चितवनको देवनगर सबस्टेसनको उद्घाटन

काठमाडौं । भरतपुर ६ देवनगरमा निर्माण भएको ३३/११ केभी २०/२४ एमभीए क्षमताको सबस्टेसनको उद्घाटन गरिएको छ । शनिबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सबस्टेसनको उद्घाटन गरिएको हो । 

भरतपुर महानगर प्रमुख दाहालले भरतपुरमा भइरहेको तीब्र सहरीकरणसँगै विद्युत् आपूर्तीमा देखिएको समस्या समधान गर्न देवनगर सबस्टेसन सञ्चालनमा ल्याइएको बताइन् । पश्चिम चितवनको मेघौलीमा पनि चार विघा क्षेत्रफलमा सबस्टेसन निर्माण गर्न लागिएको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरलगायत देशका प्रमुख सहरहरूको ५० वर्षिय गुरुयोजना तयार भई त्यहीअनुसार काम अगाडि बढाइएको जानकारी दिए । भरतपुरमा भइरहको तीव्र सहरीकरणका कारण गुरुयोजनालाई थप परिस्कृत र परिमार्जित गरिएकाले ५० वर्षका लागि विद्युत् आपूर्तिको समस्या नहुने उनको भनाइ छ ।

नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री

सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताएका छन्।  बागमती नगरपालिकाले आज सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम’ लाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको विविधतालाई एकताबद्ध बनाउनुपर्ने बताए । “विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो,” प्रधानमन्त्री प्रचण्डले भने, “सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कामयम गर्न सकिन्छ ।” उहाँले नेपालका सबै क्षेत्र, जातजाति र भाषाभाषी एकताबद्ध हुँदा नै  देशको राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले विविधतामा एकता हामी नेपालीको विशेषता भएको बताउँदै सबैलाई एकतामा उन्ने र राष्ट्रियता प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका अवसरमा नयाँ सन्देश दिने उद्देश्यका सबै अभिभावक एवं विद्यार्थीले सिर्जनात्मक प्रस्तुति प्रदर्शन गरेको भन्दै उनले शुभकामना व्यक्त गरे ।  कार्यक्रमका अवसरमा सार्वजनिक शिक्षाको सुधारसम्बन्धी पुस्तक लोकार्पण गरे ।  ‘शिक्षा, स्वास्थ्य र रोजगार, त्यसैका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक नगरपालिकाले जनाएको छ  । कार्यक्रममा सात वटै प्रदेशको सांस्कृतिक एवं भौगोलिक विविधता र पहिचान झल्किने गीत, नृत्य र संगीतको प्रस्तुति गरिएको थियो । विभिन्न वडाहरूबाट ‘हामी सुधार्छौँ हाम्रो विद्यालय, ‘‘सामुदायिक विद्यालय सुधार्ने हाम्रो जिम्मेवारी भन्ने नारासहित आ–आफ्नो भेषभुषामा अभिभावकहरूको झाँकी प्रस्तुत गरिएको थियो । यो कार्यक्रम सामुदायिक विद्यालयको सवलीकरण तथा रूपान्तरणका लागि देशकै नमुना कार्यक्रम हुने र सामुदायिक विद्यालय सुधारका लागि सामाजिक आन्दोलन हुने आयोजकको विश्वास गरिएको छ ।

जीपी कोइरालाको जन्म जयन्ती : प्रधानमन्त्रीद्धारा फोटो प्रदर्शनी अवलोकन

काठमाडौं ।गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित क्रान्ति देखि शान्ति सम्म ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन  गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु।

बाँदर धपाउन कर्मचारी नियुक्त

पर्वत । पर्वत जिल्लाका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । पैंयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । उनका अनुसार अहिलेलाई यति नै सङ्ख्यामा कर्मचारी नियुक्त गर्ने भन्ने निर्णय नभए पनि न्यूनतम पाँच–पाँच जनाका दरले कर्मचारी राख्ने तयारी भएको छ । हरेक वडामा पाँच जनाका दरले ३५ कर्मचारी नियुक्त गर्ने, उनीहरूलाई सेवासुविधा के–कति निर्धारण गर्ने भन्ने विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्नेछ । केही वर्षअघिदेखि बाँदर नियन्त्रणका लागि सबै वडाका खेतीयोग्य जमिन र बस्ती वरिपरिका रुख कटान अभियान थालिएको भए पनि नियन्त्रण हुन नसकेपछि कर्मचारी नै नियुक्त गरेर बाँदर धपाइने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले राससलाई जानकारी दिनुभयो । बाँदर नियन्त्रण योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा पालिकाले रु सात लाख विनियोजन गरेको छ । तेह्रौँ गाउँसभाले बाँदर नियन्त्रणसँगै राँगा पाल्ने किसानलाई जनही रु २० लाख अनुदान दिने निर्णय गरेको छ । पछिल्लो समय रैथाने जातका लिमे र पाराकोटे भैँसी लोप हुँदै गएपछि राँगा पाल्न प्रेरित गर्ने उद्देश्यले अनुदान दिने निर्णय भएको अध्यक्ष ठकुरीले बताए । यसैगरी सरकारले कक्षा ५ सम्म दिने दिवाखाजा कार्यक्रमलाई पैंयुँ गाउँपालिकाले कक्षा ६ सम्म विस्तार गर्ने निर्णय गरेको छभने पालिकास्तरीय चिस्यान केन्द्र सञ्चालन गरिने भएको छ । कक्षा ८ को पालिकास्तरीय परीक्षालाई  ‘एसइई’ ढाँचामा सञ्चालन गर्ने निर्णय भएको छ ।

सुनसरीमा दुई समूहको झडप, प्रहरीद्धारा ६ राउन्ड हवाई फायर

काठमाडौं । सुनसरी प्रहरीले दुई समूहबीच भएको झडप नियन्त्रण गर्न हवाई फायर गगरिएको छ । सुनसरीको हरिनगर गाउँपालिका–१, भुटाहामा भएको झडप नियन्त्रण लिन हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।  एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउन्ड हवाई फायर र एक दर्जन राउन्ड अश्रुग्याँस पनि प्रहार गरेको सुनसरी प्रहरीले जनाएको छ ।

३ बजे प्रदेशसभा बैठक बस्दै

हेटौँडा। बागमती प्रदेश सभाको बैठक आज मङ्गलवार दिउँसो ३ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची छ।  संसदमा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। उनका अनुसार बैठकमा विशेष समयको व्यवस्था समेत रहेको र उक्त समयमा सांसदहरूले धारणा राखे।  वैशाख ३१ गतेबाट सुरु भएको प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकमा दलगत रूपमा सांसदहरूले शुभकामना व्यक्त गरे भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो।

आज जनैपूर्णिमा, रक्षाबन्धन क्वाँटी खाने प्रचलन, देशभर सार्वजनिक बिदा

काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिका अनुसार मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १ः३१ बजेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिव हुनेछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ । यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ ।  क्वाँटी खाने दिन जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ । नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । रासस

प्रचण्डले विश्वासको मत नपाए ७६(३) अनुसार अक्षम नेताको नेतृत्वमा सरकार बन्छ : ओली (भिडियोसहित)

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको धारा ७६ (२) अन्र्तगत नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धारा ७६ (२) अन्र्तगत विश्वासको मत प्राप्त गर्न नसके ७६ (२)अथात् मिलिजुली सरकारको च्याप्टर क्लोज हुने बताएका छन् ।  २०८० फागुन २९ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिनुपर्ने आवश्यकताबारे संसदीय दलको बैठकमा सांसदहरुलाई सम्बोधनका क्रममा बोलेको कुरा अहिले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्दा भाइरल भैरहेको छ।  प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफै प्रधानमन्त्री बन्न लागेका ओलीले यसअघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने आवश्यकताबारे प्रकाश पार्दै  प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसके शेरबहादुर देउवा नेतृत्वको अल्पमतको अयोग्य, दृष्टिकोण विहिन, परमुखाअपेक्षी, स्वाभिमान हिन, भवितब्यले आइलागेको कुनै संकल्प केही नभएको सरकार बन्ने बताएका थिए । ओलीले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत माग्दै भनेका थिए-'उहाँ अथात् प्रधानमन्त्री प्रचण्डले भोली प्रधानमन्त्री माथि विश्वास छ भनेर मत माग्नु हुनेछ। उहाँमाथि हामीले विश्वास छैन्। भन्दा, कोमाथि विश्वास छ भन्ने हुन्छ त ? भन्दा भोली.....यदी प्रधानमन्त्री प्रचण्डमाथिको विश्वासको मत असफल भयो भने । ७६ (२)अथात् मिलिजुली सरकारको च्याप्टर क्लोज हुन्छ । र प्रमुख पार्टीको हिसाबले विश्वासको मत असफल हुने वित्तिकै राष्ट्रपतिले ७६ (३)अन्तरर्गत प्रमुख पार्टीको नेता (शेरबहादुर देउवा)लाई प्रधानमन्त्री नियुक्त गर्नहुन्छ। त्यो सरकार अल्पमतको अयोग्य, दृष्टिकोण विहिन, परमुखाअपेक्षी, स्वाभिमान हिन, भवितब्यले आइलागेको कुनै संकल्प केही नभएको तेस्तो बन्छ । तेस्तो परआश्रित अक्षम नेताको सरकार बन्न दिन हुँदैन।' साथै ओलीले त्यस परिपस्थिपतिबाट देशलाई जोगाउनका लागि एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिनै पर्ने बताउँदै उनले प्रश्न गरेका छन् -'भिजन केही नभएको अर्जुनले चराको आँखोमात्रै देखेजस्तो खाली सरकार मात्रै देख्ने तेस्तो पार्टी(नेपाली कांग्रेस) र सो पार्टीको नेता(शेरबहादुर देउवा)को सरकार आइलाग्यो भने देश कता जान्छ ?' 

सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी सीता दाहालको निधन भएको एक वर्ष पुगेको छ । सिता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित  ‘श्रद्धाञ्जली’कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उनका परिवारका सदस्य, आफन्तजन तथा सुवेक्षुकहरूले सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा,  पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरे । कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिती रहेको थियो। क।सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे । सीता परिवर्तनका योद्धाका रूपमा सँधै स्मरणमा रहने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहनुभएकी क।सीता दाहाल विसं २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो भने विसं २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गर्नुभएको जनयुद्धमा सहभागी थिए ।

यस्ता थिए टिकटकको प्रतिबन्ध हटाउन अघिल्लो सरकारले तोकेका शर्तहरु

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । सर्तसहित टिकटक खोल्न दिने निर्णय विहीवारको मन्त्रिपरिषद् बैठकले गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । ‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको’ निष्कर्षसहित मन्त्रिपरिषद्को गत २७ कात्तिकको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सञ्चारमन्त्री गुरुङका अनुसार टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुनेसहित पाँच सर्त तीन महिनाभित्र पूरा गर्नुपर्नेछ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० जारी गर्दै सामाजिक सञ्जाल प्लेटफर्मको सूचीकरण अनिवार्य गरेको थियो । त्यतिबेला निर्देशिकाले तोकेका अन्य शर्तसहित सूचीकरण हुन टिकटकले मानिरहेको थिएन । अघिल्लो सरकारले टिकटक प्रतिनिधिहरुसँगको छलफलमा विभिन्न शर्त अघि सारेको थियो ।  के थिए अघिल्लो सरकारले टिकटिकसँग अघि सारेका शर्तहरु ? कानुनी तथा नीतगत पक्ष –नेपालको मौजुदा कानुन (सञ्चार, सामाजिक सञ्जाल, करलगायत) अन्तर्गत रही सञ्चालन गर्नुपर्ने । –नेपाल सरकारको सम्बन्धित कानुन (ऐन नबन्दासम्म निर्देशिका)अनुसार सम्बन्धित निकायहरुमा सूचीकरण भई उत्तरदायित्व निर्वाह गर्ने । –सामाजिक सञ्जाल तथा कम्पनीसँग सम्बन्धित गुनासो सम्बोधन गर्न नेपालको प्रचलित कानुनले तोकेको निकायसँग आवश्यक समन्वय गर्न नेपालका लागि डेडिकेटेट सम्पर्क संयन्त्र (व्यक्ति तथा प्रणाली) सुनिश्चित गर्ने ।  सामग्री नियमन र सहजीकरण –सामग्री नियमन र व्यवस्थापनका लागि नेपाली भाषामा पोख्त भएका नेपाली जनक्ति चरणवद्धरुपमा थप गर्ने ।  –हाल कम्पनीमा कार्यरत रहेका नेपालीभाषी कर्मचारीहरुलाई समेत थप क्षमता अभिवृद्धि गर्ने ।  –नेपालको कानूनले निषेध गरेका सामग्री नियमनको प्रयोजनार्थ नेपाल सरकारले तोकेको निकायलाई प्रत्यक्ष रिपोर्ट प्रणालीको सुनिश्चितता गर्ने ।  –हाल रिपोर्ट गर्न प्रयोगमा रहेको सिस्ष्टमका बारेमा सम्बन्धित निकायलाइ अनुक्षिण प्रदान गर्ने । सामग्री रिपोर्ट संयन्त्र सुधारका लागि निरन्तर परामर्स र छलफल गर्ने ।   –प्रयोगकर्ताको डाटामा पहुँचका लागि नेपालको कानुन बमोजिम अधिकारप्राप्त निकायले माग गरेको खण्डमा प्रयोगकर्ताको डाटा उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्ने ।  –बालयौन दुव्र्यवहार, बालश्रम, बाल तथा महिला बेचबिखन, वयस्क सामग्री, अश्लीलता, देहव्यापार, लागु औषधको कारोबार एवं प्रयोगलगायतका कानुनले निषिद्ध गरेका संवेदनशील सामग्री नियन्त्रणका लागि विशेष अतिरिक्त उपायहरु अवलम्बन गर्ने । र, सोसम्बन्धी आवश्यकता अनुरुप नेपाल सरकारको कानुन बमोजिम तोकिएको निकायले माग गरेका डाटा उपलब्ध गराउने ।  –नेपालको कानूनले निषिद्ध गरेका सामाजिक अपराधहरु नियन्त्रणमा सहयोग गर्न सोसँग सम्बन्धित शब्द, चित्र, संकेत, दृश्य, ग्राफिक, ध्वनी आदि सामग्री स्व–सूचितको नेपालमै आएर परिक्षण गरी सोही अनुरूप नियमन हुने प्रणाली विकासका लागि नेपाल सरकारको सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने ।  –सामाजिक सञ्जालका प्रयोगकर्ताले पोष्ट गर्न नहुने सामग्री भनी कानुनले परिभाषित गरिएका सामग्रीहरुलाई अथवा नेपाल सरकारको सम्बन्धित निकायले रिपोर्ट गरेका सामग्रीको गाम्भीर्यताका आधारमा नियमनका लागि आवश्यक उपाय अवलम्बन गर्ने ।  –टिकटक प्लेटफर्मलाई मर्यादित तथा सामाजिक हितमा प्रयोग गर्न नेपालको कानुनले तोकेको निकायसँग नियमित सहकार्य र सहयोग गर्ने ।  –टिकटक पुनः संचालनमा आएसँगै कानुन बमोजिम गर्न नहुने विषयहरुबारे सुसुचित गर्न नेपाल सरकारले उपलब्ध गराएको सूचना सामग्री प्रयोगकर्ताले स्वतः देखिने गरी प्रसारण हुने व्यवस्था मिलाउने । नेपालमा लगानी तथा सामाजिक उत्तरदात्विका कार्यक्रम –नेपालको स्वीकृत पाठ्यक्रम अनुसार सामुदायिक विद्यालयहरुका लागि डिजिटलाइज पाठ्यसामग्री, सिकाइ कक्षा, छात्रवृति, विद्यालय डिजिटलाइजेसन लगायतका कार्यक्रम सञ्चालन गर्ने । –सामुदायिक विद्यालयहरुलाई आइसिटी ल्याब अथवा अन्य मोडालिटीमा डिजिटलाइसेनका लागि शिक्षा मन्त्रालयसँगको सहकार्यम आवश्यक सहयोग गर्ने ।  –नेपाल सरकारको निकायले तोकेबमोजिमका कक्षा अनुकुल हुने गरी डिजिटल पाठ्यसामग्रीको विकास गरी नियमित अनलाइन कक्षा संचालनका लागि सहयोग गर्ने ।  –इन्टरनेटको सुरक्षित प्रयोग तथा यस सम्बन्धी आम जनतालाई सुसुचित गर्न नेपाल सरकारको सुझाव अनुसार डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने । –सूचना तथा संचार मन्त्रालयसँग समन्वय गरी इन्टरनेटको सुरक्षित प्रयोग, साइबर सुरक्षा लगायत विषयमा डिजिटल साक्षरता सम्बन्धी सागग्रीको विकास गर्ने । –नेपाल सरकारका निकाय तथा नागरिक समाजका लक्षित संघसंस्थाहरुसँगको समन्वय एवं सहभागितामा माथि उल्लेखित विषयमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने । –स्थानीय तह, प्रदेस तथा संघीय निकायका पदाधिकारीको सुरक्षित इन्टरनेट, साइबर सुरक्षा तथा डिजिटल साक्षरताका विषयमा क्षमता अभिवृद्धिका लागि अनुभव साटासाट लगायतका कार्यक्रम संचालन गर्ने । –नेपालको आर्थिक तथा सामाजिक विकासका लागि पर्यटन लगायतका क्षेत्रको प्रचार प्रसारमा सघाउ पुर्याउने ।  –नेपाल सरकारले उपलब्ध गराएबमोजिमका जनचेतनाका सामग्री आवश्यकता अनुसार प्लेटफर्मबाट निःशुल्क प्रसारण गर्ने । 

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा भैरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यसअघि गत साउन २९ गते नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन सुनको मूल्य तोलामा एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज तीन हजार रुपैयाँले मूल्य बढेको छ । आज चाँदी एक हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबार एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।   

प्रचण्डद्धारा कराते खेलाडीलाई बिदाई

काठमाडौं ।पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाई गरेका छन् । उनीहरूलाई मंगलबार (आज) अध्यक्षले प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममा बिदाई गरेका हुन् । अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुने छ। खेलाडीलाई बिदाइ गर्दै अध्यक्ष प्रचण्डले मेडल ल्याउन नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । बिदाई कार्यक्रममा नेपाल वादोरियो कराते डो संघका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा र सचिव वि.आर लगायत सहभागी थिए ।

भरतपुर महानगरद्धारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

चितवन। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८/०८२ को नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेको छ ।बिहीबार महानगर सभाहलमा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल तथा अन्तरक्रिया गरी समृद्ध महानगर निर्माण गर्ने नीतिहरु संकलन गरिएको थियो। भरतपुर महानगरपालिकाले १५ औ नगरसभाका लागि तयारी तीब्र पारेको हो । छलफलका क्रममा आएका मागहरुलाई लिपिवद्ध गरेको छ ।छलफल कार्यक्रममा अधिकांश वक्ताहरुले आगामी आर्थिक वर्षमा उत्पादन, रोजगारी र बजारीकरणलाई जोड दिएका छन् । अबको नीति तथा कार्यक्रमले धेरै उत्पादन भएर दूध, गोलभेडा सडकमा फाग्ने अवस्था अन्त्य गर्नुपर्ने नीति ल्याउनुपर्ने धाराणा राखेका थिए। यस्तै शिक्षालाई प्रयोगात्मक बनाउनुपर्ने, आईटी शिक्षालाई विद्यालयस्तरबाटै लागु गर्नुपर्ने, आयमुलक सीपमूलक तालिम, युवा व्यवसायीलाई प्रोत्सहान गर्ने कार्यक्रम, स्थानीय उत्पादनलाई प्रोत्सहान, वडागत शिक्षाको बजेटमा १० प्रतिशतभन्दा वृद्धि गर्नुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथामिकता, घरको फोहर घरमै व्यवस्थापन गर्ने नीति ल्याउनुपर्ने सुझाव आएका थियो । कार्यक्रममा भरतपुर महानगरका राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, बुद्धिजीवी, विषय विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारीले अब समेट्नु पर्ने नीतिबारे जोड दिएका थिए । सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक ईमेलमा पठाउन अनुरोध पनि गरेको छ । महानगरको आधिकारिक ईमेल  [email protected]  मा राय सुझाव पठाउन सकिने छ । महानगरले यस अघि सडक पूर्वाधारलाई प्राथमिकता दिएपनि यस पटक भने उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेको जनाएको छ ।

'केपी ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य'

नेकपा (मसाल) पार्टीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै आफ्नो पार्टीको धारणा सार्वजनिक गरेको छ । मसालले ओली प्रधानमन्त्री हुनु दुर्भाग्यपूर्ण बताएको छ।ओलीको नेतृत्वमा सरकार बन्नु नेपालका लागि तात्कालिक र दीर्घकालीन दृष्टिले समेत दुर्भाग्यपूर्ण हुने मसालले बताएको छ । महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकाशित गरी प्रधानमन्त्री ओली अधिनायकवादी, स्वेच्छाचारी स्वभाव र हद दर्जाको भ्रष्टाचार र प्रतिगामी सोचाइका लागि बदनाम रहेको भन्दै उनमा इमानदारिताको अत्यन्त अभाव रहेको बताएको छ। यस्तो छ मसालको विज्ञप्तिमार्फत सार्वजनिक गरिएको विचार  मोहनविक्रम सिंह/राष्ट्रपतिले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। ओली आफ्नो अधिनायकवादी, स्वेच्छाचारी स्वभाव, हद दर्जाको भ्रष्टाचार र प्रतिगामी सोचाइका लागि बदनाम छन्। त्यसकारण उनको नेतृत्वमा सरकार बन्नु नेपालका लागि तात्कालिक र दीर्घकालीन दृष्टिले समेत दुर्भाग्यपूर्ण हुने छ। त्यसैले हाम्रो पार्टीले उनको नेतृत्वमा बनेको सरकारको कडा विरोध गर्दछ र उनका सबै गलत नीति र कार्यको सम्झौताहीन प्रकारले विरोध वा सङ्घर्ष गर्ने प्रतिबद्धता प्रकट गर्दछ। अहिले एमाले र नेकाबिचमा संविधानमा समेत संशोधनका लागि सहमति भएको कुरा बाहिर आएको छ तर उनीहरूले संविधानमा के कस्ता संशोधन गर्न थालेका छन्, त्यो कुरा गोप्य नै राखेका छन्। संसद्मा अहिलेको समीकरणको पक्षमा संसदमा विचार प्रकट गर्ने सांसदहरूले पनि संविधानमा कुन प्रकारको संशोधन गरिँदै छ, त्यसबारे उनीहरू अनविज्ञ भएको बताएका छन्। आश्चर्यको कुरा हो कि त्यस प्रकारको अनविज्ञता प्रकट गर्दागर्दै पनि उनीहरूले नयाँ समीकरणबाट बन्ने सरकारप्रति आफ्नो समर्थन प्रकट गरेका छन्। त्यसले नेपालको राजनीतिमा भएको गम्भीर प्रकारको दिवालियापनलाई नै बताउँछ। यदि उनीहरूले देश र जनताको हितमा संविधानमा संशोधन गर्ने समझदारी बनाएको भए त्यसलाई गोप्य राख्नुपर्ने आवश्यकता हुँदैनथ्यो तर त्यसलाई गोप्य राखिएको कुराबाट उनीहरूले संविधानमा गर्न लागेको संशोधन देश र जनता तथा संविधानमा स्वीकार गरिएका सकारात्मक व्यवस्थाका पक्षमा नभएको कुरा बुझ्न गाह्रो पर्दैन। राजावादीले पनि संविधानमा संशोधन गर्ने कुरालाई जोडदार प्रकारले समर्थन गरेका छन्। त्यसबाट जनताको महान् आन्दोलनद्वारा प्राप्त उपलब्धिहरू मुख्यतः गणतन्त्र र धर्मनिरपेक्षतामाथि पनि प्रहार गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न। ओलीको प्रतिगामी, अधिनायकवादी वा स्वेच्छाचारी चरित्र भएको कुराको इतिहास साक्षी छ। एमालेले गणतन्त्रको लागि सङ्घर्ष गर्ने निर्णय गरेको बेलामा नै उनले गणतन्त्रको नाराप्रति आफ्नो विरोध प्रकट गरेका थिए। उनले संसद्लाई २र२ पल्ट विघटन गरेका थिए। सर्वोच्चले विघटित संसद्को पुनर्स्थापना गरिसकेपछि पनि उनले त्यसलाई ९ महिनासम्म अवरुद्ध गरेका थिए। एमालेभित्र मतभेद चल्दा उनले बहुमतको निर्णय नमान्ने घोषणा गरेका थिए। प्रचण्डसित प्रधानमन्त्रीको आलोपालो गर्ने सहमति भएको भए पनि उनले त्यो सहमतिलाई पालन गरेका थिएनन्। केही दिनपहिले उनी सत्तामा आएपछि ९प्रचण्ड प्रधानमन्त्री भए पनि सत्ताको केन्द्रमा उनी नै थिए० उनले भूमि आयोगलाई विघटन मात्र गरेका थिएनन्, सर्वोच्चले त्यसको पुनर्स्थापना गरेपछि पनि उनले त्यसलाई काम गर्न दिएका थिएनन्। गिरिबन्धु टी स्टेटबारे सर्वोच्चले फैसला गरेपछि पनि उनले त्यो फैसलाका विरुद्ध सार्वजनिक रूपमा नै आलोचना गरेका थिए। यी केही उदाहरणबाट प्रष्ट हुन्छ, उनी संविधान, कानुन, अदालत र बहुमतका निर्णयको अतिक्रमण गर्न अलिकति पनि हिच्किचाउन्नन्। काङ्ग्रेसभित्र पनि गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध ठुलो जनमत छ। ओलीसितको उनीहरूको समीकरणबाट प्रतिगमनलाई मदत पुग्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ। यो कुरामा पनि कुनै शङ्का छैन कि उनमा निम्नस्तरको राजनीतिक इमानदारिता पनि छैन। जुन राति उनले नेकासित नयाँ समीकरण गर्ने सहमति गरे, त्यही दिनको दिउँसो नै उनले प्रचण्डसित स्वर्ग वा नर्क जहाँ गए पनि सँगै जाने प्रतिबद्धता प्रकट गरेका थिए। त्यही राति उनी आफ्नो प्रतिबद्धताका विरुद्ध गएर नेकासित प्रचण्डको सरकारलाई अपदस्त गर्ने सम्झौता गरे। त्यसबाट उनी कुनै सिद्धान्त वा नीति मानेर काम गर्ने मान्छे नभएको र उनी विश्वसनीय राजनीतिज्ञ नभएको कुरा पनि प्रष्ट हुन्छ। त्यस प्रकारको अविश्वसनीय चरित्रले गर्दा देश र जनताप्रति पनि उनी इमानदार नहुने र कुनै पनि बेला कुनै पनि प्रकारको धोका दिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न। त्यस्तो व्यक्तिको नेतृत्वमा बनेको सरकारले देशलाई कहाँ पुर्‍याउने छ रु त्यो कुराको कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ। अहिले एमाले र नेपाली काङ्ग्रेसको गठबन्धन बनेको छ। कमसेकम यस अर्थमा नेकाका सभापति शेरबहादुरलाई इमानदार भन्न सकिन्छ कि जस्तो कि स्वयम् ओलीले पहिले संसद्मा दिएको वक्तव्यबाट प्रष्ट हुन्छ, ओलीले शेरबहादुरलाई पनि आफ्नो पक्षमा मिलाएर माओवादी र काङ्ग्रेससमेतको गठबन्धनमा फुट पार्ने प्रयत्न गरेका थिए तर देउवा त्यसरी बेइमानी गर्न तयार नभएको हुनाले प्रचण्डलाई फुटाउने प्रयत्न गरेका थिए र त्यसमा उनी सफल पनि भएका थिए। त्यसबाट तुलनात्मक रूपले देउवा बढी इमानदार भएको देखिन्छ तर आफ्नो अविश्वसनीय चरित्रका कारणले ओली नेपाली काङ्ग्रेसप्रति पनि के इमान्दार रहने छन् रु त्यो प्रश्न उठाउने ठाउँ छ। आउने दिनमा त्यो कुरा प्रष्ट हुँदै जाने छ। नेपाली काङ्ग्रेसले संसद्मा कथित स्वतन्त्र पार्टीका अध्यक्षले सहकारी रकममा गरेको अपचलनको कडा प्रतिरोध गरेको थियो। उनीहरूको त्यो अडान सही थियो र हामीले पनि त्यसलाई समर्थन गरेका थियौँ। अब गृहमन्त्रालय नेपाली काङ्ग्रेसको हातमा नै जाँदै छ। के उनीहरूले सहकारी अपचलनको मुद्दामा पहिले उनीहरूले संसद्मा आवाज उठाए जस्तै इमानदारिता र दृढतापूर्वक कार्य गर्ने छन् रु उनीहरूले आफ्नै अडानका विरुद्ध गएर सहकारी रकम अपचलनको विषयमा कमजोर र सम्झौतापरस्त नीति अपनाए भने जनताले त्यसको कडा विरोध गर्ने छन् र गर्नु पनि पर्दछ। त्यो प्रश्न लाखौँ जनतासित सम्बन्धित प्रश्न हो। त्यसकारण त्यसबारे नेपाली काङ्ग्रेसले इमान्दारिता र दृढतापूर्वक कारबाही गरेर अपराधीलाई सजाय गर्ने तथा जनताको पैसा फिर्ता गर्ने जिम्मेवारी पूरा गर्‍यो भने त्यो स्वागतयोग्य कुरा हुने छ। अहिले कथित स्वतन्त्र पार्टीभित्रका विवाद सार्वजनिक रूपले नै बाहिर आइरहेका छन्। त्यसबाट प्रथमतः जुन उद्घोषका साथ उनीहरूले नेपालको राजनीतिमा प्रवेश गरेका थिए, उनीहरूको त्यो दाबी खालि जनतालाई झुक्याउने चालबाजी मात्र थियो भन्ने कुरा प्रष्ट भएको छ। नेपालको राजनीतिमा प्रायशः जनविरोधी तत्त्वले पनि विभिन्न प्रकारका भ्रम वा प्रलोभन दिएर तथा ठुलो पैमानामा पैसा बाँडेर चुनाव जित्ने गरेका छन्। जबसम्म जनता त्यस प्रकारका भ्रमबाट मुक्त हुने छैनन्† देशमा जनताको सरकारको स्थापना हुन सक्ने छैन तथा जनताका समस्याको समाधान र देशको विकास पनि हुन सक्ने छैन। हामीले त्यो वास्तविकताप्रति सम्पूर्ण जनाताको ध्यान आकर्षित गराउन चाहन्छौँ। देशको विकास हुन्छ वा उन्नति रु त्यसको फैसला अन्तमा जनताको चेतनामाथि नै निर्भर गर्दछ। अहिले पनि हाम्रो यो मत छ कि देशमा प्रतिगमन र साम्राज्यवाद दुवैको खतरा बढेर गएको छ। अहिलेको सरकार बनेपछि र उनीहरूले संविधानमा संशोधन गर्ने भनेपछि राजावादीहरू धेरै नै उत्साहित भएका छन्। नेपालको राजनीतिमा साम्राज्यवादी शक्तिहरू मुख्यतः अमेरिकन र भारतीय साम्राज्यवादको षड्यन्त्रकारी भूमिकाबारे पनि हामी अत्यन्त सावधान हुनुपर्ने आवश्यकता छ। जुन कुराले उनीहरूको खतरालाई गम्भीर बनाइदिन्छ, यो हो कि देशका कैयौँ राजनीतिक शक्तिले साम्राज्यवादपरस्त नीति अपनाउँछन्। विभिन्न साम्राज्यवादपरस्त एनजिओ र आइएनजिओले पनि साम्राज्यवादको पक्षमा देशमा जनमत तयार पार्ने काम गरिरहेका छन्। ठुलो सङ्ख्यामा बुद्धिजीवीमा पनि प्रतिगमन वा साम्राज्यवादपरस्त सोचाइ पाइन्छन्। यी सबै कारणले नेपाल गम्भीर सङ्कटको मुखमा उभिएको छ। त्यो अवस्थामा त्यस प्रकारका सबै खतराका विरुद्ध उच्च सतर्कता अपनाउनु, जनताको उच्च चेतना उठाउनु र सङ्घर्ष सङ्गठित गर्नु पनि हाम्रो जिम्मेवारी हुन्छ। हाम्रो पार्टीले अवश्य पनि त्यस प्रकारको जिम्मेवारी पूरा गर्न प्रयत्न गर्ने छ र सम्पूर्ण जनतालाई पनि हामीले त्यसका लागि आह्वान गर्दछौँ। अन्तमा जनता नै अजेय शक्ति हुन् र उनीहरूको चेतना र भूमिकामाथि नै देशको भविष्य निर्भर गर्दछ। अहिले माओवादी र उनीहरूको पक्षमा भएका कतिपय राजनीतिक सङ्गठनले ओलीका प्रतिगामी प्रकारका नीति र कार्यको विरोध गर्ने विचार प्रकट गरिरहेका छन् तर स्वयम् माओवादी नै अविश्वसनीय र अवसरवादी राजनीतिक शक्ति हो। आफ्नो स्थापना कालदेखि नै आधारभूत सैद्धान्तिक प्रश्नमा त्यसले बारम्बार गर्दै आएका परिवर्तन, जसलाई त्यसले ‘क्रमभङ्गता र गतिशीलता’ बताउने गरेको छ वा प्रधानमन्त्री पदका लागि त्यसले बारम्बार सिद्धान्तहीन र अराजनीतिक प्रकारले गरेको हेराफेरीबाट त्यसलाई विश्वास गर्न सकिने अवस्था छैन। जसरी ओलीमा इमानदारिताको चरम प्रकारको अभाव छ, प्रचण्डमा पनि त्यही प्रकारको प्रवृत्ति पाइन्छ यद्यपि पछिल्लो समयमा ओलीले प्रचण्डलाई मात दिएका छन्। सिद्धान्त र राजनीतिको प्रश्नमा पनि प्रचण्ड हदभन्दा बढी अवसरवादी रहेका छन्। उनले आफ्नो विचारमा कसरी बारम्बार परिवर्तन गरेका छन्, त्यसको एउटा लामो सूची छ। त्यो अवस्थामा उनले देश र जनताको हितका लागि कुनै ठोस, सकारात्मक वा विश्वसनीय भूमिका खेल्न सक्ने सम्भावनाको कमै आशा गर्न सकिन्छ। देशका प्रमुख राजनीतिक शक्तिको त्यस प्रकारको चरित्रले देशलाई अत्यन्त गम्भीर अवस्थामा पुर्‍याएको छ। त्यो समस्यालाई पनि खालि जनताको उच्च चेतनाले नै समाधान गर्न सक्ने छ। अहिले प्रधानमन्त्रीको भर्खर नियुक्ति भएको छ। अब तुरुन्तै मन्त्रिपरिषद् पनि बन्ने छ। अहिले नयाँ बनेको समीकरणलाई खास गरेर उनीहरूले संविधानमा गर्ने भनेको संशोधनप्रति राजावादीहरूले ठुलो उत्साह प्रकट गरेका छन्। त्यसबाट अहिलेको समीकरणले संविधानमा गर्ने भनेको संशोधनको प्रकृति अर्थात गणतन्त्र र धर्मनिरपेक्षतासमेतका विरुद्ध लक्षित हुने त होइन रु त्यसबारे पनि शङ्का गर्नका लागि ठाउँ छ। ओली सुरुदेखि नै गणतन्त्रको विरुद्ध भएको कुरा आधिकारिक रूपमा नै बाहिर आएको छ। त्यसका साथै पशुपतिनाथको मन्दिरमा सुनको जलप चढाएर तथा चितवनमा राममन्दिर निर्माणको कुरा गरेर उनी धर्मनिरपेक्षताको विरुद्ध भएको कुरा पनि बताइसकेका छन्। नेकाभित्र पनि एउटा ठुलो पङ्क्ति राजतन्त्रको पुनर्स्थापनाको पक्षमा र धर्मनिरपेक्षताका विरुद्ध छ। त्यो अवस्थामा अहिले बनेको गठबन्धन सरकारले देशलाई प्रतिगमनतिर लैजाने खतराप्रति हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ र त्यसप्रति हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहान्छौँ। अहिले नेपालमा भएको सत्ताको अदलाबदलीमा विदेशी शक्तिको पनि भूमिका रहेको कुरा आइरहेको छ तर त्यसबारे आधिकारिक रूपले हामीलाई केही थाहा नभएकाले त्यसबारे तत्काल कुनै टिप्पणी गर्नेतिर हामी लाग्दैनौँ। अन्तमा, आउने दिनमा सरकारले अपनाउने नीतिका आधारमा हामीले आवश्यकताअनुसार आफ्ना अरू ठोस नीति र कार्यक्रम निश्चित गर्दै जाने छौँ। त्यस सन्दर्भमा देशको राजनीतिक आवश्यकतानुसार पारस्पारिक समझदारी वा सहमतिका आधारमा संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने हाम्रो नीति पनि कायम रहने छ।

घट्यो नेप्से, कारोबार रकम दुई अर्ब २४ करोड मात्रै

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्रको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर दुई अर्ब २४ करोड १९ लाख ६१ जहार ७९९ रुपैयाँमा किनबेच भएको छ । यसदिन १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधनको समूहगत सूचक बढेको छ । बाँकी १२ वटा समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।   आज बोटलर्स नेपाल, हिमालय उर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ ।

लागूऔषध सहित तीन जना पक्राउ

सिरहा । सिरहा प्रहरीले ठुलो परिमाणमा लागूऔषध सहित तिन जना युवालाई नियन्त्रणमा लिएको छ। सिरहाको छुट्टाछुट्टै स्थान गोलबजार नगरपालिका ६ वस्ने करिब ३८ वर्षको रामएकवाल गिरी , लाहान नगरपालिका १९ छर्रापट्टिको वर्ष २४ को संतोष कुमार साह र कटहा चौक वस्ने वर्ष २५ को शिवनाथ महतोलाई प्रहरीले ठुलो परिमाणमा लागूऔषध सहित नियन्त्रणमा लिएको हो। विशेष सुचनाको आधारमा घरमै।लुकाई छिपाई राखेको अवस्थामा गोलवजारका प्रहरी निरिक्षक शुनिल कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घर भित्र रहेको साउण्ड बक्स भित्र प्लास्टिकको पोकामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ। प्लाष्टिक प्याक सहित १२.८ सय ७० मिली ग्राम  लागु पदार्थ ब्राउन सुगर सहित गिरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जनाएका छन् । पक्राउ गरेका गिरिलाई अन्य थप अनुसन्धानका लागी समान्ति जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए। त्यसैगरी, लहान नगरपालिका ३ पूर्व बसपार्कबाट गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लाहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा गोलवजारको संयुक्त टोलीले ठुलो परिमाणमा दुई जना युवा सहित लागुऔषध नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ। अस्पताल चौकदेखि लाहा वजारतिर आउने क्रममा प्रदेश २–०१–००१ प् ७३८० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा फेनारगन–१३३ एम्पुल,बुपरेनोरफीन इन्जेक्सन एलपी –१३५ एम्पुल र डाइजिपाम इन्जेक्सन आइआर –१३४ सहित साह र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।