पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ: अध्यक्ष ढकाल
ताप्लेजुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताउनुभएको छ।
ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।
उहाँले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गर्नुभयो।
उहाँले पाथीभरा केवलकारमा स्थानीयहरुलाई सतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताउनुभएको छ । संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उहाँले बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताउनुभयो ।
उहाँले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राख्नुभयो । उहाँले पाथीभरामा केवकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताउनुभयो ।
उहाँले स्थानीयहरुलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताउनुभयो । उहाँले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताउनुभयो ।
उहाँले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको बताउनुभयो । उहाँले केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो ।
उहाँले पाथीभरा केबकार आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
उहाँले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यवसायीक गतिविधि र राजश्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन शुरुवात गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘पाथीभरा केवलकार बनाउँदा स्थानीयहरुलाई के गर्नुपर्छ । त्यो गर्न तयार छौं । स्थानीय मानिसहरुलाई के सुविधा दिनुपर्छ त्यो भन्नुपर्यो । केबलकारले स्थानीय, बालबालिका तथा वृद्धवृद्धाहरुलाई दिने सुविधाको बारेमा उल्लेख गर्दै थप सेवा सुविधा आवश्यक परे छलफल गर्न तयार छौं।'
'हामी एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकमा पर्यटन विकास गर्ने र रोजगारी सिर्जना गर्ने अभियानमा छौं । समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा केवकारले ठूलो भुमिका निर्वाह गर्छ । अहिले नेपालमा वैदेशिक लगानी भित्र्याउनको लागि ठूलो खर्च गरिरहेका छौँ । तर हामी स्वदेशी लगानी विकास गर्छौं भनेर निजी क्षेत्र ताप्लेजुङ जाँदा चन्द्र ढकालको व्यक्तिगत फाइदाको लागि भनियो । मैले मेरो फाइदालाई मात्रै हेर्ने भए अन्य ठाउँमा पाँच तारे होटल खोल्ने थिए । होटल बनाएको भए यति धेरै झमेला आउने थिएन । सम्भावना भएको ठाउँमा पर्यटन र स्थानीय विकासको लागि हो । फाइदा मात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । स्वदेशी लगानीलाई निरुत्साहित गर्न खोज्नु गलत हो । सकेसम्म सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन चाहन्छौ ।’
जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि, रोकियो थिमिको जात्रा
काठमाडौं । थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ । जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको हो । २५ वर्षसम्म बन्द रहेको मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई ०५२ मा चेंडेका कृष्ण कृष्ण नानीचा श्रेष्ठले प्राण दिएका थिए । उनले जिब्रो छेड्ने जात्रालाई वर्षैपिच्छे निरन्तरता दिन भने सकेनन् । पुनः ०५७ र ०६३ मा गरी दश वर्षमा तीन पटक जिब्रो छेडाएर उनले थिमिबासीलाई सांस्कृतिक सभ्याताको परिचय दिए । कृष्ण नानीचा श्रेष्ठपछि एघारवर्षदेखि रोकिएको जिब्रो छेड्ने जात्रालाई ०७४ मा मध्यपुर थिमि–४, बालकुमारीका वीरेन्द्रभक्त गजुले फेरि सुरु गरे । अर्को साल उनको बुबाको निधन भयो । जिब्रो छेडाउन सकेनन् । गत वर्ष (२०७५) मा मध्यपुर थिमी–५ चोंडेका ४० वर्षीया बाल बालराम नानीले जिब्रो छेडाएर संस्कृति बचाए । यस वर्ष जिब्रो छेडाउन कोही तयार भएन । यो समाचार कान्तिपुर दैनिकमा छ ।
नेपाली सेनाले माग्यो दरखास्त
काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो । रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ । आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ ।
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
जनकपुर । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने प्रचलन रहेको छ । विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
उद्योग वाणिज्य संघ गुलरिया बर्दियाको कार्यसमिति निर्विरोध
बर्दिया । उद्योग वाणिज्य संघ गुलरिया बर्दियाको दशौं अधिवेशनबाट अध्यक्षमा पुनः देवेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । दशौं अधिवेशनले पान्डेसहित सम्पूर्ण पदका लागि निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरेको हो । भाईटल पोष्टमा ईन्द्रकुमार श्रेष्ठ प्रथम उपाध्यक्ष, सुरेन्द्र बगाले द्वितीय उपाध्यक्ष, बिष्णुकुमार सुनार तृतीय उपाध्यक्ष, मोहित पौडेल महा–सचिव, श्रीकृष्ण थारु सचिव, केशवप्रसाद रिजाल कोषाध्यक्ष, लिलाबहादुर सुनार सह–कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले तोकेको मनोनयनको समयमा सबैपदमा एकल उम्मेदवारी परेको हो । यस्तै, घनश्याम लोध, वसी अहमद इद्रिसी, पिताम्बर घिमिरे, जाकिर हुसैन मनिहार, सुमित्रा चौधरी, अशोककुमार के.सी., सुरेन्द्र गौतम, रमेश रावल, सर्दिप ढुंगाना, नविन चौधरी, महमद मैहमुद रजामिनार र अशोक राज पौडेल सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल
ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– “कोभिड महामारी र रुस युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो । त्यतिनै बेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो । हामी नेतृत्वमा आएपछिको करिब डेढ बर्ष हामीले यसरी काम गर्यौँ कि अहिले भने आशा जागेको अवस्था छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन् ।” महासंघले नै आम मानिसमा देखिएको निराशाको अवस्था चिर्नका लागि सरकारसँगको सहकार्यमा कामको थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनर्स्थापना गर्न सुधारका कामहरुको सुरुआत गरेर सरकारलाई दबाब दिएको र त्यसैको परिणामस्वरूप अहिले सकारात्मक परिणामहरु देखिएको अध्यक्ष ढकालको दाबी थियो । महासंघकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेका भन्दा फरक रहेको पनि उहाँको भनाई थियो । उहाँले भन्नुभयो– “पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ । कतिपय कानुनहरु नै बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्यौँ । सरकारलाई दबाब पनि दियौँ । हाम्रो समेत सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठओटा कानुन संशोधन पनि भए । हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धता अनुसारको लगानी ल्याउन सहजीकरण हुनेछ ।” यी कानुन संशोधनका क्रममा नेपालका राजनीतिक पार्टीहरुमा आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “यसअघि हामीले आर्थिक मुद्दा अर्थात् मुलुकको अर्थतन्त्रका विषयमा एकमत हुन दलहरुलाई पटक पटक आग्रह गरेका थियौँ । त्यसैले मलाई लाग्छ लगानी सम्मेलनकैदिन बिहान एकै पटक आठ ओटा कानुन अध्यादेशबाट ल्याउँदा पनि सबै दलको सहमति थियो, सबैले स्वागत नै गरे । हामीले पहिलेपहिले कुनै एक अध्यादेश जारी गर्दा पनि विपक्षी दलहरुले विरोध गरेको देखेकै थियौँ । यसरी महासंघको सक्रियता र एड्भोकेसीका कारण देशका सबै शक्ति विस्तारै एउटै मुद्दामा आएका छन् र लगानीको वातावरण पनि विस्तारै बन्दै गएको छ ।” यतिखेर जिल्ला जिल्लामा जाँदा साना व्यवसायीहरुले लौन हाम्रो सानोतिनो पुजी लगानी गर्ने ठाउँ बनाइदिनुपर्यो भन्ने गरेका प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई पनि एकतृत गरी ठूला लगानीमा लगाउन सक्ने बताउनुभयो । यस्तै पुँजीलाई बटुलेर राष्ट्रिय स्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्र सबैको सहभागितामा १० अर्ब को नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापाना भइसकेको जानकरी पनि उहाँले दिनुभयो । यो कम्पनीमार्फत् जहाँ जसलाई काम गर्नका लागि पुँजी पुगेको छैन उसले पनि इक्वीटीका रुपमा प्रयोग गर्न सक्ने तथा देशैभरि छरिएर रहेको पुजीलाई एकतृत गरी लगानी गर्न सकिने वातावरण यो कम्पनीमार्फत् सिर्जना हुने उहाँको भनाई थियो । देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासंघले गएको डेढ बर्षमा धेरै काम गरेको उदाहरण पेश गर्दै अध्यक्ष ढकालले यो समय लगानीका लागि उचित सयम भएकाले लगानी गरी लाभ लिन सबैसँग आग्रह पनि गर्नुभयो ।
३ वटा सवारी ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते
विराटनगर, १८ फागुन । मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । शुक्रबार बिहान पूर्व –पश्चिम लोकमार्गको बेलबारी नगरपालिका १ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो । बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलाई पनि ठक्कर दिएको प्रहरीको भनाई छ । दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका २ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोमा सवार झापाको कमल गाउँपालिका(२ ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुष गम्भीर घाइते छन् । न्युरो अस्पताल विराटनगरमा उनीहरुको उपचार भइरहेको छ । घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएकोमा २ जनाको बाटो मै मृत्यु भएको हो । दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका(७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।
रवि पक्राउको विरोध रोक्न नसकेको भन्दै चितवनका सीडीओ र एसपी केन्द्रमा तानियो
काठमाडौं । सरकारले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवलाई केन्द्रमा तानेको छ । रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए । सोही घटना रोक्न नसकेको भन्दै दबाब बढेपछि सीडीओ यादवलाई गृह मन्त्रालयमा तानिएको हो । नयाँ सीडीओको रूपमा गृहले प्रकाश पौडेललाई पठाएको छ । अध्यागमन विभागको प्रमुख जिम्मेवारी सहसचिव गोविन्द रिजाललाई तोकेको छ । त्यस्तै, प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई पनि तानेको छ । एसपी रिमाललाई काज सरुवा गरेर मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ ।
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
कैलाली । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो। विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको छ। रासस
इलाम -२ मा माओवादीका उम्मेदवार धीरेन्द्र शर्मा
विराटनगर ।सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं.२ मा धीरेन्द्र शर्मा तिम्सिना ‘रमण’ उम्मेदवार सिफारिस भएका छन्। माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिस गरेको हो। उम्मेदवारका रूपमा एकल सिफारिस भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताएका छन् । २०७४ सालको चुनावमा उनी क्षेत्र नं.२ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन्। इलाम–२ मा नेकपा एमालेले स्व। नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू उम्मेदवार छन्।
लेबनानामा इजरायलको हमला, कम्तीमा ६० को मृत्यु
लेबनान ।लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ कि इजरायली आक्रमणमा लेबनानको पूर्वी बेका उपत्यकामा कम्तिमा ६० जनाको मृत्यु भएको छ। बाअलबेक क्षेत्रमा १६ स्थानहरूलाई लक्षित गरेका आक्रमणमा दुई बालबालिका समेत मारिएका छन्, अधिकारीहरूले भने। मन्त्रालयले ५८ जना घाइते भएको र उद्धार प्रयासहरू अझै पनि हिजबुल्लाहको गढ रहेको उपत्यकामा जारी रहेको बतायो। इजरायली सेनाले हालसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। इजरायलले गत पाँच हप्तामा लेबनानभरि हजारौं हवाई आक्रमणहरू गरेको छ, जसले हिजबुल्लाहका कार्यकर्ता, संरचना र हतियारलाई लक्षित गरेको बताएको छ। बाअलबेकका गभर्नर बाची खोदरले यी आक्रमणहरूलाई इजरायलले गत महिनामा हिजबुल्लाहविरुद्ध संघर्ष बढाएपछि क्षेत्रमा भएका "सर्वाधिक हिंसात्मक" आक्रमण भनेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएको अपुष्ट भिडियोहरूले भवनहरूमा क्षति र जङ्गलहरूमा आगो लागेको देखाएको छ, जहाँ उद्धारकर्ताहरू घाइतेहरूको खोजी गरिरहेका छन्। बुदाई सहरमा, सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोहरूमा मानिसहरूले उद्धारका लागि फसेका व्यक्तिहरूलाई निकाल्न भारी उपकरण पठाउन आग्रह गरिरहेका देखिन्छ। सोमबार बिहान, तटीय सहर टायरमा इजरायली हवाई आक्रमणमा सात जनाको मृत्यु र १७ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायलले सहरको केन्द्र छोड्नका लागि चेतावनी दिएको थियो। हिजबुल्लाहले सोमबार लेबनानको दक्षिणी सिमानामा इजरायली सेनासँग झडप गरेको र हाइफाको नजिकै इजरायल भित्रको एक नौसेना आधारमा रकेट प्रहार गरेको बतायो। लेबनान र इजरायलबीचको सिमावर्ती द्वन्द्व ८ अक्टोबर २०२३ मा हिजबुल्लाहले उत्तरी इजरायल वरपर र भित्र रकेट प्रहार गर्न थालेपछि सुरु भयो, जसको उद्देश्य प्यालेस्टिनीहरूको समर्थनमा थियो, त्यसको अघिल्लो दिन यसका सहयोगी हमासले दक्षिणी इजरायलमा घातक आक्रमण गरेको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयले उक्त समयमा लेबनानमा २,७०० भन्दा बढीको मृत्यु भएको र १२,४०० भन्दा बढी घाइते भएको बताएको छ। इजरायलले ३० सेप्टेम्बरमा दक्षिणी लेबनानमा नाटकीय रूपमा प्रवेश गरेर "सीमित, स्थानीयकृत, लक्षित आक्रमणहरू" मार्फत हिजबुल्लाहको हतियार र संरचना नष्ट गर्ने लक्ष्य राखेको बताएको छ। लेबनानको सरकारले यस द्वन्द्वका कारण १३ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको बताएको छ। स्रोतः बिबिसी विश्व सेवा
विश्वकपको फाइनलमा दक्षिण अफ्रिकासँग भारत भिड्ने, इङ्ल्यान्ड स्तब्ध
काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो। यसअघि सन् २०१४ को विश्वकपमा भारतले फाइनल खेलेको थियो। त्यतिबेला श्रीलंकासँग ६ विकेटले पराजित भएको भारत यो पटक उपाधि चुम्ने दाउमा छ। दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो। फाइनल खेल शनिबार हुने छ । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६।४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक २५ रन बनाए । १९ बलको सामना गरेका उनले तीन चौका प्रहार गरे । उनलाई भारतका कुलदीप यादवले बोल्ड गरेका थिए। त्यस्तै ओपनर जोस बटलरले १५ बलमा २३ रन बनाए। अर्का ओपनर फिल साल्ट ५ रनमा आउट भए। मोइन अलीले ८ रन बनाउँदा लियाम लिभिङस्टोने ११ रनमा रन आउट भए। जोफ्रा आर्चरले १४ बलमा दुई छक्का र एक चौका सहित २१ रन बनाए। भारतका लागि कुलदीप यादव र अक्षर पटेलले समान तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका यादवले १९ रन खर्चिदा त्यति नै ओभर बलिङ गरेका पटेलले २३ रन खर्चिए । यसअघि गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएका थियो। उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । ३९ बलको सामना गरेका रोहितले ६ चौका र २ छक्का प्रहार गरे । उनलाई १४ औं ओभरको चौथो बलमा इङ्ल्यान्डका आदिल रासिदले बोल्ड गरेका थिए । यस्तै सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन बनाए । हार्दिक पाण्ड्याले २३ रन बनाउँदा रविन्द्र जडेजा १७ मा नट आउट रहे । भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको थियो । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका जोर्डनले ३७ रन खर्चिए । त्यस्तै रीस टोपले, जोफ्रा आर्चर, सैम करन र आदिल रशीदले समान एकएक विकेट लिए । भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले पनि यो विश्वकपमा हार ब्यहोरेको छैन् ।
कोसी सरकारविरुद्ध प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता (संकल्प प्रस्तावसहित)
विराटनगर । कोसी प्रदेश सरकारविरुद्ध नयाँ गठबन्धनका दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संकल्प प्रस्ताव दर्ता गरेका छन्। सोमबार कोसी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलाई दुई दलले संकल्प पत्र हस्तान्तरण गरे। वैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने बेहोरासहितको संकल्प प्रस्ताव दर्ता गरेका हुन्। राजीनामा नदिए वा विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने बेहोरा संकल्प प्रस्तावमा उल्लेख गरिएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ४७ को उपनियम १ बमोजिमका सर्तका अधिनमा रही सोही नियमावलीको नियम ७० को उपनियम १ को खण्ड (ग) बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको जनाइएको छ। यस्तो छ संकल्प प्रस्ताव
शिक्षक महासंघको महाधिवेशन आज सुरु हुँदै
काठमाडौं। नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आज सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने घोषणा गरेको छ । महासंघको विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो । महासंघको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाए । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि संगठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गरे ।
नेप्से १२७.३२ अंकले बढ्यो, कारोबार रकम पनि बढ्यो
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार एकैदिन १२७.३२ अंकले बढेर बन्द भएको छ ।कारोबार आठ दिनको घटेको सेयर बजार उच्च अंकले बढेको हो । आज नेप्से परिसूचक ४.७२ प्रतिशतले बढेर २८२३.२५ विन्दुमा बन्द भएको हो । १३ अर्ब १० करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । २३९ कम्पनीको सेयर मूल्य बढेको छ । पाँच कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक सर्वाधिक वृद्धि फाइनान्स समूहको भएको छ ।
सांसद आचार्यको पहलमा बुढीगंगाका दुई सामुदायिक विद्यालयमा पुग्यो बस
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालयले भारत सरकारको अनुदान सहयोगमा दुईवटा बस प्राप्त गरेका छन् । कोशी प्रदेश सभा सदस्य जीवन आचार्यको पहलमा बुढीगंगा गाउँपालिका २ मा रहेको नरग्राम माध्यामिक विद्यालय र वडा नम्बर ५ मा रहेको कर्मवीर माध्यामिक विद्यालयले एक/एक वटा १८ सिट क्षमताको माइक्रो बस प्राप्त गर्न सफल भएका हुन् । विराटनगर महानगरपालिकाले एउटा बस स्कुल बस प्राप्त गर्दा छिमेकी गाउँपालिकाका दुई वटा विद्यालयले दुई वटा बस प्राप्त गर्नुमा सांसद आचार्यको पहलले काम गरेको कर्मवीर माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बलभद्र सरदारले बताए । अध्यक्ष सरदारले भने ‘हामीले माननीय आचार्यलाई स्कुल बस आवश्यक परेको भन्दै पहल गरिदिन आग्रह गरेका थियौं, उहाँकै पहलबाट बस प्राप्त गर्न हामी सफल भएका छौं ।’ कक्षा १२ सम्म पठनपाठन हुने कर्मवीर माध्यामिक विद्यालयसँग अहिलेसम्म एउटा पनि स्कुल बस थिएन । बस नहुँदा टाढाका बस्तीबार विद्यार्थीलाई विद्यालय ल्याउन र साना नानीहरुलाई सामुदायिक विद्यालयमै ल्याउन समस्या भएकोले विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकसमेतले बसको जरुरी रहेको बताएका थिए । अध्यक्ष सरदारले भने ‘अहिले एउटै मात्र भए पनि निकै राहात पुगेको छ, विद्यालयमा अरु पनि बस आवश्यक छ । थप बस ल्याउनका लागि सरकार र दातृ निकायसँग पहल गरिदिन माननीय ज्यूलाई हामीले आग्रह पनि गरिरहेका छौं ।’ नरग्राम माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलास केसीले पनि भारतीय राजदूतावासको सहयोगमा स्कुल बस प्राप्त गरेको बताए । विद्यालयमा थप स्कुल बस आवश्यक भएको बेला आफ्नो निर्वाचन क्षेत्रका सांसद तथा पूर्व मन्त्री जीवन आचार्यले बस उपलब्ध गराउन महत्वपूर्ण सहयोग गरेको उनले बताए । बस हस्तान्तरण कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष तथा अरु प्रतिनिधिहरु पनि काठमाडौं पुगेका थिए । सांसद जिवन आचार्यमार्फत बस प्राप्त गर्न सफल भएपछि दुवै विद्यालयका प्रतिनिधिहरुले आचार्यबाट चाबी हस्तान्तरण गरेको डेमो तस्बिरसमेत खिचाएका थिए । भारतीय राजदूतावासले हरेक वर्ष यहाँका शिक्षालयहरुको सहयोगका लागि बस र स्थानीय तह, अस्पताल तथा स्वास्थ्य चौकीहरुका लागि एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ । यस वर्ष पनि ६६ वटा स्कुल बस र ४५ वटा एम्बुलेन्स वितरण गरेको थियो । भारतीय राजदूतावासले वितरण गरेका बस र एम्बुलेन्सहरु यस पटक पहाडी जिल्ला र पश्चिम नेपालतर्फ धेरै गएको थियो । भारतीय राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रहेका वर्षमान पुनले विभिन्न पालिका र विद्यालयका प्रतिनिधिहरुलाई बस तथा एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

