कोरोला–त्रिवेणी सडक कालोपत्र गरिँदै

दमौली । गण्डकी प्रदेशको गौरव मानिएको कोरोला– त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिका डेढगाउँसम्मको खण्डमा कालोपत्रको तयारी पूरा भएको छ । 
 
सडक कालोपत्रको ठेक्का पाएको सपना निर्माण सेवाले घिरिङको मानपुरदेखि फुलासम्मको सात किलोमिटरमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेको छ भने फूलादेखि डेढगाउँसम्मको चार किलोमिटरमा पनि कालोपत्र गर्न धमाधम ‘बेस’ तयार भइरहेको पूर्वाधार विकास कार्यालय जनाएको छ । उक्त खण्डमा पानीको निकासका निम्ति नालासँगै पर्खाल निर्माण पनि पूरा भएको छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा उक्त मार्गको स्तरोन्नति थालिएको हो । 

नवलपुरतर्फ बौदीकाली झ्यालबास १४ दशमलव १ किलोमिटर कालोपत्र गर्न सडक स्तरोन्नति भइरहेको छ । दोस्रो चरणमा थप सात किलोमिटर कालोपत्र गर्न बहुवर्षीय ठेक्का प्रक्रिया पनि प्रारम्भ भएको उक्त कार्यालयले जनाएको छ । झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर खण्ड निर्माण भइसकेको छ ।

बंगलादेशबाट भागेर दिल्ली पुगेकि शेख हसिना, छिट्टै लण्डन जाने

नयाँ दिल्ली । बंग्लादेशकी प्रधानमन्त्री शेख हसीना ढाकाबाट भागेर भारतको नयाँ दिल्ली आएकी छन्। गाजियाबादको हिंडन एयरबेसमा शेख हसीनाको विमान ल्यान्ड गरेपछि उनलाई उनकी बहिनसँगै दिल्ली लगिएको छ। शेख हसीना भारतमा शरण रहने नरहने बरू उनी दिल्लीबाट आफ्नी बहिनीसँग लण्डनको यात्रा गर्नेछिन्। आन्दोलन चर्किएपछि शेख हसीनाले आज सोमबार, ५ अगस्तमा आफ्नो पदबाट राजीनामा दिएर देश छोडेकी हुन। राजीनामासँगै बांग्लादेशमा शेख हसीनाको १५ वर्षको शासन समाप्त भएको छ। बांग्लादेशमा हाल आरक्षण विषयमा चलिरहेको विवाद अत्यन्तै बढेको छ र यसका कारण देशभर विरोध प्रदर्शन भइरहेको छ। यी दंगामा ३०० जनाको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा शेख हसीनामाथि राजीनामा दिनको दबाव थुप्रिएको थियो।  बांग्लादेशका सेना प्रमुख वकार(उज़(ज़मानले पनि शेख हसीनालाई प्रधानमन्त्री पदबाट राजीनामा दिई देश छोड्नको अल्टिमेटम दिएका थिए। यसले गर्दा शेख हसीनाले प्रधानमन्त्री पदबाट राजीनामा दिई आफ्नी बहन शेख रेहानासँगै केही समयको लागि आएकी हुन। बंगलादेशमा सैन्य शासन लागू हुने शेख हसीनाको राजीनामासँगै बांग्लादेशमा राजनीतिक अस्थिरता अझ बढेको छ। तर चाँडै देशमा सैन्य शासन लागू हुनेछ। अब बांग्लादेशमा वकार-उज़-ज़मानको नेतृत्वमा सेनाको शासन हुनेछ।

युवा संघले जलायो देउवा र धनराज गुरुङको पुत्ला

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनकपुरधाममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएको छ । संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि काँग्रेस उपसभापति गुरुङले औला ठड्याएर दुर्व्यवहार गरेका थिए । सो घटनाको विरोधमा यूवासंघका कार्यकर्ताहरूले जनकपुरमा प्रदर्शन गरेका छन् । संघका केन्द्रीय नेता सञ्जीव झा ’सुरज’को नेतृत्वमा प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरूले काँग्रेस सभापति देउवा र उपसभापति गुरुङको पुत्ला जलाएका थिए । एमालेका केन्द्रीय सदस्य समेत रहेका झाले काँग्रेस संसदमा गुरुङले उद्दण्डता मच्चाएको बताए । उनले सामाजिक सञ्जालमा चेतावनी दिएका छन्, ‘प्रेत आत्माको भोटबाट जितेको धनराज गुरुङ आफ्नो हैसियतमा बसे हुन्छ । सदन होइन, सडकमै हिसाब किताब हुन्छ ।’

शनिवारीय पाहुरः गाउँ र शहर जोड्ने घोरदौरा (फोटो फिचर)

दाङ जिल्लाको घोराही पश्चिम नेपालको महत्वपूर्ण शहरको रुपमा स्थापित हुँदैछ । घोराहीभन्दा आसपासको भूभाग र खासगरी उत्तरी क्षेत्रको भूभाग पूरै ग्रामीण क्षेत्र छ । त्यहीमध्येको एक हो– घोरदौरा, जसले गाउँ र शहरलाई जोड्ने सेतुको काम गर्दैछ । हरेक दिन विहान सयौंको संख्यामा घोराहीबासी मर्निङ वाकमा यो क्षेत्र पुगेर फर्कन्छन् भने यहाँ केही पर्यटकीय संरचना पनि बन्न थालेका छन् । यसलाई विकास गर्दै लैजाँदा दाङको नगरकोट बन्ने देखिन्छ ।  

अनेमसंघ क्रान्तिकारी गण्डकीको अध्यक्षमा शाही निर्वाचित

पोखरा । कास्की । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) सर्वसम्मत निर्वाचित हुनुभएको छ । पोखरामा बिहीबार राति अबेर सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्सीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षमा लीला विक (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित हुनुभएको छ । सचिवमा निर्मला सुवेदी (कास्की) र कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित हुनुभएको छ भने सहसचिवमा हेमकुमारी सुनार (नवलपुर) निर्वाचित हनुभएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का  उपाध्यक्ष पम्फा भुसालले गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष अमृता थापामगरलगायतले बोल्नुभएको थियो । सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट गरी चार सय ५० जना प्रतिनिधिको सहभागिता थियो । सम्मेलनका अवसरमा महिला सङ्घका संस्थापक, जनयुद्धका जेल ब्रेकर महिला तथा घाइते योद्धालाई सम्मान गरिएको थियो । 

‘कर्णाली विकास खान्या चलन बेरुजुबाटै देखिन्छ’

सुर्खेत, फागुन ७। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी छ। अर्थात् विकासका योजना अनियमितता र भ्रष्टाचार छ। कर्णालीमा देखिएको विकास खाने चलन बेरुजुको अवस्थाबाट देखिने विकासविद् रमेश अधिकारीले बताउँछन्।  ‘कर्णालीमा सबैभन्दा धेरै बेरुजु निस्किएको छ, तीमध्ये केही बेरुजु विकास खान्याको हो,’ कर्णाली उत्सवको ‘विकास अन्र्या विकास खान्या’ सत्रमा वक्ताका रुपमा सहभागी अधिकारीले भने, ‘यहाँ विकास गरिएको मात्र छैन, खाईएको पनि छ, कर्णालीमा पुँजीगत खर्च गर्न नसक्नु पनि अर्को विकास हुन नसक्नुको कारण हो।’ कर्णालीमा विकास गर्नका लागि संघीय राज्यले कर्णालीलाई गर्ने व्यवहार बदल्नुपर्ने र कर्णाली भित्रका सरकारले पनि आफ्नो औचित्य खोज्नुपर्ने उनले औंल्याए। कर्णालीमा सबै किसिमको विकास हुन बाँकी रहेको उनले बताए। कर्णालीका नागरिक पनि सम्मानपूर्वक अगाडि बढ्न पाउनेगरि राज्यले व्यवहार गर्नुपर्ने अधिकारीले बताउ। ‘राज्यले आफूलाई शासकको रुपमा सोच्यो भने नागरिक टाढा हुन्छन्, नेपालमा भएको त्यही हो, कर्णाली पनि अहिले यस्तै कारणले राज्यसँग नजिक छैन।’ उनले भने। पहिले र अहिलेको कर्णाली फरक भएकाले यहाँका विकासका लागि संघीय सरकारले कर्णालीका लागि फरक किसिमबाट बजेट र योजना निर्माण गर्नुपर्ने कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियारले बताए।  ‘कर्णालीका जनता र नेता आफै विकास वादी हुन्, कर्णाली खस राज्य हो, हिजो राज्य सञ्चालन भएकाले विकास कसरी गर्न सकिन्छ, योजना कसरी अगाडि बढाउनुपर्छ भनेर कर्णालीले जानेको छ,’ उनले भने, ‘कर्णालीमा कुनै सरकारले नहेरेका बेला पनि विगतमा हामीले आफैंले विकास ग¥यौं, अबको आधुनिक विकास कालागि केन्द्र सरकारले विशेष ढंगले हेर्नुपर्छ।’ प्रतिनिधि सभा सदस्य विनिता कठायतले राज्यको प्रतिनिधित्व गर्ने सबै कर्णाली र कर्णालीको विकासमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताईन्। अहिले सिर्जना भएको ‘कर्णालीमा विकास भएको छ त’ भन्ने भाष्यले कर्णालीमा हुनुपर्ने जति विकास नभएको उनी बताउँछिन्।  ‘भ्रष्टाचार न्युनिकरण गर्न नसकिएका देशमा पनि विकास राम्रो भएको छ, किनभने ती देशहरुमा विकासमा केन्द्रित हुने चलन छ,’ उनले भनिन्, ‘कर्णालीको सन्दर्भमा अहिलेसम्म विद्युतको राष्ट्रिय प्रसारण लाईन नै बन्न सकेको छैन, कर्णाली राजमार्गलाई प्राथमिकतामा राखिएकै छैन, अब सबै कर्णाली केन्द्रित हुन जरुरी छ।’ अब कर्णालीले समानतालाइ बिर्सिएर समतामुलक विकास खोज्नुपर्नेमा उनले जोड दिईन्। कर्णालीलाई संघीय सरकारले हेर्ने नजर नै फरक रहेको उनले बताईन्।  कर्णालीको विकास खाने चलन अन्त्य गरेर विकास गर्ने वानी बसाल्न जनप्रतिनिधिहरु एकजुट हुनुपर्नेमा सांसद कठायतले औंल्याइन्। ‘हामी जुम्लाबाट चार जना सांसद छौं, हामी मिलेर जुम्लाको विकास गर्न सक्छौं,’ उनले भनिन्, ‘हामी संसदमा भएका दशवटै जिल्लाका प्रतिनिधि एकजुट भएर योजना बनाएर अघि बढ्यौं भने साँच्चिकै कर्णालीको विाकस गर्न सकिन्छ, यसमा कसैल मैंले वा मेरो भनेर भन्नु हुँदैन।’

कोशीमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न एमाले र माओवादीको माग

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले बुधबार कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न माग गरेका छन् ।  उनीहरुले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् । भेटमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समय गुजारेको भन्दै एमाले र माओवादी नेताहरुले अर्को सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका छन् । प्रदेश प्रमुखलाई भेट्न एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो लगायत नेताहरु प्रदेश प्रमुखकोमा पुगेका थिए । जवाफमा प्रदेश प्रमुखले कानुनी परामर्श लिएर प्रक्रिया सुरु गर्ने आश्वासन दिएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन एमाले र माओवादी केन्द्रले गत २६ चैतमा फिर्ता लिइसकेका छन् ।  समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको भन्दै एमाले र माओवादी नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने अन्यथा राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । मुख्यमन्त्री कार्की भने संविधानको १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले समर्थन फिर्ता लिएका आधारमा विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था नभएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानमा छन् । एमाले र माओवादी सांसदको प्रस्तावमा प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने संकल्प प्रस्ताव पनि पारित गरेको थियो । यो संकल्प प्रस्ताव अनुसार पनि मुख्यमन्त्रीले २५ वैशाखसम्म विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने विपक्षी दलहरुको तर्क छ । मुख्यमन्त्रीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको कारण नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई आग्रह गरिएको एमालेका एक नेताले एभरेष्ट दैनिकलाई जानकारी दिए ।

सुदूरपश्चिममा मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि २२ गते बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले आज (मंगलबार) विहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गराएका हुन् । लगतै प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले बताए ।

व्यास नगरपालिकाको मत पुनः मतगणना गर्न अदालतको आदेश

दमौली । तनहुँको व्यास नगरपालिकामा खसेको मत पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो  ।  उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँचजनालाई विपक्षी बनाई रिट दर्ता गरेका थिए।स्थानीय तहको निर्वाचनअन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए। प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए ।

बंगलादेशमा हसिनाको राजिनामा माग गर्दै चर्कियो प्रर्दशन, व्यापक दमनले मृत्यु हुनेको संख्या बढ्दै

काठमाडौं । बंगलादेशमा आरक्षण विरुद्ध सुरु भएको विद्यार्थीको प्रदर्शन सरकार परिर्वनको आन्दोलनको रुप लिन थालेको छ । सरकार विरोधी प्रदर्शनमा भएको प्रहरी दमन र सरकारमा सहभागी कार्यकर्ताको विरोधकका कारण ९० जनाको मृत्यु भएको छ । आन्दोलनकारी र प्रहरीबीचको झडपमा १३ प्रहरी पनि मारिएका छन् । विद्यार्थी नेताहरुले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सुरु गरेको अवज्ञा आन्दोलन आगोसरी फैलिन थालेको छ । नागरिक पनि आन्दोलनमा सहभागी हुन थालेपछि देशव्यापी प्रदर्शनहरु बढेका छन् ।प्रदर्शन चर्किदै गएपछि बंगलादेश सरकारले राति कर्फ्यु लगाउने घोषणा गरेको छ । हजारौँ नागरिकहरु प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामूहिक विरोध प्रदर्शनका लागि राजधानी ढाकामा केन्द्रित भएका छन् । सेनाले आरक्षण प्रणालीको चर्को विरोधका बीच सरकार पुर्नस्थापना गर्न मद्दत गरिरहेको बेला केही पूर्व सैन्य अधिकारीहरू भने विद्यार्थी आन्दोलनमा सामेल भएका छन् । सेनाले केही समयका लागि आन्दोलन मत्थर पारेपनि प्रधानमन्त्रीको राजीनामाको मुख्य माग गर्दै पछिल्लो हप्तादेखि बंगलादेशमा फेरि आन्दोलन चर्किएको हो ।

एकैदिन प्रतितोला ११ सय रूपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । आज सोमबार सुन–चाँदीको मूल्य घटेको छ।आइतबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो। शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको भाउ प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।  आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबार प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १७ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताएकि छिन्। बिहीवार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।  उनले समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा सूचना र प्रविधि महत्वपूर्ण आधार बन्ने बताइन्। अबको युग सूचना र प्रविधिको युग भएकाले सूचना र प्रविधिको क्षेत्रमा व्यवस्थित लगानी गरेर वैदेशिक लगानी, सरकारी र निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहन गरी आवश्यक नियम कानुन पनि व्यवस्थित गरी अघि बढ्न जरुरी रहेको बताइन्।  उनले सूचना र प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको चर्चा गरिन्। सूचना र प्रविधिको प्रयोगका कारण नागरिकले घरमै बसेर राज्यले प्रदान गरेका सेवाहरु लिनसक्ने अवस्थाको सिर्जना भइसकेको बताइन्। मन्त्री शर्माले पछिल्लो समय सूचना तथा प्रविधि आर्थिक समृद्धिका लागि नवीनतम एवं उदीयमान क्षेत्रको रुपमा स्थापित भएको दाबी गरिन्।  निजी क्षेत्रले अहिले पनि सूचना तथा प्रविधि सेवा निर्यातमार्फत वर्षेनी अर्बौं वैदेशिक मुद्रा भित्र्याइरहेको, करिब एक लाख युवाले देशभित्र रहेर विभिन्न देशमा सूचना तथा प्रविधि निर्यात गरिरहेको बताइन्। उनले सूचना, प्रविधि क्षेत्रको व्यवस्थित विकास गर्दै आवश्यक लगानी आकर्षित गर्न सके देशलाई समृद्धितर्फ अघि बढाउन सकिने प्रष्ट पारिन्।  उनले भनिन्, ‘सूचना र प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेछ । सूचना र प्रविधिको क्षेत्रमा विश्व समुदाय धेरै अगाडि बढेको भए पनि हामीसँग अझै डिजिटलाइज गर्न बाँकी छ। एकातिर सबै ठाउँका जनताको सूचनामा पहुँच स्थापित गर्नुपर्नेछ भने अर्कोतिर सबै नागरिकले समान रुपमा यसको प्रयोग गर्ने अवस्था पनि सिर्जना गर्नुपर्नेछ । यसका लागि सरकार गम्भीर र प्रतिबद्ध छ ।’  सरकारसँग हातेमालो गर्दै सूचना र प्रविधिको विकास र प्रयोगमार्फत समृद्धिको यात्रामा अगाडि बढ्न यो अभियानमा यहाँहरु सबैको साथ सहयोगका लागि अपेक्षा गर्दछु । सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको छ, यसमा सूचना र प्रविधि महत्वपूर्ण आधार बन्ने उहाँको भनाइ छ । ‘अबको युग सूचना र प्रविधिको युग हो । यसमा व्यवस्थित लगानी गरेर वैदेशिक लगानी, सरकारी र निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहन गरी आवश्यक नियम कानुन पनि व्यवस्थित गरी अघि बढ्न सक्यौँ भने हामी हाम्रो लक्ष्यमा पुग्न सक्नेछौं’ उनले भनिन्। मन्त्री शर्माले सूचना तथा प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गइरहेकाले राज्यले सूचना तथा प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गरेको बताइन्। उनले सूचना तथा प्रविधि क्षेत्रमा भएको विकास र बिस्तारसँगै नेपालमा पनि सूचना प्रविधिको प्रयोगमा उल्लेख्य बढोत्तरी भएको चर्चा गरिन्। 

नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन

चितवन । नारायणी तटबन्धनको कार्य प्रगतिबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोलीले निरीक्षण गरेको छ ।तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको छ । यो कुल कामको ४० दशमलव ९९ प्रतिशत हो । वर्षातको समय नजिक आएसँगै प्रमुख दाहालले तटबन्धनको निरीक्षणमा सक्रियता देखाइन् ।आयोजनाका अनुसार अहिले ५ वटा प्याकेजको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम तीब्र रुपमा अघि बढेको छ । निरीक्षणका क्रममा प्रमुख दाहालले तटबन्धनको कार्य प्रगतिकोबारे  जानकारी लिनु भएको थियो । तटबन्धनका लागि अहिले केही  स्थानमा बिग बोल्डर (ठुलो चट्टान) झार्ने कार्य भइरहेको छ । यस्तै गोलाघाट क्षेत्रमा ड्याम बनाउने काम तीब्र रुपमा अघि बढेको छ। निरीक्षण पश्चात संचारकर्मीसँग कुराकानी गर्दै प्रमुख दाहालले समग्रमा कामको प्रगति सन्तोषजनक रहेको बताइन् ।अहिले अधिकांश विकास निर्माणको काममा ढिला सुस्ती भइरहे पनि तटबन्धनको काम सन्तोषजनक रहेको उनको भनाइ थियो ।   पहिलो चरणमा अति जोखिम रहेको २० किमीमा तटबन्धनको काम भइरहेकाले यसपछि प्राथमिकताका आधारमा तटबन्धको काम अगाडि बढ्ने उनले जानकारी दिइन्। तटिय क्षेत्रमा बसोबास गर्ने  जनतालाई धेरै नै जोखिम भएकाले नारायणी नदी व्यवस्थापन आयोजनाको सहकार्यमा डिपिआर निर्माण गरेको उल्लेख गरिन्। तटबन्धनको कार्यले जनताका जग्गाहरु सुरक्षित हुँदै गएको छ भने नदी उकासबाट निस्किएका जग्गालाई महानगरले संरक्षण गर्ने प्रमुख दाहालले बताइन्। तटबन्धको कार्यले निरन्ता दिदै गएपछि भरतपुरका लागि ठुलो उपलब्धी हुने उनको भनाइ थियो । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहर साहका अनुसार चितवनतर्फ ४० दशमलव ९९ र नवलपरासी तर्फ १९ दशमलव ०३ प्रतिशत काम सम्पन्न भइसकेको छ । तटबन्ध निर्माणमा आवश्यक पर्ने जग्गा प्राप्तीको लागि मुआब्जाको प्रावधान नरहेको कारण निशुल्क जग्गा प्राप्तीमा बाधा हुने गरेको प्रमुख साहले बताए। गुरुयोजना अनुसार बजेट विनियोजन नहुदाँ लक्ष्य समय सीमाभित्र आयोजना सम्पन्न गर्न नकिनेको उल्लेख गरे।तटबन्धको रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म झण्डै ५ किलोमिटर १ अर्ब १५ करोडको ठेक्का सम्झौता भएको हो । यसको काम ४० प्रतिशत काम पुरा भएको निर्माण कम्पनीले जनाएको छ । ।दोस्रो प्याकेज ५ किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म ४८ करोडको ठेक्का सम्झौता भएको छ । यो काम अहिले अन्तिम चरणमा पुगेको छ । सिसैदेखि बलुवासम्म झण्डै ५ किलोमिटर ३७ करोडको ठेक्का सम्झौता भएको छ । यो काम पनि ४० प्रतिशत भइसकेको छ । बलुवादेखि गोलाघाटसम्म २६ करोडमा ठेक्का सम्झौता भएको छ । करिब ४ हजार हेक्टर जग्गा नारायणी नदी उकासबाट आउने छ भने करिब १ लाख जनता लाभान्वित हुनेछन् ।  

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । तत्कालीन सरकारले २०७४ मा बुझाएको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो ।  चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याको समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन गरिनेछ । राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसंगतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो । शिक्षा मन्त्रालयले आयोगको सुझावअनुसार कार्यान्वयन प्रक्रिया सुरु हुने जनाएको छ । यस्तो छ प्रतिवेदन  

आईएमई र जीएमई रेमिटको एकीकृत कारोबार सुरू

काठमाडौं । रेमिट्यान्स कम्पनी आईएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबार सुरू भएको छ । मर्जरपछि आईएमई लिमिटेडको नाममा बुधबारबाट एकीकृत कारोबारको शुभारम्भ गरिएको हो । एकीकृत कारोबारको शुभारम्भ गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई सुरुवातको समय करिब २० प्रतिशतमात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको जानकारी दिए । उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमको पूर्ण पालना गर्दै अगाडि बढ्ने गरेको बताए । आईएमई ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको उनले बताए । त्यस्तै, उनले रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा सुरु गरेको आईएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको समेत बताए । त्यस्तै, आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले अवको दिनमा आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंकसहित सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले रेमिट्यान्स र बैंकिङ कारोबारलाई डिजिटल बनाउँदा पनि समस्या आउने गरेको बताए । मर्जरपछि कम्पनीको कारोबार वार्षिक साढे तीन खर्ब रुपैयाँभन्दा बढी हुने भएको छ । आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ रहेको पुँजी मर्जपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ कायम हुनेछ ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ। यस दिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ।चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।