आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।

गुल्मी अस्पतालमा उपचारको क्रममा घाइते घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा पनि घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीले लिए शपथ

काठमाडौँ। लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मन्त्रीहरूलाई शपथ खुवाएका हुन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । २३ चैतमा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री महराले सोही दिन एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । तीनै जनाको मन्त्रालय आज मात्रै तोकिएको हो । जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । आजको विस्तारसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

पार्टी फुटेपछि बल्ल मन्त्रिको जिम्मेवारी लिए अहिरले

काठमाडौं । लुम्बिनी प्रदशमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उनले सोमबार मन्त्रालयमा गएर काम सुरु गरेका हुन् । २५ चैतमा मन्त्री नियुक्त भएका अहिरलाई मुख्यमन्त्रीले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए । सरकार गठनका क्रममा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भए पनि एउटा मन्त्रालय मात्र दिएको भन्दै जसपाले सरकार छाड्ने निर्णय गरेपछि अहिरले ९ वैशाखमा राजीनामा दिए । मुख्यमन्त्रीले असन्तुष्टि सम्बोधन गर्दै जाने वचन दिएपछि फेरि पदभार सम्हाल्न तयार भएको उनले बताए । ‘ जनता समाजवादी पार्टी आइतबार साँझ विभाजन भएको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । मन्त्री अहिरले आफु कुन पक्षमा बस्ने भनेर अहिले कुनै निर्णयमा नपुगेको बताएका छन् ।

आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै कोशी सरकारविरुद्ध मुद्दा

  काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।यसअघि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले उक्त रिट सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो। यसअघि सो मुद्दामा न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासले उक्त विवादमा संवैधानिक व्याख्या जरुरी भएको ठहर गरेको थियो । पूर्वमुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गर्नु संविधानविपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन्। कार्कीले रिटमा प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टलगायतलाई विपक्षी बनाएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा हिक्मत कार्कीले मुख्यमन्त्रीमा दावी गरेका थिए।सदस्यहरुको सनाखत पछि प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १६८ को उपधारा (५) अनुसार नै हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

फुलबारी साँस्कृतिक कार्यक्रम–२०२४ सम्पन्न

दोहा, कतार । फुलबारी रेष्टुरेन्टले आयोजना गरेको फुलबारी साँस्कृतिक कार्यक्रम–२०२४ भब्य रुपमा सम्पन्न भएको छ । मानव सेवा आश्रमको सहयोगार्थ “फुलबारी रेष्टुरेन्टको चाहना, नेपाली कला र संस्कृतिको जगेर्ना” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम शुक्रबार भब्य रुपमा सम्पन्न भएको हो ।  कार्यक्रमको उदघाट्न गर्दे नेपाली राजदुतावास कतारका नियोग उप–प्रमुख कुमार राईले नेपाली कला र संस्कृतीको मुख्य खम्बा भनेको लोक गित संगित भएकोले सबैले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । राईलले आफ्नो मौलिक लोकगित र संगितलाई माया गरेर प्रवासमा रहेर पनि विभिन्न कार्यक्रम आयोजना गरेर नेपाली दाजुभाई तथा दिदिबहिनिहरु सहभागी हुने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।  कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले विदेशी भुमिमा रहेर पनि आफ्नो कला र संस्कृतिलाई गायन तथा नृत्य मार्फत जगेर्ना गरिरहेका कलाकारहरुलाई सबैले माया र हौसला दिनुपर्ने भन्दै एनसीसी कतारले सदैव कतारमा रहेका कलाकारलाई प्राथमिकतामा राख्ने बताए। साथै उनले सचेतनामुलक तथा नेपाली मौलिक कला संस्कृतिको जगेर्ना गर्ने खाले कार्यक्रममा एनसीसीले सदैव साथ सहयोग गर्ने बताए। दुई शो मा भएको कार्यक्रमका मुख्य आर्कषक लोकप्रिय लोक तथा दोहोरि गायक पशुपति शर्माका दर्जन बढि गितमा दर्शक झुमेका थिए। शर्माले लोकप्रीय गितहरु खाडि तिरै भेटौला, लुटन सके लुट सके, स्याङजा जाने बाटोमा तनँहु लगाएतमा दर्शकहरुलाई भरपुर नचाएका थिए । कार्यक्रमममा नेपाल देखी आएका चर्चित मोडल तथा डान्सर करिश्मा ढकाल र सविता भुसालले पनि आफ्नो प्रस्तुती राखेका थिए ।नेपाल देखी आएक कलाकार सँगै गैरआवासीय नेपाली तारा –४ का विजेता रुस्तम तामाङ, नृत्य विधामा प्रथम निरु श्रेष्ठ, एनआरएनए द सिङगर सिजन १ की फाइनलिस्ट गुना मगर लगाएत एक दर्जन कलाकारले गायन, नृत्य र हास्य व्यङग्य प्रस्तुती दिएका थिए ।  कार्यक्रमको अन्त्यमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष समेत रहेका पशुपति शर्मा र प्रतिष्ठानको शाखा कतारका कलाकार रश्मी विश्वकर्मा लगाएतले प्रस्तुत गरेको लाईभ दोहोरी पनि दर्शकको आर्कषण बनेको थियो । सनैयामा स्थीत फुलबारी रेष्टुरेन्टको सभाहलमा रेष्टुरेन्टका सञ्चालक श्याम प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका संयोजक रोशन अर्यालले स्वागत गरेका थिए भने औपचारीक कार्यक्रमको सहजिकरण दिप जंग शाह र सास्कृतिक कार्यक्रमको सञ्चालन भानु शर्माले गरे थियो।

भण्डारीको नेतृत्वमा सिंजा सभ्यता संरक्षणको लागि पहल समिति गठन

काठमाडौँ । ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारितको लागि पहल समिति’ गठन गरिएको छ । विहीबार संवाद डबलीमा सम्पन्न भेलाले नरेश भण्डारीको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा बल बहादुर महत रहेका छन् । समितिमा भिमनिधी हमाल, हरि रावललगायत विभिन्न पेशा तथा क्षेत्रका व्यक्ति रहेका छन् । त्यस्तै, सल्लाहकार र एक्येवद्धता समिति पनि गठन गरेका गरिएको छ । समितिले प्रधानमन्त्री प्रचण्डलगायत विभिन्न राजनीतिक पार्टीका नेताहरुसँग भेटेर विधेयक पारितको लागि पहल गर्ने समितिले निर्णय गरेको छ । सल्लाहकार समिति र एक्येवद्धता समितिको बैठक बसेर थप पहलका कार्यक्रम अगाडि बढाउने संयोजक भण्डारीले बताए ।संयोजक भण्डारीकै पहलमा बनेको विधेयक अहिले संसदीय समितिमा विचाराधिन अवस्थामा रहेको छ ।

कोशी सरकारविरुद्ध रिटको सुनुवाइ पूर्ण इजलासमा हुने

काठमाडौं । कोशी प्रदेश सरकार गठन विवादको रिटको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने भएको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाइमा यस रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको छ र जेठ २७ गते पूर्ण इजलासमा सुनुवाइ हुनेछ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै धारा १६८ (५) अनुसार नै अर्को सरकार गठन आह्वान गरेका थिए । जसमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएपछि २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए ।प्रदेश प्रमुखको सो निर्णयविरुद्ध निवर्तमान मुख्यमन्त्री कार्की सर्वोच्च गएका थिए। बुधबारको बहसका क्रममा विपक्षीका कानुन व्यावसायीले उपधारा ५ को व्याख्या गर्नुपर्ने भएकाले संवैधानिक इजलासको पनि माग गरेका थिए । तर न्यायाधीश श्रेष्ठ र ढकालको इजलासले यो मुद्दा पूर्ण इजलासमा पठाएको हो ।

सुदूरपश्चिम सरकारको बजेट ३१ अर्ब ६२ करोड (पूर्णपाठ)

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेशसभामा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ र पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन्। अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरेको मन्त्री पालले बताए। प्रदेश सरकारले अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ९९ करोड १९ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने ४ करोड ४० लाख ५५ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ७२ करोड रहेको छ। चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम ६ अर्ब १५ करोड ८३ लाख, सशर्त अनुदानबाट प्राप्त हुने ३ अर्ब १३ करोड ३४ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको १ अर्ब ४२ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ५५ करोड ६० लाख प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री पालले बताए।

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८, सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।  सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए।  यसैगरी, विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको उनले जानकारी दिए।  “प्रधानमन्त्रीसमक्ष हामीले हाम्रो वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरेका थियौँ ।सरकारले स्थानीय जनताका आवश्यकता पूरा गर्ने  उहाँले बताउनुभएको छ । हामी उत्साहित भएका छौँ,” तिमिल्सिनाले भने। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो सराङकोट। यहाँबाट सूर्योदय र सूर्यास्तसहित सुन्दर हिमशृङ्खला र पोखरा बजार हेर्न देखिन्छ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको गण्डकी प्रदेश समितिले बुधबार पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन  मङ्गलबार साँझ पोखरा आएका हुन्। 

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन्।बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरूरी भएकोमा जोड दिए । छलफलमा प्रधानमन्त्रीले भने, “विगतमा राष्ट्रिय उद्योगहरू चलाउनुपर्छ भन्ने जनअभिमत छ। ती उद्योगमध्ये केही उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ। हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ। त्यसैले कुन कुन उद्योगहरू पुनःसञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौँ। अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौँ।” प्रधानमन्त्रीले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योगहरू पुनःसञ्चालन गर्ने नीतिमा राज्यका सबै निकायहरू प्रष्ट हुनुपर्ने बताए । उनले भने, “विगतको जस्तै ढाँचा र ढर्रामा उद्योगहरूको पुनःसञ्चालन हुन सक्दैनन्। सार्वजनिक निजी साझेदारीको मोडेल नै ती उद्योगहरू सञ्चालन गर्ने मोडेल हो। बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग लगायतका उद्योगहरूको सम्भाव्यता बलियो छ। त्यसैले व्यवस्थित अध्ययन गरी जमिनको स्वामित्व सरकारसँग रहने गरी साझेदारीको मोडेल तयार गरौँ।” छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री दामोदर भण्डारी, मुख्य सचिव डा। बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग सचिव कृष्ण राउत लगायत सहभागी थिए ।

प्रदेश प्रमुखको कार्यालय पुगे जनमतका सतिश सिंह, मुख्यमन्त्रीमा दाबी पेश गर्दै

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न जनमतका सतिश कुमार सिंह प्रदेश प्रमुख कार्यालय पुगेका छन्।एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा जनमतका सतिश कुमार सिंहले दाबी पेस गर्न लागेका हुन् । सिंह नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका भरत साह, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, नेकपा एसका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने समेत प्रदेश प्रमुख कार्यालय पुगेका हुन् । मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी छ। जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छिन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छिन् ।

कोशी प्रदेश  योजना आयोगका सदस्यले गरे शपथग्रहण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नवनियुक्त सदस्यलाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यलाई शपथग्रहण गराएका हुन्।  प्रदेश मन्त्रिपरिषद्को हिजोको बैठकले काठमाडौँ महानगरपालिका–९ का डा सीताराम बस्नेत, सोलुखुम्बु जिल्ला मुक्ली गाउँपालिका–६ का किशोरकुमार राई र मोरङ जिल्ला केराबारी गाउँपालिका–२ की नमिता न्यौपानेलाई सदस्य नियुक्त गरेको थियो। समारोहमा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, प्रदेश योजना आयोगका उपाध्यक्षलगायतको उपस्थिति थियो।

कर्णालीमा नियुक्त भए ६ मन्त्री,  लिए शपथ

काठमाडौँ । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । आज नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् । कर्णालीका प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा माओवादीका ३ जना र नेकपा एमालेका ३ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्री हुनेहरूमा माओवादीबाट कालीकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही छन् । यस्तै एमालेबाट दैलेखका विनोद शाह, डोल्पाका शेरबहादुर बुढा र दैलेखकी गमता विक रहेको छन् ।

विश्वासको मत माग्दै एमालेलाई मुख्यमन्त्री पाण्डेले लेखे पत्र

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०सँग आग्रह गरेका छन् । मंगलबार (भोलि) बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका उनले आज पत्र लेखेर उक्त आग्रह गरेका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली, २०८० ले व्यवस्था गरेबमोजिम आफूले ०८१ जेठ २८ गते दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका निम्ति प्रस्ताव पेस गर्न लागेको मुख्यमन्त्री पाण्डेको पत्रमा उल्लेख छ । “स्थायित्व र जनआकांक्षाअनुरूप प्रदेशको समग्र विकास तथा उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ,” उनले भनेका छन् । राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफूले गरेको विश्वासको मतको प्रस्तावका पक्षमा एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमार्फत आग्रह गरेका छन् । उक्त पत्र प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका छन् । 

मधेशका मुख्यमन्त्रीसँगै १३ मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।जनमतका सिंहले शपथलगत्तै नियुक्त गरेका १० मन्त्री र ३ राज्यमन्त्रीलाई पनि शपथ गराइएको हो । मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । नयाँ मन्त्रीहरूमा नेकपा एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृतिमन्त्री र प्रमोद जैसवाल खेलकुद तथा समाज कल्याण मन्त्री नियुक्त भए । नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइमन्त्री । यी दुवैजना अघिल्लो सरकारमा पनि मन्त्री थिए । त्यस्तै नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह अर्थमन्त्री र यूवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री नियुक्त भए । उनी दुबैजना पनि शपथग्रहण गरे । नेपाल समाजवादी पार्टीकी विमला अंसारी गृह सञ्चार तथा कानून मन्त्री र नागरिक उनमुक्ति पार्टीकी उर्मिलादेवी सिंह श्रम तथा यातायातमन्त्रीको शपथ लिएकी छन् । उनी दुवैजना पार्टीको एक्ली सांसद हुन् । यस्तै तीनजना राज्यमन्त्री पनि नियुक्त गरिएको छ । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा शारदादेवी थापा र शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा केशव राय तथा जनमतकी रञ्जु खंगलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरिएको हो ।

श्रमिक कलाकारको पारिश्रमिक तय गर्न कार्यविधि ल्याईने

काठमाडौं, २५ माघ । नेपाली चलचित्र तथा गीत संगीतमा काम गर्ने कलाकार तथा प्राविधिकहरुले पारिश्रमिक तय गर्न नयाँ कार्यविधि ल्याईने भएको छ । कलाकारहरुको श्रमको उचित मूल्य निर्धारण हुन नसकेको अबस्थामा यसको लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् उपकुलपतिले कार्यविधि ल्याउने बताएका हुन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल चलचित्र तथा श्रमिक सँगठन (फावन)ले सो प्रतिष्ठानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रमको उपयुक्त मूल्य नपाएको कलाकारहरुले बताए । फावनका मानार्थ सदस्य माधवराज खरेलले सहजीकरण गरेको सो कार्यक्रममा श्रमिक कलाकारहरुले आफ्ना विविध समस्या सुनाए । कार्यक्रममा फवनका सल्लाहकार शान्तिप्रियले अहिले पनि गीतकारलाई सित्तैं गीत लेखाउने क्रम जारी रहेको बताए । पैसा दिए पनि अत्यन्त कम दिन गरेको उनको कथन थियो । नेपालमा सबैभन्दा बढी गीत संगीतमा लगानी गीतकारहरुकै रहने गरेको पनि उनले बताए । फावनको उपाध्यक्ष ऋषीराज आचार्यले कलाकारहरुको पारिश्रमिक देखि अन्य कुरालाई समायोजना गर्न संगीत नाट्य एकेडेमीले नयाँ ऐन नै ल्याउनु पर्ने सुझाब दिए । चाँडै आउन लागेको चलचित्र ऐनमा पनि यो कुरा समेट्न आफुहरु सक्रिय रहेको उनले बताए । फावनका मानार्थ सदस्य एवम् संगीतकार दीपक शर्माले संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले संगीतकर्मी कलकारहरुको धेरै समस्यालाई नजिकबाट बुझ्नु पर्ने बताए । प्रतिष्ठानले स्थानीय निकायमा गएर मौलिक गीत संगीतलाई चाँडो भन्दा चाँडो सँरक्षण नगरे एक दशकपछि ती मौलिक गीत संगीत, बाजाहरु लोप हुने सुझाब दिए । यस्तै फावनका सह कोषाध्यक्ष प्रवण भुसालले नेपाली चलचित्र एवम् नाट्य क्षेत्रका समस्याबारे प्रकाश पारे । उनले स्थानीय देखि केन्द्रसम्म नाट्य क्षेत्रमा देखिएका समस्यालाई सुधार्न सल्लाह दिए । यस्तै फावनकी उपाध्यक्ष सरिता भारतीले पुरुष कलाकारको तुलनामा महिला कलाकारको पारिश्रमिक कम हुने गरेको र सँगीत तथा चलचित्र क्षेत्रमा श्रममा पनि लैँगिक बिभेद छ भनिन् । फावनको अर्का उपाध्यक्ष दयाराम घिमिरेले बृत्तचित्रसँग सम्बद्ध सिनेकर्मीहरुको श्रमको अबस्थाबारे जानकारी गराए । गायिका तथा फावनसँग आबद्ध कलाकार झुमा लिम्बुले केन्द्रमा कलाकारको पहुँच भए पनि स्थानीय क्षेत्रमा रैथाने कलाकारहरुको पारिश्रमिक निकै न्युय रहेको र राष्ट्रिय कलाकारहरुको बोलबालकै कारण रैथाने कलाकारहरुले आफ्नो स्थानीय क्षेत्रमा हुने कार्यक्रममा पनि कला प्रस्तुतिको लागि स्थान र पारिश्रमिक नपाउने गरेका बताईन् । फावनका अर्का मानार्थ सदस्य राजेन्द्र बजगाईंले स्टेजमा गीत संगीत प्रस्तुतिका क्रममा आयोजकबाट निकै विभेद हुने गरेको समस्याबारे कार्यक्रममा अबगत गराए । राम्रा सक्षम कलाकार भन्दा भाईरल भएकाहरुलाई मेला महोत्सबमा स्थान दिईने हुँदा अब त्यस्ता कार्यक्रममा कस्ता कलाकारलाई स्थान दिने भन्नेबारे कार्यविधि बनाउन उनले प्रतिष्ठानलाई अनुरोध गरे । बजगाईंको भनाईमा समर्थन गर्दै अग्रज संगीतकार बसन्त सापकोटाले नयाँ र भाईरललाई स्टेज देखि मिडियासम्मले स्थान दिँदा राम्रा र व्यबसायिक कलाकारहरु मारमा परेका छन भने । फावनका सल्लाहकार ऋषी लामिछानेले कलाकारहरुको असमान पारिश्रमिका कारण चलचित्र क्षेत्रका आर्थिक बिकृति देखिएको छ भने । कार्यक्रममा फावनका कोषाध्यक्ष एवम् अभिनेता तेज गिरीले विशेष कोष निर्माण गरेर अबस्यक परेको बेला चलचित्र तथा गीत संगीत, नृत्यका श्रमिक कलाकारहरुलाई सहयोग गर्न संगीत नाट्य प्रतिष्ठानलाई सुुझाब दिए । गायक डेभिड शँकरले स्टेज कार्यक्रममा आफुहरुलाई कार्यक्रम प्रस्तुतिपछि सुरुमा तोकेको भन्दा पारिश्रमिक घटाएर पारिश्रमिक दिने गरेको समस्या सुनाए । अर्का गायक कृष्ण काफ्लले विदेशमा गीत संगीत प्रस्तुत गर्दाको अनुभव सुनाए भने फावनका मानार्थ सदस्य ओम सुनारले संगीतकारहरुको पारिश्रमिकको बारे जानकारी गराए । यस्तै फावनका महसचिब राजन थापा, सचिब कमला जोशी, सदस्य एवम् छायाँकार राजन खरेल, सदस्य एवम् गायक नविन कुमार पौडेल, गायक नारायण थापालगायतले पनि आफुहरुको भोगाईबारे चर्चा गरे । सो कार्यक्रममा उठेका समस्याको जवाफ दिने क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले अब चाँडै नै प्रतिष्ठानले कलाकारहरुको योगदानको आधारमा बर्गिकरण गर्ने बताईन् । सोही बर्गिकरणको आधारमा उनीहरुले गीत रेकर्डिङदेखि स्टेजमा गीत प्रस्तुतिसम्मको न्युनतम पारिश्रमिक आफुहरुले तय गर्ने पनि जनाईन् । सोही प्रतिष्ठानका उपकुलपति शम्भु राईले कलाकारका पारिश्रमिकबारे आफुहरु निकै चिन्तित रहेको जनाए । उनले यसका लागि चाँडै नै आफुहरुले कार्यविधि ल्याउने पनि उनले बताए,‘हामी अहिले कार्यविधिको तयारीमा छौं । यो वर्ष भित्रै नयाँ कार्यविधि आएपछि गीत संगीत क्षेत्रका धेरै बिकृतिहरु बिस्तारै निकारण हुँदै जानेछन् ।’ कार्यक्रममा सो प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटाले कानूनकै अभावका कारण श्रमिक कलाकारहरुको श्रममा समानता नभएको बताए । त्यसको लागि नयाँ कानून ल्याउन आफुहरुले पहल गरिहेको उनले बताए । यस्तै संगीत रोयल्टी सँकलन समाज नेपालका अध्यक्ष शुरेश अधिकारीले श्रमिक कलाकारहरुको समस्यालाई आफुहरुले नजिकबाट बुझेको र रोयल्टी सम्बन्धि अन्तराष्ट्रिय कानून चाँडै लागु गरेर उनीहरुको सृजनाको अधिकारलाई सुरक्षित गर्ने बताए । अन्तरक्रिया कार्यक्रममा उठेका सबै समस्याहरुलाई एउटा प्रतिवेदन बनाएर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई बुझाउने फावनका सल्लाहकार डब्बु क्षत्रीले बताए । उनले यी समस्यालाई केही महिनापछि आफुहरुले आईएलओको अन्तराष्ट्रिय सम्मेलनमा पेश गर्ने पनि जानकारी गराए ।