दुवईमा घरेलु कामदारको सुरक्षा अवस्था श्रममन्त्री श्रेष्ठद्वारा अवलोकन

अवुदावी। संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोलीले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाहरुबाट जानकारी लिएका छन् ।

बुधवार दुवईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्था (तडवीर सेन्टर)मा भ्रमण गरी घरेलु कामदारको कार्यस्थल अवस्था, कानूनी व्यवस्था, पारिश्रमिक, विदा, सामाजिक सुरक्षा, हिंसामा पर्नसक्ने जोखिम तथा सुरक्षाको प्रत्याभूति लगायतबारे जानकारी लिएका हुन् । सो अवसरमा युएईका सरकारी अधिकारी तथा तडवीर सेन्टर सञ्चालकले युएईमा घरेलु कामदारको सुरक्षा प्रत्याभूति रहेको बताएका थिए । उनिहरुले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउनुपूर्व गर्नुपर्ने तयारी, घरेलु कामदारको अधिकार तथा सुरक्षाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

सरकारले २०७३ सालदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपनि अवैध बाटोबाट आउने क्रम रोकिएको छैन ।

हालै सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । कानूनी बाटोबाट कामदार पठाउँदा भन्दा गैरकानूनी बाटोबाट जाँदा जोखिम बढेकोले कामदारलाई सुरक्षित र वैधानिक तरिकाले काम गर्ने वातावरण मिलाउनुपर्ने आवाज पनि उठेको छ ।

मन्त्री श्रेष्ठले घरेलु कामदारका रुपमा जाने श्रमिकलाई सुरक्षाको प्रत्याभूति दिने र व्यवस्थित बनाउनेबारे सरोकारवलाहरुसँग छलफल गर्दै आएका छन् । मंगलवार नेपाल र युएई संयुक्त समितिको बैठकमा पनि यसबारे छलफल भएको थियो ।

आज इन्द्रजात्रा, अनन्त चतुर्दशी मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आरधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ । रासस

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ घटेको हो ।  आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।  आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

एसियाली करातेमा एरिकालाई ऐतिहासिक रजत

नेपालकी एरिका गुरुङ एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जित्न चुकेकी छिन्। चीनमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथिको स्वर्णको भिडन्तमा एरिका भियतनामकी नाओन थि नुयेनसँग पराजित भएकी हुन्।  चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिका भियतनामकी खेलाडीविरुद्ध अंक जोड्न चुकिन्। यद्यपी एरिकाले शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी थिइन्। एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म पदकविहीन बनेको नेपालका लागि एरिकाले फाइनल प्रवेश गरेर पहिलो पकद जित्दै इतिहास रचेकी थिइन्।  एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन्। क्वार्टरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी काजकिस्तानकी सोफिया बेरुल्टसेभा थिइन्। एरिका र सोफिबीचको खेल १–१ को बराबरीमा टुंगिएको थियो। …रेफ्रीÚ निर्णयका आधारमा एरिका विजयी भइन्। पहिलो अंक एरिकाले बटुलेकी थिइन्।  सोफिया तीनै खेलाडी हुन जसले एरिकालाई १९ औं एसियाली खेलकुदको फाइनलमा ३–० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन्। १९ औं एसियाली खेलकुदको कराते पनि यही हल भएको थियो। सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउदै फाइनल यात्रा तय गरिन्। एरिकाको यो पाँचौ अन्तर्राष्ट्रिय सहभागिता हो। कुनैपनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन।  एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत जितेकी थिइन्।  यस्तै भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। यी सबै प्रतियोगिता करिब १ वर्षको अवधिमा भएका थिए। सबै प्रतियोगितामा उनको प्रशिक्षक कुशल श्रेष्ठ थिए।

नेपाल प्रहरीले राज्यप्रतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको छ : प्रधानमन्त्री

नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड

आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको बताएका छन् ।  बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कारोबारहरूलाई अनलाइनमाध्यमबाट गर्न सके कारोबार पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने बताए ।  उनले आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ लिइएको भन्दै नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरुमा आइटी पनि मुख्य लगानीको क्षेत्र बनेको बताए ।  उनले भने, “भर्खरै सम्पन्न लगानी सम्मेलनमा प्रधानमन्त्रीज्यूबाट र मान्य मन्त्रीज्यूबाट नेपालकै तर्फबाट जुन एउटा आईटी क्षेत्रलाई एकदमै प्राथमिकताका साथ राखिएको र नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरूमा आईटी पनि मुख्य लगानीको क्षेत्र हो भनेर प्राथमिकताका साथ राखिइएको छ यो महत्वपूर्ण छ। आइटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको छ । यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ । हामीले जति पनि कारोबारहरू हुन्छ, कारोबारहरु पारदर्शी गर्ने हिसावमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ । सहज हिसावले काम गर्ने वातावरण बन्छ। डिजिटल सिग्नेचरको कुरा हामीले उठाइरहेका छौं, केही यसलाई अझै कार्यान्वनममा ल्याउन त्यत्तिकै महत्वपूर्ण छ ।” अध्यक्ष ढकालले डिजिटल हस्ताक्षरलाई कार्यान्वनममा ल्याउन आवश्यक रहेको बताए । 

पर्वतका ७० वनमा डढेलो लाग्दा १४०० हेक्टर जंगल नष्ट

पर्वत । पर्वत जिल्लाका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकका अनुसार हालसम्म एक हजार चार सय १६ दशमलव छ हेक्टर वन–जङ्गल डढेलोले सखाप परेको छ । पर्वतमा गत चैत २२ गते जलजला गाउँपालिका–१ को देउराली सामुदायिक वन र जलजला वडा नं ५ को सिमल्टेचौर सामुदायिक वनबाट आगो लाग्न सुरु भएको हो । बुधबारसम्म ७० सामुदायिक तथा राष्ट्रिय वनमा आगो लागेको विकले जानकारी दिए । हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ । डढेलोले जङ्गलमात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पारेको छ । जिल्लामा वन्यजन्तु तथा मानवीय क्षति नभएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ । जिल्लामा गत चैतमा खासै डढेलोका घटना नभए पनि वैशाख लागेसँगै यहाँ रहेका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागेको सहायक वन अधिकृत विकले बताए । गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् । विकले भने, ‘जनचेतना र प्रचार–प्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ, यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ ।’ डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न सञ्चारमाध्यममा प्रचार–प्रसारका सामग्री प्रसारण तथा प्रकाशित गरिएको छ । जिल्लाका तीन सुरक्षा निकायलाई एक–एक अग्नि सेट उपलब्ध गराउनुका साथै सामुदायिक वन उपभोक्ता समितिमार्फत सचेतना गोष्ठी र अग्नि नियन्त्रण डेमो प्रदर्शन गरिएको उनको भनाइ छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले अनुरोध गरेको छ । जिल्लामा वन डढेलो प्राकृतिक कारणले मात्र नभएर मानवीय कारण धेरै हुने गरेको छ । वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बनेको छ । मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ । जिल्लामा कुल भूमि ५४ हजार दुई सय १० हेक्टरमध्ये वन क्षेत्र २७ हजार छ सय ४० हेक्टर (५१ प्रतिशत) मा फैलिएको छ ।

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

काठमाडौं । जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा भएका छन्। जिल्लाको कनकासुन्दरी गाउँपालिका, हिमा, सिंजा, चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिका साक्षर गाउँपालिकाका रूपमा घोषणा भएका हुन्। साक्षर घोषणा गर्न तोकिएका सूचकहरू पूरा भएपछि साक्षर गाउँपालिका घोषणा गरिएको नागरिक दैनिकमा खबर छ । कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, हिमा गाउँपालिकामा ९६ प्रतिशत, सिंजामा ९६.५ प्रतिशत, चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत र पातारासीमा ९५.२४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ। कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले साक्षर नगर घोषणा गरेका छन्। मन्त्री भण्डारीले शुक्रबार प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेरै कनकासुन्दरीलाई घोषणा गरेका गरे। उनले गुणस्तरीय शिक्षा अहिले आवश्यकता रहेको बताए। यस्तै पातारासी गाउँपालिका कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले साक्षर पालिका घोषणा गर्नुभएको हो। उनले हिमा गाउँपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री बिजया बुढा र सिंजा गाउँपालिकालाई अध्यक्ष पूर्णप्रसाद धितालले साक्षर घोषणा गरेका हुन्। तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार धमाधम स्थानीय तह साक्षर घोषणा भइरहेका छन्। कनकासुन्दरी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन रोकायाले कुल १३ हजार ६ सय २५ जनसंख्या रहेको गाउँपालिकामा ९७ प्रतिशत नागरिक साक्षर रहेको बताए। यता पातारासी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अविराज उपाध्यायले १५ देखि ६० वर्षसम्मका १० हजार ४२ जनसंख्या मध्ये ९५.२४ प्रतिशत नागरिक साक्षर भएको उपाध्यायले बताए। उनका अनुसार, एसएलसि वा एसईई पास गरेका ९ सय २८, कक्षा १२ पास गरेका ६ सय ६४, स्नातक तह उत्तीर्ण एक सय ४९ र स्नात्तक तह उत्तीर्ण गरेका ४९ जना छन्। प्रारम्भिक बाल विकास केन्द्रमा ६ सय ३३, आधारभुत हत (१–५) मा ३ हजार ४, आधारभुत हत (६–८) मा १ हजार ३ सय ४५, माध्यमिक तह (९–१०) मा ७ सय १३ र माध्यमिक तह (११–१२) मा ३ सय ६२ जना विद्यार्थी अध्ययनरत छन्। गाउँपालिकाभित्रका रहेका १६ देखि ६० वर्षसम्मका १७ हजार निरक्षरलाई गत वर्षको वैशाख देखि गत असारसम्म साक्षर बनाइएको बताए। यता चन्दनाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले कुल २१ हजार ३६ जनसंख्या रहेको नगरपालिकामा ९८ प्रतिशत नागरिक साक्षर रहेको बताए। उनका अनुसार गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसंख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने ३ सय ८० जनामात्रै भेटिएका थिए। उनीहरूलाई साक्षर बनाएसँगै नगरपालिका साक्षर घोषणायोग्य मानिएको हो। सिंजा गाउँपालिकाले कुल जनसंख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ। शिक्षा शाखा प्रमुख शंकर धितालले जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भए पनि वडागत रूपमा संकलन गरिएको तथ्यांकले साक्षर गाउँपालिका घोषणायोग्य देखिएपछि गाउँपालिका नै साक्षर घोषणा गर्न संभव भएको बताए।हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्यालकुलेटर चलाउन सक्ने, आफ्ना भावना व्यक्त गर्न सक्ने जस्ता सूचकहरू पूरा भएपछि पालिका साक्षर घोषणा गरिएको अध्यक्ष पूर्णप्रसाद धितालले बताए। यस्तै हिमा गाउँपालिको कुल जनसंख्या १२ हजार ८ सय ४ रहेकोमा १२ हजार २ सय २५ जना साक्षर छन्। हिमाका १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसंख्या साक्षर रहेको र मात्र ४.२८ प्रतिशत निरक्षर छन्। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले शिक्षक, सामाजिक परिचालक र कर्मचारीहरू साक्षर नागरिकको तथ्यांक संकलनका लागि गाउककबस्तीमै पुगेका थिए।   गाउँपालिकाको तथ्यांकअनुसार, ५५ जनाले स्नातकोत्तर तह, १ सय ५५ जनाले स्नातक तह, र ८ सय  जनाले आइएड तह उत्तीर्ण गरेका छन्। उच्च मावि पास गरेका १ हजार १ सय ९६, एसएलसी पास गरेका ९ सय ५० र एसइई पास गरेका १ हजार ६ सय ४८ जना रहेका छन्। बालविकासको क्षेत्रमा ४ सय २२ जना सामान्य साक्षर छन् भने ५ हजार ३ सय जना विद्यालय उमेरका बालबालिका साक्षर छन्। जिल्लाका अन्य तीन स्थानीय तहले पनि साक्षर पालिका घोषणा गर्न वडास्तरमा कर्मचारीहरू परिचालन गरेर तथ्यांक संकलन गरिरहेका छन्। शिक्षक, अभिभावक, स्थानीय नागरिक र जनप्रतिनिधिहरूसँग घनिभूत छलफल गरिरहेको छन्। तातोपानी,गुठिचौर र तिला गाउँपालिका साक्षर गाउँपालिका घोषणा गर्न लागि परेका छन्।

सरकारी भवनमा स्वदेशी काठ प्रयोग गर्न बागमती प्रदेशको प्रस्ताव

हेटौंडा । सरकारी र सामुदायिक भवन निर्माणमा स्वदेशकै काठ प्रयोगका लागि नीतिगत व्यवस्था मिलाउन बागमती प्रदेश सरकारले संघीय सरकारसँग माग गरेको छ । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेलले संघीय सरकारका वन तथा वातावरणमन्त्री नवलकिशोर साहलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वदेशी काठ प्रयोगका लागि नीतिगत व्यवस्था गर्न आग्रह गरेका हुन् । ध्यानाकर्षणपत्रमा नयाँ बन्ने सरकारी कार्यलय र सरकारी अनुदानबाट बन्ने सामुदायिक भवनमा युपिभिसी प्रयोगमा रोक लगाउनुपर्ने उल्लेख छ । पोखरेलले २० चैतमा पदभार ग्रहण गर्दै पहिलो निर्णय नै युपिभिसी तथा आयातित काठको प्रयोग रोक्न स्वदेशी काठको प्रयोग अनिवार्यताका लागि नीतिगत व्यवस्था गर्ने निणर्य गरेका थिए । मलेसियालगायतका देशबाट आयात भएका कमजोर काठ बिक्री भएको तर स्वदेशी काठ बिक्री नभएर कुहिने अवस्थामा रहेको भन्दै मन्त्री पोख्रेलले चिन्ता व्यक्त गरेका छन् । वनमन्त्री साहलाई मन्त्री पोख्रेल, प्रदेश वन मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले भेटेर १८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्रमा राष्ट्रिय वन क्षेत्रको एकीकृत रणनीतिक योजना यथाशीघ्र तयार गर्ने, वन ऐन २०७६ को दफा ६२ उपदफा २ अनुसार वन अपराध नियन्त्रण, मुद्दा तहकिकात तथा दायरीको लागि अनुसन्धान अधिकृत सम्बन्धि नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने, सबै प्रदेशमा वन व्यवस्थापनका कार्यक्रमहरुमा एकरुपता ल्याउन दीगो वन व्यवस्थापनका राष्ट्रिय मापदण्ड तयार गरी लागू गर्न भनिएको छ ।

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी व्यापक हेरफेर

काठमाडौं। मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवारी तोकिनुका साथै त्यहाँ कार्यरत सहसचिवहरुको जिम्मेवारीमा व्यापक फेरबदल गरिएको छ। मन्त्रालयका अनुसार दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी दिइएको छ। यस्तै कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ। यसैगरी यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, हरिशरण पुडासैनीलाई भन्सार विभागको महानिर्देशक, रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ। त्यसैगरी उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालयअन्तर्गतको जिम्मेवारी तोकिएको छ। यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो।

नेप्सेमा ८.१८ अंकको करेक्सन

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्सेमा मंगलबार ८.१८ अंकले करेक्सन आएको छ।  परिसूचक लगातार चार दिन उच्च अंकले बढेकोमा आज परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। आज २१ अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । ८० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । यस दिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको सेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक १.५७ प्रतिशतले बढेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक २.२५ प्रतिशतले घटेको छ । 

वडा कार्यालयको सभाहलभित्र महिलाको शव फेला, अनुसन्धान जारी

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा कार्यालयभित्र एक महिला मृत्त फेला परेकी छन् । वडा नं १८ को  कार्यालयको सभाहलभित्र महिलाको शव भेटिएको हो । कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार दार्चुलाकी २० वर्षीया प्रमिला धामीको शव फेला परेको हो । धामीले एक नगरप्रहरीसँग विवाह गरेर कञ्चनपुर आएको खुलेको छ । उनको शव भुन्डिएको अवस्थामा फेला परेका कारण आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले वडाकार्यालयको सीसीटीभीमार्फत अध्यनन सुरु गरेको जनाइएको छ ।  

एमाले तनहुँमा कँडेल निर्वाचित

तनहुँ । नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । मंगलबार सकिएको मतगणनामा कँडेलले २ सय ९२ ल्याउँदा सिग्देलले २ सय ४ मत पाएका थिए। जिल्ला अध्यक्षमा निर्वाचित भएका कँडेल स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट हुन् । त्यसबाहेक अन्य पदाधिकारीमा पनि अधिकारी समूहले पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहलाई पराजित गरेको छ। जिल्लाका केन्द्रीयस्तरका नेताहरु किरण गुरुङ, टुकराज सिग्देल, भगवती न्यौपानेले खगराजकै समूहलाई समर्थन गरेका थिए । उपाध्यक्षमा खगराज समूहका राजेश्वर ढकालले २ सय ७९ मत पाएर विजयी भए भने पृथ्वीसुब्बा समूहका श्रीराम कार्कीले २ सय १४ मत प्राप्त गरे । सचिवमा प्रदीपराज अधिकारी विजयी हुँदा अनिल पाण्डे पराजित भए । खुल्ला उपसचिवमा आरके पोखरेललाई हराउँदै खिमबहादुर कुमाल विजयी भए । त्यस्तै, महिला उपसचिवमा सुनिता नेपाली विजयी हुँदा बसुन्धरा घर्ती पराजित भइन् । विजयी सबै अधिकारी प्यानलकै हुन् । ५ सय ८५ प्रतिनिधि रहेको अधिवेशनमा ५ सय ६० मत खसेको थियो ।

तोलामा चार सयले घट्यो सुन

काठमाडौं।  नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ४ सय रुपैयाँले घट्दै १ लाख ४१ हजार २ सय रुपैयाँमा झरेको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।  चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन विहीबार चाँदी प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो । 

महानगरको सक्रियतामा ठुला आयोजना निर्माण सम्भव भएका छन् : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठुला विकास निमाणका आयोजना अघि बढेको बताएकी छिन्। नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर १२ धनगढा मन्दिर परिसरमा आयोजना भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा उनले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठुला आयोजना निर्माण सम्भव भएको दाबी गरिन्।  पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, भरतपुर विमानस्थलको विस्तारको काम, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्धनलगायत धेरै काम अवनरतको पहलकदमी र नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण आजको भरतपुर बन्न सफल भएको प्रमुख दाहालको भनाई छ ।  'नारायणगढ बुटवल सडकखण्ड शिलान्यास भईसक्दा पुलचोक गोन्द्राङ सडकको विस्तरको काम भएको थिएन, संघीय बजेट भएपनि महानगरले नेतृत्व लिएको प्रष्ट पारिन् । विमानस्थल विस्तार गर्ने भनिए पनि भएको थिएन, महानगरले निरन्तर सक्रियता लिएर अहिले विस्तारको काम सुरु भएको छ,' उनले भनिन्।  'रंगशाला अलपत्र बनेको थियो, अथक मिहिनेतपछि अहिले टेण्डरको काम अघि बढेको छ, भ्रमण वर्ष आयोजना गरि देशमै ठुलो सन्देश प्रवाह गर्न सफल भयौ', उनले भनिन -'काम गर्नेलाई यसले गरेको हो भन्न सक्नुपर्छ' उनले भनिन् 'काम गर्ने र गफ गर्नेलाई एउटै डालोमा राख्दा काम गर्नेलाई अन्याय हुन्छ। यो छुट्टाउने काम जनता हो। जनता जनार्दन हुन्छन्।' भरतपुरको आफ्नो ७ वर्षे कार्यकालमा धेरै काम भई सकेको र बाँकी ३ वर्ष पनि धेरै काम गर्न सकिने प्रमुख दाहालको धाराणा थियो।  जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ। २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए।  सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए। त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरुपमा गरेको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए । त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो।

वनको काठ हिनामिना प्रकरणमा मुछिएका राप्रपा सांसद यादव निलम्बित

बुटवल । कपिलवस्तुस्थित एक सार्वजनिक वनको काठ हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकी प्रसाद यादव निलम्बित भएका छन्।  कपिलवस्तु क्षेत्र नम्बर ३ (२)बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो।  लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै स्वतः निलम्बन गरिएको जानकारी गराएको छ।  ‘सचिवालयमा प्राप्त हुन आएकोले लुम्बिनी प्रदेश सभा सदस्य श्री जानकी प्रसाद यादव भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ को कानूनी व्यवस्था बमोजिम मिति २०८०/११/०८ देखि प्रदेश सभा सदस्य पदबाट स्वतः निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ,’ उनले भनेका छन्। गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्काली अध्यक्ष यादवविरुद्ध अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ ६५ पैसा बिगोसहित मुद्दा चलाएको थियो। यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा उक्त ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी पाउन र त्यही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर गरी पाउन मागदाबी लिइएको अख्तियारले जनाएको छ।