बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

बागमती । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। 


मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय तोकेर दाबी पेस गर्न आह्वान गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री लामाको सपथग्रहण कार्यक्रम भोलि बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। भोलि नै मुख्यमन्त्री लामाले कांग्रेसबाट सात र एमालेका छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीहरुको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक ५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन्। नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरे। मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनको भनाई छ। हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछाने मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए। मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरुको शव पोष्ट मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ। शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर स्थानीय प्रहरीले अनुसन्धान थालेको समाचारमा जनाइएको छ।

कोशी सरकारका माओवादी मन्त्रीले राजिनामा दिंदै

विराटनगर ।नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । शुक्रबार माओवादी केन्द्रका चार मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीबाट राजीनामा दिने भएका हुन् । कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् ।भने वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री रहेकी छन् ।

कक्षा १२ को नतिजा प्रकाशित, करिब ५३ प्रतिशत उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले योवर्षको कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजाअनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा नियमिततर्फ ३ लाख ९० हजार ८६८ विद्यार्थी सहभागी थिए । जसमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।   परीक्षा २०८१ वैशाख १४ देखि २६ गतेसम्म सञ्चालन भएको थियो । 

‘नमेटिने घाउ को पोस्टर सार्वजनिक,चलचित्रको पोस्टरमा प्रधानमन्त्री ओली

काठमाडौं । अभिनेता रमित ढुङ्गानाको  निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ' को फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ ।भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र  ‘नमेटिने घाउ’को निर्देशक ढुंगानाले सोमबार पोस्टर सार्वजनिक गरेका हुन् । चलचित्रको सार्वजनिक पोस्टरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ,प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत चलचित्रका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।   चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् । चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ। रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । चलचित्रमा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।

जापानमा रोजगारीको नयाँ अवसरः अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने, नोभेम्बरमा परिक्षा हुँदै

काठमाडौं । जापानमा काम गर्न जान चाहने नेपालीहरुका लागि नयाँ क्षेत्रमा रोजगारीका लागि जान सकिने भएको छ । अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो । नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौता अनुसार यसअघि अन्य क्षेत्रमा जान पाइएझैं अब बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जानसक्ने भएका हुन् । यसका लागि जापानको भवन मर्मत संघ (जेबीएमए)का प्रतिनिधिले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग शुक्रबार विभागमै भेटघाट गरेका छन् । नेपालबाट पहिलो पटक भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार जानपाउनु राम्रो अवसर भएको महानिर्देशक घिमिरेले बताए । जेबीएमएका प्रतिनिधिले नेपाली कामदारले त्यहाँ स्तरीय काम सिक्दै भोलि नेपालमै आएरसमेत अवसर सिर्जना गर्नसक्ने र प्राप्त गर्नसक्ने बताए। कसरी जान सकिन्छ बिल्डिङ मेन्टिनेन्समा ? नेपालमा जेबीएमएले सिप जाँचका लागि आउँदो नोभेम्बरको अन्त्य र डिसेम्बरको सुरुतिर जाँच गर्ने छ । एक महिनापछि त्यसको नतिजा आउने र पास भएकामध्येले जापान काम गर्न जा पाउनेछन् । जाँचको आवेदन भर्न दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । परिक्षा दिन १७ वर्ष वा सोभन्दामाथि उमेर पुगेको हुनुपर्नेछ । जापानी भाषाको जेएफटी अथवा जेएलपीटीको एन४ लेभलको अध्ययन चाहिने छ । अन्य शैक्षिक योग्यता भने चाहिँदैन । सिप परिक्षा के हुन्छ? परिक्षामा पेपर टेस्ट र भवन सरसफाइ सम्बन्धी कामको तालिम परिक्षा हुनेछ । पेपर टेस्ट अर्थात् कागजी परिक्षामा तस्बीर र चित्रण प्रयोग गर्ने जाँच हुनेछ । कार्य परिक्षणमा भुँइ सफाई, सिसाको सफाई र पश्चिमी शैलीका शौचालयको सफाई हुनेछ । यी दुवै परिक्षा वा परिक्षणमा ६० प्रतिशत भन्दामाथि ल्याउने व्यक्ति पास मानिनेछ ।  यसका लागि तालिम बानेश्वर स्थित प्लेन्टी नेपालले दिनेछ । अक्टोबरदेखि तालिम सुरु हुने कम्पनीले जनाएको छ ।   कति जना जान पाउँछन्? जेबीएमएसँग जापानका ६ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको त्यहाँ माग रहेको कम्पनीले बताएको छ ।  ती कम्पनीहरुमा रोजगारीको समन्वयको काम जापानको कम्पनी प्लेन्टीले गर्नेछ । नेपालमा काठमाडौंको बानेश्वर स्थित प्लेन्टी नेपालले यसको समन्वय गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र भट्टले बताए । प्लेन्टी नेपाल ९एभिलतथ ल्भउब०िमार्फत यसका लागि आवेदन दिने, जाँच सेन्टर मिलाउनेलगायत जापान कामदार पठाउन सम्पूर्ण व्यवस्थपन गर्नेछ । अन्य देशबाट पनि कामदार लगिरहेका कारण नेपालबाट एक पटकमा करिब तीन सय कामदार लैजाने प्लेन्टीले जनाएको छ ।  काम के कस्तो हुन्छ? जेबीएमए र प्लेन्टीका अनुसार यस क्षेत्रमा जाने कामदारले कार्यालय, किनमेल केन्द्र र होटल जस्ता भवनभित्रको फोहर हटाउने र सरसफाइ कायम गर्ने काम गर्नुपर्ने छ ।  खासगरी ढोका, बाटो, शौचालय, भुँइ, पर्खालको सरसफाइ र होटलहरुमा ओछ्यान मिलाउने तथा बनाउनेलगायत काम गर्नुपर्नेछ । ठूला भवनको सफाइ भएका कारण यो घरको सफाइ गर्नुभन्दा फरक हुने कम्पनीले जनाएको छ ।

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।  सुनको मूल्य एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।  तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य एक हजार ८ सय दश रुपैयाँ रहेको थियो ।

दुई युवाले छोरी भगाएपछि धनुषामा तनाव : नौं राउण्ड अश्रुग्याँस प्रहार

धनुषा । दुई जोडी युवा–युवती भागेर गएको विषयले चर्को विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त बनेको छ। तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म नौं राउण्ड अश्रुग्याँस प्रहार गरिसकेको छ ।  करिब दुई साताअघि दुई युवकले दुई जना युवती भगाएर लगेका थिए। ती दुई जोडी अहिलेसम्म पनि नआएपछि छोरी पक्षकाले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाकाले जानकारी दिए ।  प्रदर्शन नियन्त्रण गर्न गएको प्रहरीको गाडीमा प्रदर्शनकारीले ढुङ्गा हानेर सिसा फुटाई दिएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरीको भनाई छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।  प्रहरीले आफ्नो छोरीहरू खोज्न कुनै पहल नगरको र केटा पक्षले पनि छोरीहरू खोजी नगरेको भन्दै प्रदर्शन भएको हो । पौडेसरका १६ वर्षका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का शाजिद नदाफ र मोफिद नदाफले गत वैशाख ४ भगाएर लगेका हुन् ।  यसपछि प्रहरीले शाजिद नदाफको बुवा आमा, मोफिद नदाफका काका र युवतीहरु भगाउन सहयोग गर्ने दुई जनासहित ५ जना पक्राउ गरेको छ । केटी पक्षकाले केटा पक्षकालाई अपहरण र शरीर बन्धकमा मुद्दा चलाउन प्रहरीलाई दबाब दिइरहेका छन् । तर प्रहरीले घर विवादको मुद्दा चलाएको केटी पक्षको आरोप छ ।  मोफिद नदाफका बुवा विदेशमा रहेको र आमा फरार रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । ती दुई जोडी अहिले पनि सम्पर्कमा छैनन्।

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिश

मोरङ । हिक्मत कुमार कार्की नेतृत्वमा गठन भएको कोशी प्रदेश सरकारले बैशाख ३१ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहिवार पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद बैठकले बैशाख ३१ गते बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको हो । यसैगरी कोशी प्रदेश सरकारको प्रवक्तामा मन्त्री राम बहादुर मगरलाई तोक्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यको संयोजकत्वमा ७ सदस्यीय संघियता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकिकृत अध्ययन कार्यदल निर्माण गर्ने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री राम बहादुर मगरले जानकारी दिए।

माओवादीका महरालाई लुम्बिनीको मुख्यमन्त्री बनाउने सहमति

तुलसीपुर । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्षका दलहरू सहमत भएका छन् । एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँच बुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन् ।  लुम्बिनीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने केन्द्रको सहमतिअनुसार प्रदेश सरकार निर्माणका लागि कसरत भइरहेको छ । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुख बाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा संसदीय दलका दलनेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँच बुँदे समझदारी बनेको हो । सहमतिअनुसार राजनीतिक नियुक्तिहरू सरकारमा सहभागी सबै दलहरूको अपनत्व हुने गरी गर्नुपर्ने, प्रदेशका गौरवका योजना, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्वविद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन निर्माण गर्दा साझा प्राथमिकताका रुपमा कार्यान्वयन गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायतमा सबै दलको अपनत्व हुने गरी गर्ने सहमति भएको हो । 

बागमती प्रदेशका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।प्रदेशसभामा मंगलबार भएको मतदानमा मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो । ११० सदस्यीय प्रदेशसभामा विश्वासकोम तका लागि न्युनतम् ५६ सांसदको समर्थन आवश्यक पर्दछ । लामालाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदले मत दिएका थिए । लामाको विपक्षमा ३५ मत परेको थियो भने ३ मत तटस्थमा परेको थियो । २०७९ मंसीरको चुनावपछि गठन भएको प्रदेशसभाबाट मुख्यमन्त्री बन्ने तेस्रो व्यक्ति हुन् ।

समाजको रुपान्तरणमा स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका : मन्त्री शर्मा

पाल्पा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका रहेको बताएकी छिन् । सामुदायिक रेडियो मदनपोखरा पाल्पाको रजत महोत्सवलाई सम्बोधन गर्दै उनले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यम समग्रतामा केन्द्रित रहने भए पनि स्थानीय सञ्चारमाध्यम स्थानीय समुदायको सचेतनामा केन्द्रित हुने भएकाले समाज रुपान्तरणमा उनीहरुको बढी भूमिका रहने बताएकी हुन्।  मन्त्री शर्माले भनिन्– ‘सेवा र सचेतनालाई मूल अभिष्ट बनाएर गरिने ग्रामीण पत्रकारिताले गाउँमा बस्ने नागरिकको बोली बोल्ने, विकासमा पछाडि पारिएका, आफ्ना दुःखपीडा व्यक्त गर्न नसक्ने आम नागरिकलाई सुसूचित गर्ने मात्र नभई उनीहरुका भावना राज्यका जिम्मेवार निकायसम्म पुर्याउने भएकाले पनि समुदायस्तरमा सञ्चालित सञ्चारमाध्यमको सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका छ ।’ उनले स्थानीय सञ्चारमाध्यमहरु स्थानीय विषयवस्तुमा थप केन्द्रित हुने हो भने आकर्षण पनि अझै बढेर जाने बताइन् । सञ्चारमाध्यमको बढ्दो संख्या र सूचना प्रविधिमा आएको परिवर्तन कारण स्थानीय सञ्चारमाध्यममा चुनौती थपिएको उल्लेख गर्दै स्थानीय विषयवस्तुमा केन्द्रित भएर जानुपर्ने सुझाव दिइन्।   ‘बढ्दो प्रतिष्पर्धा र सूचना प्रविधिको तीब्र प्रयोगका बीच अब सामुदायिक रेडियोहरु अझ बढी समुदायको हितमा केन्द्रित रहनुपर्ने बेला आएको छ। देश विदेशका सूचना क्षणक्षणमा प्रवाह गर्ने सञ्चारमाध्यमको अभाव छैन तर समुदायका आवाज र भावना समुदायकै भाषा शैलीमा प्रस्तुत गर्ने दायित्व भने सामुदायिक रेडियोलगायत स्थानीय सञ्चारमाध्यमहरुले मात्र निर्वाह गर्नसक्छन्’–उनले भनिन्– ‘त्यसैले चुनौती हुँदाहुँदै पनि स्थानीय सञ्चारमाध्यम र त्यसमा पनि अझ सामुदायिक रेडियोहरुको समुदायमा अझ बढी आकर्षण बढेर जाने अवस्था छ, त्यसका लागि यस्ता सञ्चारमाध्यमहरुलाई बढीभन्दा बढी समुदायकेन्द्रित बनाउँदै समुदायकै सहयोगमा सबल बनाउन सकिने छ ।’ सूचना प्रविधिको बढ्दो प्रयोगले भूमण्डलीकरणको अवस्थालाई बढाइदिएको उल्लेख गर्दै मन्त्री शर्माले यसले नेपालका ऐतिहासिक तथा सांस्कृतिक मूल्य मान्यताको संरक्षणमा चुनौती थपिएकाले पूर्खाले हस्तान्तरण गरेको अमूल्य निधि मौलिक संस्कृतिको जगेर्नामा सञ्चारमाध्यमले ध्यान दिनुपर्ने बताइन् । स्थानीय सञ्चारमाध्यमहरुको प्रवर्धनका लागि सरकार प्रतिबद्ध उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमको सबलीकरण तथा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका लागि तीनै तहका सरकार उत्तिकै गम्भीर र प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको बताइन्।  संविधानले आम सञ्चार क्षेत्रको निमयमनको पाटोलाई संघीय सरकारको दायित्वभित्र राखे पनि प्रबर्धनको सवालमा तीनै तहका सरकारको अधिकारसूचिमा राखेको उल्लेख गर्दै मन्त्री शर्माले प्रदेश र स्थानीय तहहरुले विज्ञापन कानुन बनाएर स्थानीय विज्ञापनको प्रकाशन÷प्रसारणमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिने नीति ल्याउनुपर्ने बताइन्।   संविधान बनेको लामो समयसम्म आम सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने संघीय कानुन नबन्दा केही अन्योल पनि देखिएको उल्लेख गर्दै उनले यसलाई चिर्दै जतिसक्यो चाँडो आम सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने गृहकार्यमा सरकार रहेको जानकारी दिइन्। मन्त्री शर्माले थपिन– ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आम सञ्चार क्षेत्रको छाताको कानुनको रुपमा आम सञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ भने मिडिया काउन्सिल विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने अन्तिम तयारीमा छौं । यी कानुनहरु पारित भएपछि संघीयताको मर्मअनुरुप आम सञ्चार क्षेत्रको पुनःसंरचरचना हुने सरकारको विश्वास रहेको छ ।’ यसबाहेक प्रचलित कानुनभित्रै रहेर पनि सञ्चारमाध्यम र पत्रकारहरुलाई सहज बनाउन सरकारले बेलाबेला आवश्यक निर्णय लिने गरेको जानकारी दिंदै उनले विज्ञापन क्षेत्रमा देखिएको बेथिति कम गर्न विज्ञापन नियमावली संशोधन गरेर संघीय सरकार मातहतका विज्ञापनरु व्यवस्थित गर्ने काम गरिएको बताइन् । रेडियोहरुको लाइसेन्स तथा इजाजत नवीकरणमा समस्या देखिएको गुनासो आएपछि सबै क्षमताका रेडियोहरुले अनलाइनबाट अभिलेखीकरण गरी जिल्ला हुलाकबाट नवीकरण अद्यावधिक गर्ने व्यवस्था मिलाइएको जानकारी दिंदै उहाँले सूचना विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि एक वर्षबाट बढाएर तीन वर्ष पुर्याइएको र यी सुधारका कार्यले जिल्लास्तरमा रहेका सञ्चारमाध्यम र पत्रकारहरुलाई थप सहज हुने विश्वास व्यक्त गरिन्। मन्त्री शर्माले सरकार सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोंच बनाएर अघि बढिरहेको उल्लेख गर्दै सबै क्षेत्रमा महत्वपूर्ण सुरुवात भए पनि सरकारले चाहे जस्तो काम हुन नसकेको गहिरो अनूभूतिसहित प्रधानमन्त्रीले राजनीतिक समीकरण परिवर्तन गरेरै भए पनि सरकारलाई गति दिने नयाँ अध्यायको थालनी गरेको बताइन्। उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा धेरै भन्दा धेरै जनमुखी कार्यक्रम समेट्ने तयारीमा सरकार रहेको जानकारी दिइन्।

सुनचाँदीको मूल्य स्थिर, कारोबार कतिमा भैरहेको छ ?

काठमाडौं । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार सुन तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै,आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

स्नातक तहको चौथो वर्षमा अनुत्तीर्ण भए, तत्काल मौका परीक्षा दिन पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्‍यवस्था गर्ने भएको छ। स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको तर चौथो वर्षमा एक वा दुई विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीले तत्काल मौका परीक्षा दिन पाउने व्यवस्था गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले जानकारी दिए।  विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भन्ने उद्देश्यले निर्णय गरेको प्रा.डा.केदार रिजालले जानकारी दिए ।

डिजिटल रूपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल रूपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएकी छिन् । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले डिजिटल रूपान्तरणका माध्यमबाट समृद्धि हासिल गरेका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक नीति, कानुन र संरचनात्मक विकासमा ध्यान दिएको उल्लेख गरिन्।  दूरसञ्चार क्षेत्रमा सुशासन स्थापित गर्दै पूर्वाधार विकासलाई मुख्य ध्यान दिएर दूरसञ्चार ऐन संशोधनको काम भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले दूरसञ्चार पूर्वाधारमा देखिएको दोहोरो तेहरो लगानीको अवस्थालाई अन्त्य गरी पूर्वाधार प्रयोगको नीति अघि सार्ने तयारी गरिएको जानकारी दिइन्।  “यसबाट दूरसञ्चार पूर्वाधारमा लागत घट्ने र सेवालाई थप प्रभावकारी बनाउँदै उपभोक्ताबाट लिने शुल्क घटाउन सकिन्छ भन्ने विश्वास लिएका छौँ, त्यस्तै सेवा प्रदायकबाट पनि कूल आम्दानीका हिसाबले वार्षिक दस्तुर लिने गरी समान व्यवहारको नीति लागू गर्नेगरी ऐन संशोधनको काम भइरहेको छ”, उनले भनिन्। ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको मन्त्री शर्माले बताए। राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नुका साथै सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको उनले जानकारी दिए।   मन्त्री शर्माले दूरसञ्चार क्षेत्रको विकासका लागि संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका लक्ष्यलाई ध्यान दिएर नेपालले आफ्नोतर्फबाट पनि काम गरिरहेको बताइन्। सामाजिक र आर्थिक विकास प्रवर्द्धन गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वबारे चेतना जगाउने, डिजिटल डिभाइडरलाई कम गर्न र सबैलाई आइसिटीको पहुँच सुनिश्चित गर्ने, शिक्षा, स्वास्थ्य सेवा र अन्य सामाजिक विकास लक्ष्यका लागि आइसिटीको प्रयोग वृद्धि गर्ने, समावेशी र मानव अधिकारको सम्मान गर्ने तरिकामा आइसिटीको प्रयोग सुनिश्चित गर्ने तथा दिगो विकासका लागि आइसिटीको प्रयोग बढाउनेलगायत राष्ट्रसङ्घले अघि सारेका लक्ष्यहरू पूरा गर्न नेपालले मुख्यतः डिजिटल पूर्वाधार निर्माणमा ध्यान दिएको मन्त्री शर्माले जानकारी दिइन्।  उनले भनिन्, “देशका अधिकांश भू–भागमा दूरसञ्चार र अधिकांश वडा केन्द्रमा ब्रोडव्याण्ड इन्टरनेट पुगेको छ, नेपाल टेलिकमले ७५ जिल्लामा फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गरेको छ । हालसम्म २५ हजार किलोमिटरभन्दा बढी अप्टिकल फाइबर विस्तार गरिएको छ। पछिल्लो समय सूचना प्रविधि आर्थिक समृद्धिका लागि नवीनतम एवं उदीयमान क्षेत्रकारुपमा स्थापित हुँदै गएको छ ।”  नेपालको दूरसञ्चार क्षेत्रको विकासमा आइसियुले गर्दै आएको सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री शर्माले आइसियुले विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापनजस्ता विषयमा सदस्य राष्ट्रलाई सहयोग गर्दै आएको उल्लेख गरिन् । विश्व परिवेशमा इन्टरनेट र टेलिफोनको पहुँचमा देखिएको डिजिटल डिभाइडरलाई कम गर्न आइसियुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले सदस्य राष्ट्रका हैसियतले नेपालकोतर्फबाट आइटियुलगायत विभिन्न सङ्घसंस्थासँगको सहकार्य अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।  ‘दिगो विकासका लागि डिजिटल नवप्रवर्तन’ नाराका साथ आज विश्वभरि विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ । रासस

धनुषामा झडप, ७ सेल अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका १ पौडेसरमा झडप भएको छ । प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको हो ।  सुरुमा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । विवादका बीच एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।