बंगलादेशको अन्तरिम सरकार प्रमुखमा युनुस नियुक्त

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा.मोहम्मद युनुस नियुक्त भएका छन् ।

नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले गएराति अन्तरिम सरकार प्रमुखमा नियुक्तिको घोषणा गरेका हुन् ।

गएराति राष्ट्रपति, सेना प्रमुख र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।

यस अघि मंगलबार राष्ट्रपतिले संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खुला गरेका थिए ।

विद्यार्थी नेताहरूले सैन्य नेतृत्वको सरकारलाई स्वीकार नगर्ने स्पष्ट पार्दै अन्तरिम सरकारको नेतृत्व गर्न युनुसलाई जोड दिएका थिए।

८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचालन गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

विद्यार्थी आन्दोलन थेग्न नसकेपछि शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भाग्दै भारतको शरणमा पुगेपछि बंगलादेशमा नयाँ राजनीतिक कोर्स सुरु भएको हो ।
 

आम जनतामा सूचना प्रविधिको पहुँच विस्तार आवश्यक : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आम जनताको बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएकी छिन् । नेपाल एशोसियशन फर सफ्टवेर एण्ड आइटी कम्पनिज् (नास–आइटी)का पदाधिकारीसँगको भेटमा उहाँले सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाएर मुलुकको डिजिटल रुपान्तरणका लागि सहकार्य आवश्यक रहेको बताइन् । मन्त्री शर्माले नेपालमा सञ्चार तथा सूचना प्रविधिको विकासका लागि यसलाई आम जनताले बुझ्ने गरी स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक क्षेत्रको विकासका लागि त्यसको महत्व आम नागरिकले बुझ्नुपर्नेमा उदाहरण दिंदै भनिन्– ‘योग विज्ञान आजको होइन तर रामदेवले स्थापित गरेपछि योग घरघरमा पुग्यो । उत्पीडित समुदायको मुक्ति र अधिकारको नारा नयाँ होइन तर माओवादी जनयुद्धले त्यसलाई घरघरमा पुर्याएपछि मात्रै परिवर्तन संभव भयो । त्यसैगरी अब सञ्चार तथा सूचना प्रविधिको महत्व र औचित्य पनि आम जनताले महसुस गर्ने गरी स्थापित गर्नुपर्छ, ताकि यसलाई आफ्नो जीवनशैली बनाएर त्यसबाटै उनीहरुले जीवन सहज र सरल बनाउन सकून् ।’ सञ्चार तथा सूचना प्रविधिको महत्व केही प्राविधिक व्यक्तिहरुले मात्रै बुझ्ने र बाँकीले आफूलाई उपभोक्ताको रुपमा मात्र लिने भन्दा पनि सबैले सूचना प्रविधि क्षेत्र लाई आत्मसात गर्ने गरी यसको विकास गर्नपर्नुमा मन्त्री शर्माले जोड दिइन्। अब सुशासन र समृद्धिको आधार नै सञ्चार तथा सूचना प्रविधि क्षेत्र भएकाले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताइन्। सञ्चार तथा सूचना प्रविधि क्षेत्रको लगानी वृद्धि गर्न कानुन परिमार्जन गरेर जाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सरकारी र निजी क्षेत्रको सहकार्यबाट सूचना प्रविधि प्रयोग गरी मुलुकलाई समृद्ध बनाउन सकिने स्पष्ट गरिन् ।  छलफलमा प्रतिनिधिसभा सदस्य मनिष झाले सूचना प्रविधि क्षेत्रलाई समुदायस्तरमा पुर्याएर हरेक विद्यालयमा यसलाई प्रतिष्पर्धाको विधा बनाउनुपर्ने बताइन्। सूचना प्रविधिमा विद्यालय तहहुँदै प्रदेश र राष्ट्रियस्तरमा प्रतिष्पर्धा गराएर लाखौं युवाहरुलाई देशभित्रै रोजगार र स्वरोजगार बनाउन सकिने उनले स्पष्ट गरिन्। सो क्रममा नास आइटीका पदाधिकारीहरुले पालिका स्तरमा हरेक नागरिकको एकीकृत तथ्यांक व्यवस्थापन गर्ने गरी एकीकृत डाटा केन्द्र स्थापना गर्नुपर्ने, नेपाली आइटी कम्पनीहरुले देशबाहिर शाखा स्थापना गर्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने, आइटी उद्योग र स्टार्टअपहरुलाई प्राथमिक क्षेत्रको ऋणको वर्गको समावेश गर्नुपर्ने, सूचना प्रविधिको काम एकद्वार प्रणालीबाट गर्न आइटी बोर्ड स्थापना गर्नुपर्ने, आइटी पार्क र हब स्थापना गरेर एकैथलोबाट सूचना प्रविधिको काम गराउन सरकारले सहजीकरण गर्नुपर्ने, सरकारी निकायका लागि सफ्टवेयर खरिद गर्दा स्थानीयलाई प्राथमिकता दिनुपर्नेलगायतका सुझाव दिएका थिए । छलफलमा नास–आइटीका अध्यक्ष रिचन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

रुसी सेनामा गएका  रोल्पाका युवकको मृत्यु

काठमाडौं । अवैधानिक तरिकाले रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युक्रेनको आक्रमणका कारण मृत्य भएको छ । रुसी  सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको हो ।   तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ना हुन पुगेका उनको मृत्यु भएको उनीसँगै रहेका रोल्पाका अर्का साथीले खबर गरे। उनीसँग नेपालका करिब एक दर्जन युवाले सैन्य तालिम लिने तयारीमा थिए ।  उनका साथीहरू रोल्पा लिबाङका एक जना र आफन्तसमेत पर्ने दाङको घोराहीमा बस्ने अर्का युवाले आफूहरू मुस्किलले बाँच्न सफल भएको तर घनसिंहको आक्रमणमा परेर मृत्यु भएको खबर सुनाएका हुन् ।  मृत्यु हुनुअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए । त्यस अवधिमा उनले अब कमाउन आएकाले चिन्ता नगर्नसमेत बताएका थिए । 

हेर्नुहोस्, आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।  

प्रचण्ड सरकार इतिहासकै मितव्ययी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार इतिहासकै सबैभन्दा मितव्ययी सरकार बनेको छ । हालसम्म हुन नसकेको संघीय सरकारको चालु प्रकृतिको खर्चमा इतिहासमै पहिलोपटक उल्लेख्य कमी आएको छ । सरकारी खर्च आम्दानीको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयले अघिल्लो वर्षको तुलनामा यो वर्ष ५३ अर्ब १३ करोड ७२ लाख रूपैयाँ यस्तो खर्च घटेको तथ्याङ्क दिएको छ । चालु खर्चअन्तर्गत संघीय सरकारको प्रशासनिक खर्च, तलब भत्ता, सरकारले गर्ने सभा सेमिनार, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको ब्याज भुक्तानी, वित्तीय हस्तान्तरण, सरकारले दिने विभिन्न किसिमका ब्याज अनुदान तथा सहुलियत, मेसिनरी तथा अन्य सार्वजनिक सम्पत्तिको मर्मत सम्भार लगायतमा गर्ने खर्चहरू पर्दछन्। आर्थिक वर्ष २०३१/३२ अर्थात् अर्थ मन्त्रालयको तथ्यांक अभिलेख राखिएयता कुनै पनि वर्ष चालु खर्च घटेको थिएन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा पहिलोपटक यो वर्ष भने ५.२७ प्रतिशतले खर्च घटेको छ। यस्तो खर्च तीन वर्षयताकै न्यून पनि छ। आर्थिक वर्ष २०७८/७९ मा नौ खर्ब ५४ अर्ब रूपैयाँको चालु खर्च भएको थियो भने गत वर्ष १० खर्ब ५ अर्ब रूपैयाँको भएको थियो । यस वर्ष भने प्रारम्भिक रूपमा नौ खर्ब ५२ अर्ब रूपैयाँ मात्रै पुगेको छ। पछिल्लो ५० वर्षको अवधिमा औसत रूपमा वार्षिक १७ प्रतिशतले चालु खर्च बढेको तथ्याङ्क छ । आर्थिक वर्ष २०५१/५२ मा ५८ र २०६६/६७ मा सबभन्दा धेरै ४६ प्रतिशतले चालु खर्च बढेको थियो । सबभन्दा न्यून वृद्धिदर २०६९/७० मा १.६ प्रतिशतको भएपछि कुनै पनि वर्ष नघटेको यस्तो खर्च यो वर्ष भने घटेको हो । यो वर्ष प्रशासनिक क्षेत्रमा उल्लेख्य खर्च घटेको र वित्तीय अनुशासन बढि हुँदै गएको देखिएको छ । तत्कालिन प्रधानमन्त्री प्रचण्डको निर्देशनमा सरकारले अनावश्यक रहेका प्रधानमन्त्री कार्यालयका तीन वटा सचिवको दरबन्दी खारेज तथा केही सहसचिवको पनि दरबन्दी खारेज गरेको थियो । यसै कारण पनि प्रशासनिक खर्चमा यो पटक केही कमी आएको अर्थविदहरूको भनाइ छ।

अमेरिकमामा १४ वर्षीय विद्यार्थीद्वारा अन्धाधुन्ध गोली प्रहार, २ शिक्षकसहित ४ को मृत्यु

काठमाडौं । अमेरिकाके जर्जिया विद्यालमा एकजना १४ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ । घटनामा एक दर्जन घाइते भएका छन् । न्यूयोर्क टाइम्सले जनाए अनुसार गोली प्रहारपछि सुरक्षाकर्मी समक्षा आत्मसमर्पण गरेको छ । निजमाथि हत्या अभियोगमा मुद्दा चलाइने बताइएको छ।  नयाँ विद्यालय वर्षको एक महिना मात्र पूरा भएको अवस्थामा जर्जियाको विन्डर सहरस्थित अपालाची हाइ स्कूलका विद्यार्थीहरू यतिखेर त्रसित अवस्थामा छन्। गोलीको आवाज सुन्नेबित्तिकै सुरुमा कतै अभ्यास चलिरहेको होला सोचेपनि साँच्चिकै गोली चलेको थाहा भएपछि कतिपयले कक्षाकोठामा आफूलाई बन्द गरेका थिए। आक्रमणबाट लगभग १८,००० जनसंख्या भएको विन्डर सहरमा आतंक फैलिएको छ। अधिकारीहरूले १४ वर्षीय संदिग्धको नाम कोल्ट ग्रे र उनलाई वयस्कको रूपमा अभियोग लगाइने बताएका छन्। जर्जिया ब्यूरो अफ इन्भेस्टिगेसनका निर्देशक क्रिस शूटरले "एआर-प्ल्याटफर्म-शैलीको हतियार" प्रयोग गरेको जनाए। अधिकारीहरू अझै पनि उनले हतियार कसरी प्राप्त गरे भनेर अनुसन्धान गरिरहेका छन्। एआर-१५ डिजाइनमा आधारित राइफलहरू अन्य सामूहिक गोलीकाण्डमा प्रयोग भएका छन्। अस्पतालमा रहेका सबै घाइतेहरू निको हुने अपेक्षा गरिएको छ। संदिग्ध विद्यार्थीले एक वर्षभन्दा अघि नै अनलाइनमा विद्यालयमा गोली चलाउने धम्की दिइएको एफबीआईले जनाएको छ। त्यतिखेर नै उनीमाथि र उनका बुवामाथि सोधपुछ गरिएपनि यसलाई गम्भीरतापूर्वक नलिँदा घटना भएको बताइन्छ।

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागी पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् । सोमबार मुख्यमन्त्री खगराज अधिकारी तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्दै छन् । अधिकारीका तर्फबाट बहस सकिएपछि रिट निवेदकको तर्फबाट जवाफी बहस हुने वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जानकारी दिए ।

नयाँ युग निर्माणका लागि साझा भविष्यसहितको साझेदारी आवश्यक: राष्ट्रपति शी

बेइजिङ— चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युग निर्माणका लागि उत्पीडित देशहरुबीच साझेदारी आवश्यक भएकोमा जोड दिएका छन् । बिहीबार बेइजिङमा आयोजित चीन-अफ्रिका सहयोग मञ्च (FOCAC) को २०२४ शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शी ले चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अफ्रिकी देशहरूसँगको द्विपक्षीय सम्बन्धलाई रणनीतिक सम्बन्धको स्तरमा रुपान्तरण गर्न समेत प्रस्ताव गरे। सीले भने, "झण्डै ७० वर्षको अथक प्रयासहरूको लागि धन्यवाद, चीन-आफ्रिका सम्बन्ध अहिले इतिहासको उत्कृष्ट अवस्थामा छ।" बीजिङ, सेप्टेम्बर ५ (सिन्ह्वा) — चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार चीन अफ्रिकासँग मिलेर आधुनिकीकरणलाई संयुक्त रूपमा अगाडि बढाउन १० साझेदारी कार्य योजनाहरू कार्यान्वयन गर्न तयार रहेको बताए। समान हितमा आधारित साझा मानव भविष्य निर्माणमा जोड दिँदै शीले भने, “विश्वको एक तिहाइ जनसंख्या चीन र अफ्रिकामा बस्छ, र चीन र अफ्रिकाको आधुनिकीकरणबिना विश्वव्यापी आधुनिकीकरण सम्भव छैन।” सम्बोधनका क्रममा शीले चीन र अफ्रिकाबीच आगामी तीन वर्षमा कार्यान्वयन गरिने १० साझेदारी कार्ययोजनाहरू समेत प्रस्तुत गरे। सभ्यताहरूमाझ आपसी सिकाइ, व्यापार समृद्धि, औद्योगिक श्रृंखला सहकार्य, सम्पर्कता, विकास सहकार्य, स्वास्थ्य, कृषि र जनजीवन, जनस्तरको र सांस्कृतिक आदानप्रदान, हरित विकास र साझा सुरक्षाका क्षेत्रहरूलाई नयाँ साझेदारीले समेट्ने उनले बताए। यसअघि राष्ट्रपति सी जिनपिङले बुधबार आयोजित भोजमा अफ्रिकी नेताहरूलाई स्वागत गरेका थिए। उक्त अवसरमा उनले चीन र अफ्रिकाका जनताहरू साझा लक्ष्यहरूद्वारा एकताबद्ध भएर आधुनिकीकरणतर्फको यात्रामा नयाँ र अझ ठूलो उपलब्धिहरू हासिल गर्न सक्छन् भन्ने विश्वास पुनः पुष्टि गरेको चाइनाडेलीले जनाएको छ। चिनियाँ राष्ट्रपतिले चीन र अफ्रिकाबीचको स्थायी सम्बन्धलाई "परम्परागत मित्रतामा आधारित" र साम्राज्यवाद, उपनिवेशवाद, र प्रभुत्ववादविरुद्धको संघर्षले बलियो बनाएको सम्बन्धको रूपमा वर्णन गरे। आवरण तस्वीर: wang zhuangfei/chinadaily

सुनको मूल्य उच्च विन्दुमै स्थिर,  चाँदीको २० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगेर स्थिर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३९ हजार ३ सय र तेजाबी सुन १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ।  यो मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको अघिल्लो कारोबार मूल्य बराबर हो । आइतबार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले बढेको छ।  शुक्रबार १ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको सेतो धातु आइतबार उक्त दरले बढेर १ हजार ७ सय ४० रुपैयाँ पुगेको हो।  अन्तर्राष्ट्रिय बजारमा चाँदी २८.६७ र सुन २ हजार ३ सय ९०.८६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले बताएका छन् । 

प्रधानमन्त्रीद्धारा पोखरालाई पर्यटनको राजधानी घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दर पर्यटकीय नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले चैत्र ४ गते आइतबार (आज) पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले रिमोर्ट थिचेर पर्यटन समारोहको उद्घाटन गरी पोखरा पर्यटनको राजधानी लेखिएको लोगो अनावरण गर्नुको साथै पोखरा पर्यटनको राजधानी लेखिएको स्मृति स्तम्भको अनावरण पनि गरेका थिए । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिएको हो।फेवाताल किनारस्थित बाराहीघाटमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गरे। पोखरा अब २४सै घन्टा खुला हुने भएको छ । जसअनुसार किराना, खाना, खाजा, पान पसललगायतलाई राति १ बजेसम्म खोल्न दिइनेछ ।डान्सबार, दोहोरी, पप, डिस्कोलगायतलाई २४सै घन्टा खुल्नेछन्।यसका लागि व्यवसायीहरूले ध्वनि प्रदूषण हटाउनुपर्ने, आन्तरिक सुरक्षाको व्यवस्था, सिसिक्यामेरा, स्मोकिङ जोन छुट्याउनेलगायतका स्थान व्यवस्था गर्नुपर्नेछ । पहिलो चरणमा ड्यामसाइट हुँदै लेकसाइड क्षेत्र, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, नागढुंगा, मुस्ताङ चोक, विरौटा, राष्ट्र बैंक चोक, ड्यामसाइटलगायतका स्थान २४सै घन्टा खुला हुनेछन् ।

बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन

ढाका। बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गरेका छन् । “राष्ट्रपतिले संसद् विघटन गर्नुभएको छ”,  राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले जानकारी दिए । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको हो । बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेका छन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा.मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ 

डेनमार्कका प्रधानमन्त्रीमाथि आक्रमण

ऐजेन्सी । डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिकसन माथि कोपेनहेगनको बीच सडकमै आक्रमण भएको छ । सडकमा रहेको स्क्वायरमा हिंडिरहेका बेल एक व्यक्तिले उनलाई नजिक गएर हिर्काएका हुन् । प्रधानमन्त्रीलाई आक्रमण गर्ने व्यक्ति अहिले पक्राउ परिसकेका छन् । सो घटनाबाट स्तब्ध र अचम्भित भएको प्रधानमन्त्री  फ्रेडरिकसनले प्रतिक्रिया दिएकी छिन्। युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले यो घटनालाई निन्दनीय कार्य भन्दै विरोध जनाएका छन् । डेनमार्कको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्री माथि आक्रमण भएको र आक्रमणकारी पक्राउ परेको जानकारी दिएको छ । घटनाका विषयमा विज्ञप्तिमा विस्तृत जानकारी भने दिइएको छैन । प्रहरीले आक्रमणकारीका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । तर आक्रमणकारी र आक्रमणको कारणका विषयमा केही खुलाएको छैन । आक्रमण डेनमार्कमा युरोपेली संघको निर्वाचन हुन दुई दिन अघि भएको हो ।

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार मात्रै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार कायम भई हालसम्मै उच्च मूल्यमा कारोबार भएको थियो । बुधबार प्रतितोला ‍ एक हजार रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको छ । साथै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १६ सय ५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । सुनचाँदीको मूल्यले आज (सोमबार) पनि नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो पनि हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

इजरायलमा प्रम नेतान्याहुविरूद्ध हजारौ जनता प्रदर्शनमा

एजेन्सी । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोध गर्दै इजरायलका केही शहरहरूमा सरकारविरोधी व्यापक प्रदर्शन भएको छ। हजारौं इजरायलीहरूले प्रधान नेतन्याहूलाई हमाससँग बन्दी रिहाइका लागि सम्झौता गर्न माग गरेका छन्। इरानबाट इजरायलमाथि सम्भावित हमलाको खतरा रहेको र इजरायलले सुरक्षा चेतावनीहरू जारी गरिरहेका बेला प्रदर्शनभइरहेका हुन ।  तेहरानमा बुधबार हमासका राजनीतिक नेता इस्माइल हनियेहको हत्या पछि इरानबाट क्षेत्रीय प्रतिशोधको कुनै प्रकारको सैनिक प्रतिक्रिया अपेक्षित गरिएको छ। बन्धकहरूका परिवारलाई समर्थन गर्न र उनीहरूको रिहाइको माग गर्नका लागि ठूलो भीड शनिबार टेल अविवको बेगिन गेटमा जम्मा भएको थियो । भिडियोहरूमा प्रदर्शनकारीहरूले इजरायली झन्डा उडाउँदै र बन्धकहरूको चित्रसहितका बोर्डहरू लिएर प्रदर्शन गरेका थिए । सिएनएनका अनुसार, आईडीएफ मुख्यालयको बेगिन गेटमा, मानिसहरूले 'हामी हार मान्दैनौंस बन्धकहरूलाई रिहा गर्नुहोस् भनेर नारा गुञ्जाउँदै थिए।' भने अरूले 'मृत्यु रोक्नुहोस्, शोक रोक्नुहोस्, मानव जीवन सबैभन्दा महत्वपूर्ण छ!' भनेर नारा लगाइरहेका थिए । केही प्रदर्शनकारीहरू बारिकेडहरू बीचमा उभिएका थिए, जसले बन्धकहरूलाई प्रतिनिधित्व गरेको देखिन्थ्यो।

बिरामीको शरीरबाट निकालियो कीटनाशक औषधिको बोतल

गोरखा । गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे। अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकको टोलीले रोगको पहिचानका लागि परीक्षण गर्न सुरु गरे। उपचारका लागि आएका पुरुषको जाँचका क्रममा भिडियो एक्स–रे गरेर हेर्दा स्वास्थ्यकर्मी त्यतिबेला अचम्ममा परे जतिबेला उपचारका लागि आएका गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय ती पुरुषको मलद्वारमा धातुको बोतल अड्किएको देखियो। मलद्वारमा बोतल देखिएपछि चिकित्सकले सोधपुछ गर्दा एक महिनादेखि नै मलद्वारमा बोतल अड्किएको रहस्य खुल्यो। समस्याको पहिचान भएपछि बिरामीलाई तुरुन्तै अस्पतालको शल्यक्रिया कक्षमा राखेर दुरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण नफैलिएको पत्ता लागेपछि शल्यक्रिया गरेर ती पुरुषको मलद्वारमा अड्किएको धातुको बोतल निकालिएको गोरखा अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए। ‘ती पुरुषको मलद्वारमा विगत एक महिनादेखि कीटनाशक औषधिको बोतल अड्किएको रहेछ’, उनले भने, ‘जब उपचारका लागि आइतबार बिहान १० बजे अस्पतालको आकस्मिक कक्षमा आएँ, त्यहाँ एक्स–रे गरेर हेर्दा मलद्वारमा बोतल देखिएपछि तत्काल शल्यक्रिया गरेर निकालिएको हो।’ मलद्वारमा बोतल अड्किएर उनको ठूलो आन्द्रासमेत अवरुद्ध भई सङ्क्रमण शरीरमा फैलिसकेको अवस्थामा चिकित्सकले शल्यक्रिया गरी बोतल निकालेका हुन्। अस्पतालका सर्जनद्वय डा जीतेन्द्रकुमार सिंह र डा विश्वराज खड्का तथा एनेस्थेसियोलोजिष्ट डा शम्भु अधिकारीलगायतका चिकित्सकको टिमले पुरुषको मलद्वारको सफल शल्यक्रिया गरेको उनले बताए। चिकित्सकले तीन घण्टा लगाएर गरिएको शल्यक्रियाबाट पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लम्बाइ र ७.८ सेन्टिमिटर गोलाइको डब्बा निकालिएको हो। ती पुरुषको मलद्वारमा बोतल कसरी अड्कियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ। शल्यक्रियापश्चात् बिरामीको अहिले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।