वैशाख २४ गते बागमतीमा सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा हुने भएको छ । 

प्रदेश सरकारको बुधवार बसेको बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको हो ।

गत कात्तिक २३ गते जारी गरिएको यो ऐनमा भएको व्यवस्था अनुसार वैशाख २४ गते कार्यान्वयन हुने भनिएको छ । सो ऐनको राजपत्रमा प्रकाशित भएको १८० दिनमा कार्यान्वयन हुने प्रस्तावनामा उल्लेख भए बमोजिम प्रदेश सरकार अघि बढेको हो ।

प्रदेशका नागरिकहरूमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन हुने दिनमा बिदा दिइएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले बताए ।

संविधानबमोजिम नेपाली भाषासँगै प्रदेशभित्र बहुसङ्ख्यकले बोलिने तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा निर्धारण गरी प्रदेश सरकारका निकाय र स्थानीय तहहरूमा लागु गर्ने उनले जानकारी दिए । पहिलो चरणमा अब सरकारी निकाय र स्थानीय तहको बोर्ड र लेटर हेडमा नेपाली भाषा सहित तामाङ र नेपाल भाषा उल्लेख गरिने मन्त्री श्रेष्ठको भनाई छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन बुधवार राति १२ बजेबाट अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस पनि गरेको छ । 

कोशीका मुख्यमन्त्री कार्की बर्खास्तः एमाले र माओवादीले नयाँ सरकार बनाउने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका छन् ।  सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेकोमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।  नयाँ सरकार गठनको लागि खापुङले बैशाख २८ गते ५ बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् । एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए । त्यसलाई चिर्न दुई दलले समावेदनमार्फत प्रदेशसभाको विषेश अधिवेशन आह्वान गराएर समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए । मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्ताव बाध्यकारी नभएको भन्दै विश्वासको मत लिने प्रस्ताव नै प्रदेशसभामा राखेनन् ।  प्रदेशसभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशन अनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भएपनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखलाई बोधार्थ दिएर एमाले र माओवादी संसदीय दललाई दिएको थियो । मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयको सो पत्र तथा प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा प्रदेश प्रमुख खापुङ महान्यायधीवक्ता डा। दिनमणि पोखरेलको राय अनुसार सरकार गठनको आह्वान गरेका हुन् ।  नयाँ सरकार गठनको आव्हान गर्न प्रदेश प्रमुखको कार्यालयले बुधबार साढे ३ बजेदेखि झण्डै ६ घण्टा अलमल गर्यो । प्रदेश प्रमुख खापुङले बेलैमा सरकार गठनको आव्हान गरेको खण्डमा बुधबार नै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने तयारीमा एमाले–माओवादी थिए । तर, अब बिहीबार मात्र दावी पेश हुने भएको छ । नयाँ सरकार गठनको आव्हान अनुसार बिहीबार बिहान १० बजेसम्ममा नयाँ मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै एमाले र माओवादी प्रदेश प्रमुखसमक्ष जाने तयारी गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसारकै सरकार गठनको आव्हान भएको हुँदा दिउँसो सबै सांसदको सनाखत गर्ने प्रदेश प्रमुखको कार्यालयको तयारी रहेको छ । जसका लागि एमालेले आफ्ना सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद सचिवालयमा भेला हुन निर्देशन दिएको छ ।  यस्तै, माओवादी केन्द्रले पनि सबै आफ्ना सांसदहरुलाई परिचयपत्रका साथमा १० बजे संसद सचिवालय आउन भनेको छ । प्रदेश प्रमुखले सनाखत गरेर बिहीबार नै नयाँ मुख्यमन्त्रीको रुपमा हिक्मतकुमार कार्कीलाई नियुक्ति गरि शपथ गराउनेछन् ।

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

अखिल क्रान्तिकारी बागमतिको अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौं । अखिल क्रान्तिकारी बागमती प्रदेशको दोश्रो सम्मेलनबाट अध्यक्षमा अर्जुन पौडेल निर्वाचित हुनुभएको छ । उहाँले २३२ मत प्राप्त गर्नुभएको छ भने प्रतिष्पर्धीहरु अशोक देवकोटाले १४५ र सरोज भण्डारीले ६२ मत प्राप्त गर्नुभएको छ । खुला उपाध्यक्षमा अस्मिता ठकुरी (३१४)। सन्तोष चौहान (२२०) र हरिबहादुर खड्का (१७९) विजयी हुनुभएको छ । प्रतिष्पर्धीहरु श्रवणकुमार बर्तौलाले १२३ र रामकृष्ण शिवाकोटीले ११६ मत प्राप्त गर्नुभएको थियो । छात्रा उपाध्यक्षमा ममता पाण्डे र समावेशी उपाध्यक्षमा क्षेत्रकुमार लामा तामाङ निर्विरोध हुनुभएको छ । त्यस्तै प्रमुख सचिवमा विजय लामा २३६ मतसहित विजयी हुनुभएको छ भने प्रतिष्पर्धी सुवास गौतमले १७९ मत प्राप्त गर्नुभएको छ । खुल्ला सचिवमा विजय घिमिरे (२०९), ऋतिकराज गिरी (१९०) र विवेक कार्की (१७९) विजयी हुनुभएको छ प्रतिष्पर्धीहरु विनोदकुमार कार्कीले ११६, मणिराज पाण्डेले ७८, प्रशासन सापकोटाले ७७ र सागर ढकालले ७४ मत प्राप्त गर्नुभएको छ । छात्रा सचिवमा उर्मिला तामाङ लामा निर्विरोध हुनुभएको छ । समावेशी सचिवमा विज्ञान दोर्जे बल (१७७) विजयी हुनुभएको छ भने प्रतिष्पर्धी गजेन्द्र गुरुङले १४३ र ऋषिकेश यादवले ६५ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा अनिताकुमार श्रेष्ठ २२० मतसहित विजयी हुनुभएको छ भने प्रतिष्पर्धी पवन रिजालले १७४ मत प्राप्त गर्नुभएको छ ।  

चल्न थाल्यो फेसबुक, समस्या हल गर्न लागिरहेको प्रवक्ता एन्डीको भनाई

काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको हो । ङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए। विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने, आफै डिलिट हुने  समस्या देखिएको भएपनि राति ९ बजेतिर एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिएको थियो । त्यसपछि विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका थिए । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका थिए । फेसबुकसँगै मेटाको मेसेन्जर र इन्स्टाग्राममा पनि समस्या देखिएको थियो । सो समयमा मेटाकै ह्वाट्सएप भने चलिरहेको थियो  । फेसबुक, मेसेन्जर र इन्स्टाग्राम डाउन किन भएको भन्नेबारे मेटाले केही जानकारी दिएको छैन । यद्यपी मेटाका प्रवक्ता एन्डी स्टोनले (ट्विटर) एक्समार्फत मेटाको सेवाका कारण मानिसहरुलाई भएको समस्याबारे आफुहरु सचेत रहेको र त्यस समस्याको हल गर्न लागेको बताएका छन् ।

५३ अंकले घट्यो सेयर बजार, कारोबार कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो कारोबारमा ५३ अंकले घटेको छ । बजार ५३.६३ अंकले घटेको हो । गएको बिहीबार बजार ३७ अंकले घटेको थियो । आइतबारको कारोबारपछि समग्र बजार मापक परिसूचक २६९५.९३ विन्दुमा कायम छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । यस दिन १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भयो । अघिल्लो कारोबारका दिन १२ अर्ब २४ करोडको सेयर खरिद–बिक्री भएको थियो । घट्दो बजारमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ । २०९ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनी सेयर मूल्य स्थिर छ । सुपरमाई हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो । हिमालयन पावर, कुथेलीबुखरी स्मल हाइड्रो, सानिमा लार्ज क्याप, सनराइज ब्लु चिपलगायत कम्पनी उच्च कमाउनेको शीर्ष स्थानमा रहे । समूहगत परिसूचकतर्फ म्युचअल फन्ड ०.८० प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।

क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्षमा मनसिंह शाही

काठमाडौं। नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको कर्णाली प्रदेश समितिको दोस्रो सम्मेलनले सर्वसम्मत नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ । भाद्र ३० गते सुर्खेतमा उद्घाटन भई ३१ गते सम्पन्न बन्दसत्रले सर्वसम्मत रुपमा १३ पदाधिकारी सहित ७५ सदस्यीय प्रदेश समिति निर्माण गरेको हो । जसको अध्यक्षमा मनसिंह शाही चयन  हुनुभएको छ । उपाध्यक्षहरुमा हिक्मत बहादुर शाही, हिक्मत शाही,धुर्व आचार्य शर्मा,अजय बिस्ट, टिकाराम बि.क, प्रकाश बि.क र मनिसा चन्द चयन  हुनुभएको छ ।  त्यसैगरी कर्णाली प्रदेश क्रान्तिकारीको प्रमुख सचिवमा नारायण के.सी. चयन हुनुभएको छ । सचिवहरुमा बिष्णु भण्डारी, पदम शाही र शुक्राज रावल चयन  हुनुभएको छ । साथै, सम्मेलनले कोषाध्यक्षमा भुवन गौतमलाई निर्वाचित गरेको छ भने जयकृष्ण जैसी र गणेश अधिकारी कार्यलय सदस्यको जिम्मेवारी दिएको छ ।  

इटालीद्धारा टिकटकलाई ११ मिलियन डलर जरिवाना

रोम ।  इटालीले नाबालिगको सुरक्षा गर्न असफल भएको भन्दै टिकटकलाई ११ मिलियन अमेरिकन डलर जरिवाना गरेको छ ।इटाली कम्पिटसन प्राधिकरणले टिकटकलाई नाबालिग र अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई खतरामा पार्ने सामग्रीको फैलावट नियन्त्रण गर्न असफल भएकोमा भन्दै ११ मिलियन जरिवाना गर्ने घोषणा गरेको हो । एन्टिट्रस्ट एजेन्सीका अनुसार चीनको वाइट डान्सको स्वामित्वमा रहेको टिकटकले आफ्नो प्लेटफर्ममा किशोर किशोरीहरूको विशेष कमजोरीहरूलाई ध्यानमा राख्न असफल भएको छ ।वाचडगले गत मार्चमा टिकटकको सामग्री मध्यस्थता अभ्यासहरूमा अनुसन्धानको घोषणा गरेको थियो, त्यसमा टिकटक चुकेको जनाइएको छ । बिहीबार एक विज्ञप्तिमार्फत भिडियो–साझेदारी प्लेटफर्म टिकटकले हानिकारक सामग्रीको फैलावटबाट बच्न र बचाउनका लागि अझै पर्याप्त उपायहरू नलिएको जनाएको छ ।एजिसिएमद्वारा उल्लेख गरिएको हानिकारक सामग्रीको एउटा उदाहरण हो, जसलाई ‘फ्रान्सेली दाग’ प्रवृति भनेर चिनिन्छ, जसमा टिकटक प्रयोगकर्ताहरूले आफ्नो गालामा चिरस्थायी घाउ छोडेको देखाइएको छ । टिकटकका प्रवक्ताले भने जरिवाना गराउने इटालीको घोषणा प्रति असहमति रहेको जनाएका छन् । उनले भने, ‘एजिसिएमको सो निर्णयसँग टिकटक असहमत छ किनभने तथाकथित ‘फ्रान्सेली दाग’ सबन्धी सामग्रीका बारेमा गत वर्ष एजीसीएमको घोषणा अघि नै इटालीमा औसत १ सयवटा दैनिक खोजी गरेको थियो र हामीले धेरै पहिले यस्ता सामग्रीको दृश्यता १८ वर्षमुनिमा प्रतिबन्धित गरिसकेका थियौं।’ टिकटकले केही समय यता देखी युरोपेली नियामकहरूको निगरानीमा रहेको छ र यसअघि पनि उसले सयौं मिलियन डलरको जरिवानाको सामना गरिसकेको छ।युरोपियन युनियनमा टिकटकका गतिविधिहरूको निरीक्षण गर्ने आयरिश डेटा संरक्षण आयोगले गत सेप्टेम्बरमा प्लेटफर्मलाई ३७६ मिलियन युरो जरिवाना तिर्न आदेश दिएको थियो । जरिवाना गर्नु अघि उसको पनि टिकटकले बच्चाहरूको सुरक्षा गर्न असफल भएको जनाएको थियो।  अमेरिन तल्लो सदनले टिकटकका प्रतिबन्ध लगाउने विधयेक पास गरेको  बेला इटालीको यो जरिवाना घोषणा भएको हो । गत बुधवार मात्रै अमेरिकी प्रतिनिधि सभाले पास गरेको विधेयक माथिल्लो सदनले पनि पास गर्यो भने अमेरिकामा ६ महिना भित्र टिकटक प्रतिबन्ध हुन सक्छ।

‘अध्ययन नगरी धरानमा हवाईमैदान बनाउन सकिँदैन’

धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढंगले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताएका छन् ।  सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै मन्त्री किरातीले राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाईमैदान अलपत्र अवस्थामा रहेका कारण धरानमा पनि हवाईमैदानको सम्भाव्यताका लागि मिहिन ढंगले अध्ययन भइरहेको बताए ।  प्राविधिकले धरानमा हवाईमैदानका लागि अध्ययन भइरहेको स्थानमा एकतर्फी मात्र उडान अवतरण गर्न मिल्ने जानकारी दिएको उल्लेख गरे ।  मन्त्री किरातीले भने, “जहाज उडान भर्न सकिन्छ कि सकिँदैन भन्ने बुझेर मात्र हवाईमैदान बनाउनुपर्छ ।”  उनले धरानमा स्थानीय उत्पादन, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि धरान एक्स्पो आयोजना गरिएकाले सहभागी हुन सबैमा आग्रह गरे । विकासका लागि धरान एक्लै अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री किरातीले धरानले चतरा, बराहक्षेत्र, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायत ठाउँका धार्मिक तथा पर्यटकीयस्थललाई ध्यानमा राखेर सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । रासस

गण्डकी सरकार विरुद्धको मुद्दामा आज अन्तिम बहस हुँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ। सो मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा हेर्दाहेर्दैमा रहेको छ।  नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो सातादेखि बहस भइरहेको छ। सो मुद्दामा रिट निवेदक र सरकारी पक्षले बहस गरिसकेका छन् भने विपक्षी र जवाफी बहस मात्र बाँकी छ।  जवाफी बहस सकेपछि सर्वोच्चले आजै निर्णय दिने छ।  मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएकाले बदर हुनुपर्ने माग रिटमा गरिएको छ। ६० सदस्य प्रदेशसभामा ३० जनाले मत दिएको तर सभामुखले बहुमत भएको भनी व्याख्या गरेकाले उक्त निर्णय बदर हुनुपर्ने माग रिटमा गरिएको छ।  रिटमा मुख्यमन्त्री अधिकारीको विश्वासको मत मत बदर भएपछि अर्को उपधारा अनुसार आफू मुख्यमन्त्री हुने भएकाले त्यस्तो आदेश पनि जारी हुनुपर्ने जिकिर रिटमा गरिएको छ ।  सो मुद्दामा जेठ ८ गतेदेखि बहस सुरु भएको थियो भने जेठ ९ गते सरकारका तर्फबाट बहस भएको थियो।

चलचित्र लालसलामकी नायिकालाई सांस्कृतिक रुपान्तरण पुरस्कार

काठमाडौं । चलचित्र लालसलामकी नायिका प्रेमा अधिकारी गैरेलाई चलचित्र विकास बोर्डले सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ प्रदान गर्ने भएको छ । बोर्डको सोमबार बसेको बैठकले चलचित्र मार्फत सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा योगदान पु¥याए वाफत गैरेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताउनु भयो ।  प्रवक्ता बुढाथोकीका अनुसार संविधान दिवसको अवसरमा आगामी असोज ४ गते एक समारोहबीच कलाकार गैरेलाई २५ हजार नगद र ताम्रपत्रसहित पुरस्कृत गरिनेछ । कलाकार गैरेले चलचित्र लालसलामा लगायत थुप्रै नाटक, ओपेरा र म्यूजिक भिडियोमा अभिनय गर्नु भएको छ ।  त्यस अवसरमा निर्देशक तुलसी घिमिरे, नीर शाह, हरिवंश आचार्य, ऋद्धिचरण श्रेष्ठ, देशभक्त खनाल, लोचन भट्टराई, रमेशरञ्जन झा, श्याम तमोट, माओत्से गुरुङ, विकास चौधरी र कविता आलेलाई पनि सांस्कृतिक रुपान्तरण पुरस्कार प्रदान गरिने प्रवक्त बुढाथोकीले बताउनु भयो ।

गुद्वारमा लुकाएर एक करोड साढे आठ लाख बराबरको सुन ल्याउने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले विशेष सूचनाको आधारमा गुद्वारमा लुकाएर सुन ल्याउने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ३८ वर्षीय शुभम् मेहरा हुन्। उनले सुन गुद्वारमा लुकाएर ल्याएको पाइएपछि विमानस्थलमा शौच गर्न लगाएर सुन निकालिएको हो । उनले एक हजार २६८ ग्राम सुन लुकाएर ल्याएका थिए। उक्त सुनको मूल्य रु. एक करोड आठ लाख ४९ हजार पर्छ । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनको गतिविधि शङ्कास्पद देखिएपछि विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो। हरियो रङको टेपले बेरिएको प्लाष्टिकभित्र बेलनाकार बनाई ल्याइएको दुई थान अर्धठोस सुनको पोका बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।

गण्डकीका मुख्यमन्त्री खगराजको नियुक्ति वैधानिक, सुरेन्द्र पाण्डेको रिट खारेज

पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए । गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो ।

जनयुद्दकालीन डायरीहरुमाथी नेपालगन्जमा सम्वाद हुँदै

काठमाडौं । पत्रकार मनऋषि धितालले लेखेका सात वटा पुस्तकको बारेमा नेपालगञ्जमा बहस हुने भएको छ । धितालले लेखेका जनयुद्धकालिन डायरीहरुको संगालो माथि नेपालगञ्जमा संबाद कार्यक्रम हुने भएको हो ।  प्रेस सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा हुने सम्बादमा सात वटा पुस्तक माथि फरक फरक बत्ताहरुले समिक्षा गर्ने भएका छन् ।  धितालले लेखेको डायरी जेल यात्रा पुस्तकको बारेमा पत्रकार तुला अधिकारीले समिक्षा गर्नेछन् । यस्तै, अर्को पुस्तक बेनी यात्राका विषयमा साहित्यकार महानन्द ढकालले, आधार यात्रा पुस्तकको बारेमा पत्रकार शंकर खनालले, राजमार्ग यात्राको बारेमा साहित्यकार लेक प्याकुरेलले समिक्षा गर्ने तय भएको छ ।  यसैगरी, पिली यात्राको बारेमा राजनीतिककर्मी दुर्गा बहादुर थारुले, गण्डक यात्राको बारेमा बरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले र गुफाप्रेसका चिठ्ठीमाथि साहित्यकार शशिराम कार्कीले समिक्षा गर्ने भएका छन् ।  फागुन २३ गते बुधबार दिउसो २ बजे नेपालगञ्जको सुनाखरी रेस्टुरेन्ट बिपि चौकमा कार्यक्रम हुने भएको छ । पत्रकार धितालले जनयुद्धको समयमा भएका घटनाक्रमहरुलाई टिपोट गर्ने गरेको र अहिले त्यसलाई पुस्तकको रुपमा प्रकाशन गरिएको जानकारी दिए । पत्रकार धितालका सात पुस्तक गएको फागुन १ गते जनयुद्ध दिवशको अवसरमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका थिए । बरिष्ठ पत्रकार धिताल जनयुद्धकालका मोर्चाहरुमा समेत प्रत्यक्ष रुपमा पत्रकारितामा संलग्न रहेका थिए । 

गाजाको विद्यालयमा इजरायली हमला, एक सय बढीको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्याएक सयभन्दा बढी पुगेको अनुमान छ ।   ‘मृतकको सङ्ख्या हालसम्म एक सयभन्दा बढी पुगेको अनुमान छ, दर्जनौँ घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीहरू बस्ने विद्यालयमा तीनवटा इजरायली रकेट प्रहार गरिएको थियो’, विभागका प्रवक्ता महमुद बासलले बताए।  गाजाको सरकारी सञ्चार कार्यालयले आक्रमणमा एक सय भन्दा बढीको मृत्यु भएको बताएको छ । इजरायली सेनाले अल(ताबिन विद्यालयमा रहेको हमासको ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको बताएको छ ।   इस्लामिक जिहाद प्यालेस्टिनी सैन्य समूहले बिहानको प्रार्थनाको समयमा विद्यालयमा आक्रमण भएको बताएको छ ।  गाजा सरकारी सञ्चार कार्यालयका महानिर्देशक इस्माइल अल–थावाब्ताले बताएअनुसार आक्रमणमा १ सय  भन्दा बढीको मृत्यु र दर्जनौं घाइते भएका छन्, जसमध्ये अधिकांशको अवस्था गम्भीर छ । गाजा सरकारी सञ्चार स्रोतहरूले उक्त विद्यालयमा करिब दुई सय ५० जना महिला र बालबालिका रहेको र तीमध्ये लगभग आधा महिला र बालबालिकाको आक्रमणमा मृत्यु भएको बताएका छन् । 

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक संघीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन् । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको बताइन्।  सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताइन् । उनले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समिति (रासस)को समाचार शुल्कमा सहुलियत उपलब्ध गराउन सकिने धारणा राखिन् । मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पारिन् । उनले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने उल्लेख गर्दै सत्य, तथ्य समाचार आए सरकारलाई सहयोग हुने विश्वास व्यक्त गरिन् । शाखाले पत्रकारिताको माध्यमबाट योगदान गर्नेलाई विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । सरकार आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक संघीय संसदमा पेश गर्ने अन्तिम तयारीमा छ।