जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै होः प्रचण्ड
कैलाली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताउनुभएको छ ।
कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ । भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्, त्यस्तो सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं ।’
जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा स्पष्ट गरेको पनि उहाँले जानकारी दिनुभयो । ‘हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसमा महत्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियोे’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ । अब हामीले निष्कृय रहेका मोर्चाहरुलाई समेत ब्यूँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएका छौं, अब क्रमशः भेला सम्मेलनमार्फत सबै मोर्चाहरु सक्रिय बनाउने छौं ।’
हिजो जातीय क्षेत्रीय मोर्चामार्फत संघर्षलाई संगठित नगरेको भए जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मार्ने स्थिति बन्ने संभावना नरहेको स्पष्ट गर्दै उहाँले थारु समुदायलगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरुले संघर्षमा ऐतिहासिक र बलिदानीपूर्ण महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । जनयुद्धमा सबैभन्दा धेरै बेपत्ता पारिने बर्दिया जिल्लाका नागरिक रहेको संयुक्त राष्ट्रसंघको तथ्यांकमा समेत उल्लेख गर्दै उहाँले नेपालको राजनीतिक परिवर्तनमा थारु समुदायले ऐतिहासिक बलिदानी गरेको बताउनुभयो ।
थारु मुक्तिको कार्यभार अझै बाँकी रहे पनि थारु आयोगको व्यवस्था, थारुलाई मधेशी क्लष्टरबाट छुट्याउने, थारु समुदायका लागि समावेशी समानुपातिक अधिकार स्थापित भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले थारु समुदायका लागि लड्ने शक्ति माओवादी नै नभएकाले अरुको भ्रममा नपर्न आग्रह गर्नुभयो । ‘थारु समुदायमा जागरण ल्याउनेदेखि अधिकार सुनिश्चित गर्नेसम्म माओवादीले नै नेतृत्व गरेको हो’– उहाँले भन्नुभयो– ‘अब माओवादीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गरेर थारु समुदायका बाँकी अधिकार पनि संस्थागत गर्दै लैदाने प्रतिबद्धता व्यक्त गर्दछु ।’
थारु समुदायको नेतृत्व गर्ने राष्ट्रिय शक्ति माओवादी अब फेरि आफ्नो वर्ग र समुदायमा फर्किने प्रतिबद्धतासहित रुपान्तरणको दिशामा अघि बढेकाले थारु समुदायकै मुक्तिका लागि भनेर फरक शक्ति आवश्यक नपर्ने उल्लेख गर्दै उहाँले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि माओवादीमा समाहित हुन आह्वान गर्नुभयो । टीकापुर काण्डमा जालझेल गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफूले यो संघर्षको सम्मान गरेको र यही बहानामा एउटा थारुको छोरालाई जेलमा राखिरहन अन्याय हुने निष्कर्षका साथ आफू प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई रिहा गर्ने निर्णयमा पुगिएको ताउनुभयो । उहाँले विगतमा माओवादीमा रहेर हाल अन्य दलमा पुगेका थारु अगुवाहरुलाई पनि मूल घरमै फर्केर थारु अधिकार थप स्थापित गर्ने आन्दोलनमा सहभागी हुन आह्वान गर्नुभयो ।
पहिलेको तुलनामा जिल्लाजिल्लामा कमैया कम्लरी प्रथा कम भए पनि पहुँचवालाहरुले अहिले पनि कम्लरी राख्ने गरेको उल्लेख गर्दै उहाँले सामन्तवादको अवशेषको रुपमा रहेको यो प्रथालाई पूरै उन्मुलन गर्न थारु समुदायबाटै सशक्त संघर्ष आवश्यक रहेको बताउनुभयो । दाङका स्वर्गद्वारी गुठीपीडित किसानलाई न्याय दिन आफ्नो नेतृत्वको सरकारले विधेयक मस्यौदा प्रक्रिया अघि बढाएकै बेला सरकार परिवर्तन भएकाले यो प्रक्रिया रोकिएको र हाल यसलाई अघि बढाउनुको साटो सरकारले किसानमाथि दमन प्रक्रिया सुरु गरेको आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले आफूले केही दिनअघि संसदको विशेष संबोधनबाट पनि आग्रह गरेको र यसमा हुने सडक संघर्षमा पार्टीको सहयो रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
माओवादीले आफ्नो वर्ग र समुदायभन्दा पनि कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्नेतिर ध्यान लगाउँदा माओवादी मात्र होइन, वर्ग समुदायका एजेण्डासमेत कमजोर भएको उल्लेख गर्दै उहाँले अब फेरि त्यस्तो गल्ती नदोहोर्याउने बरु आफ्नै वर्ग समुदायको बलमा २०४८ को निर्वाचनमा बहुमत ल्याएर सबै समुदायका अधिकार सुनिश्चित गर्ने दिशातिर अघि बढेको बताउनुभयो ।
रिटर्नी सेन्टरको प्रथम राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय सम्मेलन चितवनमा शुक्रबार सुरु हुँदैछ । विदेशबाट फर्किएका नेपालीहरुको संगठन रिटर्नी सेन्टरको प्रथम सम्मेलन बिहीबार र शुक्रबार दुई दिनसम्म चल्नेछ सेन्टरका अध्यक्ष देबेन्द्र सम्बाहाम्फेले चितवनको भरतपुरमा हुने सम्मेलनको तयारी पुरा भएको बताए । सम्मेलनका लागि सेन्टरले स्थानीय तह , जिल्ला र प्रदेश सम्मेलन गरिसकेको छ । ‘एक रिटर्नी, एक उद्यम प्रविधिको माध्यम’ भन्ने मूल नारा सहित हुन लागेको प्रथम सम्मेलनमा देशभरबाट १ हजार ४९५ जना प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा कृषि तथा डिजिटल प्रविधिबारे वर्कसप समेत हुने बताइएको छ। स्थापना भएको केही महिनामै ६० भन्दा बढी जिल्लामा संगठन निर्माण गरेको सेन्टरले विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि एवम् पुँजीलाई उपयोग गरेर नेपालमा उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने लक्ष राखेको छ। सेन्टरले गत १० पुसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटेर बन्द कलकारखाना हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना संचालन गर्नुपर्ने, ७७ जिल्लामा किसानको बजार स्थापना गर्नुपर्ने, कोरियाली प्रविधि प्रयोग गरी ग्रीन इनर्जी इँट्टा उद्योग सन्चालन गर्नुपर्ने लगायत ५ बुँदे माग अगाडि सारेको छ। बन्द कलकारखाना सन्चालन गर्न वैदेशिक रोजगारबाट फर्केका र वैदेशिक रोजगारीमा रहेका युवाहरुको परिवारको भूमिका हुनुपर्ने सेन्टरले बताएको छ । सेन्टरकै माग अनुसार प्रधानमन्त्रीले बन्द कलकारखाना सन्चालन गर्ने घोषणा गरिसकेका छन् । एभरेष्ट दैनिकले रिटर्नी सेन्टरको उद्देश्य र राष्ट्रिय सम्मेलनको विषयमा गरेको कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस ।
प्रतिक्रान्तिकारीहरुलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ : प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकाहरुलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताउनुभएको छ । पार्टीको सहायक संगठन वाइसिएल नेपालको बैठक उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वभाविक नहुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता प्रयासका विरुद्ध अझ बढी संगठित र सशक्त भएर उनीहरुलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरुको दायित्व हुने बताउनुभयो । अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरुले आफूलाई स्पेस पाएको महसुस गर्न थालेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले यसलाई क्रान्तिकारीहरुले क्रान्ति पूरा गर्ने अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । आफ्नो पार्टीले २०६२ सालमै गणतन्त्र स्थापनापछि पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारी बीच बेलाबेला टक्कर चलिरहने र समाजवादी गणतन्त्रका लागि थप संघर्ष गर्नुपर्छ भन्ने विश्लेषण गरिएको स्मरण गराउँदै उहाँले अहिले त्यही संघर्षको विन्दु सुरु भएको उहाँले स्पष्ट गर्नुभयो । गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उहाँले बताउनुभयो । उहाँले युवालाई प्रतिगमनको मतियार बनाउने खतरा बढेकाले आम युवाहरुलाई अग्रगमनका लागि थप सचेत र संगठति गर्नुपर्ने बेला आएको पनि बताउनुभयो । वर्ग संघर्षको विशिष्ट मोडमा नेपाल रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै खाले प्रतिक्रान्तिकारी हर्कतलाई परास्त गरी संविधानलाई अझै परिमार्जन गरेर जनताका अधिकारलाई पूर्णता दिंदै सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवादी क्रान्तिको तयारी गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो । प्रतिक्रियावादी शक्तिहरुसँग आवश्यकताभन्दा बढी सहकार्य र सम्झौता गर्दा जनतामा भ्रम पर्न गएको र परिवर्तनका एजेण्डा भनेजस्तो गरी कार्यान्वयन हुन नसकेको ठहरसहित पार्टीले गत केन्द्रीय समिति बैठकबाट गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्ग र समुदायतर्फ फर्कने प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो । यसका लागि पार्टीले जनतासँग माओवादी अभियान सुरु गरिसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अग्रमोर्चामा युवाहरुलाई नै राखिएको र वाइसिएलले पनि देशव्यापी लाखौं युवाहरुलाई तम्तयार अवस्थामा राख्नुपर्ने बताउनुभयो । पछिल्लो पटक सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय समृद्धिको पक्षमा गरेका पहलका कारण जनतामा सकारात्मक वातावरण बन्दै गएको र पार्टीले जनस्तरबाटै समाजवाद निर्माणको पहल थालेको उल्लेख गर्दै उहाँले यसले युवाहरुलाई पनि आकर्षित गर्दै लगेको र झापाबाट रौतहटसम्म अभियान पुग्दा हजारौं नयाँ युवाहरु पार्टीमा गोलबन्द भएको बताउनुभयो । उहाँले वाइसिएललाईसंघर्ष र उत्पादनको मोर्चा अगाडि बढाउन निर्देशन पनि दिनुभयो ।
सहिद साझा सम्पत्ति हुन्, सम्मान गर्नु राज्यको दायित्वः प्रचण्ड
गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन संभव भएको र उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ। गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना सहिद भएका नहर्की परिवारसँग भेट गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरु भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरु देशका साझा सहिद हुन्, उनीहरुको सम्मान गर्नु राज्यको दायित्व हो ।’ पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उहाँले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रुपमा स्थापित गरेको बताउनुभयो । यसमा छुटेका नामहरु निरन्तर सहिदको सूचिमा समावेश गरिने जानकारी पनि उहाँले दिनुभयो । सहिदको रगतका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा पार्टी निरन्तर जुटेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न अभियानात्मक रुपमा अघि बढ्ने जानकारी दिनुभयो । शान्ति प्रक्रियामा आएपछि केही समय आफ्नो वर्ग र समुदायका जनतासँगको नियमित सम्पर्कमा कमी आएको र त्यही क्रममा सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट पनि पातलिन पुगेको स्पष्ट गर्दै उहाँले पछिल्लो केन्द्रीय समितिको बैठकले पार्टीलाई पुनः आफ्नै वर्ग र समुदायमा फर्काउने निर्णय गरेको र त्यसकै कार्यान्वयनमा आफूहरु पार्टी रुपान्तरण तथा पुनर्निर्माणको अभियान लिएर देशब्यापीरुपमा अघि बढेको जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी ध्यान नदिन नसकेको उल्लेख गर्दै सरकारबाट बाहिरिएपछि त्यसलाई बढाइएको र अब निरन्तर आफ्ना मतदातासँगको घेटघाटमा आइरहने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा गोरखामा पूर्वाधार निर्माण र जनताको जीवनस्तर रुपान्तरणमा सहयोग पुग्ने आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिंदै उहाँले यसको कार्यान्वयनमा ध्यान दिन स्थानीय पार्टी र जनसमुदायलाई आग्रह गर्नुभयो । सो क्रममा अध्यक्ष प्रचण्डले गोरखा नगरपालिका वडा नम्बर १४ गोप्लिङ निवासी सहिदहरुका बुवा नरबहादुर नहर्की र आमा लक्ष्मी नहर्कीसहित परिवारसँग भेट गर्नुभएको थियो । उहाँका छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ २०५५ पुस १३ गते गोरखाको केराबारीमा, छोरीहरु सरस्वती नहर्की ‘विपना’ २०५६ वैशाख ८ गते गोरखाको बाक्राङ र कल्पना नहर्की ‘नमूना’ले २०५८ असार २३ गते लमजुङ बिचौरमा सहादत प्राप्त गर्नुभएको थियो । त्यसलगत्तै अध्यक्ष प्रचण्ड गोरखाको पालुङ्टार ८ स्थित घरमा पुगेका सहिद विरेन ओलियाका विरामी बुवा देवराज ओलियालाई पनि भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सो क्रममा उहाँले सहिद परिवार र स्थानीयसँग साक्षात्कार गर्नुभएको थियो ।
शनिवारीय पाहुरः गाउँ र शहर जोड्ने घोरदौरा (फोटो फिचर)
दाङ जिल्लाको घोराही पश्चिम नेपालको महत्वपूर्ण शहरको रुपमा स्थापित हुँदैछ । घोराहीभन्दा आसपासको भूभाग र खासगरी उत्तरी क्षेत्रको भूभाग पूरै ग्रामीण क्षेत्र छ । त्यहीमध्येको एक हो– घोरदौरा, जसले गाउँ र शहरलाई जोड्ने सेतुको काम गर्दैछ । हरेक दिन विहान सयौंको संख्यामा घोराहीबासी मर्निङ वाकमा यो क्षेत्र पुगेर फर्कन्छन् भने यहाँ केही पर्यटकीय संरचना पनि बन्न थालेका छन् । यसलाई विकास गर्दै लैजाँदा दाङको नगरकोट बन्ने देखिन्छ ।
कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु
काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीहरुको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौं सानो भर्याङ्गका सुजन कार्की, पन्चदेवल विनायक ५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन्। नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरे। मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनको भनाई छ। हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछाने मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए। मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरुको शव पोष्ट मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ। शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर स्थानीय प्रहरीले अनुसन्धान थालेको समाचारमा जनाइएको छ।
उपाधि भिडन्त : भारतसँग नेपाल स्तब्ध
काठमाडौं । यसपटक पनि काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतसँग नेपाल स्तब्ध बनेको छ । बुधबार अपराह्न त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको उपाधि भिडन्तमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको हो। पहिलो सेटमा नेपालले २५–२३ को जित निकालेको थियो । दोस्रो सेटमा भारतसँग २५–१४ ले स्तब्ध बन्यो। तेस्रो सेटमा फेरि २५–२२ को जित निकालेको नेपाल चौँथो सेटमा २५–२१ ले पराजित भएको भयो। अन्तिमको निर्णायक सेटको खेलमा नेपाल १५–५ ले पराजित भयो।नेपालमाथि जित निकालेपछि भारतले फेरि एकपटक उपाधि आफ्नो पक्षमा पारेको छ। लिगको तेस्रो स्थानमा इरान रह्यो। तेस्रो स्थानका लागि बुधबार नै भएको खेलमा इरानले श्रीलंकालाई सोझो सेटमा पराजित गरेको हो।प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी थिए ।
पदक विजेता पलेसाको सम्मानमा आज नगर परिक्रमा
काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्धननको सम्मानमा आज नगर परिक्रमा गराइने भएको छ । फ्रान्सको राजधानी पेरिसमा भएको पारालिम्पिकको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जित्नुभएको थियो । नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो । ऐतिहासिक पदक विजेता पलोसा आज बिहान काठमाडौं आएपछि उहाँसहित नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगर परिक्रमासहित स्वागत गर्न लागेको हो । राखेपका अनुसार बुधबार बिहान साढे बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्याली सुरु हुनेछ । र्याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ । पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि आज स्वदेश फर्कदै हुनहुुन्छ । १० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी पलेसा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध हुनुभएको थियो । सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेसाको डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यो प्रतियोगितामा उहाँले पाँचौं स्थान हासिल गर्नुभएको थियो । २१ वर्षीया पलेसाले पेरिस पारालिम्पिकसहित ६ अन्तर्राष्ट्रिय पदक जित्नुभएको छ, जसमातीन स्वर्ण र तीन कांस्य छ । पलेसासँग लन्डन र टर्कीमा भएको दुई विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौं एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारालिम्पिकको छनोट, टोकियो पारालिम्पिक, साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ ।
दुई युवाले छोरी भगाएपछि धनुषामा तनाव : नौं राउण्ड अश्रुग्याँस प्रहार
धनुषा । दुई जोडी युवा–युवती भागेर गएको विषयले चर्को विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त बनेको छ। तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म नौं राउण्ड अश्रुग्याँस प्रहार गरिसकेको छ । करिब दुई साताअघि दुई युवकले दुई जना युवती भगाएर लगेका थिए। ती दुई जोडी अहिलेसम्म पनि नआएपछि छोरी पक्षकाले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाकाले जानकारी दिए । प्रदर्शन नियन्त्रण गर्न गएको प्रहरीको गाडीमा प्रदर्शनकारीले ढुङ्गा हानेर सिसा फुटाई दिएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरीको भनाई छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । प्रहरीले आफ्नो छोरीहरू खोज्न कुनै पहल नगरको र केटा पक्षले पनि छोरीहरू खोजी नगरेको भन्दै प्रदर्शन भएको हो । पौडेसरका १६ वर्षका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का शाजिद नदाफ र मोफिद नदाफले गत वैशाख ४ भगाएर लगेका हुन् । यसपछि प्रहरीले शाजिद नदाफको बुवा आमा, मोफिद नदाफका काका र युवतीहरु भगाउन सहयोग गर्ने दुई जनासहित ५ जना पक्राउ गरेको छ । केटी पक्षकाले केटा पक्षकालाई अपहरण र शरीर बन्धकमा मुद्दा चलाउन प्रहरीलाई दबाब दिइरहेका छन् । तर प्रहरीले घर विवादको मुद्दा चलाएको केटी पक्षको आरोप छ । मोफिद नदाफका बुवा विदेशमा रहेको र आमा फरार रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । ती दुई जोडी अहिले पनि सम्पर्कमा छैनन्।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको छ । त्यसपछि सरकार पक्षबाट कांगेस नेता गगनकुमार थापा र एमालेको पक्षबाट गोकर्ण विष्टले विषय राख्नुभएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्नुहुने छ । यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मान्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिश
मोरङ । हिक्मत कुमार कार्की नेतृत्वमा गठन भएको कोशी प्रदेश सरकारले बैशाख ३१ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहिवार पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद बैठकले बैशाख ३१ गते बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको हो । यसैगरी कोशी प्रदेश सरकारको प्रवक्तामा मन्त्री राम बहादुर मगरलाई तोक्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यको संयोजकत्वमा ७ सदस्यीय संघियता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकिकृत अध्ययन कार्यदल निर्माण गर्ने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री राम बहादुर मगरले जानकारी दिए।
काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा
काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ। यसअघि शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि नेपालले ऐतिहासिक जित निकालेको थियो ।
‘चपली हाइट’का हिरो वडा अध्यक्ष राज घिमिरे भन्छन् - 'देशकै नमुना वडा बनाउछु'
सानुराजा (राज) घिमिरे, गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष हुन्। उनले झन्डै ४ दर्जन म्युजिक भिडियोमा अभिनय गरेका थिए। चलचित्र ‘चपली हाइट’ले प्रदर्शनपछि निकै चर्चा पायो। यसले चलचित्र क्षेत्रमा ‘नयाँ स्वाद’को सुुरुआत गर्यो भन्नेहरू पनि देखिए। चलचित्रसँगै ‘हिट हिरो’का रूपमा दरिए राज घिमिरे। यसपछि उनले चलचित्र ‘भिजिलान्ते’मा अभिनय गरे। २०५७ मा उनले ‘सारा खुशी’ बोलको गीतबाट अभिनय करिअर थालेका थिए। उनले २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी गोदावरी-३ को वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनै वडा अध्यक्ष घिमिरेसँग वडाको विकास निर्माण र जनप्रतिनिधीका रूपमा काम गर्न कति सजिलो हुँदो रहेको र आगामी योजनाका विषयमा गरेको कुराकानीः कलाकार मान्छे राजनीतिमा कसरी मोह बस्यो ? म चलचित्र क्षेत्रभन्दा अगाडिदेखि नै राजनीतिमा थिएँ। मेरो पारिवारिक पृष्ठभूमि कम्युुनिस्ट हो। त्यसको प्रभाव सानैदेखि ममा परेको थियो । चलचित्रबाट सामाजिक काम गर्न नसकेजस्तो लाग्यो, अनि म राजनीतिमा सक्रिय भएको हुुँ। वडा अध्यक्ष भएपछि तपाईंले वडामा गर्नुभएका मुख्य मुख्य कार्यहरु के के हुन् ? वडा अध्यक्ष भइकन आफूले गरेको मुख्य काममा बाटो, सडक बत्तिलाई सम्झन चाहान्छु । देशकै पर्यटकीय नगर गोदावरी मुख्य सडक, बजारसंग जोडिए पनि भित्री अधिकांश बाटोहरू हिलाम्मे, कच्ची, बर्षायाममा हिड्डुल गर्न पनि साह्रै गाह्रो हुने अवस्था छ। गाउँको गोरेटो जस्तो बाटो छ। यसलाई चरणबद्द हिसाबमा, हामीसँग भएका बजेट अनुकुल मिलाएर काम गर्दै आइरहेका छौं। स्वास्थ्य र शिक्षालाई हामी संगसंगै लगिरहेका छौँ । अर्को कुरा भनेको हिजो चुनावका बेलामा मैले जनताका घरदैलोमा जाँदा जुन खालका प्रतिबद्घताहरु व्यक्त गरेको थिए। वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ? सहज अनि रमाइलो नै भएको छ। काम गर्न गाह्रो छ भन्न मिलेन, हामी जनताका प्रतिनिधि भएकाले सबैको चित्त बुझ्ने गरी काम गछौं भनेर नै निर्वाचित भएका हौं। तर अनुभव नभएकाले र नयाँ संरचना भएकाले काम गर्न केही कठिनाईहरु छन्। जसलाई हामीले बिस्तारै समाधान गर्दै कामलाई सहज बनाउने प्रयास गरिरहेका छौं। म नेतृत्वमा आएपछि विकास निर्माणको काम अगाडि बढेको छ। त्यस्तै वडा कार्यालयमा सचिव र कार्यालय सहयोगी साथै वडा सदस्यको राम्रो सहयोग मिल्दा सोचे अनुरुप अध्यक्षको पद निर्वाह गर्न गह्रो छ भन्न मिलेन। केही काम सिक्दै र केही अनुभवहरूलाई प्रयोग गर्दै जनताको हितमा काम गर्ने प्रयास गरिरहेका छौं। सुरुवाती दिनभन्दा पछिल्ला दिन सहज बन्दै गैरहेका छन्। वडा अध्यक्ष भएपछि तपाईंले वडामा गर्नुभएका मुख्य मुख्य कार्यहरु के के हुन् ? म वडा अध्यक्षमा निर्वाचित भैसकेपछि भौतिक विकास, शिक्षामा बिकास, स्वास्थमा बिकास, रोजगारीको प्रयास अनि पर्यटनमा बिकासमा अगाडि बढ्यौं। पहिलो कुरा त हामी पूर्वाधारको अभावमा छटपटाई रहेका थियौं। म आए पछिको पहिलो काम भनेको नै पूर्वाधार निर्माणको काम रहयो । आम जनताको माग पनि त्यही अनुसारको थियो। पूर्वाधार निर्माणमा पनि सडक पहिलो प्राथमिकतामा राखेर काम गरेका छौं। अध्यक्षको पदमा निर्वाचित भएपछि सुरुको मेरो प्रयास भनेको सडक सुधारमा ध्यान केन्द्रित गर्ने भयो। स्थानीय सरकारको निर्वाचन हुनु पूर्व हाम्रो वडा अथवा साविकको गाविसमा आउने बजेट सदुपयोग हुन नसकेका कारणले सोचेका जस्तो सडक बन्न सकेका थिएनन्। हामीले सबैको पहुँचमा हुने गरी सडक बिस्तारको कामलाई तिब्रता दिएका छौं। कयौं कामहरु भएका छन् भने कतिपय सडकका काम सम्पन्न हुने चरणमा रहेका छन्। वडामा शिक्षा, पर्यटन, स्वास्थ्यको अवस्था कस्तो छ । यी क्षेत्रको विकासका लागि चाँही तपाईंंले कसरी भूमिका निर्वाह गर्दै हुनुहुन्छ ? हाम्रो वडामा १० वटा विद्यालयहरु छन्। ती विद्यालयहरूमा समय अनुसारको शिक्षा र शिक्षामा गुणस्तर गराउन वडा शिक्षा समिती गठन गरि कार्य हुदै छ। बिपन्न, जेहेन्दार विद्यार्थीलाई शिक्षामा पहुँच गराउने प्रयास गर्दैछौं। स्वास्थमा पहिले भन्दा निक्कै सुधार गरि सेवा प्रवाहमा सुधार अनि डाक्टर नै राखि स्वास्थ चौकीबाट टोल टोल मै गै घुम्ती सेवा, अनि वृद्धबृद्दालाई औषधी वितरण, सुत्केरी महिलालाई पोषण खानेकुरा, पटक पटक बिभिन्न स्वास्थ क्याम्प राखेक औषधी उपचार गरेका छौ। पर्यटकिय प्रवद्र्धनमा भएकालाई प्रोत्साहन र नयाँ पर्यटन ब्यबसायीहरूलाई आकर्षक गर्ने गराउने कार्य गरेका छौं। त्यस्तै पर्यटन विकासलाई नयाँ नयाँ गन्तव्यहरू निर्माण गरि प्रचार गर्दै र तीन हजार पर्यटन शनिबार वडा आउनेबाट अहिले शनिबार औषत दस हजार पर्यटन आउने बनाउन सफल भएका छौ। यो कार्यलाई निरन्तरता दिएका छौं। नयाँ आकर्षक होटलहरु, केवलकार, मोनोरेललगाएत धार्मिक, खेलकुद पर्यटनको पनि प्रवद्र्धधन गर्दैछौं। वडामा काम गर्न समस्या चाँही के के छन् ? जनतालाई चेतनाको स्तर बढाउन, विकासमा साझेदारी गराउन अनि यो वडा हाम्रो हो भनी भावना जगाउन अलिक गाह्रो भएको छ। तपाईको कार्यकालमा तपाईको वडालाई कस्तो बनाउने योजना रहेको छ ? काम गर्नुपर्ने त धेरै छन् र गर्छौं भनेका छौं। मेरो कार्यकालमा वडामा खानेपानी, शिक्षा, स्वास्थ्य, सडक लगायतको क्षेत्रमा स्तरोन्नती गरी वडालाई समृद्धिको बाटोमा पुर्याउने योजना रहेको छ। कृषि तथा पर्यटन क्षेत्रमा विकास गरी वडाका जनतालाई आत्मनिर्भर बनाउने र रोजगारीको सृजना गर्न योजना मैले बनाएको छु, जुन पुरा गर्छु भन्ने लागेको छु । त्यो योजना कार्यान्वयनका लागि केही कार्यक्रमहरु पनि बनेका छन् । साथै महिला, बालबालिका, दलित, असाहय र अपाङग व्यक्तिहरुलाई समान रुपको हक प्रदान गर्न हाम्रो कार्यकाल खर्च हुने छ। सार्वजनिक ठाउँका जग्गा मिचिएको अवस्था पनि छ। यसलाई पर्खाल लगाएर व्यवस्थित गर्ने सोचमा छौं। समग्रमा वडामा मानिसलाई बसोबासका लागि उपयुक्त बनाउँने, बस्ती संरक्षण गराउँने योजना छ। हिजोका दिनमा जनताका बिचमा गरिएका प्रतिबद्दता आवश्यकता अनुसार योजनाबद्द रुपमा कार्यान्वयन गर्दै अघि बढ्ने सोच छ। सबैको साथ सहयोग एवम् हौसला पनि भएमा जनताको अपेक्षा, मेरो सोच अनुसारका कार्य पूरा गर्न अवश्य पनि सकिन्छ भन्नेमा म विश्वस्त छु। आशा वडाको विकास, वडाका नागरिकको समृद्घिका लागि सरोकारवाला, वडाका नागरिक लगायत सबैबाट साथ सहयोग पाउँनेछु। अन्त्यमा यस अनलाईनमार्फत केही भन्नु छ की ? मैले आफ्नो कामको आफै मुल्याङ्कन गर्ने कुरा आएन। यो त वडा भित्रका आम जनताले मुल्याङ्कन गर्ने कुरा हो। तैपनि म आँफैले भन्नु पर्दा यो एक बर्षको समयमा धेरै कामहरु भएका छन्। थुप्रै सम्भावना बोकेको छ गोदावरीले। यस वडाको समग्र विकासको लागि हामी लागिरहेका छौं। निकट भबिश्यमा नै यसको परिणाम देखिने गरी आउने छ। देशकै नमुना वडा बन्ने छ । थुर्पै योजना बनाएका छौं। धार्मिक, पर्यटन र खेलकुदको विकाससंगै हाम्रो समृद्वि जोडिएको छ। म भाषण र कुरामा भन्दा पनि काममा बिश्वास गर्छु। सबै वडाबासीको सुझाब र सल्लाहअनुसार काम गर्ने प्रतिबद्वता गर्दछु।
पदक जिताएकी पलेशाले सरकारबाट ६५ लाख पुरस्कार पाउँने
काठमाडौं । सरकारले प्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने हुनुभएको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेलरगृष्मकालीनरशीतकालीनरपारारविशेष तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने हुन्छ । नियमावली अनुसार पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । राखेप नियमावली २०७९ अनुसार व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीले १ करोड ३० लाख र रजत जित्ने खेलाडीले ९७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारालिम्पिक्समा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनी सर्बियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक जिताएकी हुन् । ओलम्पिकमा ६ दशकदेखि सहभागिता जनाउँदै आए पनि नेपाली खेलाडीले एकपनि खेल जित्न सकेका थिएनन् । पलेशाले पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउनुभएको थियो। तर क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित हुन पुग्नुभयो ।त्यसपछिको खेलमा रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २-१ ले पराजित गर्दै पलेशा कास्य पदक नजिक पुगेकी थिइन् । यसैबीच पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक हात पारेकोमा बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उहाँले ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि बधाई दिनुभएको हो । ‘नेपालकी पलाशा गोवर्धनले पाराओलम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन्’– उहाँले भन्नुभएको छ– ‘पलासालाई यस उल्लेखनीय उपलब्धिको लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ।
माओवादीका महरालाई लुम्बिनीको मुख्यमन्त्री बनाउने सहमति
तुलसीपुर । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्षका दलहरू सहमत भएका छन् । एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँच बुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन् । लुम्बिनीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने केन्द्रको सहमतिअनुसार प्रदेश सरकार निर्माणका लागि कसरत भइरहेको छ । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुख बाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा संसदीय दलका दलनेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँच बुँदे समझदारी बनेको हो । सहमतिअनुसार राजनीतिक नियुक्तिहरू सरकारमा सहभागी सबै दलहरूको अपनत्व हुने गरी गर्नुपर्ने, प्रदेशका गौरवका योजना, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्वविद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन निर्माण गर्दा साझा प्राथमिकताका रुपमा कार्यान्वयन गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायतमा सबै दलको अपनत्व हुने गरी गर्ने सहमति भएको हो ।
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । सुनको मूल्य एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा सुनको कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य एक हजार ८ सय दश रुपैयाँ रहेको थियो ।

