युक्रेनलाई साढे २२ करोड डलरको अमेरिकी सुरक्षा सहायता घोषणा

काठमाडौं । अमेरिकाले युक्रेनलाई थप २२ करोड ५० लाख डलरको सुरक्षा सहायताको घोषणा गरेको छ।पेरिसमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भएको भेटमा उनले अमेरिका सधैँ युक्रेनसँगै रहेको बताउँदै सहयोगको घोषणा गरेका हुन् ।


अमेरिकी रक्षा विभागले नयाँ सहायता प्याकेजअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले गोलाबारुद र विमान विरोधी मिसाइलहरूमा सहयोग गरेका हुन् ।

सुरक्षा प्याकेजमा युक्रेनलाई सबैभन्दा आवश्यक युद्धक्षेत्रको आवश्यकताहरू पूरा गर्न हतियार प्रदान गरिने बताएको छ। यसमा स्टिङ्गर एन्टी–एयरक्राफ्ट मिसाइल, एचआइएमएआरएस सिस्टमका लागि गोलाबारुद र १५५ मिमी तथा १०५ मिमी तोपखाना राउण्ड रहेका छन्।


उत्तरी फ्रान्सको प्रतीकात्मक डि–डे समारोहमा भाग लिएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कांग्रेसमार्फत नयाँ सहायता प्राप्त गर्न भएको ढिलाइप्रति दुःख व्यक्त गरे ।

सुनको भाउले रेकर्ड राख्ने क्रम जारी, आज १७ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नँया नयाँ रेकर्ड कामय राख्ने क्रम जारी छ । प्रतितोला १७ सय रुपैयाँले भाउ बढेर आज पनि रेकर्ड राखेको छ  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २सय निर्धारण भएको छ । सोमबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३७ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला र एक लाख ३८ हजार ५०० मा निर्धारण भएको हो । तेजाबी सुन सोमबार भने एक लाख ३६ हजार ८ सयमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ७ सय ५०निर्धारण भएको छ।

शपथ अघि गान्धीको समाधिस्थल मोदी पुगे

काठमाडौं । लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन् । मोदीले गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली दिएका छन् । यसपछि उनले गान्धीसँगै पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको समाधिमा पनि पुष्पाञ्जली अर्पण गरेका हुन्। प्रधानमन्त्री मोदीले आज साँझ सवा ७ बजे राष्ट्रपति भवनमा आफ्नो मन्त्रिपरिषद्सहित शपथ लिनेछन् ।  

सुनको मूल्यमा फेरि रेकर्ड, तोलामा ७०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।  यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुनको यसअघिको उच्च मूल्य प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँ थियो । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा करोबार भएको थियो ।  

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरे ।

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।   ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागुगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ’, त्रिविद्धारा शुक्रबार जारी गरेको सूचनामा भनिएको छ । यसअघि त्रिविमा अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्नपत्र बनाउने पर्ने माग हुँदै आएको थियो । 

सूचना प्रविधि क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकलाई सम्मान र प्रोत्साहित गर्न प्रधानमन्त्रीको अपिल

‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताए।

नेपाली कप्तान रोहितसँग नोकझोक गर्ने बंगाली बलरलाई आइसीसीको कारवाही

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलसँग विवाद गर्ने बंगाली बलर कारवाहीमा परेका छन् ।टी-२० विश्वकप अन्तरगत नेपाल र बंगलादेश विरूद्धको म्याचमा गलत व्यवहार गरेको विषयलाई लिएर बंगलादेशी एक बलर दण्डित भएका हुन् । खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेपछि आइसीसीले कारवाही गरेको हो। नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग नोकझोक गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएकोसमेत पाइएपछि कारवाही भोगेका हुन् । तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ । आइसीसीको खेलाडी आचारसंहिताको धारा २.१२ अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन मनाही छ ।

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ ।  लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसीआईएफ)ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।  जिल्लाकै ठूलो उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए । तीनवटै लायन्स क्लबले लायन्स क्लब नेपाल इन्टरनेसनल तीन सय २५ एललाई उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि अनुरोध गरेको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले जानकारी दिए । उनका अनुसार अब अस्पतालमा डायलासिस सेन्टर स्थापनाका लागि प्रक्रिया थालिनेछ । जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लबले अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । मिर्गौला पीडित बिरामीका लागि आवश्यक उपचार गर्न अस्पतालमा छ थान मेसिन राख्ने तयारी गरिएको हिराचनले बताए । उनले भने, “यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।” रासस

एसईई आजदेखि सुरु, ३५ प्रतिशत ल्याउँनै पर्ने

काठमाडौं ।यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार (आज)देखि सुरु हुँदै छ।परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ ।आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । यो वर्ष एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँने छन् ।  परीक्षाका निम्ति दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ।नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट यो वर्ष २३ विद्यार्थी परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ ।  ३५ प्रतिशत नल्याए नन् ग्रेडेड हुने  यो वर्ष पहिलोपटक एसईई माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन हुँदै छ । यस्तै, लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको ग्रेडिङ हुनेछ । जसअनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेको मार्कसिटमा अवर्गीकृत (non grade) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।  अर्थात् सैद्धान्तिकतर्फ पूर्ण अंक ७५ रहेकोमा विद्यार्थीले कम्तीमा २७ ल्याउनुपर्ने हुन्छ । यसरी नन् ग्रेडेड नतिजा आएका विद्यार्थीले दुईवटा विषयमा तीनपटकसम्म तत्कालै हुने पूरक परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।  यस्तै, दुईभन्दा बढी विषयमा नन् ग्रेडेड भएका वा पूरक परीक्षामा पनि ग्रेडिङ पाउन नसकेका विद्यार्थीले अर्को वर्ष हुने एसईईमा सबै विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने उनले बताए।  छात्राको संख्या कम हुँदै  जनसंख्याको आधारमा पछिल्ला दुई वर्षयता लगातार एसईईमा छात्राको संख्या घट्दै गएको छ। २०७८ को परीक्षामा पाँच लाख १४ हजार ९६७ जनाले आवेदन दिएकोमा छात्रा दुई लाख ५७ हजार ९२४ र छात्र दुई लाख ५७ हजार ५३ जना थिए। २०७९ को एसईईमा सहभागी चार लाख ८५ हजार ३९६ जनामध्ये छात्रा दुई लाख ४२ हजार ७१२ छात्र दुई लाख ४२ हजार ६७४ थिए।  २०८० मा आइपुग्दा जम्मा पाँच लाख चार हजार ४१४ विद्यार्थीले आवेदन दिएकोमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र छन् । अर्थात् यो वर्षको एसईईमा छात्रभन्दा झन्डै तीन हजार कम छात्रा सहभागी हुँदै छन्।  राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्यामध्ये ४८.९८ प्रतिशत पुरुष र ५१.०२ प्रतिशत महिला छन्। तर, १० देखि १९ वर्षसम्मका उमेर समूहमा भने १०.५ प्रतिशत पुरुष र ९.९ प्रतिशत महिला रहेको जनगणनाको तथ्यांक छ।  कुल जनसंख्यामा नै महिलाको संख्या कम भएकाले वर्षेपिच्छे एसईईमा छात्राको संख्या घट्दै गएको अध्यक्ष महाश्रम शमाले जानकारी दिए। पहिलोपटक एसईईमा ‘अन्य’ वर्ग छुट्याएर सहभागी गराइँदै  यसपटकको एसईईमा लैंगिक तथा यौनिक अल्पसंख्यक (LGBTQI)समुदायलाई पहिलोपटक ‘अन्य’ वर्गमा राखेर सहभागी गराइँदैछ । सो समुदायबाट यसपटक १५ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।  फरक पहिचान भए पनि यसअघि छात्र वा छात्रा वर्गमा राख्ने गरेकोमा सरकारले यो वर्ष पहिलोपटक एलजीबीटीआई समुदायको वर्ग छुट्याएको हो । बढ्दै प्राविधिक धारका विद्यार्थी  यस वर्षको एसईईमा प्राविधिक विषयका विद्यार्थीको संख्या गएको वर्षभन्दा बढेको छ। यस वर्ष सहभागी हुन लागेका १० हजार ८०६ विद्यालयमध्ये ५०६ वटा विद्यालयका १५ हजार ७४९ विद्यार्थी प्राविधिक धारका छन् । गएको वर्ष ५०५ वटा विद्यालयबाट प्राविधिक धारका १५ हजार ४६१ विद्यार्थी एसईईमा सहभागी भएका थिए ।  दुई हजार बढी परीक्षा केन्द्र, ७७ हजार जनशक्ति खटाइँदै  यो वर्ष एसईई दिन लागेका पाँच लाख चार हजार ४१४ विद्यार्थीका निम्ति दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न ७७ हजार बढी जनशक्ति खटाइको बोर्डले जनाएको छ । परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७७ हजार ५०५ जना जनशक्ति खटाउन लागिएको बोर्डले जनाएको छ ।

सुनको मूल्य तोलामा १२ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले घटेर कारोबार भएको छ। यस दिन छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

एकैदिन तोलामा २३ सय बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन हिजो प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो।  शुक्रबार तोलामा २३ सय रुपैयाँ बढेर तोलाको रु एक लाख ३७ हजार नौ सयमा कारोबार भइरहेको छ। हिजो बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ थियो । शुक्रबार तेजाबी सुनको मूल्य रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ। चाँदीको मूल्य आज तोलामा रु ५० रुपैयाँले बृद्धि भएको छ।  बिहीबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएको चाँदी आज एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

पोखरामा एशिया कप ट्रायथलन : इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

पोखरा । पोखरामा आजदेखी सुरु भएको एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जितेका छन्। यसैगरी, महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर च्याम्पियन बने। ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड भएको थियो । पुरुषतर्फ च्याम्पियन इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गरे। अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा पूरा गरी द्वितीय र जापानका मिट्सुहो मोचीजुकील ५७ मिनेट २५ सेकेण्डमा पूरा गरी तृतीय भए। महिलातर्फ च्याम्पियन इड्डाले निर्धारित दूरी पार गर्न एक घण्टा छ मिनेट समय लगाए। यसैगरी उपविजेता गुआमका मानामी लिजिमाले एक घण्टा ४२ सेकेण्डमा र तृतीय हुन सफल उज्वेकिस्तानका एलिना खाकीमोवाले एक घण्टा चार मिनेटमा पार गरे । दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा पुरुष तथा महिला दुबैतर्फ भारतीय खेलाडीले बर्चस्व राखेका हुन् । पुरुषतर्फ भारतका मुरलीधर नैरले  एक घण्टा दुई मिनेट तीन सेकेण्डमा तोकिएको दूरी पार गरी उपाधि जिते। यसैगरी, कौसिक विनयले एक घण्टा तीन मिनेट २६ सेकेण्ड लगाउँदै उपविजेता बन्नुभयो । नेपालका विपन खत्कत्वाले एक घण्टा पाँच मिनेट २५ सेकेण्ड समय लगाउदै तृतीय हुन सफल भए। महिलातर्फ भारतका मान्सी मोहितिले निर्धारित दूरी एक घण्टा सात मिनेट ५१ सेकेण्डमा पूरा गरी विजेता बने । नेपालका श्रेवी महर्जनले एक घन्टा ११ मिनेट ४५ सेकेण्डको पूरा गर उपविजेता बन्दा नेपालकै शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल भए। यसैगरी राष्ट्रिय च्याम्पियनसिपमा विपन खत्कत्वाले एक घन्टा पाँच मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बने। प्रविन थारुले एक घन्टा छ मिनेट २० सेकेण्डमा पार गरी द्धितीय र मुकेश थारुले एक घण्टा १५ मिनेट ११ सेकेण्डको समय लगाउँदै तृतीय हुन सफल भए। महिलातर्फ एक घन्टा ११ मिनेट ४५ सेकेण्डको समयमा दूरी पार गर्दै श्रेवि महर्जन च्याम्पियन बने। शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पार गरी द्धितीय र ज्ञानु कुमारी चौधरीले एक घण्टा २१ मिनेट ५७ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल भए। यसैगरी जुनियर साउथ एसिया च्याम्पियनसिपमा पुरुषतर्फ भारतका साइ केडी च्याम्पियन बने। भारतकै कृषिभ पटेल द्धितीय र नेपालका यजु महर्जन तृतीय भए।  महिला जुनियरतर्फ नेपालका श्रेवी महर्जन विजेता बन्दा भारतका दुर्विशा पवार द्धितीय र प्रेरणा श्रवण कुमार तृतीय भए। नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा सञ्चालन भएको च्याम्पियनसिपमा विभिन्न १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासडो, महासचिव एन्टोनियो आरामानी, नेपाल ट्रायथलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक कोइराला, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, ट्रायथलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा, महासचिव युवराज सुनुवार, केन्द्रीय सदस्य अनिता रानाभाट स्थानीय व्यवस्थापन समितिका संयोजक डिल्लीराज सुवेदी (शिशिर)लगायतले पुरस्कार तथा मेडल वितरण गरे। प्रतियोगिता अन्तर्गत आइतबार दुआथलन च्याम्पियनसिप हुने आयोजकले जनाएको छ । 

भागेका थुनुवालाई समाउन खोज्दा जवानको मृत्यु

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ। ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए। चौधरी कैलालीका वासिन्दा हुन्। जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर पक्राउ परेका थिए। उनीमाथि मुद्दा शाखामा सोधपुछ चलिरहेको थियो। त्यही बेला कुँवर हतकडीसहित प्रहरी कार्यालयबाट भागेका थिए।  भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हामफालेका थिए। त्यसक्रममा उनी भिरमा पुगेका थिए भने टाउकोमा चोट लागेको थियो।  लडेको केहीबेरमा जवान चौधरीको मृत्यु भएको थियो। शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ। भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको छ।

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । यसदिन सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३४ हजार ९५० रुपैयाँ कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।