछि आज चन्द्रमाको दुर्लभ संयोग, ९० करोड डलरको नोक्सानी हुनसक्ने

काठमाडौं । खगोलीय संसारमा आज विशेष दुर्लभ संयोग बनेको छ । आज दुर्लभ पूर्ण चन्द्रमा देख्न सकिन्छ । यसलाई फूल हार्भेष्ट मून पनि भनिन्छ । अरुबेला सूर्यास्त भएपछि करिब एक घण्टापछि चन्द्रमा देखिन्छ । तर शुक्रबार भने सूर्यास्तको पाँच मिनेटपछि नै पूर्वमा चन्द्रमा देखियो । नासाका वैज्ञानिकहरुका अनुसार, आज यसलाई हेर्न सकिन्छ । तर किंवदन्तीहरुमा यो चन्द्रमाको स्वरुपलाई भयावह मानिन्छ । यो पूर्ण चन्द्रमालाई आदिवासी अमेरिकीहरुले फूल हार्भेष्ट मुनको नाम दिएका थिए । यो चन्द्रमाले साधारण चन्द्र उदयको तुलनामा छिटो प्रकाश फैलाउने गर्दछ । यसलाई कोर्न मून पनि भनिन्छ । किनभने यतिबेला मानिसहरु मकै भित्र्याउने गर्दछन् र यो चन्द्रमाले उनीहरुलाई राती पनि काम गर्न मद्दत गर्दछ । यो चन्द्रमा अन्य दिनभन्दा सानो देखिएको छ । किनभने यो आज आफ्नो कक्षभन्दा टाढा अवस्थित छ । त्यसो त माइक्रोमुन (अरुबेला देखिने चन्द्रमा) सूपर मुनको तुलनमा १४ प्रतिशत छोटो र ३० प्रतिशत कम चम्किलो देखिन्छ । सामान्य चन्द्रमा पृथ्वीभन्दा २५१६५५ माइलको दूरीमा हुन्छ । तर फूल हार्भेष्ट मुन भने माइक्रो मुनभन्दा ८१६ माइल झन टाढा हुने गर्दछ । सेप्टेम्बरमा हुने यो दुर्लभ पूर्ण चन्द्रमालाई शरद चन्द्रमा पनि भनिन्छ । यसलाई यसअघि २००६ मा देखिएका थियो । अब यसपछि २०३३ मा यस्तै संयोग देखिने छ । उत्तरी क्यारोलिनाका एशिभिज स्ट्रेस म्यानजमेन्ट एण्ड फोबिया इन्स्च्यिूटका अनुसार, अमेरिकामा अनुमानित १७ देखि २१ मिलियन मानिसहरु यो चन्द्रमादेखि डराउन गर्दछन् । यसलाई उनीहरु पहिला देखि नै भयावह दिनको रुपमा लिने गर्दछन् । आजको दिन कैयन अमेरिकीहरुले व्यापार बन्द गर्ने र यात्रामा नजाने गरेका हुन्छन् । यसबाट करिब ८ सय देखि ९ सय मिलियन डलरको व्यापार नहुने अनुमान छ । तर वैज्ञानिक भने यो खगोलिय घटना मात्र भएको दावी गर्छन् । यो वर्ष अन्तरिक्ष प्रेमीहरुका लागि विशेष वर्ष बनेको छ । यसै वर्षको अन्तमा २६ डिसेम्बरका दिन तेश्रो सूर्य ग्रहण लाग्दैछ । यो वर्षको पहिलो सूर्य ग्रण ६ जनवरी र दोश्रो २ जुलाईका दिन थियो । वर्ष २०२० को पहिलो चन्द्रग्रहण भने जुन ५ का दिन लाग्नेछ । सामान्यरुपमा चन्द्रमा र मानिसको स्वास्थ्यमा कुनै सम्बन्ध देखिन्न । तर वैज्ञानिक अध्ययन अनुसार, चन्द्रमाले मानिसको स्वास्थ्यमा समेत असर पार्ने बताइन्छ । पूर्णिमा दिन चन्द्रमाको गुरुत्वाकर्षण बढने गर्दछ । यसबाट व्यक्तिको मूड प्रभावित हुन्छ । कतिपयले यो चन्द्रमामा हुने परिवर्तनबाट तनाव त कतिले टाउको दुखेको अनुभूति गर्न सक्छन् । पूर्णिमाभन्दा पहिले र पछि तीन चार दिनसम्म अपेक्षाकृत कम निन्द्रा आउने समस्या पनि हुन्छ ।

मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या

मेटाका प्रवक्ता एन्डी स्टोनले समस्या हल गर्न लागेको बताएका छन् ।

विपिसीको महशुल बृद्धि विरुद्धको आन्दोलन चर्किदै

गल्याङ । बुटवल पावर कम्पनी (विपिसी) आँधिखोला वितरण केन्द्रबाट वितरित विद्युत महसुलमा भारी बृद्धि भएपछि आन्दोलन चर्किन थालेको छ । बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत नियमन आयोगले विद्युत महसुल बढाएकोमा प्रभावित क्षेत्रका राजनीतिक दलहरु तथा सरोकारवाला पक्ष एकजुट भएर आन्दोलन गर्ने निर्णय गरेका छन् ।  आँधिखोला वितरण केन्द्रका उपभोक्ता रहेका स्याङ्जाका चार पालिका र पाल्पाका दुई पालिकाका सरोकारवालाहरु एकजुट भएर आन्दोलन गर्ने घोषणा गरेका हुन् ।    यसअघिको मुल्यमा झण्डै ५० प्रतिशत बढाइएपछि छलफल गर्न आँधिखोला वितरण केन्द्रबाट प्रभावित गल्याङ नगरपालिका, वालिङ नगरपालिका, भिरकोट नगरपालिका, चापाकोट नगरपालिका, रामपुर नगरपालिका र रम्भा गाउँपालिकाका राजनीतिक दलहरुबीच गल्याङबजारमा छलफल भएको छ । नेपाली काङग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्यालको अध्यक्षतामा बसेको बैठकले शूल्क बृद्धिको निर्णय तत्काल फिर्ता गर्न माग गर्दै आ–आफ्नो पालिकामा संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले मुल्य बृद्धि फिर्ता लिन माग गर्दै बुटवल पावर कम्पनीका आफ्नो पालिका रहेका कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा विद्युत नियमन आयोगमा निर्णय फिर्ता लिन माग गर्दै उजुरी दिने निर्णय पनि गरेको छ । यस्तै भेलाले बुटवल पावर कम्पनीलाई मिटर रिडिङ गर्न नदिने निर्णय पनि गरेको छ । यसैगरी भेलाले शुल्क बृद्धिको निर्णयप्रति गम्भीर भई फिर्ताका लागि पहलकदमी लिन सांसद तथा पालिकाका प्रमुख एवम अध्यक्षहरुलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै, पार्टीका जिल्ला नेतृत्वलाई पनि बढाइएको शूल्क खारेजीका लागि आवश्यक निर्णय गर्न आह्वान गर्ने निर्णय भेलाले गरेको छ । भेलामा सहभागीहरुले विद्युत नियमन आयोगले पदाधीकारी विहीन हुने बेलामा गरेको निर्णय आर्थिक चलखेलका आधारमा हुन सक्ने शंका व्यक्त गरेका छन् । कतिपय सहभागीहरुले भने केही पालिका प्रमुखहरु पनि मौन रहनुलाई आर्थिक चलखेलमा जोडिएको हुन सक्ने शंका व्यक्त गर्दै जनताका मुद्धामा एकीकृत हुन नसकेको भन्दै चिन्ता प्रकट गरेका छन् । भेलामा नेपाली काङ्ग्रेस वालिङ नगर समिति सभापति नेत्रप्रसाद पाण्डे, भिरकोट नगर समिति उपसभापति जगदिश कोइराला, रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, रम्भाका प्रतिनिधि सुमन पछाई, नेकपा एमाले गल्याङ नगर कमिटि अध्यक्ष दानबहादुर थापा, वालिङ नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य अर्जुन श्रेष्ठ, वालिङका सचिव भक्त गोतामे, रम्भा गाउँकमिटि अध्यक्ष विनोद अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समिति सभापति टिकाराम भण्डारी, वालिङ नगर सभापति सुरेन्द्र काफ्ले, रामपुर नगर सभापति अर्जुन प्रसाद श्रेष्ठ, नेकपा समाजवादी केन्द्रीय परिषद सदस्य जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रे, पत्रकार महासंघ स्याङ्जाका सभापति श्रीकृष्ण सिग्देल लगायतको उपस्थिति रहेको थियो ।   यसैवीच, गल्याङको संघर्ष समितिले सोमबार बुटवल पावर कम्पनीको गल्याङ शाखामा गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा हुने धर्ना कार्यक्रममा सहभागी हुने निर्णय गरेको छ । सोही धर्नामा थप कार्यक्रम तय हुने नेपाली काङग्रेसका नगर सभापति श्यामप्रसाद बस्यालले जानकारी दिनुभयो । चरणबद्ध आन्दोलन सुरु गरेको चेम्बर अफ कमर्सले सोमबार मध्यान्ह १२ बजे बुटवल पावर कम्पनीको गल्याङ शाखामा धर्ना दिने कार्यक्रम राखेको छ ।

वाग्मती प्रदेशसभाको अधिवेशन वैशाख ३१ मा

हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।   यस्तै मन्त्रिपरिषद्को बैठकले हात्तीसुरे, शिखरपुर र अम्बासे मकवानपुर सडकखण्ड स्तरोन्नति गर्न ९६ रुख कटान गर्ने र मकवानपुरमा रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको कार्यालय भक्तपुरमा स्थान्तरण गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए। बैठकले वाग्मती प्रदेश नीति तथा योजना आयोगमा दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने तथा नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० को पहिलो संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ।   यस्तै, लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण मापदण्ड, २०८१ स्वीकृत गर्ने, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् स्थापना हुने स्थान, संगठन तालिका, दरबन्दी, कार्य विवरण, छाप र साइन बोर्ड स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए। बैठकले खरको छानोमुक्त वाग्मती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ। रासस

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यकः प्रचण्ड

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र मिर्चैया नगर समिति सिरहाले आज विहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताउनुभयो । २०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिंदै उहाँले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताउनुभयो । संविधान जारी भएपछि मधेशका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्दै उहाँले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि बताउनुभयो। ‘जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ’– उहाँले भन्नुभयो– ‘संघीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौं वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ।’ अध्यक्ष प्रचण्डले पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उल्लेख गर्दैे त्यसका विरुद्ध सबै जनताले र अझ बढी उत्पीडित समुदायले खबरदारी गर्नुपर्ने बताउनुभयो । आफूले सरकारको नेतृत्व गर्दा वर्षौ पुराना तराई मधेशका समस्यालाई ध्यान दिएर काम गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ अघि बढाइरहेका छौं, मैले सरकारको नेतृत्व गरेको बेलामा यी एजेण्डामा पनि अझ बढी मधेशका समस्या समाधानमा ध्यान दिने प्रयास गरें । वर्षौ पुरानो मिटरब्याजको समस्या कानुन बनाएर नै समाधान गरिएको छ । हजारौं नागरिकताविहीनहरुले नागरिक पाउने अवस्था बनेको छ । यसलाई तपाइँहरुले महत्वपूर्ण उपलब्धिको रुपमा लिनुभएको छ भन्ने मैले बुझेको छु।’ पार्टी प्रतिपक्षमा रहँदा पनि जनताका एजेण्डालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताका दैनिकदिनका समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेण्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने बताउनुभयो । उहाँले त्यसका लागि स्थानीय पार्टी कमिटीहरुलाई आवश्यक योजना बनाएर अघि बढ्न निर्देशन दिनुभयो । जनतासँग अन्तर्क्रिया गर्दै प्रचण्ड त्यसअघि आज विहान नै अध्यक्ष प्रचण्डले सिराहको गोलबजारमा स्थानीयवासीसँग अन्तक्र्रिया गर्दै आफूले शुरू गरेका पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले गोलबजारवासीले विकास र सुशासनका विषयमा राखेको चासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै समग्र मधेशी जनताका अधिकारको संघर्षमा सधैं साथमा रहने दृढता व्यक्त गर्नुभयो ।  

मलावीका उपराष्ट्रपतिसहित नौ जना सवार विमान बेपत्ता

एजेन्सी । मलावीका उप-राष्ट्रपति साउलोस चिलिमासहित नौ जना सवार एउटा विमान बेपत्ता भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङवेबाट निस्किएपछि राडारबाट बाहिर गएको बताइएको छ । उक्त विमान स्थानीय समय अनुसार बिहान १० बजेपछि देशको उत्तरमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि तय गरिएको थियो । सोमबार ढिलो सम्बोधन गर्दै राष्ट्रपति लाजरस चकवेराले खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । विमान बेपत्ता हुनुको कारण अहिलेसम्म थाहा नभएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । चिलिमा तीन दिनअघि निधन भएका पूर्व क्याबिनेट मन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न गएका थिए।

देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री प्रचण्ड

रामपुर,चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन्।कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिएका हुन्।  “देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान दुपयोग गर्नुहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिन चाहन्छु ।”  उनले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी सङ्ख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताए । प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा आफ्नो सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंसीको बेमौसमी प्रजनन्को प्रविधि, गहुँको गर्मी सहन गर्न सक्ने जातको विकास लगायतका प्रविधि विकास गरेकोप्रति खुशी व्यक्त गरे। विश्वविद्यालयले आवश्यकताअनुसार कलेज तथा कृषि विज्ञान केन्द्र विस्तार र सबलीकरणका लागि योजना निर्माण गरी त्यसको कार्यान्वयन हुने विश्वास लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले आवश्यक शिक्षक, कर्मचारीको व्यवस्थापनका लागि विश्वविद्यालय प्रयत्नशील रहेको बताए। उनले आगामी दिनमा विश्वविद्यालयको निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने विश्वास दिलाए। “विश्वविद्यालयले सङ्काय, कलेज तथा विज्ञान केन्द्रहरूको शैक्षिक भवन, एकीकृत अनुसन्धान प्रयोगशाला, जैविक सुरक्षा प्रयोगशाला निर्माण गरिरहेकोमा निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “विश्वविद्यालयका शैक्षिक एवं अनुसन्धान र प्रसार कार्यलाई गुणस्तरयुक्त तथा समयसापेक्ष बनाउन दश वर्षे रणनीतिक योजना निर्माण एवं पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्नुपर्छ ।”

बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिका

सुबिन चालिसे नेपाल जस्तो विविधतायुक्त देशमा समाज निरन्तर परिवर्तनको यात्रामा छ। विकास, प्रविधि, र जनचेतनामा आएको परिवर्तनले समाजको संरचना र मूल्य मान्यताहरूमा ठूलो प्रभाव पारेको छ। यस बदलिँदो समाजमा युवाहरूको भूमिका महत्वपूर्ण छ। नेपाली समाजमा परिवर्तन ल्याउने शक्ति नै युवाहरू हुन्। सबैभन्दा पहिला, युवाहरू प्रविधिको सशक्त प्रयोगकर्ताका रूपमा देखिएका छन्। इन्टरनेट, सामाजिक सञ्जाल, र नयाँ प्रविधिहरूको उपयोग गर्दै उनीहरूले नयाँ चेतना, विचार र सन्देश फैलाइरहेका छन्। उदाहरणस्वरूप, विभिन्न सामाजिक मुद्दाहरूमा युवाहरूले अनलाइन अभियान चलाएर समाजलाई जागरूक बनाउने प्रयास गरिरहेका छन्। दोस्रो, राजनीतिक परिप्रेक्ष्यमा युवाहरूको भूमिका उल्लेखनीय छ। विगतका केही वर्षहरूमा, युवाहरूले राजनीतिक आन्दोलनहरूमा सक्रियता देखाउँदै आएका छन्। नेपालमा भएको लोकतान्त्रिक आन्दोलनहरूमा युवाहरूको भूमिका महत्त्वपूर्ण रह्यो। अहिलेको नयाँ संविधान निर्माणमा समेत युवाहरूको आवाजलाई सुनिएको छ। तेस्रो, नेपाली समाजमा भएका परम्परागत धारणाहरू र पुराना सामाजिक संरचनाहरूलाई चुनौती दिन युवा पुस्ताले अग्रसरता लिएको देखिन्छ। जात, लिङ्ग, र धर्मसँग सम्बन्धित विभेदहरूलाई हटाउने र समानता स्थापनाको लागि युवाहरूले अभियानहरू चलाएका छन्। यसले नेपाली समाजलाई उदार, समतामूलक र समावेशी बनाउन ठूलो सहयोग गरेको छ। युवाहरू रोजगारी र उद्यमशीलताको क्षेत्रमा पनि सक्रिय छन्। बदलिँदो अर्थतन्त्रको माग अनुसार युवाहरूले नयाँ नयाँ व्यावसायिक मोडेलहरू सिर्जना गरिरहेका छन्। स्टार्टअप कल्चरको सुरुवात र नविन सोच राखेर उनीहरूले नेपालको आर्थिक विकासमा योगदान पुर्याइरहेका छन्। युवाहरूले सामाजिक सेवामा पनि उल्लेखनीय योगदान दिएका छन्। विभिन्न गैरसरकारी संस्थाहरू, स्वयंसेवी संगठनहरू मार्फत शिक्षा, स्वास्थ्य, वातावरण, तथा अन्य सामाजिक मुद्दाहरूमा काम गरेर समाजलाई सशक्त बनाउन उनीहरूको भूमिका महत्त्वपूर्ण छ। समग्रमा, बदलिँदो नेपाली समाजमा युवाहरू परिवर्तनका वाहक हुन्। उनीहरूलाई सही दिशामा नेतृत्व गर्ने अवसर दिइने हो भने नेपाली समाजको भविष्य उज्ज्वल देखिन्छ। नविन सोच, साहस, र जोशले भरिएका यी युवाहरूले नेपाली समाजलाई आधुनिक र प्रगतिशील दिशामा अघि बढाउन सक्ने क्षमता राख्छन्। बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिकालाई थप विस्तृत रूपमा हेर्दा विभिन्न क्षेत्रहरूमा उनीहरूको प्रभावलाई उजागर गर्न सकिन्छ। सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा उनीहरूको योगदान क्रमशः वृद्धि हुँदै गएको छ। १. सामाजिक नेतृत्वमा योगदान: नेपाली युवाहरूले सामाजिक नेतृत्व र सेवा क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्। सामाजिक अभियन्ता र स्वयंसेवकको रूपमा, युवाहरूले सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र लैंगिक समानताजस्ता मुद्दाहरूमा काम गरिरहेका छन्। विभिन्न गैरसरकारी संस्था र अभियानहरूमा संलग्न भई उनीहरूले समाजमा सुधार ल्याउने प्रयास गरिरहेका छन्। नेपालमा बढ्दो लैंगिक हिंसा, बालविवाह, जातीय विभेद, र अन्य सामाजिक मुद्दाहरूलाई हटाउन युवाहरूले चलाएका अभियानहरूले समाजमा चेतना फैलाइरहेका छन्। यसले समाजलाई न्यायसंगत र समावेशी बनाउन मद्दत पुर्‍याएको छ २. राजनीतिक सचेतना र सक्रियता: नेपाली राजनीतिक परिवेशमा युवाहरूको भूमिका अब सीमित मात्रामा होइन। विगतमा राजनीति बृद्ध पुस्ताको वर्चस्वमा रहे पनि अहिलेको समयमा युवाहरूले नयाँ सोच, सुधार, र परिवर्तनको माग राख्दै सक्रिय सहभागिता जनाइरहेका छन्। स्थानीय निर्वाचनदेखि लिएर राष्ट्रिय स्तरसम्म उनीहरूको सहभागिता बढ्दो छ। युवाहरूले सशक्त राजनीतिक नेतृत्वको माग गर्दै विभिन्न आन्दोलनहरूमा भाग लिएका छन्, जसले नयाँ पुस्ताको आवश्यकता र प्राथमिकतालाई अघि सारेको छ। उनीहरू राजनीतिमा पारदर्शिता, जवाफदेहिता, र निष्ठाको माग राख्दै आएका छन्। यसले पुराना राजनीति शैलीमा सुधार ल्याउन र नयाँ नीतिहरूको निर्माण गर्न सहयोग पुर्‍याएको छ। ३. उद्यमशीलता र नवप्रवर्तन: बदलिँदो विश्वसामु युवाहरूले नयाँ प्रविधिको सदुपयोग गर्दै उद्यमशीलताको क्षेत्रमा क्रान्तिकारी योगदान दिएका छन्। नेपालको आर्थिक अवस्था सुधार्न युवाहरूले स्टार्टअपहरू, साना तथा मझौला उद्यमहरूको सुरुवात गरेका छन्। कृषि, पर्यटन, सूचना प्रविधि, र उद्योग क्षेत्रमा युवाहरूको नविन सोचले नेपाललाई स्वावलम्बी बनाउने दिशामा अघि बढाएको छ। अझै, युवा उद्यमीहरूले विश्वव्यापी मञ्चमा नेपाललाई चिनाउँदै निर्यातका लागि नयाँ नयाँ उपायहरू खोजिरहेका छन्। यसले न केवल रोजगारी सिर्जना गरेको छ, तर देशको आर्थिक विकासमा योगदान पुर्याएको छ। ४. सांस्कृतिक परिवर्तन: सांस्कृतिक रूपमा पनि युवाहरूले परम्परागत मान्यताहरूलाई आधुनिक सोचसँग मेल खुवाउने प्रयास गरिरहेका छन्। नेपालको विविध सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै, नयाँ पुस्ताले सांस्कृतिक साक्षरता, कला, संगीत, र अन्य सांस्कृतिक क्रियाकलापहरूमा पनि नविनता ल्याइरहेका छन्। यसका साथै, विश्वव्यापीकरण र प्रविधिको प्रभावले गर्दा युवाहरूले नयाँ सांस्कृतिक परम्पराहरूलाई आत्मसात गर्दै आएका छन्। यद्यपि, उनीहरूले आफ्नै मौलिक संस्कृति र परम्पराको पनि सम्मान गर्ने परिपाटीलाई कायम राखेका छन्। ५. वातावरणीय सचेतना र संरक्षण: वातावरणीय चुनौतीहरू सामना गर्न युवा पुस्ताले अग्रसरता लिएको छ। जलवायु परिवर्तन, प्रदूषण, र जंगलको कटानजस्ता समस्याहरूको समाधानका लागि युवाहरूले वातावरणीय सचेतना अभियानहरू सञ्चालन गरिरहेका छन्। "क्लिन अप नेपाल", "ग्रीन नेपाल", जस्ता अभियानहरूमा उनीहरूको उत्साही सहभागिताले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।युवाहरूको वातावरणप्रतिको जागरूकता र योगदानले दीर्घकालीन दिगो विकासको अवधारणा फैलाउने कार्यमा ठूलो भूमिका खेलिरहेको छ। निष्कर्ष: बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिका बहुआयामिक छ। उनीहरू समाजका हरेक क्षेत्रमा परिवर्तन र सुधारको वाहक बनेका छन्। प्रविधिको प्रयोग, उद्यमशीलता, सामाजिक न्यायका लागि अभियान, र राजनीतिक सुधारमा उनीहरूको योगदान नेपाललाई आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा समृद्ध बनाउन सहायक साबित भएको छ। युवाहरूको सक्रियता र नवप्रवर्तनले नेपालको भविष्य उज्ज्वल र सक्षम देखिन्छ। यदि राज्यले तिनलाई उचित अवसर र स्रोतहरू उपलब्ध गरायो भने, नेपाली समाजले उनीहरूको अद्वितीय ऊर्जा र नवाचारलाई थप सदुपयोग गर्न सक्नेछ, जसले देशलाई दिगो विकास र समृद्धितर्फ उन्मुख गराउनेछ ।   

राहत शिक्षकले भने- 'पेसागत भविष्यमाथि कुठाराघात गर्ने छुट छैन्'

काठमाडौँ । राहत शिक्षकहरूले सामुदायिक विद्यालय शिक्षामा योगदान गरेका राहत, अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीको पेसागत भविष्यमाथि कुठाराघात गर्ने छुट राज्यलाई नभएको चेतावनी दिएको छ। नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी, महासचिव कुमार बजगाईँ र उपमहासचिव डम्बर राईले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन्।  उनीहरूले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको शिक्षा विधेयक पारित गर्ने प्रक्रिया थालनी नभए राजधानी केन्द्रित सडक आन्दोलन गर्ने चेतावनी पनि दिए। ‘तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने अपरिहार्यतालाई ध्यानमा राख्दै नेपाल सरकार, मन्त्रालय साथै अन्य सरोकारवाला निकायहरूको सक्रिय पहलकदमीका लागि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ। अन्यथा नेपाल राहत शिक्षक केन्द्रीय समिति देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रमसहित काठमाडौँ केन्द्रित सशक्त सडक आन्दोलन घोषणा गर्न बाध्य हुने ब्यहोरा जानकारी गराउँछौँ’, ध्यानाकर्षणपत्रमा भनिएको छ। विद्यार्थीको चरम विदेश पलायन, आमअभिभावक तथा जनताको देशको शिक्षा प्रणालीमाथिको नैराश्य, स्थानीय तहहरूको शिक्षा नीति निर्माणमा मनलाग्दीपनलगायत शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्यका लागि पनि ऐन जारी हुनुपर्ने ठहर राहत शिक्षकहरूको छ। ५२ वर्षपछि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको शिक्षा विधेयक २०८० भदौ २७ गते संघीय संसद्मा दर्ता भएको थियो। हाल उक्त विधेयक संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। विधेयकमा प्रारम्भिक छलफल भए पनि पछिल्ला दिनमा गुमनाम पार्न खोजिएको राहत शिक्षकहरूको आरोप छ। विधेयकमा छलफल अघि बढाउन राहत शिक्षकहरूले यसअघि पनि मन्त्री, दलका नेताहरू, संसदीय समितिलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएका छन्। यता, शिक्षामन्त्री श्रेष्ठले विधेयक पारित गराउनका लागि थप दबाब आवश्यक रहेको बताएकी छन्। समितिको ध्यानाकर्षणपत्र बुझ्दै उनले आफू विधेयक तत्काल पारित गर्ने पक्षमा रहे पनि समितिमा छलफल नहुँदा विधेयक अघि बढ्न नसकेको बताएकी हुन्। त्यसका लागि दबाब आवश्यक रहेको उनको भनाइ छ। आफूले विधेयक अघि बढाउन प्रयास गरे पनि शिक्षा समितिका अध्यक्षले गम्भीर चासो नदिएको मन्त्री श्रेष्ठले बताएको भेटमा सहभागी नेपाल राहत शिक्षक केन्द्रीय समितिका उपमहासचिव डम्बर राईले बताए। विश्वविद्यालय कानुनबारे भने समिति सभापतिले दुई(तीनपटक छलफलमा ल्याएको मन्त्रीले श्रेष्ठले बताएकी थिइन्। सांसदहरूले पनि शिक्षा विधेयकका पक्षमा गम्भीर नरहेको शिक्षामन्त्रीले बताएकी थिइन्। ‘त्यसैले विधयेक अघि बढाउन तपाईँहरूले थप दबाब दिनुपर्‍यो। म सकारात्मक छँदैछु। तपाईँहरूको पनि दबाब चाहियो’, मन्त्री श्रेष्ठलाई उधृत गर्दै राईले भने।

ग्रीसको जङ्गलमा लागेको डडेलो एथेन्सतर्फ बढ्दै

एजेन्सी । ग्रीसको जङ्गलमा लागेको डडेलो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । दुई दिन अघिदेखि लागेको आगो फैलिन थालेपछि जोखिमयुक्त क्षेत्रबाट हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ । आगलागीका कारण एथेन्समा वायु प्रदुषण र तापक्रम बढेको छ । हावाको तीव्रतासँगै आगो ३० किलोमिटरसम्म फैलिएर बस्तितर्फ सरिरहेको छ। एथेन्सबाट २० किलोमिटर उत्तर पूर्वमा पर्ने वरनाभासमा धेरै घरमा आगलागी भएको छ । सम्भावित क्षतिलाई मध्यनजर गरेर यस क्षेत्रमा बालबालिका र सेनाका अस्पताल खाली गराइएको छ । आगो निभाउन छ सय ७० वटा दमकल परिचालन गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेपछि फ्रान्स, इटाली, चेक गणतन्त्र र रोमानियाले आगो निभाउन ग्रीसमा विमान पठाएका छन् । ग्रीसमा पहिलोपटक यति ठूलो आगलागीको घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको कर्तव्य हो : प्रधामन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका छन् । चिकित्सा शिक्षा आयोगको बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह हुनुपर्नेमा जोड दिए।  “चिकित्सा शिक्षा प्रणालीले नवीनतम प्रविधि र अनुसन्धानलाई आत्मसात् गरी समय सापेक्ष ज्ञान र सीप प्रदान गर्नुका साथै शिक्षार्थीलाई मानवीय मूल्यहरू, नैतिकता र संवेदनशीलतामा प्रशिक्षित गरी एक आदर्श चिकित्सकको रूपमा स्थापित गर्न सक्नुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “चिकित्सा शिक्षा गुणस्तरीय हुनैपर्छ, शहरी क्षेत्रका अतिरिक्त ग्रामीण क्षेत्रमा समेत दक्ष स्वास्थ्यकर्मीहरूको उपलब्धता सुनिश्चित गरी गुणस्तरीय चिकित्सा सेवा प्रवाहमा उत्कृष्टता प्रदान गर्नुपर्छ ।” प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षाको क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई सरोकारवालासँगको समन्वय र सहकार्यमा समाधानको बाटो पहिल्याउन आयोगले पहल गर्नुपर्नेमा जोड दिए। उनले स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा चिकित्सा शिक्षामा पहुँच कायम गर्नका लागि तीनै तहका सरकार, चकित्सा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरूले सहकार्य आवश्यक रहेको बताए। आयोगबाट सम्पादित कार्यलाई चिकित्सा शिक्षा र सेवा प्रवाह सुधारको सकारात्मक एवम् अभिन्न पाटोको रूपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनका निम्ति आगामी दिनमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे। “चिकित्सा शिक्षाको महत्त्व केवल दक्ष स्वास्थ्यकर्मी उत्पादनमा मात्र सीमित रहनु हुँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “यसले सम्पूर्ण समाजमा स्वस्थ जीवनशैली अबलम्बन र स्वास्थ्य सचेतना फैलाउने महत्त्वपूर्ण भूमिका पनि निर्वाह गर्नुपर्दछ ।” उनले चिकित्सा शिक्षा मानव समुदायको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय भएको बताए। 

विद्युत महशुल वृद्धि फिर्ता लिन माओवादीको केन्द्रको आग्रह

गल्याङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत नियमन आयोगले अन्यायपूर्ण ढंगले आँधिखोला वितरण केन्द्रका ग्राहकहरुका लागि विद्युत महशुल बढाएको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज माओवादी केन्द्रका जिल्ला अध्यक्ष लोकेन्द्र तारामु मगरले प्रेस विज्ञप्ति जारी गर्दै आम जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने गरि गरिएको शूल्क बृद्विको निर्णय तत्काल फिर्ता लिन विद्युत नियमन आयोगलाई आग्रह गरेका छन्।  साथै, उनले शुल्क बृद्धि विरुद्व संयुक्त संघर्ष समिति गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सक्रीय सहभागीता जनाउने जानकारी गराउँदै आन्दोलनबाट हुन सक्ने क्षतिको जिम्मेवारी बुटवल पावर कम्पनी र विद्युत नियमन आयोगले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।  

सूचना-प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताएका छन्। ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताए। “आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्य हामीले हेक्का राख्नै पर्छ।” उनले कृतिम बौद्धिकका बहुआयमिक लाभ र केही चुनौतीहरूको गम्भीर अध्ययन गरी आवश्यक नीतिहरू तर्जुमा गर्न अब ढिलाइ गर्न नहुने बताए। कृत्रिम बौद्धिकता प्रविधिमा असीम सम्भावनाहरू रहेपनि रोजगारी विस्थापन, पूर्वाग्रह र निष्पक्षताका सवाल, गोपनीयताका सवालहरूमा चुनौती पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम औंल्याए।  नेपालको गरिवी र न्यून आर्थिक विकासको चक्रलाई तोड्न कृत्रिम बौद्धिकता प्रविधिले सुशासन ‘४.०’ जस्ता अवधारणालाई अङ्गीकार गर्न अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता विकासका लागि ‘एआई इकोसिस्टम’  विकासमा आवश्यक पहल लिनैपर्ने अवस्था आएको उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता प्रविधिको प्रयोगले सरकारी नीति निर्माण र सुशासन अभिवृद्धिमा टेवा पुर्‍याउने विषयहरू, विद्यालय तथा उच्च शिक्षामा कृतिम बौद्धिकताबाट हासिल गर्न सकिने नतिजाहरू, कम्प्युटेसनल तथा अन्य पूर्वाधारको आवश्यकता, देशमा सञ्चालित अनुसन्धान परियोजना र तालीमहरू, विकासका कार्यहरूलाई त्यस्तो प्रणालीमा जोड्न सकिने विश्वास व्यक्त गरे।

आलु खेती विस्तार गर्न समिति गठन

रुकुम पश्चिम । रुकुम पश्चिमको एक वडाले वडामा आलु खेतीलाई विस्तार गर्न समिति गठन गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १० ले वडामा आलु खेती विस्तार गर्न १३ सदस्यीय समिति निर्माण गरेको हो । वडामा आलु खेती विस्तार गर्न, उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न वडामा आलु खेती विकास किसान समिति गठन गरिएको वडा अध्यक्ष धनबहादुर खड्का‘बसन्त’ले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा रहेका सवै बस्तिहरुलाई समेट्ने उदेश्यले वडामा रहेका चार वटा टोलबाट सदस्य रहने गरी लाइकराम खड्काको अध्यक्षतामा १३ सदस्यीय समिति निर्माण गरिएको छ । जसको सचिवमा मिना कंवर  र कोषाध्यक्ष कर्णबहादुर खड्का रहनु भएको छ । समितिमा रहेका अन्य सदस्यहरु पनि खेती किसानमै आबद्ध किसानहरु रहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । समितिले आलु खेती गर्ने किसानलाई प्रोत्साहन, वडा सरकार तथा अन्य निकायबाट अनुदानमा उपलब्ध भएको कृषिजन्य बस्तु सहि ठाउँमा  प्रयोग भए नभएको रेखदेख तथा वडामा उत्पादन भएको आलुलाई बजारिकरणको लागि सहजिकरण गर्नेछ ।  वडामा आलु उत्पादन भएको वर्षौ भइसक्दा पनि परम्परागत शैलिमै उत्पादन  भएकाले आलु खेतीलाई थप विस्तार तथा आधुनिक तरिकाले आलु उत्पादन गर्ने उदेश्यले समिति निर्माण गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । ‘‘वडामा आलु कम उत्पादन हुने गरेको र जिल्लामै बिक्री हुने गरेकामा  उत्पादन बढाएर जिल्ला बाहिर पठाउने उदेश्यका साथ लागेका छौँ, नयाँ तरिकाले उत्पादन गर्न किसानलाई प्राविधिक तालिम समेत दिने वडाले योजना बनाएको छ ,’’वडा अध्यक्ष खड्काले भन्नुभयो ।

अर्घाखाँचीमा जीप दुर्घटना, एकको मृत्यु, दश जना घाइते

अर्घाखाँची । अर्खाखाँचीमा आज बिहान भएको जीप दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक बिपन कार्कीले जानकारी दिए। शितगंगा नगरपालिका- १२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडकखण्डमा बुधबार बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका थिए।  दुर्घटनामा घाइते भएकामध्ये बढी चोट लागेका तीन जनालाई थप उपचारको लागि बुटवल लगिएको छ। छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६०मिटर तल खसेर दुर्घटना भएको हो।   यी हुन् घाइते १. जिप चालक जि.अर्घाखाँची छत्रदेव गा.पा.५ बस्ने वर्ष  ४० को चुरा बहादुर खत्रीको दाँया कुम र छातीमा चोट, अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर।  २. ऐ.ऐ.बस्ने वर्ष ४० की साबित्रा बि.क.को मुख र कुममा चोट। अवस्था मध्यम, थप उपचारको लागी बुटवल रिफर। ३. ऐ.ऐ.७ बस्ने वर्ष  २४ की अनिता परीयारको निधार र हातमा चोट, अवस्था मध्यम । ४. ऐ.ऐ. बस्ने निज अनिता परीयारको छोरा २० महिनाको प्रयन्स परीयार चोट नभएको। ५. ऐ.ऐ.८ बस्ने वर्ष  ४२ की गीता आचार्यको ढाडमा चोट, अवस्था मध्यम। ६. ऐ.ऐ. बस्ने पर्ष  १७ की दीक्षा पौडेलको टाउकोमा चोट,अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर। ७. ऐ.ऐ.६ बस्ने वर्ष ४४ की कमला अधिकारीको हातमा चोट,अवस्था मध्यम। ८. ऐ.ऐ.५ बस्ने वर्ष  ७ की अनुष्का पंथीको टाउकोमा चोट, अवस्था मध्यम। ९. हालसम्म ठेगाना नखुलेको वर्ष  २६ की बिष्णु थापाको कान र खुट्टामा चोट,अवस्था मध्यम।