गण्डकीमा थपिँदै दुई मन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले आफ्नो दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् ।

स्रोतका अनुसार, थपिएका मन्त्रीलाई शपथ खुवाउने तयारी रहेको छ ।

फ्रान्समा चरम दक्षिणपन्थी पार्टीको भारी अग्रता, बामपन्थी दल दोस्रो स्थानमा

पेरिस । फ्रान्समा चरम दक्षिणपन्थी दलले निर्वाचनमा विजय हासिल गर्ने देखिएको छ।आजदेखि शुरु मतदानको प्रारम्भिक अनुमान अनुसार, प्रमुख प्रतिपक्षी दल फार राइट नेशनल र्याली पार्टीले ३४ प्रतिशत मत पाएर अग्रता पाउने संकेत देखिएको बताइएको छ।  वामपन्थी गठबन्धनले भने २८.१ मत पाउने र सत्तारुढ राष्ट्रपति इम्यानुअल म्याक्रेनको दलसम्मिलित गठबन्धनले २०.३ प्रतिशत मत पाउने अनुमान गरिएको सिएनएनले जनाएको छ। मतगणनाको परिणाम ७ जुलाइमा आउने भएपनि यो अनुमानलाई तथ्यपरक मानिन्छ।  नेशनल र्याली दल फ्रान्सको राष्ट्वादी दक्षिणपन्थी दलका रुपमा चिनिन्छ। फ्रान्सेली पहिचानको नारा दिएर उदय भएको यो दल यसअघि भने कहिल्यै पनि सत्तामा पुग्न सफल भएको थिएन। तर पछिल्ला दिनहरुमा अवैध अप्रवासनविरुद्ध चर्को आवाज उठाउँदै आएको यो पार्टीले जनताको उल्लेख्य समर्थन बटुल्न सफल भएको देखिन्छ। यो दलले आप्रवासीसम्बन्धि अमेरिकी पूर्व राष्टे्रपति डोनाल्ड ट्रम्पजस्तै धारणा राख्दछ।  अर्कोतर्फ युरोपियन यूनियनको पुनःसंरचना गर्नुपर्ने तथा नर्थ अटलान्टिक सन्धी संगठन (नाटो)बाट फ्रान्स बाहिरिनुपर्ने मत समेत यसले राख्दछ । तर आन्तरिकरुपमा भने यसले फ्रान्सले पहिचानको नारा दिएकोले यसले लोकप्रियता बटुलेको देखिन्छ। 

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ३६ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३५ हजार ७५० मा कारोबार भएको थियो ।   त्यसैगरी आज चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा स्थिर रहँदै प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मध्यपूर्वमा अशान्तिको चिन्ता : हमासका नेताको हत्या अमेरिकाले गरेको इरानको आरोप

जेरुसेलम । हमासका नेता इस्माइल हानियेको इरानमा हत्या भएपछि इरानले यो हत्याको आरोप अमेरिकालाई लगाएको छ । यस घटना र इजरायल हमास युद्धलाई लिएर पक्ष विपक्षमा बहस हुनुका साथै, अबको मध्यपूर्वले लिने बाटोका बारेमा चासो चिन्ता बढेर गएको छ । संयुक्त राष्ट्र सङ्घका लागि प्यालेस्टाइनका डेपुटी पर्मानेन्ट अफिसर फेदा अब्देलहादी नासेरले इजरायलले मध्यपूर्वमा अपराध गरीरहेको तथा राष्ट्र सङ्घले यसलाई रोक्न नसकेको आरोप लगाएकी छिन्। उनले गएको ३०० दिनमा एक लाख ३० हजार प्यालेस्टाइनी मारिएकाले यस पारदर्शिता खोजिरहेको पनि बताइन्। इरान भने अमेरिका प्रति नै आक्रामक भएको छ। इरानले अमेरिकाको संलग्नता बिना हानियेको हत्या हुनै नसक्ने जनाएको छ। बुधबार नै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा इरानका स्थायी प्रतिनिधि सइद इराभानीले सो कुरा राखेकी हुन्। अमेरिकाले भने संयुक्त राष्ट्र सङ्घले इजरायललाई साथ दिने पर्ने अडान राखेको छ। अमेरिकी डेपुटी एम्बसडर रोबर्ट उडले हलिबूल्लाह लगायत आतङ्कवादी समूहको आक्रमण बाट बचाउन इजरायललाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। त्यसैगरी बुधबार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्मा यस विषयमा कुरा राख्दै इजरायलका जोनाथन मिलरले इरानले अपराधीलाई संरक्षण गरेकाले यसमा सुरक्षा परिषद्ले चासो दिनु पर्ने बताए। उनले हमास र हजिबुल्लाहलाई इरानले संरक्षण दिएका कारण मध्यपूर्वमा समस्या बढेको बताए। इजरायलले हानियेको हत्या कस्ले गर्यो भन्ने संसय पैदा भैरहेका बेला सो हत्याको जिम्मेवारी लिने र नकार्ने काम कसैले गरेका छैनन् । संयुक्त अरब इमिरेट्सले भने कसैको पक्ष लिएको छैन। इमिरेट्सका विदेश मन्त्री अनबर मोहम्मद गरगासले पछिल्लो घटना क्रमले मध्यपूर्वमा अशान्ति बढ्दै गएको र सबै देशमा यसको असर परेको बताएका छन्। उनले यो क्रम रहे सिङ्गो मध्यपूर्व नै समस्यामा रहन सक्ने कुरामा समेत जोड दिएका छन्।

सुनको मुल्य उच्च विन्दुमा स्थिर, चाँदीको घट्यो

काठमाडौं । मंगलबार उच्च मूल्यमा पुगेको सुनको भाउ बुधबार स्थिर रहेको छ । अघिल्लो दिन कायम मूल्यमै आज पनि सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव न्यून रहेपछि नेपाली बजारमा मूल्य स्थिर राखिएको महासंघले जानकारी दिएको छ ।  चाँदीको मूल्य भने आज घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७५० रुपैयाँ रहेको चाँदी आज १ हजार ७१५ रुपैयाँमा कारोबार भैरहेको छ ।

४५ जिल्लामा पुग्यो पाठ्यपुस्तक, २५ गतेसम्म सबै जिल्लामा पुर्‍याइने

काठमाडौं । यो वर्षको शैक्षिक सत्र सुरु हुनुअगावै अधिकांश जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । जनक शिक्षा केन्द्रले समयमै पाठ्यपुस्तक ढुवानी सुरु गरेपछि दुर्गम तथा सहरी क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पुग्न थालेको हो ।  गत वर्ष प्रधानमन्त्री कार्यालयको सक्रियतामा समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याइएको थियो । यस वर्ष विगतमा भन्दा केही छिटो पाठ्यपुस्तक ढुवानी सुरु भएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । गत वर्ष १५ चैतबाट मात्रै पाठ्यपुस्तक ढुवानी थालिए पनि यस वर्ष ८ चैतबाटै पाठ्यपुस्तक ढुवानी थालिएको हो । आइतबारसम्म केन्द्रले ४५ जिल्लामा पाठ्यपुस्तक ढुवानी गरिसकेको छ । खोटाङ, ओखलढुंगा, सिन्धुली, दोलखा, रामछोप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, तनहुँ, हुम्ला, जुम्ला, दैलेख, कालीकोट, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, रौतहट, बारा, महोत्तरी, प्युठान, रोल्पा, गुल्मी, अर्घाखाँची, बाजुरा, दार्चुला, बझाङ, बैतडी, जाजरकोट, सुर्खेत, कैलाली, संखुवासभा, ताप्लेजुङ, इलाम, तेह्रथुम, मोरङ, सुनसरी, भोजपुर, मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, म्यादी, पर्वत र बागलुङ जिल्लामा पाठ्यपुस्तक ढुवानी भइसकेको छ ।केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार २५ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक पुगिसक्नेछ ।  हाल देशका सरकारी विद्यालयको बालविकास तहदेखि कक्षा १२ सम्म ५६ लाखभन्दा बढी विद्यार्थी छन् केन्द्रले सोही परिमाणमा पाठ्यपुस्तक छापेको छ ।यसपटक १ देखि ४ कक्षासम्मको पाठ्यपुस्तक निजी छापाखाना र त्यसभन्दा माथिल्लो तहको पाठयपुस्तक जनक शिक्षालाई छाप्न जिम्मा दिइएको थियो ।

गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश : 'दीर्घकालीन निर्णय नगर्नू'

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले नवनियुक्त मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई नियमित काम बाहेक दीर्घकालीन असर पर्ने निर्णय नर्गन आदेश दिएको हो । साथै अदालतले विश्वासको मतको बारेमा संबैधानिक ब्याख्याको आवश्यकता रहेको भन्दै जेठ ८ गते पूर्ण सुनुवाई गर्ने मिति तोकेको छ । उक्त दिन अन्तरिम आदेश जारी हुने नहुने टुंगो लाग्ने छ । यस्तै सर्वोच्चले प्रदेश सभा, सभामुख र प्रदेश प्रमुखका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ।प्रदेश सरकारले पाएको विश्वासको मतको संबिधान विपरीत रहेको भन्दै कांग्रेस गण्डकीले सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो । वैशाख २३ गते प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणाविरुद्ध रिट दायर भएको थियो । संविधानको धारा १८८ (३) अनुसार बहुमतको लागि ३१ सांसदको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सभाको बैठक सारियो

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आह्वान गरिएको बैठक सारिएको छ । ३ बजेका लागि तोकिएको बैठक ५ बजे बस्ने गरी सारिएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत तेजप्रकाश जोशीले जानकारी दिए । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनको लागि बिहीबार प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।

१२ वर्षका बालकले एसईई दिँदै

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिएका छन् । उनी सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी हुन् । अधिकारी पर्वतबाट एसइई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरको रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिए । उनका अनुसार २०७८ सालभन्दा अघि एसइई दिने पाउने उमेरको हद १५ वर्ष थियो । विसं २०७८ मा शिक्षा नियमावलीअनुसार एसइई दिने परीक्षार्थीको उमेर हदबन्दीमा उक्त व्यवस्था परिवर्तन गरिएपछि कम उमेरका विद्यार्थीले पनि दिन पाउने भएको पौडेलले बताए । विनु मावि सरौखोलाका प्रधानाध्यापक खगेन्द्र तिवारीले एसइईको फारम अनुसार अधिकारी १२ वर्ष मात्र पुगेका छन् । तिवारीका अनुसार अधिकारीले पहिला निजी विद्यालयमा पढ्थे । उनी विनु माविमा कक्षा ८ मा भर्ना भएका थिए । निजी विद्यालयबाट सामुदाकि विद्यालयमा आउँदा कक्षा परिवर्तन गरेकाले पनि चाँडो एसइई दिएको हुनसक्ने तिवारीको भनाइ छ । यसैगरी, सोही विद्यालयबाट जिल्लामै सबैभन्दा बढी उमेरका अर्का परीक्षार्थीले पनि एसइई परीक्षामा सहभागी भएका छन् । विद्यालयका नियमित छात्र ४० वर्षीय दुर्गाप्रसाद भुर्तेलले जनसेवा संस्कृति मावि केन्द्रबाट परीक्षा दिएका छन् । कक्षा सातसम्म पैंयुँ–५ क्यामुनेभन्ज्याङ माविमा अध्ययन गरेका भुर्तेल कक्षा ८ मा विनु माविमा भर्ना भएका थिए । उनी नियमित विद्यालयमा हाजिर भएरै कक्षा लिइरहने विद्यार्थी रहेको विद्यालयका प्रअ तिवारीले बताए । कक्षा ७ सम्म अध्ययन गरेपछि बीचमा छुटेर पुनः विद्यालय भर्ना भएकाले जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थीमा भुर्तेल देखिएका प्रधानाध्यापक तिवारीले बताए । पर्वतका १७ परीक्षा तोकिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जिल्लाभर शान्तपूर्वक परीक्षा भइरहेको भन्दै विगतका वर्षभन्दा यस वर्ष थप मर्यादित रहेको पाइएको कार्यालय प्रमुख उद्धिमराज पौडेलले बताए ।

एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन

बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण शुरु भएको अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ । तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवामा गत जेठ २९ गते शिल्यान्यास भएको रंगशालाको पहिलो चरणको काम अन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका हुन् । गुल्मीबाट तिलोत्तमामा बसाई सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आइटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गरेका थिए । उनी आफैँ पनि आइटी इन्जिनियर हुन् ।  कन्सल्टेन्सी व्यवसाय समेत गरिरहेका विनोद कुँवर दम्पत्तिले रुपन्देहीको ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन शुरु गरिएको थियोे । रंगशालाका अन्य पुर्वाधारहरु पांच वर्षभित्र पूरा गर्ने लक्ष्य छ । लगानीकर्ता विनोद कुँवरका अनुसार मैदान निर्माण गर्दा मात्र जग्गाबाहेक ७ करोड खर्च भएको छ । १८ करोडको लगातमा प्याराफिटको काम लगत्तै सुरू हुने उनले बताए ।  ‘रंगशालाका सबै पुर्वाधार ५ वर्षमा पूरा हुनेछ ,हामीले यसलाई चरण–चरणमा बनाउँदै लग्नेछौं र पहिलो वर्षमा ५ हजार दर्शक अट्ने प्याराफिट बन्नेछ’ उनले भने, ‘क्रमशः बढाउँदै ५ वर्षमा २५ हजार क्षमतासहितको रंगशाला पूरा गर्ने योजना छ ।’ क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ब्रान्ड एम्बेसडरको जिम्मा नेपालका चर्चित पूर्वक्रिकेटर शक्ति गौचनले पाएका छन् । क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने छ । उद्घाटनका अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न,खेलाडी उत्पादन गर्न सहज हुने बताए । पुर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आर्थिक राजधानीको रुपमा विकास भएको रुपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रंगशालाले रुपन्देहीमा लगानीमैत्री वातावरण छ भन्ने पुष्टी गरेको र यसले खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा राखे । सो अवसरमा पुर्व मन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पुर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट,कांग्रेस नेता एवं संघीय सांसद चन्द्र भण्डारी, सांसद बासुदेव घिमिरे, तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांण, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह लगायतले रंगशाला निर्माणले क्रिकेटको उर्बरभूमि रुपन्देहीलाई क्रिकेट खेलको माध्यमबट विश्वभर चिनाउन थप मद्दत पुगेको बताए । मैदान उद्घाटनका अवसरमा लिजेन्ड्स कप टी–१० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीले सहभागिता जनाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टिमको , एलबी क्षेत्रीले सन् १९९६ टिमको, कलाम अलीले रेस्ट अफ नेपालको र हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेर खेलेका छन् ।

बंगलादेश छाडेर शेख हसिना भारतको गाजियाबादमा,भारतीय एयरफोर्सको स्वागत

ढाका । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना सवार जहाज भारतको उत्तर प्रदेशमा अवतरण गरेको छ ।भारतीय प्रतिष्ठित अनलाइन इन्डिया टुडेका अनुसार बंगलादेशी सेनाको यो जहाज स्थानीय समयअनुसार ५.३६ बजे उत्तर प्रदेशको गाजियावादस्थित हिन्डन एरयबेसमा अवतरण गरेको हो । यो जहाज भारतको राजधानी नयाँदिल्लीमा अवतरण गर्ने बताइएको थियो । तर कडा सुरक्षाबीच उत्तर प्रदेशको गाजियावादस्थित भारतीय सेनाको हिन्डन एयर बेसमा अवतरण गरेको हो।ढाकाबाट भागेकी उनी भारतको त्रिपुरा राज्यमा अवतरण गरेको चर्चा थियो। तर उनी सवार जहाज अहिले भारतीय राज्य बिहारबाट पनि पश्चिमतर्फ लागेर उत्तर प्रदेशको गाजियावादमा अवतरण गरेको हो । भारतीय एयरफोर्सका वरिष्ठ अधिकारीले शेख हसिनाको स्वागत गरेका छन् । शेख हसिनालाई बोकेको सी १३० जे विमान दिल्ली नगई सेनाको एयरबेसमा बसेको हो ।एजएएक्स१४३१ कलसाइन भएको बंगलादेशी सेनाको सी-१३० जहाजलाई भारतीय सुरक्षा एजेन्सीले कडा निगरानीमा राखेका थिए । समाचार अनुसार बंगलादेशकी निवर्तमा प्रधानमन्त्री शेख हसिना, उनकी बहिनी र परिवारका सदस्य जहाजमा सवार थिए । बंगलादेश वायुसेनाको विमानबाटै उनले देश छाडेकी हुन् ।उनी दिल्ली हुँदै लण्डन जाने बताइएको छ ।

डेढ लाख बालबालिकालाई खोप लगाइने

सुर्खेत। कर्णाली प्रदेशका नौ महिनादेखि पाँच वर्षमुनिका झन्डै डेढ लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । जाजरकोट र रुकुमपश्चिमबाहेक कर्णाली प्रदेशका आठ जिल्लाका नौ महिनादेखि पाँच वर्षमुनिका एक लाख ४७ हजार ४४४ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।  प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार फागुन १३ देखि चैत ७ सम्म सो खोप लगाइने छ । आठ जिल्लाका झन्डै दुई हजार खोप केन्द्रबाट खोप लगाइने छ । १२५ बालबालिका बराबर एक स्वास्थ्यकर्मीले खोप लगाउने छन् । युनिसेफका प्रतिनिधि कृष्णहरि मैनालीका अनुसार रुकुमपश्चिम र जाजरकोटमा भूकम्पपछि पुसमा दादुरा रुबेलाको खोप लगाइसकिएकाले यस पटक ती दुई जिल्लाबाहेक कर्णालीका सुर्खेत, दैलेख, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा यो खोप लगाइने छ । लक्षित समूहले अधिक खोप लगाउनका लागि विभिन्न गतिविधि गरिने जनाइएको छ । अभिभावकलाई खोप लगाउन निमन्त्रणा कार्ड पठाइने, खोप लगाएपछि खोप कार्ड वितरण गरिने, ब्यानरलगायतका प्रचार गर्ने, माइकिङ गर्ने, धामीझाँक्रीसँग पत्राचार गर्ने, धेरै प्रश्न सोधेर जानकारी गराउने योजना छ । दादुरा–रुबेला निकै जोखिमपूर्ण रोग भएकाले एक जनाबाट १८ जनामा सङ्क्रमण सर्न सक्ने उनको भनाइ छ । यस खोपको कुनै असर नहुने, पहिले लगाएकाले पनि पुनः लगाउन मिल्ने जनाइएको छ । बढी कुपोषित भएका, उच्च ज्वरो आएको बालबालिकालाई भने यो खोप लगाउन हुँदैन । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार ‘खोज र खोप’ रणनीतिबमोजिम सन् २०२६ भित्र नेपालमा दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्य छ ।  उनले कर्णालीमा पूर्ण खोपको कभरेज ८५ प्रतिशत रहेको र अन्य जिल्लामा खोप लगाउन छोड्ने दर पनि कायमै रहेको बताए । भौगोलिक कठिनाइ, मौसमी बसाइँसराइ, कहिल्यै खोप नलगाउने राउटे समुदायका कारण पूर्ण खोपको चुनौती खेप्नु परेको उनको भनाइ छ ।  प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन अधिकृत देवीराम पौडेलले कर्णालीका आठ जिल्लामा १३ हजार ४५३ भाइल  दादुरा–रुबेलाको खोप सम्बन्धित जिल्लामा आपूर्ति गरिसकिएको बताए । एक भाइलमा १० डोज हुन्छ । यस्तै एक लाख ३४ हजार पाँच सय सिरिन्ज र १४ हजार ९३६ घोलक पनि पठाइसकिएको छ । विश्व स्वास्थ्य सङ्गठनका डा.तारा बानियाँले नयाँ आप्रवास बस्ती, सुकुमवासी बस्ती, राउटे, कुसुन्डालगायतका बालबालिका खोपबाट छुटेका हुँदा तिनलाई पनि खोपको दायराभित्र ल्याउन आह्वान गरे । प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले खोप अभियान सफल बनाएपछि मात्रै नेपालको खोपको प्रतिशत दर वृद्धि हुने बताए ।  हिउँ छिचोल्दै खोप  हुम्ला समाचारदाताका अनुसार हिमाली जिल्लाका स्वास्थ्यकर्मीलाई नियमित खोप लगाउन हिमपातका कारण कठिन भएको छ । हिउँको जोखिमसँगै स्वास्थ्यकर्मीले खोप लगाइरहेका छन् । एक वर्ष तीन महिनाभित्र बालबालिकालाई लगाउनुपर्ने खोप लगाउन हिमपातका कारण समस्या परेको छ ।

ब्राजिलमा जहाज दुर्घटना हँदा सबै मृत्यु

काठमाडौं । ब्राजिलमा जहाज दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ। ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर(७२ जहाज दुर्घटना हुँदा त्यसमा सवार कोहि पनि यात्रु जिवित नभेटिएको बताइएको छ । जहाजमा ५७ यात्रु र चालक दलका ४ सदस्य रहेको एयरलाइन्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । धादिङको निलकण्ठ नगरपालिकामा मालवाहक ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अरु ९ जना घाइते भएका छन् । मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी छ।  जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतबार बिहान सवा नौ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको थियो । रासायनिक मल बोकेर पतेनी बेँसीतिर जाँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लगिएको छ। दुर्घटनाको कारण र विस्तृत विवरणा आउँन बाँकी रहेको प्रहरीले जनाएको छ। 

कर्णालीको विकास बिना देशको विकास सम्भव छैन : माओवादी उपमहासचिव शर्मा

काठमाडौं । कर्णाली उत्सव कुडा कर्णालीकाको पाचौं संस्करण सोमबार सम्पन्न भएको छ । शनिबारबाट सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यानमा सुरु भएको उत्सव सम्पन्न भएको हो । उत्सवको समापन गर्दै माओवादीका उपमहासचिव जर्नादन शर्माले कर्णाली उत्सवको पाचौं संस्करण सम्म आइपुग्दा यसले खेलेको भूमिका, महत्वपूर्ण विषयमा भइरहेको बहस र सबैलाई जागरुप र सचेत बनाउँने पहल कदमीको लागि संरक्षक केवल भण्डारी सम्पूर्ण आयोजक टिमलाई बधाई दिए । कर्णाली एक सभ्यता भएको उनले बताए । नेपाली भाषको जननी पनि कर्णाली भएके उनले बताए । कर्णालीले एैतिहासिक विरासत बोकेको बताए । पूर्व गृहमन्त्री समेत रहेका उनले भने , ‘कर्णालीमा बगेको प्रत्येक पानीको थोपा, कर्णालीका हरेक वनस्पतिका पात र जडा र बोक्राहरुलाई , यहाँका नदि ताल , हिमाल , पहाड , खोच , वेशी र भ्यालीहरुलाई जब हामी एउटा मूल्यमा बदल्छौं तब कर्णाली स्वाभीमानी र समृद्ध भएर देखिनेछ ।’ यहाँको विकास मोडेर यहिँ भएको र सबैको कार्यभार यहिँ बताए । उनले बताए । अब कर्णालीको परिभाषा फेर्न आवश्यक रहेको उनको भनाई थियो । कर्णालीको विकास बिना देशको विकास सम्भव छैन । उनले भने , ‘कर्णालीका दलितहरुको मुक्ती नभइकन कर्णालीको विकास हुदैँन । कर्णालीमा दलितहरुको बाहुल्यता छ । उनीहरुले सबैभन्दा बढी भोगिरहेको उत्पिडन भोगिरहेका छन् । यसको अन्त गरेर जात प्रथाबाट मुक्ति गरेपछि मात्र विकासको प्रारम्भ हुन्छ  । ’ कर्णालीलाई सुनको डल्लोको रुपमा बुझेको बताउँदै उनले सुनको यो डल्लोलाई आवश्यक स्तरका गहनामा बदल्न र त्यसले सजाउनको लागि सक्षम कालिगढहरुको खाचो छ । बाटो बनाउँनु मात्र विकास नभएको उनले बताए । अब हाम्रो देशमा बाटो नभएको गाउँ कतै भेटिएला कि नभेटिएला भन्ने चिन्ता व्यक्त गरे । कर्णाली उत्सव संयोजक कमल लम्सालले विगतका चार वर्ष झैं यो वर्ष पनि बुलबुलेमा बसेर कुरा गरेको बताए । लोकतान्त्रिक ढंगले कुरामानी गर्नुले लोकतन्त्रलाई मजबुद बनाउँले बताए । कुरै गर्न नपाउने समाजमा कुरा हुनुनै ठूलो भएको यनले बताए । उत्सवलाई सहयोग सबैलाई उनले धन्यवाद पनि ज्ञापन गरे । उत्सवमा पहिलो दिन प्रकोप र पुननिर्माणका विषयमा छलफल भयो । दोस्रो दिन समाज , साहित्य र विकासका विषयमा छलफल केन्द्रित भयो । तेस्रो दिन लोकतन्त्र र सुशासनका विषयमा छलफल भयो । कर्णालीको बारेमा गन्थन , मन्थन र चिन्तन यो उत्सवमा हुने गरेको छ ।

कालिकोटको सुनथराली विमानस्थल उद्घाटन

काठमाडौं । कालिकोटमा रहेको सुनथराली विमानस्थल उद्घाटन गरिएको छ।सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थल उद्घाटन गरेका हुन्। उनले कर्णालीमा चुनावी सभाहरूमा गरेका प्रतिबद्धताहरू पूरा हुँदै गएको बताए।निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले कालिकोटमा बोलेको कुरामध्ये एउटा काम पूरा भएको खड्काले बताए। सो बिमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्नेछ। कालिकोटका नागरिकलाई यातायातमा सहज हुने गरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री खड्काले बताए।