दम्पती मृत फेला, घटना शङ्कास्पद

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । “घटना शङ्कास्पद छ, जोशीले भन्नुभयो, “मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।

एउटै नदीमा पाँच जलविद्युत् आयोजना

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्। संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन्। तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र विद्युत् उत्पादनको तयारी गरेको छ। “८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७।५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन्”, अध्यक्ष भडारीले भने, “४० मेगावाट क्षमताको राहुघाट र २२।५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोलाको निर्माणले पनि गति लिएको छ।” राहुघाटले एक वर्षभित्र उत्पादन सुरु गर्ने नेपाल विद्युत् प्राधिकरणको सतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाले सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम गरिरहेको आयोजनाका व्यवस्थापक राज विष्टले बताए। गत साउनमा छ दशमलव दुई सय ७० किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भएको राहुघाटको बाँध र विद्युत्गृहको अधिकांश संरचना निर्माण सकिएका उनले जानकारी दिए। तुदी पावरका दुई आयोजना अपर राहुघाट र मङ्गले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युत्गृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए। राहुघाटको बाँधदेखि करिब चार सय मिटर माथि अपर राहुघाटको विद्युत्गृह छ। १४ अर्ब लागतमा विसं २०७७ मा मङ्गले राहुघाट र राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो। चारदेखि पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको अपर राहुघाटका इञ्जिनियर नरोत्तम कार्कीले बताए। प्रसारण लाइनको पर्खाइमा ठूलोखोला संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको २१ दशमलव दुई मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माण सकेको छ। मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले ठूलोखोला जलविद्युत् आयोजनाको २२० केभी क्षमताको प्रसारण लाइन आयोजना निर्माणका लागि छ दशमलव शूल्य छ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो। उक्त आयोजनाले प्रसारण लाइन र सवस्टेशनको प्रतिक्षा गरिरहेको आयोजनाका आवासीय इञ्जिनियर सञ्जीव न्यौपानेले बताए। २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको बाँध, पेनस्टक पाइपलाइन निर्माणलाई तीव्रता दिइएको भन्दै विद्युत्गृह निर्माण सुरु भएको आयोजनाको करिब ६० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए। माथिल्लो ठूलोखोलाबाहेकका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ। माथिल्लो ठूलोखोलाको बिजुली भने दाना सबस्टेसनमा लैजान प्रसारण लाइन निर्माण थालिएको छ। राहुघाट र आसपासका खोलामा पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, चार दशमलव ७५ मेगावाटको स्यानोखोला, चार दशमलब ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा छन्। प्रसारण लाइन र सवस्टेशन निर्माणाधीन नेपाल विद्युत प्राधिकरणमार्फत म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन निर्माणाधीन छन्। मालिका गाउँपालिका–७ बिमबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो। निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीसँगको सम्झौताको म्याद १५ महिना थपिएको छ। आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद सन् २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिए। एक सय ३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ। भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो। दुई २०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामलाई तीव्रता दिइएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताए। अम्बाङमा सबस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो। एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ टावरमध्ये हालसम्म करिब ४० वटा निर्माण सकिएको छ। रघुगङ्गा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिकाको वडा नं १, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन्। म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना निर्माण सुरु भएका छन्।

जुम्लामा स्याउबाट भित्रियो ६१ करोड रुपैयाँ

काठमाडौं । जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड  ४१ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको स्याउ जुम्लाले बेचेको हो ।  तथ्यांकअनुसार कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपिएका स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो । जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको थियो । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार ट्रक,बस,जिप तथा हाइस र जहाजबाट जुम्ली स्याउ निर्यात भएको थियो । बगैंचामै जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६५ रुपैयाँमा स्याउ बेचेका थिए । बसबाट एक हजार ६ सय ६० मेट्रिकटन,जीप र हाइसबाट ६६४ मेट्रिकटन र जहाजबाट ७४ मेट्रिकटन स्याउ निर्यात भएको हो । मालवाहक ट्रकबाट ६ हजार ९ सय ९३ मेट्रिकटन स्याउ निर्यात भएको थियो । साउनको ४ दिन,भदौको ३१ दिन,असोजको ३० दिन र कात्तिकको १८ दिन गरेर जुम्ली स्याउ ८३ दिन सम्म निर्यात भएको थियो । ८ सय ३७ जना व्यापारीले किसानको स्याउ बजारमा लगेको कृषि प्राविधिक लछिराम महतले जानकारी दिए । उनका अनुसार जुम्लामा गत वर्षको तुलनामा स्याउको उत्पादन कम भए पनि मूल्य बढ्दा स्याउको कारोबार बढेको हो । प्राविधिक महतका अनुसार निर्यात हुने जुम्ली स्याउको तथ्यांक संकलनका लागि नाग्म प्रहरी चौकीमा रेकर्ड फाइल तयार गरेर प्रहरी चौकीलाई दिइएको थियो । फाइलमा स्याउ निर्यात गर्ने व्यापारी र नम्बरसमेत उल्लेख थियो । जुम्लामा रेड,रोयल,गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ । जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । स्याउ निर्यात हुने समयमा बर्खा लाग्ने भएकोले बजारसम्म लैजान कठिन हुने गरेको किसानहरूले दुःखेसो पोखेका छन् । जुम्लाको स्याउ सुर्खेत,नेपालगन्ज,कोहलपुर,बुटवल,चितवन र काठमाडौंको बजारमा पुग्ने गरेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले एक किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मको स्याउ बेचेको बताए । उनले भने,‘जुम्ली स्याउ स्वादिलो र पोषिलो हुने भएकोले सबैको रोजाइ बनिरहेको छ ।’ व्यापारीहरूले जुम्ली स्याउ तिज,दसैं र तिहारलाई केन्द्रमा राखेर बजारमा लैजाने गरेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै जुम्ली स्याउको निर्यात सहज बनेको हो । तर कच्ची सडक भएकोले गाडीमा हल्लिएर ५ प्रतिशत स्याउ कुहिने गरेका छन् । स्याउको बजारीकरणका लागि जिल्लामा बृहत् कोल्डस्टोर निर्माण गर्न किसानहरूले माग गरेका छन् । उनीहरूले बाहैं महिना स्याउ बेच्ने वातावरण बनाइदिन सरकारसँग पटक-पटक आग्रह समेत गरिरहेका छन् ।

बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुवाङ बजार बन्द, राजमार्ग अवरुद्ध

दाङ । बालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले दाङको भालुबाङ बजार बन्द गराएका छन् । मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ । यसका साथै भालुबाङ बजार बन्द गरिएको छ । २४ असोजमा सशस्त्र प्रहरी बलको क्याम्प नजिक पिङ खेल्न पुगेकी ८ बर्षीया बालिका बलात्कार भएको सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो । पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिकासंगै रहेकी अर्की १५ बर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि कार्यालयमा राखेको छ । दुवै बालिकासंग घटनाको बारेमा जानकारी लिने र संकास्पद व्यक्तिहरुसंग सोधपुछ जारी राखिएको प्रहरीले बताएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ ।  

छठले भित्र्याउँछ डोम समुदायमा खुशी

धनुषा । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् ।  हुन त पछिल्लो समय विश्वव्यापीकरणको प्रभाव, खुला समाज र काम गर्नेहरूका लागि अवसरका ढोकासमेत खुल्दै गएका छन्, त्यसबाट यस समुदायका व्यक्ति पनि प्रभावित छन् नै तर त्यो अवसर सबैसम्म पुग्न सकेको छैन ।  क्षीरेश्वरनाथ नगरपालिका-६ सखुवाबजार नयाँटोलका झल्कु मल्लिक भन्छन्,“समय बदलियो, हाम्रा मौलिक कामको मूल्य छैन । गर्नेले त अरू काम गरिरहेकै छन् तर अधिकांशले हातमुख जोर्ने समस्याबाटै गुज्रिनु परिरहेको छ ।” उनी चाडपर्वका बेला भने आफूहरूको सीपले महत्त्व पाउने गरेको सुनाउँछन् ।  छठ पर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन डोम समुदायलाई अचेल भ्याइ नभ्याई रहेको मल्लिकको भनाइ छ । “सधैँ के खाने, के लाउने भन्ने चिन्ता हुन्छ तर चाडबाड, त्यसमा पनि छठ हाम्रा लागि खुसी बोकेर आउँछ । चुल्हो बल्छ, बालबालिकाका सामान्य आवश्यकता पूरा गरिदिँदा मुहारमा हाँसो आउँछ, हाम्रो मनमा उल्लास”, उनले हँसिलो मुद्रामा भने ।  दीपावली लगत्तै सुरु हुने छठ पर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजाका सामग्री बनाउन व्यस्त हुन्छन् । यसबेला पुर्खौली पेसाले काम पाउँछ, सामानले बजार । अनि खुसीको त के कुरा ! तराईवासी हिन्दु धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा धनुषा, महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाउन व्यस्त छन् । यतिबेला उनीहरूले यही सामग्री बेचेर राम्रो आम्दानी गरिरहेका छन्। धनुषा, महोत्तरीमा करिब पन्ध्र लाख जनसङ्ख्या रहेकामा तीमध्ये करिब ७५ प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठमा बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्ने जानकारहरू बताउँछन् ।  छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतका नयाँ भाँडाकुँडाले पर्व मनाउनुपर्ने भएकाले आफूहरूले छठ पर्वका बेला यस्ता भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्ने गरेको जनकपुरधाम उपमहानगरपालिका—१ स्थित धर्मवान् टोलका श्याम मल्लिक डोमले सुनाए ।  सोही टोलकी रीता मल्लिकले गाँस, बास र कपासकै जोरजाममा अल्झिनुपर्ने बाध्यताका बिच आउने छठ पर्वले कात्तिक महिनाभर दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने अवसरसमेत ल्याउने गरेको बताइन् । “अरू बेला त फेरि उही समस्या हुन्छ तर एकाध महिना भए पनि कामका लागि भौँतारिनुपर्दैन । काम भएपछि दाम र माम त हुने नै भयो”, उनले खुसी हुँदै भनिन् ।  महोत्तरीको औरही नगरपालिका-१ का ईन्दल मल्लिक डोमले कात्तिक लाग्ने बित्तिक्कै घरका बच्चादेखि बुढापाकासम्मले काम पाउने गरेको र बिहानदेखि बेलुकासम्म व्यस्त हुने गरेको सुनाए । त्यही बेचेर राम्रो आम्दानी हुने भएकाले आफूहरू निकै खुसी भएको उनको भनाइ छ ।  छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ । महोत्तरीको भङ्गहा नगरपालिकाका सुखारी डोम घरका बालकदेखि बुढापाकाले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउँछिन् ।  मिथिला नगरपालिका-७ का ५५ वर्षीय राजवीर डोमले चाडपर्व आफूहरूका लागि पिर बिसाउने अवसरसमेत भएको बताए । सोही ठाउँकी ६० वर्षीया रुमीनी डोमिनले गाउँ, सहरमा हुने भोजभतेरमा बचेखुचेको ल्याएर सपरिवार खाने गरेका डोम समुदायका विपन्न नागरिकले छठमा आफैँ मीठामसिनो परिकार पकाएर खाने गरेको सुनाइन् ।  छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको अनुभूति हुने स्थानीय ६० वर्षीय बुधवा डोमको भनाइ छ । मिठोमसिनो खाने मात्रै होइन महोत्तरीको जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरि कै सबै कर्जा चुक्ता गर्ने र केही महिनासम्मको खर्च जोहो योजना रहेको सुनाए ।  हरेक वर्ष छठपर्व मनाउने वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन डोम समुदायका व्यक्ति निकै व्यस्त देखिन्छन् । पछिल्लो समय तराईमा मात्रै नभई देशको राजधानी काठमाडौँसहित पोखरा, हेटौँडालगायत पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने अवस्था पनि सिर्जना भएको छ । यसलाई व्यवस्थित गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने यसमा संलग्न डोम समुदायका अगुवाहरूको भनाइ छ ।    

स्कट्ल्यान्डमाथि नेपालको जित, ११ अंकसहित चौथो स्थानमा

काठमाडौं। नेपालले आइसिसी विश्वकप लिग २ मा स्कट्ल्यान्डलाई पराजित गरेको छ।मंगलबार भएको खेलमा आरिफ सेखको अर्धशतकसँगै नेपालले स्कट्ल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो। यसअघि नेपालले नेदरल्यान्ड्सलाई घरेलु मैदानमा आठ विकेटले पराजित गरेको नेपालको लिग २ मा यो दोस्रो जित हो।  त्यसअघि र त्यसपछि भएका ९ मध्ये एक टाइको नतिजा निकालेको नेपालले ७ खेलमा भने नेपाल पराजित भएको थियो। जितसँगै सातौं स्थानमा रहेको नेपालले १० खेलबाट ५ अंक पुर्‍याएको छ। एक खेल कम खेलेको स्कट्ल्यान्ड भने ११ अंकसहित चौथो स्थानमा छ। स्कट्ल्यान्डले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा पाँच विकेट गुमाउँदै १५७ रन बनायो। छैटौं नम्बरमा उत्रिएका आरिफले अविजित रहँदै सर्वाधिक ५१ रन बनाए। ४२ बल खेलेका उनले आठ चौका प्रहार गरे।  गुलसनकुमार झा २५ रनमा अविजित रहँदा कुशल भुर्तेल २५ रनमा पेभिलियन फर्किए। ओपनर आसिफ सेख २१ र अनिलकुमार साह १३ रनमा आउट हुँदा कुशल मल्ल सात र कप्तान रोहितकुमार पौडेलले एक रन बनाए।

आँबुखैरेनी क्याम्पसको नवनिर्मित भवन उद्घाटन

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी क्याम्पसको नवनिर्मित भवन बिहीबार उद्घाटन भएको छ । नेपाल–भारत विकास सहयोगअन्तर्गत भारत सरकारको ३० करोड १० लाख सहयोगमा भवन निर्माण भएको हो । भारतीय राजदूतावाका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका संयोजक शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।  कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थी सहभागी थिए ।  क्याम्पस भवन आयोजना नेपाल र भारत सरकारबिच भएको सम्झौताअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । जिल्ला समन्वय समिति तनहुँमार्फत उक्त भवन निर्माण आयोजना कार्यान्वयन भएको थियो ।  आँबुखैरेनी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त समुदायमा आधारित क्याम्पस हो । क्याम्पसले ब्याचलर अफ बिजनेस स्टडिज  र ब्याचलर अफ एजुकेसनमा स्नातक कक्षा सञ्चालन गर्दै आएको छ

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।हालैमात्र दीपक वलीको पनि गोलीबाट मृत्यु भएको थियो ।

समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान रहेको  बताउनुभएको छ ।  किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिंदै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो। शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले भन्नुभएको छ -'किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान रहेको छ। उहाँले छोरीको विवाह गर्दा सोत–रीत लिन नहुने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेलगायत समाज सुधारका लागि अघि सारेको नीति ‘सत्य धर्म मुचुल्का’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ। उहाँले अघि सारेका यी नीतिहरु सबै धर्म, जाति र समुदायका लागि अनुकरणीय छन्।' भाषा, लिपि, संस्कार संस्कृति, शिक्षा, समाज सुधार, किराँत धर्मको उत्थान तथा संरक्षणका लागि गरेको योगदानको सम्मान स्वरुप सरकारले फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरिसकेको बताउँदै उहाँले फाल्गुनन्द जयन्तीले किराँत समुदायलगायत सबैमा थप प्रेरणा र उर्जा प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डद्धारा व्यक्त शुभकामना  

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरबाट पक्राउ गरिएका उनलाई आज काठमाडौं पुर्‍याइँदैछ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारी मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराइ जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएकोमा जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काएको थियो । कात्तिक १३ गते जापान उडेका उनलाई टोकियो विमानस्थलमा ४८ घण्टा राखेर फिर्ता गरेको थियो । मानव तस्करी गरेर मन्त्री जापान गएको भन्दै विरोध भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । शनिबार एमालेको कोशी प्रदेश कमिटीले उनलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो भने शनिबार नै बसेको एमाले सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । आफूलाई फसाइएको दाबी गरेका अधिकारीले अनुसन्धानमा सघाउने बताएका छन् । उनीसँगै जापान गएकाहरुलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् ।  विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

आज नेपाल र बङ्गादेशबीचको फाइनल खेल

काठमाडौ । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ [दक्षिण एसियाली फुटबल महासङ्घ] च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ ।  सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौँ । तर यसपटक बङ्गलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौँ ।” प्रशिक्षक तामाङले बङ्गलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलिमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गर्नुभयो । यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।  बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो । सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो ।  सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो । त्यतिबेला नेपाल भारतसँग ६–० गोलअन्तरले स्तब्ध भएको थियो । सोही संस्करणबाट सावित्री भण्डारी ९साम्बा० ले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले नेपाली टोलीबाट उत्कृष्ट खेल पस्कदै नेपाली खेलप्रेमीको मन जित्न सफल भएकी छिन् ।  साम्बाले यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै आम नेपालीलाई खुसी प्रदान गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । बङ्गलादेश बलियो टोली भएको उल्लेख गर्दै उनले नेपालले उपाधि जित्नेमा विश्वास व्यक्त गरिन् । घरेलु दर्शकको भरपुर साथ र समर्थन हुने भएकाले पनि आफूहरुलाई फाइदा हुने उनको भनाइ थियो ।  उनले भनिन, “यसअघि पाँच पटक उपविजेतामा चित्त बुझाएका थियौँ, विगतका हारबाट धेरै कुरा सिकेका छौँ । विगतका गल्तीलाई नदोहो¥याइ उपाधि उचाल्ने सोचका साथ मैदानमा उत्रनेछौँ ।” साम्बालाई फाइनलमा गोलको कीर्तिमान बनाउने अवसरसमेत छ । उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् । युरोपका प्रतियोगितामा खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत रहेकी साम्बा फ्रेन्च क्लब इए अभान्ट गुइग्याम्पमा खेलेर नेपाल आएकी हुन् । उनले यस संस्करणको साफ च्याम्पियनसिपमा समूह चरणको पहिलो खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा बेञ्चमा बसेकी थिइन् । उनले समूह चरणको अन्तिम खेल श्रीलङ्काविरुद्ध भने खेलेकी थिएन । साम्बाले नेपालका लागि ४८ खेलमा सर्वाधिक ५५ गोल गरिसकेकी छन् । त्यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । उनले भनिन्, “हामी गत संस्करणमा बङ्गलादेशसँग पराजित भएका थियौँ । तर यसपटक भने हामी उपाधि जित्ने गरी तयारी गरेका छौँ ।” सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बङ्गलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । सन् २०१६ मा भारतमा भएको चौथो संस्ककरणमा नेपाल सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

उपाधि जित्ने नेपालको सपना पुन: अधुरै

काठमाडौं। उपाधि जित्ने नेपालको सपना पुन: अधुरो बनेको छ। नेपालले साफ च्याम्पियनसिप २०२४ मा पुनः उपविजेतामा सीमित भएको हो।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशले २-१ पराजित गरेसँगै नेपाल उपविजेता मै खुम्चिन एपरेको हो । योसँगै बंगलादेशले लगातार साफ जित्न सफल भएको छ। अघिल्लो संस्करणको फाइनलमा पनि बंगलादेशले नेपाललाई यही मैदानमा ३-१ ले हराएको थियोे।  बंगलादेशलाई मनिका चक्माले सुरुआती अग्रता दिलाइन्। उनले ५३औं मिनेटमा अमृता जैशीले गरेको गल्तीमा गोल गरेकी हुन्। ग‍ोलरक्षक एन्जिला तुम्बापोले बचाउने प्रयास गरेपनि सकिनन्।  तर, त्यसको चार मिनेटपछि नै अमिषा कार्कीले गोल फर्काइन्। प्रीति राईको थ्रू बलमा अमिषाले काउन्टर अट्याकमा गोल गरेकी हुन्। ८१औं मिनेटमा बंगलादेशले पुन अग्रता लियो। ऋतु पोर्ना चक्माले अनिता केसीलाई बिट गर्दै प्रहार गरेको बललाई एन्जिलाले बाहिर पठाउने प्रयास गरेपनि असफल हुँदा नेपाल खेलमा पछि पार्यो।

कला साहित्यले जनताको सेवा गर्नुपर्छः ज्ञवाली

धरान । अखिल नेपाल लेखक सङ्घ एक नम्बर प्रदेश समितिको आयोजनामा प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र प्रतिनिधिमूलक कवितागोष्ठी सुनसरीस्थित विमल स्मृति पुस्तकालय, बुद्धचोक, धरान १८मा सम्पन्न भएको छ । उक्त कार्यक्रमको पहिलो सत्रमा प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र दोस्रो सत्रमा प्रतिनिधिमूलक कवितागोष्ठी गरिएको थियोे। वरिष्ठ सौन्दर्यचिन्तक एवं जनसांस्कृतिक महासङ्घ नेपालका इन्चार्ज तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो।  उहाँले साहित्य, कला र संस्कृति देश र जनताको हितमा हुनुपर्ने बताउनुभयो । ‘यसले जनताको सेवा गर्नुपर्छ। जनताका यावत जीविकाका समस्यालाई देखाउने , जनताका सत्रुहरूको भण्डाफोर गर्ने र देश र जनतालाई परिवर्तन र मुक्तिको दिशाबोध गराउने कामचाहिँ प्रगतिवादी साहित्यले गर्नुपर्छ । प्रगतिशील र प्रगतिवादी साहित्यमा भिन्नता छ’, उहाँले भन्नुभयो । उहाँले सम्पूर्ण संस्कृतिकर्मीहरू देश ,जनता र गरिब वर्गको पक्षमा उभिनु आवश्यक रहेको बताउनुभयो ।  विशिष्ट अतिथि जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष भीम कुमाखीले केशव सिलवाल वर्तमान समयका अब्बल कवि रहेको चित्रण गर्दै हरेक विकृति र विसङ्गतिविरुद्ध प्रत्येक कविहरू जागृत हुनुपर्ने बताउनुभयो ।  त्रिभुवन विश्वविद्यालयमा अध्यापन पेसामा संलग्न जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय महासचिव केशव सिलवाललाई प्रगतिवादी कविता लेखन क्षेत्रका प्रतिनिधिमूलक प्रतिभाका रूपमा चित्रण गरिएको छ । सो अवसरमा सिलवालले कविता लेखनका लागि उच्च साधनाको जरुरत पर्छ।अनि मात्रै कविताले मानिसको मनमस्तिष्क छुन सक्छ भन्ने धारणा राख्दै चिबेचरा,ङा चेपाङ,कमरेड स्याउला ,तुइनमा उल्टो झुन्डिएर ,जुत्ता र क्रान्ति ,यो देश मेरो होइन रहेछ जस्ता ६ वटा कविता बाचन गर्नु भएको थियो। ललितपुर लेलेमा २०३० सालमा जन्मिएका कवि केशव सिलवालका बर्जित अवशेष,असहमतिका स्वरहरू, धारिला मानिसहरु, चिबेचराजस्ता कविता कृति प्रकाशित भइसकेका छन्। कवि सिलवाल उक्त कार्यक्रममा सम्मानित समेत हुनु भएको थियो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय सचिवालय सदस्य एवं जनसांस्कृतिक महासङ्घ नेपाल एक नम्बर प्रदेशका अध्यक्ष चेतनाथ धमलाले कवि सिलवालका वाचित कवितामाथि टिप्पणी गर्नुभएको थियोे । कार्यक्रममा जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव तथा एक नम्बर प्रदेश इन्चार्ज अनुसा राईलगायतले बोल्नुभएको थियो । कार्यक्रमका अतिथि प्रा.डा.खेमनाथ दाहाल,अम्बिका शाक्य, सिद्धिकर्ण शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य राम खरेल ,राधिका कार्की,टीका मिलन, महेश श्रेष्ठ, दीपक पराजुली, टेकनाथ घिमिरे, राजन निरौला, चन्द्रबहादुर सुवेदी, मणि राई गोठाले, महेश श्रेष्ठ, सानू कोविद, इन्द्रसुर बेल्टारे र युवराज घले लगायतले कविता वाचन गर्नु भएको थियोे। साथै पीपी कोइरालाले लघुकथा वाचन गर्नु भएको थियोे। अतिथि गायिका अम्बिका दवाडीले गीत प्रस्तुत गर्नुभएको थियोे। कार्यक्रममा शकुल भुसाल ,तुलसी गेलाल, खड्गप्रसाद खनाल, जमुना श्रेष्ठ, पदम ढकाल, बाबुराम श्रेष्ठ, प्रकाश दिप्साली राई, पुष्प ढुङ्गाना, शोभा मिश्र खनाल, कमल आचार्य र अनूदित खनाल लगायतका कवि, लेखक र श्रोताहरूको उपस्थिति रहेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य ,अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सचिव तथा अखिल नेपाल लेखक सङ्घ एक नम्बर प्रदेश समितिका अध्यक्ष प्रा.डा. खेमराज खनालको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो। प्राज्ञ खनालले हाम्रा यस्ता कार्यक्रमबाट प्रगतिवादी साहित्यको उन्नायन हुनका साथै स्रष्टाहरूको मनोबल बढेर जाने कुरामा जोड दिँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नु भएको थियोे। अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य एवम् अखिल नेपाल लेखक सङ्घका उपाध्यक्ष विमला पोखरेलले कविता वाचनसहित कार्यक्रम सञ्चालन र सचिव सुधीर केसीले कवितावाचनसहित स्वागत गर्नुभएको थियो । 

थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

मनवानपुर । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ । प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै उनले पालिकाको निर्णय विपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिए । 

भरतपुरमा सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ निर्धारण

भरतपुर । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकै आइपुगेको छ । भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फुल प्रर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ । चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला हुने फुल खेती भएको तथ्याङक एशोसियसनले सार्वजनिक गरेको छ । त्यसै गरी अहिलेको उत्पादनले विदेशबाट आयत गर्नुपर्ने नदेखिएको एशोसियसनका सचिव श्रेष्ठ बताउनुहुन्छ । विगतमा फुलको मालाको मूल्य फरक फरक भएकाले यस पटक रु १०० निर्धारण गरिएको एशोसियसनका सचिव श्रेष्ठले जानकारी दिनुभयो । एशोसियसनले निर्धारण भएको मूल्यभन्दा बढीमा विक्री नगर्न फुल खेती गर्ने, कृषक विक्रेतालाई आग्रह गरेको छ । सयपत्री फूल प्रतिकिलो  ४ सय देखि ४ सय पचास कायम गरिएको कृषकले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य न्यून रहने गरेको छ । यस्तै भरतपुर महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रयोग गर्न भरतपुरवासीलाई अनुरोध गरेको छ । जिल्ला फुलमा आत्मनिर्भर भइसकेको अवस्थामा कृषकलाई प्रोत्सहान गर्न महानगरले आग्रह पनि गरेको छ । जिल्लामा ठूलो मात्रामा व्यवसाय गर्ने कृषक १० देखि १५ जना रहेका छन् । उनीहरूले एक बिघा क्षेत्रफलभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय गरेका छन् । यसैबीच फ्लोरिकल्चर एशोसिएसन चितवनले विदेशी उत्पादनलाई भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय तथा ७ वटा पालिकालाई पत्राचार गरिसकेको छ ।