दमकमा बनेको टावरले सयौं वर्षसम्म प्रतिफल दिने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा भ्यूटावर मात्रै नभएर बिजनेस कम्प्लेक्स बनेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सांसदहरूसँगको सवालजवाफका क्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

“दमकमा एउटा बिजनेस कम्प्लेक्स बनेको छ । त्यसको उचाइ ७२ मिटर छ । ५ बिघा जमिनमा बनेको हो । यो नितान्त भ्यूटावर होइन, बिजनेस कम्प्लेक्स हो । अलिक अग्लो छ, त्यसैले भ्यूटावर भनिँदोरहेछ,” प्रधानमन्त्री ओलीले भने ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “त्यसको लागत १ अर्ब ७९ करोड ४८ लाख रहेको छ । त्यसको निर्माण सकिसकेपछि विधिवत् सञ्चालन गरिनेछ । त्यसभित्र व्यापारिक अफिसहरू, सेमिनार हल, प्रदर्शनी कक्षहरू रहनेछन् । हालका लागि त्यसलाई झापा ट्रेड सेन्टरका रूपमा बुझ्दा पनि हुन्छ ।”

उक्त कम्प्लेक्सले सयौं वर्षसम्म प्रतिफल दिने प्रधानमन्त्री ओलीले दाबी गरे । “यसले सयौं वर्षसम्म प्रतिफल दिइरहनेछ । यसमा बालुवामा पानी हालेजस्तो गरिएको छैन । यसले आपसापका बजारहरू, स्थानीय जनतालगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै सेवाहरू पुर्‍याउन सकिन्छ,” उनले भने ।

कम्प्लेक्स बन्दैगर्दाखेरि गाली आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठट्यौली पारामा भने, “हाम्रो देशको एउटा राष्ट्रिय गीत छ नि( जन्मिँदै जगत्‌मा कैयौं प्रहार आए भन्ने । यस्तै भयो यहाँ । बन्न सकेको छैन, गाली । त्यहाँ पत्रकारहरू जाँदा रहेछन्, पत्रकारहरू, टेलिनिजनहरू जाँदारहेछन् । अनि सोध्दारहेछन् छेवैको सुकुम्वासीहरूलाई( यत्रो टावर बनेको रहेछ, बस्न पाउनुभएको छ रे !”

बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन्।  कोन्ज्योसोम गाउँपालिकाद्वारा आज आयोजित त्रिमूर्ति प्रतिमा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सरकारको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताए। उनले नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पारे। सरकारले अघिल्लो महिनामात्रै तेस्रो लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनमा ठोट्ने खोलाको पानी प्रयोग गरी उपत्यकाबासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिए । “मेरो विश्वास छ– उक्त प्रस्तावअनुरूप यस आयोजनाका निम्ति विदेशी लगानी जुट्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबाट पानीको बहुउपयोग हुने किसिमका बृहत आयोजना सञ्चालन गर्न सम्भव हुनेछ ।”  कोन्ज्योसोम गाउँपालिकाका केही वडाहरूलाई नयाँ शहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताए। उनले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटिखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी ३ वटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गरे। काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने स्थान कोञ्जोसोम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने बताए। उनले यस क्षेत्रमा पर्यटकहरूको बसाइ लम्बाएर विदेशी मुद्रा आर्जनका निम्तिसमेत राजधानी नजिकका यस्ता पर्यटकीय गन्तव्यहरूको विशिष्ट भूमिका रहने विश्वास व्यक्त गरे। यो क्षेत्र कृषि, तरकारी खेती, पशुपालन, दूध र मासु उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधिकरण र बजारीकरणका माध्यमबाट यस क्षेत्रका जनताले पर्याप्त लाभ लिन सक्ने बताए । ललितपुर जिल्लाभित्र पर्ने अत्यन्त महत्त्वपूर्ण र मनोरम गाउँपालिकाका रूपमा स्थापित कोन्ज्योसोमले कृषि र पर्यटनमार्फत् ग्रामीण अर्थतन्त्रको सवलीकरण एवं विकासमा रचनात्मक भूमिका खेल्दै आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अर्गानिक कृषि उत्पादन, पर्यटकीय सम्भावनाहरूको खोजी एवं गाउँपालिकाभित्र विद्यमान सबै साधनस्रोतहरूको अधिकतम उपयोगका निम्ति विभिन्न नीति, योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। “करिब ७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको यस कोन्ज्योसोम गाउँपालिकाको नामाकरण स्थानीय पहिचान झल्किने गरी तामाङ भाषामा गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबाट यस गाउँपालिकाभित्रका विविधतायुक्त संस्कृतिको प्रवर्द्धन हुनुका साथै प्राकृतिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसमेत महत्त्वपूर्ण योगदान पुग्दै आएको छ ।”  प्रधानमन्त्री प्रचण्डले स्थानीय भाषा, कला र संस्कृतिको प्रवर्द्धन गरी उत्पीडित वर्ग, जाति र समुदायको पहिचान र आत्मस्वाभिमान स्थापित गर्नुका साथै यस्ता रचनात्मक क्रियाकलापले पर्यटन प्रवर्द्धनमा समेत गुणात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। कोन्ज्योसोम प्रतिमा निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहको भूमिका र योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकारहरूको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको त्रिमूर्तिले यस क्षेत्रको ऐतिहासिकताको समेत प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे।

गाऊँका आमाहरू भेट्दा भावुक भए प्रचण्ड, फोटोफिचर

शिवनगर(चितवन), कात्तिक १८ । अगाडि सानो टेबल, पछिल्तिर ५, ७ प्लास्टिकका कुर्चीहरू १ मालाले ढाकिएका नेताहरू माझ बिस्मृतिमा डूबेका प्रचण्ड ! ‘ओहो, आमा तपाई !’ कार्यक्रम संचालन भइरहेको बेला एक जना वृद्दा माला लिएर आफू सामु देख्दा प्रचण्डको मुखबाट निस्कियो, ‘सन्चै हुनु हुन्छ नि !’ वृद्दाले प्रचण्डको हात अघि बढाईन । प्रचण्डले कसिलो हातले वृद्दका हात च्यापे ! वृद्दाले दुवै हातले प्रचण्डको गाला मुसारिन् । लाग्थ्यो, प्रचण्ड सानो बालक हुन् र मेलापातमा भेटिने आफन्तहरूले उनलार्इ माया गरिरहेका छन् । उता देवि ज्ञवाली माईकमा थिए, चितवन(३ बाट प्रदेश सभाका उम्मेदवार कृष्ण भूर्तेल र रामलाल महतोले बोलिरहेका थिए । यता प्रचण्डको गालामा मालाहरु थपिदैं थिए, छवीलाललाई काखमा लिएर खेलाउनेहरूको न्यानो स्पर्शले प्रचण्ड भावुक भइरहेको स्पस्ट देखिन्थ्यो उनको मुहारमा । र, देविको उदघोषसँगै प्रचण्डले माइक समाते । एक छिन मौनता छायाे, सबैका आँखा प्रचण्डतिर साेझिए। ‘आदरणीय बुवा आमा, काकाकाकी’ प्रचण्डले बोल्न सुरु गरे । उनको स्वरमा आद्रता थियो । ‘म आज अरु ठाऊमा बोले ज़स्तो सम्बोधन गर्न सक्दिन ।’ प्रचण्डले भने, ‘मलाई हुर्काउने आमा बुवा, काकाकाकी, मसँग पढ़ने, गुच्चा खेल्ने साथीभाइ यहाँ छन, म भावुक बनेको छु । अरु ठाउँ ज़स्तो भाषण गर्न सक्ने अवस्था छैन् ।’ प्रचण्डले यसो भनेपछि शिवनगरका वासिन्दाहरूमाझ निस्तब्धता छायो एकछिन । ‘जीवनका कैयन घुम्ती र संघर्ष पार गर्दै आज उम्मेदवारको रूपमा तपाईहरू माझ आएको छु ।’ प्रचण्डका आँखा रसाए, ‘जे सिके, देशका लागि जे गर्न सकें, सबै तपाईहरूले दिएको शिक्षा, माया र प्रेरणाले हो । यसका लागि तपाईहरुलाई धन्यवाद दिन चाहन्छु ।’ प्रचण्डले यी शब्द व्यक्त गर्दा उनलार्इ सुनिरहेकाहरूका आँखा रसाए । शिवनगर, प्रचण्डको बाल्यकाल बितेको गाउँ । उनले कैयन साथीहरू भेंटे सभामा । क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय उदघाटन गर्न एकाबिहानै शिवनगर पुगेका थिए ऊनी । ‘केही गर्न रहर छ, सांसद बन्न मात्र चुनावमा उठेको होईन । प्रचण्डले भने, ‘एउटा समृद नेपाल बनाउने मेरो सपना हो, त्याहि अठोट बोकेर तपाई हरूमाझ आएँ । चितवनका जनताप्रति पूरा भरोसा छ । दण्ड दिनुहुन्छ भनेपनि स्वीकार्छु तर, त्यसको सम्भावना छैन् ।’ प्रचण्डले बोल्ने क्रममा कसैलाई आक्षेप लगाएनन्, न त आश्वासन नै बाँडे । उनी पुरै भावुक थिए । उमेरले ६३ पुगेका प्रचण्ड, शिवनगर पुग्दा स्मृतिका छालहरूले घेरिएका देखिन्थे । १५ मिनेटको सम्बोधनमा उनले धेरै पटक गुच्चा खेल्ने साथीहरू सम्झिए । ‘बिहानले दिनको भविष्यवाणी गर्छ भन्ने उखान छ नी’, अन्तिममा उनले भने, ‘आज तपाईहरूले देखाएको माया र उपस्थितिले चुनावमा हामी परिवर्तनकारीहरूको  सुखद भविष्य देखाएको छ । नमस्ते, अभिवादन !’        नयाँपत्रिकाबाट साभार ।

सुनको मूल्यमा एक पछि अर्को रेकर्ड

काठमाडौं । सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाउदै गएको छ। विगत तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनिरहेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ तोकेकोछ। अघिल्लो दिनको तुलनामा यो ५ सय रुपैयाँ बढी हो । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर घटाउने चर्चापछि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९१५ रुपैयाँ पुगेको छ ।

एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष थप्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष पद थप्ने भएको छ। बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।  अब नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठसहित सात उपाध्यक्ष, सचिव सातदेखि ९ जनासम्म हुने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने छ। एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ। 

प्रत्येक प्रदेशमा एक हजार गाईभैंसी पालनको पूर्वाधार बनाउने सरकारको घोषणा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक प्रदेशमा कम्तिमा एक हजार गाईभैंसी पाल्ने क्षमताका पूर्वाधार बनाउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा गाईभैंसी पालनको पूर्वाधारसहितको स्रोत केन्द्र बनाउने घोषणा गरेका हुन् । सरकारले पशुपन्छीजन्य रोग नियन्त्रणका लागि अस्पताल निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।

बुटवलमा दुग्ध उत्पादक किसानको चक्काजाम

बुटवल, १७ फागुन । विभिन्न माग राख्दै दुग्ध उत्पादक किसानले बुटवलमा एक घण्टा चक्काजाम गरेका छन्। बुटवलको राजमार्ग चौराहमा जम्मा भएका दुग्ध उत्पादक किसानहरूले दुग्ध उत्पादन बिक्री वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रूपमा भित्रिरहेको दूध तथा दुग्धजन्य पर्दाथमा रोक लगाउनुपर्ने माग राख्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गमा एक घण्टा चक्काजाम गरेका हुन् । किसानले चक्काजाम गरेपछि नेपाल प्रहरी, शशस्त्र प्रहरीले जाम खुलाउन केही समय बल प्रयोग गरेको छ । चक्काजाममा उत्रेका किसानहरूमाथि बल प्रयोग भएपछि केहीबेर प्रहरी र आन्दोलनरत किसानबीच धकेलाधकेल समेत भएको थियो। किसानहरूले माग पूरा नहुन्जेल आफ्नो आन्दोलन जारी राख्ने बताएका छन्। खुला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीको आयोजनामा भएको विरोध कार्यक्रममा किसानहरूले  ‘बिक्री भएको दूधको तुरुन्त भुक्तानी गर’, ‘अघोषित मिल्क होलिडे बन्द गर’, ‘भारतीय दूध प्रतिबन्ध गर’, ‘कृषिमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए। दूध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबार देखि आन्दोलन शुरू गरेका हुन् । केन्द्रीय सर्कलुर अनुसार बिहीबार किसानहरूले ठाउँ–ठाउँमा एक घण्टा चक्काजाम गरेका छन । जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताए । दुग्ध विकास संस्थानको गत भदौदेखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी छ।  रुपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान लुम्बिनी, दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूमा गरी दुई करोडभन्दा बढीको भुक्तानी लिन बाँकी रहेको पाण्डेयले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने किसानलाई दुधको मुल्य भूक्तानी गर्न निर्देशन दिइसकेका छन् । 

कथाः भूतलाई हेर्ने आँखा

दिपक तिमल्सिना तपाईंहरूको बाल्यकालमा आत्मा, भूतप्रेत, तर्साउने आत्मा भन्ने विषयमा विभिन्न कथाहरू सुन्नुभएको होला । मृत्युपछिको यात्रा प्रायः नर्क र स्वर्गमा पुग्ने कल्पना गरिन्छ। जसले मृत्यु देख्यो, त्यो फर्केर धर्तीमा आउदैन यो ध्रुवसत्य कुरा हो। वास्तवमा आज तपाईहरू माझ यस्ता केही तथ्यपरक एवम् विश्लेषणात्मक रूपका कथा प्रस्तुत गर्ने छु। एकदिनको कुरा हो, करिब रातको सात बजेतिर म घरबाट टिभि हेर्न भनी गाउँको घरमा लागे। घरमा पुग्न करिब ३० मिनेट लाग्थो। बाटो पूरा गोरेटो अनि अप्ठ्यारो थियो। बुढापाकाका अनुसार करिब ७८ वर्ष पहिले त्यहाँ एक जनाको भिरमा खर काट्ने क्रममा खसेर मृत्यु भएको रहेछ।  म विस्तारै ओरालो लाग्दै गए, कत्तैबटा खस्राक खुस्रूक आवाज आयो। मेरो मन अत्तालियो। भूतप्रेत हाम्रो खेवाली पुलाउ हो भनी हिम्मतका साथ अझ अगाडि बढें। फेरि सोचे आज साँच्चै भूतको अनुहार हेर्ने हो। मसँग हिन्दु धर्मकर्म अनुसारको जन्यौ छदै छ भनी टर्च निभाएँ।  टर्च निभ्नासाथ एउटा जुनकीरीलाई देखे । त्यसाई छुन खोजे तर एक्कासी हरायो। अलि  परतिर जुनकीरीहरूको जत्था थियो। एकछिन चुप लोर बसें सबै हरायो।  मेरो मन अच्चानक बहक्किन थाल्यो। त्यसपछि टर्च लाइट तलतिर बालेर दायाँतिर अनुहार मोडें, त्यहाँ सेतो बोरा जस्तो केही चिज थियो । बिस्तारै टर्च लगें, त्यही ठाउमा नै । मान्छे मरेको कथा मेरो मनमा झलझलि आइनैरहेको छ।  एक्कासि हेरेको त त्यहाँ त रूख मात्र छ। म अत्ताल्लिए छिटोछिटो पाइला चालेंं । हतार हतार अघि बढे मुटुको धड्कन बढिरहेको थियो तर पनि अब कहिले पुग्ने हो गन्तव्य भनी सोचिरहें। त्यहा माथि लामाहरूको झाँक्री मन्त्र लगाउछन् भन्ने सुनेको थिएँ । कसैलाई राति देख्यो भने बनझाँक्रीले लग्छन भनी बच्चादेखि नै हामिलाई तर्साइएको थियो।   मेरो होस हवास गुम्यो । पहिलोपटक आउदा त बुबा सँगै हुनुहुन्थो र डर पनि लागेको थिएन। आज अचानक यो सब चिज हुँदा अब भोलिदेखि यहाँबाट नआउने प्रण लिएँ। मससँग भएको ॐ नमः सिवाय मन्त्र फुक्दै अघि बढे।  यसरी भोलिपल्ट घरमा सबै कुरा सुनाएपछि आमाले भन्नुभयो कि खुर्सानीको एक दाना गोजीमा राख्नुपर्छ वा अगुल्टो बोकेर डिड्नुपर्छ तब मात्र तर्साउदैन। म जहिल्यै एक खुर्सानीको खिल्ली बाकेर जान थालेपछि केही भएन।  मलाई म निकै शक्तिशाली भएको अनुभव हुन थाल्यो। म त्यतिखेर कक्षा ७ मा पढ्थे । मैले एक एक घटना आफ्ना साथीहरूलाई सुनाउन थालें । त्यसै क्रममा एक साथीले भन्यो त्यसो भए हजार हजारको बाजी ल त रातको १२ बजे आर्यघाट पुगेर आइजो अनि तलाई म मान्छु । मलाई लाग्यो आज बाजी जितिने भो, एकदमै उत्साहित भएर फोनमा मम्मीलाई आज म घर आउदिन साथीकोमा बस्छु भनें। त्यसपछि रातको ११ः३० बजे आर्यघाट पुगें, त्यहा धेरै मलामीहरू रहेछन्। एउटी आमाको लाश जलाएर अन्तिम चरणको हड्डीहरू ठोस्द‌ै थिए। यसरी म सर्त अनुसार त्यहा पुगेर करिब आधा घण्टापछि फर्किए। म खुसी हुँदै आउदै थिए घर नजिक फर्किएर आइपुग्नै लाग्दा गोजी छामे खुर्सानी नै छैन रैछ। त्यसपछि म हतार हतार साथीको कोठामा गई हेर्छु त मेरो पाइन्ट  साथीले नै लगाईरहेको रहेछ।  उसलाई उठाएर उसको गोजीको खुुर्सानी निकाल्दै भनें– यार  तैले यो के गरेको ? उसले भन्यो– ‘तैले नै मेरो पाइन्ट पहिले लगाएको होस्।’ ‘पुगेर आइस’– उसले सोध्यो । ‘अँ आए’– जवाफ फर्काएँ । उसले नरम स्वरमा भन्यो त्यो मेरो गोजीको चोर गोजीमा छ हजारको नोट निकालेर लैजा । म विस्तारै उसको नजिक गई सुते। अनि सोच्न थालें ओहो ! यो सब कसरी सम्भव भयो। असरी समस्या समाधान गर्ने त खुर्सानी थिएन, मेरो हिम्मत र आत्मविश्वास नै थियो । यो भूत प्रेत, आत्मा, धामी झाक्री त सबै भ्रम न रहेछन, जुन हाम्रो समाजले हाम्रो अवचेतन मनमा बाल्यकालदेखि नै विभिन्नका कथाका माध्यमले हालेका रहेछन्। आत्मविश्वास, हिम्मत र साहसले मानिसको डरलाई पनि मेटाउने रहेछ। यो सब त भ्रम पो रहेछ, मेरो मनको डर। अहिले मेरो भूतलाई हेर्ने आखा यसरी फेरिएको छ। 

घाटामा जाने उद्योगहरू नचलाउनुस् : प्रधानमन्त्री ओली

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा आज भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायत पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरे । “साना साना लगानीमा धेरै कृषिमा आधुनिकीकरण र स्टार्टअप उद्योग खोलेर बेरोजगारीलाई रोजगारी दिन सकिन्छ । उत्पादन बढाएर आयात विस्थापन गर्न सकिन्छ,” प्रधानमन्त्री ओलीले भने, “नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ । डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ ।’’ मद्यपान र धुमपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सृजना गर्ने र समाजलाई सभ्य तथा स्वस्थ्य बनाउने खालका उत्पादनमा जोड दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले उद्योगका नाममा भएका बेथिति रोक्न र राम्रा काम गर्नेलाई संरक्षण गर्न निर्देशन दिए। उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको छलफलमा प्रधानमन्त्री ओलीले खनिज र पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् कार्यलाई निरन्तरता दिँदै यसका आधारमा विकास गर्न सकिने उद्योगको योजना ल्याउन आग्रह गरे ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार  ?

काठमाडौं । निरन्तर एकपछि अर्को रेकर्ड बनाउँदै बढेको सुनचाँदीको मूल्य आज भने घटेको छ । मंगलबार सुन तोलामा ६ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १९०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका र कालिकोट पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम

भरतपुर । चितवनको भरतपुर महानगरपालिका र कालिकोट पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । सोमबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले समझदारी पत्रमा हस्ताक्षर गरे । दुई स्थानिय तहका प्रमुखले ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको जनाइएको छ ।दुई स्थानिय तहको विका स र समन्यवयका लागि दुई स्थानीय तह बीचमा औपचारीक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्। कार्णालीको सबैभन्दा विकट मानिएको पचालभरना गाउँपालिका र सुगम जिल्ला चितवनको भरतपुरबीच भगिनी सम्बन्ध स्थापित हुन एक ऐतिहासिक कार्य भएको प्रमुख दाहालले बताइन्। पचालभरना गाउँपालिका र भरतपुरबीच आर्थिक, साँस्कृतिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा सहकार्य र समन्यव गरी अगाडि बढ्ने प्रमुख दाहालको भनाई छ । कार्यक्रममा बोल्दै पचालझरना गाँउपालिकाका अध्यक्ष देवराज शाहीले भरतपुरमा भएका असल अभ्यासको सिको गर्दै गाँउपालिकाको थप विकास र समृद्धिका लागि अघि बढ्ने बताए। अध्यक्ष शाहीले गाँउपालिकालाई आउने समानिकरण बजेट न्युन रहेकाले आवश्यकता अनुसार विकास गर्न सम्भव नरहेको उल्लेख गरे । भरतपुर महानगरसँगको भगिनी सम्बन्धपछि गाँउपालिकाले विकास र समृद्धिको बाटो थप मद्दत पुग्ने विश्वास व्यक्त गरे। सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र पचालझरना गाँउपालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार–प्रसार गरिने उल्लेख गरिएको छ ।    दुई स्थानीय तहमा उत्पादित मौलिक कृषि उपजहरुलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान, सीपको सिको गर्दै कृषकहरुलाई विभिन्न तालिम तथा भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने, उद्यमशीलतामा बृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्धमशीलताको विकास गर्ने, शिक्षाको क्षेत्रलाई समय सापेक्ष बनाउन विद्यालयको अनुगमन तथा प्राविधिक शिक्षाको सञ्चालन, प्रबर्द्धन र विकास गर्नेलगायतका विषय समझदारी पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, पचालझरना गाँउपालिकाका उपाध्यक्ष अल्किना बमलगायत दुबै पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

पोखरामा ६ वटा सहकारी पीडितको संयुक्त प्रदर्शन

पोखरा । पोखरामा रहेका ६ वटा सहकारीका बचतकर्ताले वचत फिर्ता र आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् । पोखराका सूर्यदर्शन, इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताले संयुक्त संघर्ष समिति बनाएर सोमबार पोखरामा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पोखरा महानगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सबैजसो दलका शीर्ष नेतालाई भेटेर समस्या सुनाउँदा पनि न्याय पाउन नसकेको भन्दै उनीहरुले एकीकृत आन्दोलन सुरु गरेका हुन् । सहकारी पीडितहरुले  ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर !’, ‘सहकारी पीडितलाई अझै कति दिन तड्पाउँछस् सरकार ?’ ‘जीबी राई, देवकुमार नेपालीलाई पक्राउ गर’, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ,’ ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ’, जस्ता नारा लगाउँदै सडकमा निस्किएका छन् । ६ वटा सहकारीबाट मात्र ३ अर्ब रुपैयाँ अपचलन भएको प्रहरीको भनाइ छ । ती सबै सहकारीका सञ्चालक र जिम्मेवार व्यक्तिहरु अधिकांश फरार भएको र उनीहरुलाई राजनीतिक दल र नेताहरुको संरक्षण रहेको पीडितहरुको गुनासो छ । कास्की सहकारी वचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख दलका शीर्ष नेतालाई आफूहरुको समस्या जानकारी गराउँदा पनि बेवास्ता गरेकाले सामूहिक रुपमा आन्दोलन सुरु गरेको बताए ।

माओवादी केन्द्रले एक लाख लिची र कागतीको बिरुवा रोप्ने

दमक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ । संगठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए। उनका अनुसार भोलिदेखि औपचारिक रुपमा दमकका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो। जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको उनले बताए। बिरुवा रोप्नेसँगै जनयुद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना पत्रसमेत सम्मानस्वरुप हस्तान्तरण गरिने माओवादी केन्द्र दमक नगर कमिटिले जनाएको छ ।

अध्यक्ष प्रचण्डलाई नेवार वस्तीमा स्वागत (फोटो फिचर)

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्दै स्थानीयबासी । स्थानीय नेवार समुदायबाट अध्यक्ष प्रचण्डलाई बाजागाजासहित स्वागत गरिएको थियो। तस्विरः दिपक भण्डारी/एभरेष्ट दैनिक

मधेशका महिलाको राजनीतिक आकर्षण (फोटो फिचर)

तराई मधेशका महिलाहरुमा पछिल्लो समय राजनीतिमा आकर्षण देखिएको छ । पहिले नै राजनीतिमा लागेका महिलाहरु थप सक्रिय बन्दैछन् भने विभिन्न क्षेत्रमा क्रियाशील र गृहणीको रुपमा रहेका महिलाहरु पनि दल प्रवेश गरेर राजनीतिक आबद्धता बढाउँदैछन् । भदौ २९ र ३० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको मोरङ, सुनसरी र झापा भ्रमणको क्रममा पार्टी प्रवेश गर्नेहरु अधिकांश महिला थिए ।  तस्विर सौजन्यः प्रचण्डको सचिवालय  

आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

वीरगञ्ज  । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना  कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले राससलाई बताए । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उनले बताए । ूयी औजार तथा उपकरणको  मूल्य भने निर्धारण गरिसकेका छैनौँ”, उनले उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्दै भने । इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताए । केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ । हाल केन्द्रमा १५ जना कार्यरत छन् । सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाईसञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो । रासस