वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
महानगरले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो।
महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो।
वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म ४० करोडको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको जानकारी दिए।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले चालु आर्थिक वर्षमा मालपोत कर ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए।
महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ।
महानगरले यस वर्ष घरबहाल कर बापत चार करोड ९६ लाख ७५ हजार आम्दानी गरेको छ भने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने दुई करोड सात लाख ९२ हजार सङ्कलन गरेको छ।
रौतहटमा मोहर्रम पर्व मनाउनेले आक्रमण गर्दा १९ सुरक्षाकर्मी घाइते
रौतहट । रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउनेहरुको आक्रमणमा परि १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उश्रृङ्खल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएपछि प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेको थियो । सोही क्रममा सुरक्षाकर्मीमाथि केही उश्रृङ्खल युवाहरुले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । स्थिति नियन्त्रणमा लिन १२० भन्दा बढि प्रहरी टोली खटिएका थिए । आफुहरुमाथि लगातार आक्रमण भएपछि प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेका थिए । त्यसपछि स्थितिलाई नियन्त्रण आएको प्रहरीले जनाएको छ । घटना बिहीबार साँझ साढे ६ बजेदेखि करिब आठ बजेसम्म कुडियामा भएको हो । ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
कृषि मन्त्रालयमा धर्नामा बसेका कर्मचारीको आन्दोलन रोकियो
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गएको असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन रोकिएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने आश्वासन दिएपछि कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन् । कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले आफूहरुले मन्त्रीको आग्रहमा दुई साताका लागि धर्ना स्थगित गरेको बताए । तर आफ्नो माग पूरा नहुँदासम्म काममा भने नफर्कने उनले स्पष्ट पारे ।
मुग्लिन–मलेखु सडकखण्डमा पहिरो, यातयात अवरुद्ध
भरतपुर । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ । सडक निर्माणका क्रममा खनेको ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए । उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।
नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, गितार उपहार (तस्बिरहरू)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडलका विजेता करण परियारलाई बधाइ दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले परियारलाई बधाइ दिएका हुन् । बधाईसँगै प्रधानमन्त्री प्रचण्डले परियारलाई गितार उपहार दिएका थिए ।परियारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख–दुःखमा आफू साथमै रहेको बताए। नेपाल आइडल विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने प्रधानमन्त्रीको विश्वास थियो ।
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
लमजुङ । गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए। सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए। सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन्। बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन्। डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ। यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो।
अत्यधिक गर्मीका कारण विद्यालयमा बिदा दिन सुरु
रौतहट । अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन अत्यन्त प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन सुरु गरेका छन् । रौतहटमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो । उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि जिल्लाको गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् । गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको गौर नगरपालिका प्रमुख शम्भू साहले बताए । उनले ‘गर्मी तथा लू का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विद्यालयमा बिदा दिइएको बताए ।
पहिरोले घर पुरिंदा स्याङ्जामा आमाछोरीको मृत्यु
स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ । जिल्लाको फेदीखोला गाउँपालिका ५ बाँगे भन्ने स्थानमा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो । सुतिरहेको बेला घरभन्दा अन्दाजी २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ । जस्ताले छाएको एक तले घरलाई पुरेको प्रहरीको भनाई छ । घर नजिकैको एउटा गोठ पनि पुरिदा गोठमा रहेको एउटा भैंसी पनि मरेको छ ।
मधेश सरकारको नेतृत्व जनमतले गर्ने सहमती
काठमाडौं ।मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन तीन दल सहमत भएका छन्। बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए। ‘अहिले हामी तीन दल (एमाले, माओवादी र जनमत) ले सहमतिमा हस्ताक्षर गरेका छौँ । अरु दलका नेताले पनि गर्नु हुन्छ। बहुमत सांसदको हस्ताक्षर भएपछि हामी मुख्यमन्त्रीको दाबी पेश गर्छौं।’ साहले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि जनमत पार्टीलाई मुख्यमन्त्री बनाउन सहमत भएको बताएका छन्। १०७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोकतान्त्रिक समाजवादी पार्टीको ८ र एकीकृत समाजवादीका ७ सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । मुख्यमन्त्री यादव २३ जेठमा विश्वासको मत लिने तयारीमा छन्।
कारवाहीविरुद्ध सर्बोच्च पुगे देवकोटा
काठमाडौं । माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन् ।पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले नेता देवकोटालाई कारवाही गरेको थियो । माओवादी चुनाव चिह्नबाट विजयी भएपनि आफूले समाजवादी पार्टीकै तर्फबाट मनोनयन दर्ता गराएको, पार्टीको नाम समाजवादी नै लेखेकाले पनि आफूलाई माओवादीले मात्र एकल रुपमा कारबाही गर्न नसक्ने देवकोटाको दाबी छ। २८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका छन् ।माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका छन् ।
बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
बागलुङ । वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएका बताए । वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उनले जानकारी दिए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा क्षति पुर्याएको छ । गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको छ । यद्यपि, पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । रासस
बगरलाई पर्यटकिय शहर बनाए अभिशाप भयो : भरत थापा
काठमाडौं। मधेस प्रदेश घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ बनेको भरत ताल। जहाँ बोटिङ गर्न, पिकनिङ मनाउन र रमाइलो गर्नका लागि हजारौं पर्यटयक आउँने उक्त ताल निर्माणमा पहल गरेको सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापाविरुद्ध अख्तियारमा मुद्दा दायर गरिएको छ । आफु गल्ती नगरेको राम्रो काम गर्न खोज्दा अख्तियार मार्फत दुख दिन खोजिएको बताउँदै आएका थापा हाल सो मुद्दाका कारण निलम्बनमा परेका छन्। बागमती नगरपालिका वडा नं. ४ र १२ को १ सय २१ बिघामा फैलिएको तालमा बोटिङ गर्न र पिकनिक मनाउनका लागि दैनिक हजारौं पर्यटक आउने गरेका छन्। पछिल्ला दिनमा छिमेकी भारतबाट समेत यहाँ ठूलो संख्यामा पर्यटक आउने गरेका छन्।३० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गरेको छ । मेयर थापाले भने अख्तियारद्धारा दायर मुद्दा आफुमाथिको प्रतिशोध भएको बताउँदै आएका छन् । उनले बगरलाई पर्यटकिय शहर बनाएकोमा अभिशाप भएको विचार व्यक्त गरेका छन् । साथै, उनले काम नगर्ने ,कागज मिलाउने सम्मानित हुने तर काम गर्नेहरु अपमानित हुनुपर्दो रहेछ भन्दै दुःख व्यक्त गरेका छन् । साथै उनले सामाजिक संजाल फेस्बुकमा आफुले दुःख पाए पनि बान्चुन्जेल सबैलाई खुसी बनाउने प्रयन्ना गर्ने समेत बताएका छन् । अख्तियारद्धारा दायर मुद्दाबारे उनले भनेका छन् । बगरलाई पर्यटकिय शहर बनाईयो अभिशाप भयो काम नगर्ने ,कागज मिलाउने सम्मानित हुन्छन काम गर्ने हरु अपमानित हुनुपर्दो रहेछ सबैमा सम्मान व्यक्त गर्दछु मैले दुःख पाए पनि म बान्चुन्जेल सबैलाई खुसी बनाउने प्रयन्ना गर्ने छु जानकारीको लागि १.डिपिआर (DPR)सम्बन्धमा मिति २०७५ चैत्र २ गते कार्यपालिकाले सर्बसम्मत रुपमा बागमती नदी उकाश जग्गाको क्षेत्रफल १५० बिगाह जग्गा उपयोग गरी माछा पोखरी निमार्ण गर्ने गरि ईम्पेरिकल ईन्जिनियरिगले तयार गरेको म्एच्स्वीकृत गरेको र ईजि।पी प्रणाली बात बोलपत्र आब्हान गरी निर्माण कार्य गरिएको। मिती २०७६ असार १० गतेको कार्यपालिकाको निर्णयले उत्खनन हुने नदि जन्य पदार्थको ब्यवस्थापन कार्ययोजना, बिक्रि कार्ययोजना,बजेट ब्यवस्थापन कार्ययोजना स्वीकृत गरेको २.डिपिआरमा तोकिए भन्दा बढि कसरि उत्खनन गरियो पहिला माछा पालनको मात्र उद्देश्य रहेकोमा बोटिंग लगाएर पर्यटन गतिविधि समेतको सम्भावना देखिएकोले थप गहिराई गर्ने गरी कार्यपालिकाले निर्णय गरेको । मार्ग इन्जिनियरिंग कन्सलटेन्सीले पेश गरेको डिटेल इन्जिनियरिंग स्टडि फोर इन्कीमेन्ट अफ डेप्थ को आधारमा यार्यपालिकाले मिति २०७९ पौष २३ गते थप गहिराई कायम गर्ने निर्णय गरेको । आयोजनाको स्कोप र आवश्यकता बढेको कारण कार्यपालिका बाट प्राविधिक प्रतिबेदनको आधारमा निर्णय गरि थप गहिराई कायम गरिएको। ३.आईई (IEE )स्वीकृत सम्बन्धमा व्यवस्थापन परामर्श तथा अध्ययन केन्द्र परामर्श दाताले तयार पारेको जिल्ला समन्वय समितिबाट आईई (IEE ) स्वीकृत भए पछि मात्र उत्खनन कार्य भएको जिल्ला समन्वय समितिबाट प्राप्त आईई फर्जि होईन। स्वीकृत भएको आईई (IEE)हो , आईई(IEE) छलफलमा सागरनाथ वन परियोजनाको समेत रेन्जर दिपेन्द्र महत्व को प्रतिनिधित्व रहेको ताल निर्माणाधिन अवस्थामा रहेको र EIA गर्ने प्रकृयामा रहेको वातावरणीय प्रभाव मुल्यांकनका कतिपय कार्यहरु भईरहेको ,वातावरण संरक्षण ऐनले आयोजना निमार्णको चरणमा समेत वातावरणीय प्रभाव मुल्यांकन गर्न सकिने व्यवस्था गरेको । वातावरणीय प्रभाव मुल्यांकन क्रममा आएका सुझावहरु समेटेर थप अगि बढ्न सकिने अवस्था छ । ४.केन्द्रसंग अनुमति नलिई पानीको उपयोग गरिएको विषय पानी उपयोग सम्बन्धि स्पष्ट कानुनी व्यवस्था नरहेको हाल सम्म पनि तहगत सरकारबीच कसरी नदिहरु जल उपयोग गर्न सकिन्छ स्प्रष्ट कानुनी व्यवस्थापन नरहेको निमार्णधिन अवस्थामा रहेकोले परिक्षणको लागि स्थानीय सिचाई व्यबस्थापनलाई असर नपर्ने गरी बागमती सिचाई आयोजनाबाट छोडेको पानीको प्रयोग गरिएको आयोजनाको पूर्णतासँगै पानी सम्बन्धि विषयको कानुनी तथा न्यायीक निरुपण हुने गरी कार्यसंन्चालन गरिने छ । पानी को उपयोग पश्चात पुर्ण नदि तर्फ नै पानी छोडिने प्रणालीको ब्यबस्थापन गरिएको अवस्था छ । पानीलाई पोखरीमा र पोखरीलाई सिंचाई (Water to pond ,pond to irrigation)प्रणाली व्यवस्थापन पनि विकल्प रहेको छ । जलस्रोत ऐन २०४९ संसोधन २०७५ को दफा १०९क० प्रदेश तथा स्थानीय तहले जलस्रोतको उपयोग वा विकास गर्न सक्ने र स्थानीय तहले जलस्रोत सम्बन्धि कानुन बनाई लागु गर्न सकिने व्यवस्था भएको तथा स्थानीय सरकार संन्चालन ऐन २०७४ को परिच्छेद ३ दफा १२(२)ट (१)ध (१)र दफा ११ (४) को ड.(१)मा जलउपयोग ,सिचाई र खाने पानी सम्बन्धि स्थानीय नीति कानुन मापदण्ड योजना कार्यान्वयन अनुगमन र नियमन गर्ने काम कर्तब्य र अधिकार स्थानीय तहको रहेको हुदा जिल्ला जतस्रोत अन्य निकाय बाट स्वीकृत नलिएको ५.सागरनाथ वन विकास परियोजनाको जग्गाको विषय यसमा हाम्रो स्प्रष्ट धारणा छ। सागरनाथ वन परियोजनाको जग्गा होइन ,बुढी बागमति नदी उकास जग्गा हो। बगर को रुपमा थियो सागरनाथ वन परियोजनाले कुनै वृक्षा रोपण पनि नगरेको खालि नदिको बहाव क्षेत्र बगरको रुपमा रहेको जमिनको स्थानीय सरकारको हैसियतले उपयोग गरियको हो , जग्गा बिबादको बिषयमा पालिका न्यायलयमा समेत जाने प्रकृयामा रहेको। उत्त बगर क्षेत्रमा पोखरीको साथै पोखरीमा रहेको पांगो माटो उपयोग गरि करिब ९० बिगाह जग्गामा दश हजार आंपका बिरुवाहरु रोपी नगर बगैचा समेत निर्माण गरियको छ। बागमती नदीसंगै जोडिएको उपयोगमा आउन नसकेको जग्गालाई उत्पादन र पर्यटन र रोजगारीसंग जोडिएको हो । यो स्थानीय तहको नमुना काम होइन र ।आज रोजगारीको शिल शिलामा लाखौ युबा बिदेशिनु परेको छ ।कमजोर उत्पादन प्रणालीको कारण आयातमा निर्भर रहनु परेको छ।हाम्रो देशमा कयौ नदि उकास जग्गाहरु छन।स्थानीय सरकार संन्चालन ऐनले सार्वजनिक जग्गाको संरक्षण तथा ब्यवस्थापन गरि आय आर्जन गर्न सक्ने बाटो खुल्ला गरेको छ । लाखौ युवाहरु विदेशिनु परेको छ। तिनी हरुलाई स्वदेशमा राख्ने उत्पादन बृदि गर्ने तथा रोजगारी सिर्जना गर्ने जिम्मेवारी स्थानीय तहको पनि हो । बिकास भनेको उत्पादन र रोजगारी हो ।सागरनाथ बन परियोजनाको जग्गा हो भने किन उपयोग गर्न नसकेको ,किन उत्पादन र रोजगारी सिर्जना गर्ने र वातावरण संरक्षणका कार्यहरु गर्न नसकेको ,यसले राज्यलाई के हानि नोक्सानी गर्यो बिबाद होईन बरु बिकासको लागि हातेमालो गर्न सरोकारवाला सबै निकायलाई अनुरोध गर्दछु। नमुना काम गरौ यस्तै हुन्छ भने स्थानीय सरकारले अब कुनै रचनात्मक कार्य गर्छन जस्तो मलाई लाग्दैन। ६.परिमाण सम्बन्धमा पोखरी बाट उत्खनन भएको परिमाण निम्न बमोजिम छ १९पोखरी (प्रथम खण्ड)२०३३२८१.२५घ.मिटर २९पोखरी (दोस्रो खण्ड)१८३२५४९९५०घ.मि. कुल उत्खनन परिमाण ९३८६५८३०.७५ घ.मि. बल्किंग फ्याक्टरको लागि इन्जिनियरिंग मेटरियल टेस्टिंग ल्यावोरेटरी एण्ड रिसर्च सेन्टर प्रा।लि।बाट ल्याब परीक्षण गरिएको। ७.हालका दिन सम्म उत्खनन भएको परिमाण ब्यवस्थापन १.बिक्रि ८५६६८२.७९ घ.मि. २.उपयोग ११२४७१९.९०७ घ.मि. ३.भण्डारण २१०९३६३.३७ घ.मि. कुल जम्मा ४०९०७६६.०७ घ.मि. उत्खनन भएको सम्पूर्ण परिमाणको विषयमा प्राविधिक प्रतिवेदन तयार गरिएको छ।कम लागत मा पालिकाको आयोजनाहरु सम्पन गर्ने प्रयोजनको लागि त्यसबाट उत्खनन भएको परिमाणहरूको उपयोग गरिएको छ । ८.परिमाण किन फरक परेको होला ४७ लाख घन मिटर उत्खनन नभयको बल्किंग सहित ३८ लाख ६५ हजार ८ सय बाकी बिक्रि तथा भण्डारण गरि राखिएको अवस्था छ । पोखरी खन्दा ढुगां गिटी बालुवा मात्र नभई निमार्ण आयोजनामा प्रयोग नहुने पांगो माटो लाई बगर क्षेत्रमा प्रयोग गरि आंप बगैचा निमार्ण गरिएको आवस्था छ, सबैले अनुगमन गर्न सकिन्छ । स्पष्ट रहेको अबस्था उप्त पोखरी निमार्ण गर्दा उत्खनन कार्य जन सहभागितामा राज्यको लगानि र खर्च बिना उत्खनन गर्दा आएका सामाग्रीहरु ढुवानी गरी भण्डारण समेत गरिएको छ । चलन चल्ती दर रेट अनुसार राज्यको खर्च गरेर उप्त कार्य गर्नु परेको भए खनेर ढुवानि गर्न मात्र ७५ करोड भन्दा बढी लाग्ने थियो । यो सबै स्थानीय सहभागितामा जुटाइयो, राज्यको खर्च भएन। दोस्रो खण्ड पोखरी नापी गर्दा सम्मानित आयोगले हाम्रो पुरानो वेन्च मार्क तथा पुरानो जमिन लेबल बारेमा कुनै समन्वय नगरेको । ९.आयोजनाको औचित्य आयोजना सम्पन्न पश्चात पालिक आत्म निर्भर हुने रोजगारी सिर्जना हुने। बहुउदेश्यीय माछा पोखरीको रुपमा बिकास भइरहेको हाल परिक्षण कालमा प्रत्यक्ष तथ अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना भएको,देश बिदेशबाट पर्यटकहरु आगमन हुने गरेको । पर्यटन क्षेत्रबाट समेत राजश्व संकलन भइ प्रदेश सरकार र स्थानीय सरकार बिच बाडफांड भइ रहेको जमिन मुनिको पानीको रिचार्जको काम गरेको दक्षिण तर्फका इनारहरुमा पानी रिचार्ज भई पानी को सतह माथी आउन थालेको । माछा पालनको लागि अध्ययन भई रहेको ठुलो स्केलमा माछा उत्पादन गरि खाद्य शुरक्षामा समेत सकारात्मक योगदान दिन सक्ने तथा आयात प्रतिस्थापन गर्न सकिने । १०.अन्तमा सविधानको मर्म र भावना अनुकुल तहगत सरकारको सहलगानीमा आयोजना संन्चालन भएको संघीयता अनुकुलनको लागि तहगत सरकार बिच समन्वय साझेदारी र सह अस्तित्वको शिध्दान्तको अवलंवन गरिएको अवस्था छ । स्थानीय तहले आफ्ना संम्भावनाका क्षेत्रहरु तथा तुलनात्मक लाभका क्षेत्रहरु पहिचान गरेर अगि बढ्न सक्दैनन भने साचो अर्थमा संघीयलाको अर्थ रहन्छ। यो यथार्थलाई सबै मनन गर्नु पर्दछ । अभिवादन !
अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
तनहुँ । अविरल वर्षाले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खस्दा बिहानैदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । बाटोमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको हो । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यसैबीच, बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट निकाल्ने क्रममा बुधबार बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी भैरहेको जानकारी दिए । बाढी आउँदा नदि किनारमा नजान आग्रह गरिएपनि बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासमा मानिसको भीड लाग्ने गरेको उनले बताए ।
पहिरोले डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध
लमजुङ । गएरातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे(बेँसीसहर सडक पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१, दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । सडक अवरुद्ध भएपछि लमजुङबाट संघीय राजधानी काठमाडौं, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
सर्वोच्चको आदेशपछि फणीन्द्रको पद थमौती: भए मन्त्री, लिए शपथ
पोखरा । सर्वोच्च अदालतको आदेशले सांसद पद जोगाइदिएपछि नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन्। देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए। जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएपछि २९ गते मन्त्री बनेका थिए । तर माओवादीले जेठ ३२ गते उनलाई कारबाही गरेपछि पद गुमाए। देवकोटा कारबाही विरुद्ध सर्वोच्च पुगेका थिए। सर्वोच्चले मुद्दाको किनारा नलाग्दासम्म सांसदकै रूपमा कामकाज गर्न आदेश दिएको थियो । उनी शनिबार संसदमा प्रवेश गरेपछि आज मन्त्री नियुक्त भएका हुन्।
सुमना श्रेष्ठको ओलीलाई प्रश्न- 'त्रिविको नीति तपाईका कार्यकर्ताको गरी खाने भाँडो बनाउन रोक्नुभएको हो?'
काठमाडौं । निर्वतमान शिक्षा मन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नुको कारण बारे प्रश्न गरेकी छिन् । विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको दस्ताबेज रोक्नुको अन्य स्पष्ट कारण नभएको बताउँदै उनले आफ्ना कार्यकर्तालाई पद माग्नकै लागि विश्वविद्यालयको नीति तथा कार्यक्रममा अंकुस लगाउने काम गरेको बताएकी हुन्। साथै उनले नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के के हेरफेर हुन्छ भनेर आफुहरुले हिसाब राख्ने समेत बताएकी छिन् । पूर्वमन्त्री श्रेष्ठले समाजिक सञ्जाल एक्समा लेखेकि छन् प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू, विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो? पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो। विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो। रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहीँ चित्त बुझेन छ यहाँलाई? त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको? यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुदैन भन्ने कुरा झनै प्रष्ट पार्छ। अब के हुन्छ? नयाँ नीति तथा कार्यक्रम बनाउने भनेर कति समय झुलाउनु हुन्छ? नझुलाउनको लागि के लेनदेन हुन्छ, कसलाई के पद माग्नु हुन्छ? आखिर विश्वविद्यालय त आफ्नो कार्यकर्ताको गरी खाने भाँडो न हो, अरु प्राध्यापक र विद्यार्थीहरू मूक दर्शक न हुन् हैन त? स्मरण रहोस् नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के के हेरफेर हुन्छ हामी हिसाब राख्ने छौँ । २०८० मंसिर २७ गते अनलाइन खबरमा प्रकाशित लेख: “प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन किन चाहँदैनन् दलहरू?” मा अनेरास्ववियुका अध्यक्ष समिक बडालले दलहरूले विश्वविद्यालयलाई प्राज्ञिक मर्यादाको रूपमा भन्दा राजनीतिक स्वार्थपूति गर्ने केन्द्र बनाइरहेको बताएका थिए । त्यही लेखमा तपाइँले भन्नु भएको छ “प्रधानमन्त्री कुलपति रहन आवश्यक छैन” भनेर। तपाइँकै युवा नेताले राजनैतिक दलहरुको कारण शिक्षा खस्किएको भनि उदाहरणसहित दिनुभएको छ। आफै पनि पदेन राजनैतिक नियुक्ति नचाहिने भनिसक्नु भएको छ। तपाइँको बोली माथि अब जनताले विश्वास गर्ने कि नगर्ने? प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू, विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो? पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो। विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ… — Sumana (@SumanaShrestha) August 1, 2024