नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल

काठमाडौँ । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ।जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडीबी)को बोर्ड अफ गभर्नरको ५७ औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकाङ्क्षा सम्बोधन गर्न ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरेका हुन्।

उनले नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रीड)को अवधारणामा अघि बढेको भन्दै वित्तीय र प्राविधिक सहयोग बढाउन एसियाली विकास बैंकसहित सबै विकास साझेदारसँग आग्रह गरे । सचिव मरासिनीले दक्षिण एसियालाई उदयीमान आर्थिक विकासको क्षेत्र बनाउन सामूहिक प्रयासको खाँचो औंल्याउँदै अन्तरक्षेत्रीय व्यापार अभिवृद्धिका लागि अन्तरआबद्धता, नवप्रवर्तन र डिजिटलाइजेसनमा जोड दिइनुपर्ने बताए।

“कोभिड–१९ महामारीपछि नेपाली अर्थतन्त्रमा विश्वव्यापी आर्थिक चुनौतीको प्रभाव परेको छ । पछिल्ला दिनमा राजस्व घाटा र बढ्दो ऋण दायित्वका कारण आर्थिक गतिविधिमा सङ्कुचन पैदा हुनुले अन्य धेरैजस्तै नेपालले पनि सुस्त आर्थिक वृद्धि र आर्थिक शिथिलताको सामना गरिरहेको छ”, उनले भने, “आर्थिक समृद्धि, अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति र दिगो विकास लक्ष्य प्राप्त गर्न सार्वजनिक वित्त परिचालन मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य बन्न गएको छ । म यो मञ्चबाट एडिबीसहित हाम्रा सबै विकास साझेदारहरुलाई सहुलियतपूर्ण कर्जामा जोड दिने नीतिमा हाम्रो सरकार रहेको जानकारी गराउन चाहन्छु ।” 

सचिव मरासिनीले नेपालले राजनीतिक स्थायित्वसँगै आर्थिक वृद्धि र समृद्धिका लागि प्रयास गरिरहेको भन्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

नेपालमा लगानी अनुकूल वातावरण निर्माणका लागि केही समयअघि काठमाडौँमा तेस्रो लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उनले  पर्यटन, जलविद्युत् र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी आउने वातावरण बनाउन एडिबीले महत्त्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने विश्वास आफूहरुले गरेको उल्लेख गरे।

एसियाली विकास बैँकले नेपाललाई निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै सचिव मरासिनीले विकास यात्रामा भरपर्दो साझेदार भएकामा कृतज्ञता व्यक्त गरे । पछिल्लो दशकमा नेपालले सामाजिक समावेशीकरण र आर्थिक विकासलाई सँगै अगाडि बढाएको उनको भनाइ थियो।रासस
 

सुदूरपश्चिममा १० दिनभित्र सरकार बनाउन आह्वान

धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले शुक्रबार दिउँसो विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि १० दिन भित्र दाबी पेश गर्न आह्वान गरेका छन्। सो धारा अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख मियाँले बिहीबारदेखि नै राजनीतिक दल, कानुनका विज्ञसँग नयाँ सरकार गठनका लागि आह्वान गर्नका लागि परामर्श लिएर सो आह्वान गरेका हुन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन्। नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ। सङ्घीय सरकार अनुसार गठबन्धन बनाउन आवश्यक संख्या भन्दा बढी ३१ जना प्रदेश सभा सदस्य छन्। सात सदस्य रहेको नागरिक उन्मुक्ती पार्टी आन्तरिक विवादमा फसेकोले नयाँ सरकार बन्न कठिनाइ भइरहेको छ।  सङ्घीय सरकारमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी) संग १०/१० जना र नेकपा (एकीकृत समाजवादी)सँग चार जना प्रदेश सभा सदस्य गरेर २४ मात्र रहेका छन्।  प्रदेश सभामा नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्रका १र१ जना प्रदेश सभा सदस्य छन्।

अनलाइनबाट नागरिकताको फाराम सिफारिस

धनगढी। धनगढी उपमहानगरपालिकाले पहिलो पटक अनलाइनमार्फत नागरिकताको फाराम सिफारिस गरेको छ। सो कार्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई पहिलो पटक अनलाइनमार्फत नागरिकताको फाराम सिफारिस गरेको हो।  धनगढी उपमहानगरपालिकाको कार्यालयले धनगढी उपमहानगरपालिका-२ का प्रशंसा जोशीको नागरिकताको फाराम अनलाइनमार्फत सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ।  धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई अनलाइनमार्फत फाराम हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।  उनले अनलाइनबाट प्रदेशमै पहिलो पटक सिफारिस हस्तान्तरण गर्ने र लिने कार्य भएको जानकारी दिए । 

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पेस गरेका हुन् ।  सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद विभाजित भएर विश्वासको मत नपाउने देखिएपछि राजीनामा बुझाएका हुन् । आज विश्वासको मत लिने तयारी समेत गरेका थिए । शाह ०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

सातै प्रदेशमा आईटी वर्क स्टेसन बन्ने, ५ हजारले रोजगारी पाउने

काठमाडौं । सरकारले देशका विभिन्न आठ स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालनमा ल्याउने भएको छ । मङ्गलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । सङ्घीय संसद्‌को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालनमा ल्याइने बताए । उनका अनुसार यसबाट कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिनेछ ।

माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक सकियो, ७० नेताले दिए सुझाव

उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक आज सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिनुभएको थियो । पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनपरिचालनमा तत्काल लाग्नुपर्ने प्रदेशस्तरीय नेताहरुले सुझाव दिनुभएको थियो । सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा समाजवादमा जाने गरी पार्टीले अघि सारेको कार्यदिशालाई अझै विस्तृतीकरण गर्दै स्पष्ट कार्यक्रमको ढाँचा अघि सार्नुपर्ने पनि नेताहरुको सुझाव थियो । बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीले पनि सम्बोधन गर्नुभएको थियो ।  पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । माओवादी केन्द्रले अहिलेसम्म १ नम्बर प्रदेशसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । अब मधेश प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक बाँकी रहेको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।

गंगादेवको नाम र केन्द्र परिवर्तनपछि तनाव, प्रतिरोध गर्न माओवादी केन्द्रको आह्वान

रोल्पा । नेपाल सरकारले गंगादेव गाउँपालिका रोल्पाको नाम र केन्द्र दोस्रो पटक हेरफेर गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानिय सरकार संचालन ऐन २०७४ उलङ्गन गर्दै गंगादेव गाउँपालिकाको नाम पुनः सुकिदह गाउँपालिका केन्द्र सुकाओढार राख्ने निर्णय गरेको हो । स्थानिय सरकार सुरुवाती  समयमा सुकिदह गाउपालिका नाम रहेक‍ोमा २०७४ मंसिर २९ गते बसेको गाउँ सभाबाट स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४ अनुसार गाँउ पालिकाको नाम र केन्द्र हेरफेर गर्ने निर्णय बमोजिम नेपाल सरकारले २०७४ फागुन १४ गते राजपत्रमा सुचना प्रकाशन भए पश्चात् पहिलो पटक नाम र केन्द्र हेरफेर गरि नाम गंगादेव र केन्द्र सानडाडा कायम गरि कार्य संचालन हुँदै आएको थियो । दोस्रो स्थानिय निर्वाचन २०७९ परिणाम पश्चात् निर्वाचित नेतृत्व परिवर्तन सगै दोस्रो पटक पुनस् नाम र केन्द्रको निर्णय अगाडी बढेको थियो। २०७९ असार १८ को गाँउकार्यपालिकाको निर्णय तथा २०७९ असार ३१ को गाउसभाको निर्णय गरि दोस्रोपटक नाम र केन्द्र हेरफेरको प्रकृया थालिएको थियो। असार १८ र ३१ गतेको निर्णयलाई टेकेर गाउपालिकाको नाम र केन्द्र हेरफेरको बिषयमा अदालतमा स्थानिय बेलबहादुर दमाई ले मुद्दा दायर गरे। सो मुद्दाका प्रतिवादीहरुले गाउपालिकाको नाम र केन्द्र परिवर्तन भई नसकेकोले मुद्दा बदर हुनुपर्ने लिखित जवाफ पेश गरे भने अदालतले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४ अनुसार नाम र केन्द्र हेरफेर गरि राजपत्रमा सुचना प्रकाशन भई कार्य संचालन हुँदै आएको सुकिदह नाम र सुकओढार केन्द्र कायम भएको निर्णय नभएकोले अलग्गै आदेश दिइरहनु नपर्नेगरि सुनुवाई गर्यो । फेरि गाउपालिका अध्यक्षको प्रस्तावमा ८ वैशाख २०८० को गाउँ सभाले गाउँपालिकाको नाम हेरफेर गर्ने सुकिदह गाउँपालिका नामाकरण गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार (जिनावाङ) रहने गरी निर्णय गरेको थियो । सोही प्रकृया पश्चात लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको नाम र केन्द्र फेर्ने प्रस्ताव संघीय सरकारलाई पठाउने सिफारिस गरेको थियो । सोही प्रकृया बमोजिम आधारमा नेपाल सरकारले नाम र केन्द्र हेरफेर गरेको हो । गंगादेब गाँउपालिकाको नाम र केन्द्र परिवर्तन गर्दा तिनै तहको सरकारले स्थानिय सरकार संचालन ऐन २०७४ कुल्चिएको आरोप निवर्तमान गाउँपालिका अध्यक्ष बिरबहादुर खत्रीले लगाएका छन । उनले भने “स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४ लाई अपब्याख्या गरि सरकारले ऐन कानुन कुल्चिएको छ, ऐन र कानुन कुल्चने तिनै तहको सरकारको बिरुद्धमा अदालत जान्छौ ।” गाउपालिका अध्यक्ष हरिबहादुर पुन भने स्थानिय सरकार संचालन ऐन २०७४ भावना अनुसार नाम र केन्द्र अहिलेको सरकारले हेरफेर गरेको बताउदै आएका छन । उनले केही दिन पहिले बाजागाजा सहित गाउपालिका सानडाडा बाट सुकाओडार सार्ने बताएका थिए ।गंगादेव गाउपालिका रोल्पाको नाम र केन्द्र स्थानिय सरकार संचालन ऐन २०७४ को भावना विपरित दोस्रो पटक हेरफेर गरेपछि माओवादी केन्द्र रोल्पाले बिज्ञप्ति जारी गरेर विरोध जनाएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ मा नाम र केन्द्रको हेरफेरकोलागि यस्तो छ ब्यवस्था ? १) नेपाल सरकारले प्रदेश सरकारको परामर्शमा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र तोक्न सक्ने छ । २) गाउँपालिका तथा नगरपालिकाको केन्द्रकोलागि आवश्यक पर्ने जग्गाको क्षेत्रफल, भौतिक पूर्वाधार र अन्य विषयको न्यूनतम मापदण्ड नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ । ३)गाँउपालिकाको वा नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्नुपरेमा सम्वन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकार मार्फत नेपाल सरकारमा पठाउनु पर्नेछ । ४) उपदफा (३) बमोजिम प्राप्त भएको प्रस्ताव नेपाल सरकारले उपयूक्त देखेमा त्यस्तो गाउपालिका वा नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्न सक्नेछ । ५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिना भित्र सम्बन्धित सभाबाट तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरि एक पटककोलागि गाउपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस बमोजिम नाम र केन्द्र हेरफेर गर्नुपर्ने छ । ६) यस दफा बमोजिम केन्द्रको हेरफेरको सिफारिस गर्दा उपदफा (२ ) मा उल्लेखित मापदण्डको अधिनमा रही गर्नुपर्ने छ । ७) कुनै गाउँपालिका वा नगरपालिकाको ना र केन्द्र हृरफेर भएमा सो को जानकारी प्रदेश सरकारलाई दिनुपर्ने छ । ८) कुनै गाउपालिका वा नगरपालिकाको नाम अर्को गाउँपालिका वा नगरपालिका सँग मिल्न गएमा नेपाल सरकारले प्रदेश सरकार मार्फत सम्वन्धित गाउपालिका वा नगरपालिकालाई त्यस्तो नाम परिवर्तन गर्न सुझाव दिन सक्नेछ । ९) उपदफा (८) बमोजिमको सुझाव प्राप्त भएको कार्यपालिकाले उपदफा ३ बमोजिमको प्रकृया अपनाइ गाउपालिका वा नगरपालिकाको नाम परिवर्तन गरि प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष पठाउनु पर्ने छ ।

उर्जा क्षेत्रका माफिया नै ऊर्जामन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मन्त्रीपरिषदमा उर्जा क्षेत्रका माफिया भनेर चिनिने दीपक खड्का उर्जामन्त्रीमा नियुक्त भएका छन् ।  जलविद्युत् आयोजना लिने र पुरा नगर्ने गरेका खड्का ऊर्जामन्त्रीमा नियुक्त भएका हुन् । उनी १ सय २० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत् परियोजना, ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका प्रवर्द्धक समेत हुन् । संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का यसअघि खानेपानी राज्यमन्त्री हुँदा पनि विवादित बनेका थिए । उनीमाथि लैनचौरमा रहेको नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसायमा लगाएको गम्भीर आरोप पनि छ । उनले ५ करोड रुपैयाँभन्दा बढी जग्गाको भाडा स्काउटलाई नबुझाएको स्काउटले नै बताएको छ । सो जग्गा नेपाल स्काउटलाई फिर्ता गर्न पाटन उच्च अदालतले आदेश दिए पनि खड्काकै दबाबका कारण त्यो कार्यान्वयन हुन सकेको छैन ।

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु

उदयपुर  । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आजदेखि सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपमहासचिवसम्मका पदाधिकारी पुगेर प्रदेशको रायसुझाव लिने र प्रदेश नेताहरुलाई सम्बोधन गर्ने गर्नुभएको छ ।  माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । प्रदेश १ को बैठक सकिएपछि लगत्तै मधेश प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक आयोजना गर्ने माओवादी तयारी छ ।  प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।

एमाले सुर्खेतको अधिवेशन आजदेखि

सुर्खेत । नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशन आज देखि सुरू हुँदैछ। बिहीबार बिहान ११ बजे वीरेन्द्रनगरमा जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने एमालेका नेता मोहन बडुवालले जानकारी दिए। बुधवार बसेको जिल्ला कमिटी बैठकले नवौं अधिवेशनमा पेश गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदन पास गरेको छ । अधिवेशनको सबै तयारी पूरा भएको र अधिवेशनमा ४९५ जना प्रतिनिधिहरु सहभागी हुने बडुवालले जानकारी दिए ।  अधिवेशनअन्तर्गत् बिहिबार नै राजनीतिक तथा आर्थिक प्रतिवेदन पेश गर्ने तालिका रहेको छ। यस्तै बिहीबार रातिदेखि नै बन्दसत्र सुरू हुनेछ । शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रियामा जाने र सहमति नभए निर्वाचनबाटै आइतबारसम्म जिल्लाको नयाँ कमिटी घोषणा गरिसक्ने तयारी छ ।

प्रतिनिधिसभाबाट विद्युतीय व्यापार विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकले विद्युतीय व्यापार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरी बहुमतले पारित गरेको छ ।  सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेको प्रस्तावलाई सोमबारको बैठकले पारित गरेको हो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले आ–आफ्नो राय राखेका थिए ।सो पश्चात विधयेक बहुमतले पारित गरेका हुन् ।

चीनको चेतावनीबीच अमेरिकी टोलीले भेट्यो दलाई लामा

काठमाडौं। चीनको विरोधका बाबजुद अमेरिकी कंग्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार चीनका धार्मिक नेता दलाई लामालाई भारतमा भेट गरेको छ। अमेरिकी कंग्रेसमा विदेश मामिलासम्बन्धी समितिका रिपब्लिकन सभापति माइकल म्याककाउलको नेतृत्वको सो टोलीमा पूर्वसभामुख न्यान्सी पेलोसी समेतका सातजना सामेल थिए । दलाई लामालाई भेट्न टोली मंगलबार भारतको हिमाञ्चल प्रदेश पुगेको थियो । लामा त्यही धर्मशालामा सन् १९६० को दशकदेखि बस्दै आएका छन् । अमेरिकी प्रतिनिधिमण्डलले तिब्बतको प्रवासी सरकारको कार्यालय समेत भ्रमण गरेको थियो । सो कार्यालयले तिब्बतलाई चीनबाट स्वायत्त बनाउनका लागि भूमिका खेल्दै आएको छ । चीनले अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलले दलाई लामासँग भेट्नुअघि नै कडा वक्तव्य जारी गरेर तिब्बतको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो । द सेटल टाइम्स

चीनसँग सीमा र पाकिस्तानसँगको आतंकवाद मुद्दा समाधान गर्ने जयशंकरको विश्वास

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले दोस्रोपटक विदेश मन्त्रालयको कार्यभार सम्हालेपछि दुई छिमेकी चीन र पाकिस्तानसँगको सम्बन्धका बारेमा प्रतिक्रिया दिएका छन् ।  जयशंकरले समाचार संस्था एएनआईसँग भनेका छन्, “खासगरी लोकतन्त्रमा कुनै पनि सरकार लगातार तीन पटक बन्छ भने यसले यो सन्देश दिन्छ कि– भारतमा राजनीतिक स्थिरता छ। जनता आफ्नो प्रधानमन्त्रीमाथि विश्वास गर्छन्।”  सो क्रममा विश्वसामु भारतको हित अगाडि बढाउने दाबी उनले गरे । “चीन र पाकिस्तान अलग देश हुन्। उनीहरूसँगको सम्बन्ध अलग छ। समस्या पनि अलग छन् । चीनसँग सीमासम्बन्धी केही मुद्दा बाँकी छन् । समाधान गर्ने हामी कोसिस गरिरहेका छौँ । पाकिस्तानसँग वर्षौंदेखि सीमा आतंकवाद मुद्दा छ । हेरौँ हामी यसको समाधान कसरी गर्छौँ,” जयशंकरले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार जयशंकरलाई मन्त्री नियुक्त गरेका थिए। सोमबार मोदीले उनलाई दोस्रोपटक विदेशमन्त्रीको जिम्मेवारी दिएका हुन्।

स्कुल बसमा अगजनीप्रति भरतपुर महानगरको गम्भीर आपत्ति

चितवन । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनीप्रति महानगरले गभ्भीर ध्यानाकार्षण भएको जनाएको छ । सोमबार भरतपुर महानगरपालिकाले एक विज्ञप्ती जारी गर्दै आइतबार विहान ८ः२५ बजेको समयमा भरतपुर वडा नम्बर २० चनौली बजारबाट अन्दाजी १ किमी दक्षिणतर्फ रहेको दद्राहनी पुल नजिकै भएको आगजनीको घोर निन्दा गरेको छ । मोटर साईकलमा आएका ६ जनाको अज्ञात समूहले आइतबार विहान हेभन बोर्डिङ स्कुल भरतपुर–५ को बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने बसमा आगजनाी गरेको थिए । महानगरपालिकाले विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको अवस्थामा समेत शान्ति क्षेत्रको अवधारणा र मर्म विपरित विद्यार्थीलाई भयभित पार्ने कार्य हुनु दुखद र निन्दनीय कार्य भएको जारी विज्ञप्तीमा भनिएको छ ।  कही कसैबाट यस्ता प्रकारका गतिविधि नगर्न नगराउन सबै पक्षको ध्यानाकार्षण गर्दै शान्तिपूर्ण तरिकाले पठनपाठन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सहयोग पुराउन भरतपुर महागनर सम्बन्धित सबै पक्षलाई यसै प्रेस विज्ञप्तीमार्फत आह्वान पनि गरेको छ ।

तेस्रो पटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उनले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।   दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठ्दै आए पनि केन्द्रीय गठबन्धनका कारण प्रदेशमा पनि कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने भएका छन् । जनमतले छाडेका दुई मन्त्रालय कांग्रेस र माओवादीलाई दिने सहमतिमा दुवै दलले विश्वासको मत दिने सहमति छ ।   मधेसमा १०७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९–९ सांसद छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन् भने एकजना स्वतन्त्र सांसद रहेका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी) मुगुको अध्यक्षमा कबिदत्त बुमि निर्विरोध निर्वाचित

मुगु ।अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको अध्यक्षमा कबिदत्त बुमि निर्विरोध निर्वाचित भएका छन् । यहीँ भाद्र २५ र २६ गते भएको अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको सातौं जिल्ला सम्मेलन बाट जिल्ला अध्यक्षमा कबिदत्त बुमि, उपाध्यक्षमा महेन्द्र बिक, सचिबमा समीर कुमार शाही, सहसचिवमा गणेश परियार र काेषाध्यक्षमा बिमाला शाही सहित ३१ सदस्य निर्बिरोध निर्वाचित भएको नव निर्वाचित अध्यक्ष कबिदत्त बुमिले बताए ।  जिल्ला भित्रका चार वटा स्थानिय तह, क्याम्पस र माबी स्कुल बाट छनोट भएर आएका प्रतिनिधिहरुको बीचबाट ५ पदाधिकारी सहित ३१ सदस्यीय जिल्ला समिती निर्वाचित भएको अध्यक्ष बुमिले बताए । सम्मेलनले नेतृत्व निर्माण संगसंगै मुगु जिल्लाका तमाम शैक्षिक समस्या, भ्रष्टाचार, विकृति र विसंगतिका विरुद्ध आन्दोलन र अभियान संचालन गर्ने, बिद्यार्थीको अतिरिक्त क्षमता बिकासको लागी विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रम गर्ने, सबै माबि भन्दा माथीका शैक्षिक संस्थामा संगठन बिस्तार, गठन, पुनर्गठन गर्ने लगायतका निर्णय गरि सम्मेलन सम्पन्न भएको अध्यक्ष बुमिले बताए । "समाजवादी शिक्षा प्राप्तिका निम्ती हाम्रो आन्दोलन ! सशक्त र जुझारू संगठन निर्माणका लागि ७ औं जिल्ला सम्मेलन ! " भन्ने मुल नाराका साथ यहीँ भाद्र २५ गते उद्घाटन २६ गते समापन भएको अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको सातौं जिल्ला सम्मेलनमा अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचीव नवराज कार्की प्रमुख अतिथि थिए भने माओवादी केन्द्रका नेता तथा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको बिशिस्ट अतिथि थिए र माओवादी केन्द्रका नेता भारत बहादुर शाही लगायत बिद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।