शिक्षक सरुवासम्बन्धी निर्देशिका स्वीकृत, निवेदन दिएको ३० दिनभित्रमा सरुवा (निर्देशिकासहित)

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गरेको छ।सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउनको लागि मन्त्रालयले निर्देशिका लागू गरेको जनाएको हो।

निर्देशिका अनुसार दरबन्दी मिलानको सिलसिलामा खुद पुल कायम भएको दरबन्दी भएमा, सम्बन्धित तहमा स्थायी नियुक्ति भएको एक वर्ष अवधि नपुगेको वा अनिवार्य अवकाश हुन एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेको शिक्षक भएमा सरुवा गर्न नसकिने उल्लेख छ।

रिक्त पद खुला वा बढुवाद्वारा पदपूर्तिका लागि सम्बन्धित निकायमा लेखी पठाइएको भएमा लगायतको अवस्थामा सरुवा सहमति दिन वा सरुवा गर्न नसकिने उल्लेख गरिएको छ।

मन्त्रालयले तयार गरेको निर्देशिकामा विद्यालय व्यवस्थापन समितिको भूमिका शिक्षा नियमावली २०५९ को अनुसूची १७ अनुसार नै हुने भएको छ।

निर्देशिकामा पाँच वर्ष अवधि नपुगी सरुवा हुन चाहनेका लागि प्रचलित व्यवस्थामा परिमार्जन गरी विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने बनाएर सरुवा सरल बनाउन खोजिएको थियो। यसमा विद्यालय व्यवस्थापन महासंघले आपत्ति जनाएपछि अनुसूची १७ अनुसार कायम गरिएको छ।

यसैगरी निर्देशिका अनुसार शिक्षक सरुवासम्बन्धी कार्यमा आवश्यक समन्वय तथा सहजीकरण गर्न केन्द्रमा सहजीकरण समिति हुनेछ।

उक्त समितिको संयोजक शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक, सदस्य शिक्षा मन्त्रालयका विद्यालय शिक्षा शाखा प्रमुख र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

समितिले शिक्षक सरुवासम्बन्धी विषयमा आवश्यक समन्वय र सहजीकरण गर्नेछ। त्यस्तै समितिले सरुवासम्बन्धी उजुरी र गुनासो व्यवस्थापन कार्य गर्ने निर्देशिकामा जनाइएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे श्रीमतीको हत्या

झापा । झापाको बाह्रदशी १ मा आज बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्सिया ममसरी राजवंशीको हत्या गरेका हुन् । घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएका थिए ।  श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने आशङ्का गरिएको छ । मृतक दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध थिइन् ।

नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन -'प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुनुहोस् '

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन्। हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा भेट गरी प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताएका हुन्। पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.हेमराज पन्तले आज नियुक्तिपत्र बुझेसँगै प्रधानमन्त्री एवं कुलपति प्रचण्डलाई भेट गरेका हुन्।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन दिए। “विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्यगरी प्रतिस्पर्धाका आधार जिम्मेवारी दिन सुरु गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यहाँहरूको नियुक्ति पनि सोहीअनुसार भएको हो, आ–आफ्ना जिम्मेवारी निष्पक्ष तवरले पूरा गर्नुहोला ।” प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिहरूलाई निर्देशन दिए। 

सिरियामा सत्ता हस्तान्तरण गर्ने सहमतिः राज्यको सेना विद्रोही पक्षमा समायोजन हुने

सिरिया ।  सिरियाका पूर्व प्रधानमन्त्रीले विद्रोही शक्तिलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न सहमति जनाएका छन्। राजधानी दमासकसमा भएको बैठकपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणमा प्रधानमन्त्री मोहम्मद अल बासिर सहमत भएका हुन्। यो निर्णयपछि ५० वर्ष भन्दा लामो समयको असाद परिवारको बर्बरतापूर्ण शासनको अन्त्य भएको जनाइएको छ। यसैगरी विद्रोही सेनाले सिरियाको राज्य पक्षीय सेनालाई आफ्नै सेनामा आबद्ध गर्ने निर्णय गरेको छ। हायात ताहिर अल साम (एचटिएस)का सैन्य अपरेसन कमान्डले सो निर्णय गरेको हो। एचटिएसले पुरानो सत्ताका सबैले डकुमेन्ट र सामग्री बुझाउन आवश्यक रहेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले असाद सरकार ढलेपछि मध्यपूर्वमा शान्ति स्थापनाका बारे जोर्डनका राजा अब्दुल्लाहसँग वार्ता गरेका छन्। सन् २०१५ मै सिरियामा शान्ति स्थापनाका बारे रोडम्याप नै तयार भएको थियो। त्यसै रोडम्यापका बारे पनि चर्चा गर्ने सोच अहिले छ। सन् २०१२ मा गृह युद्ध सुरु भएपछि आफ्नो दूतावास हटाएको अमेरिकाले फेरि सिरियामा दूतावास राख्ने भएको छ। आसाद सरकार ढलेपछि कूटनीतिक सम्बन्ध राख्नका लागि भने अमेरिका तयार रहेको छ। पछिल्लो समय सिरियाका बारे संयुक्त राष्ट्र संघले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ। बफर क्षेत्रमा इजरायलको उपस्थितिमा राष्ट्र संघले असहमत जनाएको हो। सन् १९७४ मा असंलग्न क्षेत्रका बारे गरिएको सम्झौता विपरीत अहिले इजरायलको उपस्थित भएको आरोप राष्ट्र सङ्घको छ। इजरायलले पनि नेतान्याहुको सरकार ढलेपछि मध्यपूर्व नयाँ मोडमा प्रवेश गरेको बताएको छ। सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको हिजबुल्लाहसँगको लडाइँका कारण सिरियामा परिवर्तन भएको जनाएका छन्। हिजबुल्लाह र असादका अर्को सहयोगी इरान कमजोर भएकै कारण सिरियामा परिवर्तन सम्भव भएको उनको दाबी छ।

घाँटी दुख्छ भने थाहा पाउनुस् कारण र उपचार

घाँटी को दुखाई (फयारेंजैटिस र टन्सिलाइटिस) घाँटी र गला को तह को सूजनबाट हुने पीडा, जलन र चिलाउने समस्या सँग सम्बन्धित हुन्छ ।यो प्रायजसो बालबालिका मा हुने संक्रमण को कारण ले हुने भएता पनि अरु उमेरका व्यक्तिलाई अरु कारणहरु ले पनि हुने सम्भावना हुन्छ ।घाँटीको खसखस, घाँटीमा ग्रन्थीहरू सुन्निनु, दबिएको आवाज, निल्न गाह्रो र कण्ठनलीमा सेता धब्बाहरू निस्कनु यसका लक्षण हुन् । घाँटी दुखेका व्यक्तिहरू ले ज्वरो, ठंडी, शरीर दुख्ने, टाउको दुख्ने, खोकी र नाक बाट पानी बग्ने जस्ता अन्य लक्षणहरू पनि अनुभव गर्न सक्छन् । घाँटी दुखनु सामान्यतयाः भाइरस को संक्रमण बाट हुने गर्दछ र कम समय को लागि हुनुका साथै घरेलु उपचार बाट निको पनि हुन्छ । तथापिव्याक्टेरिया ले गर्दा घाँटीको संक्रमण भएमा पीप पनि जम्न सक्दछ जसको उपचार एन्टिबायोटिक बाट गर्नुपर्दछ । केही स्ट्रेप्टोकोकसब्याक्टेरिया का कारण मुटु का भल्भ मा असर गर्ने बाथ ज्वरो वा मृगौला मा असर गर्ने ग्लोमरूलोनेफ्राइटिस जस्ता जटिलता उत्पन्न हुनसक्दछन् । कारणहरू : १. भाइरल संक्रमणः घाँटी दुख्ने रोगको यो मुख्य कारण हो । भाइरसद्वारा कण्ठनलीको सूजन इन्फ़्लुएञ्जा  (फ्लू) भाइरस, राइनोभाइरस्, एडेनोभाइरस (एप्सटिन–बार भाइरस (EBV), साइटोमेगालो भाइरस (CMV), आदि ले गर्दा हुन सक्दछ । २. ब्याक्टेरियल संक्रमणः कीटाणु द्वारा हुने टन्सिल वा घाँटी को संक्रमण, भ्यागुते रोग आदि ३. ट्यूमरः घाँटी र गलाको क्यान्सर ४. वातावरणीय तत्वहरूः वातावरणबाट हुने एलर्जीजन्य प्रतिक्रियाहरू । जस्तैः ढुसी, पाल्तु पशुहरूको चायाँ, पराग, वायु प्रदूषण वा चूरोटकाधूवाबाट पनि घाँटी दुख्न सक्छ । चिकित्सक लाई कहिले भेट्ने ? १०१ डिग्री फरेनहाइट भन्दा बढीको ज्वरो आएमा, जोर्नीको दुखाई भएमा, साँस लिन वा निल्न गाह्रो भएमा, घाँटीको सूजन भएमा, छालामाडाबर आएमा, गाढा पिसाबसँगै गला बसेमा । एक हप्ताभन्दा बढी समयसम्म घाँटी दुखेमा । घरेलु उपचार : घाँटी दुखेको समस्यामा निम्न प्रकारका घरेलु उपचार गर्न सकिन्छ: मनतातो नूनीलो पानीले कुल्ला गर्ने जसले घाँटीमा भएको दुखाई कम गरी घाँटीलाई आराम दिन्छ । पर्याप्त पानी पिएर पर्याप्त जलयोजन (हाइड्रेसन) गर्ने । सामान्य तरल पदार्थहरू जस्तैः मह मिसाएको मनतातो पानी वा नरम चिसो खाना जस्तैः हलुवा वा दुग्ध पदार्थ लिने । एलर्जी जन्य तत्वहरू जस्तैः धूवाँ, रसायन वा धूलो आदि बाट जोगिने । वाफ लिने र हावाको आद्रीकरण गर्ने जस्तैः तातो बाफयुक्त स्नानगृहमा धेरै समयसम्म बस्ने। पारासिटामोल वा इबुप्रोफेन औषधी सेवन गरी जलन र दुखाई कम गर्ने । पेप्टिक अल्सर भएका रोगीहरूले र रक्तश्रावको जोखीम भएकाहरूलेयस्ता औषधी सेवन गर्न हुँदैन र वालवालिकालाई एस्पिरिन खुवाउनु हुँदैन । उपचार का विकल्पहरू : घाँटी दुखाई को उपचार तेसको कारण र गम्भीरतामा निर्भर गर्दछ । रोगको इतिहास हेरेर र शारीरिक परीक्षण, कंठश्राव र रगत जाँचबाट घाँटी दुखेको  कारण पत्ता लगाउन सकिन्छ । घाँटी दुखेका धेरैजसो समस्याहरू आफै निको हुने खालका हुन्छन् र पारासिटामोल र मनतातो नूनीलो पानीले कुल्ला गर्दा निको हुन्छ । स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने घाँटी दुखेको उपचार एन्टिबायोटिकबाट गरिन्छ । स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने जटिल खालको घाँटी दुखाई को उपचारका लागि पीप निकाल्नु पर्दछ वा वाथज्वरो भएकाे छ भने फेरि फेरि मुटु मा असर पर्न नदिन का लागि पूरै राेकथाम गर्न लामो समय सम्म एन्टिबायोटिक खानु पर्दछ । नाक बन्द भएमा नाक खोल्ने (डिकन्जेस्टेन्ट) र नाकको स्टेरोइड आवश्यक पर्दछ । बारम्बार भइरहने घाँटी दुखाईका लागि टन्सिल हटाउन गरिने शल्यक्रिया आवश्यक पर्न सक्छ ।

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत

काठमाडौं । नेपाली महिला टोलीले भारतलाई हराउँदै काभा वुमन्स लिगमा ऐतिहासिक जीत हासिल गरेको छ । दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले भारतलाई ३(२ को सेटमा पराजित गरेको हो । भलिबलमा एसियाकै जायन्ट मानिने भारतलाई नेपाली टोलीले ३–२ को सेटमा पराजित गर्दा स्पाइकरहरू सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारी एवम्‌ लिबेरो सलिना श्रेष्ठले फाइनल स्पर्धामा उत्कृष्ट प्रदर्शन गरे । नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी काभा वुमन्स लिगमा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्‌ । यसअघि नै नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । शनिबार नै भुटानको राजधानी थिम्पुमा नेपाली महिला टोली काभा बीच भलिबल च्याम्पियन बनेको थियो । नेपाली महिला टोलीका सदस्य कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गरेको थियो ।

ईशनाथ नगरपालिकाको विवाद : वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको केही स्थानमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले महानगरपालिकाको केही स्थानमा सोमबार बेलुका ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो । पर्सा प्रहरीका अनुसार पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा भएको विवादले झडपको रूप लिनसक्ने भन्दै कर्फ्यु जारी भएको हो ।

नेपालले कार्बन ब्यापारबाट प्राप्त गर्दै छ एक अर्ब ६० करोड

काठमाडौं । विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड प्राप्त गर्दै छ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ । नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा ६ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो । प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र एक अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ । वन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाका अनुसार विश्व बैंकसँग सुरुमा सम्झौता गर्दा उक्त रकम वन विकास कोषमार्फत आउने गरी सम्झौता भएको थियो । अर्थ मन्त्रालयले मुलुकको कानुनी प्रावधानअनुसार त्यस्तो रकम सर्व सञ्चिति कोषमार्फत आउनुपर्ने र त्यसपछि मात्र वन विकास कोषमा हस्तान्तरण हुने भनेपछि विश्व बैंकले त्यसबारेमा स्पष्ट पार्न सरकारसँग अनुरोध गरेको उनले जानकारी दिए । कार्बन व्यापारबाट प्राप्त हुने रकम स्थानीय लाभग्राही आदिवासी/जनजाति समुदायमा ८० प्रतिशत खर्च गर्नुपर्ने प्रावधान छ । 'यसका लागि सरकारले योजना बनाएर स्वीकृत गरिसकेको छ', प्रवक्ता ढुङ्गानाले भने । कार्बन व्यापारका सम्बन्धमा खासगरी सन् २०१८ मा नेपालको  राष्ट्रिय रेडप्लस रणनीति, राष्ट्रिय वन आधार तह स्वीकृत भएको थियो । त्यसपछि सन् २०१९ देखि २०२४ सम्म तराई भूपरिधिका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रमअन्तर्गत कार्बन व्यापारबाट प्राप्त लाभको बाँडफाँड योजना तयार गरिएको थियो । उक्त कार्यक्रम १३ जिल्लाका एक दशमलव सात मिलियन हेक्टरमा लागू भएको केन्द्रका प्रमुख एवं सहसचिव नवराज पुडासैनीले जानकारी दिए । नेपालको वन क्षेत्रबाट औसतमा प्रतिहेक्टर एक सय ६७ टन कार्बन सञ्चिति भएको छ । सहसचिव पुडासैनीले भने, 'नेपालको तराई भूपरिधि क्षेत्रका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गरी सन् २०२८ सम्म करिब तीन करोड ४२ लाख टन कार्बनडाइअक्साइड ग्यास उत्सर्जन कम गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा २०२३ मा मापन गर्दा २३ लाख टन कार्बन उत्सर्जन कटौती भएको छ ।' ‘लिफ कोलिजन’मा सम्झौता गर्दै नेपाल पहिलो चरणको कार्बन व्यापारपछि नेपालका तर्फबाट ‘उत्सर्जन घटाउन वन वित्त बढाउने साझेदारी कार्यक्रम’ (लिफ कोलिजन) सम्बन्धी प्रस्ताव पेस भई सन् २०२१ नोभेम्बर ३ मा हस्ताक्षर भएको थियो । लिफ कोलिजन बजारमुखी तथा नतिजामा आधारित संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, नर्वे र दक्षिण कोरियासहित २६ निजी कम्पनीको साझेदारी संयन्त्र हो ।

महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।  श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।  समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।  समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

सिरियाका राष्ट्रपति भागेर मस्को पुगे, बिद्रोहीले गरे पूर्ण स्वतन्त्रताको घोषणा

सिरिया ।  देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसार अल-असद मस्को पुगेका छन्। रुसको राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई रुसले नै शरण दिनेछ। हायात ताहिर अल साम (एचटिएस)ले राजधानी दमासकस कब्जामा लिएपछि असद  भागेर रुस गएका हुन्। आइतबार नै विद्रोही शक्ति एचटिएसका नेता अबु मोहम्मद अल जलवानी सार्वजनिक भए। उनले पुरानो दमासकसको उमायाद मस्जिदमा उपस्थित हुँदै कार्यक्रमलाई सम्बोधन गरे। सो सम्बोधनमा उनले सिङ्गो इस्लाम राज्यको जित भएको बताए। उनले सन् २०११ यता सहिद भएकाहरू प्रति सम्मान व्यक्त गर्दै देशलाई भ्रस्टाचार मुक्त बनाउन आफ्नो ध्यान केन्द्रित रहने बताए। सिरियाका वर्तमान राष्ट्रपति असद । त्यही मस्जिदमा बसार अल असद र उनका बाबु हफिज अल असदले प्रार्थना गर्थे। त्यो सम्बोधन भन्दा अघि नै उनी राजधानी दमासकस पुगेर मुख्य स्थान भ्रमण गरेका थिए। भागेर छिमेकमा पुगेका धेरैजना अहिले सिरियामा फर्कने क्रम जारी छ। अहिले संसार भरी रहेका सिरियाली समुदायका व्यक्तिहरू खुसी मनाइरहेका छन्। असद शासन अन्त्यको यो शृङ्खला एकदमै छोटो समयको विकासक्रम हो। २७ नोभेम्बरमा एचटिएसले आक्रमणलाई तीव्र बनाउने घोषणा गरेको थियो। उत्तर पश्चिममा सरकारले आम मानिसलाई यातना दिइरहेको बताउँदै सो घोषणा भएको हो। ३० नोभेम्बरको दिन एचटिएसका सेनाले एलेप्पोमा प्रवेश गरेको घोषणा गरेको थियो। ५ डिसेम्बरका दिन हामा नियन्त्रणमा लिइएको थियो। ६ डिसेम्बरका दिन राष्ट्रपतिको विरुद्धमा विद्रोहको सुरुवात भएको डेरा प्रान्तमा एचटिएसका सेनाको उपस्थिति भएको थियो। डिसेम्बर ७ देशको तेस्रो ठुलो सहर होम्स नियन्त्रणमा लिएको एचटिएसले जनाएको थियो। डिसेम्बर ८ को दिन विद्रोही सेनाले राजधानी दमासकस प्रवेश गरेको घोषणा गरेको थियो। दुई घण्टाको अन्तरालमा राजधानी कब्जाको घोषणा गर्दै एचटिएसले विजयोत्सव मनाइसकेको थियो। तस्विरः बिबिसी

विद्रोहीले अधिकांश सहर कब्जा गरेपछि सिरियाको सत्ता संकटमा

सिरिया ।  सिरियाली विद्रोही सेनाले तेस्रो ठुलो सहर होम्स कब्जामा लिएको छ। सिरियाली सेनाले त्यो स्थान छाडी सकेका छन्। अहिले राजधानी दमासकस सबै दिशाबाट घेरामा परेको छ। अलावाइट समुदायका लागि होम्स अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यसै कारण पनि होम्स गुमाउनु राष्ट्रपति बसार अल आसादका लागि ठुलो धक्काको विषय बनेको छ। सबै तीर बाट घेरिएपछि सरकारले राजधानी दमासकस पनि जोगाउन कठिन हुने जनाइएको छ। केही दिन अघि दमासकसमा रहेको राष्ट्रपतिका बाबु हफिजको सालिक भत्काइएको छ। सन् २०११ मा गृह युद्ध सुरु भएको समयमा पनि होम्स विद्रोहीकै कब्जामा थियो। सो समयमा आसादले शान्तिपूर्ण विद्रोहलाई दमन गरेका थिए। सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घको प्रयासमा शान्ति स्थापना भएपछि सो स्थानमा सरकारको पकड जमेको हो। सूचना श्रोतका अनुसार अमेरिकाले दमासकसको सत्ता ढल्ने ठहर गरिसकेको छ। सन् १९७१ देखि सिरियामा आसादको परिवारको सत्ता थियो। यस युद्धमा रुस र अमेरिका सरिक भएको एक अर्कामा आरोप लाग्दै आएको छ। यता अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सिरियाको गृहयुद्ध अमेरिकाका लागि कुनै चासोको विषयको नभएको बताएका छन्। सिरियाका लागि राष्ट्रसङ्घका विशेष दूत जीयर पिडरसनले शान्तिको प्रयास सफल नहुने बताएका छन्। उनले यस बिचमा कतारको राजधानी दोहामा रहेर अरबका विदेश मन्त्रीमार्फत वार्ताका लागि गरेको प्रयास असफल भएको छ। यस युद्धमा सम्बन्धित रहेका टर्की, अमेरिका र रुसका प्रतिनिधि मार्फत उनले वार्ताको प्रयास गरेका थिए। राजनीतिक बन्दीका लागि कठोर मानिने होम्सको सैन्य जेलबाट ३५ सय जना छाडिएका छन्। यस कुरालाई विद्रोही कमान्डर हसन अब्दुल घानीले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनीहरूले छाडी सकेपछि होम्सको सडकमा हजारौँ जना उपस्थित भएर खुसीयाली मनाइरहेका छन्। उनीहरूले आसाद सरकार ढल्ने दिन आएको भन्दै नारा जुलुस समेत गर्न थालेका छन्। होम्सको जेल भन्दा पनि कठोर तथा मानव अधिकारको आँखाबाट संसारै नरक झैँ मानिएका सायडनाय बन्दी गृहमा रहेका आफन्त छुट्ने आस समेत धेरै सिरियालीमा पलाउन थालेका छ। सो बन्दी गृह, यातना अमानवीय व्यवहार र सामूहिक मृत्युका लागि बदनाम छ।

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

धनुषा, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने  बताए । उनले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गरे । सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।  तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व बृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए । उनले भने, “अब सङ्घीयता सबलरुपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।” प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गरे । नेपालको भूगोलअनुसार झोलुङ्गे पूलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुङ्गे पूलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताए ।  निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ  एक हजार पाँच सय दशमलव ४४ मिटर रहेको छ ।

कांग्रेससँग सत्तासहकार्य टुट्नुमा राजनीतिक वैचारिक कारण मुख्य : प्रधानमन्त्रीका प्रेस सल्लाहकार

'कांग्रेसले महासमिति बैठकबाट गठबन्धनको औचित्य समाप्त पार्दै माओवादीलाई अतिवादी शक्तिकारुपमा चित्रण गरेकाले ऊसँग सरकारमा सहकार्य अन्त्य हुन पुग्यो'

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

धनुषा। मधेश प्रदेश सरकारले मङ्गलबार मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका (लोसपा) वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानअनुसार कार्य जिम्मेवारी र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।   पुनर्गठित मन्त्रिपरिषदमा मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालयको कार्य जिम्मेवारी सम्हालेका छन् । भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा सञ्जयकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, खेलकुद तथा समाज कल्याणमन्त्रीमा सुरीताकुमारी साह, गृह तथा सञ्चारमन्त्रीमा राजकुमार लेखी, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा सिंगासन सा कलवार, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शत्रुधन सिंह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा सुनिता यादव, ऊर्जा सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा शेखअबुलकलाम आजाद, उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा रहबर अन्सारी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा केशव राय रहेका छन् । यसअघि २०८० चैत १० गते १४ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् रहेको थियो भने अहिले १३ सदस्यीय रहेको छ । लोसपाले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने सार्वजनिक भएपछि सो पार्टीबाट मन्त्री बन्नु भएका कुर्मीलाई मात्र हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको आङ्कलन गरिएको छ । 

कर्णालीका मुख्यमन्त्रीद्धारा राजीनामा घोषणा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । अहिले वीरेन्द्रनगरस्थित प्रदेशसभा भवनमा जारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका हुन् । यसअघि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको भएपनि सत्ता गठबन्धनमा भएको राजनीतिक सहमतिअनुसार मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।  राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिए । शर्माले राजीनामा दिएसँगै मुख्यमन्त्रीले विश्वासको मत लिने कारबाही अघि नबढ्ने सभामुख नन्दा गुरुले जानकारी दिइन् । यससँगै प्रदेशसभाको बैठक चैत २५ गतेसम्म स्थगित भएको छ ।

क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गर्नु भएको छ ।   एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले  समावेशी समृद्धि: एसियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तीकरणका मुद्दामा साझा आर्थिक दृष्टिकोणका लागि पनि आग्रह गर्नुभयो । नेपालमा, साना तथा मझौला उद्योगहरूले जिडिपीको लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्द्धनमा अन्तरक्षेत्रीय साझेदारीको महत्त्व रहेको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो । साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमी सँग ठिकसँग जोडेर विकास तथा प्रर्वद्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावनाहरू बढेको तर्फ पनि अध्यक्ष ढकालले एसियाली लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो । नेपालको निर्यात व्यापारमा  हातले बुनेका गलैँचा, थाङ्का, चित्रकला र परम्परागत सङ्गीतका वाद्य यन्त्रहरूको उल्लेख्य हिस्सा रहेकाले सांस्कृतिक उद्योगहरूमा लगानी गरेर समावेशी समृद्धिमा योगदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गर्नुभयो । पर्यटन मार्फत पनि साना तथा मझौला उद्भमलाइ प्रवर्द्धन गर्न सकिने भएकाले नेपाल भ्रमण गरी लगानी गर्ने अवसर खोज्न पनि अध्यक्ष ढकालले लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । बढ्दो पर्यटन बजारलाई लक्षित गरी होटल, थिम पार्क, केबलकार लगायतका पर्यटन पूर्वाधारमा लगानी खोजिरहेकाले साझेदारीका लागि पनि अध्यक्ष ढकालले  लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो । भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने भएको र  बंगलादेशमा पनि थप बजार सुनिश्चित रहेकाले जलविद्युतमा लगानीका लागि पनि उपयुक्त अवसर सृजना भएको अध्यक्ष ढकालले बताउनुभयो । लगानीको वातावरण सुधार गर्ने उद्देश्यले व्यवसाय गर्न सम्बन्धी विभिन्न कानुनहरू परिमार्जन गरेको  विदेशी लगानीकर्ताहरूलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौता फ्रेम वर्क पारित भएकाले सहज अवसरको उपयोग गर्न पनि अध्यक्ष ढकालले बाह्य लगानीकर्ताहरुलाइ आग्रह गर्नुभयो । अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताहरूलाई सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ तयार रहेको र  हेल्प डेस्क मार्फत विदेशी लगानीकर्ताहरूलाई नीति र प्रक्रियाहरू बुझ्न मद्दत गरिरहेको जानकारी पनि गराउनुभयो ।