पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ । गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको  जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए। 

सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए। सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्।

बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन्। बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन्।  डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ। यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो।

खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ मे मा हुँदै

कतार । खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ मे २०२४ मा हुने भएको छ । कतारको नेपाली सामाजिक सस्थाहरु मध्ये जेठो सस्थाको रुपमा स्थापित खोटाङ सेवा समाज कतारको एघारौ कार्यकाल सफलतापुर्वक सम्पन्न गर्दै १२औं अधिवेशनको लागि सस्थाका पदाधिकारिहरु तिब्र तयारीमा जुटेका हुन्। प्रवासको पसिना स्वदेशको साकार सपना भन्ने मुल नारा सहित सन १९९८ जनवरी ३१ तारिक मा स्थापना भएको सस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै १२औ अधिवेशनको सम्मुखमा आइपुगेको छ । गृह जिल्ला खोटाङ र कतारमा सामाजिक कार्यमा सकृय सस्थाले शिक्षा स्वास्थ्य र खेलकुदको क्षेत्रमा उल्लेख्य सहयोग गरिसकेको सस्थाका प्रमुख सल्लाहकार रुद्र शर्माले बताएकाछन । विभिन्न पेशा ब्याबसायमा आवद्ध खोटाङेहरुको भब्य उपस्थिति रहने अपेक्षा सहित सस्थाको १२औ अधिवेशन प्लाजा मलको वेल्फेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने  महासचिव पर्शुराम श्रेष्ठ पवनले बताएकाछन साथै अन्य ब्याबस्थापकिय तयारी अन्तिम चरणमा पुगेको हुदा कतारमा रहेका सम्पुर्ण नेपालिहरुलाइ कार्यक्रममा उपस्थित भएर भब्य रुपले सफल बनाइदिन अध्यक्ष कैलाश श्रेष्ठले अनुरोध गरेका छन्। सस्थाको अधिवेशनलाइ मध्यनजर गर्दै साधारण सदस्यता खुल्ला गरिएको हुदा कतारमा रहेका सम्पुर्ण खोटाङेहरुलाइ यथाशीघ्र सदस्य बन्न तथा सदस्यता नविकरण गर्न सबैलाइ सस्थाको फेसबुक पेज मार्फत सुचित गरिएको हुँदा स्वतस्फूर्त ढङ्गले सस्थाका पदाधिकारीहरुलाई सम्पर्क गर्न उपाध्यक्ष डिल्लिशेर खड्काले अनुरोध गरेका छन्। सांस्कृतिक तथा साहित्यक रुपमा आफ्नो छुट्टै पहिचान बनाएको खोटाङ जिल्लालाइ कतारमा पनि प्रबर्द्धन गर्ने उदेश्य सहित कार्यक्रममा सांस्कृतिक प्रस्तुतीको साथमा साहित्यको उच्च  संयोजन रहने उपाध्यक्ष बलराम लोप्चनले बताएका छन्।

कर्णालीका नवनियुक्त कृषिमन्त्री शाहले लिए शपथ

काँर्केविहार। कर्णाली प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ गराएका हुन् । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको शपथ लिएका थिएनन् । रासस

'कर्णाली साँच्चिकै दुर्गम रहेछ’

सुर्खेत।नेपाली भाषामा विद्यावारिधी गरेका माइकल हर्ट यतिबेला नेपालकै दलित समुदायबारे अध्ययन गरिरहेका छन्। त्यसभित्र पनि उनले दलित साहित्यलाई महत्वका साथ आफ्नो अध्ययनभित्र राखेका छन्। उनले दलितका अनुभव, प्रतिरोध, उत्पीडन जस्ता विषयलाई पनि आफ्नो अध्ययनमा समावेश गर्न खोजेका छन्। अध्ययनका क्रममा आफूले दलितहरुको अनुभव, प्रतिरोध, उत्पीडनलाई साहित्यका दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण लागेको माइकलले बताए।‘म अहिले दलित समुदायबाट आएका मान्छेहरुले लेखेको साहित्यको विषयमा अध्ययन गरिरहेको छु, खासगरी पहाडी दलित समुदायबाट आएका लेखकहरुले लेखेका पुस्तकहरुको विषयमा बुझ्दै छु,’ सुर्खेतमा आयोजित कर्णाली लिट्रेचर फेस्टिभलको ‘भाषा, साहित्य र शिक्षा’ सत्रका वक्ता रहेका माइकलले भने, ‘दलितको अनुभव, प्रतिरोध, उत्पीडनका विषयहरु स–साना छन्, तर तिनलाई साहित्य र राजनीतिक  दृष्टिकोणबाट हेर्दा निकै महत्वपूर्ण छन्,’ उनले आफूले अध्ययन गरेको दलित साहित्यका विषयमा पुस्तक लेख्ने योजना बनाएका छन्।उनले आफू अध्ययनका क्रममा कर्णाली आउँदा निकै दुर्गम भएको अनुभव गरेको बताए। ‘म नेपाली भाषाको इतिहासका बारेमा बुझ्दै थिएँ, जुम्लाको बारेमा बुझ्दै थिएँ,’ उनले भने, ‘सुरुमै पश्चिमतिर आउन सकिएन, काठमाडौं वरिपरी बसेर काम गरेको मैंले कर्णाली आउँदा थाहा पाएँ, कर्णाली त साँच्चिकै दुर्गम रहेछ।’ उनले नेपालको साहित्य राजधानीको वरिपरी मात्र सिमित रहेको आफूले पाएको बताए। यसलाई सबैतिर विस्तार गर्नुपर्नेमा माइकलले जोड दिए। उनले नेपालमा अध्ययनका क्रममा पाँच सय भन्दा धेरै पुस्तक आफूले पढिसकेको बताए।माइकलले कर्णाली ब्लुजको अंग्रेजीमा अनुवाद पनि गरेका छन्। मुनामदन पनि उनले अनुवाद गरेका छन्। ‘मैले नेपाली पुस्तक अनुवाद गर्दा कर्णाली टेकेको पनि थिएन, पछि मात्र टेक्न पाएँ,’ उनले भने।माइकलले तत्कालिन माओवादी छापामारहरुले लेखेको पुस्तकहरुको संस्मरण पनि बनाएका छन्। त्यसक्रममा माओवादी विद्रोहमा हुँदा उनीहरुले घरपरिवार छाडेर किन युद्धमा होमिएका थिए भन्ने आफूले थाहा पाएको माइकलले बताए।

दुई दिने डिजिटल मिडिया साक्षरता कार्यशाला सम्पन्न

काठमान्डौं । नेपाल टेलिकमको प्रायोजन र रिसर्च फर नेपालको आयोजनामा दुई दिने 'डिजिटल मिडिया साक्षरता कार्यशाला' सम्पन्न भएको छ। युवाहरुमा सामाजिक सञ्जालमा आउने मिथ्या सूचनाहरुबाट सतर्क बनाउने र डिजिटल मिडियाहरुको सदुपयोग गर्न सिकाउने उदेश्यका साथ रिसर्च फर नेपालले आयोजना गरेको उक्त कार्यक्रमको प्रायोजन नेपाल टेलिकमले गरेको थियो। सो कार्यक्रम जेष्ठ ८ र ९ गते दुई दिनसम्म चलेको थियो। बुढानिलकण्ठको बाल उद्धार माध्यमिक विद्यालयमा आयोजित आयोजित उक्त कार्यक्रममा रविराज बराल, यशोदा बन्जारा, सुमन ओली लगायत नेपाल टेलिकमका कर्मचारीले प्रशिक्षण दिनु भएको थियो। ूकार्यक्रमले युवाहरुमा राम्रो जनचेतना फैलाएको छ र यस्ता कार्यक्रमहरु हरेको विद्यालयमा गराउनु पर्छू कार्यक्रम संयोजक सुबिन चालिसेले बताए। तालिममा युवाहरुलाई साइबर अपराध र कानूनी विषयमा प्रशिक्षित गरिएको थियो। कार्यक्रममा विभिन्न जिल्लाहरुबाट काठमाडौमा आएर पढ्ने युवाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ नेपाल टेलिकमले जनचेतनाको क्षेत्रमा यस्ता विभिन्न कार्यक्रमहरुलाई सहयोग गर्दै आएको छ।

सुदूरपश्चिम गजल मञ्चको पाँचौ सम्मेलन सम्पन्न, अध्यक्षमा धीरज त्रिवेणी

कैलालीः सुदूरपश्चिम गजल मञ्च कैलालीको पाँचौ सम्मेलनले नयाँ कार्यसमिति बनाएको छ । धनगढीमा भएको सम्मेलनले धीरज त्रिवेणीको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको हो । सम्मेलनले उपाध्यक्षमा रघुनाथ कडरिया, तारा पल्लवी, महासचिवमा तपेन्द्र भावातीत, सचिवमा दीपक क्षितिज, कोषाध्यक्षमा दीपिका विवशलाई चयन गरेको छ । यस्तै मञ्चको सदस्यमा सेत राज संगम, तिलक समर्पण, माधव घर्तीमगर, तीर्थराज भट्ट, चन्द्र थापा, भूपिसिंह धामी र दिवा प्रयासी चयन भएका छन् ।

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ  : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन्। डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उहाँले बजेटमार्फत दश वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा दश लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बताए।  “सूचना प्रविधिलाई अर्थतन्त्रको सम्वाहकका रूपमा स्थापित गर्ने, सूचना प्रविधिका नवीनतम् प्रविधि अवलम्बन गर्न कानुनी आधार तयार गर्ने, कृत्रिम बौद्धिकताको विकास, प्रवर्द्धन र नियमनको व्यवस्था गर्ने व्यवस्था बजेटमा गरिएको छ”, प्रधानमन्त्री प्रचण्डले भने । उनले सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा, डाटा सुरक्षा र बौद्धिक सम्पत्ति संरक्षण प्रदान गर्ने विषय बजेटमा समावेश भएको स्पष्ट पारे।  प्रधानमन्त्री प्रचण्डले ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौँ उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाइने बताए। “यस्तो पार्कमा तीन वर्षका लागि ‘वर्क स्टेसन’ सञ्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराउने, सार्वजनिक–निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हव सञ्चालनका लागि बहुतले संरचना निर्माण गरिनेछ”, उनले भने। स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने व्यवस्था मिलाइने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारी डाटा सेन्टरको स्तरोन्नति, विद्युतीय तथ्याङ्कको भण्डारण, सुरक्षा र उपयोगलाई व्यवस्थित र भरपर्दो बनाइने बताए । सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधि सम्बद्ध उद्योगमा ‘इन्टर्न’ गर्ने व्यवस्था गरिने उनको भनाइ छ ।  प्रधानमन्त्री प्रचण्डले सरकार सूचना तथा सञ्चार प्रविधिलाई विशेष प्राथमिकतामा राख्दै विकास र समृद्धिको लक्ष्यमा अघि बढिरहेको स्पष्ट पारे । “आगामी आवको बजेटमा तीन महत्वपूर्ण प्राथमिकताभित्र आइसिटीलाई समावेश गरेका छौँ”, उनले भने, “सरकार डिजिटल इकोनोमी, स्टार्टअप र इनोभेसनको प्रवर्द्धन, रोजगारीको सिर्जना, डिजिटल गर्भनेन्सको सुधार र समग्र देश रूपान्तरणको लक्ष्यमा केन्द्रित छ, त्यसअनुरूप सरकारले आवश्यक नीति र कानुनको परिमार्जन गर्दै अघि बढिरहेको छ ।” प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय ‘देश बन्दैन’, ‘यो देशमा केही हुँदैन’ भन्ने अत्यन्त नकारात्मक भाष्य स्थापित गर्ने कोसिस भइरहेपनि तथ्यहरूले नेपालको विकास, समृद्धि र स्वरोजगारका क्षेत्रमा राम्रो प्रगति हुँदै गएको पुष्टि गरेको बताए । उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका क्षेत्रमा सरकारले गरेको निरन्तर प्रयास र पहलकदमीका कारण देशभित्र क्रमशः उत्साहको वातावरण निर्माण हुँदै गएको उनको भनाइ छ ।  प्रधानमन्त्रीले सूचना प्रविधि क्षेत्रमा सरकारका तर्फबाट आर्कषक रोजगारीको व्यवस्था र अवसर सिर्जना गर्न खोजिएको तथा स्टार्टअप र इनोभेसन प्रवर्द्धन गर्न इतिहासमै पहिलोपटक रु एक अर्बको कोष बनाएर सातै प्रदेशमा इन्कुवेसनसहितको कार्यक्रम ल्याइएको स्पष्ट पारे। उनले प्रविधिमार्फत् अर्थतन्त्रको विकास र रोजगारी सिर्जनाका निम्ति सरकारले अगाडि बढाएका कार्यक्रम प्रभावकारी तुल्याउन र प्रविधिको प्रयोगमार्फत् आर्थिक सामाजिक रूपान्तरणमा सहकार्यका निम्ति आम युवा र आइटी क्षेत्रका उद्यमीलाई अपिल गरे।  “तपाईंहरू निरास नहुनुहोस्, जसरी तपाईंहरूले यस क्षेत्रमार्फत् रोजगारी सिर्जना र अर्थतन्त्रको विकासमा योगदान गरिरहनुभएको छ, यसका निम्ति नेपाल सरकार आभारी छ”, उनले भने, “सूचना प्रविधि क्षेत्रका निम्ति आवश्यक कानुनलगायतका नीतिगत विषयको सम्बोधन गर्न सरकार तयार छ ।” ‘डिजिटल गभर्नेन्स’लाई सुधार गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु सरकारको प्राथमिक दायित्व भएको जनाउँदै उनले यसले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति, सेवा प्रवाहमा सरलता र सहजता, अन्तरसरकारी समन्वयमा सुधारमा पर्याप्त आधार सिर्जना गर्ने बताए।  प्रधानमन्त्री प्रचण्डले डिजिटल नेपालको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति प्राविधिक पूर्वाधारका विकास र दूरदराजसम्म पहुँच विस्तार उच्च प्राथमिकतामा रहेको बताए। सबै नागरिकमा प्रविधिको सहज पहुँच विस्तार गरी स्वास्थ्य, कृषि, शिक्षा लगायत सेवा प्रवाहका क्षेत्रलाई गुणस्तरीय र पहुँचयोग्य बनाउन जरूरी रहेको उनको भनाइ छ । 

विमानस्थल विस्तारमा निरन्तर लागेकी मेयर दाहालको मन्त्रीहरूद्धारा प्रशंसा

चितवन।  भरतपुर महानगरपालिकाको प्रमुख भएसँगै पहिलो एजेण्डाको रुपमा भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नतिलाई लिएकी प्रमुख रेनु दाहालको कामले मूर्तरुप लिदैं गर्दा सबै तिरबाट प्रशंसाको पात्र बनेकी छिन्।बिहीबार श्री एयरको जहाज परिक्षण उडानका क्रममा अवतरणपछि उपस्थित दुई मन्त्रीसहितका अधिकारीहरुले दाहालको खुलेर प्रशंसा गरे। सो अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ईं प्रदिप अधिकारी लगायतले दाहालको निरन्तरको पहलकदमीले सार्थकता पाएको भन्दै प्रशंसा गरेका छन् । मन्त्री तामाङले आगामी आर्थिक वर्षभित्रै भरतपुर विमानस्थलको विस्तार भइसक्ने बताए। मन्त्री तामाङले यसै वर्ष धावनमार्गको विस्तार, नयाँ टर्मिनल भवनको निर्माण सकेर भरतपुर विमानस्थललाई चौबिसै घण्टा चलाउने बताए । ‘मेयरको अनवतर प्रयास, प्रधानमन्त्रीको पहल र सहयोग, विभागीय प्रमुखको दिलचस्वीले छिट्टै सबै काम हुँदैछ । यति चाडै यो हदसम्मको प्रगति हुन्छ भन्ने चितवनवासीले सोचेका थिएनन् होला,’ मन्त्री तामाङले भने । उनले थपे “सकभर कुनै बाधा, अवरोध पैदा हुन नदिने, निर्माण व्यवसायीलाई छिटोभन्दा छिटो काम गर्ने वातावरण बनाइदिने काम हामी गर्छौं।” गृहमन्त्री लामिछानेले यसले यहाँको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले आँफु अन्त्यमा आएर जोडिएको भन्दै सुरुवातदेखि निरन्तर लागिरहनु भएका भरतपुर महानगर प्रमुख रेनु दाहाललगायत सबैलाई धन्यवाद दिए।   नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले रन वे बढाएर भरतपुर विमानस्थलको स्तरोन्नतिको काम सुरु हुन लागेको, नयाँ टर्मिनल भवन बनिरहेको अवस्थामा ठुलो क्षमताको जहाज आउन लागेको बताए। स्थानीय सरकारको तर्फबाट प्रमुख दाहालले निरन्तर घचघच्याएका कारण काम छिटो भएको बताए। असार मसान्तसम्म प्राधिकरणको बजेट पास हुने साउनमा विमानस्थलको विस्तारका लागि टेण्डर आह्वान हुने उनले बताए। ‘ढिलोमा सन् २०२५ को जनवरीसम्ममा विस्तार भइसक्छ,’उनले भने,‘त्यसपछि भरतपुरमा रात्रिकालीन सेवा सुरु हुन्छ। चौबिसै घण्टा जहाज अवतरण गर्न सकिन्छ । अहिले परीक्षण भइरहेको ८० सिटको जहाजमात्रै होइन जेट पनि अवतरण हुनसक्छ ।’ उनले विमानस्थलको स्तरोन्नतीपछि बुद्ध, यती लगायतका एयरलाईन्सका एटिआर–७२ जहाजहरु पनि अवतरण हुनसक्ने बताए। हाल १ हजार २ सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नजिकै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रसम्म विस्तार गरेर धावनमार्ग १ हजार ८ सय मिटर बनाउने लक्ष्य छ । यसका लागि गत माघ १८ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले निरन्तरको प्रयासपछि विमानस्थलको विस्तार, टर्मिनल भवनको निर्माण र ठुलो क्षमताको जहाज अवतरण एकै साथ हुन लागेको बताए। ‘७ वर्षमा ७ बढी मन्त्री फेरिए । सबैसँग निरन्तर समन्वय, सकृय पहल गरियो । यस पटक संघीय सरकारको बजेटमा भरतपुर विमानस्थलको विस्तार, घोडा प्रजनन् केन्द्र स्थानान्तरणलगायतका काम गर्न बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यो भन्दा खुसीको कुरा के हुन्छ र, सपना साकार भएको छ।’ उनले विमानस्थल विस्तार भएसँगै धेरै जहाज अवतरण हुने र प्रतिस्पर्धा बढेर भा भाडा कम लाग्ने बताए। ‘देशको केन्द्रमा रहेको, आर्थिक विकासको केन्द्र रहेको ठाउँमा विमानस्थलको क्षमता विस्तार हुने आवश्यक छ । यहाँ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल बनिरहेका छन् । मेडिकल हब, कृषिको उर्भर क्षेत्र भएकाले विमानस्थललाई स्तरोन्नति गर्नै पर्ने थियो,’ उनले थपे ।   प्रमुख दाहालले संघीय सरकारबाट नयाँ आधुनिक टर्मिनल भवन निर्माण गर्न करिब २ अर्ब, घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्न डेढ अर्ब र धावन मार्ग विस्तारका लागि करिब १ अर्ब रुपैयाँ विनियोजन भएको जानकारी दिए। ‘यसका लागि हामीले निकै मेहनत गरेका छौं। पहिलो नगरसभाबाट लगातार विमानस्थल विस्तारको विषयलाई प्राथमिकतामा पारेका छौं,’ प्रमुख दाहालले भने, ‘यो बीचमा महानगरको अग्रसरतामा प्रधानमन्त्री निवास, प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालय, रक्षा मन्त्रालयलगायत धेरैतिर बैठक गरियो। ठूलो प्रयासपछि सफल भएका छौं।’ भरतपुर विमानस्थलका प्रबन्धक दिपक विकका अनुसार यो विमानस्थलको विस्तारका लागि सबैभन्दा पहिले २०७५ सालको माघ २० गते औपचारिक बैठक बसेको थियो । तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारी, प्रमुख दाहाललगायतको उपस्थितिमा विमानस्थलको कार्यालयमा बसेको बैठकले विस्तारका लागि प्रयास गर्ने निर्णय गरेको थियो । यस अघि महानगरपालिकाको कार्यपालिकाको बैठकले विमानस्थल विस्तार र स्तरोन्नतिका लागि पहल गर्ने निर्णय गरेको थियो । २०७६ भदौ २८ गते प्रमुख दाहालको अध्यक्षतामा भरतपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (त्यतिखेर पूर्व प्रधानमन्त्री), तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत उपस्थित थिए। उक्त बैठकले विमानस्थलको स्तरोन्नतीका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो। यस विषयमा प्रतिवेदन तयार पार्न पर्यटन मन्त्रालयले सह–सचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषदको वैठकले विमानस्थलको विस्तार गर्ने निर्णय गरेको हो। नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि भरतपुर विमानस्थलको विस्तार हुने निश्चित भएको प्रमुख दाहाल बताउछिन्। श्री एयरको ८० सिटको जहाजले सुरु ग¥यो परीक्षण उडान श्री एयरको जहाजले भरतपुर विमानस्थलमा परीक्षण उडान सुरु गरेको छ । बिहीबार विहान श्री एयरको ड्यास–८–क्यू–४०० जहाज भरतपुर विमानस्थलमा अवतरण गरेको थियो। अहिले बुद्ध एयरका जहाजलेमात्रै काठमाडौं–भरतपुर उडान भर्दै आएका छन्। बुद्ध एयरले उडान गरिरहेको एटिआर–४२ जहाज फेजआउटको चरणमा रहेको समयमा श्री एयरलाइन्सले परीक्षणको अनुमति पाएको हो। श्री एयरलाईन्सका अध्यक्ष सुधिर मित्तलले परीक्षण सकेर अनुमति पाएपछि नियमित उडान सुरु गर्ने बताउनुभयो । त्रिभुवन विमानस्थलबाट उडेको श्री एयरको ८० सिटको जहाज १४ मिनेटमा भरतपुर विमानस्थलमा अवतरण भएको थियो । बुद्ध एयरको एटिआर–४२ लाई काठमाडौंबाट भरतपुर विमानस्थलमा ल्याण्ड हुन २० मिनेट लाग्छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले प्रकृया पुरा भएलगत्तै भरतपुर विमानस्थलमा श्री एयरको नियमित उडान सुरु हुने बताए। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले धेरै एयरलाइन्स र ठूलो क्षमताको जहाजहरु आउँदा भाडा घट्ने र जनताले राहत पाउने विश्वास व्यक्त गरिन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले विमानस्थललाई विस्तार गरेर आन्तरिक उडान भर्ने सबै जहाज यहाँ आउने वातावरण बनाउने बताए।गृहमन्त्री रवि लामिछानेले ठूलो क्षमताका जहाजसँगै चितवनमा खुसी पनि आउने बताए। श्री एयरलाइन्सका अपरेसन डाइरेक्टर क्याप्टेन कुन्दन गिरीले अनुमति पाएपछि गर्मीको मौसममा काठमाडौंबाट आउँदा ७० भन्दा बढी र फर्किँदा कम्तीमा ५५ जना यात्रु बोक्न सक्ने बताए। उडान सुरु गरेसँगै भाडा पनि घट्ने उनले बताए । बुद्ध एयरको भरतपुर–काठमाडौं उडानको भाडा अहिले ४ हजार ७ सयभन्दा बढी छ । श्री एयरलाइन्ससँग अहिले ड्यास–८–क्यू–४०० जहाज ७ वटा छन्।

भरतपुर विमानस्थल विस्तार चाँडै

चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको पहल गर्ने निर्णय गरिएको थियो । यो काम गर्न त्यति सहज थिएन । विमानस्थल विस्तार गर्न नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्नुपर्ने थियो । सहजै काम हुन्छ भन्नेमा विश्वास थिएन । तर, निरन्तर प्रयास गरिरहे सम्भव हुन्छ भन्ने उदाहरणको रुपमा भरतपुर विमानस्थल विस्तार रहेको छ ।  महानगरपालिकाका धेरै बैठक विमानस्थल विस्तार र स्तरोन्नतिका लागि गरिएका छन् । विमानस्थलको विस्तारका लागि महानगरपालिकाको कार्यपालिकाको निर्णय र अनुरोधपछि पहिलो २०७५ माघ २० गते पहिलो बैठक भरतपुर विमानस्थलमा बस्यो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित महानगर प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा विमानस्थलको कार्यालयमा बसेको उक्त बैठकले विमानस्थल विस्तार गर्न प्रयास गर्ने निर्णय गरेको थियो ।  प्रमुख दाहालको भनाइमा त्यसपछिका सबै पर्यटन मन्त्रीहरुसँग पटकपटक विमानस्थल विस्तारका लागि छलफल गरिँदै आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा उनकै कार्यकक्षमा पर्यटनमन्त्री, रक्षामन्त्रीसहितको उपस्थितिमा बैठक बसेको थियो ।  यसका अतिरिक्त प्रधानमन्त्री, पर्यटनमन्त्री, रक्षामन्त्रीलगायतको उपस्थितिमा पटकपटक बैठक बसेका थिए ।  विसं २०७६ भदौ २८ गते प्रमुख दाहालको अध्यक्षतामा भरतपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (त्यतिखेर पूर्वप्रधानमन्त्री), तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थित थियो । उक्त बैठकले विमानस्थलको स्तरोन्नतिका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो । जग्गा उपलब्ध गराउने जिम्मेवारी महानगरपालिकालाई दिएको थियो ।  यस विषयमा प्रतिवेदन तयार गर्न पर्यटन मन्त्रालयले सह–सचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषद्को वैठकले विमानस्थल विस्तार गर्ने निर्णय गरेको हो ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि अब भरतपुर विमानस्थल विस्तार हुने निश्चित भएको छ । सात वर्षपछिको निरन्तर प्रयासले विमानस्थल स्तरोन्नति र विस्तार हुने निश्चित बनेको प्रमुख दाहाल बताउँछिन् ।   भरतपुर विमानस्थल विस्तार र स्तरोन्नतिका लागि चार अर्ब ५० करोडभन्दा बढी लगानी हुँदै छ । बन्दै गरेको टर्मिनल भवन सम्पन्न गर्न रु दुई अर्बभन्दा बढी खर्च हुँदै छ । नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण, धावन मार्ग विस्तार लगायतमा अरु दुई अर्ब ५० करोडभन्दा बढी खर्च गरेर सुविधासम्पन्न विमानस्थल बनाइँदै छ ।  प्रमुख दाहालले भने, “अहिले विमानस्थल विस्तार अति आवश्यक छ, धावन मार्ग छोटो हुँदा निकै जहाज उडान गर्न जोखिमपूर्ण छ ।” चितवन र छिमेकी जिल्लाका लागि यो सधैँका लागि महत्वपूर्ण आयोजना भएको उनी बताउँछिन् । बिहीबार श्री एयरले परीक्षण उडान गर्दै गर्दा यहाँ उपस्थित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सार्वजनिक रुपमा नै प्रमुख दाहालको निरन्तर प्रयासको प्रशंसा गरे ।  नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी साउनमा विमानस्थल विस्तारका लागि बोलपत्र आह्वान हुने जानकारी दिए । ढिलोमा सन् २०२५ जनवरीसम्ममा विस्तारको काम थालिसक्ने उनी बताउँछन् ।  विस्तारपछि भरतपुरमा रात्रिकालीन उडान सुरु हुने उल्लेख गर्दै चौबिसै घण्टा जहाज अवतरण गर्न सकिने बताए । उनले विमानस्थलको स्तरोन्नतिपछि बुद्ध, यतीलगायत एयरलाइन्सका एटीआर–७२ जहाजहरु पनि सहजै अवतरण गर्न सकिने बताए ।  हाल एक हजार दुई सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नेपाली सेनाको घोडा प्रजनन केन्द्रसम्म विस्तार गरेर एक हजार आठ सय मिटर लामो बनाउने लक्ष्य छ । रासस

कारवाहीविरुद्ध सर्बोच्च पुगे देवकोटा

काठमाडौं । माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन् ।पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले नेता देवकोटालाई कारवाही गरेको थियो । माओवादी चुनाव चिह्नबाट विजयी भएपनि आफूले समाजवादी पार्टीकै तर्फबाट मनोनयन दर्ता गराएको, पार्टीको नाम समाजवादी नै लेखेकाले पनि आफूलाई माओवादीले मात्र एकल रुपमा कारबाही गर्न नसक्ने देवकोटाको दाबी छ। २८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका छन् ।माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका छन् ।

मेरो पहिलो नेपाल भ्रमण

मेरा प्रिय नेपाली साथीहरूमा नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाईंहरूको मनमा कस्तो विचार आउँछ ? ‘नेपाल’ शब्द सुन्नासाथ हामी जापानीहरूको मनमा सर्वोच्च शिखर सगरमाथाको प्रतिनिधित्व हुने अपूर्व मनोरम हिमालय पर्वतहरूको परिकल्पना आउँछ । जापानको फुजी पर्वतको फेदमा अवस्थित सिजुओका प्रान्तमा जन्मी हुर्केकी मेरा लागि नेपाल गहिरो आत्मीयता भएको मुलुक हो, जुन मुलुकमा आज पहिलो पटक भ्रमण गर्न पाउँदा म अत्यन्तै हर्षित छु । पछिल्लो समय जापानमा नेपालको उपस्थिति दिनप्रतिदिन बढ्दै गइरहेको छ । सन् १९०२ मा पहिलो पटक नेपाल सरकारले जापानमा अध्ययन गर्नका लागि आठ जना नेपाली विद्यार्थी पठाएको पनि १२० वर्ष नाघिसकेको छ । आज हाम्रा दुई मुलुकहरू सात घण्टाजतिको सिधा हवाई उडानबाट जोडिएका छन् । हाल जापानमा बस्ने नेपालीको सङ्ख्या एक लाख ७० हजार नाघिसक्यो, जुन जापानमा बसोबास गर्ने विदेशीको सङ्ख्यामा छैटौँ ठुलो हो । जापानमा बसोबास गर्ने नेपालीको सक्रिय सहभागिताका कारण दुई देशबिचको सम्बन्ध निरन्तर रूपमा प्रगाढ हुँदै गएकोमा म अत्यन्त हर्षित छु । जापान र नेपालबिच धेरै समानता छन् । एउटाचाहिँ दुवै देशको ७० देखि ८० प्रतिशत क्षेत्रफल पहाडी अथवा हिमाली भू–भागले ओगटेको छ । भिरालो भूवनोटका कारण निरन्तर प्राकृतिक प्रकोपको सामना गर्दै आएको जापानको इतिहासलाई विचार गर्दा नेपाल जस्ता पहाडी मुलुकको राष्ट्रनिर्माण अत्यन्तै कठिन छ भन्ने कुरा जापानी हुनुको नाताले म बुझ्न सक्छु । दुर्भाग्यवश दुवै देशले भूकम्पबाट क्षति बेहोर्नु परेको कुरामा पनि समानता छ । त्यसैले हामी दुवै देशले एक अर्काको देश ठुला भूकम्पको चपेटामा पर्दा विशेष सहानुभूति तथा ऐक्यबद्धताको भावनाबाट उत्प्रेरित भएर परिवारको जस्तो एकअर्कामा सहयोगी हातहरू बढाउँदै आइरहेका छौँ । सन् २०११ मा पूर्वी जापानमा गएको महाभूकम्पमा नेपालको तर्फबाट पाँच हजार थान कम्बल सहयोग, तथा जापानमा बसोबास गर्ने नेपालीहरूले ठाउँठाउँमा तातो नेपाली खाना तथा कफी जस्ता सामग्री प्रदान गरेका थिए । सन् २०१५ मा नेपालमा गएको गोरखा भूकम्पपछि जापानले करिब एक अर्ब ६८ करोड येनको आकस्मिक अनुदान सहयोग तथा त्रिपाल र कम्बल जस्ता अकस्मिक राहत सामग्री प्रदान गर्नुका साथै जापानी विपत् राहत टोली ९उद्धार टोली, स्वास्थ्य उपचार टोली र जापानी आत्मरक्षा फौजको टोली० नेपाल पठाएको थियो । यी आपत्कालीन मानवीय सहयोगका अतिरिक्त जापानले ‘अझ सशक्त पुननिर्माण’ अन्तर्गत विद्यालय, निजी आवास, सार्वजनिक भवनहरूको पुनर्निर्माणका क्षेत्रमा कुल ३२ अर्ब भन्दा बढी जापानी येन सहायता प्रदान गरेको थियो । यसै वर्षको जनवरीमा जापानको नोटो प्रायद्वीपमा गएको भूकम्पपछि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेपाल सरकारका धेरै महानुभावहरूबाट हार्दिक सहानुभूतिका सन्देशहरू हामीले प्राप्त ग¥यौँ । यसबाहेक जापानमा रहेका नेपालीहरू विपत्ग्रस्त क्षेत्रमा पटक पटक गएर ‘सङ्कटको समयमा मित्रहरूबिच आपसी सहयोग’ भन्ने नाराका साथ मसालेदार नेपाली खाना तयार गरी भारी हिमपातले अत्यन्त ठण्डा मौसममा पीडितहरूको हृदय र शरीरमा न्यानो साहसको सञ्चार गर्न प्रोत्साहन गर्नुभयो । जापानी विदेशमन्त्रीको हैसियतले नेपालीहरूको जापानप्रतिको न्यानो सहयोग तथा भावनाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । जापान र नेपालले प्राकृतिक स्रोतहरूको पनि अभाव झेलिरहेका छन् । त्यसैले दुवै मुलुकलाई अन्तरआबद्धताको सुनिश्चितता गरी, शक्ति या बलमिच्याइँबाट मुक्त भई, मुलुकको आकारसित नभई स्वतन्त्रता र कानुनी शासनको सुनिश्चितता गर्ने अन्तर्राष्ट्रिय समुदायको आवश्यकता छ । यस्तो अन्तर्राष्ट्रिय समुदायलाई मूर्त रूप दिन हरेक मुलुकले आफ्नो कमीकमजोरीलाई पार गर्दै बलियो समाज निर्माण गर्नु पूर्वसर्त हो । यसै कुरालाई ध्यानमा राखेर जापानले नेपाललाई दिगो विकास र स्थायित्वको मार्गमा अग्रसर हुने कुरालाई ठुलो महìव दिएको छ । यहि विचारमा आधारित भएर जापानले सन् १९६९ देखि नेपालको भौगोलिक तथा ऐतिहासिक पृष्ठभूमिलाई मध्यनजर गर्दै विद्युत्, सडक, विमानस्थल, खानेपानी जस्ता पूर्वाधारको निर्माण तथा कृषि, शिक्षा, स्वास्थ्य उपचारलगायत नेपालका विविध क्षेत्रको विकासमा सहयोग गर्दै आइरहेको छ । हालसालै छिचोलिएको नागढुङ्गा सुरुङमार्ग नेपालकै पहिलो पहाडी सडक सुरुङ हो र यो निर्माण सम्पन्न भएपछि सडक यातायात सञ्जाललाई सहज बनाई तीव्र गतिमा बढिरहेको ट्राफिक व्यवस्थापनको मागलाई सम्बोधन गर्नुका साथै यात्राको समय पनि घट्न जाने छ । यस अलावा सडक सुरक्षामा सुधार भई क्षेत्रीय, सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याइ समग्र नेपालको थप विकासमा दृढताका साथ सहयोग पु्याउने छ । जापानको यस्तो पूर्वाधार सहयोगमार्फत नेपाली जनताले आफ्नो दैनिक जीवनयापनमा सुरक्षा र सुविधाको वास्तविक रूपमै अनुभव गर्न सकून् भनी हामीले कामलाई निरन्तरता दिइरहेका छौँ । जापान र नेपाल दुवै लोकतान्त्रिक मुलुकहरू भएकाले नेपालको लोकतान्त्रीकरण प्रयासमा जापानले विभिन्न सहयोग प्रदान गरेको छ । सन् २००८ मा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको घोषणा भएदेखि नेपालको संसदीय निर्वाचनहरूमा जापानले निर्वाचन पर्यवेक्षकहरू पठाइरहेको छ तथा नेपालको कानुनी प्रणालीको विकासमा सहयोग गरी नेपालमा लोकतान्त्रीकरणको प्रवर्धनमा योगदान पु¥याउन विभिन्न सहयोग प्रदान गरेको छ । विगतमा म कानुनमन्त्री हुँदा कानुन मन्त्रालयले जाइकासँगको सहकार्यमा नेपालको मुलुकी देवानी संहिता र मुलुकी देवानी कानुन नियमावली तयार पार्ने विषयमा प्रशिक्षण प्रदान गर्नुका साथै नयाँ मुलुकी देवानी संहिताको तयारीमा पनि सहयोग गरेको थियो । यस अवसरमा हालैका वर्षमा जापान सरकारले सशक्त रूपमा प्रवर्धन गरेको ‘महिला, शान्ति, सुरक्षा’ ९ध्एक्०, जुन मेरो जीवनकालको कार्य पनि हो । यस सम्बन्धमा नेपालसँगको सहकार्यको बारेमा पनि कुरा गर्न चाहन्छु । डब्लुपिएसले द्वन्द्वमा परेका महिलाहरू जस्ता नाजुक स्थितिका मान्छेहरूको संरक्षणमा पहलकदमी गर्दै महिलाको नेतृत्वकारी भूमिकाले द्वन्द्वको रोकथाम र मानवीय पुनर्निर्माणमा सहभागी भई दिगो शान्तिको नजिक पुग्न सकिन्छ भन्ने विचार हो । जापान सरकारले डब्लुपिएसलाई जोडतोडका साथ बढावा दिइरहेको छ र मैले पनि विदेशमन्त्रीको रूपमा पदभार ग्रहण गरेपछि नै विभिन्न पहल गर्दै आइरहेको छु । संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यमा विश्वमा सबभन्दा बढी शान्ति सेना पठाउने मुलुक तथा सबभन्दा धेरै महिला शान्ति सेना खटाउने मुलुक पनि नेपाल नै हो । यसरी डब्लुपिएस क्षेत्रमा पनि सहयोगको प्रचुर सम्भावना भएकाले यस पटकको नेपाल भ्रमणको क्रममा म नेपालसँगको सहयोगको सम्भाव्यताबारे खोजी गर्न चाहन्छु । सन् २०२६ जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका साथै नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने वर्ष पनि हो । म जापानको विदेश मन्त्रीको हैसियतले यस सम्झनायोग्य वर्षका लागि नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाई अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपालको थप विकासका लागि दृढतापूर्वक सहयोग गर्दै जाने विचार व्यक्त गर्दछु । (कामिकावा जापानी विदेशमन्त्री हुन्)

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन छानियो हिमालयन कालिञ्चोक बीबीआर जेभी

काठमाडौं । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ। भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको हो। सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ।सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ। चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए ।तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको हो। सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ।रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाइने छ। एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू निर्माण गरिने छ। गत चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको थियो।

एसईईमा सबै विषय फेलले पनि मौका परीक्षा दिन पाउने

काठमाडौं । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सबै विषय फेल गरेका विद्यार्थीलाई पनि मौका परीक्षा दिन पाउने भएका छन्।सरकारले कानुनी रूपमै कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईईमा फेल भएको देखाई उनीहरूलाई रोक्न नहुने निर्णय लिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सबै विषयमा अनुत्तीर्ण भनिएका विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको जानकारी दिएका छन् । ‘भाइबहिनीहरू र उहाँहरूका सबै अभिभावकहरूले यो मौकालाई ठिक ढंगले बुझेर मौका परीक्षाको तयारीमा केन्द्रित गर्न हुन अनुरोध गर्दछौँ’, उनले भनेका छन् । उनले ज्यका सबै निकायले परीक्षाको परिणाम खोज्नुभन्दा पहिले सार्वजनिक विद्यालयको अवस्था, सरकार तथा नियमनकारी निकायको भूमिका, शिक्षक(अभिभावकको दायित्व र शिक्षा लिने दिने पद्धतिमा कक्षा कोठाबाटै सुधार खोज्नु पर्नेमा पनि उनले जोड दिएका छन् । ‘आजको परिणामलाई गम्भीर शिक्षाको रूपमा ग्रहण गरि यसलाई सुधार गर्न म आफू आफ्नो ठाउँबाट आजैका दिनदेखि सहभागी बन्छु भन्ने संकल्प गरौँ’, उनले भनेका छन् । बिहीबार सार्वजनिक नतिजामा आधाभन्दा धेरै परीक्षार्थी फेल भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको परीक्षाफलमा ४७.८७ प्रतिशत (दुई लाख २२ हजार ४७२) विद्यार्थी मात्रै उत्तीर्ण भए थिए । ५२.१३ प्रतिशत अर्थात् दुई लाख ४२ हजार ३१३ परीक्षार्थी फेल भएका छन्। उनीहरू ननग्रेड (एनजी) (१०० पूर्णांकमा ३५ भन्दा कम) ल्याएकामा परेका छन् । जसमध्ये एक लाख १५ हजार ८३४ ले मौका परीक्षा दिन पाउने थिए । बढीमा दुई विषयमा एनजी ल्याएका विद्यार्थीले मौका परीक्षा दिन पाउने भनिएको थियो । एनजी ल्याएका एक लाख २६ हजार ४७९ विद्यार्थीले भने एसइईका लागि पुनः एक वर्ष कुर्नुपर्ने थियो। तर एनजी ल्याएका एक लाख २६ हजार ४७९ विद्यार्थीले  एसइईको मौका परीक्षामा भाग लिन पाउने व्यवस्था सरकारले गरेको मल्लले बताएका छन्।

बागमती प्रदेशसभामा प्रतिपक्षीको अवरोध, अर्को बैठक भोलि बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित प्रतिपक्ष दलहरूको विरोधपछि स्थगित भएको छ। कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बैठकको प्रारम्भमा विशेष समय माग गरी प्रदेश सरकारले यही असार १ गते पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले प्रकाशित गरेको रातो किताबमा तथ्यांक नमिलेको भनी सरकारको विरोध गरे।  उनले बजेट वक्तव्यमा उल्लेख भएबमोजिम रातो किताबमा बजेट संशोधन गरी नल्याएसम्म बैठक चल्न नदिने अडान व्यक्त गरे ।संसद्मा प्रतिपक्ष कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरूको करिब २० मिनेट नाराबाजीपछि सभामुख भुवन पाठकले आजका लागि बैठक स्थगित भएको जानकारी दिए। यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, अर्थसचिव र प्रमुख प्रतिपक्ष दल कांग्रेससहित  राप्रपा र  मजदुर किसान पार्टी संसदीय दलका नेताबीच बैठक सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिँदै राप्रपा संसदीय दलका नेता उद्धव थापाले अब अर्को बैठक भोलि शुक्रबार बिहान ११ः०० बजे बस्ने गरी सहमति भएको छ भने।    

पहिरोले घर पुरिंदा स्याङ्जामा आमाछोरीको मृत्यु

स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ । जिल्लाको फेदीखोला गाउँपालिका ५ बाँगे भन्ने स्थानमा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो । सुतिरहेको बेला घरभन्दा अन्दाजी २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ । जस्ताले छाएको एक तले घरलाई पुरेको प्रहरीको भनाई छ । घर नजिकैको एउटा गोठ पनि पुरिदा गोठमा रहेको एउटा भैंसी पनि मरेको छ । 

धान चामलमा आत्मनिर्भर हुनैपर्छ : प्रधानमन्त्री

रत्ननगर, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गर्ने बताएका छन् ।२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । दीगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने राष्ट्रिय प्रतिबद्धता रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रमुख खाद्यान्न बालीहरूको उत्पादन तथा उपलब्धतामा वृद्धि,  वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोगमार्फत खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गरिने बताए। प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए। “जलवायु परिवर्तनका कारण धानलगायत बालीहरूमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा छ,” प्रधानमन्त्री प्रचण्डले भने, “जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातहरूको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको छ ।”  कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायुमैत्री प्रविधिहरूको अबलम्वन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। हरित ग्यास उत्सर्जनमा न्यून भूमिका भए पनि जलवायु परिवर्तनका प्रतिकूल असरहरूको जोखिम उच्च रहेका राष्ट्रहरूमध्ये नेपाल भएको बताउँदै प्रधानमन्त्रीले जलवायु परिवर्तनका दृष्टिले संवेदनशील र प्रभावित उपक्षेत्रमध्ये नेपालको प्रमुख खाद्यान्न बाली धान भएको उल्लेख गरे।  “जलवायु परिवर्तनका कारण सृजित सुक्खा–खडेरी, बेमौसमी वर्षा, बाढी–पहिरो, आकस्मिक रोग तथा किराको प्रकोप, तापक्रममा वृद्धिजस्ता नकारात्मक असरहरूमा अनुकूलित हुने धानका जातहरू र उत्पादन प्रविधिहरूको गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन विशेष योजनाका साथ क्रियाशील हुनैपर्छ ।” धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरे।  उनले परनिर्भरता र व्यापार असन्तुलनलाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनलाई प्राथमिकता दिएको स्पष्ट पारे।   प्रधानमन्त्रीले जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ मनाउन लागिएको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा धान बालीको उत्पादन र उत्पादकत्व वृद्धिमार्फत समृद्ध अर्थतन्त्र निर्माणमा सबैको ठोस योगदान रहने विश्वास व्यक्त गरे।  यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले विसं २०७३ मा झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको (धान खेती) सुपर जोन कार्यक्रमको उद्घाटन गरेका छन् । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सुपर जोन, जोन कार्यक्रम सञ्चालन गर्दै आएको छ।