चौधरी ग्रुपलले कृत्रिम खुट्टा निशुल्क उपलब्ध गराउने

काठमाडौं, फागुन २८ । विविध कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृतिम खुट्टा उत्पादन गरी निशुल्क वितरण गर्ने भएको छ ।

चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान महावीर विकलांग समिति (जयपुर फुट) सँगको संयुक्त पहलमा कृतिम खुट्टा उपलब्ध गराउने भएको हो । कृतिम खुट्टाको उत्पादन र न्यूनतम् शुल्कमा विश्व बजारमा सेवा पुर्‍याएर अन्तर्राष्ट्रिय ख्याती कमाएको जयपुर फुट र चौधरी फाउन्डेसनबीच नेपालमा कृतिम खुट्टा उत्पादन र वितरण गर्ने समझदारी भएको हो ।

समझदारी अनुसार जयपुर फुटले बर्सेनि तीन सयवटा कृक्रिम खुट्टाका लागि आवश्यक पर्ने सामाग्री चौधरी फाउन्डेसनलाई उपलब्ध गराउने छ ।
यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

छुट्टाछुटै दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, फागुन १९ । सिरहाको छुट्टाछुटै स्थानमा गएराति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका– ७ स्थित सडकमा गएराति मोटरसाइकलको ठक्करबाट लहान नगरपालिका– १३ गोविन्दपुर निवासी २१ वर्षीय सन्दिपकुमार महतोको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतोको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । त्यसैगरी सिरहाको मिर्चैया नगरपालिका– ११ निवासी १७ वर्षीया सञ्जीप महराको आफ्नै घरको पङ्खा चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर भएका महरालाई उपचारका लागि मिर्चैयास्थित नर्सिङ होम ल्याउँदै गर्दा उहाँको पनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी सिरहाको लहान नगरपालिका– १२ बाट गएराति प्रहरीले लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । बिआर ३३ जी २०६९ नम्बरको भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको २० बोतल कोरेक्स सहित सिरहाको कचनारी– ९ निवासी अविनाशकुमार यादव र सरोजकुमार यादवलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान नगरपालिका– १२ फूलबारी मन्दिर अगाडि सवारी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको डिकीमा लुकाइ राखेको अवस्थामा कोरेक्स बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । रासस

निर्वाचन आचारसंहिता आजदेखि लागु हुने

काठमाडौं, फागुन १८  । निर्वाचन आयोगले बुधबारबाट निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । मंगलबार बसेको आयोग बैठकले निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आचारसंहिताबारे बुधबार प्रधानमन्त्रीसँग छलफल हुँदै छ । स्थानीय तहमा उम्मेदवारी दिएका व्यक्तिलाई पनि निर्वाचन आचारसंहिता लाग्नेछ । आयोगका अनुसार उम्मेदवारका लागि मनोनयन दर्ता गरेको दिनबाट आचारसंहिता लागू हुनेछ । १६ वैशाख ०७४ मा उम्मेदवारी मनोनयन हुने छ । बैठकमा गृह मन्त्रालयले तयार गरेको स्थानीय तहको निर्वाचन सुरक्षा योजनाबारे प्रारम्भिक छलफल भएको थियो । सुरक्षा योजना प्रस्तुत गर्दै गृहसचिव लोकदर्शन रेग्मीले केन्द्र, क्षेत्र, जिल्ला (स्थानीय तह)मा सुरक्षा निकायको भूमिका प्रस्ट पारी समन्वय गराउने जानकारी गराएका थिए । छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहमा कार्यरत सुरक्षा संयन्त्रलाई साधन–स्रोत सम्पन्न बनाउन, निर्वाचन आचारसंहिता पालना गराउन निर्देशन पठाउन र स्थानीय तहको निर्वाचनमा महिला सहभागिता बढ्ने भएकाले त्यसैअनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका थिए । कुन–कुन सवारी चलाउन पाइने ? महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा दुईवटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल चलाउन पाउनेछन् । वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपांग्रे हलुका सवारीसाधन र एउटा मोटरसाइकल प्रयोग गर्न पाउने गरी आयोगले आचारसंहिता बनाएको छ । त्यसैगरी, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा एउटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल प्रयोग गर्न सक्नेछन् । तर, त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न सकिनेछ । एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारीसाधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ । कसलाई लाग्छ आचारसंहिता ? -नेपाल सरकार र सरकारका मन्त्री -स्थानीय निकाय/तह -स्थानीय निकाय/तहका कर्मचारी -सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी -सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी -नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा ती निकायमा कार्यरत सुरक्षाकर्मी -निर्वाचनको काममा संलग्न कर्मचारी -राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन -उम्मेदवार तथा सम्बन्धित व्यक्ति -सार्वजनिक पद धारण गरेको व्यक्ति -पर्यवेक्षक -सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम -निजी तथा गैरसरकारी संस्था -आयोगले तोकेका अन्य निकाय वा व्यक्ति -नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी, सार्वजनिक पदधारण गरेको व्यक्ति निर्वाचनको जिम्मा सिडिओबाट न्यायाधीशलाई : सरकारले यसअघिका स्थानीय निर्वाचन गराउन प्रमुख निर्वाचन अधिकृतका रूपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई अधिकार दिँदै आएको थियो । तर, आगामी स्थानीय तहको निर्वाचनमा भने प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हुने व्यवस्था गरिएको छ । गृह मन्त्रालयले प्रमुख मतदान अधिकृत सिडिओलाई बनाउन माग गरे पनि आयोगले ऐनमै संशोधन गरी प्रमुख निर्वाचन अधिकृत न्यायाधीश रहने व्यवस्था गरेको छ । गृहप्रवक्ता बालकृष्ण पन्थीले स्थानीय तहको निर्वाचनमा न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृत बनाइएकाले सिडिओलाई सुरक्षा व्यवस्था मजबुत बनाउन सहज हुने बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

लमजुङको कृषि क्याम्पसमा नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच झडप, बिद्यार्थी र प्रहरी घाइते

लमजुङ (बेसीसहर), फागुन १६ । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच आज बिहान झडप भएको छ । क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो । झडपमा प्रहरीसहित चार जना नेविसङ्घ समर्थित विद्यार्थी घाइते भएका छन् । झडप नियन्त्रण गर्ने क्रममा सुन्दरबजार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ अधिकारी पनि घाइते हुनुभएको छ । घाइते हुनेमा नेविसङ्घ समर्थित तीनजना छात्र रहेका छन् । घाइतेमध्ये छात्र दीपेन्द्र रेग्मीलाई गम्भीर चोट लागेको बताइएको छ । झडपका क्रममा क्याम्पस प्रमुख लालप्रसाद अमगाईंलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । स्ववियु निर्वाचनका सिलसिलामा असन्तुष्टि जनाउँदै एमाले निकट अखिल विद्यार्थीले क्याम्पसमा आइतवार ताला लगाएका थिए । ताला खोल्नको लागि आज बिहानै वार्ताको क्रममा झडप भएको क्याम्पस प्रशासनले जनाएको छ । झडप भएपछि बेसीसहरबाट थप प्रहरी टोली घटनास्थल पठाएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । रासस

ट्याक्टरबाट लडेर एकको मृत्यु

लहान, फागुन १५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामाल– ५ मा ट्याक्टरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सिरहा मल्हनिया खोरी पिडारी– २ का नीतकुमार कापर रहेका छन् । स १ त १८१६ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिरहाको कर्जनास्थित अस्पतालमा आज बिहान ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

बर्डफ्लु देखियो पोखरामा, ८० घरका हाँस कुखुरा नष्ट गर्ने तयारी

पोखरा, फागुन १४ । पोखरामा फेरि पंक्षीमा लाग्ने बर्डफ्लु रोग देखा परेको छ। पोखरा उपमहानगरपालिका–१८, खाल्टेमसिनाकी मीना परियारले पालेका हाँस धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको पशुसेवा कार्यालय कास्कीले बताएको छ भन्दै नागरिक न्युजले लेखेको छ । पशुसेवा कार्यालयका पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालका अनुसार फागुन ६ गते परियारले पालेको हाँस मरेपछि बर्डफ्लुको आशंकामा परीक्षण गरिएको थियो। परियारले २० वटा हाँस र ११ वटा स्थानीय कुृखुरा पाल्न थालेकी थिइन्। हाँस मरेपछि बर्डफ्लुको आशंकामा परीक्षण गर्दा एचफाईभ एनवान नामक भाइरस भेटिएको अर्यालले बताए। ‘परीक्षणका क्रममा बर्डफ्लुको पुष्टि भएको हो। संक्रमित क्षेत्रमा धमाधम हाँस र कुखुरा मार्न थालिएको छ,’ उनले भने, ‘प्रभावित क्षेत्रमा चारकिल्ला तोकेर नियन्त्रण सुरु गरिएको छ।’ उनका अनुसार सुरुमा क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला र दोश्रोपटक केन्द्रीय प्रयोगशालामा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो। ‘संक्रमण थप फैलिन नदिनका लागि पुरै सचेत बनेका छौं। संक्रमित क्षेत्रमा पंक्षी तथा पंक्षीजन्य बस्तुको ओसारपसारमा रोक लगाइएको छ,’ उनले भने। उनका अनुसार रोग नियन्त्रणका लागि केन्द्रबाट डा. अवधेश झा नेतृत्वमा प्राविधिक टोली खटिएको छ। ‘केन्द्र र स्थानीय तहको र्‍यापिड रेस्क्यु टिम खटिएको छ। रोग नियन्त्रणमा पुरै लागिपरेका छौं,’ उनले भने। अर्यालले खाल्टेमसिना क्षेत्रका सबै घरका हाँसकुखुरा नष्ट गरिने बताए। ‘घरमा जे–जति पंक्षी र पंक्षीजन्य बस्तु भेटिन्छन्, ती सबैलाई नष्ट गर्छौ,’ अर्यालले भने, ‘टोललाई नै पुरै नियन्त्रणमा लिन नसके फेरि फैलने जोखिम हुन्छ।’ खाल्टेमसिना क्षेत्रका करिब ८० घरमा हाँसकुखुरा पालेको उनको अनुमान छ।

धनकुटा क्याम्पसमा विवाद चुलियो

धनकुटा, फागुन १२ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा धनकुटा बहुमुखी क्याम्पसमा भने निर्वाचनका लागि विद्यार्थी संगठन दर्ताको क्रममा भएको विवादले चरम रुप लिएको छ । विवादकै कारण निर्वाचन प्रमुखसहित तीनजनाले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र नेकपा एमालेनिकट अखिलमध्ये पहिले कसलाई दर्ता गराउने भन्ने विषयमा विवादले चरम रुप लिएपछि अन्ततः स्ववियु निर्वाचन प्रमुखसहित तीनजनाले दिए राजिनामा दिएका छन् । प्रजातान्त्रिक प्राध्यापक संघको तर्फबाट निर्वाचन प्रमुख रहेका श्याम वाग्लेसहित तीनजनाले निर्वाचन समितिबाट विहीबार राजीनामा दिएका हुन् । निर्वाचन प्रमुखले राजीनामा दिएपछि १८ गते हुने निर्वाचनको अन्योल बढेको छ ।

भोजपुरमा सात प्रतिशत हात्तीपाइले सङ्क्रमित

भोजपुर, फागुन १२ । भोजपुरमा कुल जनसंख्को सात प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ । हात्तीपाइले रोग निवारणसम्बन्धी बुधबार भोजपुर जिल्लामा क्रियाशील पत्रकारसँगको अन्तरक्रियामा यस्तो जानकारी गराइएकोे हो । विगत ६ वर्षयता देशव्यापीरुपमा थालिएको हात्तीपाइले रोग निवारणसम्बन्धी अभियानको छैटौं चरणमा आइपुग्दासम्म भोजपुरमा अपेक्षितरुपमा नियन्त्रणमा आइनसकेकाले पुनः यसवर्ष निरन्तरता दिइने जनाएको हो । अभियान थालिएको पहिलो वर्षमा टक्सार र जरायोटार गाविसको नमुना सङ्कलनबाट कुल जनसङ्ख्याको ४० प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले सङ्क्रमण देखापरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए । नियन्त्रणका लागि यही फागुन २१, २२ र २३ गतेसम्म पाँचसय ६७ केन्द्रमा औषधि वितरण गर्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यसका लागि जिल्लाभरबाट चारसय ३५ स्वास्थ्यकर्मी, एकहजार एकसय तीन महिला स्वास्थ्य स्वयम्सेविका खटिने भएका छन् ।

बुढासुब्बा गोल्डकप : फाइनलमा संकटा

सुनसरी, फागुन ११ । धरानमा भइरहेको १९ औँ बुढासुब्बा गोल्डकपमा संकटा क्वल फाइनलमा प्रवेश गरेको छ । एन्फा टेक्निकल सेन्टरको मैदान धरानमा बुधबार भएको खेलमा रुपन्देही ११ लाई २–१ गोल अन्तरले हराउँदै संकटा क्लब फाइनलमा प्रवेश गरेको हो । संकटाका तर्फबाट अनिल गुरुङले दुवै गोल गरेर संकटलाई फाइनलमा प्रवेश गराएका छन् । रुपन्देहीका लागि भने दीपक राईले एक गोल गरे । दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक धरान रातो र नेपाल पुलिस क्लबबिच खेल हुने छ ।

दुई छुट्टाछुटै दुर्घटनामा चारको मृत्यु

लहान,  फागुन ११ । सिरहाका छुट्टाछुटै स्थानमा गएराति भएका ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिरहाको पिप्रा प्र.पि.–५ स्थित भित्री सडकखण्डमा राति ८ बजे अनटेस्ट लेखिएको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार पिप्रा प्र.पि.–५ निवासी रुपेश यादव, सोही ठाउँका हरेराम यादव र नितेश यादवको मृत्यु भएको छ । रुपेश र हरेरामको घटनास्थलमै तथा नितेशको उपचारका क्रममा सिरहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसैगरी, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–८ स्थित सडकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त ३२४८ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी मोहनती यादवको मृत्यु भएको छ । राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोहनतीको लहानस्थित रामप्रसाद उमादेवी स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । रासस

हिरासतबाटै थुनुवा फरार, पाँच प्रहरी कारबाहीमा

बैतडी, ८ फागुन । चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् । फरार हुने दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो । दार्चुलाको सुनसेरामा माघ २३ गते चोरी गरी फरार रहेका विष्टलाई प्रहरीले माघ २४ गते सदरमबुकाम खलङ्गाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानकै क्रममा रहेका विष्ट शनिबार बिहान १ बजेदेखि ४ बजेको समयमा फरार भएका हुन् प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो “थुनुवा कक्षको नटबोल्ड तोडेर फरार भएको देखिएको छ ।” फरार विष्टको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । यसका साथै थुनुवा भागेको समयमा ड्युटी गरिरहेका पाँच जना प्रहरीलाई समेत कारबाही गरिएको बताइएको छ । प्रहरी घेराबाटै थुनुवा भाग्नुको रहस्य भने खुल्न सकेको छैन । फरार विष्टलाई भाग्नमा कसैको पनि संलग्नता भएको थाहा पाइएका कडा कारबाही गरीने प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो । विष्ट यसअघि पनि चरेस मुद्दामा संलग्न रहेको प्रमाणित भएर तीन महिना जेल बसेका व्यक्ति हुन् । रासस

२२ वर्षे सिजापति शंकरदेव क्याम्पसको सभापतिका उम्मेदवार

काठमाडौँ, फागुन २ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको सवैभन्दा ठूलो शंकरदेव क्याम्पसमा आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीले कपिल सिजापतिलाई अध्यक्ष (सभापति)मा उठाउने भएको छ। अखिल क्रान्तिकारी शंकरदेव क्याम्पसका इन्चार्ज समेत रहेका सिजापतिलाई सर्वसम्मत रुपमा उम्मेदवार चयन गरिएको क्रान्तिकारीका नेता डिवि साउदले वताए। यसअघि सोही क्याम्पसका क्याम्पस समितिका अध्यक्ष रहेका सिजापति एमविएस प्रथम वर्षका नियमित विद्यार्थी हुन्।त्रिविले स्ववियु उम्मेदवार वन्न २८ वर्षीय उमेर लाएपछि २२ वर्षीय सिजापति क्रान्तिकारीको तर्फवाट उम्मेदवार वनेका हुन्। अछाम कालिकास्थान स्थायी घर भएका सिजापति इमानदार,सक्रिय र लोकप्रिय विद्यार्थी नेता मानिन्छन्।आफ्नो उम्मेदवारी शंकरदेवलाई गुण्डागर्दी र भ्रष्टाचारमुक्त क्याम्पस वनाउन भएको सिजापतिले जिकिर गरे।

‘निर्भय’ मा निखिलको देशभक्तिसँगै नीताबीच प्रेम सम्बन्ध

काठमाडौं, माघ २७ । नेपाली चलचित्र ‘निर्भय’ यही आउँदो चैत ११ मा नेपाल अधिराज्यभर प्रदर्शन हुने तयारी रहेको छ । भनिन्छ, माया प्रेमबाट कोही पनि अछुतो रहँदैन् । एक्शनको स्टार भनी उपमा पाएका निखिल अहिले हरेक जसो चलचित्रहरुमा कतै मायाको लागी फाइट गर्छन् त कतै राष्ट्रियताको पक्षमा । ‘निर्भय’ मा निखिल नेपाल प्रहरीको डिएसपीको भुमिकामा रहेका छन् । यस चलचित्रमा निखिल आफ्नो देश र राष्ट्रको लागि लड्दालड्दै नीता ढुंगानासँग प्रेम सम्बन्धमा बाँधिन पुगेका छन् । यस चलचित्रभित्र निखिल र नीताबीचको प्रेमसम्बन्ध कस्तो छ त यहाँ उनीहरुको तस्वीरबाट पनि देख्न सकिन्छ । मधुसुदन भट्टराई निर्देशित यस नेपाली चलचित्रमा निखिल र नीतासँगै सुशिल पोखरेल, प्रदिप ढकाल, विकास चापागाईं, रामचन्द्र अधिकारी, प्रकाश न्यौपाने, रश्मी भट्टलगायत लिड अभिनयमा छन्। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम प्रचारलाइ व्यापकता दिँदै अघि बढ्दैछ । आउँदो फागुन १ मा ट्रेलर रिलिजको मिति तय गरेको फिल्ममा निर्माता देविप्रसाद पाण्डे हुन् । नेपाली समाजमा दैनिक रुपमा जनताले देखिरहेको अनि भोगिरहेको कथालाई ुनिर्भयुले उठान गरेको निर्देशक भट्टराईले बताउँछन् । ताराप्रकाश लिम्ब र अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा नृत्य रामजी लामिछानेको कोरियोग्राफी छ भने प्रोडक्शन डिजाईनरमा सुवास काफ्ले छन् । फिल्ममा द्वन्द्व हिमाल केसीको छ ।

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

पाल्पा, माघ २६ । पाल्पा जिल्ला कुखुमखोला गाविस–७ गोहदीमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । कुखुमखोला–८ की ८ वर्षीय सविना बगालेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भैरव मेमोरियल बोडिङ्ग स्कुलको लु १ ख ११३० नम्बरको बस गुडिरहेका बेला बगालेले सडक पार गर्ने क्रममा बसको ठक्करले उनको मृत्यु भएको हो । यसैबीच सोमबार पाल्पाको दोभानमा जिप दुर्घटनाबाट चारजना र मङ्गलबार तानसेनमा बस र मोटरसाइल ठक्कर हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘बाहुबली २’ रिलिज हुनुअघि नै कमायो ५ सय करोड

काठमाडौं, माघ २० । सन् २०१५ मा मात्र तयार भएको साउथ इण्डियन चलचित्र ‘बाहुबली २’ को रिलिज हुन केही महिनामात्र बाँकी रहेको छ । तर, यस चलचित्रले प्रदर्शन हुनुअघि करोडौं कमाउन सफल भएको छ । राष्ट्रिय पुरस्कार विजेता निर्देशक एसएस राजमौलीको यो चलचित्रको सिक्वेलले प्रदर्शन अगावै लोभलाग्दो कमाई गरेको छ । भारतीय मिडियाको रिपोर्ट मान्ने हो भने चलचित्रले प्रदर्शन अगावै ५ सय करोड कमाई गरिसकेको छ । यस चलचित्रको मुख्य भूमिकामा रहेको प्रवासको यो चलचित्रको सिक्वेल यतिबेला विश्वभरका फ्यानले प्रतिक्षा गरिरहेका छन् । विशेषगरि, कटप्पाले बाहुवलीलाई किन मारे भन्ने प्रश्नकै कारण यसको सिक्वेल प्रतिक्षामा रहेको हो । यस चलचित्रको प्रदर्शन अधिकार बेचेरै ५ सय करोड कमाई यसको निर्माण पक्षले गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यो चलचित्र ३ भाषामा रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सनको अधिकार धर्म प्रोडक्शनले किनेको हो । धर्म प्रोडक्शनले हिन्दी भर्सनका लागि महंगो रकम तिरेको भारतीय मिडियाले जनाएका छन् ।

बजेटमा नभएका कार्यक्रमका लागि २ खर्ब १५ अर्ब माग

काठमाडौं, माघ १९ ।   बजेटमार्फत छुट्याइएका कार्यक्रमको रकम खर्च नभइरहेका वेला मन्त्रालयहरूले बजेटबाहिरका कार्यक्रमका लागि २ खर्ब १५ अर्ब रुपैयाँ माग गरेका छन् । १६ विभिन्न निकायले अर्थ मन्त्रालयसँग थप बजेट मागेका हुन् । उनीहरूले माग गरेको रकम चालू आर्थिक वर्षमा विनियोजित कुल पुँजीगत बजेट ३ खर्ब ११ अर्ब ९४ करोडको ६९.२३ प्रतिशत हो । प्रभावशाली नेता र मन्त्रीको दबाबमा निर्वाचन क्षेत्रमा खर्च गर्न यसरी रकम माग गर्ने गरिएको छ । आवको पहिलो ६ महिनामा ११.३ प्रतिशत पुँजीगत खर्च भएको थियो । खर्च गर्न नसकेर सरकारी ढुकुटीमा करिब २ खर्ब ३० अर्ब रुपैयाँ थुप्रिएको छ । गाडी किन्न १ अर्ब माग विभिन्न सरकारी निकायहरूले गाडी किन्न मात्रै एक अर्ब रुपैयाँ माग गरेको अर्थ मन्त्रालयका सचिव डा. शान्तराज सुवेदीले बताए । ‘थप बजेट माग भएको देख्दा त सरकारी निकायसँग गाडी नै नभएजस्तो देखिन्छ,’ सुवेदीले भने, ‘गाडी किन्न मात्रै एक अर्ब रुपैयाँ थप माग भएको देख्दा अचम्म लागेको छ ।’ बजेट खर्च गर्नेलाई स्रोतको अभाव नहुने भन्दै उनले फागुनसम्म पनि काम नगर्नेको बजेट कडाइका साथ तान्ने (सरेन्डर) गर्ने बताए । पुनर्निर्माण प्राधिकरणले माग्यो ७५ अर्ब भूकम्पपछिको पुनर्निर्माणको नेतृत्व गरिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७५ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । यसअघि बजेटमार्फत उपलब्ध ३४ अर्ब २२ करोड रुपैयाँ पुँजीगत बजेटमध्ये १ अर्ब ५२ करोड रुपैयाँ अर्थात् ४.४४ प्रतिशत खर्च गरेको प्राधिकरणले थप ७५ अर्ब रुपैयाँ मागेको हो । पुनर्निर्माण प्राधिकरणले अघि बढाउनुपर्ने सडक, सार्वजनिकस्थल, स्वास्थ्य चौकी, विद्यालयलगायतको पुँजीगत खर्च हुन सकेको छैन । विकास बजेट खर्च गर्ने ठूलो निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० अर्ब थप बजेट मागेको छ । ऊर्जा मन्त्रालयले बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि भन्दै ४२ अर्ब ७ करोड रुपैयाँ थप बजेट मागेको छ । बक्स पैसाको सिरानी हालेर सुत्ने अवस्था कहिलेसम्म ?  ‘अहिलेकै अवस्था कायमै रहने हो भने असार मसान्तसम्मा २–३ खर्ब रुपैयाँ बचत हुन्छ । पैसा सिरानी हालेर सुत्ने अवस्था आउनुहुँदैन । जनता टहरोमा रहने, विकासको माग हुने, तर पूरा नहुने अनि ढुकुटीमा पैसा थुप्रिरहने अवस्थाको अन्त्य हुनुपर्छ ।’ -डा. मीनबहादुर श्रेष्ठ, उपाध्यक्ष, राष्ट्रिय योजना आयोग ब्रेक थ्रु गर्नुस्  ‘अर्थ मन्त्रालयले सम्पूर्ण निकायसँग छलफल अघि बढाएको छ । अब हरेक मन्त्रालयले आफूमातहतका निकाय र विभागसँग छलफल गर्नुपर्छ । अहिलेसम्म भएको कामबाट सन्तोष मान्ने ठाउँ छैन । यसमा ब्रेक थ्रु हुनु आवश्यक छ ।’ – कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री अनियमित काम हो  सिद्धान्ततः बजेटमा समावेश भएका योजनाबाहेक आकस्मिक कामका लागि मात्रै यसरी बजेट दिने हो । आकस्मिकबाहेकको अवस्थामा बजेट दिनु भनेको बिल्कुलै गलत हो । हरेक कुराको विधि र प्रक्रिया हुन्छ । पैसा दिने भनेर मात्रै हुँदैन । त्यसको अध्ययन हुनुप¥यो । – डा. रामशरण महत पूर्वअर्थमन्त्री राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक चालू आवमा सरकारले धेरै प्राथमिकता दिएर अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाको खर्चको अवस्था निराशाजनक छ । वर्षको पहिलो ६ महिनामा उनीहरूको औसत खर्च १३ प्रतिशत मात्रै छ । पोखरा विमानस्थल, दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको खर्च शून्य छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको ०.४७ प्रतिशत, काठमाडौं–तराई मधेस फास्ट ट्र्याकको ०.०५ प्रतिशत र भेरी–बबई डाइभर्सनको २.७४ प्रतिशत मात्रै खर्च भएको छ । पुष्पलाल लोकमार्ग, उत्तर–दक्षिण लोकमार्ग, सिक्टा सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, रानी–जमरा–कुलरिया सिँचाइ आयोजना, रेलवे तथा मोनोरेल विकास आयोजना, मेलम्ची खानेपानी र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रगति ३० प्रतिशतभन्दा धेरै छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।