अनेमसंघ क्रान्तिकारी गण्डकीको अध्यक्षमा शाही निर्वाचित
पोखरा । कास्की । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
पोखरामा बिहीबार राति अबेर सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्सीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षमा लीला विक (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित हुनुभएको छ ।
सचिवमा निर्मला सुवेदी (कास्की) र कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित हुनुभएको छ भने सहसचिवमा हेमकुमारी सुनार (नवलपुर) निर्वाचित हनुभएको छ ।
सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष अमृता थापामगरलगायतले बोल्नुभएको थियो । सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट गरी चार सय ५० जना प्रतिनिधिको सहभागिता थियो । सम्मेलनका अवसरमा महिला सङ्घका संस्थापक, जनयुद्धका जेल ब्रेकर महिला तथा घाइते योद्धालाई सम्मान गरिएको थियो ।
अखिल क्रान्तिकारी बागमतिको अध्यक्षमा पौडेल निर्वाचित
काठमाडौं । अखिल क्रान्तिकारी बागमती प्रदेशको दोश्रो सम्मेलनबाट अध्यक्षमा अर्जुन पौडेल निर्वाचित हुनुभएको छ । उहाँले २३२ मत प्राप्त गर्नुभएको छ भने प्रतिष्पर्धीहरु अशोक देवकोटाले १४५ र सरोज भण्डारीले ६२ मत प्राप्त गर्नुभएको छ । खुला उपाध्यक्षमा अस्मिता ठकुरी (३१४)। सन्तोष चौहान (२२०) र हरिबहादुर खड्का (१७९) विजयी हुनुभएको छ । प्रतिष्पर्धीहरु श्रवणकुमार बर्तौलाले १२३ र रामकृष्ण शिवाकोटीले ११६ मत प्राप्त गर्नुभएको थियो । छात्रा उपाध्यक्षमा ममता पाण्डे र समावेशी उपाध्यक्षमा क्षेत्रकुमार लामा तामाङ निर्विरोध हुनुभएको छ । त्यस्तै प्रमुख सचिवमा विजय लामा २३६ मतसहित विजयी हुनुभएको छ भने प्रतिष्पर्धी सुवास गौतमले १७९ मत प्राप्त गर्नुभएको छ । खुल्ला सचिवमा विजय घिमिरे (२०९), ऋतिकराज गिरी (१९०) र विवेक कार्की (१७९) विजयी हुनुभएको छ प्रतिष्पर्धीहरु विनोदकुमार कार्कीले ११६, मणिराज पाण्डेले ७८, प्रशासन सापकोटाले ७७ र सागर ढकालले ७४ मत प्राप्त गर्नुभएको छ । छात्रा सचिवमा उर्मिला तामाङ लामा निर्विरोध हुनुभएको छ । समावेशी सचिवमा विज्ञान दोर्जे बल (१७७) विजयी हुनुभएको छ भने प्रतिष्पर्धी गजेन्द्र गुरुङले १४३ र ऋषिकेश यादवले ६५ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा अनिताकुमार श्रेष्ठ २२० मतसहित विजयी हुनुभएको छ भने प्रतिष्पर्धी पवन रिजालले १७४ मत प्राप्त गर्नुभएको छ ।
आप्रवासन नीति सच्याउन पोर्चुगलका राष्ट्रपतिसँग माग
पोर्चुगल । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन् । लिस्बनस्थित राष्ट्रपतिको निवास बेलेम प्यालेसमा सम्पन्न सो भेटवार्तामा आप्रवासीका लागि ऐक्यबद्धता एशोसिएसनका अध्यक्ष टिमोटियो म्यासेडोको नेतृत्वको टोलीले विशेष गरी पोर्चुगल सरकारले हालै जारी गरेको आप्रवासन नीति सच्याउन माग गरेको थियो । टोलीमा सहभागी नेपाली प्रतिनिधि गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापाले भेटवार्तामा टोलीले पोर्चुगल सरकारले हालै परिवर्तन गरेको आप्रवासनसम्बन्धी नीतिनियमका कारण आप्रवासीमा देखापरेका समस्या र कठिनाइका विषयमा राष्ट्रपतिसमक्ष ध्यानाकर्षण गराएको बताए । आप्रवासनसम्बन्धी नीतिनियमका कारण लाखौँ आप्रवासी प्रभावित भएको जनाउँदै सो विषयमा पुनर्विचार गरी संशोधन गर्न आग्रह गरिएको उनले बताए । सदस्य थापाले टोलीले आप्रवासीलाई कडाइ नगर्न आप्रवासी प्रतिनिधिहरूले राष्ट्रपतिसमक्ष आग्रह गरेको बताए । उनका अनुसार आप्रवासी प्रतिनिधिले राखेको आप्रवासनसम्बन्धी परिवर्तन भएको नीति र आप्रवासीका समस्याका विषयमा राष्ट्रपति सौसाले विशेष चासो व्यक्त गर्दै आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । सो अवसरमा टोलीले आप्रवासीका समस्या र कठिनाइका विषयमा ५१ आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेको ज्ञापनपत्र राष्ट्रपति समक्ष हस्तान्तरण गरेको थियो । सोही अवसरमा सदस्य थापाले गैरआवासीय नेपाली सङ्घ पोर्चुगलले प्रकाशन गरेको ‘नेपाल–पोर्चुगल दर्पण’ स्मारिका राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए। गत महिना पोर्चुगल सरकारले आप्रवासनसम्बन्धी नयाँ नीति लागू गर्दै आप्रवासीका लागि कडाइ गरेपछि आप्रवासीहरू प्रभावित भएका छन् । सरकारले यहाँको आवास अनुमतिका लागि आवेदन दिने प्रकिया नै बन्द गरेपछि आप्रवासीहरू प्रभावित भएका हुन् ।
थारू गाउँबस्तीमा सखिया नाचको रौनक
नेपालगञ्ज । बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा दसैँको बेला नाचिने ‘सखिया नाच’ को रमझम जारी रहेको छ । दसैं शुरु हुनुभन्दा पहिले शुरु भएर दसैं सकिएको केही दिन पछिसम्म पनि नाचिने सो नाचले अहिले दुबै जिल्लाका थारु गाउँबस्तीमा विशेष रौनक छाएको छ । दसैंको टीकाको दिनसम्म केटाकेटी मिली गरिने उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुवाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन् । सखिया नाचिने थारू गाउँमा दसैं शुरु भएसँगै निकै रौनक हुने गरेको जनाउँदै बाँके बैजापुरका थारु अगुवा बिक्रम थारुले दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैंको दिन दिनभरी नाच्ने गरिएको बताउनुभयो । अगुवा थारुका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बजे त्यति रौकनकता आउँछ । यो नाचका लागि कम्तीमा चार पाँचजना मादल बजाउने युवा हुन्छन् । १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया रातो रङको रिबन लगाउने गर्छन् । सखिया नाचमा विशेषत थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवम् रक्षाको माग गर्ने चलन रहिआएको बाँके बनकटुवाका अर्का थारु अगुवा दिपेन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार युवाले सेतो रंगको धोती र रुचिअनुसारको कमिज लगाएर मादल भिरेका हुन्छन् । सखिया नाचमा विशेषतः युवायुवती र विवाहित सबै उमेर समूहका महिला र पुरुषले नाच्ने गर्छन् । नाचका लागि महिला समूहमा चारजना र पुरुषमा दुई जनालाई जिम्मेवारी दिइन्छ । महिलामा एकजना मोहरनिया, एकजना पचगिनिया र दुईजना जेठगोहिया रहेका हुन्छन् । मोहरनियाले गीतको अग्रभागबाट सुरु गर्छ भने पचगिनियाले पश्चय भागको गीत गाउने र जेठ गोहियाले साथ दिने काम गर्दछन् । त्यस्तै, मादल बजाउने अगुुवा, पच्छुवा मदरियाले त्रासन् मार्ने काम गर्दछन् । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने परम्परा छ ।
रुकुमपश्चिमको मग्गामा सहिदस्मृति मेला
रुकुमपश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मामा सहिद स्मृति मेला सुरु भएको छ । मेलाको उद्घाटन कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले गर्नुभएको थियो । मग्मामा हरेक वर्ष सहिदहरूको सम्झनामा मेला लाग्दै आएको छ । सोमबारबाट सुरु भएको सहिद स्मृति मेला कात्तिक २ गतेसम्म चल्ने सहिद स्मृति मेला समिति सदस्य देवराज खनाले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा खुला वडा स्तरीय महिला, पुरुष भलिबल, पुरुष डवल ब्याडमिन्टन लगायत सांस्कृतिक कार्यक्रमहरू मयूर नाच, सिगांरु नाच पनि प्रदर्शन गरिएको छ । मेलामा पुरुष भलिबल प्रतियोगिताको लागि जिल्लाको विभिन्न ठाउँबाट २६ समूहले सहभागिता जनाउँदा महिला भलिबल तर्फ १० समूहले सहभागिता जनाएको सहिद स्मृति मेला समितिका सदस्य खनालले जानकारी दिनुभयो । पुरुष भलिबल तर्फ विजेता हुने समूहले नगद १ लाख ६ हजार रुपैयाँ, उपविजेता हुने समूहले नगद ७५ हजार रुपैयाँ र सान्त्वना हुने दुई समूहले समान नगद २०/२० हजार रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै महिलातर्फ विजेता हुने समूहले नगद २५ हजार उपविजेता हुने समूहले नगद १५ हजार र सान्त्वना हुने दुई समूहलाई समान ५/५ हजार रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । बाँफिकोट गाउँपालिका वडा नम्बर ६ जिपसिङमा जन्मनु भएका सहिद रवि केसी लगायत अन्य सहिदहरूको सम्झनामा विगत २५ वर्षदेखि नेकपा माओवादी केन्द्रले हरेक वर्ष मग्मामा मेला आयोजना गरिरहेको छ । नगेन्द्र रिजालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काको विशेष आतिथ्यता रहेको थियो । अन्य अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन, बाँफिकोट गाउँपालिका इन्चार्ज धर्मबहादुर केसी, पार्टीका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी लगायतको आतिथ्यता रहेको थियो ।सहिद स्मृति मेला समितिका सदस्य नवराज खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समितिका सदस्य किरण विश्वकर्माले गर्नुभएको थियो ।
सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
बाग्लुङ । जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन्। हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन्। सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु सात करोड बढी रकम गाउँ भित्र्याएका थिए। जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै रु सात करोड ४८ लाख १७ हजारको कारोबार गरेपछि स्थानीयसमेत उत्साहित भएका छन्। यी दुई पालिकामा मात्रै १४ वटा दुग्ध सहकारी संस्था छन्। तिनमा आबद्ध भएर किसानले आफ्नो उत्पादनलाई बजारीकरण गर्दा आम्दानी गर्न सफल भएका हुन्। काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले दूध उत्पादन गर्न सके जुनसुकै समयमा सहकारीले बजारीकरणको जिम्मा लिने भनेर आश्वस्त पारेपछि आफूजस्ता किसानलाई निकै सहज भएको बताए। सोही गाउँपालिका–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरूले मात्रै दैनिक तीन सय ५० लिटर दूध बजारमा पठाउने गरेका छन्। दुग्ध किसान मणिभद्र कँडेलले आफूहरूले उत्पादन गरेको दूध सङ्कलन, प्रशोधन र बजारीकरणको ग्यारेण्टी भएपछि जोडतोडका साथ उत्पादन वृद्धिमा लागेको बताए। ‘विगतमा दूध धेरै उत्पादन भएपछि त्यसै खेर गएको अनुभव हामीसँगै छ । दूधलाई प्रशोधन नगरे टिक्दैन, बजारसम्म पु¥याउन समय लाग्छ, बजार टाढा छ, फेरि दुई–चार लिटर दूध बजार पुर्याउन पनि गाह्रो। त्यसैले सहकारीमार्फत व्यवस्थापनको काम भएपछि हामी ढुक्क भएका छौँ’, उनले भने, ‘अब किसानले दूध उत्पादन बढाउने र सहकारीले बजारीकरण गर्ने भएपछि सदाको चिन्ता अन्त्य भएको छ। त्यसैमा दूध ढुवानी तथा घाँस ढुवानीमा अनुदान र पशु बीमा कार्यक्रम लागू भएपछि व्यवसाय पनि सुरक्षित भएको छ।’ चौध सहकारीका शेयर सदस्य किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ। सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट रु सात करोेड ४८ लाख १७ हजारको दूध खरिद गरेको अध्यक्ष दीपक गौतमले बताए। यी सहकारीमा आबद्ध करिब एक हजार चार सय किसानले एक वर्षमै उक्त रकम पाएको उनले बताए। त्यस्तै निःशुल्क दूध ढुवानी, पशुधन सुरक्षण कार्यक्रम, घाँस ढुवानी, बीमा र पशु औषधि वितरणले किसानलाई थप लाभ मिलेको र यसले दूधमा आत्मनिर्भर जिल्ला बनाउन ठूलो सहयोग पुगिरहेको अध्यक्ष गौतमको भनाइ छ। ‘किसानहरूले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो। दूध भण्डारण, प्रशोधनमा ध्यान नदिँदा दूध बिग्रेर जाने समस्या थियो, जसले गर्दा किसानले यस क्षेत्रमा लगानी गर्न सकिरहेका थिएनन्। हामीले बजारको ग्यारेण्टी गरेपछि समस्या समाधान भएको छ’, उनले भने, ‘किसान बिचौलियाको मारमा पर्ने समस्या पनि हटेको छ। हाल किसानबाट सङ्कलन गरेको तीनदेखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुने गरेको छ।’ वि.सं. २०५७ मा स्थापना भएको सहकारी सङ्घमा हाल १६ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्। दूधलाई सङ्कलन, बिक्री, बचेको दूधको दुग्धजन्य पदार्थ घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम पनि भइरहेको सङ्घका सचिव गोविन्दप्रसाद सापकोटाले जानकारी दिए। सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको उनले बताए। ‘यो एक अभियान पनि हो। यसबाट किसानको घरमा सोझै रकम पुग्ने गरेको छ। केहीले गाउँमै रोजगारी पाएका छन्। गत आर्थिक वर्षमा सङ्घले रु ८० लाख ६१ हजार खुद बचत गर्न सफल भएको थियो। सो रकमबाट किसानको पशु बीमा, दूध तथा घाँस ढुवानी र पशु प्रवर्द्धनात्मक काममा लगानी गरिरहेका छौँ’, सचिव सापकोटाले भने।
माओवादी केन्द्रको अगुवाईमा प्रकाश तामाङको घर निर्माण सुरु
भोजपुर। ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । नेकपा माओवादी केन्द्रको अगुवाई घर निर्माण थालिएको हो । भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । घर निर्माण समितिका संयोजक रहनुभएका पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्त रूपमा नयाँ बन्ने घरको शिलान्यास गर्नुभयो । माओवादी केन्द्रीय सदस्यसमेत रहेका गेसोका अध्यक्ष राईले १५ लाख बराबरको आफ्नो पूख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण दिनुभएको छ। उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ । घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइने छ ।
स्थानीय तहको तदारुकतामा आँबुखैरेनीका महिला फूल उत्पादनमा सक्रिय
तनहुँ । स्थानीय सरकारले प्रोत्साहन गर्न थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका—१ का महिला सयपत्री फूल उत्पादनमा सक्रिय भएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । नेकपा माओवादी केन्द्रका युवा नेता शुक्र चुमानले नेतृत्व गरेको यो गाउँपालिका नेपालमै नमुना काम गर्दै अघि बढेको छ। पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ । गत वर्षदेखि महिलाहरूले संगठित रूपमा सयपत्री उत्पादन गर्न थालेको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । यहाँका महिलाले गत वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेकोमा राम्रो प्रतिक्रिया पाएपछि यसपटक दोब्बर क्षेत्रफलमा विस्तार गरेका छन् । विभिन्न समयमा उत्पादन दिनेगरी खेती गरिएको र यसपटक दशैँको शुभारम्भदेखि नै उत्पादन दिन थालेको छ । तिहार, एकादशी मेला र मङ्सिरमा हुने विवाहलाई मध्यनजर गरी फूल उत्पादनमा जोड दिइएको कृषि शाखा प्रमुख केसीले बताए । गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती गरिएको र यसले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको उनको भनाइ छ । लघुउद्यम महिला सङ्घका अध्यक्ष सुन्तली गुरुङले घरायसी काममा मात्रै सीमित महिलाहरू यतिबेला आत्मनिर्भर बन्ने प्रयासमा रहेको बताइन् । उनका अनुसार सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको खेती गरिरहेका छन् । गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरूप गत वर्षदेखि फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले अनुदानको कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ । गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको छ ।
एआई बन्नसक्छ शैक्षिक क्रान्तिको सारथी
जिन डिङ विश्व अहिले "चौथो औद्योगिक क्रान्ति" को बीचमा छ र चाँडै "पाँचौं औद्योगिक क्रान्ति" मा प्रवेश गर्न सक्नेछ। यसैबीच, कृत्रिम बुद्धिमत्ताजस्ता उदाउँदो प्रविधिको द्रुत विकासले प्रारम्भिक, माध्यमिकदेखि उच्च शिक्षासम्मको हरेक तहमा शिक्षालाई असर गरिरहेको छ। विश्वभरका देशहरू शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको लचिलो प्रयोग गर्ने तरिका खोज्ने प्रयास गर्दैछन्, ताकि टाढा रहेका क्षेत्रमा रहेका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न र २१औं शताब्दीमा सफल करियर बनाउन आवश्यक सीपहरू सिकाउन सकियोस्। चीनले स्मार्ट लर्निङ प्रणालीहरू विकास गरी र कृत्रिम बुद्धिमत्तामा अनुसन्धान तीव्र पार्दै शिक्षा र तालिममा एआईको प्रयोगमा नेतृत्व लिएको छ। चीनले शिक्षा क्षेत्रमा एआईको वैश्विक प्रयोगलाई अगाडि बढाउन अन्य देशहरूसँग पनि सहकार्य गरिरहेको छ। संयुक्त राष्ट्रसंघको चौथो दिगो विकास लक्ष्य (एसडीजी ४) भनेको "समावेशी र न्यायोचित गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सबैका लागि आजीवन सिकाइको अवसर प्रवर्द्धन गर्ने" हो। यस परिप्रेक्ष्यमा, युनेस्कोजस्ता संस्थाहरूले एआईको प्रयोग गरी एसडीजी ४ हासिल गर्ने तरिकाहरू खोजिरहेका छन्। एआईले व्यक्तिगत विद्यार्थीहरूको आवश्यकताहरू पूरा गर्न र विद्यार्थीहरूलाई एक-एक गरेर ट्युटोरिङ प्रदान गर्न, साथै आजीवन सिकाइलाई सहज बनाउन सक्दछ। एसडीजी ४ प्राप्त गर्नको लागि, एआई प्रयोग गरेर विभिन्न भागमा रहेका विद्यार्थीहरूको लागि अनलाइन कक्षाहरू आयोजना गर्न सकिन्छ, पाठ्यक्रमको सामग्रीलाई विद्यार्थीको इच्छित भाषामा अनुवाद गर्न सकिन्छ, र विद्यार्थीलाई ट्युटरसँग अन्तरक्रिया गर्न अनुमति दिन सकिन्छ। यो टाढा रहेका, विद्यालयदेखि धेरै किलोमिटर टाढा बसोबास गर्ने विद्यार्थीहरूको लागि महत्त्वपूर्ण छ। साथै, शिक्षकहरूले पनि विद्यार्थीहरूका लागि अध्ययन सामग्री तयार गर्न र उनीहरूलाई कुनै पाठ्यक्रम पूरा गर्न मद्दत गर्न एआईको प्रयोग गर्न सक्छन्। एआईले शिक्षकहरूलाई विद्यार्थीहरूका लागि स्रोतहरू अनुकूलन गर्न मद्दत गर्न सक्छ, जसले उनीहरूको प्रदर्शनमा सुधार गर्न सक्छ। बेइजिङ एडभान्स्ड इनोभेसन सेन्टर फर फ्युचर एजुकेसन र बेइजिङ फरेन स्टडिज युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले "लर्निङ सेल मोडेल" नामक स्वचालित स्रोत उत्पादन संयन्त्र विकास गरेका छन्, जसले विद्यार्थीहरूको आवश्यकताहरू पूरा गर्न अध्ययन सामग्रीहरू र अन्य स्रोतहरू अनुकूलन गर्दछ। अध्ययनहरूले देखाउँछन् कि लर्निङ सेल मोडेलले व्यक्तिगत विद्यार्थीहरूको आवश्यकताहरू अनुरूप स्रोतहरू उत्पादन गर्न सक्छ र तिनीहरूको बौद्धिक बोझ नबढाई विद्यार्थीहरूको प्रदर्शन सुधार गर्न सक्छ। महत्त्वपूर्ण अनुसन्धान क्षेत्रहरूमध्ये एक भनेको भाषा सिकाइलाई सहज बनाउन एआईको सम्भावित प्रयोग हो। भविष्य शिक्षा र बेइजिङ नर्मल युनिभर्सिटीका एडभान्स्ड इनोभेसन सेन्टरका अनुसन्धानकर्ताहरूले विद्यालयहरूमा दोस्रो भाषा रूपमा चिनियाँ भाषा सिकाउनमा "स्वचालित स्रोत उत्पादन प्रणाली" कसरी सहयोगी हुन सक्छ भनेर अध्ययन गरेका छन्। अनुसन्धानकर्ताहरूले विद्यार्थीहरूको आवश्यकताहरू पूरा गर्न एआईको प्रयोग सुनिश्चित गर्न एक मोडेल विकास गरेका छन्, जसले देखाउँछ कि यो शिक्षण सिकाइ मोडेलको प्रयोगले विद्यार्थीहरूको प्रदर्शनमा सुधार ल्याएको छ र उनीहरूको शिक्षण प्रति सकारात्मक धारणा बनाएको छ। यो मोडेल प्रयोग गरेर पढाइएका विद्यार्थीहरूले पाठ्यक्रममा बढी सक्रिय रूपमा भाग लिएका छन्। भाषा शिक्षण मात्र होइन, एआईलाई सबै उमेरका विद्यार्थीहरू र विभिन्न देशहरूका विद्यार्थीहरूलाई विभिन्न संस्कृतिबारे सिकाउन पनि प्रयोग गर्न सकिन्छ। बेइजिङ फरेन स्टडिज युनिभर्सिटी, अथाबास्का युनिभर्सिटी (क्यानाडा), र केही साउदी अरेबियन विश्वविद्यालयहरूका अनुसन्धानकर्ताहरूले एआई प्रयोग गरेर विद्यार्थीहरूले घरमै बसेर एकअर्काको संस्कृतिबारे सिक्न सक्ने तरिकाहरूको खोजी गर्दै आएका छन्। एआई अनुप्रयोगहरू विद्यार्थी र शिक्षकहरूलाई लाभ हुने गरी डिजाइन गरिनु पर्छ, जसका लागि विद्यार्थीहरू, शिक्षकहरू, र शैक्षिक संस्थाहरूका अन्य कर्मचारीहरूको लागि नीति तयार गर्न आवश्यक छ। उदाहरणका लागि, डाटा गोपनीयता र सुरक्षा, प्रतिलिपि अधिकार, शैक्षिक इमानदारी, पारदर्शिता, र वातावरणीय चिन्ताहरू जस्ता कारकहरूमा नीतिहरू हुनु पर्छ। अथाबास्का विश्वविद्यालय र कमनवेल्थ अफ लर्निङका विशेषज्ञहरूले तयार पारेको हालैको प्रतिवेदनले उच्च शिक्षण संस्थाहरूका विभिन्न तहका कर्मचारीहरूले पालना गर्नुपर्ने १४ एआई नीतिहरूको पहिचान गरेको छ। यद्यपि केही शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई एआई प्रयोग गर्न अनुमति दिन हिचकिचाइरहेका छन् किनभने उनीहरूले एआईले तिनीहरूलाई फाइदा गर्दैन वा यो नैतिक होइन भनेर सोच्छन्। तर एआई यहाँ रहिरहनेछ, र शैक्षिक संस्थाहरूले यसलाई अर्को लाभदायक उपकरणको रूपमा स्वीकार गर्नुपर्नेछ। जब हामी "पाँचौं औद्योगिक क्रान्ति" तर्फ बढ्दैछौं, एआईले स्वतन्त्र रूपमा सोच्न सक्षम हुन सक्छ र मानिसजत्तिकै रचनात्मक बन्न सक्छ, र जेनेरेटिभ एआई अझ बौद्धिक र मानिसजस्तै बौद्धिक कार्यहरू पूरा गर्न सक्षम बन्न सक्छ। मेसिन लर्निङको प्रगतिको साथ, एआई प्रणालीहरूले मौलिक विचारहरू विकास गर्न सुरु गर्न सक्छन्, जसलाई जटिल परिस्थितिहरूमा र सन्दर्भहरूमा लागू गर्न सकिन्छ। एआईले शिक्षामा क्रान्ति ल्याउने सम्भावना राख्दछ यदि यसलाई सही रूपमा डिजाइन र लागू गरियो भने। उच्च शिक्षण संस्थाहरूको चुनौती भनेको एआईको द्रुत विकाससँग कसरी समायोजन गर्ने हो, विशेष गरी भविष्यका पुस्ताहरूलाई शिक्षा प्रदान गर्न उपयुक्त नीतिहरू निर्माण गर्दा। अनुवादः एआई स्रोतः https://www.chinadaily.com.cn/a/202410/19/WS671319a0a310f1265a1c875d.html
बेलायतमा आप्रवासी विरोधी हिंसाको डर, संयमता अपनाउन नेपालीलाई आग्रह
काठमाडौं । बेलायतस्थित नेपाली दूतावासले बेलायतमा रहेका नेपालीहरूलाई सुरक्षा संयमता अपनाउन आग्रह गरेको छ । बेलायतका विभिन्न सहरमा केही दिनदेखि प्रदर्शन भइरहेको छ ।मंगलबार एक सूचनामार्फत दूतावासले बेलायत भ्रमण गर्न लागेका नेपालीलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न आग्रह गरेको छ । बेलायतका विभिन्न सहरमा पछिल्लो समय दङ्गा फैलिएका छन् । यस हप्ता बढी आप्रवासी विरोधी हिंसाका घटनाहरू हुने डर रहेको छ । सोमबार राति दक्षिणपश्चिम इङ्गल्याण्डको तटीय शहरमा भएको हिंसामा प्लायमाउथमा प्रहरी अधिकारीहरू घाइते भएका छन् । पछिल्लो समय बेलायतका दुई शहरहरूमा सप्ताहन्तमा फारराइट उत्तेजकहरूले शरणार्थीहरूलाई आवास दिइरहेका होटेलहरूमा आगो लगाए ।जुन घटनाले भित्र रहेका व्यक्तिहरू भयभित भएका थिए । यद्यपी अन्य शहरहरूमा दङ्गाकारहरू सार्वजनिक भवनहरूलाई क्षति पुर्याउँदै र प्रहरीसँग भिड्दै, अधिकारीहरूमा वस्तुहरू फ्याँक्दै र उनीहरूको सवारीसाधनहरू तोड्दै थिए। गत महिना उत्तर इङ्ल्यान्डको साउथपोर्टमा तीन बालबालिकाको मृत्यु हुने गरी भएको छुरा प्रहारको आक्रमणले बेलायतिहरुलाई आप्रवासीविरुद्ध क्रोधित र उत्तेजित बनाएको छ । यी हिंसाका घटनापश्चात बेलायतस्थित नेपाली संघ संगठनलाई आफ्नो संस्था तथा समुदायमार्फत नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन पनि दूतावासले आग्रह गरेको छ । आपत्कालीन अवस्था आए दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
कणालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए। उनले यहाँका स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए। ‘हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौँ। यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ’, अध्यक्ष कँडलेलले भने। चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा हाल कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिए। नेपालसँग सिमाना जोडिएका भारतीय भागमा समेत कर्णालीकै स्याउले बजार पाएको उनले बताए। वीरेन्द्रनगर सुर्खेतका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो रु एक सय ५० देखि रु दुई ५० र चीनको स्याउ प्रतिकिलो रु एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो रु ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि बजार विस्तारमा सघाउ पुगेको बताए। दसैँमा धेरैजसोले उपहारका रूपमा कर्णालीकै स्याउ प्रयोग गरेका जाजरकोट नलगाड नगरपालिका-८ का वीरबहादुर खत्रीले बताए। मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको उनले जानकारी दिए।
समाजवादी क्रान्तिको आधार तयार पार्ने संकल्पमा छौं
मलाई आज विशेष गर्वको महसुस भएको छ । जम्मा चार दिनको तयारी मुख्यतः बागमती प्रदेशसँग सम्बन्धित, विशेष प्रदेश र समपर्क समन्वय प्रदेशको संयुक्त आयोजना र तयारीमा तपाईहरुको यो अपार उपस्थितिको निम्ति म तपाईहरु सबैप्रति पार्टी र मेरो तर्फ आभार व्यक्त गर्न चाहन्छु । हृदयदेखि अभिवादन गर्न चाहन्छु । भनिन्छ, विहानले दिउँसोको संकेत गर्दछ । यो खबरदारी सभाको सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको छ । म सरकारलाई गम्भीर रुपले दिन चुनौती दिन चाहन्छु । कमरेडहरु र मित्रहरु । म विषयमा जानुभन्दा अगाडि गत महिना आएको अविरल वर्षाबाट नेपालमा जुन अपूरणीय क्षति भयो, यसप्रति दुःख व्यक्त गर्दै विपतमा ज्यान गुमाउने सबैमा श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु । शोक सन्तप्त परिवारप्रति म हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु । हिजो मात्रै मैले मकवानपुरको सिस्नेरीमा छ जना होनहार बालकहरू 'जो खेलका माध्यमबाट देशको भविष्य सजाउने भन्ने मनोविज्ञानका साथ प्रशिक्षणमा गएका थिए' का परिवारसँग भेट गरेको छु । सरकारलाई खबरदारी भन्न चाहन्छु– हिजोको लापरवाही फेरि नदोहोरियोस् । उद्धार, राहत र पुनस्र्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाइयोस् । यो एतिहासिक खबरदारी सभामार्फत युगान्तकारी परिवर्तनको निम्ति आफ्नो प्राणको आहुति दिने सहिद र बेपत्ता योद्धाहरु सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । घाइते, अपाङ्ग र सबै सहिद तथा बेपत्ता योद्धा परिवारप्रति पार्टी र मेरो तर्फबाट हार्दिक सम्मान गर्न चाहन्छु । यो खबरदारी सभा हो । तपाईहरुलाई पक्कै पनि थाहा छ, मैले अन्तिमपटक विश्वासको मत लिँदै गर्दा मैले भनेको थिएँ, प्रतिनिधि सभामा यो सरकार नयाँ बनेकोमा मलाई र हाम्रो दललाई कुनै चिन्ता छैन । सरकार नयाँ बन्यो भन्ने चिन्ता होइन तर यो सरकार केका निम्ति बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनकाविरुद्ध बन्यो । यो सरकार भ्रष्टाचारीहरु बचाउन बन्यो र यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर जालझेल र षड्यन्त्रको तरिकाले बन्यो । यो सरकार दलालहरुका घरघरमा गएर रातको १२ बजे बन्यो । अप्राकृतिक संसर्गबाट बन्यो । हाम्रो चिन्ता त्यहाँ छ भनेर मैले भनेको थिएँ । हामीले प्रतिनिधि सभामा जे व्यक्त गरेका थियौं, आज सय दिन बित्दा त्यो पुष्टि भएको छ । सरकार आफैंले पुष्टि गरेको छ । खबरदारी सभा राख्ने बित्तिकै तपाई हामीले देख्यौं, सत्तापक्षमा भएका राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याएर सडकबाट सरकार परिवर्तन गर्न खोजे, त्यसो गर्न संविधान विरोधी हुन्छ भन्ने होहल्ला गरेको पनि देख्यौं । मैलै प्रतिनिधिसभा भनेको थिएँ, तपाईहरुको सरकार पूरै अवधि चलोस् । अब हामी तपाईहरूको सरकार ढाल्नको लागि मुख्य काम त्यसलाई बनाउने छैनौं । सरकार पूरै चलोस् तर मैले साथसाथै भनेको थिएँ, तपाईहरु जसरी भ्रष्टाचारीहरुको रक्षाको निम्ति सुशासनका विपक्षमा बिचौलियाहरुको पक्षमा जाँदै हुनुहुन्छ । तपाईहरु आफै कुहिएर झर्नुहुनेछ । हामीलाई दोष दिन पाउनुहुने छैन । अहिले हामीले सरकार ढाल्नका लागि यो खबरदारी सभा गरेको पनि होइन् । हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति हामीले के गर्नुपछ भन्ने राम्रोलाई गहिरो गरी बोध छ । बरु हामीले यो खबरदारी सभाको घोषणा गर्नेबित्तिकै सत्ता पक्षमा जुन आतंक देखापर्यो, सरकार आजै ढल्छ, भोलि नै ढल्छ तर हामीले त्यसो भनेका छैनौं । खबरदार तपाईहरुको सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला । अझ बढी भ्रष्टाचारीहरूको संरक्षणतिर नजानुहोला । हामी यो खबरदारी तपाईहरुलाई भन्न चाहन्छौं । संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको संविधान माओवादी केन्द्रको मुख्य त्याग, बलिदान र उसको संर्घषको जगमा बनेको छ । यसमा कही कतैबाट आघात नहोस् भन्ने कुरामा हामी सबभन्दा बढी गम्भीर र जिम्मेवार छौं । त्यसकारण हामीले यो खबरदारी सभा नगर्ने हो, सरकारको बेथिति र भ्रष्टाचारका गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ । अराजकतावादी प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरूले टाउको उठाउने खतरा पैदा हुन्छ । त्यसकारण हामीले संविधानको रक्षाको निम्ति, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति र यो देशका जनताले जे जति उपलब्धि संविधानसभाबाट प्राप्त गरेका छन्, त्यसको रक्षा र अझ त्यसको सकारात्मक परिमार्जन समाजवादको निम्ति गर्न हामीले आन्दोलनमा जान जरुरी ठानेका छौं । हामीले खबरदारीमा जान जरुरी ठानेका हौं । तपाईहरुमा यो भ्रम छकि माओवादीले अहिले नै सडकबाट सरकार फेर्न हतारो गरेको छ । तपाईहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुहोस् । हामीले के समीक्षा गरेका छौं भने तपाईहरु जस्ता दलाल पुँजीपति बिचौलिया र भ्रष्टहरूको प्रतिनिधिका रुपमा जो पार्टीहरु रहनुभएको छ, हामीले केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्यौं । हामीले तपाईहरुसँग समीकरण गरेर गल्ती गर्यौं । तपाईहरुको रोग हामीलाई सर्यो भन्ने चिन्ता छ । हामी गम्भीर आत्मसमीक्षामा छौं । त्यसकारण तपाईहरु हामीसँग ढुक्क भए हुन्छ, अब तपाईहरुसँग समीकरण गरौं, हामीलाई मन्त्री बनाइदिनुस्, प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौं । म त बरु तपाईंहरुलाई धन्यवाद दिन चाहन्छु, हामी अलिअलि बिग्रिन थालेका थियौं । हामी अलिअलि जनताबाट कट्न थालेका थियौं । अलिअलि प्रतिक्रियावादीसँग हिँड्दाहिँड्दा हामी पनि उस्तै उस्तै हुने हो कि भन्ने खतरा पैदा भएको थियो । तपाईहरुले हामीलाई बेलैमा निकाल्दिनु भयो र जनतातर्फ फर्कादिनुभयो । त्यसकारण हामीले तपाईहरुलाई धन्यवाद भनिराखेका छौं । तपाईहरुले मेरो यो भनाइलाई हल्का रुपले नलिनु होला । मैले निकै गम्भीर रुपले भनेको छु । हामीले पार्टी केन्द्रमा गम्भीर आत्मसमीक्षा गरेका छौं । यस्ता भ्रष्ट पार्टी, यस्ता भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि कता कता के हो के हो भन्ने जनतालाई परेको थियो । अब हामी जनतातिर फर्केर आत्मालोचना गर्दै आत्मसमीक्षा गर्दै जनतासँग भन्ने छौं, हामी जाली फटाहसँगको संगतले अलिअलि बिग्रियौं । हामी सच्चिएर तपाईहरुको मुक्ति नहुँदासम्म हामी संर्घष गर्ने छौं भन्न पाएका छौं । हामीले भ्रष्टाचारका विरुद्ध सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा युगान्तकारी काम इमान्दारपूर्वक गर्दै थियौं । नेपालको इतिहासमा युगान्तकारी केही कामका रेकर्ड सबभन्दा माथिल्लो तहमा हामीले पुर्याएकै थियौं । चाहे भारतसँगका हाम्रा विद्युतसँग सम्बन्धित सम्झौताहरु हुन् । या सीमासँग सम्बन्धित सम्झौता र सहमति होउन । चीनसँग क्रस बोर्डर ट्रान्समिसन लाइनदेखि आठवटा परम्परागत नाका खोल्ने र एग्रो टेक्निकल पार्क बनाउने सहमतिसम्म हेर्दा केही ऐतिहासिक र युगान्तकारी सहमति चाइनासँग पनि भएको थियो । बडो राम्रो सम्बन्ध छिमेकीसँग हाम्रो परराष्ट्र नीति, हाम्रो स्वतन्त्रता, आत्मनिर्भरता राष्ट्रिय स्वाधिनतालाई सुदृढ गदै अगाडि बढेको थियो । हाम्रो नेतृत्वको सरकारले संयुक्त राष्ट्रसंघको महासभामा गरेका सम्बोधनहरु या खाद्यसँग सम्बन्धित इटालीको रोममा गरिएको सम्बोधन या जलवायु परिवर्तन सम्बोधन या हस्तक्षेपहरु इतिहासमा रेकर्ड बनेका छन् । नेपालको इजत, सम्मान र प्रतिष्ठा दुनियाँमा धेरै माथि पुगेको छ । हामी निष्कलङ्क रुपले सरकार चलाउँदै थियौं । अर्थतन्त्रका गम्भीर समस्याहरू समाधान गर्न एकपछि अर्को कदम चाल्दै यसलाई देशको पक्षमा लयमा फर्काउन कोशिस गरिँदै थियो। राणा साशनको अन्त्यपछि सुशासनको पक्षमा कुनै क्रान्तिकारी कदम चालेको छ भने माओवादी केन्द्रको नेतृत्वको सरकारले चाल्यो । यो कसैले इतिहासमा मेटाएर मेटिने छैन । यो एतिहासिक रेकर्ड कायम भई नै सक्यो । यिनै रेकर्डहरुको बीचमा काग्रेस एमालेका साथीहरु बडो अप्राकृतिक, अपरादर्शी र जालझेलपूर्ण ढंगले आउनुभयो । यहाँ सबैले बुझ्नुभएको छ । अघिल्लो दिन राति हस्ताक्षर गरेर सरकार बनाइसक्ने निर्णय गरेपछि भोलिपल्ट बिहान चार घण्टा मसँग कुरा गरेर कांग्रेस जस्तो भ्रष्ट पार्टीसँग म मिल्छु त रु मैले जति कसले भोगेको छ, बुझेको छ कांग्रेस जस्तो भ्रष्टाचारी विदेशी दलाललाई रु तपाई र हामी अब मरे पनि सँगै, बाँचे पनि सँगै यस्तो जालीझेली कुरा गरियो । हामी त कल्पना पनि गर्न सक्दैनौं । यस्तो संस्कार त हाम्रो रगत र नशामा नै छैन । त्यस्तो जालझेल र सडयन्त्रबाट बनेको सरकारबाट जनताले के आश गर्ने ? मलाई खुशी र गर्व के छ भने मैले, हाम्रो पाटी र हाम्रा नेताहरुले जनतालाई धेरै भन्न परेन, जनताले आफै बुझ्नुभयो । यो सरकार भ्रष्टाचारीहरुलाई बचाउन बनेको हो, जुन दिन दुई जना फरार अभियुक्तहरु पक्राउ परे रातारात सरकार परिवर्तन गर्ने खेल भयो । यिनहरु कालेकाले मिलेर खाउ भाले हुन भन्ने कुरा जनताले बझ्यो। हामी अहिले खबरदारी मात्रै भनेका छौं, तपाईहरुलाई गलत्याउने भनेका पनि छैनौ, गर्दैनौ पनि । तर तपाईहरुले हाम्रो कुरालाई अस्ति बुझाएको ज्ञापनपत्रका मुद्दाहरु, जनताको मुद्दाहरुलाई, अविरल वर्षाबाट भएको जनधनको क्षति, राहत र पुनःस्थापनाको कामलाई अघि बढाउनुभएन, भ्रष्टाचारीहरुलाई जोगाउने षड्यन्त्रपूर्वक गरिएका क्रियाकलापलाई रोक्नुभएन, हामीले शिक्षामा सुरु गरेको मेरिटोक्रेसी, स्वास्थ्यको सुधारमा गरेको तमाम काम उल्टाउने काम गरेमा स्थिति सोचेजस्तो हुने छैन । हामीले विद्युत प्राधिकरणमा नियुक्त गरेका योग्य अधिकारीलाई हटाउने प्रयास भइरहेको छ । आम नेपालीलाई अब छर्लङ्ग थाहा छ, लोडसेडिङको भयानक अन्धकार युगबाट नेपाललाई उज्यालो युगमा कसले ल्यायो रु माओवादी केन्द्रले होइन रु यो अहिलेको सरकारलाई यो आँखाको कसिङ्गर भएको छ । विद्युत प्राधिकरण, कुलमान घिसिङ, माओवादी, प्रचण्ड, जनार्दन नारायणकाजी श्रेष्ठ भनेपछि उनीहरुलाई आतंक हुने गरेको छ । आज भोलि उहाँहरुले के भन्नुहुन्छ भने जबसम्म यो माओवादी रहिराख्छ, प्रचण्ड रहिराख्छ, हामीले सुख पाउने भएनौं । त्यसैले यो माओवादी सिध्याउनुपर्छ भनेर रातदिन लाग्नुभएको छ । माओवादीलाई फुटाउन सकिन्छ कि रु अरु नेतृत्वलाई कसरी बदनाम गर्न सकिन्छ भन्ने षड्यन्त्र उहाँले चलाइराख्नु भएको छ । जनतालाई भने विस्तारै माओवादी बलियो भएन भने हामी बर्बाद हुन्छौं भन्ने बोध हुँदै गएको छ । त्यसकारण माओवादी बलियो हुनैपर्छ भन्ने जनतामा परेको छ । प्रतिक्रियावादीलाई कसरी माओवादी कमजोर पार्ने भन्ने छटपटि छ भने जनतालाई एकपटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता भएको देखेको छु । म सम्पूर्ण नेपालीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईहरुको भावनाप्रति इमान्दार भएर अन्तिम समयसम्म हामी जनताको हक अधिकार र मुक्तिको निम्ति लगिराख्नेछौं । हामीले पहिले नै भनेका छौं, अब हामी चुनाव तपाईहरु जस्ता बेइमान र भ्रष्ट बिचौलियाका प्रतिनिधि पार्टीसँग मिलेर लड्ने छैनौं । जति ल्याए पनि एक्लै लड्ने छौं । हामीले ६४ मा एक्लै लडेको हो र देशको सबैभन्दा ठूलो पार्टी भएको हो । हामीले बीचमा केही गल्ती गर्यौं । जनतासँग सम्बन्ध जति बलियो बनाउनुपथ्र्यो, सकेनौं । हामी त्यो गल्ती सच्याउन चाहन्छौं । हामी जनतातिर फर्किन चाहन्छौं । अस्ति चितवनमा भएको बेपत्ता योद्धा कमरेड दण्डपाढाी न्यौपानेको स्मृति कार्यक्रममा कमरेड विप्लबले हामी एकता गर्छौं, ८४लाई ६४ बनाएर देखाउछौ भनेर उद्घोष गर्नुभयो । माओवादी फेरि एक हुन्छ र बनाइन्छ र एक्लै चुनाव लडेर कांग्रेस र एमाले जस्ता बेइमान र भ्रष्ट पार्टीहरुलाई उचित सजगाय जनताकै तहबाट दिइन्छ। हिजो सामन्ती निरंकुशताकाविरुद्ध, राजतन्त्रकाविरुद्ध हामीले जनयुद्धका माध्यमबाट जनमुक्ति सेना खडा गरेर देशका सबै उत्पीडित वर्ग, जाति क्षेत्र, लिङ्ग समुदाय सबैलाई जगाएर एउटा नयाँ राजनीतिक आन्दोलनका साथ देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्यायौं । मलाई अहिले पनि के विश्वास छ भने अर्को एउटा नयाँ अभियान (त्यो सशस्त्र होइन्च) लाइने छ, त्यो जनक्रान्तिको माध्यमबाट जसलाई ग्रिन रिभलुसन भन्छन् आजकल । माओवादीले गरेको खबरदारी सभामा त जनताको यत्रो उपस्थिति रहेको छ भने भोलि हामीले विरोध सभा भनेर देशैभरिबाट जनता ल्यायौं भने त्यो एउटा नयाँ क्रान्ति हुनेछ । त्यो क्रान्तिबाट अहिलेका सबै बिचौलिया, दलालह र भ्रष्टहरूको शासन अन्त्य हुनेछ र जनताको वास्तविक साशन स्थापना हुनेछ । त्यसको निम्ति मैले विभिन्न ठाउँमा भनेको छु म थाकेको छैन । हाम्रा नेताहरू कोही पनि थाकेका छैनन् । हाम्रा कार्यकर्ता र हाम्रा समर्थक थाकेका छैनन् । जब माओवादी जनतातिर फर्किन्छ, मलाई विश्वास छ जनताले फेरि आफ्ना छोराछोरीहरुलाई माया गर्नेछन् । आफ्ना छोराछोरीहरुलाई माफी दिनेछन् । र फेरि यही पार्टीको नेतृत्वमा एउटा नयाँ अभियानमा जानेछन् । मैले अब जनताका छोराछोरीलाई बन्दुक बाँड्नु छैन, उत्पादनको औजारका औजार बाँडेर, देशमा अर्थतन्त्रलाई नयाँ गति दिएर नेपाली युवालाई देशभित्रै रोजगारीका अनगिसन्त अवसर सृजना गर्ने सपना पूरा गर्नुपर्ने छ । हामीले पार्टीको हेटौडा महाधिवेशनबाट उत्पादन ब्रिगेडको परिकल्पना गरे पनि लागु गर्न सकेनौं, अहिले म त्यसको समीक्षा गर्दैछु । अब युवाहरुलाई उत्पादनका औजारसहित उत्पादनको एउटा नयाँ सेना बनाएर दलालहरुको भ्रष्टाचार र बेइमानी अनि विदेशीको हैकम र हस्तक्षेपको अन्त्य गर्ने एउटा नयाँ अभियान चलाउने आँट गर्दैछौं । मैले भन्ने गरेको छु, मलाई अहिले फरक जोश आइरहेको छ । हुन त म ७० वर्ष भएँ तर ७० पुगे जस्तै लाग्दैन । म फेरि एउटा क्रान्तिको नेतृत्व गर्नसक्छु भन्ने आँट छ । म आफूले हेर्दाहेर्दै यत्रो ठूलो परिर्वन बिचलनतिर जालाकि भन्ने सबैभन्दा ठूलो डर छ । त्यसो भएको हुनाले हामी एउटा नयाँ आन्दोलन, नयाँ अभियानमार्फत उपलब्धिको रक्षा मात्रै होइन थप उपलब्धि हासिल गर्न सक्नेछौं भन्ने विश्वास लिएको छु । भ्रष्टाचारको कुरा गर्दा हाम्रो सिस्टमलाई सोच्नुपर्ने हुन्छ । जबसम्म हाम्रो देशमा चुनाव लड्नको लागि करोडौं खर्च गर्ने सिस्टम रहन्छ, भ्रष्टाचार रोकिँदैन । केही मान्छेलाई कारबाही गर्दैमा सिस्टम गलत भयो भने भ्रष्टाचार त्यहीबाट जन्मिराख्छ । त्यसकारण जनताद्वारा निर्वाचित कार्यकारी प्रमुख भयो र उसले विज्ञहरुलाई मन्त्री बनाउने व्यवस्था भयो भने भ्रष्टाचारको अन्त्य त्यहीबाट गर्न सकिन्छ । निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाइयो भने त्यहाँ भ्रष्टाचार हुँदैन । अर्थतन्त्रको स्थिति के भएको छ अहिले रु दिन प्रतिदिन ओरालो लागिरहेको छ । हामीले उकालो लगाउँदै लगेका थियौं । अहिले ओरालो लागेको छ । त्यो जनता, व्यापारी व्यावसायीले भोगिराखेका छन् । त्यसकारण हामीले सरकारलाई हामीले धेरै भन्नु पर्दैन, जनताले राम्रोसँग बुझेका छन् । मलाई एउटा आरोप थियो, यो भाटभटेनी भन्ने प्रचण्डको हो । दुईचार वर्ष अगाडिदेखि म होइन भन्छु, पत्याउने कसैले होइन, प्रचण्डकै हो भन्याछन् हिड्याछन् मान्छेहरु । अब हाम्रो सरकारले छोपेर मुद्दा चलाउँदा पनि यो प्रचण्डकै हो भनेका थिए मान्छेहरुले । म हैरान थिएँ, यो के गरी कसरी क्लियर गर्ने होला भनेर । अहिले केपीजीले क्लियर गर्दिनुभयो, धन्यवाद केपी जी । त्यसको सेयरहोल्डर त तपाई पो रहेछ । भ्रष्टाचारी त तपाई पो रहेछ भनेर तपाईले नै क्यिर गरिदिनुभयो मैले बोल्नै परेन । अब आजभोलि एउटा समाचार सुन्छु । मलाई अनौठो लाग्छ । मैले केहीदिन अगाडि एउटा कार्यक्रममा रबिन्द्र मिश्रसँग भेट भयो, त्यो कार्यक्रममा उनले तपाईसँग भेट्न चाहान्छु भने र मैले हुन्छ भनें । अब मैले उनलाई भेट्नै नहुने त कुरा होइन। हिजोको पत्रकार, अहिलेको राजनीति गर्ने मान्छे । मैले उनलाई के भेटेको थिएँ, प्रचण्डले ज्ञानेन्द्र शाहलाई भेट्यो भन्ने स्याल हुँइया छ । एकथरिले यही भेट्यो भन्ने र एकथरिले झापा गएको बेला भेट्यो भने । हिजो एक जना वरिष्ठ पत्रकारले ज्ञानेन्द्र शाहलार्ई भेट्यो प्रचण्डले भनेर लेखिदिनुभएछ । म यस्ता भ्रामक झुटा बैमानीपूर्ण प्रचार गर्नेहरुप्रति खेद प्रकट गर्दछु, भर्त्सना गर्न चाहान्छु । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति फेरि एउटा क्रान्ति गर्छु भनेर अगाडि बढ्या छ, उसलाई बदनाम गर्न ज्ञानेन्द्र भट्यो भनियो, यो सबै झुट हो । हामीले चाँहे मिटरब्याज पीडितका कुरा गरौं, चाहे नागरिकताविहिन नेपाली नागरिकलाई नागरिकता दिने कुरा । सामाजिक सुरक्षा कोषमा आबद्धका निम्ति नीति नियम बनाउने कुरा गरौं । हामी लगातार यसमा अगाडि बढि नै राख्यौं । अहिले कताकता फेरि एकथरीले के भन्छन् भने यो खबरदारी सभा प्रचण्डले किन राखेको रे भने रवि लामिछानेलाई मुद्दाबाट बचाउन भनेर प्रचार भएको छ । हामीले बडो प्रष्ट हिजो पनि भनेका थियौं, दोषी कोही बच्न हुँदैन, निर्दोष कोही फस्न हुँदैन । हामीले हिजो भ्रष्टाचारविरुद्धको अभियानमा त्यही हो भनेको र हामी अहिले पनि भन्छौं, सबै सहकारी पीडितहरुले न्याय पाउनुपर्दछ । लघुवित्त पीडितहरूले न्याय पाउनुर्दछ । मैले सरकारमा हुँदा सहकारी पीडितहरुको पक्षमा न्याय दिनको लागि पचासौं बैठक सिंहदरबारमा राखेको छु । सहकारी ठगहरुलाई कारबाही गर्नुपर्छ भन्ने कुरामा हामी कहिकतै अन्योलमा थिएनौं । मैले भनेको यति मात्रै हो, जतिबेला संसदमा सहकारीसँग सम्बन्धित बहस चल्यो, मैले छानविन समिति बनाउन उचित हुन्छ भन्ने कुरा राखेको हो । तपाईहरुलाई थाहा होस्, त्यतिबेला रवि लामिछानेको कुरा चलिराख्या थियो । रवि लामिछानेसँग कुरा गर्दा रवि लामिछानेलाई पनि समिति बनाएर छानबिन गर्नु उचित हुन्छ, तपाईं दोषी हो भने तपाईले कारबाही भोग्न तयार हुनुपर्छ । तपाई दोषी होइन भने तपाई उन्मुक्ति पाउनुपर्छ, डराउनुपर्ने कारण छैन भन्या हो मैले । त्यहीअनुसार रबिले पनि बनोस् भनेको हो । बरु बन्न हुँदैन भन्ने केपी ओलीजी हो । रबिलाई हरहालतमा बचाउनैपर्छ भन्ने हिजो केपी ओली हो । तर अहिले सरकारले फरक रवैया अपनाएको छ । यसमा हाम्रो आपत्ति छ । अस्ति हामीले ज्ञापनपत्र बुझाउँदा पनि सरकारलाई भन्यौं । त्यही प्रतिवेदनमा नाम उल्लेख भएका अझ गम्भीर गल्तीको नाम उल्लेख भएका एमाले र कांग्रेसका नेता किन पक्राउ गिरिएन ? राजनीतिक पूर्वाग्रहले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने तरिका जो छ, सरकारको बेठिक छ । हामीले भनेकै हो । तपाईहरुलाई पक्कै याद होला, प्रचण्ड र प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीका विरुद्ध कारबाही गर्दा यदि भ्रष्टाचारको मुद्दामा प्रचण्डै देखापर्यो भने त्यसलाई पनि गिरफ्तार गर भन्या हो मैले । यहाँ त्यतिबेलाको गृहमन्त्री र म सँगै सिआबीसँग बसेर तपाईहरुले माओवादीको मान्छे पर्यो भनेर बचाउन पर्दैन । अरुको कुरा छोड्दिनु, प्रचण्ड देखापर्यो भने पनि पक्रिनु भन्ने मान्छेले आज कसैलाई बचाउन सभा गर्नुपर्छ ? हाम्रो पार्टीलाई र मलाई केमा गर्व छ भने केही सकारात्मक र राम्रा कामका कारणले र एमाले कांग्रेसका नकारात्मक कामका कारणले जनताले एकचोटी माओवादीलाई फेरि हेर्नपर्ने ठान्यो । हामीलाई गर्व छ । हामी खुशी छौं । जनतालाई हामी विशेष रुपले बधाई भन्न चाहन्छौं । हामीलाई केही धुलोमैलो लागेकै थियो । यो हामीभित्रको धुलो मैलो पखाल्ने अवसर हो । हामीलाई एउटा मौका चाहिएको छ । माओवादी बलियो भएन भने अहिले तपाई हामीले देखेका छौं । मध्यपूर्वमा एउटा लडाईको विष्फोटक स्थिति छ । मान्छेहरुले तेस्रो विश्वयुद्ध सुरु भैसक्यो समेत भनेका छन् । कोहीले छिट्टै अब तेस्रो विश्वयुद्ध हुन्छ भन्न थालेका छन् । त्यो स्थिति एकातिर छ भने नेपालको भूराजनीतिक स्थितिका कारणले यदि हामी नेपाली जनता सजग, संगठित र जागरुक भएनौं, हामी आन्दोलित भएनौं भने राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता दिनप्रतिदिन खतारामा पर्ने स्थिति छ । नयाँ शीयुद्धको इपिसेन्टर केन्द्रविन्दु नेपाल त हुने होकी भन्ने चिन्ता पैदा भएको छ । यहाँ अघि कुरा आयो स्टेट पार्टनरशीप प्रोग्राम ९एसपीपी० अमेरिकाको सुरक्षासँग सम्बन्धित एउटा ठूलो रणनति मानिएको छ र हामी नेपालले त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सक्दैन भन्दैआएका छौं । यसमा सैद्धान्तिक सम्झौता हिजो आजकै प्रधानमन्त्री भएको बेलामा उहाँकै प्रतिनिधि परराष्ट्रमन्त्री भएको बेलामा भएको थियो । हिजो अमेरिकाका केही मिडियाहरुमा नेपालले २०१९ मै सम्झौता गरेको थियो भनेर समाचारहरु आएका छन् । त्यसकारण हामी सबै सजग हुन जरुरी छ । तपाई हामी सजग हुँदा नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्छ । यस सन्दर्भमा माओवादी केन्द्रले सबै देशभक्त, वामपन्थीहरु सबैलाई एकताबद्ध गर्ने र सबभन्दा पहिले माओवादीलाई नै एकताबद्ध गर्ने एउटा संकल्प लिएको छ । हामी नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न चाहन्छौं। म यसको निम्ति अपिल गर्न चाहन्छु । म अर्को कुरा के भन्न चाहन्छु भने अर्थतन्त्र र उद्योगका सम्बन्धमा मैले पछिल्लो प्रधानमन्त्रीत्वकालमा हेटौंडा कपडा उद्योग, गोरखकाली टायर उद्योग, बुटवल धागो कारखाना, विराटनर जुट मिललगायतका रुग्ण र बन्द भएका उद्योगहरुलाई पुनः सञ्चालनका लागि दजनौं बैठक गरेर प्रक्रिया अगाडि बढ्दै थियो । तर, अहिलेको सरकारले बाँकी रहेका सार्वजनिक संस्थान र उद्योगहरुलाई पनि निजिकरण गर्ने निर्णय गरेको छ । बिचौलियाहरुलाई बेच्दै छ । म यहीबाट फेरि भन्न चाहन्छु, एउटा पनि सार्वजनिक संस्था बिचौलियालाई बेच्ने काम भयो भने त्यो नेपाली जनतालाई सैह्य हुनेछैन । म प्रधानमन्त्रीजीको बारेमा मैले केहि भन्न चाहान्न । तपाईहरुलाई थाहा नै छ । प्रधानमन्त्रीजीको एकदमै खास स्वभाव छ, एकदमै खास । अरुले ‘गर्नुहुन्न’ भनेपछि त्यही नगरी नहुने । कहीँ न कहीँ स्थिति भत्काउनै पर्ने, नियम मिच्नै पर्ने, शक्तिको दुरुपयोग गर्नैपर्ने । कसै न कसैलाई होच्याउनैपर्ने, अपमानित गर्नैपर्ने । प्रतिशोध र संसद विघटनको धङ्धङीबाट पनि उहाँ अझै व्युँझनुभएको छैन । खासमा व्युँझने र आत्मसमीक्षा गर्ने उहाँको चरित्र नै होइन । अपराध पनि उहाँ उत्सवका रुपमा गर्नुहुन्छ । उहाँको शैली, चरित्र, व्यवहार र सोच केहीले पनि लोकतन्त्रको प्रतिनिधित्व गर्दैन । बाढीपहिरोमा देखिन्न सरकार । प्राकृतिक विपत्तिमा देखिन्न । कहाँ देखिन्छ रु दल विभाजन गर्न, उपसभामुख हटाउन, कुलमानहरु हटाउन । आजकल कसैले सोध्दा पनि सोध्दैन–कहाँ पुग्यो भुटानी शरणार्थी काण्ड र? कहाँ पुग्यो बाँसवारीको जग्गा काण्ड ? कहाँ पुग्यो गिरिबन्धु काण्ड ? कहाँ पुग्यो वालमन्दिर काण्ड ? किनकि सबैलाई थाहा छ, यो काण्ड खोतल्न होइन, काण्ड मिलाउन आएको सरकार हो । विद्युत प्राधिकरणमा सरकार जे गर्न खोज्दै छ, हाम्रो खबरदारी छ । भूटानी शरणार्थी काण्डलाई जता पुर्याउन र इमान्दार प्रहरीलाई जसरी दण्डित गर्न खोज्दै हुनुहुन्छ, हाम्रो खबरदारी छ । विश्वविद्यालयमा मेरिटोक्रेसी मिच्दै हुनुहुन्छ, हाम्रो खबरदारी छ । गिरिबन्धुलगायतका नीतिगत भ्रष्टाचारहरुमा रफु भर्दै हुनुहुन्छ, हाम्रो खबरदारी छ । अहिलेकै प्रधानमन्त्रीे हिजो प्रधानमन्त्री हुँदा बनाएका वैदेशिक श्रमका मापदण्ड कसका लागि किन उल्ट्याउँदै हुनुहुन्छ, हाम्रो खबरदारी छ । नत्र, संसद र सडकमा तपाइँहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ जसको तपाईहरुले कल्पना गर्नुभएको छैन । हामी चाहन्छौं, त्यस्तो गर्न नपरोस्, त्यस्तो नहोस् । आज हामी यो खबरदारी गर्न सडकमा छौं कि देश कांग्रेस एमालेको विर्ता होइन । संख्याको प्राविधिक बलमा जस्तासुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्यो भन्दामाथि जनताको अदालत छ भन्ने नबिर्सुन् । अब भनिरहनु पर्दैन, सरकारका पछाडि विचौलिया छ । सरकारका पछाडि माफिया छ । सरकारका पछाडि देशको दोहन गरिरहेको अपराधिक समूह छ । नक्कली भूटानी शरणार्थी काण्ड सामसुम पारियो । संसारले हेरेको छ यो घटनालाई । यसमा एकले अर्कालाई चोख्याएर कांग्रेस र एमालेले मुलुकको विश्वसनियता समाप्त पार्ने भए । त्यसकारण चाहिने भयो खबरदारी । चाहिने ठाउँमा कहीँ छैन सरकार । नचाहिने ठाउँमा जताततै छ । सरकारलाई केले चलाएको छ रु विचौलियाहरुको दबाब र प्रभावले । पछिल्लो निर्णय सुन्नुभयो होला, बचेखुलेका उद्योगहरु पनि अब सरकारले निजीकरणका नाममा स्वार्थ समूहहरुलाई सुम्पिँदै छ । टिनको छानोमाथि उभिएको एउटा परिवारले काठमाडौंको मुटुमा चार घण्टासम्म उद्धार पाएन । यिनीहरुको सरकारले यो सय दिनमा ७० नम्बर ल्यायो रे १ मैले भनेको होइन, यिनीहरु आफैंले भनेको हो । अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर कस्तो होला रु मैले निरन्तर भन्दै आएको छु, संसदको पहिलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो दल एमालेलाई विश्वास, आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको छ । केपी जीले बेलाबेलामा भन्ने गर्नहुन्छ दुई तिहाई छ हामीसँग । तपाईले दुई तिहाईको कुरा गरेको विल्कुल सुहाउँदैन । नेकपा एक्लैको दुई तिहाई भएको बेला प्रधानमन्त्री हुँदा आफ्नै दुईतिहाईमा बञ्चरो हान्ने नेताले कांग्रेसको बैशाखीको दुईतिहाईको धाक दिन मिल्छ रु आफ्नै दुई तिहाई हुँदा त संविधान मिचेर संसद विघटन गर्ने र त्यो दुईतिहाईलाई प्रहार गर्नेले कांग्रेसको बुई चडेर मेरो दुई तिहाई छ भनेको छ, कति लाजमर्दो ? त्यसकारण संख्या होइन सत्य ठुलो कुरा हो । संख्या होइन जनता ठूलो कुरा हो । हामी सत्य र जनताको पक्षमा छौं । हाम्रो जीत हुन्छ । छोटो समयको सूचनामा खबरदारीसभामा देखिएको अपार उपस्थिति र उत्साहले हामीलाई एउटा नयाँ उर्जा दिएको छ, एउटा नयाँ आन्दोनको निम्ति, एउटा नयाँ अभियानको निम्ति । हामी हतारोमा छैनौं । तर जनतासँग मिलेर एउटा नयाँ अभियानमार्फत समाजवादको आधार, समाजवादी क्रान्तिको आधार तयार पार्ने संकल्पमा छौं । यसलाई कसैले खेलाची नठानोस् । म तपाईहरु सबैलाई यही अपिल गर्न चाहन्छु । अब खबरदारीसभालाई देशका सबै पालिकामा, देशका सबै वडामा हामी कार्यक्रम बनाएर पुर्याउने छौं । अन्तिममा जरुरी पर्यो र सरकारले निउ खोज्यो भने संसदभित्र विशेष अधिवेशनको माग गर्नेछौं । विशेष अधिवेशन माग गर्नसक्ने संख्या विपक्षीहरुसँग छ । त्यो माग्ने छौं र संवैधानिक तरिकाले उनीहरुका विरुद्धमा संर्घषमा जानेछौं । दिन उनीहरुले हाम्रो कुरालाई गम्भिर रुपले लिएनन् भने यो खबरदारी सभा विशाल विरोध सभा र आन्दोलनमा परिणत हुने छ । अब हेक्का राख्ने जिम्मा सरकार कै हो । धन्यवाद । अभिवादन । (अध्यक्ष प्रचण्डले २०८१ कार्तिक १० गतेको खबरदारीसभामा गर्नुभएको सम्बोधनको सम्पादित अंश)
माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक सकियो, ७० नेताले दिए सुझाव
उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक आज सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिनुभएको थियो । पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनपरिचालनमा तत्काल लाग्नुपर्ने प्रदेशस्तरीय नेताहरुले सुझाव दिनुभएको थियो । सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा समाजवादमा जाने गरी पार्टीले अघि सारेको कार्यदिशालाई अझै विस्तृतीकरण गर्दै स्पष्ट कार्यक्रमको ढाँचा अघि सार्नुपर्ने पनि नेताहरुको सुझाव थियो । बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीले पनि सम्बोधन गर्नुभएको थियो । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । माओवादी केन्द्रले अहिलेसम्म १ नम्बर प्रदेशसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । अब मधेश प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक बाँकी रहेको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु
उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आजदेखि सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपमहासचिवसम्मका पदाधिकारी पुगेर प्रदेशको रायसुझाव लिने र प्रदेश नेताहरुलाई सम्बोधन गर्ने गर्नुभएको छ । माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । प्रदेश १ को बैठक सकिएपछि लगत्तै मधेश प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक आयोजना गर्ने माओवादी तयारी छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।
हत्याको बिरोधमा प्रदर्शन, दोषीलाई एमालेले संरक्षण गरेको आरोप
विराटनगर । झापाको दमक नगरपालिकाका–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले तत्परता नदेखाएको आरोप लगाएका परिवारले शव बुझ्न मानेका छैनन् । परिवारको अडानका कारण शवको शल्य परीक्षणसमेत हुन सकेको छैन । मंगलबार अपराह्न दमक–३ स्थित मावाखोला पुल नजिकै ३५ वर्षीय निरौलाको हत्या भएको थियो । प्रहरीका अनुसार, हत्यामा चिनजानकै साथीहरूको संलग्नता रहेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । कुटपिटपछि कन्चटमा ढुंगा प्रहार हुँदा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यलय दमकले घटनामा संलग्न रहेको आशंकामा केही युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अन्यको खोजी भइरहेको जानकारी दिएको छ । मृतकका आफन्तले हत्यामा नाम जोडिएकामध्ये केही सत्तारूढ नेकपा एमालेका कार्यकर्ता र नेताहरूका नाताभित्रका परेकाले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको आरोप लगाएका छन् । मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्यामा जोडिएका ६ जनाको नाममा किटानी जाहेरी दिन जाँदा प्रहरीले नमानेपछि विवाद चर्किएको हो । प्रहरीले शंकास्पद व्यक्तिहरूको नाम हटाएर मात्रै जाहेरी दर्ता गर्न सकिने प्रहरीले बताएपछि परिवारसहित स्थानीय थप आक्रोशित बनेका छन् । सीसी टीभी फुटेजबाट पहिचान भएको भनिएका राजु भनिने शेरबहादुर लिम्बू र गणेश दर्जी छन् । यसैगरी, कोसी प्रदेश सांसद तथा एमाले नेता होमबहादुर थापाका सहोदर भाइ र एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाजु बुद्धिमान थापालगायतको नामसमेत जाहेरीमा उल्लेख छ । तर, उनीहरूलाई प्रहरीले पक्राउ नगरेको निरौलाकी पत्नी कृष्णमायाको दाबी छ ।
अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति
काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।

