एउटा बर्गरका लागि ४ किमी लामो लाइन, १४ घण्टा पर्खाई
काठमाडौं, । कहिलेकाहिँ सित्तैमा खाने लोभले मानिसलाई कम्ती सास्ती दिँदैन ।
यस्तै भयो अमेरिकामा । यहाँ देखिएको तस्बिर अमेरिकाको कोलोराडोको हो । हेर्दा लामो जाम परेको देखिन्छ । तर यो ट्राफिक जाम भने होइन । बरु यी सबै सित्तैमा बर्गर खाने लोभमा जाममा फसेका हुन ।
शनिबार कोलोराडोमा अमेरिकाको चर्चित फुड चेन ‘इन एण्ड आउट’ को नयाँ शाखा अर्थात् आउटलेट खोलिएको थियो । यसबारे जानकारी पाउनबित्तिकै मानिसहरु राति दुई बजेदेखि नै स्टोर पुग्न सुरु गर्न थाले ।
मानिसहरु धमाधम सडकमा निस्केपछि अवस्था यस्तो सिर्जना भयो कि त्यहाँ ४ किलोमिटर लामो लाइन लाग्यो । मानिसहरुलाई बर्गरका लागि १४(१४ घण्टा लामो प्रतिक्षा गर्नुपर्यो । उक्त आउटलेटका अनुसार पहिलो बर्गर केन विज्जी नामका व्यक्तिले लिए ।
केनका अनुसार उनी क्यालिफोर्नियाका हुन् । राति भोक लागिरहेको थियो । उनले स्टोरको लेनमा कार राखे र त्यहीँ सुते । उक्त आउट लेटमा बर्गर लिनका लागि सवारी लिएर जानुपर्छ ।
उक्त चर्चित इन एण्ड आउट ७० वर्ष पुरानो कम्पनी हो । अमेरिकाका ६ राज्यहरुमा यसको आउटलेट रहेका छन् । यीमध्ये क्यालिफोर्निया, नेवादा, एरिजोना, युटा, टेक्सास र ओरेगन पर्दछन् । कोलोराडोमा यो सातौं आउटलेट हो ।
प्रेमिका भेट्न होस्टल गएका चिकित्सकको मृत्यु
एक युवा चिकित्सकको प्रेमिकालाई भेट्न होस्टल जाँदा पाइपबाट चिप्लेर ज्यान गएको छ । यो समाचार भारत मध्य प्रदेश इन्दौरको हो । प्रेमिकालाई भेटेर फर्किने क्रममा डाक्टरको गोडा पाइपमा चिप्लियो । उनलाई अस्पताल पुर्याइएको थियो र त्यहीँ उनको मृत्यु भयो । इन्डेक्स मेडिकल कलेजमा कार्यरत चिकित्सक प्रेमिकाको होस्टेलको तेस्रो तल्लाबाट पाइपमार्फत् तल आइरहेको बेलामा चिप्लेका थिए । चिकित्सकको नाम आयुष हो । प्रेमिका एमबीबीएस पढिरहेकी थिइन् र आयुष इन्डेक्स अस्पतालमा इन्टर्नशिप गरिरहेका थिए । एजेन्सी
चीनमा अनौठो घटना: निको भएको महिनौंपछि आँखामा देखियाे काेराेना भाइरस
काठमाडौं । चीनमा कोरोना भाइरसको अनौठो घटना देखा परेको छ । कोरोना लागेर निको भएकी ६४ वर्षीय महिलाको आँखामा भाइरस देखा परेको हो । चीनमा यो घटना निकै चर्चामा छ । कतिपय अनुसन्धानहरुले पनि आँखामा रातोपना या सुन्निने लक्षण देखिएमा सावधान हुनुपर्ने सुझाव दिएका छन् । लगातार पाँच दिन सुक्खा खोकी र नौ दिनसम्म पखालाका लक्षण देखिएपछि गत ३१ जनवरीमा ती महिलालाई अस्पताल भर्ना गरिएको थियो । ज्वरोपनि आएकी ती महिलाको छातीको स्क्यान गरेपछि फोक्सोमा संक्रमण देखिएको थियो । पछि उनको नाकको नमूना परीक्षण गर्दा कोरोना देखिएको थियो । तर त्यतिबेला खासै गम्भीर समस्या भने देखिएन । न त उनको आँखामा नै समस्या थियो । १८ र २० फेब्रुअरीका दिन गरिएको जाँचमा उनी कोरोना नेगेटिभ देखिइन । लगत्तै उनलाई डिस्चार्ज गरियो । तर ८ दिनपछि भने उनको दायाँ आँखामा दुखाई शुरु भयो । २८ फेब्रुअरीसम्म उनको आँखा निकै दुख्न थाले । बिस्तारै दृष्टि पनि कमजोर हुँदै गयो । असह्य भएपछि ८ मार्चका दिन ती महिलालाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालाम चेकजाँच गर्दा भने उनी ग्लुकोमा अटेकको समस्याबाट पीडित रहेको पत्ता लाग्यो । तर औषधीको जति प्रयोग गरेपनि केही फाइदा नभएपछि उनको आँखाको अप्रेसन गर्नुपरेको थियो । महिलाको आँखाको दुईपटक सर्जरी गर्दा समेत आँखामा लगातार दबाबर र पीडा हुन थालेपछि १० अप्रिलमा फेरी सर्जरी गरियो । सर्जरीको बेला आँखाबाट लिएका तन्तुको नमूनाको जाँच गर्दा त्यसमा कोरोनाभाइरस प्रोटिन भेटियो । जामा अप्थोल्मोलोजी जर्नलमा प्रकाशित अनुसन्धान अनुसार, कोरोनाका बिरामीमा अक्युलर मेनिफेष्टेशनका घटना देखिएका थिए । यस्ता घटनामा आँखामा रातोपना र सुन्निने समस्या देखिन्छ । यसअघि गरिएको एक अध्ययनमा कोरोना भाइरस आँखा माथिको पत्रका अतिरिक्त आँसुमा पनि पाइएको उल्लेख छ ।
मिस नेशनल उपाधिको लागि भिड्दै मोडल डा.आयुष्नोभा
काठमाडौंँ । मोडल तथा डाक्टर आयुष्नोभा ढुंगाना अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने उदेश्यले सौन्दर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस नेशनल’मा सहभागी भएकी छन् । कलाकारिता र डाक्टर पेशाा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन् । उनले अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् । कलाकारिता तर्फ उनले मोडलिङ, कान्छो अंग्रेजी अनुवादक ( Youngest Sub–tittle Translator) लगायतबाट समेत बिभिन्न अवार्डहरु प्राप्त गरेकी छन् । ‘मिष्टर एण्ड मिस नेशनल’ तर्फ उनी अहिले मिस नेशनलको प्रतिस्पर्धा गर्न लागेकी छन । पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रा नेसनल’मा देशको प्रतिनिधित्व गर्ने उदेश्यले यो प्रतियोगीतामा सहभागी भएको उनले बताइन । प्रतियोगीताको अन्तिम २४ भित्र छानिन सफल उनलाई उपाधिको दावेदार समेत मानिएको छ । मोडलिङ र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना अभिनित एक राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ केही अगाडि सार्वजनिक भएको थियो । गीतमा २ दर्जनबढी राष्ट्रिय कलाकारसँग उनले अभिनय गरेकी थिइन् । ‘मिष्टर एण्ड मिस नेशनल’ प्रतियोगीताको फाइनल यहि मेको एक तारिकमा हुँदैछ । जसमा प्रतियोगीतामा ताज जित्ने लक्ष्य सहित आफु प्रस्तुत हुने आयुष्नोभाले बताइन् । मिस नेशनलका डिरेक्टर डा. सन्तोष उपाध्याय हुन् । उनी मिष्टर नेशनलका अन्तर्राष्ट्रिय तेस्रो विजेता पनि हुन् ।
‘नेपाली भाषा र साहित्यको पृष्ठभूमि नै कर्णाली हो’
सुर्खेत।भाषा र साहित्यमा लामो समय अध्ययन गरेको अध्ययेताहरुले नेपाली भाषा र साहित्यको खास पृष्ठभूमि कर्णाली भएको बताएका छन्। नेपाली भाषाको उद्गम स्थल सिंजा रहेको कर्णाली क्षेत्र नेपाली साहित्यको पनि पृष्ठभूमि भएको उनीहरुको निश्कर्ष छ। मंगलबार सुर्खेतमा भएको कर्णाली लिट्रेचर फेस्टिभलअन्तर्गत ‘भाषा, साहित्य र शिक्षा’ विषयक बहस सत्रमा सहभागी अध्येयताहरुले नेपालमा बोलिने भाषाको मुल थलो कर्णाली भएको बताए। ‘नेपालमा अहिले बोलिने भाषाको मुल थलो खस सभ्यता कर्णाली हो, खस भाषा नै मातृभाषा हो।’ भाषा विज्ञ डा.प्रेम चौलागाईंले भने।उनले खस भाषाको उचित संरक्षण हुन नसकेको बताए। भाषा र संस्कृति दिएको सभ्यतालाई संरक्षणमा चासो नदिईएको उनले औंल्याए। उनले कर्णाली सभ्यताको ईतिहास लेख्नुपर्ने बताए। सहप्राध्यापक डा.महेन्द्रकुमार मल्लले कर्णाली आधुनिक साहित्यको पनि पृष्ठभूमिका रुपमा रहेको बताए। ‘खस भाषा नेपाली भाषा हो, खसबाट विकसित भएको नेपाली रुप हो,’ उनले भने, ‘कर्णाली क्षेत्रको भाषा, साहित्य र इतिहासको बारेमा योगी नरहरिनाथलाई जति जानकारी अरुलाई छैन।’ शिक्षाका बारेमा बोल्दै डा. मल्लले पछिल्लो राजनीतिक परिवर्तनपछि विद्यालय शिक्षामा सुधार ल्याउने कुरा योजनामै सिमित भएको बताए। शिक्षामा बालबालिको पहुँच विस्तार गर्ने, गुणस्तर सुधार गर्ने सरकारका योजना पूर्णरुपमा कार्यान्वयन हुन नसकेको उनले बताए।उनले कर्णालीका बारेमा लेख्नुपर्ने धेरै विषय भएपनि लेखनमा सक्रियता नहुँदा ओझेलमा परेको बताए। सत्रका अर्का वक्ता सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाख प्रमुख अनिता ज्ञवालीले कर्णालीमा सिकाई उपलब्धी ६० प्रतिशतभन्दा माथी जान नसकेको बताईन्। उनका अनुसार कर्णालीमा ७।८ प्रतिशत बालबालिकालाई शिक्षको पहुँचमा अहिले पनि ल्याउन सकिएको छैन। ‘अहिले पनि सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा विद्यार्थीको संख्या धेरै छ, कर्णालीको सिकाई स्तर वृद्धि गर्न र पठन संस्कृतिको विकास गर्न पहिलो कुरा बालबालिकालाई पहुँचमा ल्याउने कामबाट सुरु गर्नुपर्छ,’ उनले भनिन्, यहाँको शिक्षाको गुणस्तरमा पनि सुधार गर्नुछ, विद्यालयप्रति बढ्दो वितृष्णा कम गर्नुछ।’
सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको मृत्यु
न्युयोर्क । आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको शल्यक्रिया भएको दुई महिनापछि मृत्यु भएको छ। ६२ वर्षीय रिचर्ड रिक स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि अन्तिम चरणको मिर्गौला रोगसँग लडिरहेका थिए। म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच)ले एक विज्ञप्तिमा रिचर्डको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै सङ्केत नभएको बताएको छ। सुँगुरबाट अन्य अङ्गहरू प्रत्यारोपण गर्ने धेरै प्रयासहरू असफल भइसकेका छन्। यद्यपि, रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गरिएको थियो। मिर्गौला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए। बीबीसी
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीद्धारा दाबी पेश
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।
पुनः सञ्चालनमा आयो झुलाघाट नाका
बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा हो। यही वैशाख ७ गते उत्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको निर्वाचनलाई दृष्टिगत गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिँदासम्मका लागि झुलाघाट नाका बन्द थियो ।
कैलालीमा ९ महिनामा १७ हजारको आँखाको शल्यक्रिया
धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले ९ महिनामा १७ हजार जनाभन्दा बढीको आँखा शल्यक्रिया गरेको छ । अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १७ हजार ४ सय ८ जना बिरामीका आँखाको शल्यक्रिया गरेको हो । त्यसमध्ये १२ हजार तीन सय ८५ जनाको मोतियाबिन्दु र अन्य समस्या भएका ५ हजार २३ जनाको आँखाको शल्यक्रिया गरेको गेटा आँखा अस्पतालका सूचना अधिकारी गोविन्दप्रसाद जोशीले जानकारी दिए । सोही अवधिमा एक लाख ८८ हजार ३५ जनाले आँखाको उपचार सेवा लिएका छन् । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित अस्पतालले सुदूरपश्चिम प्रदेशमा दोस्रो तहका थप ३ वटा आँखा अस्पताल, २ वटा सर्जिकल सेन्टर र २१ वटा आँखा उपचार केन्द्रमार्फत उपचार तथा शल्यक्रिया सेवा दिने गरेको सूचना अधिकारी जोशीको भनाइ छ । अस्पतालका प्रमुख मेडिकल निर्देशक डा सुरेशराज पन्तले मुख्य अस्पतालमा मात्रै उपचारका लागि दैनिक ४ सयको हाराहारीमा बिरामी आउने गरेको जानकारी दिए । उनकाअनुसार अस्पतालमा आउने सेवाग्राहीमध्ये ३० प्रतिशत भारतीय छन् । अस्पतालमा हुने शल्यक्रियाका लागि पनि अधिकांश भारतीय नै छन् । पन्तका अनुसार अस्पतालमा शल्यक्रियाका लागि आउने ६० प्रतिशत भारतीय नागरिक छन् । यहाँ दैनिक ७० देखि ८० जना बिरामीको आखाँको शल्यक्रिया हुने गरेको पन्तले जानकारी दिए । अस्पतालमा मोतिबिन्दु, आँखाको पर्दा, नानीको समस्या, जलबिन्दु, चस्मा लगाउनुपर्ने समस्या भएका बिरामी बढी आउने गरेको छन् भने शिविरमार्फत पनि उपचार तथा शल्यक्रिया सेवा दिने गरिएको डा पन्तको भनाइ छ । गत आर्थिक वर्षमा सो अस्पतालबाट २ लाख ७० हजार ४ सय ९६ जनाले उपचार सेवा लिएकोमा २४ हजार ७ सय ६१ जनाको आँखाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
राष्ट्रिय अनुसन्धान विभागले माग्यो २५२ जना कर्मचारी
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ ।विभागले आज एक सूचना जारी गर्दै विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो। विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि एक महिनाभित्र दरखास्त दिन सकिने छ ।सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने छ। त्यसैगरी सुरक्षागार्ड र परिचरका लागि तोकिएकै स्थानमा पुगेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन
काठमाडौं। आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन ।प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइदै छ। वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी आमाको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता रहि आएको छ। धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गरिरहेका छन् । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ ।
औषधि व्यवसायीप्रति सरकारको दायित्व
औषधि जीवन रक्षासँग प्रत्यक्ष जोडिएको अत्यावश्यक र संवेदनशील वस्तु हो । अहिले देशको आर्थिक मन्दीको कारण यो व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ । औषधिको धेरै ठाउँबाट धेरै उत्पादन तथा आपूर्तिका कारण यो व्यवसाय गर्न कठिन हुँदै गएको छ । नीजि क्षेत्रका औषधि व्यवसायीहरुको औषधिको कारोबार परिमाण पनि घटेको छ । सटरको भाडा तिर्न र बैंक किस्ता बुझाउन नसकेको गुनासो आइरहेको छ । स्वदेशमै बसेर केहि काम गर्ने सोच बनाएका युवा व्यवसायीलाई निरुत्साहित पार्ने गरी नियमनको नाममा आतंकित बनाउने, मनोबल कमजोर बनाउने काम सरकारबाट नै भइरहेको छ । नियमनको नाममा कहिले औषधि व्यवस्था बिभाग अनुगमन गर्न आउँने र अनावश्यक दुःख दिने, कहिले स्थानीय सरकारले पनि नानाथरी दुख दिने काम भैरहेको छ । अनुगमन नगर्न भनिएको होइन, तर त्यसको मापदण्ड र तरिका मिलेको देखिदैन । जस्तै, हर्लिक्स, सेरेलेक जस्ता आमाको दूधको कमिको समयमा दिइने आहारपुरक दूध तथा ल्याक्टोजिनहरु फार्मेसीबाट बेच्न बन्देज गरिएको छ । तर तिनै बस्तुहरु किराना पसलबाट बिना मापदण्ड निर्वाध विक्री भैरहेको छ । औषधिसँग सम्बन्धित वस्तुहरु जो सुकैले निर्वाध बेच्न थालेपछि औषधि व्यवसायीको अर्थ भेट्न गाह्रो हुन्छ । जो सँग सम्बन्धित विषयमा ज्ञानको कमि छ र ति सामाग्री भण्डारण गर्ने उपयुक्त ठाउँ नभएको अवस्थामा त्यही कुरा चाहिँ ठिक भन्ने प्रवृत्ति कहिले सम्म चल्छ ? हामी धेरै नेपालीले गर्न जानेको बिदेशी सामान आयत गर्ने र महँगोमा बेच्ने नै हो । औषधिको सन्दर्भमा पनि त्यही हो । तर औषधिमा बिदेशी चलन चल्ती नै भित्र्याउने हो भने Food and Drug Administration (FDA) लाई लागू गर्नुपर्ने देखिन्छ । खाद्य वस्तु, आहारपुरक, सौन्दर्य प्रसाधक सामाग्री देखि औषधि समेत को नयाँ अनुसन्धान, अनुगमन, गुणस्तर एवं अन्य आवश्यकताको निगरानी गर्ने निकाय लाई अवलम्बन गर्न सकिएको खण्डमा मात्रै यसमा सुधार हुन सक्छ । साथै एकद्वार प्रणाली अन्तर्गत हालको औषधि व्यवस्था बिभागलाई जिम्मेवारी दिन सकेमा सुनमा सुगन्ध हुने देखिन्छ । साँढेको जुधाई, बाच्छाको मिचाई औषधि व्यवस्था बिभागले दर्ता नभएका न्यूट्रास्युटिकल र कस्मेटिक बेच्न पाईदैन भन्दै अनुगमनका क्रममा ब्यवसायी लाई दुख दिने गरेको छ । तर बिडम्बन के छ भने खाद्य प्रविधी तथा गुणस्तर नियन्त्रण विभागमा दर्ता भएको हुन्छ । सरकारकै यो निकायलाई आधिकारिक कसरी नमान्ने ? विरामीका लागि औषधिको पुर्जा लेख्ने डाक्टरहरुले आवश्यकता देखेरै पुर्जा दिइरहेका हुन्छन् । त्यही औषधि फार्मेसी ब्यवसायीले बेच्ने मिल्ने कि नाई ? सम्बन्धित निकाय नै अनविज्ञ देखिन्छ । अन्तर्राष्ट्रिय मुल्य मान्यता हेर्न हो भने पनि बिदेशका फार्मेसी FDA अन्तर्गतको मापदण्डमा रहि सौर्न्दर्य र आहारपुरक बस्तु सजिलै बेचबिखन गरेको पाईन्छ । व्यवसायी गर्न रहर होईन बाध्यता हो डिप्लोमा अथवा स्नातक पढाई सकेपछि घुम्ने कुर्सीमा बस्ने रहर धेरैलाई हुन्छ । तर सबैलाई सोचेजस्तो हुँदैन । त्यही बिडम्बनामा हामी च्यापिएका हौं । मेरो उदाहरण दिने हो भने, मेरा कोहि आफन्त वा नातेदार, हुने खाने अथवा नजिकका हुन्थे भने भनसुन गरेरै भएपनि करारमा नै किन नहोस्, कुनै पनि जागिर खाइन्थ्यो होला । अथवा कदम कदाचित त्यो नभए पनि धेरै–थोरै सम्पत्ति भए बिदेशी भूमिमा पाइला टेकिसकिन्थ्यो होला । केहि सीप नलागेपछि सहकारीसँग ऋण लिएर भए पनि सानो तिनो व्यवसाय संचालन गरेर घर खर्च चलाइरहेको छु । म जस्ता अरु धेरै छन् । के यसो गर्नु व्यवसायीले पाप गरेको हो र ? यसको जवाफ कसले, कहिले दिने ? औषधि व्यवसायकै कुरा गर्दा औषधि एेन २०३५ पुरानो भएको र समय सापेक्ष नभएको भन्दै नयाँ औषधि विधेयक संसदमा छलफलको विषय बनेको छ । त्यसमा अनौठो विषय सौन्दर्य प्रसोधन सामाग्रीलाई पनि समेटेर अहिलेको औषधि व्यवस्था बिभागअन्तर्गत दर्ता गरि नियन्त्रण तथा अनुगमन गर्न पाउनु पर्ने भन्दै मुख्य एजेन्डा बनाइएको देखिन्छ । यही समयमा औषधीको सम्पुर्ण कारोबार बिमाको बाहनामा सरकारी अस्पतालले गरेको पाइन्छ । यस अवस्थामा स–साना व्यवसायीले बिदेशी मान्यता अवलम्बन गर्न, व्यवसाय लाई नयाँ ढंग वा फराकिलो बनाउन सके मात्रै सुनमा सुगन्ध हुने छ । होइन भने व्यवसाय र व्यवसायी दुबै पलायन हुने देखिन्छ । (न्यौपाने नेपालगंजका औषधि व्यवसायी हुन्)
नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले बढे
काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो । सन् २०२३ को अप्रिलमा कूल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार सात सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार एक सय ५८, अमेरिकी पर्यटक नौ हजार नौ सय ४७, चिनियाँ नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका छन् । साथै बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रसियाबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० पर्यटक नेपाल आएका छन्।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिका टीका थापा मन्त्री नियुक्त
धनगढी । सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ।मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। आजै १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ। वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए। सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई नियुक्त गरेका थिए। आज बिहान मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ।
राजनीतिक स्थिरताको पक्षमा छौं, सरकारबाट बाहिरिँदैनौँ : झलनाथ (अन्तर्वार्ता)
काठमाडौं । नेपालको वाम आन्दोलनका लामो समयदेखि सक्रिय एक शीर्ष नेताका रुपमा झलनाथ खनालको भूमिका रहँदै आएको छ। पूर्व प्रधानमन्त्री, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल समाजवादी क्रान्ति र रुपान्तरणको युगका आधारमा अबको राजनीतिक कार्यदिशा सञ्चालन हुनुपर्ने मान्यता राख्छन्। प्रस्तुत छ, पछिल्ला समसामयिक विषय र एकीकृत समाजवादीको आसन्न राष्ट्रिय महाधिवेशनका सन्दर्भमा पूर्वप्रधानमन्त्री खनालसँग राष्ट्रिय समाचार समिति राससका समाचारदाताद्वय प्रकाश सिलवाल र अशोक घिमिरेले गरेको संवादको सम्पादित विवरण अर्थमन्त्री वर्षमान पुनबाट प्रस्तुत आगामी आर्थिक वर्षको बजेटलाई कसरी हेर्नुभएको छ ? सङ्घीय संसद्को संयुक्त बैठकमा गत मङ्गलबार अर्थमन्त्रीबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट समग्रमा जनतामा आशाको सञ्चार गराउने खालको छ। विगतमा बजेट जनताका आमूल परिवर्तनका अपेक्षा र चाहनालाई सम्बोधन नगरी आउने गरेका थिए। यसपटक भूमिसुधार, कृषि क्रान्ति, सहकारीकरण, औद्योगिकीकरण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्राथमिकतासहित आएको छ। सरकारको नीति तथा कार्यक्रम र बजेटले गरिबी उन्मूलन, रोजगारी सिर्जना र युवाहरुको विदेश बहिर्गमन रोक्ने कार्यक्रम ल्याएको छ। यसमा केही नवीनता छ र यसले सकारात्मक एवं आशाको सञ्चार गरेको छ। मूलतः हामीहरु राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहकाले यस बजेटमा उल्लेख भएका राम्रा कार्यक्रमको कार्यान्वयन पक्ष भने हेर्न बाँकी छ। संसद्मा कुनै पनि दलको बहुमत नभएकाले पनि होला, छिटो छिटो गठबन्धन र सरकार हेरफेर हुने घटनाहरु हुने गरेका छन्। यसैको प्रभावमा राजनीतिक दलहरु विभाजित हुने स्थिति पनि देखिएका छन्। तपाईँहरुको पार्टीमा पनि विभिन्न कोणबाट छलफल चलिरहेको सुनिन्छ, वास्तविकता के हो ? त्रिशङ्कु खालको संसद्मा गठबन्धन हेरफेरका सम्भावना भइरहन्छन्। यस्तो अवस्थामा ढुङ्गाका अक्षरमा लेखिए जस्तो पाँच वर्ष सरकार टिक्दैन तर यो वर्तमान समीकरण अलि बढी आयु लिएर आएको छ कि जस्तो लागेको छ। हाम्रो पार्टीभित्र पनि बहसहरु छन्, ती जारी रहन्छन् तर यस सरकारलाई हाम्रो दृढ समर्थन रहनेछ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई पाँच वर्षभित्र कुनै अवधिको प्रधानमन्त्री नदिइए समीकरणबाट बाहिरिने कुरा पनि आउने गर्छ नि ? यो वर्तमान सरकारमा सहभागी पार्टीभित्र विकसित हुने आन्तरिक समझदारीका विषय हो। यस्ता कुराहरुलाई बहसमा ल्याउनु हुँदैन। प्रधानमन्त्रीमा हाम्रो पार्टीले दाबी गरेको पनि हुनसक्छ, भित्रीरुपमा केही कुरा भएका पनि हुन सक्छन्। यस्ता विषयलाई राजनीतिक गृहकार्यकै तहमा छाडिदिनुपर्छ। मुख्य कुरा मुलुकमा सुशासन र राजनीतिक स्थिरता हो, हामी त्यसका पक्षमा छौँ। फरक राजनीतिक परिस्थितिबाट एकीकृत समाजवादी पार्टी गठन भयो। पार्टी महाधिवेशनको सम्मुखमा छ, महाधिवेशनको तयारी कस्तो छ ? हाम्रो पार्टीको दसौँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदै छ। महाविधेशनले समाजवादी क्रान्ति र रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउनेछ। २०६२/६३ सालमा भएको परिवर्तन पुँजीवादी जनवादी क्रान्ति हो, अब समाजवादी क्रान्ति र रुपान्तरणको प्रक्रियामा अघि बढ्नुपर्छ। त्यो अहिलेको आवश्यकता हो। हामी समाजवादी क्रान्ति र रुपान्तरणको युगमा हामी आइपुगेको छौँ। युगानुरुपका सोच, विचार र लक्ष्य अगाडि सार्नुपर्छ।यो युगको मूल कार्यक्रम भनेको नै समाजवादी कार्यक्रम हो। समाजवादी कार्यक्रम अगाडि सार्ने अहम् दायित्व महाधिवेशनको काँधमा आएको छ। हामी समाजवादी क्रान्तिको कार्यक्रम अघि सार्छौँ। समाजवादी कार्यक्रम भनेको क्रान्ति र रुपान्तरण सिङ्गो प्रक्रियालाई त्यसले मार्गदर्शन गर्छ। सोही कार्यक्रममार्फत नै पार्टीको कार्यदिशा, नीति, सिद्धान्त, रणनीति र कार्यनीति तथा क्रान्ति र रुपान्तरणको बाटो निर्देशित हुन्छ। यो कार्यक्रमिक दस्तावेज आगामी महाधिवेशनको सबैभन्दा महत्वपूर्ण र दूरगामी दस्तावेज हुन्छ। सो दस्तावेजका साथसाथै अन्य राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान पनि पारित गरिनेछ। एकताबद्ध भएर यसलाई पारित गर्ने पक्षमा छौँ। तथापि, विविध खालका सोच आउन सक्ने, कतिपय प्रतिस्पर्धा हुन सक्ने, प्रजातन्त्रिक अभ्यासलाई हामी इन्कार गर्दैनौँ। महाधिवेशनमा स्वभाविक रुपमा वैचारिक र नेतृत्वको पाटोसँगसँगै अघि आउँछ, नीतिअनुसारको नेतृत्व नहुँदा पार्टीले स्पष्ट दिशा पकड्न नसक्ने खतरा रहन्छ, आगामी नेतृत्व कस्तो आउँछ ? एकीकृत समाजवादी पार्टी गठन भएको तीन वर्ष पुग्नै लाग्यो। यस अवधिमा जे अनुभव प्राप्त गरेका छौँ, यी अनुभवभित्र सकारात्मक र नकारात्मक दुवै पक्ष सशक्त ढङ्गबाट आएका छन्। यसको समीक्षा गरेर अघि बढ्छौँ। एकीकृत समाजवादीभित्र महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरुमा नीतिगत विवाद छ कि छैन? हामीले सकेसम्म मिलाउन कोसिस गरेका छौँ। बाहिर हेर्दा खरानीले ढाकिएको छ, केही पनि देखिँदैन। तर भित्रपट्टी भुङ्ग्रो पनि हुनसक्छ। त्यो भुङ्ग्रो निस्कन्छ कि निस्कँदैन अहिले भन्न सकिँदैन। तर हामी सकेसम्म पार्टीलाई एकताबद्ध र रुपान्तरित गर्ने, क्रान्तिकारी बनाउने दिशामा अघि बढाउने हिसाबबाट सोचेका छौँ। नेपालको कम्युनिष्ट आन्दोलनलाई नै नयाँ धरातलबाट उठाउने छौँ। कम्तीमा पार्टी एकीकरण गर्न सकिँदैन भने पनि कार्यगत एकताका आधारमा सबै वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिने हिसाबले लाग्नेछौँ। समाजवादी क्रान्ति र रुपान्तरणको युगानुरुपको विचारका आधारमा पार्टीको नेतृत्वका लागि पनि म तयार छु भन्न खोज्नुभएको हो ? आसन्न महाधिवेशनले मलाई जे जिम्मेवारी दिन्छ, त्यो पूरा गर्छु। ‘म्याराथन’मा दौड हुन्छ भने पनि म तयारै छु। जुनसुकै दायित्व बोकेर हिँड्न म तयार छु। त्यसो भए नेतृत्वका लागि प्रतिस्पर्धा हुनसक्छ ? प्रतिस्पर्धा भयो भने पनि अन्यथा मान्न हुँदैन। प्रतिस्पर्धा आफैँमा लोकतान्त्रिक प्रक्रिया हो। लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनु, त्यसका आधारमा निष्कर्षमा पुग्नु सामान्य विषय हो। एकीकृत समाजवादीको वर्तमान मूल नेतृत्वको काम गर्ने शैलीलाई कसरी लिनुभएको छ? हामी जुन अहिलेको संरचना, कार्यशैली र कार्यपद्धतिमा काम गरिरहेका छौँ, त्यसबाट क्रान्तिकारी पार्टी बन्दैन। हामीले चाहे अनुरुपको पार्टी बनिरहेको छैन। त्यसैले पार्टीमा आमूल परिवर्तन हुनुपर्छ। पहिलो वैचारिक, राजनीतिक कार्यदिशा धारिलो र प्रभावकारी बनाउनुपर्छ, त्यहीअनुरुप सङ्गठनात्मक पद्धतिलाई विकास गर्नुपर्नेछ। हाम्रा कार्यशैली र कार्यपद्धतिलाई व्यापक रुपले रुपान्तरण गर्नुपर्ने आवश्यकता छ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता हुन् । प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री छन् । मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिसकेका छन् । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैँसँग राखेका छन् । सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई एमालेले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन सकेको छैन । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ । रासस